नेपाली साहित्यको सम्पूर्ण पत्रिका

भाइरस, भय अनि बचाइ

कोभिड १९ को वैश्विक महामारीमा निराशा र आतङ्क छाउनु स्वाभाविक नै हो । यस महामारीबाट जोगिन सकिने कुरा जान्दाजान्दै पनि मानिसहरू कतिपय व्यक्तिगत, पारिवारिक, आर्थिक, व्यवसायिक, सामाजिक, धार्मिक, राजनैतिक बाध्यताहरूले कमजोर बनिरहेका छन्।

भाइरसलाई मानव संसारबाट पूर्णरूपले मेटाउन सकिँदैन। भाइरस हाम्रो सृष्टिदेखि नै हामीसित अवस्थित छ । हामीलाई एउटा भाइरसदेखि बाँच्नलाई अर्को एउटा भाइरसको जरूरत पर्दछ।

ईगम खालिङ
सान्दर्भिक पोस्ट

जीवनको बचाइ

जीवनको परिभाषा

निबन्धः ४ + १ = ४ ?

वर्तमान समय हामीलाई बचाउने भाइरसको मागको समय हो। सबैको मनभित्र चलिरहेको खोज हो। पाउने आशा हो। यही आशाभित्र एउटा भय पनि छ। हुन त भय हाम्रो निम्ति त्यस्तो ठूलो समस्या होइन किनकि जीवन एक अर्थमा भय पनि हो। भयले हामीमा सतर्कता र सावधानी ल्याउँछ। त्यसरी नै कहिलेकाहीँ समयलाई परीक्षाको घडी मान्नुपर्ने हुन्छ। परीक्षा र प्रतीक्षाको फल मीठो हुन्छ।

आजको यस्तो महामारीको समयमा हामीलाई हाम्रो जीवनको रफ्तारलाई अलिकति भए तापनि कम गर्न कर लागिरहेको छ। कुरा के हो भने शरीर र दिमागको सन्तुलन बनाएर हिँड्नेले आफू वरिपरिका दृश्यहरू राम्ररी देख्छ साथै बाटा–घाटामा भेटिएका मानिसहरूसित राम्ररी बातचित पनि गर्न सक्छ तर अत्तालिएर द्रूतगतिमा हिँड्दै–कुद्दै गर्नेले वरिपरिका दृश्यहरू अनि बाटा–घाटाका मनिसहरू मात्र होइनन् आफू कहाँ गइरहेछ त्यो पनि भुल्न सक्छ । सन्तुलन हराएर दिशाहीन बन्न सक्छ । यसर्थ हामीलाई प्रकृतिको माझमा प्राकृतिक बचाइको बारेमा सोच्न कर लागिरहेको छ। हामीलाई यो महामारी एउटा अफवाहजस्तो लागे तापनि यथार्थ मान्न कर लागिरहेको छ।

जे होस्, आज पुनः एकपल्ट हामीलाई जीवनबारे गम्भीरतासित सोच्न कर लागिरहेको छ।

यतिकैमा भाइरस, भय अनि बचाइको बारेमा कुरा गर्दागर्दै म दुई प्रसिद्ध व्यक्तिहरूका सन्दर्भित एक/दुई

विचारहरूलाई यहाँ राख्न गइरहेको छु। ती प्रसिद्ध व्यक्तिहरू हुन्—
(१) स्टेफेन विलियम हकिङ

(२) मार्टिन हाइडेगर

स्टेफेन विलियम हकिङ (१९४२–२०१८) एकजना विश्व प्रसिद्ध भौतिक विज्ञानी, ब्रह्माण्ड विज्ञानी, लेखक अनि क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रह्माण्ड विज्ञान केन्द्रका शोधनिर्देशक थिए।

उनले आफ्नो ‘ब्ल्याक होल ’ नामक एउटा लघुपुस्तकमा (च्यापबूक) एक ठाउँ लेखेका छन् कि मानव संसारको विनाश
विशेष दुई कारणहरूले गर्दा हुन सक्छ—

(क) पृथिवीको पर्यावरण प्रदूषणको कारणले गर्दा।

(ख) भाइरसको इन्जिनियरिङ (प्रयोगशालामा नयाँ भाइसहरूको डिजाइन गरिने) व्यवसायको कारणले गर्दा।

हकिङले पृथ्वी, आकाश गङ्गा, ब्रह्माण्ड, बहुब्रह्माण्ड, सैद्धान्तिक भौतिक विज्ञानका थिअरी, कृत्रिम बौद्धिकता अनि मानव ज्ञानहरूका बारेमा पनि धेरै महत्त्वपूर्ण कुराहरू लेखेका छन्।

