नेपाली साहित्यको सम्पूर्ण पत्रिका

लाहुर नजा मास्टर बन्

हजुरआमाले अतिथि मानेर स्वादिष्ट भोजनले स्वागत गर्नु भएछ । लुटेराहरूलाई लाज लागेर अर्कै घरको सुन पैसा चोरेर राति भागेछन् । मेरी हजुरआमैको झरझुत्तै गहना छुन अप्ठेरो लागेछ क्यारे ।

लाहुरेमा नाप्न जाने दिन पूर्वतर्फको आकाश धुम्मिएको थियो । किन हो, म ढिला हिँडेँ घरबाट, त्यति चाहिँ सम्झना छ । बा बारीमा वस्तु फुकाउन निस्किसक्नु भएको थियो । मलाई एक सय रुपैयाँले पुग्थ्यो सदरमुकाम रामेछाप डाँडा (पुरानो सदरमुकाम) मा एक रात खान/बस्नका लागि । जहाँ गल्लावाला नैनबहादुर सुनुवार बस्थे । उनको घरै हो या भाडामा थियो, मैले सोधिनँ त्योबेला ।

सुरुमा गल्लाले नाप/जाँच गरेपछि मात्र कुन दिन कता आउने हो, धरानको गेट पास पाउनका लागि बल्ल मिति तोकिदिन्थे गल्लावालाले ।

मलाई घर छोड्ने बेला कसले कति कति पैसा दिएका थिए, बिर्सिएँ । काठमाडौँबाट घर जाने बेला पनि मामाले केही पैसा दिनुभएको थियो । उहाँ बेलायतबाट भर्खर पेन्सन आएर घर बनाएर बस्नुभएको थियो । म त्यहीँ बसेर पढ्थेँ ।

मेरो ढाडमा सानो झोला थियो । के के बोके हुँला त्योबेला ? यतिबेला सम्झँदा बडो कौतुहल लाग्छ । अहिलेको यो समय हुँदो हो त नोटबुकमा टिक लाउँदै मजाले बोक्दो हुँ चाहिएको सामान । साथीसँग हिँड्दो हुँ । त्योबेला आजभोलिको जस्तो यात्रा स्मरणीय बनाउनुपर्छ भन्ने चलन थिएन । यात्रा गरिन्थ्यो होइन, हुन्थ्यो केवल कुनै कामका लागि ।
त्यो दिन म बेताली, बन्चरे, मन्थली हुँदै मन्थलीको माझीगाउँमा गएर बास बसेँ । गर्मी निकै थियो हाम्रो गाउँभन्दा । हाम्रो गाउँ मन्थलीभन्दा उत्तरी भेगमा पर्दछ, त्यसैले मन्थली त मधेश नै लाग्थ्यो । बासमा रातको खाना खाएपछि मलाई गुन्द्री र एउटा राडी (कम्मल) दिइयो । अरू बास बस्ने बटुवा पनि थिए । उनीहरूको हाउभाउ हेर्दा सहरतिरबाट आए जस्तो लाग्थ्यो ।

बास बस्दा मेरो गाउँ, नाम थर सबै सोधियो । मैले पनि खरर भनिदिएँ ।

‘सुनार, त्यता नि छन् र यी जाति ?’, भनेर म बसेको ठाउँबाट अलिक पर सरे । त्यसरी बोल्ने मान्छे मभन्दा पातला थिए । अग्ला अनि कपाल खौरेका बाहुन/क्षेत्रीमूलका थिए ।

केदार सङ्केत

‘सुनार हैन दाइ, सुनुवार हुँ ।’ भनेँ ।

उनी तर्सिन नछोडी बोले, ‘उस्तै होइन र ? दलितहरू ?’

‘सुनार तपाईंहरूको वंश हो, सुनुवार किरात वंश हो ।’

उनले प्रसंग मोडे, ‘कता हिँडेको यता अनि ?’

