नेपाली साहित्यको सम्पूर्ण पत्रिका

माधव घिमिरे समग्र वाङ्मयिक चेतनाका राष्ट्रसेवक हुनुहुन्थ्यो : रमेश शुभेच्छु


रमेश शुभेच्छु युवा पुस्ताका विशिष्ट कवि एवम् समीक्षक हुन् । उनी कुनै पनि श्रष्टाको जीवनी वा समीक्षामा समीक्षक तटस्थ रहेर उसका रचनाअनुसारको मूल्यांकन गर्नुपर्ने दृष्टिकोण राख्छन् । नेपाली साहित्यका बहुमुखी प्रतिभा राष्ट्रकवि माधव घिमिरेको निधनले नेपाली साहित्यमा पुगेको क्षति र समग्र घिमिरेको जीवनी व्यक्तित्व कृतित्वमा केन्द्रित रहेर शुभेच्छुसँग गरिएको कुराकानीलाई यस साताको विशेष वार्ताका रुपमा प्रस्तुत गरिएको छ । यो कुराकानी साहित्य पोष्ट पत्रिकाका लागि नमस्ते दिवाकर घिमिरेले शुभेच्छुलाई भेटेर तयार पारेका हुन् । प्रस्तुत छ शुभेच्छुसँग गरिएको विस्तृत कुराकानीको सम्पादित अंशः

माधव घिमिरेको जन्म त लम्जुङमा भएको थियो । उहाँ कहिले कसरी काठमाडौँ आइपुगे ?
कविवर माधव घिमिरेका जीवनी र अन्तर्वार्ताहरु पढ्दा उहाँ २०११ सालमा नुवाकोटको बाटो भएर लमजुङबाट काठमाडौं आउनुभएको हो । उहाँ अध्ययन र काम खोजीमा काठमाडौँ आउनुभएको थियाृे । उहाँको काठमाडौंसँग त्यस समयदेखि जोडिएको उनको साइनो र स्मृति हिजो मंगलबार साँझ ५ः५५ सम्म कायम रह्यो । उहाँको कर्मभूमि नै काठमाडौँ भयो । अहिले उहाँ बसेको जग्गाजमिन धेरै पछि लिएको बताउनुहुन्थ्यो । अहिले बसेको जग्गा चालिस हजारमा लिएको भन्नुहुन्थ्यो ।

घिमिरेलाई गीतकार पनि भनिन्छ नि ? उहाँ बढी कवि कि गीतकार ?

गीतकार भन्नु पनि कवि नै हो । मैले एम. एको थेसिसमा घिमिरेको गीतिकारिताबारे लेखेको थिएँ । कविवर घिमिरेलाई साहित्यिक वृत्तमा जसरी चिनिन्छ सांगीतिक वृत्तमा पनि त्यसरी नै चिनिन्छ । मैले थाहा पाएसम्म उहाँलाई गीतकारको परिचय मास्टर रत्नदास प्रकाशको संगीत र स्वरले दिएको हो । मास्टर रत्नदास प्रकाशले उहाँको ‘झमझम पानी पर्यो असारको रात, बारीबाट बज्न थाल्यो मकैको पात।’ गीत गाएका थिए । कतै मास्टर रत्नदास प्रकाशले यस गीतलाई पहिलो आधुनिक गीत भनेका छन् । उनका भाषामा यो पहिलो आधुनिक गीत हो, यही गीतबाट उनी श्रोताका माझ सम्मानका साथ पूजनीय गीतकार मान्छौँ हामी । उहाँले २०३३ सालमा गीतिसंग्रह किन्नर–किन्नरी प्रकाशन गर्नुभयो । यो नेपाली गीति परम्पराको प्रतिनिधिमूलक संकलन हो । यो संकलन नपढी नेपाली गीत पढेको छु भन्नु गलत हुन्छ । त्यस संकलनका गीत अझै पनि गाइँदै छन् । यस कृतिमा रहेका गीत नातिकाजीदेखि अहिले पछिल्लो पुस्ताका शिशिर योगीदेखि अरुण कार्र्कीसम्म्ले गाएका छन् । संगीतकार नातिकाजीले आफ्नै संगीतमा गाएको घिमिरेको ‘नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे’ बोलको गीत सर्वाधिक लोकप्रिय मानिन्छ । अर्को उस्ताद गोविन्दलालले संगीत गरेको जनार्दन सम, कोइलीदेवी र साथीहरूले गाएको ‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली’ नेपाली साङ्गीतिक जगत्मा अझै पनि चर्चाको शिखरमा रहेको छ । यो गीत नेपाली जातिको साझा राष्ट्रीय गीत हो ।

घिमिरेले केही नेपाली कथानक चलचित्रका लागि पनि उहाँका गीत गाइएको पनि पाइन्छ । ‘मनको बाँध’ चलचित्रका निम्ति गायिका तारादेवीले गाएको गीत ‘फूलको थुंगा बहेर गयो गंगाको पानीमा’ उल्लेख्य गीत मानिन्छ, प्रकाश थापाद्वारा निर्देशित चलचित्र हो त्यो चलचित्र । त्यो चलचित्रको गीतपछि करिब ३० वर्षपछि उनको एउटा रचना ‘मितिनी’ नामक फिल्ममा प्रयोग गरिएको थियो। शाही नेपाल चलचित्र संस्थानको बोर्ड सदस्यका रूपमा रहेका घिमिरेले संस्थानबाट निर्मित पहिलो फिल्म ‘मनको बाँध’का निम्ति ‘बसी राम्रो देउराली त’ बोलको अर्को गीत नातिकाजी शिवशंकरको संगीतमा नारायणगोपाल, तारादेवी, कृष्णा सिंहको स्वरमा समेटिएको छ । अरु गीत पनि छन् । आजैर राती के देखेँ सपना, यसरी होस् मरण आदि पनि चर्चित गीति रचना हुन् ।

रमेश शुभेच्छु

उहाँ अहिले १०१ वर्षमा हिँड्दै हुनुहुन्थ्यो कि १०२ मा सञ्चारमाध्यममा फरक फरक सूचना आए नि ?

हामीले पढेअनुसार उहाँको जन्म असोज ७, १९७६ साल अमावश्य तिथिमा भएको हो । उहाँ यो आउने असोजमा १०२ पुग्दै हुनुहुन्थ्यो । त्यसो हुन पाएन । १०२ भन्नु पनि गलत होइन । यहाँ शताब्दीअधिक आयु भएका कावइ पुरुष हुनुहुन्छ । पश्चिम नेपाल, गण्डकी अञ्चल, लमजुङ जिल्लाको पुस्तुनमा वि.सं. १९७६ असोज ७ गते मङ्गलबार, औँसीका दिन जन्मनुभएको मान्छे २ भाद्र (०७७) कुसे औँसीको अघिल्लो दिन काठमाडौँमा देहावसान भयो । मोटामोटी १०२ वर्ष भन्न सकिने देखिन्छ ।

उहाँको जन्म, शिक्षा आदिबारे केही जानकारी पाऊँ न ।

माधव घिमिरेको जन्म पिता गौरीशंकर शर्मा घिमिरे र माता द्रौपदीदेवी घिमिरेका सुपुत्रका रूभएको हो । उहाँ जन्मिएका बेला त्यस गाउँठाउँमा शिक्षाको सुविधा थिएन । उहाँले बाल्यकाल पनि नाबालखमै आमाको र केही बुझ्ने हुन नापाई बाबुको मृत्युकाकारण अनेक संघर्ष गरेर पढेको कथावयथा निकै मार्मिक छ । उहाँले जन्मेका घिमिरेले सर्वदर्शनमा शास्त्री गर्नुभएको थियो ।

उहाँको पहिलो रचना के हो र कहिले कहाँ प्रकाशन भएको थियो ?

