नेपाली साहित्यको सम्पूर्ण पत्रिका

भारतीय नेपाली साहित्यः इतिहास लेखनका केही आधार (भाग एक)

भारतीय नेपाली साहित्यमाथि भारतस्थित दार्जीलिंग निवासी साहित्यकार नरबहादुर दाहालको इतिहास लेखनसम्बन्धी लेखको पहिलो भाग ।

नेपाल र भारतमा बोलिने र लेखिने नेपाली भाषा प्रायः एउटै भए पनि साहित्यको इतिहास भने हाम्रो आफ्नोआफ्नै छ । नेपालबाट नेपाली साहित्यका इतिहासहरू धेरै प्रकाशित भएका छन् तर भारतबाट आजसम्म बृहत् रूपमा भारतीय नेपाली साहित्यको इतिहास लेखिएको छैन ।

पाठ्यपुस्तकहरूको रूपमा लेखिएका दुई चार कृतिहरूको कुरा बेग्लै हो । अपवादमा मणिपुरकी गोमा शर्माद्वारा लिखित ’नेपाली साहित्यको विश्लेषणात्मक इतिहास’यस दिशामा एउटा स्तुत्य प्रयास हुँदाहुँदै पनि यसमा धेरै तथ्याङ्कहरू त्रुटिपूर्ण भएको छ । (१) भारतीय नेपाली साहित्यको इतिहास लेख्ने लेखाउने बारेमा धेरै पल्ट बी.पी. कोइराला फाउण्डेसनद्वारा आयोजित भारत नेपाल लेखक समेलनमा व्यापकरूपमा चर्चा पनि चलेको हो । लेख्ने लेखाउने कुरा पनि तय भएको हो । तर आजसम्म यस्ता प्रस्तावहरू कार्यान्वित भएका छैनन् । नेपालले समग्रमा (भारतलाई पनि लिएर) नेपाली साहित्यको इतिहास लेख्दा आजसम्म इतिहासकारहरूले भारतबारे कतिपय त्रुटिहरू गर्दैआएका छन् । उनीहरूले लेखेका कुराहरू कि अमर्यादित हुन्छन् कि अपूर्ण हुन्छन् । विशेष उनीहरूले भारतका दुई चारजना विशिष्ट लेखकहरूको नाम र उनीहरूको योगदानको मात्र इतिहासमा उल्लेख गरेको पाइन्छ । यसको कारण हो उनीहरू नेपालमा बसेर सुनेका भरमा अथवा अरूले अघि लेखेका त्रुटिपूर्ण कुराहरू नै दोहोराएर लेख्ने गर्छन् । उनीहरू शोध गर्ने, फिल्ड वर्क गर्ने कष्टसम्म गर्दैनन् ।

आजसम्म नेपालबाट भारतीय साहित्यको इतिहास लेख्न तथा यसका आधार ग्रन्थहरू खोजी गर्न भारतको दार्जीलिङ, सिक्किम, आसाम इत्यादि ठाउँहरूको नेपालबाट कसैले भ्रमण गरेको थाह लाग्दैन । अपवादमा यसपाला पहिलोपल्ट डा.गोविन्दराज भट्टराईले ’नेपाली अनुवाद ग्रन्थसूची’ मा भारतलाई समावेश गर्न ठूलो परिश्रम गर्नुभएको छ । उहाँले यसको निम्ति आसामका कतिपय नेपाली बहुल क्षेत्रहरूको भ्रमण गरेर सिलगढीमा समेत साहित्यकारहरूसित भेटी यस कार्यलाई पूर्णता दिनुभएको हो । यसैले नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित यो ग्रन्थमा भारतका अनुवादित कृतिहरूले निश्चितरूपले स्थान पाएको होला भन्न सकिन्छ । साहित्यको इतिहास लेख्ने अरूको निम्ति यो एउटा उदाहरणसमेत भएको छ ।

