नेपाली साहित्यको सम्पूर्ण पत्रिका

‘त्यसरी होस् मरण’ गीतले भने झैँ घिमिरेको मरण ! (भिडियोसहित)

उनको दर्शनको विश्वास अनुसार अहिले उनी ब्रह्मलीन भएका छन् । वेदान्त दर्शनका अनुयायीहरू ब्रह्मलीन हुनु नै पूर्ण हुनु मान्दछन्, यस अर्थमा कवि घिमिरे अहिले आफ्नो दर्शनको र यस गीतको पूर्णतामा छन् ।

राष्ट्रकवि माधव घिमिरेको निधनपछि उनकै अन्तिम श्रद्धाञ्जलीका निम्ति सार्वजनिक गरिएको गीत अहिले चारैतिर गुञ्जिएको छ। विक्रम सवंत् २०१६ आश्विन २१ गते रचिएको र ‘किन्नर-किन्नरी’ गीतिसङ्ग्रहमा २०३३ सालमा प्रकाशित यस गीतले आज सम्पूर्ण नेपालीलाई पुनः एक पटक भावुक बनाएको छ। कविवरले कुन सन्दर्भमा केलाई लक्षित गरी यस गीतको रचना गरे ? अनि सङ्गीतबद्ध गराएर आफ्नो निधनपछि मात्र सार्वजनिक गर्न र शोकगीतका रूपमा त्यही गीत बजाउन किन आग्रह गरे ?, यो सबै नेपाली साहित्यानुरागीका लागि जिज्ञासाको विषय बनेको छ ।

कविवर माधव घिमिरेको सर्वोच्च प्राप्ति र चिनारी कवि व्यक्तित्व नै हो । उक्त कवि व्यक्तित्वको चरम प्राप्तिको पृष्ठपोषक भने काव्यको गेयात्मकता र गीतिकाव्यको अद्भुत र रहस्यमयी संयोग हो । उनका कवितामा सुन्दर भावको प्रष्फुटन प्राञ्जल शब्दसौन्दर्य र कलात्मक जीवनदर्शनले अनुप्राणित भएका हुन्छन् । मूलतः कवि घिमिरेले नेपाली संस्कृति, प्रकृति र समस्त मानवहृदयको सूक्ष्मता, संवेदन र सहानुभूतिलाई प्राच्यदर्शन, त्यसमा पनि वेदान्त (उपनिषद्) दर्शनको सारलाई आफ्ना रचनामा मिलाउँदै चूडान्त प्राप्तिमा डुबुल्की मार्छन् ।

जीवनको सौन्दर्य नै मृत्युबोधको शाश्वततालाई सहज र स्वाभाविकरूपमा ग्रहण गर्न सक्नु हो भन्ने उनको जीवन दर्शन हो । कहिले सपनामा आफैँ मरेको अनुभूति गरेका घिमिरेले कहिले हल्लैहल्लामा आफू मरेको समाचार प्रसारण भएर श्रद्धाञ्जलीका ओइरो लागेको समेत अनुभूति गरेका छन् । उनले यस्ता अनौठा क्षणले आफूलाई जीवनप्रति थप ऊर्जा र मोह बढेको, सुन्दर सृजनाका निम्ति अनुप्राणित गरेको अनुभूति गरेका छन् ।

‘मुत्युपछि व्यक्त गरिने श्रद्धा, सम्मान र श्रद्धाञ्जली जिउँदै पाउनु मप्रतिको अगाध स्नेह र सम्मान हो । यसबाट मैले नयाँ जीवन पाएको छु ।’, कवि घिमिरेले मसँग प्रत्यक्ष भेट र टेलिफोन वार्तामामा रोमाञ्चित हुँदै थुप्रै पटक भनेका छन् ।

