नेपाली साहित्यको सम्पूर्ण पत्रिका

टेलिभिजनको भाषा कहिले शुद्ध देखिएला ?

भाषिक शुद्धीकरण अभियान, डा.मतिप्रसाद ढकाल साथ

उठान :

पाठ्य सामग्रीमा मात्र होइन श्रव्य र दृश्य सामग्रीमा प्रयोग गरिने भाषा पनि शुद्ध हुनु अपरिहार्य छ । अध्ययन, अध्यापन र अनुसन्धानमा मात्र शुद्ध भाषाको प्रयोग गरे त भइहाल्यो नि श्रव्य र दृश्य सञ्चार माध्यमको भाषा किन शुद्ध हुनुपर्यो ? भन्नेहरू पनि हाम्रो समाजमा नभेटिने होइनन् र त्यस्तै सोच भएकाहरूको जमात बढ्दै जाँदा दिनप्रतिदिन नेपाली भाषाको लाज बचाउन गाह्रो हुँदै गएको छ । वर्तमान समयमा पाठ्य सामग्रीमा भन्दा श्रव्य र दृश्य सामग्रीमा अधिकांश व्यक्तिहरू रमाउने गरेको हुँदा श्रव्य र दृश्य सामग्रीको भाषा झनै स्तरीय र शुद्ध हुनु आवश्यक छ । कक्षा कोठामा पढेको सामग्रीभन्दा श्रव्य र दृश्य माध्यममा बारम्बार सुनिने र देखिने भाषाले नवप्रयोक्तालाई मात्र होइन अभ्यस्त प्रयोक्तालाई पनि क्रमशः प्रभावित पार्दै जान्छ । त्यसैले रेडियो र टेलिभिजनमा प्रयोग गरिने कथ्य भाषा मात्र होइन लेख्य भाषामा पनि शुद्धता कायम गर्नुपर्छ । एकपटक पढेको भन्दा धेरैपटक सुनेको र हेरेको भाषालाई नै प्रयोक्ताले बढ्ता शुद्ध ठान्दै जानु अस्वाभाविक होइन । रेडियोमा सुनेको मात्र भन्दा पनि टेलिभिजनमा सुनेको र लेखेको भाषाले प्रयोक्ताको मनमस्तिष्कमा गहिरो प्रभाव पार्दछ । त्यसैले टेलिभिजनमा लेखिएको भाषामा शुद्धता छ कि छैन ? भन्ने बारेमा पनि हामी सबैको विशेष ध्यान आकृष्ट हुनु आवश्यक छ ।

 नेपाल टेलिभिजनमा प्रयुक्त त्रुटिपूर्ण भाषा :

नेपालमा सबैभन्दा पहिला वि.सं. २०४२ मा टेलिभिजनको सुरुवात गर्ने एक मात्र सरकारी टेलिभिजनको नाम नै नेपाल टेलिभिजन हो । यसकै मातहतमा वा शाखाका रूपमा एनटिभी मेट्रो र एनटिभी प्लस दुई टेलिभिजनहरू पनि सञ्चालनमा रहेका छन् । सरकारी टेलिभिजन भएका कारण अन्य टेलिभिजनका तुलनामा यस टेलिभिजनको लिखित भाषा अपेक्षाकृत शुद्ध नै देखिन्छ तर यसमा प्रसारण गरिने विज्ञापनको भाषामा भने पर्याप्त अशुद्धिहरू भेटिन्छन् । उदाहरणका लागि २०७७ भाद्र १४ मा प्रसारित कोरोनासँग सम्बन्धित एउटा कार्यक्रममा प्रस्तुत विज्ञापनको भाषालाई लिन सकिन्छ । नेपाल दूरसञ्चार प्राधिकरणको लोगो नै त्रुटिपूर्ण रहेछ, ‘दूरसञ्चार’ उल्लेख हुनुपर्नेमा ‘दूरसंचार’ उल्लेख गरिएको छ । सहआयोजकको नाम राख्ता नेपाल टेलिभिजनले ‘दूरसञ्चार’ उल्लेख नगरी ‘दूरसंचार’ नै उल्लेख गरेको छ । उक्त कार्यक्रममा प्रसारित कोभिड १९ सम्बन्धी जनचेतनामूलक विज्ञापनको भाषा पनि त्रुटिपूर्ण छ । उक्त विज्ञापनमा यदि कुनै, सङ्क्रमण, हाच्छ्यूँ, कोभिड, सङ्क्रमणबाट, धेरै हदसम्म, लगाउनुअघि, मिचीमिची, कम्तीमा, सेकेन्ड, त्यसैले, लगाउँदा र चिउँडो उल्लेख हुनुपर्नेमा तिनका ठाउँमा क्रमशः यदिकुनै, संक्रमण, हाच्छयु, काभिड, संक्रमण बाट, धेरैहद सम्म, लगाउनु अघि, मिचिमिचि, कम्तिमा, सेकेण्ड, त्यैसले, लगाउदा र च्युँडो उल्लेख गरिएको छ । यस किसिमको विज्ञापन नेपाल टेलिभिजन स्वयंले उत्पादन गरेको हो कि होइन ? यदि आफैले उत्पादन गरेको होइन भने पनि भाषिक दृष्टिले त्रुटिपूर्ण विज्ञापन प्रसारण गर्न नसकिने भन्ने व्यवस्था गर्न सकिएमा विज्ञापनदाताहरूले पनि भाषिक शुद्धीकरणमा ध्यान दिन सक्ने थिए ।

