नेपाली साहित्यको सम्पूर्ण पत्रिका

शुभकामनाभित्रको भाषिक कुरूपता

भाषिक शुद्धीकरण अभियान, डा. मतिप्रसाद ढकालका साथ

उठान 

शुभेच्छा राख्नु वा भलाइको चाहना राख्नुलाई हामीले शुभकामना भनेर बुझ्दै आएका छौँ । शुभकामना राख्दा हाम्रा सबै अशुभ विचारहरू हट्छन् र हामीमा राम्रा विचारहरूको उदय हुन्छ भन्ने अपेक्षा राखिन्छ । आफ्ना मान्यजनबाट आशीर्वाद स्वरूप ग्रहण गर्ने शुभेच्छालाई मात्र होइन आफ्ना समकक्षी र आफूले स्नेह गर्न अनुजहरू सबैको शुभकामना हाम्रो जीवनका लागि सदैव अपरिहार्य हुन्छ । हामीले सबैजसो व्यक्तिबाट शुभकामनाको अपेक्षा राखिरहेका हुन्छौँ तर शुभकामना राख्ताराख्तै पनि हाम्रै मनभित्र त कहिलेकाहीँ अशुभ भावनाहरूको उदय हुन्छ भने अन्य व्यक्तिहरूबाट अशुभ कामनाहरू देखापर्नु कुनै अस्वाभाविक होइन । हाम्रा मौखिक शुभकामनाभित्र जेजस्ता अशुभ भावनाहरू देखिए पनि हाम्रा लिखित सामग्रीका शुभकामनाभित्र विद्यमान अशुभ पक्षलाई निराकरण गर्न सदैव सचेत रहनुपर्छ र थोरै ख्याल गर्न सकेका खण्डमा हामीले प्रदान गर्ने र प्राप्त गर्ने शुभकामनाभित्र भाषिक कुरूपताका पक्षहरू क्रमशः निराकरण हुँदै जान सक्नेछन् । यसै सन्दर्भमा हामीले ऐतिहासिक दस्तावेजका रूपमा प्रकाशन गर्ने स्मारिका वा पुस्तिकाहरूका सुरुमै राखिने शुभकामनाहरूभित्र केकस्ता भाषिक त्रुटिहरू हुँदा रहेछन् ? भन्ने बारेमा हाम्रो ध्यान आकृष्ट हुनु जरुरी छ ।

प्रदेश प्रमुखको शुभकामनाभित्रका भाषिक त्रुटिहरू

भरतपुर चितवनस्थित आदर्श नारी विकास केन्द्रको रजत स्मारिका प्रकाशनका सन्दर्भमा २०७५ जेठ ११ गते प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाद्वारा लिखित शुभकामना सन्देश दिइएको थियो । त्यस शुभकामनाभित्र १८ ठाउँमा भाषिक त्रुटिहरू देखिन्छन् । प्रदेश प्रमुखको कार्यालयबाट शुभकामना दिँदा ‘त्यस आदर्श नारी विकास केन्द्रले’ हुनुपर्नेमा ‘यस नारी विकास केन्द्रले’ उल्लेख गरिएको छ । त्यसैगरी शुभकामनामा शुभ, पाउँदा, व्याप्त, बालबालिकामाथि, उत्पीडनका, क्रियाशील, सँग, बधाइ, जब, बीच, पुरिँदैन, हरू, सार्थकता, त्यस, रूप, सकोस् र नं. शुद्ध शब्द हुनुपर्नेमा यी शब्दका स्थानमा क्रमशः सुभ, पाँउदा, ब्याप्त, बालबालिका माथि, उत्पीडनको, क्रियाशिल, संग, वधाई, जव, वीच, पुरिदैन, हरु, साथर्कता, यस, रुप, सकोस र नः त्रुटिपूर्ण शब्दहरू उल्लेख भएको पाइन्छ ।
नेपालका सात प्रदेशहरूमध्ये नेपालको मुख्य राजनधानीलाई समेत समेट्ने प्रदेश नं. ३ अन्य प्रदेशका तुलनामा शिक्षित व्यक्तित्वहरूको बाहुल्य भएको प्रदेश ठानिन्छ तर यसै प्रदेशका प्रमुखको शुभकामनाको भाषा यति त्रुटिपूर्ण हुनु गम्भीर चिन्ताको विषय हो । प्रदेश प्रमुखको कार्यालयमा स्वकीय सचिव र दक्ष टाइपिस्टको पनि व्यवस्था भएकै होला तर नेपाली शुद्धलेखनमा विशेष ख्याल नगरिँदा प्रदेश प्रमुखद्वारा हस्ताक्षर गरिएको शुभकामनामा अनेकौँ भाषिक त्रुटिहरू देखिएका हुन् । आगामी दिनमा स्वकीय सचिव र टाइपिस्टले थोरै सचेतता अपनाइदिए अनि हस्ताक्षर गर्ने बेलामा प्रदेश प्रमुखले पनि एकपटक पढेर भाषिक शुद्धताका बारेमा ध्यान दिएका खण्डमा निश्चय नै यस्ता त्रुटिहरूको पुनरावृत्ति हुने छैन ।