उनले आफ्नो ‘द ग्रान्ड डिजाइन’ शीर्षक पुस्तकमा त झन् ईश्वर नभएको साथै एक समय ईश्वर भएको नै हो भने पनि अब मरिसकेका बताएका छन्। ब्रह्माण्डका थिअरी र निर्माणमा ईश्वरका कुनै हात नरहेको बताएका छन्।

भविष्यमा आइपर्ने मानिसको अस्तित्वको समस्याहरूबाट बाँच्नलाई मानिसहरू मिलेर विज्ञान र प्रौद्योगिकी प्रयोग गरी मानिसहरू बस्न योग्यका अरू ग्रहहरू नै खोज्न पर्ने साथै असल परग्रहीहरूका सहायता लिन उचित रहने कुरा बताएका छन्।

मार्टिन हाइडेगर (१८८९(१९७९) एकजना जर्मन दार्शनिक थिए। हकिङले झैँ कतै न कतैबाट मानिसको यस ग्रहमा बद्लिँदो स्थितिबारे पूर्व–अवगत गराउन खोजेका पाइन्छ। उनले भनेका छन् कि विज्ञान र प्रौद्योगिकीको विकाशले मानिसको बचाइको रफ्तारको गति यति साह्रो बढेर जानेछ कि मानिसहरूले भावना र मानवतालाई मात्र होइन मृत्युलाई समेत बिर्सनेछन्।

मानिसमा धैर्य हराउनेछ जसको फलस्वरूप कृत्रिमताको साम्राज्य बढेर जानेछ। मानिसले मौलिक बचाइभन्दा ज्यादा कृत्रिम बचाइलाई स्वीकार्नेछ।

संसारका ठूला–ठूला महानगरका आमाहरूले (अथवा सम्बन्धित कसैले पनि) बिहानको नास्ता दिँदा दुई मिनट ढिलो गरेमा आफ्ना छोरा–छोरीहरूले खाना टेबलमा नै छाडेर जानेछन्। उनीहरू बिहानीको नास्ताको टेबलमा नै दुई मिनट ढिलो भए दिनभरि नै ढिलो हुनेछन्। उनीहरूका विभाजित समय र समयको प्रबन्धन नै बिग्रिएर जानेछ। त्यसैले उनीहरू जिइरहेका प्रतिस्पर्दाको जीवन जियाइमा त्यो एउटा दिनको दुई मिनटको ढिलोले ठूलो असर पार्नेछ।

पर्खाइ र ढिलाइले कति मौकाहरू हातबाट उम्केर जानेछन् किनकि उनीहरूले गर्ने कार्यहरू ‘बहु–कार्य’ हुनेछन्। मानिसहरूसित थुप्रै विकल्पहरू हुनेछन् त्यसैले उनीहरू जीवनका हरेक कुरामा समय बाड्न वाध्य हुनेछन्। फेरि विभिन्न प्रकारका वस्तुहरूका उत्पादन र वितरणले मानिसहरको मौलिक समयलाई उपभोग गरिदिनेछन्। यसरी विभाजित समयभित्र आफ्नो निम्ति समय नै रहने छैन। मानिसले मृत्युलाई बिर्सनेछ अनि आफ्नो परम स्रोतलाई पनि। कुन जीवनचाहिँ साँचो जीवन हो अनि कुन जीवनचाहिँ कृत्रिम हो त्यो छुट्याउन नै गाह्रो हुनेछ।

भविष्यमा मानव संसारको विकास सँगसँगै मानिसको बचाइको रफ्तार अझै बढेर जानेछ। मानिसले प्राकृतिक दृश्यहरूमा चुक्नेछन् अनि मृत्युलाई पनि सहजै भुल्नेछन्। जसले मृत्युलाई भुल्छ, उसले कहिल्यै साँचो जीवन जिउन सक्दैन। मृत्युलाई सम्झनु भनेको भयभीत भएर जिउनु होइन, त्यो त जीवनको वास्तविकतालाई (यथार्थलाई) बुझेर जिउनु हो। जो वास्तविक जीवन जिउँछ, ऊ मौलिक जीवन जिइरहेको हुन्छ अनि जो मौलिक जीवन जिउँछ, ऊ साँचो जीवन जिइरहेको हुन्छ। जहाँ साँचो जीवन हुन्छ, त्यहाँ भय कम आनन्द ज्यादा हुन्छ। अन्त्यमा के भन्न चहान्छु भने ‘मानवता’ नै साँचो मानिस हुनुको पहिचान हो।

प्रतिक्रिया
Loading...