मैले थाहा पाएसम्म उहाँको पहिलो रचना ‘ज्ञानपुष्प’ शीर्षकको कविता हो । यो गोरखापत्रमा प्रकाशित भएको थियो ।

धेरै लेखकले उपनाम लेख्छन् । घिमिरेको पनि कुनै उपनाम छ कि ?

मैले थाहा पाएसम्म उनका रचना माधव घिमिरे र माधवप्रसाद घिमिरे उपनामबाट प्रकाशन भएका छन् । उहाँका अन्तर्वार्तामा कतै पढेको थिए उहाँ सुरुमा ‘मधुश्री’ उपनामबाट लेख्नुहुन्थ्यो ।

उहाँलाई लेखनमा अभिप्रेरणा दिने प्रमुख पक्षहरु के के हुन् ?

संस्कृत साहित्य र दर्शनको अध्ययन नै मूलः अभिप्रेरक पक्ष हुनुपर्छ । काठमाडौँ आएपछि उहाँको सङ्गत महाकवि लक्ष्मीप्रसाद देवकोटासँग भयो । उहाँ देवकोटाद्वारा स्थापित काव्य प्रतिष्ठानमा कोषाध्यक्ष भएर काम गर्नुभएको थियो । त्यसबेला उहाँले महाकवि देवकोटा, निबन्धकार शंकर लामिछाने र श्रीप्रकाश घिमिरेका साथ भारत भ्रमणको मौका पाउनुभएको बुझिन्छ । उहाँले त्यस भ्रमणबाट राष्ट्रिय अन्तराष्ट्रिय पहिचान पाएको देखिन्छ । त्यसै बेला उहाँले भारतका प्रसिद्ध कवि, लेखकसित भेट्ने संयोग मिलेको थियो । त्यस प्रतिष्ठानले इन्द्रेणी पत्रिका प्रकाशन गथ्र्यो । प्रतिष्ठानमा रहँदा देवकोटाको संसर्गमा उनी बालकृष्ण सम, टंकप्रसाद आचार्य, भवानी भिक्षु, स्वयम्भूलाल श्रेष्ठ आदिसित निकट हुनुहुन्थ्यो । ती अग्रजहरुको संगतले उहाँलाई गम्भीर लेखक बन्न अभिप्रेरित गर्यो भन्ने लाग्छ मलाई । माधव घिमिरेको नाम र स्मृति भारतीय कवि हरिवंश राय बच्चनले आफ्नो आत्मकथा ‘बसेरे से दूर’मा सगर्व उल्लेख गर्नुभएको छ । अरुले पनि गर्नुभएको छ ।

घिमिरेका कृति के कति प्रकाशित छन् ?

दिवाकर घिमिरे

कविवर घिमिरेले आफ्नो जीवनकालमा दुई दर्जन जति लेख्नुभएको छ । उहाँको ऋतम्भरा शीर्षकको महाकाव्य कृति पूरा हुँदै गरेको सुनिएको थियो । त्यो कृति अब कुन रुपमा प्रकाशन हुन्छ ? यसै भन्न सकिने अवस्था छैन । उहाँका जेजति कृति निस्किएका छन् ती सबै आआफ्नै विशेषताले युक्त छन् । मौीलक र विशेष पनि छन् । उहाँका एक दर्जन काव्य, आधा दर्जन बालकविता र कविता संग्रह, र आधा दर्जन नाटकहरु प्रकाशित छन् ।
घिमिरेले आफ्नी जेठी पत्नी गौरीको स्मृतिमा २०१५ सालमा लेखेको गौरी खण्डकाव्य नेपाली साहित्यिक समाजमा स्मरणीय मानिन्छ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले मञ्चन गरेका दुई गीति नाटक ‘शकुन्तला’ र ‘मालती मंगले’ले उहाँलाई विशिष्ट नाटककार बनाए । पापिनी आमा, नयाँ नेपाल, धर्तीमाता, गौँथली र गजधम्मे र बोराको परदासमेत झन्डै दर्जन (जम्मा ९ वटा) खण्डकाव्य उल्लेख्य छन् । उहाँले शास्त्रीय तथा लोक छन्दको प्रयोग गरी महत्त्वपूर्ण काव्यकृति सृजना गर्नुभयो । उहाँका नाट्य कृति पनि त्यत्तिकै महत्वपूर्ण छन् । कारण ती नाटक पनि हुन् र कावय पनि हुन् । ती कृतिका आधारमा घिमिरे नेपाली कालिदास हुहुनुन्थ्यो भन्नु अत्युक्ति हुँदैन ।

घिमिरेका विषयमा के कस्ता कृति प्रकाशन भएका छन् ?

यस विषयमा म सबै भन्न सकूँला नसकूँला । शैलेन्दुप्रकाश नेपाल, लेखप्रसाद निरौला, जयन्ती रुपाखेती, विन्दुशर्मा आदिले उहाँका विषयमा शोध गरेका कृतिहरु प्रकाशित छन् । सबैभन्दा गहन र प्रारम्भिक घिमिरेका अध्ययन स्रोत माधव घिमिरेको रचनायोग र माधव घिमिरेका विशिष्ट खण्डकाव्य शीर्षकमा भानुभक्त पोखरेलले निकालेका कृति हुन् । उहाँ सबै स्रष्टाका प्रेरणास्रोत हुनुहुन्थ्यो । माधव वियोगी तथा पूर्णप्रकाश नेपाल ‘यात्री’ ले घिमिरेका विषयमा छन्दशिरोमणि र राष्ट्रकवि महाकाव्य रचना गरेको मलाई थाहा छ । मेरो एउटा माधव शीर्षकको सानो बालकाव्य पनि छ ।

घिमिरे निबन्धकार पनि होइनन् र ?

हो नि । घिमिरेको निबन्ध संग्रह ‘आफ्नै बाँसुरी आफ्नै गीत’ सर्वाधिक लोकप्रिय मानिन्छ । निबन्ध कृति केन्द्रित औपचारिक अध्ययन चाहिँ भएको मलाई थाहा छैन । अब नयाँ पुस्ताले उहाँको दार्शनिक निबन्धकारिताको पनि अध्ययन गर्न आवश्यक छ । निबन्धको भाषाशैली प्राञ्जल छ ।

घिमिरेलाई किन राष्ट्रकवि भनियो । यो कस्तो उपाधि हो ?