प्रदेश मन्त्रीको शुभकामनाभित्रका भाषिक त्रुटिहरू

चितवन नारायणगढस्थित बालकुमारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव स्मारिकालाई २०७६ मंसिर ५ मा प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री माननीय युवराज दुलालद्वारा लिखित शुभकामना मन्तव्य उपलब्ध गराइएको थियो । त्यस शुभकामना मन्तव्यमा ३१ ठाउँमा भाषिक त्रुटिहरू भेटिन्छन् । सर्वप्रथम त शुभकामना दिइएको विद्यालयको नाम नै शुद्धसँग लेखिएको छैन, ‘माध्यमिक’ हुनुपर्नेमा ‘माध्यामिक’ भएको छ भने ‘स्मारिका’लाई ‘स्मरिका’ उल्लेख गरिएको छ । यसैगरी उक्त शुभकामनामा वर्ष, महोत्सव, रूपमा, लागेकाले, खुसी, महत्त्वपूर्ण, माध्यमिक, उत्तीर्ण, त्यस, रूपमा, गरी, वर्षे/बर्से, तत्कालीन, व्यापारीलगायतका, उचाइ, ल्याई, शुभेच्छुक, धन्यवादसहित, बधाइ, गतिविधि, विद्यार्थीलगायतका, हरू, त्यस, महत्त्वपूर्ण, हरू र विश्वाससहित, शब्दहरू उल्लेख हुनुपर्नेमा बर्ष, महोत्सवको, रुपमा, लागेकोले, खुशी, महत्वपूर्ण, माध्यामिक, उत्तिर्ण, यस, रुपमा, गरि, बर्षे, तत्कालिन, व्यापारी लगायतका, उचाई, ल्याइ, सुभेच्छुक, धन्यवाद सहित, वधाई, गतिविधी, विद्यार्थी लगायतको, हरु, यस, महत्त्वपूर्ण, हरू र विश्वास सहित जस्ता वर्णविन्यासगत त्रुटिपूर्ण शब्दहरू उल्लेख गरिएको छ । प्रदेश नं. ३ अन्तर्गत समाजको विकास गर्ने सामाजिक विकास मन्त्रालयको नेतृत्व सम्हालेर बसेका माननीय मन्त्रीको एउटा शुभकामनापत्रमा यति धेरै भाषिक त्रुटिहरू विद्यमान रहनुले नेपाली भाषाको शुद्धलेखनप्रति जिम्मेवार निकायहरू नै संवेदनशील छैनन् भन्ने कुराको पुष्टि हुन्छ । विद्यालयको स्मारिका प्रत्येक विद्यार्थीका हातहातमा पुग्छ र उनीहरूले यस्तो शुभकामना पढ्दा “मन्त्रीले त शुद्ध लेख्न सक्नुहुँदो रहेनछ तर हामीले दुईचार ठाउँमा अशुद्ध लेख्यौँ भने परीक्षामा किन कम नम्बर आउँछ ?” भनेर सम्बन्धित विद्यालयका नेपाली पढाउने गुरुसँग वा प्रधानाध्यापकसँग प्रश्न गरे भने यसको उत्तर दिन निश्चय नै गाह्रो हुन्छ । तसर्थ यस्ता लिखित शुभकामना मन्तव्यहरू दिँदा भाषिक त्रुटिहरू नभइदियून् भन्ने बारेमा सम्बन्धित मन्त्रीका स्वकीय सचिवको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ ।

