नेपाली साहित्यको सम्पूर्ण पत्रिका

रुन्चे लेखक

२०१८ को सेप्टेम्बर महिना थियो । म भर्खर नेपालबाट आएकी थिएँ। मलाई अझै पनि नेपालको यादले छोडेको थिएन । मन गह्रौँ थियो, मैसम अलि चिसै थियो । दशैंको माहोललाई चटकै छोडेर आएकी थिएँ । संयोग नै भन्नुपर्छ यसलाई पनि, म हरेक चोटी नेपालबाट आउँदा यस्तै हुन्छ । पहिलोपटक आउँदा नि अष्टमीको दिन घर छोडेर आउनुपरेको थियो। यसपालि पनि यस्तै भयो । युरोपको मौसम पनि त्यस्तै छ, कतिखेर के हुन्छ थाहा हुन्न । बिहानीको चिसो सिरेटोले दशैँकै झल्को दिइरहेको थियो ।

आफ्नो ल्यापटपमा काम गर्दै थिएँ । दिक्क लागेर केही राम्रा नियात्राहरु पढ्नतिर लागेँ । यत्तिकैमा एउटा कथाको शीर्षकमा आँखा गयो । हेर्दै रमाइलो थियो। किन बर्सैपिच्छे नेपाल जाने भन्ने थियो । त्यसले तानिहाल्यो मनलाई । सरसर्ती पढें । ठ्याक्कै कसैले मेरै मनको कुरा लेखिदिएजस्तो लाग्यो ।

विदेश गएकाहरु जब नेपाल फर्कन्छन्, सबैले किन आको भनेर सोधेर हैरान गर्छन् । म एक वर्ष बस्दा पनि प्रायः साथीहरुले सोध्ने पहिलो प्रश्न नै त्यही हुन्थ्यो । त्यो रचना पढेर राम्रो लाग्यो । कसले लेखेको रहेछ भनेर हेरें । लेखकलाई चिनिनँ मैले । सायद पहिला पढेकी थिइनँ क्यारे । सारै मनासिब लागेर लेखकका अरु पनि रचनाहरु खोजेँ । केही भेटिए र पढ्दै गएँ । दुई चार वटा पढेँ । एउटामा चाहिँ गएर अडिएँ, जहाँ आमाबाबाको बारेमा लेखेको थियो । साह्रै गहन लाग्यो ।

त्यो रचना लेख्नलाई लेखकलाई कति गाह्रो भयो होला, कसरी त्यसरी लेख्न सक्यो होला जस्तो लाग्यो । आमाको बारे

रस्मिला कवाङ ‘रश्मि’

मा पहिला पनि थुप्रै पढेकी त थिएँ तर यो ती सबैभन्दा भिन्न थियो । लेखकले यसमा आफ्नो मन यसरी निचोरेर शब्दहरुमा बह पोखेका थिए कि हरेक शब्द शब्दले गहन अर्थ बोकेको थियो । कस्तो पीडा भयो होला लेख्दै गर्दा, कसरी लेख्न सक्यो होला, कुन मनले लेख्यो होला, त्यो सम्झना, यादहरुलाई कसरी पोख्न सक्यो होला जस्तो लाग्यो । साह्रै वेदना थियो । पढेर त एकछिन स्तब्ध पनि भएँ । मैले मेरी आमालाई सम्झेँ एकछिन । मेरी आमालाई मैले एकछिन नदेख्दा त मेरो संसार ढलेजस्तो हुन्छ मलाई, म बाँच्नुको कुनै अर्थ देख्दिन थिएँ । एक हप्ता पनि भाको थिएन घर छोडेर आको । आमाको न्यास्रो लागिसकेको थियो । ती लेखकलाई कस्तो भयो होला, जसले यतिबेलासम्म आफ्नो आमाको अनुहार पनि याद छैन । कसरी कुन मनले बाँचिरहेको होला । हुन त संसारको रीत नै हो, यी सब तर पनि मन सम्हाल्न त्यति सजिलो थिएन होला पक्कै । को रहेछ त्यस्तो लेख्ने भनेर मैले खोजेँ अनि धन्न आजकलको प्रविधिले गर्दा सजिलो थियो । मैले नाम त भेटेँ ।