 कान्तिपुर टेलिभिजनमा प्रयुक्त त्रुटिपूर्ण भाषा :

कान्तिपुर दैनिक पत्रिकाले आफ्नो सञ्चार यात्रालाई विस्तार गर्दै जाने क्रममा सञ्चालनमा आएको कान्तिपुर टेलिभिजनमा पनि भाषिक त्रुटिहरू भेटिन्छन् । कान्तिपुर दैनिक पत्रिकाले विज्ञापनको भाषामा पनि शुद्धताको ख्याल गर्नुपर्छ भन्ने कुरा बेवास्ता गर्दै गएका कारण कान्तिपुर टेलिभिजनमा पनि विज्ञापनको भाषामा शुद्धता कायम हुन सकेको देखिँदैन । तीन वर्षअघि कुलमान घिसिङसँग लिइएको अन्तरवार्तामा ‘विद्युत्’ हुनुपर्नेमा ‘बिद्युत’ शब्दको उल्लेख भएको पाइन्छ । कान्तिपुर टेलिभिजनको ‘सरोकार’ कार्यक्रममाथि दिइएको विज्ञापन र अन्तरवार्ता लिने–दिने व्यक्तिहरू उभिएर बोल्ने रोस्टममा ‘ऋद्धि’ हुनुपर्नेमा त्रुटिपूर्ण ‘रिद्धि’ शब्द दिई सिमेन्टको विज्ञापन गरिएको छ भने ‘सङ्क्रमित’ हुनुपर्नेमा ‘संक्रमित’ शब्द उल्लेख गरिएको छ । २०७७ श्रावण ५ गतेको कान्तिपुर समाचारमा ‘विपद्को शृङ्खला’ हुनुपर्नेमा ‘विपदको शृखंला’ उल्लेख गरिएको छ । त्यसैगरी २०७ भदौ ५ गतेको कान्तिपुर समाचारमै ‘सङ्कट’ र सङ्केत’ उल्लेख गरिनुपर्नेमा ‘संकट’ र ‘संकेत’ उल्लेख गरिएको छ भने भदौ १२ गतेको कान्तिपुर समाचारमै ‘दबाव’ हुनुपर्नेमा ‘दबाब’ शब्द उल्लेख गरिएको छ । ‘दब्’ धातुदेखि ‘आउ’ र ‘आव’ प्रत्यय लागेर ‘दबाउ’ र ‘दबाव’ शब्दको निर्माण हुन्छ तर नेपाली बृहत् शब्दकोश (२०४०–२०७५)ले ‘दबाब’लाई समेत प्रविष्टि दिएको छ । चुनाव/चुनाउ, सुझाव/सुझाउ आदिमा झैँ ‘दबाव’ शब्दमा पनि अन्तमा वकार नै हुनुपर्थ्यो । शब्दकोशमै त्रुटिपूर्ण प्रविष्टि भएका कारण कान्तिपुर टेलिभिजनका पत्रकारले ‘दबाब’ शब्दको प्रयोग गरेको हुनुपर्छ ।