महानगरप्रमुखको शुभकामनाभित्रका भाषिक त्रुटिहरू

भरतपुर महानगरपालिकाअन्तर्गत नारायणढमा अवस्थित बालकुमारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव स्मारिकालाई २०७६ मंसिर १९ गते भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालद्वारा लिखित शुभकामना मन्तव्य उपलब्ध गराइएको थियो । त्यस शुभकामना मन्तव्यमा ३५ ठाउँमा भाषिक त्रुटिहरू भेटिन्छन् । सम्बन्धित विद्यालयलाई सङ्केत गर्दा ‘त्यस’ हुनुपर्नेमा तीन ठाउँमा ‘यस’ शब्दको प्रयोग गरिएको छ । त्यस्तै अबस्थित, नर्सरीदेखी, आदिबासी, जनजाती, सिमान्तकृत, हरु, अँग्रेजी, अबरोहहरु, भएकाहरुको, गौरबपूर्ण, प्रतिक, रुपमा, नमूना, विद्यालय तर्फ, भएकोमा र सिमित अनुपयुक्त वर्णविन्यासयुक्त शब्दको सट्टा क्रमशः अवस्थित, नर्सरीदेखि, आदिवासी, जनजाति, सीमान्तकृत/सीमान्तीकृत, हरू, अङ्ग्रेजी, अवरोहहरू, भएकाहरूका, गौरवपूर्ण, प्रतीक, रूपमा, नमुना, विद्यालयतर्फ, भएकामा र सीमित शुद्ध शब्दको प्रयोग गरिनुपथ्र्यो । त्यसैगरी सम्बन्धीत, प्रशंसनिय, महत्वपूर्ण, भुमिका, सर्वाङ्गिण, सकृयता पूर्वक, सदैब, महोत्सब, सुअबसरमा, प्रकाशित, अनुसन्धानको, लाग्नुभएकाहरूको र महत्वपूर्ण अनुपयुक्त वर्णविन्यासगत शब्दहरूको सट्टा क्रमशः सम्बन्धित, प्रशंसनीय, महत्त्वपूर्ण, भूमिका, सर्वाङ्गीण, सक्रियतापूर्वक, सदैव, महोत्सव, सुअवसरमा, प्रकाशन, अनुसन्धानका, लाग्नुभएकाहरूका र महत्त्वपूर्ण शुद्ध शब्दको उल्लेख गर्ने विषयमा ध्यान पुर्याउनुपथ्र्यो । आफ्नै महानगरभित्र सञ्चालित विद्यालयहरूका कार्यक्रममा महानगरप्रमुख आफैँ प्रमुख अतिथि भएर धेरैपटक जानुपर्ने अवस्था हुन्छ र त्यहाँ अध्ययनरत केही विद्यार्थीले महानगरप्रमुखलाई राम्रोसँग चिनेका पनि हुन सक्छन् । ती विद्यार्थीहरूमध्ये कुनै सचेत र बोलक्कड विद्यार्थीले महानगरप्रमुखसँग नै स्मारिकामा प्रकाशित शुभकामनाको भाषाको शुद्धताका विषयमा “किन यसरी अशुद्धिहरू रहन गए ?” भनेर प्रश्न गर्यो भने महानगरप्रमुखले ससाना विद्यार्थीहरूका यस्ता किसिमका प्रश्नका सामु निरुत्तर र लज्जित पनि हुनुपर्ने अवस्था आउँछ । तसर्थ महानगरपालिका जस्ता आधिकारिक सरकारी निकायबाट जारी गरिने शुभकामनापत्रमा मात्र होइन हरेक सार्वजनिक लिखित सामग्रीमा हुने भाषिक अशुद्धिहरूको निराकरण गर्दै जाने विषयमा महानगरप्रमुखले नै विशेष ध्यान दिनुपर्ने नितान्त आवश्यक छ ।