घिमिरेका धेरै गीतहरु राष्ट्रगानका रुपमा रचिएका छन् । कतिपय गीतलाई छानेर नयाँ राष्ट्रगान मानेर संगीत गर्दा हुने खालका छन् । यही सामथ्र्यका आधारमा र ज्येष्ठ सर्जक भएका नाताले पनि उहाँलाई २०६० सालमा तत्कालीन सरकार प्रमुख ज्ञानेन्द्र शाहका तर्फबाट राष्ट्रकवि उपाधि दिइएको थियो । यो लेखक कविलाई दिइने उपाधिमध्ये गरिमापूर्ण उपाधि हो । यसलाई मैले बुझेसमम्म पश्चिमी जगत्मा ‘पोयट लरेट’ नामबाट दिइने उपाधि हो । यस्तो विशिष्ट उपाधि पाउने नेपालमा उनी नै पहिलो कवि थिए । भारतमा मैथिलीशरण गुप्तलाई यो सम्मान मिलेको मलाई थाहा छ । अंग्रेजी कविहरुमध्येमा डायलन थोमस, रोबर्ट फ्रस्टलाई यो उपाधिले सम्मान गरिएको बुझेको छु । अब नेपालमा कसलाई राष्ट्रकविको उपाधि दिने, यस्तो उपाधि कसरी दिइन्छ भन्ने विषयमा बाँकी छलफल हुन आवश्यक छ जस्तो लाग्छ । छलफल भयो भने त्यस बेला अरु कुरा थाहा होला । हाम्रामा आदिकवि, युवाकवि, आशुकवि, युगकवि, जनकवि, जनकविकेशरी, आदि उपाधि छन् । ती उपाधिहरु जो व्यक्तिले पाउनुभयो पुनः निरन्तरता छैन । राष्ट्रकविको उपाधिले निरन्तरता पाउने हो कि होइन यो हेर्न बाँकी छ । अहिले कसैको नाम प्रस्ताव गरिहाल्नुभन्दा पनि यसको उपादेयता पनि हेरिन्छ होला ?

घिमिरेले के कस्ता सम्मान पाउनुभएको थियो ?

नेपाली साहित्य परम्परामा सबैभन्दा बढी सम्मान पुरस्कार पाउने कवि घिमिरे नै हुनुहुन्थ्यो । उहाँले पाएको राष्ट्रकविको उपाधि विशेष सममान हो । उहाँ नेपाल प्रज्ञाप्रतिष्ठानको आजीवन सदस्य पनि हुनुहुन्थ्यो । उहाँले ‘मालती मंगले’का निम्ति राजा वीरेन्द्रबाट नगद पुरस्कार पाउनुभएको थियो । २०२२ सालमा एकेडेमी विशिष्ट पदक, २०३१ मा शुभाराज्यभिषेक पदक र २०३३ सालमा त्रिभुवन प्रज्ञा पुरस्कार पाउनुभएको थियो । उज्ज्वल कीर्तिमय राष्ट्रदीप ९दोस्रो० पाउनुभएको छ । उहाँलालाई नेपाली सेनाका तर्फबाट उच्च सम्मानका साथ ब्रिगेडियर जनरलको सम्मान पनि दिइएको छ । उहाँले विविध पुरस्कार, सम्मान, पदक, अभिनन्दन पाउनु भएको छ । भानुप्रतिष्ठानले मात्र उहाँलाई दुई पटक रथारोहणसहित उहाँकै कदबराबरको सम्मान गर्यो । मस्र्याड्दी वाड्मय प्रतिष्ठान लगायत अन्य अनेक संघसंसथाले उहाँका विषयमा विशेषांक प्रकाशन, कृति प्रकाशन र सम्मान गरेका छन् । उहाँ कामअनुसार सम्मान पनि पाउने कवि पर्नुहुन्छ । घिमिरे आफ्ना प्रतिस्पर्धी आफै बनेर यो उचाइ नापेको प्रतिभा हुनुहुन्छ । उिहाँको सर्जक र व्यवहारिक व्यक्तित्व विशिष्ट छ । उहाँको कृतित्व विषयमा हालसम्म ८ जनाले विद्यावारिधि (पिएचडी) गरिसकेका छन् । केही हुँदै छन् । महाकवि देवकोटापछि सर्वाधिक अनुसन्धान र समीक्षा गरिएका, पढिएका स्रष्टा उहाँ नै हुनुहुन्छ । उहाँलाई त्रिभुवन विश्वविद्यालयले महाविद्यावारिधिको उपाधि पनि दिएको छ । तपाईँ हामी उहाँका विषयमा चर्चा गर्दैछौँ अब धेरै कुरा के गरिरहनु पर्ला र ।

घिमिरेका प्रमुख कृतिहरु के के हुन् ?

कविवर घिमिरेका सबै कृति उल्लेख्य छन् । कवितामा चैतवैशाख विर्सनु हुँदैन । काव्यतर्फ ‘गौरी’, ‘राजेश्वरी’, ‘राष्ट्रमाता’, राष्ट्र निर्माता, पापिनी आमा आदि कृतिहरु आआफ्नै मूल्यले उच्च र अविष्मरणीय एवम् पठनीय छन् । नाटकतर्फ मालतिमंगले, देउकी ‘अश्वत्थामा’जस्ता कृति नेपाली पाठकले बिर्सनै नसक्ने कृति हुन् । उनका अरु कृति पनि उत्तिकै कालजयी छन् । केही विरोधी साथीहरुले उहाँका कृतिमा जनजीवन नभएको भन्ने आरोप लगाए पनि घिमिरे जनताकै सन्तति हुनुहुन्थ्यो र उहाँका सिर्जनामा नेपाली माटो र नेपाली नागरिककै समस्या छन् । गौरी निम्नवित्तीय परिवारका पुरुषका कथाव्यथाको काव्य हो र यो साझा समाजिक व्यथाका रुपमा चर्चित भयो । राजेश्वरी सतीप्रथाको विरोध गरिएको कावय हो । राष्ट्रमाता र राष्ट्र निर्माता उहाँलाई राष्ट्रकवि बनाउने देशभक्ति भावका काव्य हुन् । पापिनीआमा नारी चेतनाको काव्य हो । मालती मंगले हाम्रै मेलाका खेताला खेतालीको नाटक हो । देउकी पश्चिमाञ्चल क्षेत्रमा प्रचलित देउकी प्रथाको विरोध गरिएको हाम्रै सांस्कृतिक विषयको नाटक हो । अश्वत्थामा मिथकीय रचना भए पनि यसका पँधेर्नी र अरु पात्रमा नेपाली जनजीवन जिउँदो जाग्दो देखिन्छ ।

घिमिरे विरामी हुनुहुन्थ्यो कि ? कसरी उहाँको निधन भयो ?