‘गल्लावालकोमा नाम लेखाउन ।’, मैले सीधै भनेँ ।

‘मलायाको लाहुरे हुन ?’, शिरबाट पाउसम्म हेर्दै बोले ।

‘हजुर ।’

‘राम्रो । जातले पाएको हातले खाएको केको डर । जागिर खानुपर्छ भाइ !’, भन्दै भित्र पसे ।

मलाई बोल्न मन थिएन । नभन्दै खाना आयो । मलाई खाना दिएपछि मात्र खाए उनीहरूले । मभन्दा अगाडिका सबैलाई बार्दलीमा बिस्तरा मिलाइयो । मलाई चाहिँ पेटीनेरकै सानो खाटमा ।

‘बिहानै जाने होला, खानाको पैसा अहिल्यै दिनोस् गोडा चालीस !’, सेतो धोती लगाएका मानिसले भने । मैले खाए/बसेको मागे जति रुपैयाँ दिएर भनेँ, ‘यहीँ सुत्ने हो ? एक्लै छु ।’

‘माथि जान चौका नजिक भएर जाने लिस्नो छ । तपाईं यहीँ सुत्नोस् ।’

मेरो प्रश्नको छेउछावै नमिल्ने उत्तर किन दिए । ट्वाँ परेँ । आफूलाई रात कटाउनु थियो । थप सोधीखोजी गरिनँ ।

अहिले बुझ्दा त मलाई अछुत मानिएको रहेछ ।

फजेडी नै हिँडेका बटुवाहरूले मेरो निद्रा उतारिदिए । जून अस्ताएकै थिएन । कोल्टो फेरेर निदाऊँ कि भएँ । छट्पटी बढ्यो । झोला टिपेर ओछ्यान छाडेँ । सदरमुकाम पुग्ने बेला उकालो थियो । गल्लावालाको घर सोध्दै पुगेँ ।

बजारतर्फ मोहडा फर्किएको बार्दलीवाला घर रहेछ ।

नाप/जाँच भयो । हेबिङ खिचियो पन्ध्रपटक । सिटअप हानियो एक मिनेटमा तीसपटक । छातीको चौडा, उचाइ सबै पुग्यो तर तौल भने पुगेन ।

‘बाबु ! नाप्न आएको छ एक जना ।’, सुनुवारी भाषामा भित्रतिर फर्किएर बाहिरबाटै छोरीमान्छेले भनिन् । मैले उनको वाक्य बुझिहालेँ । बोल्न पो आउँदैन त ! त्रासले काँपिरहेको मन आफ्नै भाषा सुन्न पाएपछि केही हलुका भयो । सायद आफ्नोपन भेटेँ हुँला ।

भित्रबाट मैले सुन्ने गरी आवाज आयो, ‘बस्दै गर्नू भन् ।’

एक छिनपछि मलाई घरपछाडि लगे । नाङ्गेझार पारियो । नाप/जाँच भयो । हेबिङ खिचियो पन्ध्रपटक । सिटअप हानियो एक मिनेटमा तीसपटक । छातीको चौडा, उचाइ सबै पुग्यो तर तौल भने पुगेन ।

‘कता बस्ने हो ? aजनले मार खालाजस्तो छ, अठ्चालीस केजी मात्र पुग्यो । पचास त पुग्नै पर्छ । एआरओ (एरिया रिक्रुटिङ अफिसर) सेलेक्सनमा आउँदा मोटाएर आउनू ।’, गल्लावालले भने । ‘कता हो घर ?’, अर्को प्रश्न पनि थपे ।

‘म रस्नालु गाविसको गैरी दार्खा बस्ने हो सर ।’

‘लप्टन वृषबहादुर सुनुवारको घरबाट कता ?’, उत्सुक हुँदै सोधेँ ।

‘उहाँकै कान्छो नाति हुँ सर ।’

भित्र भान्साबाट केही झानेको बासना हरर आइरहेको थियो । भोक लागेको बेलामा मीठो बासनाले मलाई गल्लावालको प्रश्नतिर ध्यान दिन मुस्किल परिरहेको थियो । सदरमुकाम न हो, बजारमा व्यापार सुरू हुन थालिसकेको थियो ।

खोइ, किन हो सिलिङतिर हेरेर मुसुक्क मुस्काए उनी ।

बूढा जवानीमा मायालु पछ्याउँदै मेरो गाउँ पुगेका थिए कि कसो ? बडो पीडामिश्रित रोमाञ्चक भावमा बोले, ‘कुनै बेला तिम्रै घर खाना खाएको रहेछु, मैले ।’