नेपालबाट प्रकाशित यस्ता इतिहास तथा इतिहास लेखनका आधार ग्रन्थहरूमा भारतबारे साधारण लेखकहरूले मात्र होइन विद्वान लेखकहरूले समेत धेरै भूल गरेका छन् । यस्तो भूल समालोचक डा.ईश्वर बरालबाट पनि भएको छ । डा. ईश्वर बरालले मधुपर्क (१७र७ मङ्सिर२०४१)मा ’सिक्किमको नेपाली साहित्य’ शीर्षकमा एउटा लेख लेख्नुभएको थियो । यसमा धेरै भूलहरू थिए । मैले यसमा भएका भूलहरू औंल्याएर लेखेको सम्पादकलाई पत्र मधुपर्क (१८र१, जेठ २०४२) मा छापियो । यो छापिएपछि डा.बरालले आफ्नो भूल स्वीकार गरेर सामग्रीको अभावमा यस्तो भएको हो भनेर खेद प्रकट गर्दै मलाई पत्र लेख्नुभएको थियो । ’ईश्वर बरालः कृति र कीर्ति’ ग्रन्थमा भएको मेरो संस्मरणात्मक लेखमा डा.बरालको उक्त पत्र समावेश छ । सामग्रीको अभावमा पनि यति त्रुटिपूर्ण लेख लेख्ने बाध्यता किन ? ( मेरो प्रश्नको जवाफ बरालजीले कहिले दिनुभएन ।)

हामीकहाँ प्रारम्भिककालका इतिहास लेखनका अरू पनि धेरै सामग्रीहरूको ठूलो अभाव छ ।

भारतेली नेपाली साहित्यको इतिहास बृहत् रूपमा लेख्दा यसका आधार ग्रन्थहरूको ठूलो अभाव देखा पर्छ । यसको एउटा कारण हो, हामीसित राम्रा ’लेखक परिचय कोश’ छैनन्, न त मौलिक र अनुवादित कृतिहरूको ग्रन्थकोश नै छ । हामीकहाँ प्रारम्भिककालका इतिहास लेखनका अरू पनि धेरै सामग्रीहरूको ठूलो अभाव छ । अलिअलि भएका यस्ता धेरै सामग्रीहरू साथै सन्दर्भ ग्रन्थहरूसमेत अहिले अप्राप्य भैसकेका छन् ।

(क) ईसाई मिसनेरीहरू र गंगाप्रसाद प्रधान

भारतीय नेपाली साहित्यको प्रारम्भिक कालमा कोश र व्याकरण निर्माण गर्नमा ईसाई मिसिनेरीहरूले गरेको योगदान अविस्मरणीय छ । यस्ता विदेशी विद्वानहरूमा ले.जे.ए.एटन (ग्रामर अफ दि नेपलि

नरबहादुर दाहाल

ज ल्याङवेज, १८२०) रेभ.ए.टर्नबुल (ए नेपलिज ग्रामर, १८८७), दोस्रो संस्करण ( १९०४) मेजर ए.जि.एफ.ब्राउन (मेनुयल अफ खस, गोर्खाली अर पर्वतिया(१८९२), सर राल्फ लिले टर्नर (व्यूत्पतिमूलक कोश, १९३१ ) इत्यादि हुन् । योबाहेक दार्जीलिङ जिल्लाको पहाडी क्षेत्र र सिक्किममा शिक्षा प्रचारमा समेत उनीहरूको अवदान कम छैन । नेपाली व्याकरण र कोश निर्माणमा उनीहरूको देनलाई हामीले भुल्नु हुँदैन। उनीहरूका कृतिहरू आज अव्यवहारिक भए पनि यी सबै हाम्रा ऐतिहासिक नीधि भएका छन ्। यी ईसाई मिसिनेरीहरूको नेपाली भाषा,साहित्यप्रतिको योगदानमाथि नेपालीमा कुनै कृति प्रकाशित हुनुपर्ने हो, तर प्रकाशित भएको छैन ।
भारतमा ईसाई मिसिनेरीहरूको नेपाली साहित्यमा योगदानको चर्चा गर्दा पाद्री गंगाप्रसाद प्रधानको नाम अग्रपंक्तिमा आउँछ। उहाँले अनुवाद गर्नुभएको पुरानो र नयाँ नियम बाइबल सन् १९१४ मा बाइबल सोसाइटीले प्रकाशित गरेको हो। योबाहेक उहाँले नेपाली उखान संग्रह गरेर प्रकाशित गर्नु भयो। उहाँले ईसाई मिसिनेरी मिसेज गोलेनसित मिलेर हान्स डेनिस आण्डर्सनका विश्व प्रसिद्ध बालकथाहरू नेपालीमा अनुवाद गर्नु भयो। पहिलो नेपाली भाषाका समाचार पत्र गोर्खे खबरकागत् सन् १९०१ देखि सन् १९३२ सम्म प्रकाशित गर्नु भयो।

