नेपाली साहित्यको सम्पूर्ण पत्रिका

छैटौँ सम्मेलनमा बेलायती अनुभव

प्रजातन्त्रवादीहरूले बेलायतबाट प्रजातन्त्र सिके, विकासको मोडल र जनताको सेवा सिकेनन्

प्रकाश पौडेल ‘माइला’

संसार एकाइसौँ शताब्दीमा प्रवेश गर्ने पूर्वसन्ध्यामा अमेरिकाका केही प्रसिद्ध व्यावसायिक संस्थाहरू मिलेर विश्वभरि सर्वेक्षण गरेका रहेछन् । उक्त सर्वेक्षणको उद्देश्य संसारका ६ अर्ब मानिसहरूले सबैभन्दा बढी सुनेका देशहरू कुन-कुन हुन् ? मानिसहरू सबैभन्दा बढी कुन-कुन ठाउँ जान चाहन्छन् ? संसारमा मानिसले सबैभन्दा बढी सुनेका जीवित शासकहरू को-को हुन् ? आदि । अमेरिका विश्वको शक्तिशाली मुलुक भएका कारण विश्वभरिका मानिसले कुनै न कुनै रूपमा अमेरिका र अमेरिकी ठाउँहरूको नाम लिइदिऊन् भन्ने यो सर्वेक्षणको भित्री उद्देश्य हुनुपर्छ । नत्र अर्बौँ रुपैयाँ लगाएर यति ठूलो सर्वे किन गरिन्थ्यो होला र ?

प्रकाश पौडेल ‘माइला’

तर सर्वेक्षण उनीहरूको सोच र अनुमानभन्दा विपरीत आयो । नतिजामा अमेरिका अघि देखिएन । विश्वका मानिसलाई सबैभन्दा बढी चासो बेलायतप्रति भएको अध्ययनले देखायो । उनीहरूले सबैभन्दा बढी सुनेको सहर लन्डन थियो र सबैभन्दा बढी चासो बेलायतको बकिंहम प्यालेस र महारानी भिक्टोरियाको थियो । धेरै मानिसले हेर्न चाहेको ठाउँ चाहिँ थेम्स नदीमा रहेको लन्डन व्रिज रहेछ । विश्व इतिहासका बारेमा जानकारी राख्ने जो कसैका लागि पनि यो सर्वेक्षणले दिएको नतिजा अनौठो थिएन । तर केही अमेरिकीहरूले यो सर्वेक्षणको नतिजा आएपछि आश्चर्य मानेको कुरा कहीँकतै पढेको थिएँ ।

दोस्रो विश्वयुद्ध अघिसम्म बेलायत विश्वको शक्तिशाली मुलुक थियो । कहिल्यै घाम नअस्ताउने मुलुकका रूपमा बेलायतलाई लिइन्थ्यो । हुन पनि भारतदेखि अफ्रिकासम्मका देशमा उसले बेलायतमा बसेर शासन गर्ने सामर्थ राख्दथ्यो । अधिकांश देशका नागरिकले आफ्नो स्कूलदेखि नै कुनै न कुनै रूपमा बेलायतका विषयमा पढ्नै पर्छ । आज पनि क्यानडा, अस्ट्रेलिया र न्युजिल्याण्डले मान्ने राजसंस्था बकिंहम प्यालेस नै हो । आज पनि ती देशकी राष्ट्राध्यक्ष महारानी एलिजावेथ द्वितीया नै हुन् । त्यसबाहेक पछिल्लो समयमा बेलायतबाट स्वतन्त्र भएका मुलुकहरू जमैका, फारवाडोस जस्ता दर्जनौँ अफ्रिकी मुलुकहरूको पाठ्यक्रम बेलायतीले बनाएका हुन्, जहाँ बेलायतको इतिहास अनिवार्य पढाइ हुन्छ । भारतमा पनि केही वर्षअघिसम्म बेलायती इतिहास अनिवार्य पढ्नु पर्दथ्यो । यी कारणले  बेलायतको दरबार, त्यहाँकी महारानी,  थेम्स नदी र त्यसमाथि बनेको पुलको तस्बिरप्रति विश्वका ठूलो समुदायप्रति चासो जाग्नु स्वाभाविक नै हो ।

