नेपाली साहित्यको सम्पूर्ण पत्रिका

जीविकाेपार्जनले लेखनमा व्यवधान पार्यो

तीन दशकअघि ‘अनि देउराली रुन्छ’ नामक नाटक नहेर्ने काठमाडौँबासी कमै थिए । नाटक र गीतमा विख्यात भएका मनबहादुर मुखियाकाे साहित्य साधनाकाे थलाे दार्जिलिङ रह्याे । साहित्यपोस्टले हरेक आइतबार फरक भूगोल र भाषाका बीचमा रहेर पनि साहित्य साधना गर्ने स्रष्टाहरुको सम्मानमा विभिन्न सामग्री पस्कन थालेको तीन महिना बितिसकेको छ । यसै परिप्रेक्षमा मनबहादुर मुखियासँग केही समयअघि दिइएको अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ । यो अन्तरवार्ता केही समयअघि दोलखा नेपाल डटकमका लागि लिएइकाे थियाे । 

मनबहादुर मुखिया

२००४ साल चैत २ गते दोलखा जिल्लाको बाबरेमा जन्मेका मनबहादुर मुखिया तीन वर्षको हुँदा आफ्ना पितासँग दार्जिलिङ पुगे । आफ्नो बाल्यकाल र यौवनावस्थासमेत दार्जिलिङको रमणीय वातावरणमा बिताएका मुखियाले आफ्नो अधिकांश अध्ययन पनि भारतबाटै पूरा गरे ।

सानैदेखि साहित्यप्रति रुचि भए पनि औपचारिक रुपमा अनुराग नामक एकाङ्कीबाट नाटक लेखनको क्षेत्रमा पाइला टेकेका मुखियाले वि. सं. २०२९ सालमा ‘अँध्यारामा बाँच्नेहरु’ नामक एकाङ्की संग्रह प्रकाशन गरे । ३० को दशकमा मुखियाका ‘अनि देवराली रुन्छ’, ‘फेरि इतिहास दोहोरिन्छ’, ‘क्रसमा टाँगिएको जिन्दगी’, ‘असत्यं अशिवं असुन्दरं’ जस्ता नाटकहरुको मञ्चन तथा प्रकाशनपछि मुखिया एकाएक चर्चाको शिखरमा पुगे । त्यसो त उनले आफ्ना नाटकहरुको लेखन मात्र होइन, ती नाटकहरुमा आफैँले अभिनय तथा निर्देशन समेत गरी नेपाल र भारतका विभिन्न प्रमुख शहरहरुमा प्रदर्शन समेत गरे । त्यसबेला ‘अनि देउराली रुन्छ’ नाटक र मनबहादुर मुखिया त एक अर्काका पर्याय नै बने ।

उनै मुखियासँग गरिएको कुराकानीको संक्षेपः

प्रश्नः दोलखामा जन्मनुभयो दार्जिलिङमा हुर्कनुभयो काठमाडौंँलाई कर्मथलो बनाउनुभयो यस बीचमा जीवनका उतारचढाबहरु केकस्ता रहे ?

उत्तरः म दुई वर्षको हुँदा मेरो बुबाले मलाई दार्जिलिङ लानुभएको रे त्यसैले त्यसबेलाको याद मलाई भएन तर पछि मैले मेरो जन्मभूमिलाई बडो नियालेर हेरेँ जानेँ र अनुभव पनि गरेँ । दोलखाको बारेमा सुन्नेबित्तिकै अहिले पनि आत्मीयता झल्किहाल्छ । मेरो बाल्यवस्था तथा युवावस्था दुवै दार्जिलिङमै बित्यो । मैले आफ्नो अध्ययन पनि त्यहीँबाट पूरा गरेँ । त्यहाँ मैले धेरै अवसर पाए पनि जीवन जटिल नै रह्यो । तथापि त्यहाँ मेरो साहित्य तर्फको झुकावले मेरो व्यक्तित्व निर्माणमा सघाउ पुर्यायो । काठमाडौँं फर्केपछि पनि जीवन त्यति सहज चाहिँ छैन जटिल नै छ । यद्यपि मेहनतको जिन्दगी बाँचिरहेको छु ।

प्रश्नः साहित्यका धेरै विधाहरु छन् तपाईं  नाटक लेखनमा नै किन लाग्नुभयो ?

उत्तरः नाटकमा मलाई सानैदेखि रुचि थियो । दार्जिलिङमा जहाँ म बसेँ त्यही वरपर पनि नाटक मञ्चन हुने हलहरु थिए त्यहाँ दिनहुँजसो नाटक मञ्चन हुन्थ्यो । म त्यहाँ गएर नाटकहरु हेर्थेँ । सायद त्यसको प्रभावले पनि होला म नाटक लेखनमै लागेँ ।

प्रश्नः दार्जिलिङमा रहँदा मात्र लेख्नुभयो । काठमाडौँचाहिँ तपाईँको लागि उर्वर हुन सकेन नि ?

उत्तरः काठमाडौँं पनि उर्वरै हो । तर के गर्ने लेखनले मात्र केही हुन सक्दैन रहेछ । त्यसैले जीविकोपार्जनका लागि बढी समय दिनुपरेकोले पनि लेखनमा पर्याप्त समय दिन सकिएन । तथापि लेख्ने सोचाइमा छु ।

प्रश्नः लेखकीय जीवनमा कत्तिको संघर्ष गर्नुपर्यो ?