तर मलाई थाहा थिएन ती लेखक हो कि होइन भनेर । तैपनि केही प्रतिक्रिया लेखेर पठाएँ । लेखकले पनि प्रतिउत्तर फर्काइहाल्यो । मैले सोध्न थालें त्यसपछि प्रश्नमाथि प्रश्नहरु । सुरुमै मेरो प्रश्न ? ‘यो सत्य भोगाईमा आधारित हो कि होइन ?’  “हो, आफ्नै भोगाई हो” लेखकको उत्तर थियो । यसपछि झन् उत्सुकता जाग्यो । मलाई काल्पनिकभन्दा वास्तविक जीवनका भोगाईहरुको सिलसिला पढ्न मज्जा लाग्छ किनकि ती भनेका हाम्रै जीवनका कथाहरु हुन् ।

त्यसपछि लेखाईका कुराहरु सोध्दै गएँ । लेखक मैले सोचेभन्दा धेरै नरम अनि शालिन रहेछ । सोधेका सबै कुराहरु भन्न आनाकानी गरेन । उसको जीवनका कथाहरु सुन्दै जाँदा झन्झन् उत्सुकता भयो। कति धेरै संघर्ष गरेका रहेछन् उनले जीवनमा । मैले सोधेका हरेक प्रश्नको ऊसँग एउटा कथा रहेछ । उसले त्यही भएर मेरा हरेक प्रश्नको उत्तर कथाको लिंक दियो । उसका कथाहरु जति पढ्दै गएँ, त्यति नै धेरै मलाई झन् खोतल्न मन लाग्यो । मेरो यो एउटा बानी नै छ कि केही कुरामा यदि मन भुल्यो भने म त्यो कुराको गहिरो तहसम्म जान मन लाग्छ । मैले जति उसका कथाहरु पढ्दै गएँ, उति धेरै झन् पढ्न मन लाग्यो । उसले लेखेका अधिकांश कथा त संघर्षकै थिए। सबभन्दा धेरै उसले आमाबारे लेखेको कथा थियो । त्यस्तो कथा लेख्ने मान्छे त सानुतिनु लेखक हुनै सक्दैन ।

उसले लेखेका लेखहरु मसँग कति मिलेको ?  हुन त हरेक पाठकलाई त्यस्तै हुन्छ, राम्रा रचना पढेपछि अनि यो नै लेखकको सफलता हो । मैले त्यही पत्रिकामा विगत २ वर्षदेखि राम्रा रचनाहरु बेलाबेलामा पढ्दै आएकी थिएँ तर उसले लेखेको भने पढेकी रहेनछु । म आफैँ छक्क परेँ । हुन त, सबै पढेर पनि साध्य छैन । मैले त्यो लेखकको एउटा लेख पढेर मूल्यांकन गर्नु ठीक त होइन तर पनि लेखाई अनि लेख्ने कला भनेको त्यस्तो हुँदोरहेछ कि शब्दमा कति ताकत हुन्छ, जसले मुटु छियाछिया पार्न सक्छ भनी त्यही दिन महसुस गरेँ। आँसुलाई आँखैबाट पिउनु जति पीडा अरु केही हुँदैन, त्यो भोग्नेलाई थाहा हुन्छ। सायद लेखकलाई पनि त्यस्तै भएको होला।

मलाइ ऊसँग मित्रता बढाउन मन लाग्यो । छिनको कुराकानीबाट नै लेखक र म यति धेरै मिलनसार भैसकेका थियौँ । पहिलो प्रभाव नै अन्तिम प्रभाव हो भने जस्तै भयो । सुरुको कुराकानीबाट नै राम्रो लाग्यो। झन् अचम्मको कुरा के रह्यो भन्दा त लेखकले सात वर्षअघि नै मलाई सामान्य मेसेज गरेका रहेछ तीनचार पटक । म त झन् तीन छक्क परेँ । कस्तो सन्जोग हो यो । तर मैले केही प्रतिक्रिया नदिएकी रहेछु । र, आज आएर त्यही लेखकलाई म आफैँ प्रतिक्रिया दिइरहेकी थिएँ । सन्जोग भनेको नि कहिलेकाहीँ विश्वास गर्न गाह्रो हुने रहेछ । मैले लेखकलाई पनि यही कुरा भनें । सायद मलाई मनमनै घमण्डी पाठक रहेछ ठान्यो होला लेखकले । यस्तै लेखाईको कुरा २ दिनसम्म चल्दा यस्तो लाग्यो कि मैले लेखकलाई उहिलेदेखि चिनेकी हुँ अनि सबै बेलिबिस्तार थाहा भएको जस्तो भान । सायद आत्मियता भन्ने चीज कतिखेर कहाँ कोसँग हुने, थाहा नहुने रहेछ । अनि आफैँमा पनि निर्भर हुने कुरा जस्तो लाग्यो । म जस्तो रुपमा प्रस्तुत भएँ, सायद उनी पनि त्यस्तै रुपमा थिए । कति शालिन, कति नरम अनि कस्तो मिलनसार रहेछन् उनी ।

