नेपाली साहित्यको सम्पूर्ण पत्रिका

काठमाडौँ खाल्डोमा हराएका हामी बर्मेली

बर्मादेखि नेपालसम्म – १०


हामी काठमाडौँमा छौँ । हर्ष र विस्मृतिलाई थन्क्याएपछि, थकाइका उकाली र ओरालीलाई पछाडि नै छाडेपछि अनुहारमा एउटै रङ पोतियो, त्यो हो आनन्दताको सङ्लो रङ ।

हामीसँग एउटै भाव उत्पन्न भइरहेको देखिन्थ्यो, नेपाल आमाको काखमा छौँ भन्ने भावना । जतिसुकै अस्वीकार गरे पनि हामीलाई बर्मापछि माया लाग्ने देश नेपाल हो । चाहे त्यो नेपालीहरूले स्वीकार गरून् वा नगरून् । माया भन्ने कुरा कसैले सिकाएर आउने होइन रहेछ, सानैदेखि कुन भाषा बोलियो, कुन संस्कार बोकियो माया पनि त्यही अनुसार हुँदै जाने रहेछ । अहिले हामी त्यही माया बोकेर काठमाडौँका गल्ली नापिरहेका छौँ ।

फाल्गुन महिना, माण्डलेमा गर्मी चढिसकेको हुन्छ । तर काठमाडौँ चिसो नै थियो । ज्ञान सरले काठमाडौँमा गर्मी घटिसकेको बताउन भए पनि म कामिरहेकी थिएँ । हामीले बाटोमा सल्लाह ग¥यौँ, एकोटा ज्याकेट किन्नैपर्छ । फागुुन महिनामा भैँसी बेचेर सिरक किनेको आहान बर्मामा खुुबै प्रचलित छ । नेपालमा छ कि छैन थाहा छैन । हामीले ज्याकेट किन्ने सल्लाह गर्दैगर्दा यो आहान सम्झियौँ र हाँस्यौँ । ज्ञान सरले भन्नुभयो, “यता त झन् चलेको छ ।”

हामी हिन्दू विद्यापिठबाट खाना खाएर निस्किएका थियौँ । हाम्रो उद्धेश्य निष्फिक्री काठमाडौँ घुम्नु थियो । बाटोमा कतै दरबारजस्तो देखिने घर कतै मन्दिरजस्तो देखिने दरबार, कतै काष्ठकलाको अनौठो नमूना, कतै हस्तकलाको सुन्दर प्रदर्शनी जस्तो लाग्ने ठाउँ । अनि कतै कतै कुरूप सहर । काठमाडौँको प्यागोडा शैलीको जुन कल्पना गरिएको थियो, त्यो त ठाउँ ठाउँमा संरक्षण गरेर मात्र राखिएको रहेछ । मलाई लाग्यो, नेपालको सरकारले सहर कस्तो बनाउने भन्ने योजना बनाएकै रहेनछ । हामीले देवकोटा, भानुमक्त, भिक्षु र पारिजातका पुस्तकहरूमा जुन काठमाडौँ पढेका थियौँ, त्यसलाई सरकारले सायद ध्वस्त बनाएको हुनुपर्छ । मतलब योजना नबनाएर ।

हामीलाई बोकेको गाडी एउटा मनोरम पुरातात्विक ठाउँमा पुगेर रोकियो ।

“यो ठाउँ पाटन हो, योचाहिँ ५ सय वर्षअघि बनेको दरबार । यसलाई मंगल बजार भनिन्छ ।”, ज्ञान सरले यसको बारेमा यति भनिदिँदा मैले पढेका नेपालको इतिहास झुलक्क सम्झिएँ । त्योबेला काठमाडौँभित्र विभिन्न देश थिए, त्यसमध्ये यो एउटा देशको राजधानी हो भन्नेसम्म बुझेँ । एउटा सानो देशको दरबारको यो भव्यता साच्चै नै अनौठो थियो ।

हाम्रो यात्राको गन्तव्य धनगढी थियो । चिन्ता उताको पनि थियो । पाटन दरबार घुम्दै गर्दा भीमजी बेला बेलामा ज्ञान सरलाई साहित्य महोत्सवका विषयमा सोध्नुहुन्थ्यो, “सर भोलि कि पर्सि जाने हो धनगढी ?”