घिमिरेले जीवनमा मृत्युबोध अधवैँसे उमेरमै गरेको आभास उहाँका रचनाबाट पाइन्छ ‘आजै र राति के देखेँ सपना मै मरी गएको’ बोलको गीतले एक अब्बल गीतकारका रूपमा झल्झली सम्झाउँछ । यही गीतबाट नारायण गोपालको श्रद्धाञ्जली भयो । यस गीतका मस्र्याङ्दी नदी नरमाइलो सुसाइरहेको, कहाँ हो कहाँ बादलभित्र म रोइरहेको। जस्ता पंक्तिहरु सरल हुँदा हुँदै पनि जन्मभूमि र जीवनदर्शनलाई जोड्ने पंक्ति देखिन्छन् । यस्तो मृत्यु होस् भन्ने गीतलाई पनि त्यत्तिकै गहन मानिन्छ । त्यो गीत घिमिरेको निधनपछि मात्र सार्वजनिक गरियो । यस गीतमा उद्धृत् मस्र्याङ्दी कविको जन्मस्थानको निकटको प्रसिद्ध नदी हो यो नदी तरेर आएको दश वर्षपछि उनले आफ्नो डेरामा लेखेको यस गीतको रचनागर्भ महत्वसाथ हेरिन्छ । उहाँले कुनै दिन पत्नी महाकालीले सपनामा आफू बितेको कुरा बिहान कविजीलाई सुनाएको घटनाले उनी आहत भएर यो गीत रचना गरेको उहाँले अन्तर्वार्ताहरुमा बताउनुभएको छ ।

वारि र पारि घाम र छाया माझैमा पियार,
संसारमा जन्म दिएर ईश्वर बैंसमा नमार।

नेपाली आधुनिक संगीतका निर्मातामध्ये एक नातिकाजी श्रेष्ठले यस गीतमा संगीत गरेपछि गायकका रुपमा स्वरसम्राट नारायणोपाल छानिएका थिए । यही गीतले नारयणगोपालको श्रद्धाञ्जली भएको घटना नेपाली सांगीतिक जगत्मा उल्लेख्य छ । यस गीतसँग एउटा घटना पनि समेटिएको छ । गीत रेकर्ड हुनुअघि काठमाडौंमा जन्मे–हुर्केका गायक नारायणगोपाल मस्र्याङ्दी नदी हेर्न लमजुङ पुगेको घटना पनि सुनिन्छ । भनिन्छ त्यो नदीको आवाज सुन्न र हेर्न नारायण गोपाल मस्र्याड्दी किनार पुगेको भनिन्छ । नारायण गोपालले गाएका मध्ये ‘बसी राम्रो देउराली त, हेरी राम्रो हिउँ। मुखै देख्दा माया लाग्ने, प(यो कस्तो जिऊ। ऋादि उल्लेख्य छन् । अन्य गीतमा मालती मंगलेको यो अंश पनि उल्लेख्य छः

शिरको टोपी भुइँमा राखी म गर्छु बिनती,
गाउँले भाइ हो, शरणमा छाडेँ एक्ली मालती।
………….
ढोका खोल मालती, ढोका खोल हो,
ढोका खोल्नु पहिल्यै बोल–बोल हो।’
(मालती मंगले)

घिमिरेका गीतमध्ये गायिका दावा ग्याल्मोले अशोक राईको संगीतमा गाएको ‘सयपत्री फूलै र फुल्यो बाबाको बारीमा, अचेलभरि हृदय मेरो डाँडाको पारिमा’ बोलको गीत पनि लोकप्रिय मानिन्छ । घिमिरेका गीत नारायणोपाल, तारादेवी, दावा ग्याल्मोबाहेक पुष्प नेपाली, रुबी जोशी, निर्मला श्रेष्ठ, अर्चना बास्तोला, अरुण कार्र्की, शिशिर योगी आदि धेरैले गाएका छन् । उनको बालगीत संग्रह ‘सुनपंखी चरा’बाट संगीतकार दिव्य खालिङले संगीत गरेका छन् । उनका बालकविता र बालगीतको चमत्कृत सिर्जन सामथ्र्य र गेय गुण पनि अद्भूत लाग्छ । घिमिरे लामो विरामी पर्नुभएन । करिब दुई हप्ताको अस्वस्थ्यता सामान्य हो । उहाँले लेखेको एउटा गीत जस्तै भयो उहाँको मृत्युइच्छाको एउटा रचना यस्तो थियो ः

त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा
गीतका चारू चरण ।

हिमालचुली देशमा
दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम
सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण ।

सुन्दर सृष्टि निहारी
सुखैले चिम्लूँ नयन
बिहानीपख रातको
कुसुम पारिजातको
जसरी जान्छ झरेर
भुइँमा बिनापवन
त्यसरी होओस् मरण ।

मुटुमा चोट नपरी
टुटेर जाओस् बन्धन
बादलको सेता रासमा
दुइटा मूर्ति पासमा
जसरी शिर नुहाई
आफैँमा हुन्छन् अर्पण
त्यसरी होओस् मरण
अमरापुरी सभामा
आफैँलाई गरूँ वरण ।

यो रचना २०१६ सालतिरै भएको हो । उनले २०१६ असोज २१ भएको सूचना उहाँले दिएको पाइन्छ । यो रचना किन्नरकिन्नरी (२०३३) मा संकलित छ । आजैर राति र यसरी होहोस् मरण दुवै मृत्युबोधी कविता हुन् । घिमिरेको मरणलाई उहाँले इच्छाएअनुसार नै मान्नुपर्छ । राष्ट्रिय सम्मानसाथ भएको ठानेको छु मैले । १०२ वर्षको आयु बाँच्नु र स्वर्गे हुनुलाई गुनाशोका रुपमा लिनु हुँदैन । तर मृत्यु शोकको अर्को नाम हो ।

एउटा कुरा है सर । घिमिरेलाई दिइएको राष्ट्रकवि उपाधि केही समय विवादास्पद र आलोचित भए पनि पछि उनी यसैका निम्ति शोभायमान भए भनिन्छ नि ? यसको गुह्य कुरा के हो ?

नेपालमा आलोचना सबैको हुन्छ भन्ने प्रमाण हो यो । घिमिरेलाई राजाले दिएको राष्ट्रकवि भनेर आलोचना गरिरहन आवश्यक छैन । बरु अब अर्को जनपक्षीय कसलाई राष्ट्रकवि बनाएर यस परम्परालाई अक्षुण राख्ने भन्नेतिर सोच्नु राम्रो होला । अब त्यो उपाधि कसलाई सुहाउँछ ? मोदनाथ प्रश्रितलाई ? वैरागी काइँलालाई ? वासुदेव त्रिपाठीलाई ? तोया गुरुङलाई ? दिनेश अधिकारीलाई ? भूवनहरि सिग्देललाई ? कविलाई मात्र दिने कि समग्र लेखकलाई दिने ? यता वहस गर्नु उपयुक्त होला ? कुनै गद्यकारलाई राष्ट्रकवि भन्न सकिने कि नसकिने ? ध्रुवचन्द्र गौतम, सरुभक्त , राजेन्द्र विमल आदिमध्ये कसैलाई बनाउन सकिन्छ कि सकिँदैन ? यो छलफल गर्नु राम्रै होला ?