मूलबाटै माथि घर भएर होला, हाम्रो घरमा उहिल्यैदेखि जान/अनजान सबैलाई खाना खुवाएर पठाउने चलन थियो । हाम्रो घरको एउटा रमाइलो किस्सा पनि छ, लुटेराहरू आएका रहेछन् साँझमा । हजुरआमाले अतिथि मानेर स्वादिष्ट भोजनले स्वागत गर्नु भएछ । लुटेराहरूलाई लाज लागेर अर्कै घरको सुन पैसा चोरेर राति भागेछन् । मेरी हजुरआमैको झरझुत्तै गहना छुन अप्ठेरो लागेछ क्यारे ।

गल्लावालले आफ्नै भान्जालाई जसरी मलाई भने, ‘ल बाबु, आज यतै बस । बजार घुम । खाना खाऊ अनि भोलिमात्र जाऊँ ।’

‘होइन, आजै जान्छु ।’

‘उसो भए, अर्को महिना सिर्से गाविसमा आउनू ।’, भन्दै मिति तोकिएको पत्र दिए गल्लावालले ।

केही क्षणपश्चात् मलाई उनै छोरीमान्छेले सोधिन्, ‘तरकारीमा केको मासु लिनुहुन्छ ?’

‘मासु नखाने बहिनी ।’, मैले उनको मुहार नहेरी भनिपठाएँ ।

मासुभात खाएका भए पनि पुग्नेरहेछ भन्ने लाग्यो । फेरि, खाएर तिर्न नपुगेको भए मेरो कत्रो बेइज्जत हुन्थ्यो होला भन्ने बाटोभरि सम्झिरहेँ ।

हुन त मलाई मासु जेको भए पनि खान मन थियो । तर गोजीमा भएको पैसाले नपुग्ला भन्ने डरले अस्वीकार गरेँ । अहिलेजस्तो उहिले पैसा हुँदैनथ्यो साथमा । त्योबेला मन ज्यादै अमिलो भएको थियो । फर्किदा केही पैसा गोजीमा उब्रिएको थियो । मासुभात खाएका भए पनि पुग्नेरहेछ भन्ने लाग्यो । फेरि, खाएर तिर्न नपुगेको भए मेरो कत्रो बेइज्जत हुन्थ्यो होला भन्ने बाटोभरि सम्झिरहेँ ।

भन्छन्, खाली खल्तीले सधैँ सही बाटो मात्र हिँडाउँछ । साँच्चै, पैसा नभएर म शाकाहारी भएको थिएँ त्योबेला । पछि कहीँ होटलमा खान बस्दा सधैँ त्यो अभावको पीडाले मन कुँडिन्थ्यो । पैसा नहुँदाको दुःख सम्झेर पैसा कमाएपछि खाजा, भात, अचार सबै मासुको खाइयो । धेर खाएर कुनै बेला स्वास्थ्य बिग्रिन लाग्यो । आजकल इच्छाले शाकाहारी बन्ने प्रयासमा छु ।

खानाको पैसा सत्तरी रुपैयाँ तिरेर बिदा भएँ । गल्लावालबाट पाएको पत्र कतिबेला बाआमालाई देखाऊँ भएर मनले वेग मार्यो । जसै सपना बुन्दै रामेछापको ओह्रालोमा गोडा फालेँ, बङ्ग्रङ–बङ्ग्रङ ।

बाटो काटेको पत्तो भएन । कलेजका मित्रहरूलाई पनि कहिले सुनाऊँ जस्तो भयो । फोनको सुविधा थिएन । कतै खबर गर्नु परेमा आवा (फोन गर्न) सदरमुकाम पुग्नु पथ्र्यो ।
बन्चरेमा आइपुग्ने बेला बेस्कन भोक लाग्यो । हेडसर राम खड्काकोमा पसेर पानी मागेँ । पानी माग्दा मोही दिइन् हेडसरकी भान्जी सीताले । कक्षा सातसम्म हामी सँगै बेतालीमा पढेका थियौँ । स्कुलभरिमा सबैभन्दा राम्री उनै थिइन् । यस्ती राम्री छात्रा हाम्रो कक्षामा भएकाले मात्रै पनि हामी सात कक्षावालाको इज्जत अरूको भन्दा ‘उच्च छ’ भन्ने लाग्थ्यो । भरखर कुरकुरे बैंस लाग्दै गरेका हामी केटाहरू सबै उनीसँग मोहित हुन्थ्यौँ । कसैले प्रेमप्रस्ताव राख्न नसकेपछि कक्षाका सबै केटा मिलेर उनको सुरक्षार्थ खटिन्थ्यौँ । ता कि कसैले प्रस्ताव नराखून् ।

