नेपाली साहित्यको सम्पूर्ण पत्रिका

मोदी विमोचित पुस्तक प्रतिबन्ध लगाउन आग्रह

यतिबेला सामाजिक सञ्जालमा भारतीय सरकारले नै प्रकाशन गरेको पुस्तकलाई सत्तासीन पार्टी बिजेपीको एक शाखा संघ परिवार प्रतिबन्ध लगाउन चाहिरहेको खबर भाइरल भइरहेको छ ।

पुस्तक हिन्दू विरोधी भएको भन्दै केहीले यसमाथि प्रतिबन्ध लगाउनु पर्ने आवाज उठिरहेको हो ।

डिक्सनरी अफ मार्टियर्स अफ इन्डियाज् फ्रिडम स्ट्रगल (१८५७-१९४७) भारतीय सरकारको संस्कृति मन्त्रालय र इन्डियन काउन्सियल अफ हिस्टोरिकल रिसर्चले संयुक्त रूपमा प्रकाशन गरेका हुन् ।

पुस्तकमा भरियमकुन्नाथ कुन्जहमद हाजीलाई महत्त्वपूर्ण स्थान दिइएकामा संघ परिवारलाई चित्त नबुझेको र पुस्तकमाथि प्रतिबन्ध लगाइनुपर्ने आवाज उठिरहेको बताइएको हो ।

सन् १९२१ मा उत्तरी केरलाको मालाबार क्षेत्रमा भएको विद्रोहमा बेलायती सेनामाथि जाइलागेको थियो । सो आक्रमणलाई पुस्तकले ठाउँ दिएको हो ।

त्यसो त पुस्तकलाई गएको वर्ष विमोचन गरेका थिए । विमोचनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको इतिहासलाई आकार दिने महत्त्वपूर्ण व्यक्तिहरूको सम्मान गरिएको भन्दै भाषण गरेका थिए ।

अंग्रेज विरूद्धको मालाबार आन्दोलनमा अंग्रेज समर्थक कयौँ हिन्दु जमिन्दारहरूलाई किसान विद्रोहका बेला हत्या गरिएकाले यसलाई हिन्दूविरोधी आन्दोलनका रूपमा समेत चित्रित गर्ने गरिएको छ ।

यस आन्दोलनका अगुवा मुस्लिम समुदायका भरियमकुन्नाथ हाजी त्यस क्षेत्रका अंग्रेजविरोधी आन्दोलनका प्रमुख अनुहारमध्येमा गनिइन्छन् । उत्तरी केरला क्षेत्रमा उनी एक नायकका रूपमा मानिइन्छन् ।

पछिल्लो समय उनै हाजीमाथि केरल भाषामा फिल्म निर्माण गर्ने घोषणा गरिएपछि विवाद चुलिएको हो । पाँच भागमा यो पुस्तक निकालिएको छ ।

हिन्दुत्ववादी समूहले यस पुस्तकको विक्रीवितरणमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेको छ । हिन्दु एक्यवेदी नामक संगठनका अध्यक्ष केपी शशिकलाले यो कांग्रेसी सरकारका बेला बनाइएको प्रोजेक्ट भएका कारण यसलाई प्रतिबन्ध लगाउनुपर्ने प्रतिक्रिया दिएपछि संघ परिवारले पनि मालाबार विद्रोह हिन्दू विरोधी विद्रोह भएका कारणले यसलाई प्रतिबन्ध नै लगाउँदा ठीक हुने प्रतिक्रिया दिएको हो ।

शशिकलाले भनिन्, ‘यो किताब बजारमा आएपछि हामीले उठाइरहेको हिन्दूविरोधी मुस्लिम आक्रमणको मालाबार काण्ड हो भन्ने मुद्दा कमजोर हुन्छ । त्यसैले यसलाई रोक्नु जरूरी छ ।

मालाबार विद्रोहका नायक अलि मुसलियारको नजिकका नातेदारका रूपमा हाजीलाई सो डिक्सनरीमा चिनाइएको छ ।

मालाबार विद्रोहको पक्षमा फिल्मको पोस्टर रिलिज भएपछि त्यसको वास्तविकताका पक्षमा अर्को फिल्म बनाउने बिजेपी पक्षधर फिल्मकर्मी अली अकबरले घोषणा गरेका छन् ।

प्रतिक्रिया
Loading...