“प्लेनको टिकट मिलाउन सुविधा भएन रहेछ, बिहान आयोजक अध्यक्ष रामलाल जोशीजीसँग कुरा भाथ्यो, पर्सी मात्र धनगढीतिर लाग्न हो ।”
खासमा हामी भोलि नै धनगढी लाग्न चाहन्थ्यौँ । हामी छक्क पर्यौँ । हाम्रो चिन्ता दूर गर्दै ज्ञान सरले भन्नु भयो, “केही छैन, आज हामी पाटनका सबै ठाउँ र समय रह्यो भने न्युरोड घुम्ने । भोलि सबै काठ्माडौं घुम्ने त्यसपछि पर्सी धनगढी लाग्ने । के थाहा उताबाट फर्कदा काठमाडौँ घुम्न पाइएला नपाइएला ?”

“अहिले हामी काठमाडौंमै छौँ हैन ?”, सीमादी छक्क पर्नुभयो ।

“होइन, काठमाडौँभित्र तीनवटा सहर छन्, ठूूलो हुँदै जाँदा एकै ठाउँ जोडिएको मात्र हो । हामी अहिले तीनवटामध्ये एउटा सहरको एउटा पुरातात्विक ठाउँमा छौँ ।”, केही अघिसम्म मेरो ज्ञान सत्य हो होइन, शंका उब्जेको थियो । अहिले ज्ञान सरले त्यसलाई सत्य सावित गरिदिनुभयो । उहाँले हामीलाई कहाँ कहाँ लैजाने र कहाँ कहाँ घुमाउने योजना बनाइसक्नुभएको रहेछ । मनमनमा खुसी लाग्यो ।

“खासमा भोलि पनि हामी उता उड्न सक्त्थ्यौँ तर तिमेरूलाई नेपाल खाल्डौ घुमाऔँ भनेर म र अश्विनीजीले यस्तो योजना बनाएका हौँ ।”, यो नाम हामीले पहिलो पटक सुनेका थियौँ ।

“खासमा भोलि पनि हामी उता उड्न सक्त्थ्यौँ तर तिमेरूलाई नेपाल खाल्डौ घुमाऔँ भनेर म र अश्विनीजीले यस्तो योजना बनाएका हौँ ।”, यो नाम हामीले पहिलो पटक सुनेका थियौँ । कुनै केटीको नाम आएका कारण मात्रै मेरो चासो बढ्यो । सायद अरूले यो कुरामा ध्यान दिनुु भएन । मैले पनि अश्विनी को हो सोधिनँ ।

एकैछिनमा हामी पाटन दरबारका विभिन्न ठाउँमा घुम्न थाल्यौँ । एक एक कुरा दर्शनीय थिए । बर्माले पनि आफ्नैखालको सुन्दरता बोकेको छ तर नेपालको बातै अलग छ, यो देश कति हो कति पुरानो, पौराणिक कालदेखिको, रहस्यमयी पनि, यहाँका हरेक ठाउँहरूले आफ्नै इतिहासका गाथा बोकेका छन्, । नेपालका विषय धेरै पढेका कारण पनि बर्मापछि मलाई यो देश बढी ऐतिहासिक लाग्छ । त्यसमाथि यो हाम्रो पुर्खाको देश । त्यसै पनि राम्रो लागिहाल्छ । ज्ञान सरले पनि हामीलाई आफ्नो पुर्ख्यौली थलो देखाउन, यहाँका अद्वितीय संस्कृतिक र कलाले सुशोभित आकर्षक ठाउँमा लान उत्सुक हुनुहुन्थ्यो ।