घिमिरेको साधनाको यात्रा र प्रतिस्पर्धा धेरै लामो छ । उहाँले आफ्ना अग्रज लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समसित पनि प्रतिष्पर्धी सिर्जना गर्नुभयो । आजसम्मका सबै कविसँग उहाँको तुलना गर्दा उहाँ कमजोर देखिनुहुन्न । मैले उहाँलाई महाकाव्य प्रकाशन नहुँदैका महाकविका रुपमा मूल्यांकन गरिसकेको छु । उहाँको समग्र व्यक्तित्वले नेपाली साहित्यलाई नोवेल पुरस्कार दिलाउन सक्थ्यो । उहाँ वितिसकेपछि उहाँका विषयमा टिकाटिप्पणी गर्नुको कुनै अर्थ छैन । यति हो उहाँ केही समय पदमा पनि रहनुभएकाले र प्रज्ञाप्रतिष्ठानका निर्णायक ठाउँमा पनि बस्नुभएकाले उहाँले केही कठोर निर्णय गर्नुपर्यो होला, आफ्नो उमेर र समय अनुसार सडकमै आएर आन्दोलन गर्नुभएन होला तर प्रजानन्त्र र गणतन्त्रप्रति आस्था नै थिएन भन्न मिल्दैन । उहाँ यही गणतान्त्रिक नेपालको नेपाली सेनाको रथि पनि हो ।

यहाँले घिमिरेलाई माटोका कवि भन्नुभयो । त्यसको अर्थ के हो ?

घिमिरेका बालसाहित्य, प्रौढ साहित्यका कविता, गीत, नाटक, जिबन्ध सबैमा नेपाली माटोको सुवास छ । उनकै जन्मभूमिको रङ छ । मैले यस अर्थमा भनेको हो । कालिकताका हिसाबले घिमिरेको रचनामा समय र सत्य एकै स्वरमा गुञ्जिएको छ । उहाँले आफ्नो जन्मस्थानका ठाउँ लुइँटेल भञ्ज्याङ, भुजेल गाउँ, मस्र्याङ्दी नदी, पुस्तुन, बाहुनडाँडा आदि समेटिएर आएका देखिन्छन् । नेपालका प्रमुख हिमाल, प्रकृति, वन्य र जल सम्पदासहित साझा नेपाली राष्ट्रियताको निर्माणको प्रयास गर्नुभएको छ । उहाँको जन्मस्थान पुस्तुनको नाउँबाट प्रभावित भएर साहित्यकार कृष्णचन्द्रसिंह प्रधानले आफ्ना पुत्रको नाउँ नै पुस्तुन प्रधान राखेको पक्ष एउटा नेपाली साहित्यको अद्वितीय घटना मानिन्छ ।

घिमिरेले जीवनमा के कस्ता जिम्मेवारी सम्हालेर राष्ट्रसेवागर्नु भयो ?

घिमिरेले नेपाल प्रज्ञा प्रतिष्ठानको सह–सदस्यका रूपमा प्रवेश गरेर उपकुलपतिसम्म भएर सेवा गर्नुभयो । उहाँ अहिले पनि त्यस संस्थाको आजीवन सदस्य हुनुहुन्थ्यो । आज त्यो संस्थाले लामो र निकै गहन विज्ञप्ति प्रकाशन गरेर श्रद्धाञ्जली दिएको छ । उहाँले बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, लैनसिंह बाङदेल, भूपी शेरचन, विजय मल्ल, नयराज पन्त, चूडामणि भट्टराई, यज्ञराज शर्मा, आदिसित सहकार्य गर्ने मौका पाउनुभयो । गोरखापत्रको सहायक सम्पादक र सम्पादक भएर पनि सेवा गर्नुभयो । त्रिभुवन विश्वाविद्यालयको प्राध्यापक भएर पनि सेवा गर्नुभयो । विद्यालयहरुमा शिक्षण पनि गर्नुभयो । कुनै एक क्षेत्रमा लागेको मानिसको सेवा त राष्ट्रसेवा हुन्छ उहाँको राष्ट्रसेवा त बहुमुखी छ नि । माधव घिमिरे शिक्षा, सञ्चार, साहित्य र समग्र वाङ्मयिक चेतनाका साथ राष्ट्रसेवा गर्ने राष्ट्रसेवक हुनुहुन्थ्यो ।

व्यक्तिगत जीवनमा घिमिरे कस्तो हुनुहुन्थ्यो ?

घिमिरे तपाईँहामी जस्तै सरल हुनुहुन्थ्यो । उहाँले कहिलै पनि ठुलो अहङ्कारी जीवन बाँच्नु भएन । कार्यक्रमहरुमा बिचैमा उठेर हिँडेको मैले कहिल्यै देखिनँ । उहाँ कार्यक्रममा अरुका कुरा पनि सुनेर सारगर्भित अहंकारशून्य मन्तव्य राख्नुहुन्थ्यो । नयाँ पुस्तालाई अभिप्रेरित गरिरहनुहुन्थ्यो । मैले आफ्नो संस्मरणमा धेरै कुरा उल्लेख गरेको छु । उहाँले संस्थाहरुबाट पुरस्कार दिँदा निष्पक्ष रुपमा दिने गरेको बुझेको थिएँ । साधारण ढङ्गले आफ्नो घरमा आउने पाहुनालाई गर्वका साथ भुइँतलाको आफ्नो फोटो भएको कक्षमा भेट्ने चिया नास्ता गरेर फर्काउने उहाँको बानी थियो । कुनै पनि कार्यक्रममा आउँछु भनेर वचन दिएपछिसमयमै पुग्ने र पूर्ण समय दिने उहाँको बानी मैले पहिल्याएको थिएँ । उहाँ सकेको संघसंस्थालाई सहयोग पनि गर्नुहुन्थ्यो । आर्थिक सहयोग पनि गर्नुहुन्थ्यो ।

घिमिरे अनुवादक पनि हुनुहुन्थ्यो होइन ?

उहाँको यो पाटो थप अन्वेषणीय छ । उहाँ संस्कृत साहित्यबाट नेपाली साहित्यमा अनुवाद गर्ने राम्रो अनुवादक हो । उहाँका अनुवादमध्ये ‘नागानन्द’ नाटक उल्लेख्य मानिन्छ । उहाँले संस्कृतका सूक्त र रिचाहरुको अनुवाद प्रशस्त मात्रामा सफल ढंगले गर्नुभएको छ ।

उहाँसँग सम्पादन समीक्षण गर्ने सामथ्र्य चाहिँ कस्तो थियो ?