उत्तरः नाटकले पूर्णता पाउन रंगमञ्चमा जानु पर्दछ । त्यसैले नाटकलाई पूर्णता दिन त्यति सहज छैन । म मेरा नाटकलाई पूर्णता दिनका लागि आफैँ मञ्चनका लागि सक्रिय भएँ । धेरै संघर्ष गर्नुपर्यो । कठिनाइहरु भोगियो । एकपटक नाटक मञ्चनकै सिलसिलामा कलकत्ता जानेक्रममा राति ९ः०० बजे करिब ३४३५ जना कलाकारहरु लिएर त्यहाँ पुग्दा आर्मी क्याम्पभित्र छिर्न दिइएन । धेरै दुःख पाइयो । रातीको समयमा भोग्नुपरेको त्यो पीडादायी घटना जीवनमा कहिल्यै भुल्न सक्दिनँ ।

प्रश्नः तपाईंको लेखनमा एकातिर प्रगतिवादी विचार अर्कोतिर प्रयोगवादी प्रयोग छ, कसरी यी दुई फरक धार समात्नुभयो ?

उत्तरः नाटकमा प्रयोगवादी प्रयोग म पहिलेदेखि नै गर्थेँ जतिबेला म प्रगतिवादी थिएँ । मेरो मान्यता के छ भने यथार्थवादी नाटक लेख्दा पनि विभिन्न प्रयोगहरु गर्न सकिन्छ र प्रयोगवादी नाटकहरुमा पनि प्रगतिवादी चिन्तन हुनसक्छ । त्यही प्रयोग मैले आफ्ना नाटकमा गरेको हुँ । प्रस्तुतिमा नौलोपन र दर्शकमा फरक स्वाद दिने प्रयासस्वरुप मैले यो प्रयोग गरेको हुँ ।

प्रश्नः थोरै लेखेर धेरै चर्चा भयो कस्तो लाग्छ ?

उत्तरः मैले अपेक्षा गरेको भन्दा बढी नै चर्चा भएको छ । त्यसमा म खुसी नहुने त प्रश्नै भएन तर मलाई कहिलेकाहीँ चाहिँ कस्तो लाग्छ भने एउटै नाटक ‘अनि देवराली रुन्छ’ले मेरा अरु नाटकलाई समेत छायाँमा पारिदियो त्यसले नमिठो पनि लाग्छ र एउटै कृतिको यत्रो प्रसंशामा म खुसी पनि छु ।

प्रश्नः लेखन प्राध्यापन कलाकारिता कहाँबाट बढी सन्तुष्ट हुनुहुन्छ ?

उत्तरः सन्तुष्ट म कतैबाट भइनँ तर पहिला कलाकारिताबाट थिएँ । अहिले कलाकारिताबाट पनि टाढा भएको छु । हाल अध्यापनमा व्यस्त छु तर त्यो पनि सन्तुष्टिको लागि भन्दा पनि जीविकोपार्ननको लागि नै भएको छ ।

प्रश्नः भविष्यको लेखनसम्बन्धी योजना के के छन् ?

उत्तरः अहिले पनि मेरा थुप्रै पाण्डुलिपिहरु तयार भएर बसिरहेका छन् । भविष्यमा तिनीहरुलाई प्रकाशन गर्ने योजनामा छु ।

प्रश्नः जीवन के हो जस्तो लाग्छ ?

उत्तरः जीवन भनेको आआफ्नो ढङ्गबाट बुझ्ने कुरा हो । जस्तै स्याउ खाएको मानिसले अर्को स्याउ नखाएको मानिसलाई जति शब्दचयनका साथ स्याउको मीठोपनाको बारेमा वर्णन गरे पनि उसले त्यसको वास्तविक स्वाद थाहा पाउन सक्तैन बरु उसले आफूले स्याउ खाएपछि भने आफ्नै प्रकारको स्वाद थाहा पाउँछ तर अर्कोले वर्णन गरेजस्तो स्वाद नहुनसक्छ । त्यस्तै हो जीवन पनि । जसले जस्तो भोग्छ उसको जीवनप्रतिको दृष्टिकोण त्यस्तै हुन्छ । वास्तवमा जीवन परिभाषामा बाँधिन्न । हरेक मानिसको जीवनको भोगाई अनुभवहरु आआफ्नै ढङ्गको हुन्छ । तर मचाहिँ के भन्छु भने संसारमा सबैभन्दा बुझेर नुबुझिने कुरा नै जीवन हो ।

प्रश्नः तपाईँका नाटकहरुले अँध्यारामा बाँच्नेहरुलाई उज्यालो प्रदान गर्ने प्रयत्न त गरेको छैन नि ?

उत्तरः होइन म त्यो मान्दिनँ किनभने जब अँध्यारो हुन्छ, त्यहाँ उज्यालोको खोजी हुन्छ । उज्यालो भएको टाउँमा त किन उज्यालो चाहियो र त्यसैले अँध्यारोको प्रस्तुति नै उज्यालोको खोजी हो । अर्थात् जीवन कस्तो छ भन्ने प्रस्तुति गर्दा कस्तो हुनुपर्छको खोजी त्यहाँ अवश्य हुन्छ । अझ यसो भनौँ निरासामा आसा पनि हुन्छ ।

प्रतिक्रिया
Loading...