सयौँ साहित्यानुरागी र घिमिरेका काव्यमा डुबुल्की मारिरहेका रसिकजनहरूले, “यो गीत निकै सुनियो, निकै राम्रो लाग्यो तर यसको पूरै अर्थ बुझिएन । लौन, यसको अर्थ विश्लेषण गरिदिनु पर्यो ।”, भनेर मलाई अग्रह गरेपछि यो गम्भीर विषयमा प्रवेश गर्न चाहेको हुँ । करिब १५-१६ वर्षको निरन्तर सान्निध्यमा रहेको, उनकै कवित्व र व्यक्तित्वलाई केन्द्रविन्दुमा राखेर ‘राष्ट्रकवि’ खण्डकाव्य रचेर उनकै जन्मोत्सवमा प्रज्ञाप्रतिष्ठानमा विशाल विद्वतसभामा सार्वजनिक गरेको, सर्वजनिक गर्नेक्रममा मसँग सयौँ प्रत्यक्ष भेटका क्रममा र काव्य, समालोचना र समग्र जीवनका बारेमा भएका कैयौँ गुरुगम्भीर कुराकानीहरूका प्रसङ्ग सुरक्षित छन् । यस नाताले पनि यस गीतको विश्लेषण गर्नु उचित नै हुन्छ र उनीप्रति सम्मान नै होला भन्ने भावनाले कुत्कुताएको छ मलाई ।

दीपेन्द्र अधिकारी

प्रस्तुत गीत ‘आफैँलाई गरूँ वरण’ शीर्षकमा ‘किन्नर-किन्नरी’ गीतिसङ्ग्रहमा प्रकाशित छ। चालीस वर्षे अधबैँसे उमेरमा रचिएको यस गीतमा समेत कवि/गीतकार घिमिरेको कविप्रौढोक्ति विशिष्टरूपले अभिव्यक्त भएको छ । वेदान्त दर्शनको, “ब्रह्म सत्यं जगन्मिथ्या जीवो ब्रह्मैव नापरः । अनेन वेद्यं सच्छास्त्रमिति वेदान्तडिण्डिमः ॥”, भन्ने भावार्थको चूडान्त प्रस्तुति देखिन्छ यसमा गीतमा ।

लामा छोटा पदावली र गीति अन्तराको पुनरावृत्तिसहित १७ हरफमा संरचित यो गीत अत्यन्तै सुन्दर, सुललित र सन्तुलित छ।

संसारका सायदै कविले राष्ट्र र जनता दुवै स्तरबाट यति सम्मानित भएर यति लामो जीवन बाँच्न पाए होलान् र आफ्नो  श्रद्धाञ्जलीका निम्ति गीत लेखेर छाडेर गए होलान् । यस अर्थमा कवि घिमिरेको यो गीत नितान्त पृथक् र अनुपम देखिन्छ । जीवन जिउने कला र यसरी जिउन पाऊँ भन्ने अभिलाषा प्रायः सबैको हुन्छ तर अधबैँसे उमेरमै म यसरी होइन त्यसरी मर्न पाऊँ भनेर मृत्युवरणको कामना गरेर गीति काव्यिकरूपमा वर्णन गरिएको मृत्यु इच्छा सम्भवतः राष्ट्रकवि घिमिरेको प्रस्तुत गीत नै होला।

‘त्यसरी होस् मरण’ पदावलीबाट प्रारम्भ भएको गीत, ‘अमरापुरी सभामा आफैँलाई गरूँ वरण’ मा पुगेर अन्त्य भएको छ। यी प्रारम्भ र अन्त्यका भावोद्गारका बीचमा विभिन्न उपमा र दृष्टान्तको प्रयोगले कविको आफ्नो मृत्युवरणको सादृष्य वर्णन गरिएको छ यस गीतमा । ‘त्यसरी होस् मरण’ पदावलीमा कवि स्यवं र सम्पूर्ण मानव जातिको मरण कुनै दुःख, दर्द र पीडाबिना सहज र स्वाभाविक ढङ्गले होस् भन्ने सार्वभौम कामनासमेत मुखरित भएको छ।

