नेपाली साहित्यको सम्पूर्ण पत्रिका

सरलता भएन भने त मान्छेको गहना नै भएन नि : देवेन्द्र केसी

अन्तरंग देवेन्द्र केसीसँग

कवि, मुक्तककार तथा गीतकार देवेन्द्र केसी हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँका महाप्रवन्धक हुनुहुन्छ । पोखरामा जन्मनुभएका सर्जक केसीका हालसम्म तीन कृति प्रकाशित छन््— यसरी पोखियो मन (कविता सङ्ग्रह), परेलीभित्रै छु (कविता सङ्ग्रह) तथा मनको पहिरो (मुक्तक सङ्ग्रह) । एउटा गीति एल्बम र मुक्त सङ्ग्रह पनि प्रकाशोन्मुख रहेका छन् । नेपाल र नेपालभन्दा बाहिर पनि नेपाली साहित्य र सङ्गीतको प्रवद्र्धनमा कटिबद्ध केसीलाई निकटबाट चिन्नेहरू भन्छन्, उच्च ओहदामा पुगेर पनि सरलता र विनम्रतामा टेकेर सबैसँग सम्बन्ध अक्षुण्ण राख्ने उहाँ एक दुर्लभ व्यक्ति हो । उहाँसँग साहित्यपोस्टका लागि निरज दाहालले गरेको कुराकारीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ ।

देवेन्द्र केसी
देवेन्द्र केसी

१. नमस्कार । त्रिभुवन विमानस्थलको महाप्रवन्धकजस्तो जिम्मेवार पदमा हुनुहुन्छ । यता सिर्जनामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । पदीय जिम्मेवारीले सिर्जनाको उभारलाई रोकेको देखिँदैन । वास्तवमा, यसको गोप्यता के रहेछ ?

  • धेरै धेरै धन्यवाद प्रश्नका लागि । एअर ट्राफिक कन्ट्रोलर पेशामा आजभन्दा ३२ बर्षअगाडि प्रवेश गरी देशका विभिन्न दुर्गमस्थानहरूमा लामो समय सेवा गरेपश्चात हाल करिब १० महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलको को महाप्रवन्धक पदमा अहोरात्र खटिरहेको छु । कोरोनाको महामारीले विश्व नै आक्रान्त भैरहेको बेला अत्यन्त सावधानीपूर्वक विमानस्थल सञ्चालन गरिरहेका छौँ । स्वदेशी तथा विदेशी यात्रु तथा कार्गो सामानहरू ओसारपसार भैरहेकै छ । यत्ति वेलाका सिर्जना प्रायः रात्रिमा हुने गरेका छन् । ती सिर्जनाले दिनभरि देखेका भोगेका भोगाइलाई प्रस्तुत गर्दछन् । यसो हुँदा थाकेको मन अलि हल्का पनि हुन्छ ।

 

२. एउटा कोमल सर्जकको आँखाबाट हेर्दा, विमानस्थल प्रवन्धनको प्राविधिक जिम्मेवारी कस्तो देखिन्छ? के कहिल्यै तपाईंभित्रको सर्जक र प्रवन्धकको बीचमा द्वन्द्व भएको अनुभव छ?

  • सर्जक र प्रवन्धकको तालमेल सकेसम्म मिलाउने प्रयत्नमा छु । यदाकदा मनका भावना नढाँटी प्रस्तुत गर्न खोज्दा सार्वजनिक सञ्चार माध्यमबाट अलिक अलग रहनु निको ठान्दछु ।

३. गीतमा रमाउनुहुन्छ । कविता र मुक्त लेख्नुहुन्छ । यसरी पोखियो मन (कविता), तथा परेलीभित्र छु (मुक्तक) र मनको पहिरो (मुक्तक) यहाँका सिर्जना हुन् । यहाँका सिर्जना सर्सती हेर्दा तिनमा लोक भाकका गीतको प्रस्ट प्रभाव देखिन्छ । गीत पनि लेख्नुहुन्छ । रेकर्डमा पनि जाँदैछन् । गीतसँगको यहाँको साइनोको अलिकति जानकारी पाऊँ न ?