पहिलो कुराबाट नै थाहा पाएँ मैले। छोटो कुराबाट नै त्यति आत्मियता हुनु भनेको त चानचुने कुरै थिएन । उनीप्रति मेरो झन् श्रद्धा अनि सम्मान बढ्यो । घमण्ड भन्ने अलिकति थिएन । यस्तै कुराकानी चल्दै गयो । म लेखाई अनि भोगाईका कुराहरु सोध्थेँ । उनी पनि कति राम्रो तरिकाले व्याख्या गर्थे । केही समयको कुराबाट कतिबेला साथीजस्तो भयौँ पत्तो नै पाएनौँ । यस्तै तरिकाबाट दिनहरु बित्दै थिए ।

बिस्तारै शिशिर यामसँगै दिन परिवर्तन हुँदै थियो। चिसो यामको सुरुसँगै पूरै पर्यावरण नै रंगीचंगी हुँदै थियो । दशैं पनि आयो अनि गयो। खासै त्यस्तो रौनक थिएन। दशैँ तिहार भनेको सानु छदाँ मात्र रहेछ । जतिजति जीवन अघिअघि बढ्दै जान्छ, अनि त्यतित्यति अरु थुप्रै कुराहरुले जिन्दगी क्रमशः भारी हुँदै जाने रहेछ । विदेशमा सबै एक्लै गर्नु परेपछि अनि एक्लै बाँच्नु परेपछि बल्ल जीवनको अर्थ अनि मूल्य थाहा हुने रहेछ । पढाइ, जागिर अनि जिन्दगीको पछि लाग्दालाग्दा कतिखेर आफ्ना ती कलिला रहरहरु ओइलिने रहेछ । पत्तो नपाउने गरी समय बित्ने रहेछ । त्यही भएर मलाई मसिना खुसीमा पनि अन्तर्मनदेखि मुस्कुराउन मन लाग्छ । विशेष होइन तर सीमित संस्करण यो जीवन अध्यायलाई पनि सफलीभूत गर्न मन लाग्छ । र त मलाई जीवनमा कति कुरा अझै गर्न बाँकी छ जस्तो लाग्छ । जीवन कति सुन्दर छ । यो सुन्दर जीवनलाई अझै सुन्दर तरिकाले जिउनुपर्छ भन्ने मन्त्रमा हिँडेकी हुन्छु म ।

हर नयाँ दिन सकारात्मक प्रवृत्तिको प्रयास, ताकि आजभन्दा भोलि सुमधुर बनाउन सकियोस् । हिजो त सम्झनाका पानामा सीमित बनिसके र पनि ती सम्झनाहरु कति प्यारा छन्, जसले मलाई आज झन् झन् अघि बढ्ने प्रेरणा दिन्छ ।

आफ्नो पढाइ अनि व्यस्तताबाट छुट्टी लिएर मलाई घुम्न पनि मन पर्छ । जीवन भोगाइहरु भनेको त्यही घुमाइबाट नै त हुने हो । जीवन साँच्चिकै जीवनजस्तो हुन्छ । उनको प्रायः लेखहरु पढेपछि मलाई मेरो आफ्नै भावनाजस्तो पनि लाग्यो। मैले ठट्टामै उनलाई भनेकी पनि थिएँ, तपाईं त ज्यादै बाठो हुनुहुँदोरहेछ, हाम्रा कुरा चोरेर अफ्नो बनाउनु हुँदोरहेछ । उनी हाँसी रहन्थ्ये । जस्तो भने पनि नरम बोली अनि हँसिलो अनुहार । कति रमाइला मान्छे रहेछन् ! जस्तो नाम उस्तै तेजिलो । तपाईंबाट सुरु भएको कुराकानी तिमीमा आउँदासम्म त सँगै हुर्केको साथीजस्तै भैसकेका थियौँ । अनि म पाठकबाट असल साथी बनिसकेकी थिएँ । नाता साइनो हुनलाई चिन्नै पर्छ, भेट्नै पर्छ भन्ने रहेछनछ । हामीबीच कुनै साइनो थिएन । साइनो बिनाका सम्बन्ध भनेको सायद यस्तै हुनुपर्छ । दुई वचन कुरा अनि केही छिनको आत्मियताले पनि कति बलियो मित्रता बनाउन सक्ने रहेछ । सबैमा लागू नहुन सक्छ किनकि यो त आफैँमा भर पर्ने कुरा हो। जब विचार भावनाहरु मिल्छन्, सबै कुरा मिल्दो रहेछ । त्यसमा कुनै जबर्जस्ती गर्नै नपर्ने । कुरा गर्दा पनि छुटेको साथी फेरि भेटेकोजस्तो अनुभव अनि बिर्सिसकेको एउटा अनुहार धेरै लामो अन्तरालपछि मेरो अगाडि प्रस्तुत भएको जस्तो । लाग्छ, कहीँ सपना त हैन ? यस्तो पनि हुन्छ र जीवनमा ? अहँ, हुँदैन । हुनै सक्दैन । किनकि यस्ता कुराहरु, सन्जोगहरु त काल्पनिक कथाहरुमा मात्र हुन्छ । वास्तविक जीवनमा यस्तो हुँदैन । मेरो लागि त उनी मात्र एउटा राम्रो अनि सशक्त लेखक हुन् अनि एउटा असल साथी । उनले पनि मलाई सायद एक असल साथीको रुपमा लिए क्यारे !