नगरप्रमुखको शुभकामनाभित्रका भाषिक अशुद्धिहरू

गैँडाकोट नगरपालिकाभित्र रहेको उद्योग वाणिज्य संघ गैँडाकोटद्वारा आयोजित तेस्रो गैँडाकोट महोत्सव २०७६ को स्मारिकालाई नगरप्रमुख छत्रराज पौडेलद्वारा शुभकामना उपलब्ध गराइएको थियो । त्यस शुभकामनापत्रमा ३८ ठाउँमा भाषिक त्रुटिहरू रहेका देखिन्छन् । सर्वप्रथम लेटर प्याडमा ‘गैँडाकोट’ हुनुपर्नेमा ‘गैंडाकोट’ भएको छ भने नगर कार्यपालिकाको कार्यालय’ हुनुपर्नेमा ‘नगर कार्यपालिका’ र स्टाम्पमा समेत ‘नवलपरासी (बर्दघाट सुस्तापूर्व)’ हुनुपर्नेमा ‘नवलपरासी’ मात्र उल्लेख गरिएको छ । संघिय, जिल्ला मध्ये, वर्दघाट, नगरपालिका अन्तर्गत, भै, पाउदा, खुसि, गैंडाकोट लगायत, क्रियाशिल, हरु, निधी, संम्वद्र्धन, पुर्याउने, वग्दै, मौलाकालीका, भै, संग, अडिक, यस, नगरपालिका अन्तर्गत, रुपमा, स्वयंम, प्रवद्धक, बोर्ड, सम्पूर्ण प्रति, रुपमा, होस, संस्कृती र पुर्याओस वर्णविन्यासगत अशुद्धिहरूको सट्टा क्रमशः सङ्घीय, जिल्लामध्ये, बर्दघाट, नगरपालिकाअन्तर्गत, भई, पाउँदा, खुसी, गैँडाकोटलगायत, क्रियाशील, हरू, निधि, संवद्र्धन, पुर्याउने, बग्दै, मौलाकालिका, भई, सँग, अडिग, यस, नगरपालिकाअन्तर्गत, रूपमा, स्वयम्, प्रवद्र्धक, बोर्ड, सम्पूर्णप्रति, रूपमा, होस, संस्कृति र पुर्याओस् शुद्ध शब्दको प्रयोग गरिनु उपयुक्त हुन्थ्यो । ‘गर्न चाहन्छु’ले आज्ञाजस्तो बुझाएकाले गर्दछु लाई उपयुक्त ठहर्याउन सकिन्छ । गैँडाकोट नगरपालिकाजस्तो आधिकारिक सरकारी निकायका नगरप्रमुखबाट व्यक्त गरिएको एउटा शुभकामनापत्रमा यति धेरै भाषिक त्रुटिहरू रहनुले गैँडाकोट नगरपालिकाले भाषिक शुद्धताप्रति विशेष ध्यान दिन नसकेको प्रमाणित हुन्छ । यस्ता शुभकामनापत्रमा रहेका भाषिक त्रुटिहरूलाई न्यूनीकरण गर्ने दक्ष कर्मचारीहरू त गैँडाकोट नगरपालिकाभित्रै अवश्य होलान् । त्यस्ता दक्ष कर्मचारीबाट यस्ता त्रुटिहरूको निराकरण गराएपछि मात्र लिखित शुभकामना मन्तव्यहरू सार्वजनिक गर्नु उपयुक्त देखिन्छ ।

शुभकामनाभित्रका त्रुटिहरू कसरी न्यूनीकरण गर्ने ?

स्मारिका, मुखपत्र आदिमा राखिने शुभकामनापत्रमा हस्ताक्षर गर्ने व्यक्तिहरू सबै राजनीतिक पृष्ठभूमिबाट उच्च निकायमा पुगेका जनप्रतिनिधि हुन् । त्यस्ता अधिकांश व्यक्तिहरू आफैँले शुभकामनापत्रको मस्यौदा तयार गर्दैनन् र आफ्ना स्वकीय सचिव वा आफ्नो मातहतका कर्मचारीलाई शुभकामनापत्र तयार गरिदिन निर्देशन दिन्छन् । त्यसैले त्यस्ता स्वकीय सचिव वा सम्बद्ध कर्मचारीले नै शुभकामनाको भाषिक शुद्धताका बारेमा ख्याल गर्नुपर्छ । जनप्रतिनिधिहरू स्वयं शुभकामनापत्रमा अशुद्ध भाषाको प्रयोग गर्न हुँदैन भनेर सचेत हुने हो भने सम्बद्ध कर्मचारी पनि सचेत भएर शुद्ध भाषाकै प्रयोग गर्न अग्रसर हुन्छन् तर जनप्रतिनिधिहरू स्वयंले भाषिक शुद्धताका बारेमा ख्याल गर्न चाहेनन् र जस्तो लिखित सामग्री आयो त्यसलाई नपढेर वा पढेर पनि ख्याल नै नगरीकन हस्ताक्षर गर्न अग्रसर भए भने सम्बद्ध कर्मचारीले भाषिक शुद्धताका बारेमा विशेष चासो राख्दैनन् । आफैँले लेखेको होस् वा अरूले लेखेको होस् शुभकामनापत्रमा हस्ताक्षर गर्ने व्यक्तिलाई नै भाषिक अशुद्धिको आरोप लाग्ने भएकाले हस्ताक्षरकर्ता नै बढ्ता जिम्मेवार हुनुपर्छ । यदि आफ्ना कर्मचारीमा भाषिक दक्षता छैन भने उनीहरूलाई एकदुई हप्ताको भाषिक शुद्धलेखनसम्बन्धी प्रशिक्षण दिने व्यवस्था मिलाउनुपर्छ ।