 

  • गीत, कविता, मुक्तक कथा वा समग्रमा साहित्य र मानव सेवाप्रतिको लगाव सानैदेखिकै हो । बल्लतल्ल जागिरे जीवनबाट बचेको समयबाट तीनवटा कविता र मुक्तकका पुस्तकका प्रकाशन भए । चौथो मुक्तक सङ्ग्रह र एउटा गीति एल्बम एकैपटक सार्वजनिक गर्ने तयारीमा जुटेको छु । सहयोगी मनहरूलाई धन्यवाद दिन चाहन्छु । गाउँका पाखा–पखेरामा जन्मी—हुर्की खेली–पढी सहर पसेको एउटा कोमल हृदयी मनले गाउँबेसीकै भाका र भावना पस्कन खोज्नु नौलो भएन । लोकभाका सबैले सजिलै बुझ्छन् । मुनामदन जस्तै लोकलयमा स्तरीय गीत, कविता लेख्न पाए पनि पुगिहाल्थ्यो जस्तो लाग्छ । तर पाठकको मन मुटुमा पस्न अनि बस्न सजिलो किन हुन्थ्यो र ! गीत खूब मन पर्छ । हेरौँ कस्तो लेखेको रैछु । समय र श्रोताले बताउनुहोला । वरिष्ठ सङ्गीतकार शक्तिबल्लभज्यूको हात परेपछि कसो राम्रो नहोला र! बडो आशावादी छु ।

४. मुक्तक लेखनमा बढी सक्रिय हुनुहुन्छ । मुक्तक वाचन गरिन्छन्, प्रकाशित हुन्छन्, मुक्तकका समूहहरूमा चर्चामा पनि रहन्छन् । प्रभावशाली विधा पनि हो । तर, बजारमा मुक्तकका कृति खोज्ने पाठकहरू निकै कम देखिन्छन् । बजार कि आख्यानतिर देखिन्छ, कि कवितातिर । यहाँको अनुभव के छ? अलिकति विश्लेषण गरिदिनुस् न?

 

  • मलाई त राम्रो लेख्न सके मुक्तक पनि अरू विधाजस्तै शसक्त बिधा लाग्छ । चार लाइनमै भावना पूरै पोख्न पाइने । वाचन कला पनि उत्तिकै महत्वपूर्ण रहेको कुरामा दुईमत हुने कुरै भएन । अझ आफ्नो सिर्जना आफैँले पढ्दा बढी प्रभावकारी हुन्छ होला । पाठकहरूका आ–आफ्नै रुचि हुन्छन् । उमेरसमूहले पनि फरक संवाद खोज्दोरहेछ । तर राम्रा कृति जुनसुकै विधामा लेखे पनि सफल भइन्छ होला जस्तो लाग्छ । कालजयी र जीवन्त कृति संसारमै थोरै मान्छेले मात्र लेख्न सक्दारहेछन् । तर लगनशीलता र अठोट ठूलो कुरा हो जस्तो लाग्छ । बजार त समय हो । समयसँगै बगिरहन्छ ।

५. पोखरा कलासाहित्यको उर्वर भूमि, यहाँको मूल थलो । पोखराको साहित्यिक माहोलसँग यहाँको कस्तो सान्न्ध्यि रह्यो? प्रभाव कत्तिको पर्यो यहाँको सिर्जनायात्रामा?

  • पोखरा प्रकृति, कला संस्कृति अनि साहित्यको उर्वर भूमि हो, जहाँ जन्मेकोमा नै आफूलाई गर्व लाग्छ । साहित्य सिर्जनामा होम्मिन सकिनछु । दुःख यसमा छ । सबै अत्यन्त आदरणीय स्थापित साहित्य साधकहरूको सामीप्यमा रहँदा पनि सिर्जनातर्फ ढिलो लागिएछ कि भन्ने अनुभूति भैरहेछ । सायद पढाइ र जागिरले हो । जागिरमा होम्मिनु पहिलो प्राथमिकता थियो होला । पढाइमा विषय पनि विज्ञान छानियो । समय बढी नै दिनुपर्ने ।

६. यहाँसँग सङ्गत गर्ने सबै भन्छन्, ठूलो पदमा आसिन भएर, तथा एक लोकप्रिय कवि र मुक्तककार भएर पनि यहाँ धेरै सरल र मिलनसार हुनुहुन्छ । धेरै मानिसहरू ओहदा र लोकप्रियतामा अलि माथि पुगेपछि सरलता गुमाउँछन् । सरलता कत्तिको ठूलो शक्ति हो? यसलाई अक्षुण्ण राख्नु कत्तिको गाह्रो काम हो?