एभि न्युज टेलिभिजनमा प्रयुक्त त्रुटिपूर्ण भाषा :

एभि न्युज टेलिभिजनका दुईओटा कार्यक्रमका दुवै शीर्षकमा त्रुटिपूर्ण भाषाको प्रयोग गरिएको छ । व्यक्ति विषय र विशेष कार्यक्रममा ‘विषय’ हुनुपर्नेमा ‘बिषय’ शब्दको प्रयोग गरिएको छ भने ‘संवाद कार्यक्रम’मा ‘संवाद’ हुनुपर्नेमा ‘सम्वाद’ शब्दको प्रयोग गरिएको छ । कदेखि मसम्मका वर्ण पछाडि भएमा अघिल्लो ‘म्’ वा शिरोविन्दु पञ्चम वर्णमा परिवर्तन गरिन्छ भने अन्य वर्ण पर भएमा मकार शिरोविन्दुकै रूपमा प्रयोग हुन्छ । त्यसैले यहाँ ‘सम्वाद’ शब्दलाई अनुपयुक्त ठानिएको हो । संवाद कार्यक्रमकै सामग्री युट्युबमा अपलोड गर्ने क्रममा ‘सन्धि’ र ‘ढुङ्गेल’ हुनुपर्नेमा ‘सन्धी’ र ‘ढंङ्गेल’ शब्दको प्रयोग गरिएको छ । एउटा लाइभ कार्यक्रममा ताजा खबर प्रसारण गर्ने क्रममा आबद्ध, परीक्षणमा र खोपसमेत हुनुपर्नेमा तिनका ठाउँमा क्रमशः आवद्ध, परीक्षमा र खोप समेत शब्दहरू उल्लेख गरिएका छन् । संवाद कार्यक्रमकै क्रममा अनुभूति, पूर्व र प्रमाणित हुनुपर्नेमा क्रमशः तिनका ठाउँमा अनुभुति, पुर्व र प्रमाणीत शब्दहरूको उल्लेख गरिएको छ ।

 

 

न्युज २४ टेलिभिजनमा प्रयुक्त त्रुटिपूर्ण भाषा :

न्युज २४ टेलिभिजनमा रवि लामिछानेद्वारा सञ्चालन गरिने ‘सिधा कुरा जनतासँग’ कार्यक्रम निकै लोकप्रिय मानिन्छ तर त्यही कार्यक्रममा प्रयुक्त ‘सिधा’ शब्दले श्राद्ध आदिमा दिइने चामल, नुन आदि सामग्री विशेषलाई बुझाउने भएकाले सोझो वा सरल भन्ने अर्थमा ‘सीधा’ शब्दको प्रयोग गरिनुपर्थ्यो । यद्यपि आफूलाई नेपाली वर्णविन्यासका नयाँ धारको बताउने विद्वान्हरूले ‘सीधा’ शब्दलाई अनुपयुक्त ठानी दुवै अर्थमा ‘सिधा’ शब्दको प्रयोग गर्न निर्देशन दिन सक्लान् तथापि क्षतिपूर्तिदीर्घीभवनको मान्यताका आधारमा ‘सीधा’ शब्द नै प्रयोग गरिनुपर्ने हो । एक वर्षअघिको सोही कार्यक्रम युट्युबमा अपलोड गर्दा सीधा कुरा, स्टुडियोमा, रविले, दीपावली र विशेष शब्दको प्रयोग नगरी तिनको सट्टा क्रमशः सिधाकुरा, स्टुडियो मै, रबिले, दिपावली र विषेश शब्दको उल्लेख गरिएको छ । त्यस्तै एक हप्ताअघि प्रसारित उक्त कार्यक्रम युट्युबमा अपलोड गर्दा सम्पूर्ण र निधार शब्दको प्रयोग हुनुपर्नेमा तिनका ठाउँमा क्रमशः सम्पुर्ण र निदार उल्लेख गरिएको छ ।

 

 

 