स्मारिका र मुखपत्रहरूमा सबैजसो जनप्रतिनिधिहरूका शुभकामनाहरू राख्ता स्मारिका र मुखपत्रका मुख्य विषयवस्तुहरू ओझेलमा पर्छन् भन्ने कुरा ख्याल गर्नुपर्छ ।

शुभकामनापत्र जारी गर्ने सरकारी वा गैरसरकारी संघसंस्थामा भाषिक दक्षता हासिल गरेका कर्मचारीको उपस्थिति छैन भने शुभकामनापत्र लिन चाहने संघसंस्थाले नै प्रकाशनका सिलसिलामा त्यस्ता शुभकामनापत्रको भाषालाई सच्याउन सक्छन् । लेटर प्याड र हस्ताक्षरबाहेकका अन्य लिखित सामग्री पुनः टाइप गरेर सच्याउन अप्ठ्यारो पनि पर्दैन भने लेटर प्याड र हस्ताक्षरलाई स्क्यानिङ गरेर जस्ताको तस्तै राख्न सकिन्छ । यस विषयमा सम्बद्ध स्मारिका वा मुखपत्रका सम्पादक मण्डलको विशेष ध्यान जान जरुरी हुन्छ । सम्पादक मण्डल चयन गर्दा पनि यदि भाषिक दक्षताभन्दा राजनीतिक भागबन्डा र पहुँचकै आधारमा चयन गरिएको छ भने त्यस्तो सम्पादक मण्डलले स्वतन्त्र रूपमा भाषिक सम्पादन गर्ने अवसर पाउँदैन र स्मारिकाका सबैजसो सामग्रीमा पर्याप्त भाषिक त्रुटिहरू रहन सक्छन् । त्यसैले सम्पादक मण्डलको चयन गर्दा राजनीतिक भागबन्डाभन्दा भाषिक दक्षतालाई विशेष ख्याल गर्नु आवश्यक हुन्छ ।

बैठान :
स्मारिका र मुखपत्रहरूमा सबैजसो जनप्रतिनिधिहरूका शुभकामनाहरू राख्ता स्मारिका र मुखपत्रका मुख्य विषयवस्तुहरू ओझेलमा पर्छन् भन्ने कुरा ख्याल गर्नुपर्छ । यदि यस विषयमा गम्भीर हुन सकियो भने थोरै शुभकामनापत्रमा थोरै त्रुटिहरू रहनेछन् । थोरै त्रुटिहरूलाई निराकरण गर्न पनि सम्पादक मण्डलको ध्यान जानैपर्छ । समग्र स्मारिका वा मुखपत्रको भाषिक शुद्धीकरणका लागि स्वयंसेवकका रूपमा भन्दा विशेष पारिश्रमिक नै दिएर भाषासम्पादन गर्न लगाउँदा भाषिक अशुद्धिहरू न्यून हुने सम्भावना रहन्छ । अन्यथा साझा काम ठानेर सम्पादक मण्डलका बीचमा कसैले पनि गहन जिम्मेवारी नलिँदा शुभकामनापत्रमा मात्र होइन स्मारिका र मुखपत्रभरि नै भाषिक त्रुटिहरू रहन सक्छन् भन्ने कुरामा सम्बद्ध स्मारिका वा मुखपत्र प्रकाशन समितिको विशेष ध्यान जान जरुरी देखिन्छ ।

प्रतिक्रिया
Loading...