मेरो आफ्नो समय पढाइ, जागिर अनि त्यस्तै कुरामा बितिरहेको थियो । नेपालमा रहेका साथीहरुसँग पनि त्यति धेरै कुरा हुन पाइरहेको थिएन । समय फरक भएको कारणले । घरमा कुरा गर्यो, अनि आफ्नो जिन्दगीमा दौडधुप व्यस्त । बेलाबेला म उनै लेखकसँग कुरा गर्थेँ । मन मिल्ने भएकोले कुरा गर्दा आफ्नै मिल्ने साथीसँग कुरा गरे जस्तै थियो। कुनै कुरामा सोचविचार नै गर्नु पर्दैन थियो उनीसँग कुरा गर्दा । त्यति निर्धक्क कुरा गरेकोमा आफैँलाई थाहा नहुने कहिलेकाहीँ । फेरि म खुलेपछि  सजिलै घुलमिल हुन खोज्ने खालकी परेँ । त्यसमाथि पनि उनी त राम्रो लेख्ने लेखक । एउटी नारीको बारेमा त्यति श्रद्धा अनि सम्मानले लेख्ने लेखक त धेरै कम हुँदाहुन् । त्यही भएर उनीप्रति मेरो त्यति विश्वास थियो सायद । म उनलाई आँखा चिम्ली विश्वास गर्दै थिएँ । उनी छन् पनि त्यस्तै । निर्दोष, नरम, हँसिलो, जे भने पनि रिसराग केही नभएको मान्छे । जतिखेर पनि कति मिठो बोल्ने, मैले कति घुर्की, गाली गरिरहेकी हुन्थेँ कहिलेकाहीँ, तैपनि उनी कति शान्त अनि चुपचाप हाँसिरहन्थे । लाग्थ्यो, कति सोझो बनेको होला तर उनी सोझो होइन । मप्रतिको उनको आत्मियता थियो । मैले कति कुरा नबुझ्दा उनलाई कति गाली गर्थें । छुच्चा शब्दहरु भन्थें तर पनि उनी कति सहनशील थिए, मलाई केही नराम्रो गाली गर्दैनथे । अचम्म लाग्थ्यो कहिलेकाहीँ, किन नरिसाएको होला । सायद रिस त उठेको थियो होला तर मेरोसामु कहिले पनि उसले त्यस्तो आचरण देखाएनन् । बरु मलाई छुच्ची भनेर बोलाउँथे । मेरो उपनाम नै छुच्ची भयो त्यसपछि ।

एकचोटी मैले उनलाई सोधेँ, कसरी लेख्न सक्यौ यस्तो लेख ?

आफ्नु मुटु निचोरेर शब्दहरुमा उतारेको मात्र हो, उनको जवाफ थियो ।

कुरै कुरामा उनले त्यो लेख लेखिसकेपछि एक पटक मात्र पढेको र लेख्दै गर्दाभन्दा बढी पुनः पठनमा बढी रोएको कुरा सुनाएका थिए ।

राम्रो लेखाइले त झन् त उत्प्रेरित हुनु पर्ने नि, होइन र ?’ मैले सोधेकी थिएँ ।

उनले भने, ‘जति चोटी पढ्छु, उति नै चोटी रुन्छु ।

एक मनले सहानुभूति जाग्यो भने हाँसो उठ्यो अर्कोतिर। ‘रुन्चे लेखक’ भन्न मन लाग्यो ।