स्वाभाविक रूपमा हामी नेपालीहरूले पनि बेलायतबारे धेरैअघिदेखि सुन्दै  र पढ्दै आएका हौँ । नेपालको प्रशासनको केन्द्र सिंहदरबार बेलायती इन्जिनियरहरूले आफ्नो डिजाइनमा बनाएका हुन् । घण्टाघर र धेरै राणाकालीन दरबारमा बेलायती शैलीमा बनेको छ ।

उदघाटन शत्र सन्चालन गर्दै महासचिव गणेश घिमिरे

नियात्रा साहित्यको कुरा गर्दा ‘जंगबहादुरको बेलायत यात्रा’ नामक पुस्तकको नाम नलिई यो विधाको प्रारम्भ नै हुँदैन । यो विधाले उत्कर्ष हाँसिल गरेको पुस्तक पनि डा. तारानाथ शर्माको ‘बेलायततिर बरालिँदा’ नै हो । नियात्रा विधामा मदन पुरस्कार पाउने यो हालसम्मको  एकमात्र पूर्ण कृति हो । त्यसयता बेलायतका विषयमा यति धेरै पुस्तक र लेखहरू लेखिए, त्यसको कुनै गणना छैन । बेलायत जो पुगे, केही न केही लेखे । यही छिमलमा २०१९ को अगस्ट् पहिलो साता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित छैटौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा संस्थाको वरिष्ठ उपाध्यक्षको नाताले पुगेको थिएँ ।  सर्जक हुनु र बेलायत पुग्नु अनि केही नलेख्नु कसरी सम्भव हुन सक्ला ? बारम्बार लेखिरहने बेलायतमाथि लेख्नुपर्ने नयाँ कुरा केही छैन भन्ने लाग्छ । तर बेलायत पुगेकाहरूलाई थाहा छ, यहाँको आकर्षणले हरेकलाई यसरी तान्छ, नलेखी रहनै सकिँदैन ।

विदेशमा बसेर अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्नु आफैँमा दुस्साहसपूर्ण काम हो । तर अनेसासभित्र यस्ता दुस्साहसी साथीहरू प्रसस्त छन् । यही कारण, हरेक वर्ष आफ्नो कर्मथलोमा दर्जनौँ साहित्यकार बोलाएर कार्यक्रम गर्ने होड चल्छ । सायद यही कारण सन् २००९ सालदेखि अमेरिकामा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने परम्पराको अभिभारा सन् २०११ मा बेलायतले दोस्रो सम्मेलन गरेर पूरा गरेको थियो  । त्यसपछि फेरि अमेरिका, जापान, अस्ट्रेलिया हुँदै  आठ वर्षपछि पुनः बेलायतले छैटौँ सम्मेलन गर्ने हिम्मत जुटायो । हिम्मत शब्दको प्रयोग यहाँ त्यसै गरिएको होइन, किनभने अन्तर्राष्ट्रिय स्तरको साहित्यिक सम्मेलन गर्न चानचुने आँटले पुग्दैन । छैटौँ सम्मेलनको नेतृत्व अनेसासका बेलायत च्याप्टर अध्यक्ष सुमलकुमार गुरुङले गर्नुभएको थियो । जसलाई सफल पार्न  बेलायतका दर्जनौँ साहित्यकारहरूले हास्टेमा हैसे गर्नुभएको थियो ।

युके सम्मेलन सुमल दाइको नेतृत्वमा हुने कुराले यो भव्य र सभ्य हुन्छ भन्ने कुराको अनुमान मैले पहिल्यै गरिसकेको थिएँ । बेलायती गोर्खा सैनिकका रूपमा काम गर्नुभएका उहाँ लेखनमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । यस्ता कार्यक्रममा अनुशासन, व्यवस्थापन र आर्थिक पाटो सबैमा उत्तिकै ध्यान दिनुपर्ने भएकाले पनि फराकिलो छाती र कार्यक्रमहरूको अनुभव भएका व्यक्तिको आवश्यकता पर्छ । सुमल दाइसँग मेरो पहिलो भेट सन् २०१५ मा जापानमा भएको थियो । उहाँ चौथो सम्मेलनको क्रममा जापान आउँदा मैले चौथो सम्मेलनको संयोजकको रूपमा केही दिन संगत गर्ने मौका पाएको थिएँ । उहाँसँग घुमफिर गर्दा र केही कार्यक्रममा सँगै रहँदा साहित्यप्रति उहाँको रुचि र उहाँको पाको अनुभवको छनक मैले पाइसकेको थिएँ । डायस्पोरामा झण्डै पाँच दशक बिताइसकेको कुरा थाहा पाउँदा म उतिबेलै झस्केको थिएँ ।