उहाँका सम्पादनमा आएका कृतिमध्ये ‘२५ वर्षका खण्डकाव्य’ उल्लेख्य कृति हो । त्यस कृतिमा समेटिएका काव्यहरु आजसम्म पनि नेपाली काव्य परम्पराका प्रतिनिधि काव्य हुन् । उहाँका समीक्षाहरु पनि प्रकाशित छन् । सयौँ भूमिकाहरु अनेक स्रष्टाका कृतिमा छरिएर रहेका छन् । त्यहाँ उहाँको मूल्याड्कन सामथ्र्य निकै सशक्त देखिन्छ । केही भूमिका शुभकामना मूलक रहे पनि उहाँले केही कृतिका भूमिकामा गरेको मूल्यांकन अकाट्य र विशिष्ट देखिन्छ ।

उहाँले एउटा महाकाव्य लेख्दै हुनुहुन्छ भन्ने सुनिएको थियो नि ?

हो, उहाँको अन्तिम कृति महाकाव्य ‘ऋतम्भरा’को लेखन हुँदै थियो । उहाँ निकै सक्रिय हुनुहुन्थ्यो । त्यो लगभग सकिएको पनि हुनुपर्छ । त्यसको बारे डा. हेमागराज अधिकारी गुरुलाई सोध्यो भने आधिकारिक कुरा थाहा होला । उहाँका सामग्रीका उत्तराधिकारी हेमाङ्ग गुरु हुनुहुन्छ भन्ने मैले बुझेको छु । उहाँले आफ्ना कृतिका बारे बढी सूचना डा. वासुदेव त्रिपाठी गुरुलाई दिनुहुन्थ्यो । कतिपय कृतिको मात्र होइन प्राय कृतिको प्रकाशनपूर्वको पाठक त्रिपाठी गुरु भएको थाहा पाएको छु । उहाँको महाकाव्य उहाँ जीवित छँदै प्रकाशन हुनुपथ्र्यो त्यो हुन सकेन । अब त्यसलाई अन्तिम साफी र सम्पादन गर्ने पात्र चाहिन्छ । त्यो पात्र पनि वासुदेव त्रिपाठी हुन सक्नुहुन्छ । घिमिरेका समग्र कृतिको ग्रन्थन गर्दा पनि त्रिपाठी गुरुले नै सम्पादन गर्ने कुरा सुनेको थिएँ ।

कविताको एउटा युग समाप्त भयो भिनिन्छ नि ? के हो यो भनाइ ?

घिमिरेसँग घिमिरेको युग समाप्त हुँदैन । देवकोटाको निधनपछि प्रयोगवादी धाराको आरम्भ भए जस्तो कुनै धारा जन्मने म देख्दै छैन । बरु गीति नाटकको युगचाहिँ धरासायी भएको हो कि जस्तो लागिरहेको छ ?

नेपाली काव्यजगत्मा घिमिरेको स्थान चाहिँ के हो ?

नेपाली काव्य जगत्मा घिमिरेको स्थान संस्कृतका महाकवि कालिदास, भारतीय कवि रवीन्द्रनाथ ठाकुर, अघि उल्पेख भएका अमेरिकी राष्ट्रकवि जस्तै हो । उहाँलाई एसियाका विशिष्ट कविका रुपमा र विश्व कविका निश्चित संख्याभित्र मूल्याङ्कन गरेर पनि चिनाउन सकिन्छ । उहाँले आदिकवि भानुभक्त आचार्य, युवाकवि मोतीराम भट्टलाई छोडेर कविशिरोमणि लेखनाथ पौड्याल तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको उत्तराधिकारीका रुपमा प्रतिनिधित्व गर्दै साढे आठ दशक (८५ वर्ष) सम्म निरन्तर ऋषितुल्य साधनामा रही नेपाली कविता, गीत, खण्डकाव्य, गीतिनाटक र बाल गीत–कविताका क्षेत्रमा विशिष्ट मानक निर्माण गर्नुभएको छ । यो मानक भत्काउन सजिलै सकिँदैन । यो मानक चुली पुग्न वा मापन गर्न पनि सजिलो छैन । उहाँका करिव १०० बाल कविताको पुनमूल्यांकन हुन र गीति नाटककोपनि पुनः मूल्यांकन हुन आवश्यक छ । उहाँ सिर्जन सामथ्र्य र उमेरले पनि अति आदरणीय व्यक्तित्व हुनुहुन्थ्यो । सोझो भाषामा उहाँ महाकवि देवकोटापछिका विशिष्ट खण्डकाव्यकार र समपछिका विशिष्ट कलात्मक काव्य एवम् गीति नाटककार पनि हुनुहुन्छ । उहाँ स्वच्छन्दतावादी र परिष्कारवादी दुवै युगका प्रतिनिधि स्रष्टा हुनुहुन्छ । लेखनाथका पनि उत्तराधिकारी र देवकोटाका पनि उत्तराधिकारी ।

उहाँलाई स्वच्छन्दतावादी परिष्कारवादी कवि भनिन्छ नि ? यसको आधार के के हो ?

उहाँ प्रकृति र राष्ट्रिय चेतनाका दृष्टिले स्वच्छन्दतावादी कवि हुनुहुन्छ भने परिष्कार चेतका आधारले परिष्कारवादी कवि हो । लम्जुङको सुन्दर प्रकृतिको काखमा जन्मेर बाल्यकाल बिताएका घिमिरेका काव्यकृतिमा आफ्नै पृष्ठभूमिका लेकबेँसी, मेला पात, पानी पँधेरो, तराई पहाड, हिमाल, जल सम्पदाका नदी, खोला, खोल्सा, खहरे, छाँगाछहरा, कुवा–पधेँरा, तालतलैयाका गान र शान्त पनका स्वच्छन्दता र वस्तुस्थितिको सुन्दर चित्रण पाइन्छ । अति संवेदनाले भरिएका उहाँका गीत–कविताहरुमा स्वच्छन्दतावादी भावुकताको चरम उष्पयोग भएको देखिन्छ । यो अवस्था खण्डकाव्य र गीतिनाटकमा पनि कवितामा जस्तै रुपक सामथ्र्य सम्पन्न बनेर प्रस्तुत भएको देखिन्छ । त्यो रुपक सामथ्र्य सम्पन्नता परिष्कार चेतना हो । यस अर्थमा उहाँ स्वच्छन्दतावादी परिष्कारवादी कवि हुनुहुन्छ ।

घिमिरेलाई पीडा, वेदना र आँसुका कवि भनेर होच्याइएको हो कि यो यथार्थ पनि हो ?