हामी यत्तिको नजिक थियैं । त्यसैले उसले बेलाबेलामा भेट्नु पर्यो भन्दा म हावामा उडाइदिन्थें । म ख्यालठट्टा गरेर कुरा गर्थें । तैपनि उसले मलाई उस्तै नरम, उस्तै भाव, उस्तै मिठो बोलिरह्यो । एकदिन उसले मलाई धेरै सम्झना छ है भन्दा मलाई अलि कस्तो कस्तो लाग्यो । लाग्यो सम्झना त भैहाल्छ नि साथीहरुमा । भनिरहनु पर्दैन जस्तो लाग्यो । मैले उसलाई हुन्छ भनेर रुखो शब्दहरु पनि भनें होला, तर पनि उसले मलाई कहिलै पनि केही नराम्रो शब्द भनेन । बरु उल्टै झन् मेरो घुर्की देखेर रिसायौ हो भनेर बारम्बार माफी माग्यो । त्यतिबेला मलाई अलिकति ग्लानि हुन्थ्यो, उसले बिनाकारण माफी मागेकाले । पछि मैले त्यस्तै केही कुरा यतिकै ख्यालख्यालमा लेखेकी थिएँ । उसले त्यसलाई सत्य ठानी आफ्नो कुराहरु राख्यो । उसले मलाई धेरै विश्वास गर्ने कुरा भनेपछि म त एकछिन छक्क परेँ । मैले केही सोच्नै सकिनँ त्यतिबेला । फेरि त्यस्तो खासै ठुलो कुरा पनि थिएन । साथीहरु बीचमा त्यति आत्मियता त भैहाल्छ नि जस्तो लाग्यो । उसले मलाई धेरै विश्वास, श्रद्धा अनि सम्झना गर्ने कुरा बारम्बार भनेपछि मैले विगतका कुरा सोच्न थालेँ । उसका कुराहरु, मप्रतिको उसको व्यवहार अनि सबै । मलाई कुनै समय लागेन उसलाई ऊ राम्रो मान्छे हो, असल साथी हो भन्ने कुरामा । मेरो अन्तर आत्माले मान्छे चिन्न कुनै गल्ती गर्नै सक्दैन ।

ऊ असल मान्छे हो, मेरो मनले यही भन्यो । आखिरमा एउटा साथीलाई पनि त माया अनि विश्वास नै गर्ने हो, के नै जान्छ र जस्तो लाग्यो। मलाई थाहा थियो, मान्छेको मन न हो, कहिले दुख्छ । कहिले खुसी हुन्छ तर सत्य सधैँ तितो नै हुन्छ । उसको बोली अनि कुराबाट प्रस्ट थियो कि ऊ मलाई एउटा असल साथीको रुपमा सोच्दोरहेछ । म एकछिन त केही सोच्नै सकिन्न । किन अनि कसरी र कहिले भयो यस्तो अविछिन्न मित्रता ! मैले याद नै गर्न सकिनँ । के मैले नै उसलाई यस्तो बनाएँ कि ऊ आफैँले ! कसरी यस्तो असल मित्रताको भावना पलायो एक्कासि । यो उमेरमा अहिले आएर किन यस्तो ? एक मनले त मलाई रिस उठ्यो । ऊसँग अनि आफैँसँग पनि । सायद अरु भएको भएमा कति गाली गरिसक्थेँ होला । अगाडि भएको भए हात उठिसक्थ्यो होला । कर्कश बोली उसमाथि बर्सिसक्थ्यो होला ।

तर मलाई किन हो कुन्नी त्यस्तो केही सोच आएन । न त रिस नै उठ्यो । उल्टो मलाई नजानिदो किसिमले मन खुसी लागेको भान भयो। किन यस्तो भयो, ऊ को हो र मेरो ! के नै जानेकी छु र उसको बारेमा । न त घर, न त अरू नै केही । जाबो एउटा लेख पढेर कहाँ मान्छे चिनिन्छ र ? तैपनि उसप्रति मेरो अझै अथाह विश्वास थियो । भरोसा थियो । मैले बल्ल बुझेँ, उसले भनेको कुरा कि हामीबीच केही त पक्कै छ । जसले हामीलाई यसरी तानिरहेको छ तर के त नि ! अहँ थाहा छैन । उसको यौटै जवाफ हुन्थ्यो। तर मसँग हजार कारणहरु छन् उसलाई विश्वास गर्नुमा। मेरो यो विश्वास गलत साबित पनि हुन सक्छ । फेरि पनि म ऊ गलत छ भन्ने कुरा मान्न तयार नै थिइनँ । यो सब किन र के भैरहेको छ भन्ने मैले सोच्नै सकिनँ । हामीबीच लेखक अनि पाठकको नाताबाहेक के नै थियो र ! एउटा असल साथीसम्मको नाता त ठिकै थियो। म त्यही कुरा म अडिग थिएँ तर मान्छे को मन न हो, कहिले के सोच्छ, कहिले के ! म उसलाई न गाली गर्न सक्छु न त केही भन्न नै । म आफैँ किन यति ऊप्रति आसक्त अनि झुक्दैछु । म आफैँ देखेर छक्क छु ! साँच्चै उसले भनेको जस्तो हामीबीच केही छ त ! मलाई विश्वास लाग्दैन यस्तो कुरामा । खोइ नजानिँदो तरिकाले मैले उसको सबै कुरालाई अनुसरण गर्दै गएकी छु । के साँच्चै म पनि उसलाई माया अनि विश्वास गर्छु त ? अहँ थाहा छैन मलाई । यदि छैन भने मैले किन उसको कुरा नकार्न सकिनँ या मैले चाहिनँ । म किन यस्तो हुँदै गएँ ? उसले मलाई बिस्तारै किन त्यसरी आफूतिर तान्दै लग्यो र म आफैँ पनि जानीजानी ऊतिरै किन डोहोरिएँ ?