यसैगरी ‘जसरी सुत्छन् तारमा गीतका चारू चरण’ हरफमा कविले गीत-सङ्गीतका तारमा वा वाद्यवादनाका तारमा जसरी ‘सारेगम ….’ का सुन्दर (चारू) चरण पाद अडिएका हुन्छन् र तबसम्म सुतिरहेका हुन्छन् जबसम्म ती वाद्यवादनका सामग्रीलाई झङ्कृत गराइँदैन । त्यसैगरी कवि घिमिरेले यस गीतमा आफू पनि अन्तिम निद्रामा यो हिमालचुलीको देशमा तारमा गीतका चारू चरण सुते जसरी सुत्न पाऊँ भन्ने इच्छा व्यक्त गर्दछन् । त्यो सुन्दर समय पनि ‘दिनको शान्त शेषमा’ अर्थात् दिनको अन्त्य र रातको प्रारम्भअघिको सन्ध्या समय होस् भन्ने उनको कामना छ। दिनको अन्त्य सन्ध्यालाई कविले जीवनको अन्त्य (शेष) मरणको रूपमा लक्षित गरेका छन् । सन्ध्यामा जसरी सूर्यका स्वर्णकिरणले विश्राम लिन्छन् र गोधूली सन्ध्याको आगमन हुन्छ, हो त्यही बखतमा कवि घिमिरेले पृथ्वीको सुन्दर सृष्टि निहारेर सुखका साथ आँखा चिम्लन चाहान्छन् । दिनरूपीका जीवनका सारा थकान मारेर निरासाका घोर निसा सुरू नहुँदै कर्म र कृतिका स्वर्ण आभा नियालेर चिर निद्रामा पुग्न पाऊँ भन्ने इच्छा व्यक्त गरेका छन् । उनको यो कामना सम्पूर्णरूपले पूरा पनि भयो । सन्ध्याकालको समय ५:५५ भाद्र २ मा उनले सुन्दर सृष्टिलाई नियालेर नै आँखा चिम्लिए । प्राच्य वाङ्मयले कविलाई क्रान्तदर्शी (विलक्षण ज्ञान भएको) र त्रिकाकालदर्शी (भूत, वर्तमान र भविष्यसमेत जान्ने) विशिष्ट व्यक्ति मानेको छ। यस अर्थमा कवि घिमिरेले ६१ वर्ष पहिले गरेको मृत्युवरणको कामना १०१ वर्षमा त्यसैगरी पूर्ण भयो, उनी त्रिकालदर्शी नै ठहरिए ।

माधव घिमिर

कविले यहाँ मृत्युपछि पुनर्जन्मको कामना पनि गरेका छन् । जसरी प्रत्येक सन्ध्यामा विश्राम लिएको सूर्यकिरण प्रत्येक बिहानीमा सुनौला किरणसहित उदाउँछ, हो त्यसरी नै मानव जीवनको इहलीला समाप्त भएपछि अर्को पुनर्जन्म हुन्छ । कवि स्वयं दर्शनका ज्ञाता भएकाले आफ्नो दार्शनिक चेतलाई यहाँ काव्यात्मकरूपले अभिव्यक्त गरेका छन् । कविले थुप्रै प्रसङ्गमा आफ्नो पुनर्जन्म भएमा शास्त्रीय सङ्गीतको साधक हुने इच्छा व्यक्त गरेका छन् । त्यसको सङ्केत यस गीतको प्रारम्भमै ‘जसरी सुत्छन् तारमा गीतका चारु चरण’ पदावलीबाट नै ध्वनित गरेका छन् । कविको इच्छा छ- आफ्नो मृत्यु सुन्दर सृष्टिलाई निहारी (हेरेर, अवलोकन गरेर) सुखका साथ आँखा चिम्लिएर होस् । कविले पृथ्वीका सुन्दर सृष्टिको अनुभूति गर्दै निहारिका (स्वर्गङ्गा, नक्षत्रपुञ्ज) आदिलाई हेर्दै त्यतैतर्फको यात्राको आभाष गरेको समेत प्रतीत हुन्छ यहाँ ।

यसरी मृत्युवरण गर्दैगर्दा पारिजातका पुष्पहरू बिनाहावाहुरी बिहानीपख झरेका हुन्छन्, हो त्यसैगरी पुष्परूपी जीवन पनि कुनै चोट नपरी सहजरूपमा छुटेर जाओस्, टुटेर जाओस् भन्ने कामना गरेका छन् कविले यस गीतमा। कविले पारिजातलाई एक सुन्दर वृक्षको रूपमा प्रस्तुत गरेका छन् जहाँ सुगन्धी पुष्पको क्षणभङ्गुरतालाई जीवनपुष्पको क्षणभङ्गुरतासँग तुलना गरेका छन् । प्राच्य वाङ्मयमा पारिजातलाई देववृक्ष मानिन्छ । हाम्रो जीवन पनि पारिजातको फूलजस्तै सुन्दर छ तर क्षणभङ्गुर छ । हावाको झोक्का बिना नै पारिजातको फूल झरे झैँ यो देहबाट प्राणपखेरु झरेर, उढेर जान्छ । त्यसको कुनै पूर्वाभाष हुँदैन । अतः जीवनको अनुभूति गर्न चाहनेले शास्वत मृत्युको सहज अनुभूतिका निम्ति तयार हुनुपर्छ भन्ने कोमल र संवेदनशील सन्देश यस पङ्क्तिमा अभिव्यक्त भएको छ। कवि घिमिरेले जीवनरूपी बन्धन टुटेर निहारिका (बादल, तारापुञ्ज) मै विलीन हुन चाहान्छन् । बादलका सेता राशमा आफूलाई समाहित गराउन चाहान्छन् ।

