नेपाली साहित्यको सम्पूर्ण पत्रिका

औरहीमा मनु ब्राजाकीलाई खोज्न जाँदा

गाेविन्द गिरी प्रेरणाकाे साप्ताहिक स्तम्भ, साहित्य निर्माता

गोविन्द गिरी प्रेरणा

कथाकार मनु ब्राजाकीसँग साह्रै नजिकको सम्बन्ध कहिल्यै भएन मेरो । अन्तरंग भएन । अर्थात् उनको जीवनको लेखकीय उर्वर समयमा उनी मदिरा प्रेममा लाग्दा हुँदा म उनको नजिक कहिल्यै भइनँ । तर उनको कथा छापिएको पत्रिका भेटेपछि, उनकै कथा पहिलो प्राथमिकतामा पर्दथ्यो पढ्नका लागि ।

उनको प्रख्यात कथा “तिम्री स्वास्नी र म” गरिमामा छापिएको थियो । त्यो कथा गरिमामा हिट भयो । साहित्यकारको जगतमा मात्र होइन पाठकहरूको जगतमा पनि उनी हिट भए । कथाको विषयवस्तु र उनको लेखन शैली, बनौट र छनौट त उनको नितान्त बेग्लै मनु ब्राजाकीमय थियो नै, शीर्षकले पनि उनले यो कथामा बाजी मारेका थिए । यो कथा मनु ब्राजाकीको पर्याय नै भइदियो ।

पछि साझाबाट यही शीर्षकमा कथा संग्रह प्रकाशित भयो र अत्यन्त छोटो समयको अन्तरालमा त्यो पुस्तक बक्यो । सम्भवत: साझा प्रकाशनको प्रकाशन इतिहासमै त्यति छिटो कथा संग्रह बिकेको यो पहिलो कृति थियो ।

उनी जनकपुरको औरहीमा बस्तथे । उनको लेखनको उत्सर्गतिर लाग्दासम्म उनको कथाको पुछारमा औरही, जनकपुर नै लेखिएको हुन्थ्यो ।

पञ्चायतको अबसानअघिको अन्तिमपल्ट मध्यमाञ्चलमा भएको राजा वीरेन्द्रको क्षेत्रीय भ्रमणको बेला थियो । यस्तो बेलामा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले सवारी सिविरमा एक कवि गोष्ठी गर्ने परम्परा थियो । राजाको मुकाम हेटौंडामा थियो, मेरो गृह नगर । विजय मल्ल प्रतिष्ठानको सदस्य सचिव थिए । उनले भने, “गोविन्द सवारी शिविरमा हुने कवि गोष्ठीलाई सहयोग गर्ने हो ?”

गोविन्द गिरी प्रेरणा

मैले विजय मल्ललाई भनेँ, “के गर्नुपर्ने दाइ मैले ?”

“यस्तोबेलामा स्थानीय कवि लेखकहरूलाई मौका दिनुपर्छ । आँगनमा आएका राजालाई कविता सुनाउने मौका उनीहरूलाई दिनुपर्छ । तिमी हेटौंडाको मान्छे । उतातिरका कविहरूलाई तिमी चिन्दछौ । अब उनीहरूको घरघरमा गएर निमन्त्रणा गर्ने । त्यसको लागि तिमीले मसँग गएर मलाई सहयोग गर्ने ।” विजय मल्लले भने ।

मैले हुन्छ भनेँ । यस्तो मजाको कुरामा मेरो रुचि नहुने कुरै थिएन । प्रज्ञा प्रतिष्ठानबाट मैले काम गर्ने त्रिभुवन विश्वविद्यालयमा मलाई एक हप्ताको काजमा झिकाउन विजय मल्लले चिट्ठी लेखिदिए र त्यही चिट्ठीको आधारमा त्रिभुवन विश्वविद्यालयबाट बेतलबी काज स्वीकृत भयो । अनि प्रज्ञा प्रतिष्ठानको गाडीमा विजय मल्लको साथमा म कवि, लेखक खोज्न साथ लागेँ ।