 सगरमाथा टेलिभिजनमा प्रयुक्त त्रुटिपूर्ण भाषा :

सगरमाथा टेलिभिजनमा पनि प्रमुख समाचार प्रसारण गर्दा र युट्युबमा कार्यक्रम अपलोड गर्दा भाषिक त्रुटिहरू देखिएका छन् । २०७७ भाद्र १० र ११ गते समाचार प्रसारण गर्दा विश्वव्यापी, वरीयता, यथावत्, निःशुल्क, झन् र सङ्क्रमण शब्दको प्रयोग गर्नुपर्नेमा यिनको सट्टा क्रमशः विश्वब्यापी, वरियता, यथावत, निशुल्क, झन र संक्रमण शब्दको उल्लेख गरिएको छ । त्यसैगरी युट्युबमा कार्यक्रम अपलोड गर्दा मूल्य आकासियो, विपद् र व्यवस्थापन हुनुपर्नेमा यिनका ठाउँमा क्रमशः मुल्य, आकाशियो, बिपद् र ब्यबस्थापन शब्दको प्रयोग गरिएको छ ।

 

 

 

 

एबिसी टेलिभिजनमा प्रयुक्त त्रुटिपूर्ण भाषा :

एबिसी टेलिभिजनका कार्यक्रमहरू युट्युबमा अपलोड गर्दा कूटनीतिक, औँ, वर्षगाँठ, हुनुहुन्थ्यो र थिएँ उल्लेख हुनुपर्नेमा तिनको सट्टा क्रमशः कूटनीतिक, औं, वर्षगाठ, हुनुहन्थ्यो र थिएं शब्द उल्लेख गरिएको छ । मात्रा लागेका शब्दमा शिरोविन्दु दिने त्रुटिपूर्ण नियम प्रा. मोहनराज शर्माद्वारा नेपाली व्याकरणमा भित्र्याइएका कारण ‘औँ’ शब्दमा चन्द्रविन्दुको सट्टा शिरोविन्दु लगाइएको हो । त्यसकै दुष्प्रभावका कारण मात्रा नलागेको ‘थिएं’ शब्दमा पनि चन्द्रविन्दुको सट्टा शिरोविन्दुको प्रयोग गरिएको देखिन्छ । पहिला पहिला छापाखानामा अक्षर कम्पोज गर्दा सजिलोका लागि चन्द्रविन्दु लाग्ने ठाउँमा पनि शिरोविन्दु लेख्ने गरिएकामा हाल त्यसकै दुष्प्रभावले गर्दा र भाषिक प्रयोगमा विशेष ध्यान नदिएका कारण ‘थिएं’ शब्दमा त्रुटिपूर्ण शिरोविन्दु देखिएको हो ।

 इमेज टेलिभिजनमा प्रयुक्त त्रुटिपूर्ण भाषा :

इमेज टेलिभिजनका कार्यक्रमहरू युट्युबमा अपलोड गर्ने क्रममा भाषिक त्रुटिहरू देखिएका छन् । उदाहरणका रूपमा २०७६।७।१४ र २०७६।११।१५ का दुइटा कार्यक्रममा प्रयुक्त त्रुटिपूर्ण भाषालाई लिन सकिन्छ । तिनमा दुःखी, बाँचिरहेकी, रवीन्द्र र मृत्युसँग हुनुपर्नेमा तिनका ठाउँमा क्रमशः दुखी, बाचिरहेको, रविन्द्र र मृत्युसंग शब्दको उल्लेख गरिएको छ । ‘रवि+ इन्द्र =रवीन्द्र’ शब्दको निर्माण भएकाले ‘रविन्द्र’ शब्दलाई अनुपयुक्त ठानिएको हो । व्यक्तिको नाम त जसरी मन पर्छ त्यसरी प्रयोग गर्न पाइन्छ भन्ने छुट कुनै नेपाली भाषाविशेषज्ञले दिन सक्लान् तर जुनसुकै व्यक्तिगत नामको पनि अर्थ हुन्छ भन्ने हेक्का राखेर नाम शब्दको प्रयोग गर्नुपर्छ । चन्द्रविन्दुलाई विस्थापन गर्दै जाने दुष्प्रवृत्तिका कारण ‘सँग’ नलेखेर ‘संग’ लेख्नेहरू बढ्न थालेका छन् र यस्ता दुष्प्रवृत्तिलाई रोक्न पनि टेलिभिजनमा प्रयोग गरिने लिखित भाषा शुद्ध हुनुपर्छ ।