चार वर्षपछि झन् बैँसालु भइछन् । हामी परिपक्व भइसकेका थियौँ, एकअर्कामा प्रेमको प्रस्ताव राख्न त सक्थ्यौँ । तर प्रेमपालुवा पलाउनुपूर्व दिमागमा कर्तव्य र जिम्मेवारी पलाइसकेको थियो । यसैले चाहिँदो मात्र कुरा भयो । उनी झन् फरासिली भइछन् । मैले सोध्ने सम्भावित प्रश्नहरूको उत्तर नसोधीकनै भनिन्, ‘हाइस्कूल पढ्न खिम्ती बेसी झरियो । तिमी जिरीतिर उक्लियौ क्यारे ! आफ्नू त सहर जाने औकात पुगेन, त्यही मास्टरी गर्दैछु ।’

‘राम्रो नि झन् मास्टर काम, ल त म हिँडेँ । मोहीका लागि धन्यवाद, पछि भेटौला ।’, जाने बेला यति चाहिँ भनेँ । थाकेको अनुहार, सीता भेटेर बाटाभरि उनकै हँसिलो अनुहारमा म निमग्न भएँ ।

त्यो दिन सीतासँगको अप्रत्यासित भेट मैले कहिल्यै बिर्सन सकिनँ । आज सम्भव हुँदो हो त यो संस्मरण पठाउन मन लागिरहेछ ।

म घर साँझमा पुगेको थिएँ । घरमा पुग्नेबित्तिकै पत्रको कुरा पढेर सुनाएँ । अरूले स्याबासी दिए तर हजुरआमा र आमाको अनुहारमा भने धुम्म बादल छायो । जसरी सुरूका दिन मैले घर छाड्ने बेला पूर्वी आकाश धुम्मिएको थियो ।

तल्लो गैरी गाउँको शम्भु पनि छुट्टीमा आएका उनका जेठा दाजु लाहुरे जीवनसँग उकालो लागे । उनीहरू साइनोले मेरा काका पर्दथे ।

तीन महिना बितिहालेछ । हजुरआमा र आमाहरूको अनुहार झन्झन् अँध्यारिँदै थियो । सिर्सेमा जाने दिन पनि आयो । आमाले नबोली नबोलीकनै मीठो खाने कुरा कति धेरैथोक बनाएर खुवाउनु भयो, तर बाबाचाहिँ हँसिलो हुनुहुन्थ्यो । म घरी हजुरआमा र आमाजस्तो अँध्यारो घरी हजुरबुबा र बाजस्तो उज्यालो हुँदै सानो झोला तयार पारेर पल्लो दार्खाको साथी अर्जुनलाई पर्खी बसेँ ।

एक हुल केटाहरू घरै मास्तिरको पाखो हुँदै उकालो लागे । तल्लो गैरी गाउँको शम्भु पनि छुट्टीमा आएका उनका जेठा दाजु लाहुरे जीवनसँग उकालो लागे । उनीहरू साइनोले मेरा काका पर्दथे । एकै गाउँका एकै ठाउँका आफन्तले एकै ठाउँ जाने मलाई ‘जाऊँ है’ पनि नभनी फटाफट उकालो लागे ।

बाबाले उनीतिर हेरेर भन्नुभो, ‘उः देखिस् ? तिनीहरू तल्लो गाउँका जेतीँज (सुनुवारको थर) का छोराहरू होइन ? हामीसँग के बोल्थे ! बडो कही नभ’को लाहुरे भई खाँदाहरू । तैँले पनि देखाइदे छोरा ।’

म खिस्स हासेँ तर मनमा एक प्रकारको आँधी उर्लिरह्यो ।

एकछिनमा अर्जुन आयो । मैले हिँड्नलाई झोला टिपेँ । आमाले आँसु रोक्न सक्नुभएन । मलाई च्याप्प समात्नु भयो । बिलौना गर्न लाग्नुभयो, ‘मेरा बा पनि यसरी नै लाहुर गएर फर्किनु भएन । तेरो …’

बाबाले आमालाई हपार्नु भयो, ‘हिँड्ने बेला किन अभाषी बोल्छ्यौ फेरि ? छोरोलाई आँसुको बार हालेर गोठालो बनाउने मन छ ?’