उहाँले हामीलाई विश्वले मान्यता दिएका ऐतिहासिक जग्गासँग प्रत्यक्ष गराउँदै जानुभयो । ज्ञान सर, साँच्चै मिजासिलो हुनुभएको थियो । कहिले कडा टिचर बन्ने ज्ञान सर यतिबेला गाइड बन्नुभएको छ । कुनैबेला सँगैको दौतरी जस्तो पनि ।

“हेर त ! त्यहाँ कति सुन्दर ढुङ्गेधारा छ, जाओ त्यहाँ गएर पालैपालो उभ । म फोटो लिदिन्छु ।”, उहाँ सकेसम्म हामीलाई बढीभन्दा बढी ठाउँको तस्बिर र त्यसका इतिहाससँग परिचित गराउन चाहनुहुन्छ । बर्माको स्वतन्त्रता आन्दोलन गर्दागर्दै सरकारको आँखा परेर नेपाल भाग्नुपरेको थियो उहाँले । त्योबेला नेपाल आएपछि उहाँले नेपालका सबै प्रजातान्त्रिक व्यक्तित्वसँग नजिकको सम्बन्ध बढाउनु भयो । बर्माको नेपालस्थित दूतावासमा प्रदर्शन गरेर दबाब बढाउने र त्यसमा नेपाली नेताहमार्फत् नैतिक दबाब दिने काम पनि गर्नुभएको रहेछ । लामो समय नेपाल निर्वासित हुँदा उहाँले हिन्दु विद्यापिठमा पढाएर जीविकोपार्जन गर्नुभएको थियो । तर उहाँको नेपाल बसाइ बर्मामा रहेका सबै गोर्खालीहरूका लागि सुखद भइदियो । उहाँले नेपाल बसेर हाम्रा लागि नेपाली भाषाको पाठ्यक्रम तयार पारिदिनु भयो । हामी जस्ता सामान्य मान्छे नेपाल आउने वातावरण बनाइदिनु भयो ।

एउटा मान्छेको संघर्ष कति हुन्छ, अनुहार हेरेर थाहा हुन्न, लामो समय संगत गरेपछि थाहा हुन्छ । उहाँलाई मैले नेपाली भाषा र साहित्यमा चिन्तित व्यक्तित्व भन्ने बुझेको थिएँ तर उहाँ त बर्माको प्रजातान्त्रिक आन्दोलनका योद्धा पनि हुनुहुँदो रहेछ । पाटन दरबार घुम्दै जाँदा थोरै थोरै उहाँले आफ्नो कथा पनि चुहाउँदै जानुभयो । हामीलाई पाटन दरबारको सौन्दर्यले जति तान्यो, त्यति नै ज्ञान सरको संघर्षले वषिभूत बनायो ।

हामीले धनगढी र त्यहाँको साहित्यिक कार्यक्रममा कसरी प्रस्तुत हुने भन्ने योजना पनि बनाउँदै गयौँ ।

हामी दरबार परिसर वरपर हेर्दै, फोटो लिँदै, सरको पुराना कथाहरू पनि सुन्दै गयौँ । उहाँले आगामी दिनका योजनाहरू पनि बताउनु भयो । जसअनुसार हामीले धनगढी र त्यहाँको साहित्यिक कार्यक्रममा कसरी प्रस्तुत हुने भन्ने योजना पनि बनाउँदै गयौँ ।

“यहाँभित्र मल्लकालीन सामग्रीहरू छन् ।”, ज्ञान सरले भित्र छिर्ने बाटोतिर जाने इसारा गर्दै भन्नुभयो, “यहाँ आएको बेला हेरौँ है त !”
उहाँको आदेश पाउनेबित्तिकै हामी छिर्याैँ ।