लण्डनस्थित राजदुतावास परिसरमा सजाइएको नेपाली साहित्यकारहरूको तस्बिर

युके सम्मेलनमा म एक्लै होइन, श्रीमती भूमिकासहित जाने निधो गरेँ । एयरपोर्टको समय र बेलाबेलामा आफ्नो यात्राको विवरण दिनेबाहेक यात्राभरि म उनीसँगै गफिँदै थिएँ । यसले समय बितेको खासै पत्तो भएन । प्लेनको यात्रापछि पो थाहा भयो, हामीले एकअर्काको कुरा नसुनेको पनि धेरै भएछ ! डायस्पोरामा रहने धेरैको समस्या एउटै होला । हातमुख जोड्ने मात्रै होइन, स्वदेशमा पनि चुल्होचौकोको सन्तुलित जोहो गर्नु पर्ने बाध्यताले गर्दा धेरैको घरको कथा सायद मेरोजस्तै थियो ।

हाम्रो ट्रान्जिट मलेसियाको क्वालालम्पुर विमानस्थल थियो । त्यहाँबाट सिधै विमान हिथ्रो विमानस्थल पुग्दै थियो । त्यहाँ चर्चित लेखक नारायण गाउँले र डा. दुर्गाप्रसाद पोखरेल हामीलाई लिन आउने कुरा पनि पक्का भइसकेको थियो । समयलाई नै सम्पूर्ण चिन्ता जिम्मा लगाएर हामी पूर्वी एसियाबाट, मध्य एसिया हुँदै पश्चिमको शक्तिशाली राष्ट्र बेलायत उत्रदै थियौँ । हामी दुवैको यो पहिलो युरोप यात्रा थियो । त्यसैले उनी जति उत्साहित थिइन्, परिचारिकाहरूको चुस्त व्यवस्थापकीय र सेवाग्राही भावले जापानदेखि लण्डनसम्मको १९ घण्टाको यात्रालाई अझ सुखद् बनायो । झ्यालबाट देखिने विभिन्न दृश्यले मेरो मन खिच्यो किनकि त्यो भेगको यात्रा नै पहिलो थियो ।

साँझ ५ बजे विमानले लण्डनको एक चक्कर लगाउँदा थेम्स नदीमा साँझको पहेँलो घामले सुनौलो रङ फ्याँकिरहेको थियो । टोकियोका जस्ता अग्ला र चम्किला भवन त त्यहाँ थिएनन् तर परैबाट यसको फरकपन महसुस गराउन सक्षम थियो । नभन्दै एयरपोर्टबाट बाहिर निस्कदा अनुभव भयो, बेलायत आफ्नै गरिमा बोकेर सयौं वर्षदेखि उसैगरी मुस्कुराइरहेको छ । लन्डनलाई नौओटा क्षेत्र (जोन) मा छुट्याइएको छ । हिथ्रु विमानस्थल जोन ७ मा पर्दछ, यद्यपि भौतिक विकास, जनघनत्त्व र बजारको हिसाबले जोन ४ जस्तो देखिन्छ रे !

बेलायतको लागी नेपाली राजदुत महामहिम डा. दुबसु छेत्रीबाट सम्मान ग्रहण गर्दै ।

हामीलाई नारायण गाउँले र दुर्गा पोखरेलले न्यानो स्वागत गर्दै पश्चिम लन्डनको हेजस्थित आफ्नो घर पुर्याउनु भयो तर घाम भने अझै अस्ताएको थिएन । उसैगरी चम्किलो सुनौला रङ सहरभरि परिरहेको थियो । हतारमा गाउँलेजीको घरमा चिया पिएर दुर्गा पोखरेलको घरतिर लाग्यौं । साँझ अझै गहिरिएको थिएन । यति लामो साँझ यसअघि मैले कहिल्यै अनुभव गरेको थिइनँ ।