अर्जुन हतारिएर निकै माथि पुगिसकेको थियो । आमालाई सम्झाउँदै भनेँ, ‘रहर मेटेर आउँछु ।’

‘उसो भए रहर मेटेर आइहाल है त ! पढेको छस्, मास्टरी गरेर खा ।’, आमाले आँसु पुछेर भन्नुभयो ।

नफर्किने रहरले म ग्रसित थिएँ । आमालाई ढाँटिरहेकोमा खुब ग्लानि महसुस भयो । बिदाइको गोडा छुन निहुरिएँ, आँसु पोखिइहाल्यो । आमाको फरियाले आँखा पुछेर फटाफट साथीलाई पछ्याएँ । बहिनीद्वय भद्री र गीता म पनि लाहुरे हुने भन्दै पछ्याए सिरानको गरासम्म ।

डाँडा कट्ने बेलामा नजर फर्काएँ, आमा र हजुरआमा सल्लाका रूखजस्ता ठिङ्ग उभिइरहेकै हुनुहुन्थ्यो पूर्वतिरको बार्दलीमा ।

भुजेल, कागतेगाउँ हुँदै बाँसे भञ्ज्याङको जङ्गल उक्लन थाल्यौँ । उकालो निकै लामो भएकाले हामीलाई भोक भन्ने भूतले छोप्यो । अर्जुनले काठमाडौँमै किनेको ग्लुकोज र केही बिस्कुट बोकेको रहेछ । झोलाबाट निकाल्यो । मैले पनि आमाले हाल्दिनु भएको खाजाको पोका खोलेँ । चाम्रे र आलुदम हाल्दिनु भएको रहेछ । चौतारामा बसेर धाराको चिसो पानी सँगै खाएर उकालो लम्कियौँ । तल छोडिआएको कागतेगाउँ रमाइलो देखिएको थियो । पारि पाखाको हावा, च्यावागाउँ भने तुँवालोले गर्दा मधुरो देखियो । फेरि आमालाई सम्झिएँ । चरक्क गला दुखेर आँखा भरिए । आँसु पुछ्न आमाको फरिया थिएन । खाली हत्केलाले पुछेँ । नाकमा पानी बग्यो, हातैले पुछेँ ।

अर्जुन मभन्दा उमेरले अलिक छिप्पु नै थियो । पटट् बोली बस्थ्यो । सानैबाट काठमाडौँ बसेर होला ऊ निकै चतुर्याइँ कुरा गथ्र्यो । ऊ यति उत्साहित थियो कि, कल्पनामै लाहुर लागेर, छुट्टी आएर, गाउँका घमाइलो जमिन सबै किनेर चौपट्ट थियो । तर उसको छेउमा जतिखेर पनि पिलपिलाइरहेको मसँग मलाई नै रिस उठिरहेको थियो, ‘सानो मन नहुनेले किन सपना पाल्नु, सपना हुनेले किन मन सानो पार्नु ?’

त्यहाँबाट भने ओह्रालो आउँथ्यो । डाँडामा बाटाको दायाँबायाँ गोठजस्ता तीन चार वटा छाप्रे होटल थिए । हामी एउटा छाप्रोमा पस्यौँ ।

अर्जुन भिड्न गएको त्यो तेस्रोपटक रहेछ । मेरै पनि दोस्रोपटक भन्दा हुन्थ्यो । पहिलो साल लेखखर्कका रामकृष्ण दाइसँग काठमाडौँबाट गल्लामा जाँदा उहाँकै घरमा बसेर गएका थियौँ । त्योपटक म अलिक लुते नै थिएँ । त्यसैले खासमा रमिता हेर्न गएको थिएँ । तर दाइले ‘सक्छौ, भिड’ भनेकाले यसो प्रयास गरेको थिएँ । हेबिङ बाह्र पुर्याउनुपर्नेमा मरितरी एघार मात्र खिचेँ । रमिते मुला किन हुन्थ्यो लाहुरे, हिस्स परेको थिएँ त्योबेला, तर के के गर्दार’छन् भन्ने थाहा भयो ।