‘बादलका सेता राशमा, दुइटा मूर्ति पासमा’ जसरी शिर नुहाई आफैँमा अर्पण हुन्छन् त्यसरी नै कविको आत्मा परमात्मामा विलीन होस् भन्ने कामना गर्दछन् । यहाँ दुई वटा व्यष्टि बादल समग्र समष्टि बादलमा हराए जस्तै व्यष्टि घिमिरे समष्टि व्योममा विलीन हुन चाहान्छन् र ‘अहंब्रह्मास्मि’को दर्शनमा पुग्दछन् । जीवो ब्रह्मैव नापरः प्रत्येक जीव नै ब्रह्मको अंश हो र त्योभन्दा माथि केही छैन भन्ने वेदान्त दर्शनलाई अभिव्यक्त गर्दछन् ।

बादल वस्तुतः सेतो, नीलो र कालो हुन्छ । नीलो बादलले शान्ति र समग्र व्योमको विशालता र गम्भीरताको अर्थबोध गराउँछ भने कालो बादलले एकातिर चट्याङ्ग र विनाशको बोध गराउँछ, अर्कोतिर सृजनशील वर्षाको पनि । त्यस्तै सेतो बादलले पवित्रताको र आकाशगङ्गाको एक किसिमको खेलको झल्को दिन्छ । कवि यही सेतो बादलमा जहाँ विभिन्न किसिमका आकृति देखिन्छन् र एकछिनमै आफैँमा विलीन हुन्छन्, त्यसैगरी आफू व्योममा विलीन हुन चाहान्छन् । यसैक्रममा कविले त्यहाँ बादलको सेतो राशमा दुई वटा मूर्ति (आकृति) देख्छन् र ती आकृति (मूर्ति) पासमा (पार्श्व) नजिकमा क्षणभरमै नयाँ आकृतिमा बदलिदै शिर नुहाएर एकापसमा अर्पण (समर्पित) भएको दृष्य देख्छन् । बादलका ती आकृति त्यसै हराएर जान्छन् र पुनः नयाँ आकृति बन्दै जान्छन् । कवि व्यष्टि घिमिरेले पनि आफूलाई त्यसैगरी समष्टि व्योममा विलीन गराउँन चाहान्छन्, जसरी व्यष्टि दुई वटा बादल समष्टि सेतो बादलमा हराउँछन् । कविले आफ्नो जीवात्मालाई परमात्मामा विलीन गराउन चाहान्छन् र इन्द्रको स्वर्गको अमरापुरी सभामा आफैँले आफैँलाई वरण (स्वागत) गर्न चाहान्छन् । यसरी यस गीतको उत्तरार्धतिर कवि घिमिरेको उपनिषद् दर्शनको परिपाक हुँदै चूडान्त प्राप्तिमा पुगेको देखिन्छ।

गीतको यहाँसम्मको भावसम्म घिमिरेको मरण इच्छा पूर्णरूपमा साकार भएको छ ।

गीतको आशय झैँ तारका चारू चरणमा, हिमाल चुलीको देशमा, दिनको शान्त शेषमा, सूर्यका किरणले विश्राम लिए सरी, सुन्दर सृष्टिलाई नियाल्दै पारिजातको फूल बिनाहावाहुरी झरे जस्तै कवि घिमिरेको मुटुको बन्धन टुटको छ। गीतको यहाँसम्मको भावसम्म घिमिरेको मरण इच्छा पूर्णरूपमा साकार भएको छ । बाँकी बादलको राशमा दुइटा मूर्तिले एकापसमा शिर निहुराएर त्यही समर्पित हुने र अमरापुरीको सभामा आफूले आफैँलाई वरण गर्ने उनको इच्छा चाँहि पूरा भयो कि भएन ? त्यो कि स्वयं परलोक पुगेका घिमिरेलाई थाहा होला कि त स्वर्गमा राज्य गर्ने इन्द्रलाई नै थाहा होला ।

