नेपाली साहित्यको सम्पूर्ण पत्रिका

एक सय एक पुग्नुअघि माधवप्रसाद घिमिरेको ताजा अन्तरवार्ता

राष्ट्रकवि माधव घिमिरेकाे निधन भएकाे छ । निधन हुनु केही महिनाअघि उहाँसँग याे कुराकानी गरिएकाे थियाे । अहिले सान्दर्भिक हुने ठानेर याे सामग्री यहाँ प्रस्तुत गरेका छाैँ ।

 


– भगवती बस्नेत

(राष्ट्रकवि माधव घिमिरेकाे निधन भएकाे छ । केही महिनाअघि लिइएकाे याे अन्तरवार्तालाइ त्यही अाधारमा बुझ्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छाैँ ।)

 

नेपाली खण्डकाब्यमा गौरी, नाटकमा मालती मंगले, गीतमा फूलको थुँगा बगेर गयो जस्ता कृतिहरू नै अमर छन् । तर यस्ता सयौं कृति उनले दिएका छन् । नेपाल सरकारबाट राष्ट्रकविको उपाधि पाएका घिमिरेसँग हामीले यसरी कुरा सुरु ग¥यौँ ।

स्वस्थ हुनुहुन्छ ?

पहिले अलि गाह्राे थियो, अहिले अलि ठीक छु । तर पूरा स्वस्थ भएको छैन ।

तपाईँको कविता लेखनमा लेखनाथ पौडेलको र देवकोटाको शैली भेटिन्छ । यसबारेमा के भन्नुहुन्छ ?

पूर्ववर्ती स्रष्टाहरूको प्रभाव उत्तरवर्तीहरूमा परिहाल्छ । मलाई देवकोटा र लेखनाथज्यूको प्रभाव पर्नु स्वभाविक हो । जस्तोः लेखनाथको शैली परिस्कारवादी शैली हो । उहाँको शैलीको एक कविता;

म खाऊँ मै लाऊँ सुख शयल वा मोज म गरूँ
म बाँचूँ मै नाचूँ अरु सब मरुन् दुर्बलहरू
भनी दाह्रा धस्ने अबुझ शठ देखी छक परी
चिता खित्का छाडी अभयसित हाँस्यो मरिमरी ।

तरुण तपसीकाको यो श्लोक अत्यन्त रोचक र पदलालित्य एवं भावचयनका दृष्टिले पनि मनोहारी छ । यस्तोमा प्रभाव पर्नु स्वभाविक नै हो । अर्को तर्फ लक्ष्मीप्रसाद देवकोटा बहु प्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको एकै किसिमको शैली छैन । जस्तोः

नछाडी जानोस् हे मेरा प्राण ! अकेली मलार्ई,
मनको वनमा ननिभ्ने गरी विरह जलार्ई !
ननिभ्ने गरी विरह जलार्ई !
लोचनका तारा ! हे मेरा प्यारा ! यो जोति बिलाए !
के भनूँ ? भन्ने म केही थिइनँ विष नै पिलाए !

प्यारा विष नै पिलाए । मुना मदनको यी हरफहरू लोकलयमा लेखिएको छ । अब मेरो शैली के हो भने, मेरो शैली लोक गीत मिसिएको शैली छ । गीत हो कि कविता पाठकलाई बुझ्न् गार्हो पर्छ । म प्रकृति प्रेमी हुँँ । त्यसैले पनि देवकोटाको प्रभाव पर्यो ।

साहित्यको क्षेत्रका विविध क्षेत्रमा कलम चलाउनुभएको छ । गीत, संगीत र साहित्यबीच कति फरक पाउनु हुन्छ ?