मेरो मन दिमागले सोच्न नै सकेन । फेरि शान्त मनले सोँचे, मान्छेको जीवन न हो, असल साथी बनाउदैमा के नै जान्छ र ! साथीहरुलाई माया भन्ने कुरा जति गर्यो उति बढ्छ । फेरि ऊ पनि त असल राम्रो साथी नै त हो मेरो। साथीलाई पनि त माया नै गरिन्छ । उसको माया अनि मित्रताले मलाई उत्प्रेरित गर्छ अनि मेरो मायाले उसलाई प्रेरणा हुन्छ भने माया गर्दैमा के नै जान्छ र ! र मैले पनि उसलाई असल साथीको दर्जा दिएँ । त्यसपछि म पाठक, ऊ साथीबाट मेरो झन् असल साथी बन्यो । हो मेरो झन् असल साथी, जसलाई म यति धेरै माया अनि विश्वास गर्छु कि त्यसको कुनै सीमा नै छैन। सबभन्दा खुसीको कुरा त उसले मलाई मैलेभन्दा धेरै आफ्नोपन प्रकट गर्छ । अनि आफूलाई यति धेरै निःस्वार्थ साथ दिने मान्छेलाई विश्वास नगरी सुखै छैन । उसले मलाई मनदेखि साथी मान्छ । म देख्न सक्छु, उसका ती निर्दोष आँखाहरुमा मेरालागि उसको श्रद्धाभाव । उसले नै मित्रता अनि साथ निभाउन सिकायो । हामी प्रत्यक्ष भेट्न त सक्दैनौं, हामीबीच धेरै पर्खालहरु छन् । हामी खोलाको वारि अनि पारि छौँ तर पनि हामीबीच बलियो विश्वास छ । भरोसा छ, एक अर्काप्रति । सायद त्यही काफी छ जस्तो लाग्छ मलाई। मैले जीवनमा धेरै थरिको माया देखेँ । मित्रता गर्दैमा सँगै हुनुपर्छ भन्ने छैन । टाढा रहेर पनि एक अर्काको मनमा सधैँ बलियो अनि उत्प्रेरित गर्ने मन भए त भैहाल्यो नि ! जसले जीवनका संघर्षहरुमा बलियो मनोबल दिन्छ । सायद यस्तै सोचेर नै होला, मैले पनि उसलाई एक असल साथीको रूपमा विश्वास गरेको। ऊ मेरो साथमा छैन र पनि ऊ छ मेरो जीवनका रंगहरुमा। मैले फेर्ने हरेक स्वासमा छ । मैले हेर्ने आखाँहरुमा छ । ऊ त जताततै सर्बत्र छ । मात्र फरक यत्ति हो, हामीबीच भूगोलले टाढा छ । तर मन अनि विश्वास अनि मायाले हामी सँगै छौँ एकअर्काको मनमा, आत्मामा छैँ।

थाहा छैन, यो कस्तो मित्रताको नाता । मैले बुझ्दिनँ र पनि मलाई यही साथ किन प्यारो लाग्छ ! विश्वास छ कि यो साथ सधैँ रहिरहोस् यसरी नै । कहिले पनि नटुटोस्, कम नहोस् । अनि रहिरहोस् अनन्त अनन्तसम्म । यस्तै सोच्दै थिएँ म ।

त्यति नै बेला उसको मेसेज आयो‑ ‘छुच्ची के गर्दैछौ तिमी ?’