मैले कवि लेखकहरूको जाने-बुझेसम्मका, नाम चलेका र स्थानLय कविहरूको सूची बनाएको थिएँ । त्यसमा निर्विवाद रूपले मनु ब्राजाकीको नाम थियो र मलाई थाहा भएको ठेगाना औरही थियो । तर औरहीमा के, कता, कहाँ भन्ने चाहिँ थाहा थिएन । औरही कत्रो नै होला र त्यस्तो चर्चित लेखकलाई नचिन्ने को होला ? भन्ने मेरा स्वाभाविक अनुमान थियो ।

हामी जनकपुर रवाना भयौँ । अनि औरही पुगेर पूरै चक्कर लगाएर घरघरमा सोध्दै हिँड्दा पनि मनु ब्राजाकीलाई चिन्छु भन्ने कोही फेला परेन । मलाई बडो बेमज्जा लाग्यो । त्यस्तो नामी मान्छेलाई आफ्नो ठाउँमा कसैले चिन्दैनन् ?

वास्तवमा मनु ब्राजाकी उनको साहित्यिक नाम थियो । उनको खास नाम त अर्कै । अनि गाउँका ती अर्ध साक्षर अनि निरक्षरहरूलाई मनु ब्राजाकी कुन चरीको नाम हो ? कसरी थाहा होस् ।

अनि मनु ब्राजाकीलाई नभेटिएपछि निराश हुँदै हामी जनकपुरमा लीला सिं कर्माकहाँ पुग्यौँ र त्यहाँबाट वीरगञ्ज फर्कियौँ, साँझ ।

राजाको सवारी शिविरमा कविता वाचनका लागि मनु ब्राजाकीलाई ल्याउन सकिएन । यद्यपि पछिसम्म पनि हामीले उनको खोज, खबर गर्न भने चुकेनौँ ।

त्यसपछि भेट हुँदा उनलाई मैले यो कुरा बताएँ । मेरो कुरा सुनेर उनी हाँसे मात्र । उनले त्यसमा खासै रुचि वा चासो देखाएनन् । उनको स्वभाव नै त्यस्तै थियो । आनन्दी । मनमौजी । निर्धक्क । कहिल्यै ढिलो नहुने । कहिल्यै केही नबित्ने ।

पछि पनि काठमाडौँमा बेला बेलामा भेट हुन्थ्यो, आकस्मिक् । उनी मगनमस्त नै हुन्थे । र ढिलो बोल्ने र कहिल्यै हतार नभएको जस्तो लाग्थ्यो मलाई । भेटेपछि यसो लगाउँ भनिहाल्थे । उनको प्रिय घरेलु मार्का नै हुन्थ्यो । तर म छक्क पर्छु, मैले किन कहिल्यै उनलाई त्यसमा साथ दिइनँ, जबकि म त्योबाट अछुत पनि त थिइनँ । मलाई पनि प्रिय लाग्थ्यो, मनु ब्राजाकीजस्तो पारखी नभए पनि ।

उनले कथाका अतिरिक्त गजल लेखे । साझा प्रकाशनबाट गजल सङ्ग्रह पनि निस्कियो । गजलमा उनको पकड राम्रो थियो । उनले गजल बुझेका थिए, गजलको विधागत संरचना बुझेर नै उनले गजल लेखेका थिए, लहडमा होइन । नेपाली साहित्यमा पछिल्लो चरणमा गजल स्थापित गराउनमा उनको पनि ठूलो योगदान छ, मरिमेटेर गजलमा तपस्या नै गरेर लाग्ने ज्ञानुवाकर पौडेलपछि ।

आख्यानको एक हाँगा कथामा उच्चतम स्थान बनाए पनि आख्यानको अर्को रूप उपन्यासमा मनु जम्न सकेनन् । भनौँ उनले कुनै उपन्यास नै पूरा गर्न सकेनन् । उनले थालेको उपन्यासको अंश पत्रिकामा प्रकाशित भयो, अधूरो टुक्रा । तर पाठकहरूले त्यसलाई चासो दिएको नपाएर हुनसक्छ वा उपन्यास पूरा गर्ने धैर्य नभएर हुनसक्छ, उनको उपन्यास लेखनको यात्रा अधूरोमै बिसौनीमा पुग्यो ।