यसो विचार गर्दा नभै नहुने कुरा होइन । यो त लक्जरीजस्तो कुरा हो । तर मानिसलाई यो लग्जरी आवश्यक जस्तो बनेको छ, मोबाइल र टेलिभिजनजस्तो ।

हाम्रो देशमा गीत नगुन्जिएको कहाँ छ भन्नूस् त ! अहिले हाम्रो सात प्रदेशमा नै लोकगीत गुन्जिरहेको छ । देश विकासको लागि पनि साहित्य र गीत–संगीतले सहयोग पुर्याएको छ । हाम्रो गीत संगीतको क्षेत्र मौलाउँदो छ । भनौँ न पैसामा बिक्ने भएको छ । यो भनेको दीगो कुरा हो ।
अहिले पश्चिमी जगतले पूर्वको उपलब्धिमा सबैभन्दा ठूला कवि कालिदास र उसको कृति शकुन्तलाको नाटक चर्चा सुने, र हिन्दूस्तानमा खोज्दा ब्रिटिश इन्डियाले पाएनन् । खोज्दै आउँदा कवि कालिदास र उसको कृति शकुन्तला नाटक नेपालको वीर लाइब्रेरीमा भेटियो । नेपालको पुरानो संस्कृति भाषा, नेवारी भाषा र अन्य भाषाहरूको संरक्षण यहाँ पहिलेदेखि नै भइआएको छ ।

मानिस किन साहित्य पढ्छन् ?

भगवानलार्ई साक्षात्कार गरेपछि समाधिमा जुन चिज अनुुभूत हुन्छ, त्यसलार्ई ब्रम्हाणान्द आनन्द भनिन्छ । साहित्यको रस त्यस्तै हो । प्रेमको आनन्द प्रेममा परेकालार्ई थाहा हुन्छ । त्यस्तै साहित्यको रस साहित्य पढेकोलार्ई थाहा हुन्छ । झरी परेर भिज्नु र रुझ्नुमा फरक छ । रुझ्नु भनेको पानीको छिटा परेर बाहिरी रूपमा भिझ्नु हो, जुन भिजेपछि टक्टकाउँछन् । तर भिज्नु भनेको भित्रसम्म पुग्नु हो । साहित्यको रस भनेको अति सुकुमार रस हो ।
राणा कालमा पनि देवकोटाजस्ता, लेखनाथजस्ता कवि जन्मिए । अहिले पनि कविहरूले अन्तर्राष्ट्रिय क्षेत्रसम्म आवाज पुर्याउने काम गर्दै आइरहेका छन् । (मुस्कुराउँदै) आइरहेका छौँ । किन भन्दा यसमा आनन्द छ ।

स्रष्टाहरूलार्ई आफ्ना हरेक कृतिहरू उत्तिकै माया लाग्छ । तैपनि यहाँलार्ई सबैभन्दा मन परेको कृति कुन हो ?

झ्वाट्ट भन्न असजिलो हुन्छ । छोराछोरीहरू अरुले हेर्दाखेरि तपाईँका पाँचवटा सन्तानमा एकदम यो चलाक पो छ । यो यति राम्रो छ भनेर सुस्पष्ट किसिमले छुट्याउँछ । तर बाबुआमाले छुट्याउँदा खेरिमा बरु अलिकति लठेप्रोलार्ई पो राम्रो भन्ला, यसै भन्न सकिंदैन । मलार्ई चाहिं जनताले, अझ भनौँ पाठकले जेलार्ई बढी मन पराएका छन्, त्यही मन पर्छ । त्यो के भन्दाखेरि मेरो पहिलो पत्नीको अवसानको पीडामा लेखेको गौरी मन पर्छ । र त्यो मन पर्नाको कारण म बताउँछु । अरुलार्ई त मन पर्यो भइहाल्यो, म त स्रष्टा हुँ । किन मलार्ई मन पर्यो त ? किसिम किसिमको सिर्जना त मैले गरेँ भन्दाखेरिमा ‘गौरी’चाहिँ,
“आँसुमा छाया आज प¥यो छिप्यो छवि कहाँ के देख्नु मैले पर्यो 
आँसुमा अब चिप्लियो कलम यो के लेख्नु मैले पर्यो ।”

मेरो हृदय हल्लिएको अनुभव गर्नुभयो कि भएन ? गौरी शोककाव्य पढेर नरुने त कोही पनि छैन ।

तपाईँ छन्दमा लेख्नु हुन्छ । त्यही भएर गद्यमा लेख्नेहरूलार्ई उति मन पराउनुहुन्न भन्ने सुनिन्छ, खासमा के हो ?