तर पालेले भित्र जान रोके । भुकम्पपछि भित्र जान मनाही छ रे । किन ? भनेर सोध्दा उनीहरूसँग उपयुक्त जवाफ थिएन । भुकम्प गएको यत्तिका वर्ष भैसक्दा पनि जानैपर्ने महत्वपूर्ण ठाउँमा जान नदिएर सकारले गल्ती गरेको महसुस भयो । त्योभन्दा पनि बढी किन भन्ने प्रश्नको जवाफ नपाउँदा भयो ।

“केटीहरू मङ्गलबजारमा केही नकिन्ने ?“ यी चोकहरुका परिचित भीमजीले हामीलाई भन्नुभयो, “यहाँ पाउने चिजबिज अरूतिर पाउँन्न ।”
पाटनको मध्यभागमा रहेछ मङ्गलबजार । युवतीहरूको स्वभाव नै सौन्दर्यप्रति अभिमुख हुनु हो । सबैले आ–आफ्नो रुचिका कुरा हेर्न थाले । मैले चाहिँ झुम्का किनेँ । मसँग त्यो बेलासम्म नेपाली रुपैयाँ रहेनछ ।

“भारू चल्छ ?” मैले पसलेलाई डराइ डराइ सोधेँ ।

“चल्छ हजुर ।”, पसलेले सजिलै जवाफ दियो । जति सजिलोगरी उसले जवाफ दियो, त्यति नै दुख्यो मलाई । चल्दैन भनेको भए हुने ।
नेपालमा भारतको ठूलो प्रभाव छ भनेर बारम्बार सुन्थेँ, पसलेको जवाफले महसुस पनि गरेँ ।

‘तिमेरु केही नकिन्ने ?’, महिला प्रशाधन पसलको बाहिर उभिएका पुरुषहरूलाई हेर्दै ज्ञान सरले सोध्नुभयो ।

“हामी चाहिँ दौरा सुरूवाल किन्ने हो सर ।” वहाँहरू तीनैजनाको एउटै भनाइ थियो । विशेष साँस्कृतिक कार्यक्रम र तिहारबाहेक बर्मामा दौरासुरूवाल, चौबन्दी, फरिया कहाँ लाउन पाउनु ? नेपाली मन भए पनि भुषामा पूर्णरूपले बर्मेलीकै अनुसरण गरिन्छ । हामीले बोलेका कतिपय कुराहरू बर्मा मिस्रित हुन्थे । खासमा बजार किनमेल गर्दा अप्ठ्यारो भइरहेको र हामी आफैँमा एउटा हाँस्यस्पद बन्न पुग्ने हुनाले पूरा वाक्य नेपालीमै बोल्ने भाषा सुधार अभियान त्यहीँबाट सुरू भयो । साथमा भुषाबाट पनि पूर्ण नेपाली बन्ने चाहना पनि बढ्यो । “हाम्रो टोली नेपाल भित्रिसकेको शुभसमाचार पाएपछि चारैतिरबाट बोलावट हुन थाल्यो, कहाँ जाने होला ? दुुई तीनवटा फोन उठाएपछि ज्ञान सरले भन्नुुभयो, ‘अरुतिर त भ्याइँदैन होला, लघुकथा समाजतिर जाउँ है ?’

खासमा यो प्रश्न औपचारिक मात्र हो भन्ने हामीलाई थाहा छ । हामी त उहाँले जहाँ लिएर जानुहुन्छ, खुरुखुरु जाने मात्र हौँ ।

केहीक्षणपछि हामी पाटन दरबारबाट बाहिर निस्कियौँ र गाडीमा चढ्यौँ । गाडीले कुुरूप सहरको दर्शन गराउँदै लघुकथा समाजको कार्यक्रममा पुर्यायो ।

जुन भवनमा कार्यक्रम थियो, त्यसको नाम सायद महिला विकास केन्द्र, यस्तै केही थियो, टिप्न बिर्सिएछु । साहित्यमा सबै कुरा सत्य कहाँ होला र भनेर मैले यस्तै लेखिँदिएँ । सोधेको भए सायद यहाँ अर्कै नाम लेखिन्थ्यो होला ।