‘अहिले कति बज्यो, घाम त अझै अस्ताएको छैन नि ?’ मैले गाउँलेलाई सोधेँ ।

‘भर्रखर त रातको नौ बज्न लाग्यो, अब घाम अस्ताउने बेला भयो,’ उत्तर दुर्गा दाइले दिनुभयो ।

अचम्मको मौसम हुँदो रहेछ है ! मैले छक्क परेर घामतिर हेर्दा अचानक बादल लाग्यो र केहीबेरमै  पानी पर्यो । दुर्गा दाइ हाँस्नुभयो र भन्नुभयो, ‘यो लण्डन हो, मौसमको भर हुन्न ।’

मनमा डा. तारानाथ शर्माले आफ्नो पुस्तकमा लेखेको कुरा सम्झिएँ, ‘यहाँ मौसमको भर हुँदैन । महिलाको त झन् हुँदैन ।’

हामीले खाना खाँदा पानी परिरहेको थियो ।

भोलिपल्ट बिहानै साहित्यकार डा. रूपक श्रेष्ठको घर पुग्ने योजना थियो । त्यहाँ पुग्दा गोबर्धन पूजा र विश्वबिमोहनजीसँग भेट भयो । रूपकजीसँग पहिलो भेट भए पनि उहाँले त्यो छनक पर्न दिनुभएन । गोरखापत्र दैनिकका प्रधान सम्पादकसमेत रहनुभएका श्रीओम श्रेष्ठ रोदन दाइको ल्यान्डिङ सोही दिन भएकाले राज श्रेष्ठजीहरू विमानस्थलतर्फ लाग्नु भयो । नारायणजीले गाडी दक्षिण-पश्चिममा पर्ने साउथहलतिर हुइँक्याउनु भयो । साउथहल घुम्दै गर्दा भैरहवा र सुनौली नाकाको बजार घुमेको झल्को पनि लाग्यो घरिघरि ।

हामीलाई साँझको प्रतीक्षा थियो किनभने साँझसम्ममा विश्वभरिबाट साहित्यकारहरू आउने कार्यक्रम थियो, जो एकअर्कालाई भेट्न व्यग्र थियौँ । नभन्दै साँझको डिनर भव्य भयो । नेपालबाट दर्जनौँ साहित्यकारहरू आउनुभएको थियो । अमेरिका, अस्ट्रेलिया, युरोपदेखि र मध्यपूर्वका मुलुकबाट पनि केही साथीहरू आउनुभएको रहेछ ।  हामी त्यहाँ पुग्दा मोहन सिटौला, प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल, पदम विश्वकर्मा, डा. रेणुका सोलु, श्रीओम रोदन, गोबर्धन पूजा, राजन केसी, लालगोपाल सुबेदी, भीमसेन सापकोटा, मीना केसी, बाबा बस्नेत, हरिमाया अधिकारी, सन्ध्या पहाडी, राजेन्द्र श्रेष्ठ, प्रतीक ढकाल, कमला रिसाल, दुर्गा शाह बाबा, शान्ति गिरी, डा. पुष्पा शर्मा, सरिता अर्याल, डा. कविता लामा, सुमन वर्षा घिमिरे लगायत सबै जना आइपुगी सक्नु भएको रहेछ । च्याप्टरका कोषाध्यक्ष सचिन गुरुङ र महासचिव सन्तोष कार्कीले स्वागत गर्नुभयो ।  परिचयको आदान प्रदान गर्दागर्दै रात बितेको पत्तै भएन । होटेल पुग्दा अबेर भइसकेको थियो ।