 एपी १ टेलिभिजनमा प्रयुक्त त्रुटिपूर्ण भाषा :

एपी १ टेलिभिजनका कार्यक्रमको शीर्षक, प्रमुख समाचार र युट्युबमा कार्यक्रम अपलोड गर्ने क्रममा पनि अशुद्ध शब्दको प्रयोग गरिएको पाइन्छ । ‘विशेष संवाद’ कार्यक्रमको नामलाई अनुपयुक्त ‘बिशेष संवाद’ राखिएको छ । ‘फूलबारी काठमान्डौ’ हुनुपर्नेमा ‘फुलबारी काठमाण्डौ’ भएको छ । ‘काठमान्डौ’ शब्द संस्कृतको ‘काष्ठमण्डप’ बाट ‘काठमान्डउ’ हुँदै विकसित भएकाले काठमाण्डौ, काठमाडौँ र काठमाण्डू प्रयोग अनुपयुक्त हुन् तर अङ्ग्रेजहरूले हामीलाई ‘काठमाण्डू’ लेख्न सिकाए भने हामी आफैले ‘काठमान्डौ’ शब्दको विकासक्रमलाई ख्याल नगरेर काठमाण्डौ र काठमाडौँ लेख्न रुचायौँ । त्यसैगरी वसन्त, सूत्र, उदासीनता, उदासीन, वाग्युद्ध, बढाऔँ, संस्कृति, विज्ञापन, न्यायमूर्ति, देऊ, हनन, वर्ष र बहिष्कार हुनुपर्नेमा यिनका ठाउँमा क्रमशः बसन्त, सुत्र, उदासिनता, उदासिन, वाकयुद्ध, बढाऔं, संस्कृती, न्यायमूर्ती, हनन्, बर्ष र बहिस्कार शब्दको प्रयोग गरिएको छ ।

 

 

 

 

 

 

 ए वान टेलिभिजनमा प्रयुक्त त्रुटिपूर्ण भाषा :

ए वान टेलिभिजनमा विशेषतः कार्यक्रमको नाम र विज्ञापनमा भाषिक त्रुटिहरू देखिएका छन् । ‘रोचक प्रसङ्ग’ कार्यक्रमको नाम नै ‘रोचक प्रसंग’ राखिएको छ भने विज्ञापन शीर्षकले नै ‘बिज्ञापन’ बनेर आफ्नो विज्ञापन गरिरहेको छ । विज्ञापनभित्र उद्घोषण, सुरु भइरहेको, सूचनामार्फत र तालिम हुनुपर्नेमा यिनका ठाउँमा क्रमशः उद्धघोषण, सुरुभइरहेको, सूचना मार्फत र तालीम शब्दको उल्लेख गरिएको छ ।

 

 

 

मकालु टेलिभिजनमा प्रयुक्त त्रुटिपूर्ण भाषा :

मकालु टेलिभिजनका कार्यक्रमहरू युट्युबमा अपलोड गर्ने क्रममा प्रशस्त भाषिक त्रुटिहरू देखिने गरेका छन् । मनोविद्, टेलिभिजनबाट, प्रसारित, अविरल, वर्षा, डुबान, सुन्दर, वृत्तचित्र र गाउँपालिका शब्दहरू उल्लेख हुनुपर्नेमा यिनका ठाउँमा क्रमशः मनोविद/मनोबिद, टेलिभिजन बाट, प्रशारित, अबिरल, बर्षा, डुवान, शुन्दर, बृत्तचित्र र गाँउपालिका/गाउपालिका शब्दको उल्लेख गरिएको छ । यसरी मनोविद/मनोबिद अनि गाँउपालिका/गाउपालिका शब्दको दोहोरो प्रयोग गर्नु भाषिक असावधानीको ज्वलन्त नमुना हो ।

 