गंगाप्रसाद प्रधान झर्रो नेपाली भाषाका पक्षपाती हुनुहुन्थ्यो। यसैले उहाँले गोर्खे खबरकागत लगायत सम्पूर्ण कृतिहरूमा झर्रो नेपाली भाषा चलाउनु भयो। नेपालबाट आई काशीवास गर्ने नेपाली लेखकहरूले लेखेको नेपाली भाषालाई उहाँ ’काशीभाषे बोली’ भन्नुहुन्थ्यो। वास्तवमा उहाँ धर्मको कारणले ओझेलमा पर्नु भए हो । उहाँ ईसाई हुनुहुन्थ्यो । त्यसबेला ईसाई हुनु नेपाली समाजमा सामाजिक अपराध नै मानिन्थ्यो। एकताका डा.ईश्वर बरालले दार्जीलिङबाट फर्केर गएपछि एउटा लेखमा ’कृस्थान हुन लागेको दार्जीलिङको नेपाली समाज’ लेखिदिँदा ठूलो हंगामा भएको थियो। एक मात्र हिन्दू राष्ट्र नेपालबाट आई काशीमा बसेर नेपाली भाषामा लेख्ने नेपालका लेखकहरू गंगाप्रसाद प्रधानलाई विधर्मी भनेर उहाँले प्रयोग गर्ने गरेको भाषाको समेत आलोचना गर्थे। दार्जीलिङका पारसमणि प्रधानसमेत भाषाको कुरामा उहाँको पक्षमा थिएनन् । वास्तवमा गंगाप्रसाद प्रधान नेपाली साहित्यमा ईसाई भक्तिधाराका प्रवर्तक हुनुहुन्थ्यो। आफूले लेखेको साहित्यलाई उहाँले कहिले ईसाई साहित्य भन्नु भएन।

गंगाप्रसाद प्रधानलाई भारतको साहित्य अकादमीले एकजना भारतीय साहित्यका निर्माता मानेर उहाँको मोनोग्राफ(जीवनी) समेत प्रकाशित गरिसकेको छ।