बाटो कटाउनी अर्जुन काठमाडौँका अनेक ठट्यौला गफ झिकिरहन्थ्यो । म मन नलागी नलागी हाँस्दै पछ्याउँथेँ । साँझ जसोतसो हामी बासेडाँडामा बलले पुग्यौँ । त्यहाँबाट भने ओह्रालो आउँथ्यो । डाँडामा बाटाको दायाँबायाँ गोठजस्ता तीन चार वटा छाप्रे होटल थिए । हामी एउटा छाप्रोमा पस्यौँ ।

अधबैँसे शेर्पिनी छोरीसँग गफिइरहेकी थिइन् । हामीलाई ज्यादै भोक लागेकाले अरू केही नसोधी पहिले खाने कुरा सोध्यौँ ।

शेर्पिनी आमाले भनिन्, ‘के खान्छा ता ? सुकुटी छा, तोङ्बा छा, थोक्पासोक्पा छा । तारा बानाउना ट्याम लाग्छा ।’

‘आलु छैन ?’, अर्जुनले भन्यो ।

‘छा ।’, बूढीमान्छे आलु खोज्न तम्सिइन् ।

‘आम्मा च्या खा तँ ! म बसाउँछ आलु ।’, छोरीले भनिन् ।

आमालाई पनि ‘तँ’ सम्बोधन गरेकीले उनलाई हेर्यौँ । पाक्न लागेका आरू जस्ता गाला कसिलो पार्दै अनारदाना दाँत देखाएर हाँसिन् तर आँखा हराइगयो । हामी गुच्चाभन्दा ठूला आँखा हुनेहरूले एकोहोरो हेरिरह्यौँ । उनी खस्रा हातले आलु पखालिरहिन् । कुर्कुच्चा अलिअलि फुटेका थिए । पुरुषसँग डराउन छाडेको भर्खरै भए जस्तो देखिन्थ्यो, अलिअलि सङ्कोच मान्दै जिस्कने पाराले कुरा गर्थिन् । ओढेको मजेत्रो पटक पटक खोल्दै सप्को हाली बस्थिन् ।

‘तपाईँहरू पनि लाहुरे हुन हिँडेको ता होला ! भर्खरै एक हुल यहीँ खाजा खाएर गायो । कसैले छ्याङ पनि खायो । तपाईंहरू पनि खान्छा भने मा भिजाउँछ ।’, आलु बसाएर हत्केलाबाट मैलो पानी तप्काउँदै हामीलाई भनिन् ।

अर्जुनले सनक्क आँखा सन्काएर भन्यो, ‘अहिले नखाम् । निगारको असर बेजोडको हुन्छ । फेरि फेल भइन्छ । लाहुरे भइएन भने यति राम्री बहिनीलाई कसले बिहा गर्ने नि ?’

‘ईः भ्या गर्छौ नि तिमारले ।’

बहिनी कडा पो रहिछन् । दुइटै हात पसारेर हामीलाई शिरपुछार लोपारिन् । म सोझाले पनि उटपट्याङ साथीको उपहार बिनासित्ति लोप्पा खाएँ । मलाई रिस उठ्यो । जुरुक्कै उठेर बाहिर निस्कन लागेको थिएँ । फेरि अर्जुनले मतिर देखाउँदै भन्यो, ‘यल्ले नगरे पनि म गरौला नि !’

‘ऊ बोल्दैना ता !’, बहिनीले मतिर दिल देखाइन् ।

अर्जुन के कम । यसो पनि भन्न भ्यायो, ‘ऊ बोल्दैन त । लाटा हो ।’

अर्जुनको अत्ति उत्ताउलोपनाले दिक्क भएर म रिसाएँ, ‘अपच त नबोल न !’, अर्जुन चुप्प लाग्यो । बरु उनै बोलिन्, ‘भ्या गर्छु भन्नु ता । कस्तो देख्छा ।’

म हाँसे मात्रै । ख्यालठट्टा गर्दागर्दै आलु पनि पाक्यो । उकालीको थकाइ पनि कर्कलाको पानीजस्तै बिलायो ।

हरियो अकबरेसँग नुन-खुर्सानी पिन्न थालिन् । अकबरेको बासना हामी बसेको टेबलसम्म हरर्र आयो । सिलबरे कुच्चिएको थालमा तात्तातो आलु राखिदिइन् बहिनीले । नजिकै आएका बेला अर्जुनले नाम सोध्न पनि भ्याइहाले । आइतु रहेछ नाम ।