सम्मेलन उदघाटन शत्रमा सहभागीहरू

भोलिपल्ट कार्यक्रम प्रारम्भ भयो । प्रमुख अतिथिको आसनबाट बेलायतस्थित नेपाली राजदूत डा. दुबसु क्षेत्री र विशिष्ट अतिथिको रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले संयुक्त रूपमा गर्नु भयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्त्वमा सम्पन्न उद्घाटन सत्रमा विशिष्ट अतिथि जगमान गुरुङ, बोर्ड अफ ट्रस्टीका उपाध्यक्ष तथा निवर्तमान अध्यक्ष पदम विश्वकर्मा, सम्मेलन संयोजक सुमलकुमार गुरुङ र ट्रस्टीका सल्लाहकार प्रा. डा. खगेन्द्रप्रसाद लुईंटेलले मन्तव्य राख्नुभएको थियो । त्यसअघि  मैले वरिष्ठ उपाध्यक्षको नाताले सम्मेलन आयोजना गर्नुपर्ने आवश्यकता र यसले नेपाली साहित्यलाई दिएको योगदानको बारेमा चर्चा गरेँ । बोर्ड अफ ट्रस्टी अध्यक्ष गीता खत्रीले पठाउनुभएको शुभकामनापत्र केन्द्रीय उपाध्यक्ष सुनिल संगमले पढेर सुनाउनुभएको थियो । सेमन्त राई र भरत लोहोरुङ राईको बाँसुरी मात्रै होइन, दीपक थापा, कमला रिसाल, बिसी राई अनि स्नेहा श्रेष्ठको गीतले कार्यक्रमको बीचबीचमा बेग्लै रौनक छरेको थियो । भिडियोग्राफर आशिष श्रेष्ठ र फोटोग्राफर साकार श्रेष्ठको कलात्मक र छरितो काम प्रशंसायोग्य थियो ।

अनेसासका कारण भव्य भेटघाट र साहित्यिक कार्यक्रम भएको थियो । योबेला संस्थाका संस्थापक हेमनाथ सुवेदीको याद अयो । फर्केर हेर्दा उहाँकै सपनाले यो जमघट सम्भव भएको महसुस भयो ।

कार्यक्रममा अघिल्लोपटक अन्तर्राष्ट्रिय सम्मेलन गर्ने च्याप्टर र कार्यक्रम संयोजकहरूलाई सम्मान गरियो । यसको अवसर गणेश घिमिरे र म स्वयंले प्राप्त गर्यौँ । त्यसपछि सुरु भयो, मधुर कविता वाचन । दुई दर्जन कविहरूले एकै ठाउँ बसेर कविता वाचन गरेको यो समय मेरा लागि निकै आकर्षक थियो ।

कार्यक्रममा आधा दर्जन बढी कृति र स्मारिका विमोचन गरिएको थियो भने सुप्रमा पुरस्कारबाट गजलकार नृपेश उप्रेतीलाई सम्मानित गरिएको थियो । महासचिव गणेश घिमिरे, लक्ष्मी राई र सानु घिमिरेको मिठासपूर्ण कार्यक्रम सञ्चालनले समय बितेको पत्तै भएन । बेलायतवासी साहित्यकार सञ्जु बजगाईं, बेल्जियम च्याप्टरका पूर्वअध्यक्ष दीपेन्द्र केसी, विमल गिरी, बेल्जियम च्याप्टरका अध्यक्ष राजकुमार पुडासैनी, साहित्यकारहरू जगत नवोदित, वाइबि गुरुङ, रोजा ओली, मोहन आचार्य जल्लादसँग कार्यक्रमको बीचबीचमा भलाकुसारी चलिरह्यो । भारतबाट आउनुभएका डा. पुष्पा शर्मा, मीना सुब्बा, लतिका जोशी, रत्न सुब्बा, रुद्र पौडेल, गीतादेवी शर्मा, कृष्णराज घटानी, ललिता जोशी लगायत सबै जना मध्य भागतिर लहरै बस्नुभएको थियो ।

बेलायतका साहित्यकार कृष्ण बजगाइँ मुसुमुसु हाँसेर अगाडि बसेको निकै पछि देखेँ । हात हल्लाएर उहाँलाई स्वागत गर्नसम्म भ्याएँ । मुख्य कार्यक्रममा उहाँको उपस्थिति मेरा लागि महत्वपूर्ण थियो।