 सुनौलो नेपाल टेलिभिजनमा प्रयुक्त त्रुटिपूर्ण भाषा :

सुनौलो नेपाल टेलिभिजनमा २०७७ भाद्र ९ गते प्रसारित र युट्युबमा अपलोड गरिएको एउटा कार्यक्रममा ‘घिसिङ’ र ‘पुनः’ उल्लेख हुनुपर्नेमा यिनको सट्टा क्रमशः ‘घिसिङ्ग’ र ‘पुन’ शब्दको उल्लेख गरिएको छ । नेपालीमा बागलुङ्ग, मनाङ्ग, दाङ्ग, धादिङ्ग, गुरुङ्ग आदि शब्दमा ‘ङ्ग’को प्रयोग अनुपयक्त देखिन्छ । सम्भवतः यस किसिमको प्रयोग अङ्ग्रेजी भाषाकै प्रभावमा नेपालीमा आएको हुनुपर्छ । सोही कार्यक्रममा देखाइएको ‘नेपाल विद्युत् प्राधिकरण’ को प्रधान कार्यालयकै साइनबोर्डमा ‘विद्युत्’ नलेखेर ‘विद्युत’ लेखिएको छ । मुहान नै धमिलो भएका कारण नेपाल विद्युत् प्राधिकरणका अधिकांश शाखा–प्रशाखाहरूले पनि उपयुक्त ‘विद्युत्’ शब्द नलेखेर अनुपयुक्त ‘विद्युत’ नै लेख्न रुचाएको देखिन्छ ।

हिमशिखर टेलिभिजनमा प्रयुक्त त्रुटिपूर्ण भाषा :

हिमशिखर टेलिभिजनमा आफ्नै विज्ञापन, प्रमुख समाचार र युट्युबमा कार्यक्रम अपलोड गर्ने क्रममा त्रुटिपूर्ण भाषाको प्रयोग गरिएको पाइन्छ । संवाहक, ठगिँदै, व्यवसायी, रमाउँदै, व्यावसायिक, विद्यालय र सामूहिक शब्दको प्रयोग गर्नुपर्नेमा यिनका ठाउँमा क्रमशः संबाहक, ठगिंदै, ब्यावसायी, ब्यावसायीक, रमाउदै, बिद्यालय र सामुहिक शब्दको प्रयोग गरिएको छ ।

 

 बैठान :

नेपाली भाषा शुद्ध र स्तरीय बनाउने ठेक्का नेपाली गुरुहरू र नेपाली मूल विषय लिएर पढिरहेका विद्यार्थीहरूको मात्र नभई सबै नेपालीहरूको हो । नेपाली पढाउने गुरुले आफ्ना सीमित विद्यार्थीलाई एउटा कोठामा मात्र दुईचार दिन शुद्धाशुद्धि लेखनका बारेमा सिकाउँछन् तर प्रत्येक दिन त्यसको प्रायोगिक अभ्यास गराउने भनेका दैनिक पत्रपत्रिकाहरू र टेलिभिजनहरू नै हुन् । त्यसैले पत्रपत्रिकाको मात्र होइन टेलिभिजनहरूको लिखित भाषा पनि शुद्ध हुनुपर्छ । यदि प्रत्येक टेलिभिजनमा भाषासम्पादकको व्यवस्था अझैसम्म पनि हुन सकेको छैन भने सोको व्यवस्था हुनुपर्छ र यदि भाषासम्पादक हुँदाहुँदै पनि प्रतिनिधिमूलक रूपमा माथि चर्चा गरिएका केही टेलिभिजनका केही उदाहरणमा देखिएको त्रुटिपूर्ण भाषिक प्रयोगका लागि भाषासम्पादकहरू नै जिम्मेवार छन् । तसर्थ विगतका त्रुटिहरूलाई सच्याउँदै आगामी दिनमा प्रत्येक टेलिभिजनले आफ्ना कार्यक्रमको शीर्षक, मुख्य समाचार, विज्ञापन, ताजा खबर र युट्युबमा अपलोड गर्दा प्रयोग गरिने भाषामा शुद्धता कायम गर्दै जानु नितान्त आवश्यक देखिन्छ ।

प्रतिक्रिया
Loading...