लेकको कालो आलुको स्वादै अर्कै हुने । बासनादार गुलियो । मैले पैसा तिरेँ, उनले फिर्ता पैसा हातमा छोएर दिइन् । मैले नगनी खल्तीमा घुसारेँ । उनीप्रति मेरो अन्तरकुन्तरतिर माया पलाएछ कि कसो कुन्नि ? फर्केर नहेरी हिँडेँ । अहिले सम्झँदा लाग्छ, दिलले छोएका मान्छेबाट छुट्टिएर जानुपर्दा पछाडि नफर्किने बानी रहेछ मेरो । आजकल म कसलाई कति माया गर्छु भनेर जान्न आफ्नै बानीलाई हेरेर बुझ्ने गर्छु । साधारण सम्बन्धका मानिसलाई मात्र दोहोर्याइ तेहर्याइ बाइबाइ गर्न सक्दोरहेछु ।

‘लु है, नानी हो ! चिताएको कुरा पुगोस् !’, शेर्पिनी आम्मै बाटोसम्मै आइन् । मैले फेरि आमालाई सम्झिएँ तर आँसु खसेन । भौगोलिक दूरी बढेसँगै तिर्सना पनि झिनो हुँदै जान्छ कि कसो कुन्नि, म सम्हालिन सकेँ ।

अलिक तलको गुप्तेश्वर गाउँमा पुगेपछि झमक्क रात पर्यो । त्यो रात त्यहीँ नै बस्यौँ । बिहानै हिँड्नुपर्ने भएकाले खाना र बासको पैसा बेलुकै तिर्न म तम्सिएँ । अर्जुन खानमा जति हतारिन्थ्यो, तिर्नमा उति नै सुस्ताएर बस्थ्यो । मधुरो बत्तीमा नोटहरू राम्ररी चिनिएन र बत्तीछेउ गएर एक एक हेर्न लागेँ । एउटा नोटमा लेखिएको थियो, ‘फेरि आउनु ल आइतु !’, मायाले हो कि तिर्सनाले आङ सिरिङ्ग फुल्यो । आँखा ठूला भए ।

हामी पुग्दा धेरै मानिसको भीड लागेको थियो । लाहुरेमा भिड्न आउनेभन्दा रमिता हेर्ने आउने तरुण, तन्नेरीदेखि बूढापाका सबैको घुइँचो थियो ।

अर्जुनले पनि हेरेर भन्यो, ‘मलाई भन्या होला ।’, उसले वाक्यसँगै नोट तान्यो । मैले पनि बलसँग समातेछु, बीचैमा चर्यात्त च्यातिएर नोट दुइटा भयो । मेरो भागमा ‘आइतु’, उसको भागमा ‘फेरि आउनु’ पर्यो । अर्जुन मजाले हाँस्यो । म त के भएँ भएँ । भित्तामा बलैले बलेको धिब्री जस्तो भएँ क्यार !

भोलिपल्ट सिर्सेमा पुग्दा बिहानको आठ बजिसकेको थियो । सानो बजार रहेछ । हामी पुग्दा धेरै मानिसको भीड लागेको थियो । लाहुरेमा भिड्न आउनेभन्दा रमिता हेर्ने आउने तरुण, तन्नेरीदेखि बूढापाका सबैको घुइँचो थियो ।

गल्लावाल र एआरओ टेबलमा बसेका थिए, नोट तयार पार्दै । पुग्नेबित्तिकै पत्र देखाउँदै नाम लेखायौँ । भटाभट जाँच सुरू भयो । पहिलो चरणमा अंग्रेजी, हिसाब र आईक्यूको जाँच भयो । त्यसपछि पालैपालो हिँड्ने, हेबिङ, सिटअप सबैको जाँच दुई बजेतिर नै सकियो । थकाइ नमरी केहीबेरमै रिजल्ट पनि निस्कियो । म प्रथम भएछु । बलाङबुलुङका इन्द्र तामाङ दोस्रो भएछन् । त्यो दिन दश जना मात्र पास भएछौँ । अर्जुनको कागजमै शंका लागेर गल्लाले लिन मानेनन् । शम्भुको प्वायन्ट पुगेनछ । फाइनल छनोटका लागि पास पायौँ तर मिति तोकिएको थिएन । हामी पास हुनेहरूको नयाँ ग्रुप बन्यो । दिन अझै बाँकी भएकाले सिर्सेको उकालो लाग्यौँ । हर्षमा एकचोटि एकटुक्रा ‘आइतु’ हेरेँ । अर्जुन ‘फेरि आउनु’ बोकेर कता पुग्यो कुन्नि !