हो म नै हो उसको लागि । न भेट, न देखाई, बस विश्वास अनि भरोसामा बसेको हाम्रो दरिलो मित्रता ! न त केहीले रोक्न सक्यो, न त छेक्न नै । हाम्रो मित्रता एक अर्काप्रतिको सम्मान हो । विश्वास हो अनि मिठो याद हो । फेरि उसको मेसेज आउँछ‑ ‘छुच्ची के खायै?’

‘सन्चो भयो तिमीलाई अहिले?’ फेरि म्यासेज अउँछ ।

भन्न त मन लाग्छ नि कतिकति, ‘मेरो असल साथीको साथबिना म कसरी सन्चो हुन सक्छु र ?’

तर पनि कति धेरै मनोबल पाउँछु ती दुई शब्दले मात्र पनि ।

तर आजकल उसले लेख्न छोडेको छ । ऊ सायद अब अरु कामतिर व्यस्त हुन थाल्यो । धेरै दिनसम्म पनि केही पढ्न नपाएपछि मैले उसलाई लेख्नुस् न किन नलेख्नु भाको भनेर सोधेँ । उसले लेख्छु नि मात्र भनिरह्यो । मलाई राजनीति अनि काल्पनिकताका सिर्जनाहरु त्यति मन पर्दैन । उसले एकदिन त्यस्तै समाचार जस्तो रचना पढ्नुस भनेर पठायो । मैले सिधै नाक खुम्च्याउँदै नपढ्ने त्यस्तो राजनीति भनेर भनेँ । उसले के सोच्यो, थाहा भएन तर एउटा लेखक अनि पेशाले पत्रकार मान्छेलाइ त्यस्तो भन्नु अलि उचित लागेको थिएन । उसले बडो धैर्य राखेर भन्यो, ‘आफ्नो साथीले आलोचना नगरे, नभने अरु कसले भन्छ र ?’

सायद ऊ मेरो प्रतिक्रिया सुन्न मरिहत्ते गर्दै थियो । उसले किन एकाएक यसरी लेखन यात्रालाइ विश्राम गर्यो त ? उसको कलम किन रोकियो त! उसको लेखाइले जति पाठकको मन जितेको छ, त्यति नै उसले नलेख्दा त्यही कलमको निबले चस्सचस्स भएजस्तो भान हुन्थ्यो । नजिक मात्र भएको भए म आफैँ पनि उसलाई एउटा कलम उपहार दिन्थेँ । उसको लेखनलाई थप प्रेरणा स्वरुप । उसले लेखनलाई समय पो पाएन कि या त उसलाई लेख्ने मन लागेन कि! कि त लेख्ने कुनै आधार नै पाएनन कि! मलाई अचम्म लाग्यो ।

मलाई यसरी राम्रा अनि गहन लेख्ने लेखकहरुलाइ लेख्नुस् भनेर जबर्जस्ती गर्न मन लाग्दैन । यस्तो गर्नु भनेको त लेखाई नै होइन, त्यो त मात्र कोरा कागजमा मसी छर्नु जस्तै हो । न कुनै भाव, न कुनै जीवन्तता! सोचेँ एक मनले, आखिर लेख्न त कहाँ सजिलो छ र ? लेखकका दुःख पनि कति हुन् ? उसले मसँग चिनेदेखिन लेखेकै छैन मनको मसीले । म उसको जीवनका विविध कुराहरुको बारेमा बुझ्न चाहन्थेँ, सुन्न चाहन्थेँ । भन्न त उसले पुरै एउटा जीवन किताब नै लेख्दैछु भन्थ्यो तर म उसको त्यो हरेक लेखाईको पहिलो पाठक बन्न चाहन्थेँ । मसँग धैर्य थिएन । मलाई अहिले नै बुझ्ने, पढ्ने रहर थियो उसका ती जीवन कथाहरु । यो समय नै हो म ऊप्रति यति धेरै आशक्त भएकी । के थाहा भोलि यो रहर नहुन पनि सक्छ । या त समयको डोरी कहाँ अनि कता पुग्छ भन्ने कुरा कसलाई थाहा हुन्छ र ? मैले भनेँ पनि उसलाई, कि पछि प्रिन्ट गरेर दिए पनि पढ्न समय न होला । एक हिसाबले त्यो मेरो घुर्की थियो उसलाई अनि सत्य पनि तर उसले अचानक किन लेख्न छोड्यो! उसको त पेशा नै लेख्ने हो! म मात्र घोत्लिरहें। एकदिन मैले उसलाई हामी भेटूँ न भनेर प्रस्ताव राखेँ । तर भेट्न त्यति सजिलो त पक्कै थिएन । ऊ भूगोलको उत्तरतिर अनि म पूर्वतिर । हाम्रो भेट त मात्र शब्दबाट भएको छ । जीवनमा धेरै रहरहरुमध्ये एउटा तीव्र रहर यो पनि छ कि मेरो आत्मिय असल साथीसँग एक दिन त भेट हुन्छ अनि कति कुरा गर्नुछ । कति सोध्नु छ । कति सुन्नु छ । एकटक हेर्नुछ ती निर्दोष आँखाहरुमा । ती बोलीहरु सुन्नु छ, जसले यति मिठो र नरम बोल्छ अनि बनाउनुछ ती यादगार पलहरु जसले सिंगो जीवनलाई एउटा मिठो बनाअस् । अनि ती हातहरु चुम्नुछ जसले यति गहन लेख लेख्छ । त्यो मन स्पर्श गर्नु छ जसले मलाई यति धेरै साथ अनि प्रेरणा दियो । एक असल साथी कस्तो हुन्छ भनेर सिकायो । देखायो । ती भेटहरुलाई हामी मिठो सम्झनाको अविछिन्न पलका रुपमा सँगालेर राख्नुछ । आकाश भन्दा पनि उच्च अनि सागरभन्दा गहिरो साथ अनि भाव राख्ने मेरो प्रिय असल साथीसंग भेट्ने मिठो पल अझैसम्म पनि बाँकी छ । त्यो रहर, त्यो उत्साह अनि त्यो उमंग अझै उस्तै छ । र, रहिरहने पनि छ ।