उनी छोरीको निम्तोमा अमेरिका पुगे, सपत्नी । अमेरिकामै उनलाई घातक मष्तिष्कघात भयो । उपचार राम्रो भयो । उनले पुनर्जीवन पाए । आफ्नो पिताको सेवा गर्न पाएर छोरीलाई पनि ठूलो सन्तोष मिलेको हुनुपर्छ । अझ छोरी ज्वाइँले उनलाई अमेरिकामा नै बस्ने बन्दोवस्त मिलाइदिए । उनको स्वास्थ्य राम्रो भयो । तर उनलाई विस्मृतिले दु:ख दियो । उनी लामो लेख्न नसक्ने भए । भानु जयन्ती मनाउन कोलोराडो जाँदा उनीसँग मेरो भेट भयो निकै लामो समयको अन्तरालपछि, बढो खुसी भयौँ हामी दुवै । उनी कार्यक्रममा सम्मानित अतिथि थिए । लेखन के कसो छ ? एकअर्कालाई सोध्नु त सामान्य भयो ।

उनले त्यसबेला भनेका थिए, “गोविन्दजी ! म त कथा पनि लेख्न सक्दिनँ । लेख्दै जाँदा बिर्सन्छु । सानो रचना मात्र लेख्न सक्छु । लघुकथा, गजल जस्तो ।“

भयो त अब । यौटा लेखकको लागि योभन्दा ठूलो सजाय के हुन्थ्यो ! तर यसको विकल्प थिएन ।

उनले सो समारोहमा अति छोटो मन्तव्य व्यक्त गरेका थिए त्यो पनि लिखित रूपमा । त्यो उनले कसैलाई डिक्टेट गराएका थिए, तर पुछारमा हस्ताक्षर भने उनको थियो । त्यो मन्तव्य लेखिएको पाना मैले मागेँ, उनले दिए । सरक्क मैले लिएँ र त्यसलाई जतन गरी कोलोराडोबाट भर्जिनिया ल्याएर आफ्नो नीजि पुस्तकालयमा सुरक्षित राखेँ ।

उनको यौटा डायस्पोरा साहित्यको विषयमा निकै विचारोत्तजक लेख छापियो । त्यसले नेपाली साहित्यमा तरंग नै ल्याइदियो । त्यस किसिमको लेख लेख्ने त्यसअघि कसैले आँट वा जमर्को गरेका थिएनन् ।

अन्ततः मनु अमेरिकाबाट नेपाल फर्किए र नेपालमै बस्ने सुनियो । अमेरिकामा बस्दा खानपानमा पथ परहेज हुन्थ्यो नै । उपचार पनि राम्रो हुन्थ्यो । तर बिना इलमको अमेरिका बसाई कष्टप्रद होइन, सजाय नै हो एकप्रकारले । सायद यिनै कारणले वा किन हो उनी नेपाल गए अमेरिका नफर्कने गरी ।

नेपाल गएपछि साहित्यकार साथीभाइको माया पाउनु त स्वाभाविक थियो नै । उनका पुस्तकहरू पुनर्मुद्रण हुन सुरू भयो । उनका रचनाहरू सम्पादन भएर बजारमा देखा पर्न थाले । किशोर पहाडीले उनका कथाहरूको सम्पादन गरे र त्यो प्रकाशित भयो । बगर फाउण्डेसनका तर्फबाट सर्वश्रेष्ट पाण्डुलिपि पुरस्कार भविष्य यात्रा कथा संग्रहका लागि प्राप्त गरिसकेका उनी त्यसका सञ्चालक तथा बगर साहित्यिक पत्रिकाका सम्पादक नकुल सिलवाल उनलाई उच्च सम्मान गर्दथे । उनको विषयमा बगरको विशेषांक निकाल्न सामाग्री संकलन गर्दै थिए । केही सामाग्री संकलन पनि भइसकेको थियो । तर त्यसैबीच उनले मृत्युलाई आफैँले रोजे र त्यो उनको योजना अधूरै रह्यो ।

काठमाडौँमा मनुलाई मष्तिष्कघात भएको खबर मैले शब्दपथबाट थाहा पाएँ । स्वभावत दुःख लाग्यो । उनको स्वास्थमा सुधार आएको खबर आएको थियो । विभिन्न खबर आइरहे । र अन्तमा अन्तिम खबर आयो, जीवन अन्तको ।

मनमौजी मनु ब्राजाकी अब सम्झनामा छन् । कथाका पानामा छन् । गजलका हरफमा छन् ।

अब औरहीमा खोज्न जाँदा भेटिने छैनन् ।

फल्सचर्च, भर्जिनिया, अमेरिका ।

Loading...