चार दिनमा टुप्लुक्कै म घर पुगेकाले आमा र हजुरआमा खुब खुशी हुनु भयो । सोध्नु भयो, ‘के गर्ने भइस् त कान्छा ?’

‘त्यो फाइनल छनोट कस्तो हुँदो रहेछ, एकचोटि हेरेर रहर पुर्याउँछु ।’

छोरोको रहरसँग कुन आमा दुःखी हुन्छिन् र ! मेरी आमाले पनि अनुमति दिनुभयो, ‘ल ना त ।’

त्यसपछि म काठमाडौँ नै फर्किएँ । कलेजका हितैषीहरू गणेश थापा, सनत कुँवर, विष्णु बस्नेत, पुष्प खत्री, सुनिल हमाल, वीरेन्द्र श्रेष्ठ सबैले शुभकामना दिए । ट्रेनिङ गर्दा ललितपुरको उकालो ओह्रालो पनि सम्म मैदान जस्तो लाग्थ्यो । ‘मुख्य प्वायन्ट दौडबाटै लिने हो’, भनेर भिडिसकेका दाइहरूले भनेकाले म हरेक बिहान कम्तीमा एक घण्टा दौडन्थे ।

लगनखेलको जेरीस्वारी भिटामिन ठानेर राम पासाकोमा खुब खाइन्थ्यो । त्यहीनेर सिकन्दर भन्ने व्यक्तिको फेन्सी पसल पनि थियो । पाटन कलेजबाट फर्किदा चिया पिउँदा, बजारमा तरकारी किन्न आउँदा उनी पनि एक हितैषी मित्र भइसकेका थिए । उनी मजाले उसु खेल्थे । मलाई खुट्टामा ताकेर टाउकामा सुईऽ सुईऽ किक घुमाउँथे । रहर लागेर लगनखेलकै रैथाने एक जना गुरुसँग राम र म पनि उसु सिक्ने भयौँ । तर उसकै मकैबारीमा सिक्दा सिसाले खुट्टा काट्यो रामको । म तर्सिएर चट्टै छाडेँ । अहिले त्यहाँ फलफूल दोकान छ । जहाँ नेपालका अर्गानिक कवि असीम सागरजीको तरकारी पसलमा हँसिलो कवितामय अनुहार भेट्न सकिन्छ । उहाँकै पसल छेउमा एउटा हिलेपोखरी पनि थियो, आज के भयो हेर्नु मन छ !

एक महिनापछि मिति तोकिएको पत्र आयो । म धरान हानिएँ । धरानको यात्रा मेरो त्यो दोस्रोपटक थियो । त्योभन्दा पहिले रात्रिबसबाट धरानको भानुचोकमा एक सय थान सारी पुर्याउन पहिलोपटक पुगेको थिएँ । बिहान पुगेर सामान दिई फेरि दिनको बसमा फर्किएको थिएँ । त्यसैले ‘धरान गइस् ? गएँ’, भन्ने मात्र थियो ।

तर दोस्रोपटक भने म एक रणमैदानमा उत्रिनु छ जसरी एक हप्ताका लागि आफ्नो बुताले भ्याएसम्म हजारौँको संख्यामा आफ्नो पराक्रम, साहस, बुद्धि, विवेक र बल देखाउन धरानको तातो मैदानमा पुगेको थिएँ ।

मलाई पुर्याउन मित्रद्वय पुष्प केसी र सुनिल हमाल धरानसम्मै आएका थिए ।

सनराइज होटलमा बसेका थियौँ । त्यो रात हल्का रमझम गरियो । उनीहरू होटलमा एक रात बसेर भोलिपल्ट नै काठमाडौँ फर्किए । म भने घोपा क्याम्प प्रवेश गरेँ ।

प्रतिक्रिया
Loading...