यत्तिकैमा फेरि उसको मेसेज आउँछ, ‘छुची के गर्दै छौ ? तिमीसँग एकदम भेट्न मन छ अनि रुन मन छ बाबा ।’

हँसिलो ऊ, किन रुन मन गर्छ, म छक्क पर्छु अनि म लेख्छु, ‘रुन्चे लेखक!’

तर आजकल उसले लेख्न छोडेको छ। किन लेख्न छोड्यो? उसले मेरा ती प्रश्नका जवाफ पनि दिन छोडेको छ। म छक्क पर्छु। मान्छेले किन यति छिट्टो आफ्नो रुप फेर्छ। ऊ पनि मौसमसरि घरिघरि किन रुप फेर्दैछ। संचार दुनिया यति फराकिलो हुँदा नि हाम्रो कुनै शब्द छैन अहिले। सायद मैले नै अलि बढी घुर्की पो देखाएँ कि! या त अलि बेसी रुखोपन जगाएँ? जस्तो जे भए नि यस्ता सानुतिनु कुराले अल्झाउने कुरा त थिएन। सय संगै थुप्रै परिवर्तनहरु आए अनि गए पनि। संसारमा धेरथोर उथुलपुथुल नि भए । जीवनमा नि केही परिवर्तन आए। हरेक कुराको विस्तृत सुन्न चाहने साथीले आज परिवर्तनका लहरहरुको कुनै अर्थ राखेन । यो केको गुनासो हो खोइ। के त्यति कमजोर थियो र एउटा साथीको विश्वास अनि ऊमाथिको भरोसा ! होला सायद, जीवनका थुप्रै उतारचढावमा आएका ज्वारभाटाको लहरले थोरै विश्वास त डगमगिएको पनि होला तर यतिमै सबै अन्त गर्नुपर्ने त थिएन पकै पनि। मलाई आश्चर्य लाग्छ ।

स्वंयले भनेका कुराहरु आफैँले कसरी तोड्न सकेको होला ? के अलिकति पनि साथीको सम्झनाले पिरोल्दैन? आफैँले लेखेका ती शब्दहरुले पोल्दैन होला र? लेखाई अनि वास्तविकतामा यति धेरै अन्तर! लेख्ने कलमले घोक्छ की घोच्दैन होला? प्रश्न गर्न मन लाग्छ मलाई । आज जीवनमा कति धेरै उमंग अनि उत्साह छन्, कति धेरै नयाँनयाँ अनुभवहरु छन्, अनुभूतिहरु छन्। सोचेर नि उदेक लाग्छ कहिलेकाहीँ । कति छिट्टो परिवर्तन हुँदोरैछ मान्छेको मन! तर ठिकै छ नि । जीवनको यात्रामा भेट्नु अनि छुटिनु त रीत नै हो नि। सोध्न मन लाग्छ तैपनि, साँची, आजकल तिमी उस्तै पहिलेको जस्तै रुन्चे नै छौ कि परिवर्तन भैसक्यौ ?

जर्मनी

प्रतिक्रिया
Loading...