कवि गाेष्ठीमा कविता वाचन गर्दै जगत नबोदित

हेर्दाहेर्दै कुनबेला साँझ पर्नथाल्यो थाहा भएन । कार्यक्रमको समाप्तीसँगै बेलायतस्थित नेपाली दूतावास पुग्न हामीलाई हतारो भयो । कारण, दूतावासमा साहित्यकारहरूका लागि डिनर कार्यक्रम राखिएको थियो । राति अबेरसम्म हामीले राजदूत दुबसु क्षेत्रीको साहित्य क्षेत्रको योगदानको चर्चा गर्दै बितायौँ । दूतावासमै पनि कवि गोष्ठी निकै सशक्त रूपमा चल्यो । न्युयोर्कबाट आएका कवि कृसु छेत्रीसँग दूतावासमै भेट भयो । गोष्ठीलगत्तैको डिनरमा डा. दुर्गा दाहाल, प्रतीक ढकाल, दुर्गा रिजाल, गीता मैनाली, पुष्पा खनाल, कल्पना खरेल, बिनु गुरुङ, निरु न्यौपाने, यादव रेग्मी लगायत सबै जना केहीबेर गफमा व्यस्त भयौँ । होटल फर्कंदा हिजोजस्तै अबेर भैसकेको थियो ।

कार्यक्रम अवधिभर अनेसासको कार्यकारीहरू सबैको व्यस्तता बढ्नु स्वाभाविक थियो । केही साथीहरू फुर्सद हुनासाथ लन्डनका छेउकुनाका चोकहरू घुमिसक्दा हामी भने कार्यक्रमको योजना, छलफल र आन्तरिक मिटिङ गरिरहेका हुन्थ्यौँ । भोलिपल्टको कार्यक्रममा कार्यपत्रको प्रस्तुति र प्यानल छलफलको कार्यक्रम राखिएको थियो । यसका लागि सिक्किम विश्व विद्यालयकी नेपाली विभाग प्रमुख डा. कविता लामाले कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले वर्तमान परिप्रेक्षमा नेपाली साहित्यमाथि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसको टिप्पणीकार शान्तिमाया गिरीको टिप्पणी पनि निकै गम्भीर थियो । त्यसलगत्तै नेपाली भाषामा विशेष दख्खल राख्ने बेलायती नागरिक माइकल हटले महाभूकम्पपछि नेपाली साहित्यको अवस्था शीर्षकमा गहकिलो कार्यपत्र प्रस्तुत गर्नुभयो । उक्त कार्यपत्रमाथि सुमन वर्षा घिमिरेले टिप्पणी गर्नुभएको थियो ।  कार्यपत्रपछि डा. रूपक श्रेष्ठले प्यानल डिस्कसन चलाउनु भयो । विषय  थियो, डायस्पोरा लेखन । यो डिस्कसनले पनि उपस्थित साहित्कारको ताली पाएको थियो । यद्यपि समय अभावले गर्दा पूर्वअध्यक्षद्वय मोहन सिटौला र पदम विश्वकर्माले सञ्चालन गर्ने भनिएको प्यानल डिस्कसन कार्यक्रम स्थगन गर्नुपर्‍यो ।

प्यानल डिस्कसन सन्चालन गर्दै डा. रुपक श्रेष्ठ

समग्र कार्यक्रम कस्तो भयो ? मलाई थाहा छैन । संस्थामा आफैँ कार्यकारी भएका कारण आफ्नो काम राम्रै भएको जस्तो लाग्दोरहेछ । त्यसको मूल्यांकन सहभागी साथीहरूले गर्नुभयो होला ! सामाजिक सञ्जाल, समाचार साइटहरू र प्रत्यक्षप्रसारणको माध्यमबाट हेर्नुहुने विभिन्न च्याप्टरका साथीहरूले गर्नुभयो होला !   तर एउटा कुरा चाहिँ भन्नै पर्छ, आयोजकका रूपमा युके अध्यक्ष सुमल दाइ र त्यहाँका साथीहरूले रातदिन नभनी दिएको समय र खटाइबिना त्यत्रो कार्यक्रम गर्न सम्भव थिएन । कार्यक्रममा सारा गुरुङ भाउजू, लक्ष्मी राई, लय प्रसाईं, बिशन थापा, राधा सापकोटा, विजय गुरुङ, माया गुरुङ, सन्तोष कार्की, मदन पौडेल, संगम गुरुङ, राजु गुरुङ, समीक्षा गुरुङ, देवयानी शर्मा, दीपक थापा लगायतको भूमिका महत्त्वपूर्ण रहेको छ । अन्तिम चरणमा मेरो नेतृत्वमा रहेको ७ सदस्यीय घोषणापत्र समितिद्वारा आठ बुँदे घोषणापत्र सार्वजनिक गरिएसँगै सहभागी सबैलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो ।