उनको दर्शनको विश्वास अनुसार अहिले उनी ब्रह्मलीन भएका छन् । वेदान्त दर्शनका अनुयायीहरू ब्रह्मलीन हुनु नै पूर्ण हुनु मान्दछन्, यस अर्थमा कवि घिमिरे अहिले आफ्नो दर्शनको र यस गीतको पूर्णतामा छन् ।

कवि घिमिरेलाई अत्यन्त मन पर्ने विषय र उपमालङ्कारहरू जस्तैः हिमाल, स्वर्णकिरण, सृष्टि, कुसुम, कोमल मुटु, जीवन र मृत्युबीचको रहस्यमयी क्रीडा आदिको सदृष्य, समुच्च र सुन्दर वर्णन यस गीतमा गरिएको छ । महाकवि माघले भने जस्तै ‘क्षणे क्षणे यन्नवतामुपैति तदेव रूपं रमणीयताया’ को भाव यस गीतमा पाइन्छ । त्यसैले होला नयाँपनको अनुभूतिका निम्ति कविले अमरापुरी सभामा आफूले आफैँलाई स्वागत गर्न चाहान्छन् । यसरी हेर्दा प्रकृति, संस्कृति, दर्शन, कलाको रहस्य र जीवन-मरणको साङ्गोपाङ्गो चित्रण यस गीतमा अभिव्यक्त भएको पाइन्छ । यस्तो प्रौढ र दार्शनिक शब्द रचनालाई गायक कर्णदासको कर्णप्रिय स्वरले थप मर्मस्पर्शी र श्रुतिमधुर बनाएको छ ।

गीति छन्दमा लेखिएको यस गीतमा अन्त्यानुप्रासका सुन्दर बान्की, सदृष्य वर्णहरूको पुनरावृत्तिबाट हुने ध्वनि कम्पनले यस गीतलाई अत्यन्त सुन्दर र गेयात्मक बनाएका छन् । निर्वेद स्थायी भाव पाइने यस गीतको समग्रतामा शान्तरस निष्पन्न भएको छ। पारिजात, तार आदि उद्दीपन विभाव बनेर परब्रह्मतत्त्व प्राप्ति आलम्वन विभाव बनेको छ । गीतको रचना गर्नु र मरणको कामना गर्नु अनुभाव हो भने मति, स्मृति र धृति यसका सञ्चारी भाव हुन्। कवि उपमेय बनेर स्वर्णकिरण, पारिजात कुसुम, बादल आदिलाई उपमान बनाएर उपमेय कविको मरण इच्छा पनि उपमेयतुल्य नै बनेको छ यहाँ ।

सदृष्य वर्णनबाट सर्रसर्ती हेर्दा स्वभावोक्ति अलङ्कार देखिन्छ भने ‘जसरी सुत्छन् तारमा……’ पदावलीमा उत्प्रेक्षा व्यङ्ग्यालङ्कार अभिव्यक्त भएको छ। त्यसैगरी बिनापवन पारिजातको पुष्प भुइँमा झरेको वर्णनमा विभावना अलङ्कार प्रयुक्त भएको छ । विभिन्न परिवेश र सन्दर्भको वर्णनमा उपमालङ्कार अझ त्यसमा पनि पूर्णोपमा प्रयोग भएको छ । अङ्गाअङ्गी भाव शङ्कर बनेको छ र शङ्कर अलङ्कार नै प्रतीत भएको छ। समग्र रचनाको भावमा कविप्रौढोक्ति देखिन्छ । अमर कवि, राष्ट्रकवि घिमिरेलाई उनकै गीतद्वारा पुनः श्रद्धा सुमन !

“त्यसरी हाेस् मरण ….” गीत सुन्नुहाेस्ः

प्रतिक्रिया
Loading...