म कविताको लागि लय चाहिन्छ भन्ने मान्छे हुँ । नेपालमा जहाँ जानुहोस्, गाउँमा, पहाडमा मधेसमा जताततै जानुहोस्, लोकगीत सुन्नु हुन्छ । मैलै कविता लेख्दा सबभन्दा पहिलाचाहिं कविता भनेको भाका हो भनेर बुझेँ । हाम्रो परम्परा पनि हो, छन्दको कविता । गद्य भनेको हिजोअस्ति आएको हो । नयाँ कुरा यहाँको जनस्तरसम्म भिज्छ कि भिज्दैन त्यसलार्ई पर्खनुपर्छ । मेरो संस्कारैमा आएको हुनाले मैले छन्द बढी लिएको छु । एकजना चर्चित भएका समालोचक कृष्णचन्द्र (सिंह प्रधान)ले भनेका थिए– “घिमिरेको कविता पढ्दा लोकगीत जस्तो लाग्छ, गीत सुन्दा कविता जस्तो लाग्छ ।”

महाकवि देवकोटासँगै तपाईँ पनि रुस जानुभएको थियो । तासकन्दमा देवकोटाले गरेको भाषण त चर्चित भयो, तर नेपालले तपाईँहरूलार्ई देशको इज्जत बिगारेको भन्दै जरिवाना गरेको थियो । खासमा कुरा के थियो ?

देशका कविहरू अर्को देशमा गएर इज्जत कमाएर फर्केको बेलामा दण्डित हुनुपरेको सत्य हो । नहुनुपर्दथ्यो, भइयो । दुःखको कुरा हो ।
भएको के थियो भने, सम्मेलनको दोस्रो दिन देवकोटाजीले अंग्रेजीमा भाषण र कविता पढ्न थालेपछि सबै निःस्तब्ध भए । बीचबीचमा तालिको गडगडाहट आइरह्यो । भाषणपछि पनि धेरैबेर ताली बजिरह्यो । मैले लोकगीत सुनाए । भाषा नबुझे पनि उनीहरूको रमाएको अनुभव गरेँ । गीत गाएर मञ्चमा फर्केपछि धेरैले हाम्रो पनि यस्ता लोकगीत भएको तर आफूहरू विदेशमा आएर यसरी निर्धक्क प्रचार गर्न चुकेको बताए । देवकोटाको त वाहवाही नै भयो ।

तर त्योबेलाको समाज, सम्मेलनमा जान नपाएकाहरूले चुक्ली लगाइदिए । के भनेर चुक्ली लगाए र शासकले किन ती कुरा पत्याए थाहा भएन । तर हामीले जरिवाना तिरेका हौँ । कति तिर्यौ, अहिले चाहीँ ठ्याक्कै बिर्सिएँ ।

अब त एकसय एक वर्षतिर जाँदै हुनुहुन्छ, नयाँ पुस्ताहरूलार्ई के सन्देश दिन चाहनुहुन्छ ?

अब सबै चीजको भारचाहिँ नवयुवकहरूको काँधमा पर्छ । देशमा लोकतन्त्र छ । लोकतन्त्रले के संकेत गरेको छ, कविताले पनि त्यही किसिमको युग खोजिराखेको छ । आफ्नो युगको प्रतिनिधित्व आफैँले गर्नुपर्दछ । अर्काले गर्छ भनेर जिम्मा दिन हुँदैन । कालिदास, शेक्स्पियर जन्मेको कैयौं बर्ष भइसक्यो, तर आज पनि तिनीहरू ताजै छन् । यदि तपाईँले वास्तविक कवितालार्ई पक्डनुभयो भनेदेखि तपाईँ आज लेखेर पनि भविष्यमा बाँचिरहनु हुन्छ । कुनैबेला ती पनि नयाँ थिए । तपाईँ पनि त्यस्तै बन्न सक्नुहुन्छ । त्यसो हुनाले नयाँ बन्नूस् ।

प्रतिक्रिया
Loading...