  • मलाई ठूलो पदमा पुगेँ भनेजस्तो कहिल्यै लागेन । जागिरमा ईमानको रोजीरोटीमा होम्मिँदा यदाकदा ठक्कर खानु परे पनि लडिहाल्नु परेन । तोकिएको जिम्मेवारीलाई शिरोपर गरी अगाडि बढ्दा सानो गाँठीको मान्छे भएर पनि हो कि सबैको केसी भाइ बनेर हाँस्दै खेल्दै रमाउँदै समाजका हर तह र तप्काका मान्छेहरूसँग सामीप्यता राखी रोजिरोटिमा रमाउँदा ३२ बर्ष बितेको थाहै भएन । फेरि कलेज पढ्न जाऊँ जाऊँ पो लागेको छ । सरलता भएन भने त मान्छेको गहना नै भएन नि! दम्भले त मान्छेलाई रसातलमा पु¥याउँछ ।

७. पछिल्लो समय सिर्जना केले डोयाएजस्तो लाग्छ तपाईंलाई — सर्जकको निजी दृष्टिले, अथवा बजारको हल्लाले? टिकाउ र बिकाउ साहित्यबारे तपाईंको सोच के छ?

  • आजकल सिर्जनामा इमान्दारी भन्दा व्यापारीकरणका लागि प्रचारप्रसार धेरै हुन थालेको हो कि! राम्रो लेख्नेले होडबाजी गर्न जरुरतै छैन नि । देवकोटाको मुनामदन जत्ति बिक्ने अर्को कृति देखिएन बजारमा अझै । उनले पैसा कमाउन लेखेको कृति हो जस्तो लाग्दैन ।

८. विमानस्थालमा धेरै विदेशी आउनेजाने गर्छन् । धेरैका हातहातमा पुस्तक देखिन्छन् । विमानस्थलमै रहेका पुस्तकघरबाट पनि पुस्तक किन्छन् र पढ्छन् । तर, नेपालीहरूमा त्यस्तो स्वभाव देखिँदैन । तपाईंले विदेशीहरूबीच देख्नुभएको पठनसंस्कृतिबारे अलिकति बताइदिनुस् न?

  • विदशीहरूका पनि आफ्नै कमजोरी होलान् । हाम्रा पनि आफ्नै कमजोरी होलान् । तर उनीहरू समय खेर फाल्दैनन् । पढिरहन्छन् । हामी गफ चुटिरहन्छौँ । पढ्दा त केही न केही ज्ञान पक्कै बढ्छ होला । उनीहरू साहित्य तथा खोजमूलक कृति पढ्छन् ।

९. कतिपय सरकारी र निजी निकायहरू पनि अचेल कला–साहित्य र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याइरहेका हुन्छन् । आफैँ पत्रिका निकाल्छन्, अथवा कार्यक्रमहरूको प्रायोजन गर्छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, विमान कम्पनीहरू, अथवा नागरिक उड्डयन प्राधिकारणमा यहाँको अनुवभ कस्तो छ? यस दिशका के कति योगदान भएका छन्?

  • प्राधिकरणले तथा वायुसेवा कम्पनीहरूले आ–आफ्ना बिषयसँग सम्बन्धित पुस्तक, जर्नल पत्रिका निकाल्ने क्रममा साहित्य सम्बन्धी बिषयहरू पनि समेटेर वार्षिक, अर्धवार्षिक, मासिक पत्रिकाहरू निकालिरहेका हुन्छन् । ती संस्थाहरूले आफ्ना कर्मचारीहरूका कृति प्रकाशनमा पनि भरथेग गरेको पाइन्छ ।

१०. अन्त्यमा, हाम्रा पाठकहरूका लागि विशेष केही सन्देश छ कि ?

 

  • मेरा भावना यहाँहरूले पस्कने अवसर जुटाइदिनुभो, त्यसका लागि सादुुवाद । दोस्रो पाठकहरू भनेका लेखकका लागि भगवान हुन् । भगवान्ले श्रष्टाका कृतिहरूलाई चाख मानेर पढिदिनुहोस् । गल्ती भेटे सच्याउने मौका दिनुहोस् । लेखकहरूलाई माया गरिदिनुहोस् । पुस्तक पढेर प्रतिक्रिया दिनुहोस् । धन्यवाद ।
प्रतिक्रिया
Loading...