नेपाली भाषामा जसले जे लेखे पनि नेपाली साहित्य हुनु पर्ने हो। हिन्दी साहित्य, बंगला साहित्य ,इत्यादि अलगै साहित्यहरू हुन्। त्यसरी नै ईसाई साहित्य भन्नाले यो पनि अलगै हो कि भन्ने भ्रम देखा पर्छ। अरू पनि धेरै विशिष्ट नेपाली साहित्यकारहरू कृष्णदास प्रधान,दानियल खालिङ, एम.एम.गुरूङ, इत्यादि सबै ईसाई थिए तर उनीहरूले आफ्नो सिर्जनालाई कतै पनि ईसाई साहित्य भनेका छैनन्। आज गंगाप्रसाद प्रधानका कति अनुयायीहरू आफूले लेखेको साहित्यलाई ईसाई साहित्य भन्ने गर्छन्। गंगाप्रसाद प्रधानले धर्म परिवर्तन गरे पनि उनी आजीवन नेपाली भाषा, साहित्य र संस्कृतिका पृष्ठपोषक रहनु भयो। उहाँले पाद्री मेकफार्लैनबाट अलफनेस प्रेस लिएर गोर्खे प्रेस नामकरण गरेर चलाउँनु भयो। उनको अर्को महत्वपूर्ण देन त्यसबेला नेपाली कोश र व्याकरण लेखनमा लागेका अंग्रेज र अन्य विदेशीहरूलाई उनीहरूको काममा यथेष्ठ सहयोग पुर्याउनुभएको थियो। उनको सहयोग पाएर नै ईसाई मिसिनेरीहरूले नेपालीकोश र व्याकरण तयार गरेर भाषा र साहित्यको सेवा गरे। गंगाप्रसाद प्रधानलाई भारतको साहित्य अकादमीले एकजना भारतीय साहित्यका निर्माता मानेर उहाँको मोनोग्राफ(जीवनी) समेत प्रकाशित गरिसकेको छ।

आफ्नो समयमा गंगाप्रसाद प्रधान एकजना व्यक्तिले जे जति गर्नु भयो, यसलाई हामीले धेरै मान्नु पर्छ । अब आज उहाँ बारेका सामग्रीहरूको अभाव छैन । सलोन कार्थकले उहाँको जीवनी लेखेका छन्। उनको सम्पूर्ण कृतिहरूको रचनावली प्रकाशित भइसकेको छ। योबाहेक नरबहादुर दाहाल र एडोन रोङगोङको संयुक्त सम्पादनमा भारत र नेपालका धेरै जना लेखकहरूको गंगाप्रसाद प्रधानबारे लेखहरूको संग्रह ’अजम्बरी गंगाप्रसाद प्रधान’ एकता बुक हाउसले प्रकाशित गरिसकेको छ। अझ भाषिक अध्ययनको निम्ति नेपाल बाइबल सोसाइटीले गंगाप्रसाद प्रधानले अनुवाद गरेको बाइबलको नयाँ संस्करणसमेत प्रकाशित गरेको छ। उनको भाषा, साहित्य र पत्रकारिताप्रतिको योगदानको कदर गर्दै खरसाङको गोर्खा जनपुस्तकालयले खरसाङको गोर्खा जातीय विभूति उद्यानमा पारसमणि प्रधानसँगसँगै गंगाप्रसाद प्रधानको सालिक निर्माणको प्रस्ताव विचाराधीन छ। यसैले भारतेली नेपाली साहित्यको इतिहासमा ईसाई मिसिनेरीहरू र गंगाप्रसाद प्रधानले उचित स्थान पाउककनु पर्छ।

(ख) लहरी र सवाई

भारतीय नेपाली साहित्यको प्रारम्भिककालमा लहरी र सवाई लेखनले एउटा नौलो दिशा प्रदान गरेको थियो। यसले अहिले शताब्दीभन्दा पनि धेरै समय टेकिसकेको छ। तुलाचन आलेको ’मनीपुर्का लडाञिको सवाई’ (१८९३) धनवीर भंडारीको ’अब्बर्पहाड’को सवाई’(१८९७)र ’भैंचालाको सवाई’ पहिलो र दोस्रो भाग(१९०५) कृष्णबहादुर उदासको ’अछामको सवाई’(१९०८) इत्यादि उल्लेखनीय छन् । लहरी र सवाईबारे केही अध्ययन गुप्त प्रधानको ’धूमिल पृष्ठहरू’मा पाइन्छ । अझ हालैमा प्रकाशित डा.भीमकान्त उपाध्यायको ग्रन्थ ’नेपाली लहरीकाव्य ’लहरी र सवाईको मानक ग्रन्थ नै बन्न पुगेको छ । यसअघि पनि साहित्य अकादमीले लहरी र सवाई बारे डा.भीमकान्त उपाध्यायको एउटा कृति प्रकाशित गरिसकेको छ। यस्ता कृतिहरू यस विषयको इतिहास लेखनको आधार बन्न सक्छन्। भारतका बिभिन्न विश्वविद्यालयहरूमा अहिले लहरी र सवाईबारे शोधकार्य पनि चलिरहेको छ । यसैले यस विषयमा अरू पनि धेरै कुराहरू प्रकाशमा आउने सम्भावना देखिन्छ ।