घिमिरे आँसु र वेदनामै फुलेको कमल हो । बाल्यावस्था (अढाई वर्षको उमेर) मा मातृवियोगको असीम पीडा र बाल्य वयमै पितृवियोगको पीडा व्यहोरेको पात्र उहाँ । युवावस्था (२८ वर्षको उमेर) मा पत्नीवियोगको गम्भीर वेदनामा परेको पात्र उहाँ । जीवनमा असफलताका समस्याका अनेक पक्ष पनि भोगे व्यहोरेको पात्र उहाँ । तिनै पीडा र वेदना, समस्या आदिलाई काव्यात्मक शक्तिमा रुपान्तरण गरेर ‘गौरी’ राजेश्वरी आदि काव्य रचना गरेको पक्ष सत्य हो । तिनै रचनाबाट सर्वप्रिय, अविस्मरणीय र अमर बनाएको हुँदा आँशु र वेदनाको कवि भन्नु अनुपयुक्त होइन तर उहाँको यो प्रवृत्तिलाई स्वच्छन्दतावादी भावुकता र सहृदयताका रुपमा व्याख्या विश्लेषण गर्न सकिन्छ । घिमिरेले वीर, करुण, शृङ्गार र शान्तरसका काव्यकृतिहरु रचना गर्नुभएको छ । त्यसो भए तापनि उहाँ मूलतः करुणरसका गायक देखिनुहुन्छ । मानवीय करुणालाई सूक्ष्म संवेदनासाथ प्रस्तुत गरेर पाठकलाई पाठसँगै तानेर लैजाने बनाउने क्षमता राख्नुहुन्छ । उहाँका रचनामा वीररसोन्मुख राष्ट्रप्रेमको भावनालाई सशक्त रुपमा अभिव्यञ्जित छ । यो सामथ्र्य नै घिमिरेको खास पहिचान हो ।

‘राजेश्वरी ’, ‘राष्ट्रनिर्माता’ र ‘इन्द्रकुमारी’ जस्ता खण्डकाव्यमा मानवीय संवेदना निकै गहिरो र अद्वितीय रुपमा अभिव्यक्त छ । राष्ट्र निर्माता र धर्तीमातालगायत तीन दर्जन जति कविता र त्यति नै गीतमा राष्ट्रिय चेतना अपूर्व रुपमा प्रवाहित छ । उहाँका रचनामा आँसु मात्र छैन रुपक सामथ्र्यका साथ अभिव्यञ्जित राष्ट्रवादी चेतनाको संयोजत छ । सबै रस सामथ्र्य छ । यही सामथ्र्यको उच्च मूल्यांकन गरी राष्ट्रले उहाँलाई ‘राष्ट्रकवि’ को उपाधि दिएको पक्ष उपयुक्त नै देखिन्छ । एउटा सफल र हृदयस्पर्शी गीतकारका रुपमा र त्यसमा राष्ट्रिय विम्बहरुको अन्तर्घुलन गरी राष्ट्रिय चेतना, जमगरण उजागरका लागि उहाँको योगदान अविष्मरणीय छ ।

म नाटककै विद्यार्थी हुँदा अर्को पश्न है । यहाँले उहाँको नाट्यकारितालाई चाहिँ कसरी बुझ्नुभएको छ ?

घिमिरे नाटककार मात्र होइन गीतिनाटककार हो । यस क्षेत्रमा उहाँ नेपाली कालिदास हो । गीतिनाटक लेखनमा माधव घिमिरेको सङ्ख्यात्मक र गुणात्मक दुवै योगदान अपूर्व रहेको छ । उहाँका सातवटा गीतिनाटक प्रकाशित छन् । केही गीतिनाटकले प्रदर्शनको कीर्तिमान कायम गरेका थिए । ती नाटकमा मानवीय संवेदनाको विशिष्टता र व्यापकता अभिव्यञ्जित छ ् । ‘अश्वत्थामा’ गीतिनाटकले हिंसाजन्य विश्वपरिदृश्यको समस्यालाई कलात्मक पाराले उठाएको छ । यो नाटक दोस्रो विश्वयुद्ध र सम्भावित तेस्रो विश्वयुद्धको छाया हटाउन रचना गरिएको नाटक हो । शकुन्तला, विषकन्या, हिमालपारि हिमालवारि, मालतीमङ्गले, देउकी र बालकुमारी गीतिनाटक आआफ्नै विषयगत र नाट्यतत्वगत विशेषताले युक्त छन् । यहाँले म नाटकको विद्यार्थी हुँ भन्नुभयो । एक पटक पढेर हेर्नुहोस् नाटक कस्ता रहेछन् ? सबै अभिनेय, सबै उत्कृष्ट छन् ।

घिमिरेको कविता कलाको मूल सूत्र के हो ? यहाँ पनि कवि भएकाले म जिज्ञासु रहेँ ।

मैले बुझेसम्म माधव घिमिरे कलात्मक कवित्वका निर्माता हुनुहुन्छ । उहाँको कविता कला महाकवि कालिदास र भारतीय कवि रवीन्द«नाथ ठाकुरसँग तुल्य छ । यो कुरा मैले अघिल्लो प्रश्नको जवाफमा पनि भनिसकेँ । उहाँहरुसँग तुल्य किन भने संक्षिप्त र रुपक सामथ्र्यपूर्ण शब्दशैलीमा सुन्दर कविता रचना गर्ने शैली हो । घिमिरेले कुनै अन्तर्वार्तामा भन्नु भएको छ ः ‘सामान्यतया एउटा कविता रचना गर्न म ३ दिन लगाउँछु । पहिलो दिन बतास बन्छु, दोस्रो दिन श्वास बन्छु र तेस्रो दिन बाँसुरीको आलाप बन्छु ।’ यो भनाइ नै घिमिरेको कविता रचनाको सूत्र हो । नवमञ्जरी (१९९४) र चैतवैशाख (२०६०) घिमिरेका कवितासङ्ग्रह हुन् । उहाँका सबैजसो प्रतिनिधि कविताहरु चैतवैशाखमा संकलित छन् भने नवमञ्जरीमा सिकारु अवस्थाका वैराग्यमुखी कविता छन् । तिनमा पछिल्लो कविताको सम्भावना भने देखिएको थियो । चैतवैशाखका कविता हेर्दा उहाँ रुपक सामथ्र्य सम्पन्न कवि हो । पूर्वीय साहित्य शास्त्रका रस, अलंकार, ध्वनि, वक्रोक्ति, औचित्य आदि जुन सुकै किलाकाँटाबाट पनि उहाँका कविताको अध्ययन विश्लेषण गर्न सकिन्छ । मानवताका व्यापक सैद्धान्तिक सूत्रहरु र विश्वसाहित्यका धेरै सैद्धान्तिक सूत्रहरुबाट उहाँका कविता अध्ययनीय विश्लेषणीय छन् । भाषापरक शैलीवैज्ञानिक संरचनापरक जुन किलाकाँटाबाट अध्ययन गरे पनि उपयुक्त छन् । उहाँले आफ्नो कविताभित्रै पनि केही आफ्ना कविताकलाका सूत्र अभिव्यक्त गर्नुभएको छ ः यौटै सानो सरल कृतिमा पूर्ण संसार देऊ । यही सूत्र घिमिरेका कविताकलाको मूल सूत्र जस्तो लाग्छ मलाई । उहाँका कविता, गीत, खण्डकाव्य र गीतिनाटक सानो स्वरुपमै पूर्णताको अनुभूति दिन सक्षम छन् ।

घिमिरेले महाकवि देवकोटापूर्व नै महाकाव्य सृजनमा अग्रसर बनेको इतिहास पनि पढ्न पाइन्छ नि ?