आजकै दिन हामीले पढ्ने र पढाउने पाठ्यक्रमका तीनवटै सम्पादनसँग भेट हुने अवसर पाउँदा आँखा रसाउनु स्वभाविक नै थियो ।

कार्यक्रममा हुनुहुन्थ्यो, गोरखापत्रका सम्पादक (यो लेख्दै गर्दा उहाँ भूतपूर्व सम्पादक भइसक्नुभयो भन्ने सुन्दैछु) श्रीओम श्रेष्ठ रोदन, लक्ष्मण गौतम । यी दुुवै व्यक्तित्व मेरा लागि आमा, बुवापछिका परिचित गुरुहरूको वर्गमा पर्छन् । बर्मेली पाठ्यक्रमका सम्पादक उहाँहरू नै हुनुहुन्छ । मैले बर्मेली गोर्खाली विद्यार्थीहरूलाई पटक पटक तिम्रो पाठ्यपुस्तक कसले लेखेको हो भनेर सोधेको छु र जवाफमा उहाँहरूको नाम सुनेको छु । अझ गएको वर्ष कक्षा ५ सम्मको नयाँ पाठ्यपुस्तको शैक्षिक तालिम दिन सरहरू बर्मा आउनुभाको थियो । उहाँहरू मिचिना, यंगुन, लोखू र मोगोक गरेर नेपाली बस्ती बढी भएका प्रान्तमा नेपाली अध्यापन गराउने गुरू–गुरूमाका निम्ति शिक्षक प्रशिक्षण तालिम दिन आउनुभएको थियो । त्यहीक्रममा म्यान्माकै जेष्ठ साँस्कृतिक विद्यापीठ लोखूमा मैले सरहरूसँग भेट्ने अवसर पाएकी थिएँ । अँ, म्यान्माली नेपाली पाठ्यपुस्तक सम्पादनमा डा.चिन्तामणि योगी पनि हुनुहुन्छ । जे होस्, आजकै दिन हामीले पढ्ने र पढाउने पाठ्यक्रमका तीनवटै सम्पादनसँग भेट हुने अवसर पाउँदा आँखा रसाउनु स्वभाविक नै थियो । आज म जे लेख्ने प्रयास गर्दैछु, यो लेखनीमा कतै न कतै यी तीनजना नेपाली भूमिका पुत्रहरूको योगदान छ भन्दा मलाई गौरव लाग्छ । मलाई मात्र किन, एक लाख बर्मेली नेपालीहरूले उहाँहरूलाई सुनेको र पढेको छ । तीनजना विद्वानहरूले लगाएको गुण सायदै कुनै नेपालीहरूले बिर्सन्छ होला !

हाम्रो भावुकता भवनबाहिर एकछिन् छताछुुल्ल भएर पोखियो । हामी कहाँ उभिएका छौँ र के गर्दैछौँ भन्ने सायद हामी सबैले बिर्सियौँ । अपनत्व भनेको सायद यही होला । उहाँहरूको आँखाले पनि वर्षौँदेखि भेट्न चाहेको व्यक्तिहरूलाई भेटेको महसुस गराउँदै थियो । यो आत्मीय क्षणको भिडियो सायद खिचिएन, तर पनि मेरो मनले त्यो दृश्य जस्ताको तस्तै कैद गरेको रहेछ भन्ने कुरा यो लेख्दै गर्दा महसुस हुन्छ ।