(ग) प्रथम नाटककार र प्रथम उपन्यासकार

योबाहेक भारतबाट प्रकाशित पहिलो नेपाली नाटक ’जीवन लीला’ र नाटककार डा.इन्द्रमान राई बारे दार्जीलिङ सर्कारी महाविद्यालयकी नेपाली विभागकी प्रमुख प्रा.सुजातारानी राईको कृति ’बिहङ्गम विवेचना’बाट धेरै कुरा जान्न सकिन्छ । यस कृतिमा भएको एउटा लेख ’नाटककार डा. इन्द्रमान राई शोधपरक सर्वेक्षणात्मक अध्ययन’ यस विषयको खोजपूर्ण लेख भएको छ।

यस लेखबाट उनका केही साहित्यिक पक्षको जानकारी पाइन्छ। प्रतिमान सिंह लामा भारतका एकजना स्वत्रन्त्रता संग्रामी पनि थिए।

भारतेली नेपाली साहित्यको पहिलो नेपाली उपन्यास ’महाकाल जासूस’र यसका लेखक प्रतिमान सिंह लामाको विषयमा पनि धेरैजना अनभिज्ञ छन्। उनको उपन्यास ’महाकाल जासूस’ भारतको अंग्रेजी शासनकालमा सन् १९१८ तिर खरसाङको हरि प्रिण्टिङ प्रेसमा छापिएको हो। त्यसै समय त्यही प्रेसमा मुद्रित ’चन्द्रिका’ मा यसको विज्ञापन पनि छापिएको छ। त्यसबेला भारतमा अंग्रेजको शासन र नेपालमा राणा शासन थियो। अंग्रेजका जासूस र राणाका जासूसहरू खरसाङमा आएर ’महाकाल जासूस’ का प्रतिहरू सबै किनेर लगी जलाइदिएकोले अहिले अप्राप्य भएको हो भन्ने शंका गरिएको छ। लेखकका ’महाकाल जासूस’ बाहेक अन्य विधाका कतिपय रचनाहरू पनि छन्। डा.मोहन पी.दाहालको ’प्रतिमान सिंह लामा’ बारेमा एउटा लेख मदन पुरस्कार गुठीको पत्रिका ’नेपाली’ (पूर्णांक १०८) मा प्रकाशित छ। यस लेखबाट उनका केही साहित्यिक पक्षको जानकारी पाइन्छ। प्रतिमान सिंह लामा भारतका एकजना स्वत्रन्त्रता संग्रामी पनि थिए। खरसाङका जी.बी.बलले लेखेको एउटा संस्मरणले यस विषयलाई पुष्टि गरेको छ ।(२) यसैले हालैमा खरसाङको ’गोर्खा जातीय विभूति उद्यान’मा प्रतिमान सिंह लामाको सालिक पनि स्थापित भएको छ।

योबाहेक भारतका प्रारम्भिककालका अरू पनि धेरै लेखक कविहरू ओझेलमा परेका छन्। पारसमणि प्रधानको सम्पादनमा प्रकाशित’चन्द्रिका’को प्रकाशन काल(१९१८)की एकजना कालेबुङकि लेखिका कुमुदिनी शर्मा भारतेली नेपाली साहित्यमा प्रथम नारी स्रष्टा मानिन्छिन् तर उनको बारेमा पनि विशेष जानकारी केही पाइँदैन । उनको खोजीमा नारी कथाकारहरूबारे त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्ने साङमू लेप्चाले धेरै परिश्रम गरेकी छन् । तर अझै यो विषयअनिश्चित नै छ ।

Loading...