हो, उहाँले देवकोटापूर्व नभनूँ सँगसँगै महाकाव्य रचना गर्ने प्रयत्न गर्नुभएको थियो । देवकोटाका महाकाव्य प्रकाशनमा आएपछाडि, सोमनाथको आदर्शराघव आएपछाडि सम्भवत उहाँले अभ्यासविना तत्काल महाकाव्य रचना गर्नु कमजोरी हुने छ भन्ने ठान्नुभयो । महाकाव्यको महत्ता बुझ्नुभयो र संक्षिप्ततामा केन्द्रित बनेर त्यसतर्फ चासो दिन सक्नु भएन । उहाँभित्रको महाकाव्यको गर्भभने रहिनै रह्यौ एकैचोटि जीवनको उत्तरार्धमा ऋतम्भरा महाकाव्य सृजना गर्नुभयो । मलाई लाग्छ त्यो महाकाव्य पूर्ण भएको छ । आफूलाई पूर्ण रुपमा चित्त नबुझी कृतिहरु सार्वजनिक नगर्ने कवि स्वयम्को स्वभावका कारण हामीले उहाँका जीवनकालमा पढ्न पाएनौँ ।

घिमिरेलाई नयाँ लेखकले रोलमोडल मान्न सकिने सामथ्र्यहरु के के हुन् ?

घिमिरेलाई रोलमोडल मान्न सकिने आधारहरु धेरै छन् । उहाँ असीम व्यथा र वेदनाको भुमरीमा पिल्सँदै हुर्किएका प्रतिभा हुनुहुन्छ । उहाँका जीवनका बाल्यकालका, प्रौढकालका, उत्तर प्रौडकालका र वृद्धावस्थाका जीवनकथा मात्र लेख्दा पनि छुट्टा छुट्टै चारवटा रोचक उपन्यास बन्छन् । समस्यामा हुर्कनुपरे पनि आफ्नो शैक्षिक सामथ्र्य कवित्व क्षमता, प्रतिभाको उच्च पारख , साधनाको निरन्तरता, गाम्भीर्य, सूक्तिमय सिर्जन सामथ्र्य, सबैसँग मिल्न सक्ने सामथ्र्य आदि उहाँबाट सिक्नुपर्ने कुरा हुन् । उहाँले सिर्जना र सकारात्मक सोचकै कारण शतायुको उपभोग गर्न पाउनुभयो होला जस्तो लाग्छ मलाई । उहाँकोे जीवन पूर्ण सार्थक रह्यो । उहाँ निजी स्वार्थका लागि नभई नेपाल राष्ट्र, नेपाली जाति, नेपाली प्रकृति, नेपाली सभ्यताका र मूलत मातृभाषाको उन्नयन र कलाकुँजनमा समर्पित बन्नुभयो । उहाँले जति हामीले गर्न सकौँ त ? उहाँको विरोध गर्नेले गर्न सकून् त ? उहाँ जतिको साझा नायक वा मान्य पात्र भएर कोही देखापरोस् त ? प्रायः असम्भव । उहाँका केही गुण मात्र सिक्नु पनि जीवन सफल बनाउने महामन्त्र बन्छ जस्तो लाग्छ मलाई ।

घिमिरेको गद्य सिर्जन सामथ्र्य वा गद्यकारिताचाहिँ कस्तो थियो ?

उहाँलाई हामीले कवि मात्र चिन्यौँ । उहाँ राम्रो भाषाशास्त्री र कविताकाव्यबाहेक निबन्धकार र कथाकार पनि हो । गद्य रचनामा पनि उहाँ उत्कृष्ट फेला पर्नुहुन्छ । आफ्नो बाँसुरी आफ्नै गीत तथा चारुचर्चा जस्ता सङ्ग्रहले उहाँको गद्यकारितालाई देखाउँछन् । उहाँका सम्पादकीय, प्रकाशकीय, भूमिका समीक्षा आदिको भाषा पनि उल्लेख्य छ । उहाँको गद्य पनि प्राञ्जल छ ।

घिमिरेका जीवनका कमजोरी के हुन् ?

मान्छे विना कमजोरी बाँच्न सक्तैन । केही कमजोरी उनका जीवनमा पनि अवश्य होलान् । देवकोटाको प्रतिष्ठानबाट पाउने तलब रोक्ने पात्रका रुपमा पनि यदाकदा चर्चा पाइन्छ । केही नारीवादीहरु दोस्रो विवाह गरेपछि गौरीको के अर्थ पनि भन्छन् । केही ब्राह्मणवादी थिए, राजवादी थिए भन्छन् कमजोरी देखाउनेलाई जे पनि कारण बनिदिन्छ । हाम्रा बा, हजुरबाका पालामा दुई होइन पाँच विहेको छुट भएको समाज थियो । उहाँ आफ्नो समयमा कम कमजोरी भएका मानिसमध्ये बाँच्नुभयो भन्ने लाग्छ मालाई । उहाँलाई रङ्गीन चश्माको आँखाले हेर्न आवश्यक छैन । उहाँ नेपाली साहित्य जगत्का निर्विकल्प सर्वमान्य शताब्दीपुरुष हुनुहुन्थ्यो । उहाँका कमजोरी खोजी गर्नुपर्ने आवश्यकता म देख्दिनँ । बरु उहाँका रचनाका आदर्श र राष्ट्रिय चेतना र कविता कला खोज्यो भने काम लाग्छ भन्ने लाग्छ मलाई । उहाँका कृतिलाई मसिनो गरी पढ्ने समालोचकहरुले भानुभक्त र देवकोटालाई जति पनि आलोचना गर्न सक्छन् जस्तो मलाई लाग्दैन । नपढी नाक हेरेर, उमेर हेरेर, पदहेरेर आलोचना गर्नेहरुका विचारको खण्डन मेरो प्राज्ञिक मर्यादाले दिँदैन ।

यति गहन विचार सम्प्रेषणका लागि सरलाई धेरै धेरै धन्यवाद ।

मलाई माधव घिमिरे जस्तो विशिष्ट प्रतिभाका बारे केही बोल्न सक्ने स्रोतव्यक्ति बनाउनुभएकामा तपाईँलाई धन्यवाद । स्रोत पहिल्याएर अन्तर्वार्ता लिने पत्रकारको पनि खडेरी परेका बेला तपाईँ देखिनुभयो । माधव घिमिरेप्रति श्रद्धाञ्जली । तपाईँको सञ्चारमाध्यमलाई शुभकामना ।

प्रतिक्रिया
Loading...