‘लौ, ढिला भयो, भित्र जाऔँ ।’ कसैले यति भनेपछि बल्ल हामी सबैको होस खुलेजस्तो भयो । सरहरू अघि लाग्नु भयो । हामी पछि लाग्यौँ ।
मलाई लघुुकथाको सिद्धान्त हुन्छ भन्ने थाहा थिएन । कार्यक्रम अघि बढ्दै जाँदा लघुकथा लेख्ने तरिका, यसको स्वरूप पनि थाहा हुँदै गयो । हामी त अनजानमै लघुकथा प्रशिक्षण केन्द्रमा पो आएका रहेछौँ । लघुकथा समाजले लघुकथा बारे विभिन्न कार्यक्रम गर्दोरहेछ । यसका अध्यक्ष पनि श्रीओम सर नै हुनुहुँदो रहेछ । त्यसैको एउटा कार्यक्रम यो रहेछ । मलाई लघुकथा पढ्न मन लाग्छ, लेख्ने रहर पनि जाग्छ । तर यसको पनि आफ्नै सिद्धान्त हुन्छ भन्ने थाहा पाएपछि लेख्नै डर लाग्यो । जान्नुभन्दा नजान्नु कति उत्तम !

यो संस्थाले भाद्र छ गते लघुकथा दिवस पनि मनाउँदो रहेछ । यसले कथाको क्षेत्रमा एउटा र लघुकथाको क्षेत्रमा दुईवटा गरी तीनवटा पुरस्कारको स्थापना पनि गरेको रहेछ । मञ्चमा भाषण हुँदै थियो र म नयाँ नयाँ कुरा थाहा पाउँदै थिएँ । बर्मेली समाजमा यसरी साहित्यको कार्यक्रम हुनु र नयाँ कुरा थाहा पाउनु कल्पना बाहिरको कुरा हो । म छक्क पर्दै कार्यक्रमलाई ध्यानपूर्वक मनन् गर्दै गएँ । कार्यक्रममा कवि तथा लघुकथाकार महेश प्रसाईं र कथाको क्षेत्रमा सनत रेग्मीलाई सम्मानित गरियो । रचना नामको बहुुचर्चित पत्रिकाका सम्पादक रोचक घिमिरेले त्यसको प्रमुख आतिथ्यता गरिरहनुभएको थियो । म्यान्माली अतिथिका रूपमा ज्ञान सर मञ्चमा विराजमान हुनुहुन्थ्यो । यसबाट संस्थाले हामीलाई पनि महत्व दिएको महुसुस गराएको थियो ।

हाम्रो आगमनमा वक्ताहरुले फूलबुट्टा भरेर हामीले भाषा र साहित्यमा गरेको योगदानको चर्चा गरेपछि त हामी मख्ख नपरी रहन सकेनौँ ।

अझ हाम्रो आगमनमा वक्ताहरुले फूलबुट्टा भरेर हामीले भाषा र साहित्यमा गरेको योगदानको चर्चा गरेपछि त हामी मख्ख नपरी रहन सकेनौँ । नेपाली मन कति फराकिलो हुन्छ, जहाँ बसे पनि आखिर नेपाली शैली कायम नै हुने रहेछ भन्दै हामीले कानेखुसी पनि गर्यौँ । सँगै हामी वर्षको तीन महिना त्यो पनि व्यक्तिगत प्रयासमा नेपाली पढेर आफू नेपाली हुनुुको गौरवबोध गर्ने बर्मेलीहरू जब यहाँ लघुकथादेखि उपन्यास सबैको छुट्टाछुट्टै संस्था देखेर हामीले कति धेरै गर्न बाँकी छ भन्ने कुरा पनि थाहा पायौँ ।

कार्यक्रममा छिर्दा हामी नेपाल घुम्न आएका यात्रुु जस्ता मात्र थियौँ, कार्यक्रमबाट निस्कँदा नेपाली भाषा र साहित्यको विश्वविद्यालयबाट पढेर निस्किए जस्तो भयौँ । नेपालमा बस्ने नेपाली साँच्चै नै भाग्यमानी ! आफ्नो भाषामा यसरी खुला छलफल त्यो पनि हरेक साना साना विषयमा, कहाँ पाउनु ?
तर यो कुरा कति नेपालीले बुझेका होलान् ? प्रवासमा बस्नुको पीडा प्रवासीलाई नै थाहा हुन्छ । चाँडै यो कुरा नेपालका नेपालीले बुझून् ।

Loading...