मलाई बेलायत पुग्दा राणाकालीन नेपालको सम्झना हुन्छ । बेलायतका जुनसुकै गल्ली पुग्नुस्, तपाईंले सिंहदरबार, बागदरबार र लालदरबारहरू भेट्न सक्नुहुनेछ । सुरु सुरुमा म काठमाडौँ आउँदा मलाई प्रभाव पारेका यी दरबारहरू बेलायतमा जताततै पाइने गरेछन् । बेलायतबाट राणाहरू कतिसम्म प्रभावित थिए भन्ने ती दरबारले महसुस गराउँछ । तर उनीहरूले बेलायतको दरबारबाट प्रभावित भए पनि त्यहाँको प्रजातान्त्रिक मूल्य मान्यताबाट धेरै सिक्न सकेनन् । यता प्रजातन्त्रवादीहरूले बेलायतको प्रजातन्त्रबाट धेरै सिके तर विकासको मोडल र जनताको सेवा कसरी गर्नुपर्छ भन्ने कुरा सिकेनन् । बेलायत घुमुञ्जेल मलाई लाग्यो, यी दुवै कुरा नेपालीहरूले किन सिक्न सकेनन् ?

भोलिपल्टको कार्यक्रम बेग्लै थियो । महान् साहित्यकार सेक्सपियरको घर जाने कार्यक्रममा म सहभागी हुन सकिनँ । डायस्पोरिक साहित्यकार कृष्ण बजगाईंजीसँग लन्डन ब्रिज र बकिङ्गम दरबारतिर घुम्दै गर्दा सेक्सपियरको घर पुग्न नपाएकोमा थक्थकी लागिरहेको थियो । ग्रिनविचको धर्सोमा उभिँदा छविरमण सिलवालको कृति ग्रिनविचको साँझ (२०७५) को सम्झना आयो ।त्यहीबेला प्रिय साथी परशुराम पौडेलसँग १६ वर्षपछि भेट भयो ।

उदघाटन शत्रमा पुस्तक प्रदर्शन

लेख सक्दैगर्दा बेलायतका नेपाली राजदूत दुबसु क्षेत्रीको कुरा गरिएन भने यो अपूरो हुन्छ । नेपालमा सरकारी कर्मचारीको छवि उति राम्रो छैन तर एउटै दुबसुले ती सम्पूर्ण सरकारी छविलाई नामेट पार्न सफल भएका छन् । दुबसुले देशभित्र पनि पनि निकै राम्रो काम गरेको पढ्न र सुन्न पाइन्छ । साहित्यिक व्यक्तित्व पनि उँचो छ । तर परराष्ट्र मन्त्रालयका जागिरे भएका कारण उनी स्वदेशमा भन्दा विदेशमै बढी भेटिन्छन् । उनी बर्मामा जाँदा त्यहाँका बर्मेली नेपालीहरूलाई साहित्यको मूलधारमा ल्याउन ठूलो प्रयास गरेको कुरा त्यहाँ पुगेकाहरूले प्रशंसा गरेको सुन्न, पढ्न पाइन्छ । म आफैँले पनि उहाँ जापानमा हुँदा नेपाली भाषा, संस्कृति र नेपालीहरूका लागि गरेको प्रयासलाई नजिकबाट अनुभव गरेको थिएँ । यसपटक बेलायतमा हुँदा उहाँले हाम्रो कार्यक्रमको प्रमुख अतिथि हुने मात्र होइन, सम्पूर्ण साहित्कारहरूलाई रात्रि भोजको व्यवस्था गर्नुभएको थियो । रात्रिभोज त एउटा बहाना थियो, खासमा उहाँले त्यसबखत नेपाली साहित्यका विषयमा गरेको चिन्तनले सबैलाई मन्त्रमुग्ध पारेको थियो । दूतावासको भित्तामा नेपाली साहित्य जगतका मूर्धन्य व्यक्तित्त्वहरूको फोटो सजाइएको थियो । सम्भवतः साहित्यकारलाई सम्मानपूर्वक फोटो झुन्ड्याउने दूतावास लन्डन दुतावास नै हुनु पर्छ भनेर कुमारबाबु सिम्खडाले केही समयअगाडि सामाजिक सन्जालमा लेख्नुभएको थियो ।

उदघाटन शत्रमा पुस्तक प्रदर्शन
Loading...