नेपाली साहित्यको सम्पूर्ण पत्रिका

सङ्क्रमणकालीन इतिहासको ऐना : अर्थात्

यी सात राष्ट्रका एक अरब नागरिकहरू जो ‘सार्की’ ले चिनिने छन् उसलाई बङ्गाली वा नेपाली भन्नु सट्टा सार्की भनियो भने ऊ कुनै पनि सिमानामा बढी स्वतन्त्र हुन सक्नेछ ।

आमुख 

जीवन आचार्यको ‘अर्थात्’ एक बहुचर्चित लेखहरूको सङ्ग्रह हो । देशान्तर साप्ताहिक पत्रिकाअन्तर्गत वि.सं. २०४५ र २०४६ मा अर्थात् स्तम्भमार्फत् उनले आफ्नो व्यक्तित्व पाठकसामु पेस गरे । ५३ वटा लेखहरू रहेको अर्थात् मा जीवनले मूलत.तत्कालीन सङ्क्रमणकालीन समाजलाई मिहीन रूपमा बुनोट गरेका छन् ।

वि.स.२०४५ वैशाख ५ देखि २०४६ वैशाख २५ गतेसम्मका लेखहरू नै अर्थात् हुन् ।

वि.सं. २०४५ देखि २०४६ सम्मको समय

नेपालको इतिहारको अध्ययन गर्दा २०४५–२०४६ को समय भनेको सङ्क्रमणकालीन राजनीतिक परिदृष्यको मारमा ‘प्रजाहरू’ मा आएको चेतनाको उथलपुथल हो । पञ्चायती शासन र शासकहरूको निरङ्कुश मानसिकताको रापमा पिल्सिएका नेपालीहरूले उन्मुक्तिको वातावरण खोजिरहेको मौन र क्रान्तिको ज्वारभय समय नै अर्थात् हो । राजतन्त्रबाट प्रजातन्त्रको सङ्घारमा नेपालीहरू पुग्दै गरेको अवधि हो – २०४५/०४६ हो । छिमेकी भारतप्रति वितृष्णा फैलिएको समय हो – २०४५/०४६ । साथै दक्षिण अफ्रिकाका नेल्सन मन्डेलालगायत विश्वभरि फैलिरहेको राजनीतिक स्वतन्त्रताको आन्दोलनदेखि कलाकार साल्भाडोर डालीसम्मका लेखहरू अर्थात्मा समेटिएका छन् ।

यो समयको जीवनलाई जीवनले अर्थात्मा असाध्यै नजिकबाट चिनेका देखिन्छन् तर यही समय जीवनको जीवन्तताको पराकाष्ठाको समय बन्यो । भौतिक रूपमा जीवन नरहे पनि उनको अर्थात्ले वर्तमानमा पनि उनलाई सधैँ जीवन भरिरहेको आभाष हुन्छ ।

अर्थात् भित्र

अर्थात् भित्रका लेखहरूमध्ये पहिलो लेख हो– देसेमरु झ्याः । यो लेखमा उनी काठमाडौँमा बसोबास गर्ने नेवार समुदायका मानिसप्रति त्यति सन्तुष्ट भएको देखिदैनन् । एकथरी रैथाने नेवारहरूको वास्तविक जीवनशैलीलाई लेखे पनि अर्काथरी नेवारहरू भने अन्तर्रराष्ट्रिय जीवनशैली बिताइरहेको अवस्थालाई उनले बिर्सेको देखिन्छ । उनी लेख्छन् – “नेवारहरू पश्चिममा थानकोट र पूर्वमा भादगाउँ पुगेका छन् । ….. उनलाई ‘ट’ र ‘त’ ले जहिले पनि कन्फ्युज गर्छ त्यसैले मन पर्दैन नेपाली भाषा ।”

उनको यस लेखप्रति काठमाडौँका रैथाने नेवार र लेखक मनु ब्राजाकीको प्रतिक्रियाले जीवन आर्चायको व्यक्तित्वलाई धुमिल पारेको आभाष हुन्छ ।

२०४६ सालको प्रजातन्त्र प्राप्तिका लागि हुँदै गरेको आन्दोलनप्रति उनी सन्तुष्ट देखिदैनन् । ‘थकाइ मार्ला’ शीर्षकमा उनले यसरी विचार पोखेका छन्, “नेपालमा नेताहरू छन् जो प्रत्येक दिन आन्दोलन गर्ने घोषणा गरेर मात्र भात खान्छन्, नत्र पच्दैन ।”, एउटै उद्देश्य प्राप्तिमा लागेका नेताहरूको फरक विचार र शैलीले आन्दोलन नै बिटुङ्गो हुने हो कि भन्ने आशङ्का उनको छ ।

अशिक्षित एम.ए.हरू नेपालमा पढेलेखेका र बुद्धिजीवीहरूप्रति तीव्र व्यङ्ग्य गरिएको लेख हो । पढेलेखेका मानिसहरू जहिल्यै अवसरवादी हुने र त्रिभुवन विश्वविद्यालय चाहिँ “दरभङ्गा र गोरखपुरका विश्वविद्यालय जस्तै, जागिर खानलाई चाहिने मार्कसिट दिने अखडा त हो ।”, भनेर उनले स्नातकोत्तर गरेका मानिसहरूप्रति व्यङ्ग गरेका छन् ।

जीवन आचार्य आफ्नो समयको अत्यन्त सचेत र अन्तर्राष्ट्रिय दृष्टि भएका लेखक हुन् । उनीसँग विश्व दृष्टिकोण, मानवता र भ्रातृत्वभाव रहेको देखिन्छ । कुनै पनि देशमा भएको अन्याय, आत्याचार, शोषण र दमनप्रति उनको कलम अछुतो छैन । त्यतिबेला दक्षिण अफ्रिकामा नेल्सन मन्डेलाको नेतृत्वमा प्रजातान्त्रिक आन्दोलन चलिरहेको थियो । राजनीतिक स्वतन्त्रता प्राप्तिमा होमिएको मन्डेलालाई समर्थन गर्दै उनले लेखेका छन्, “२५ वर्षदेखि नेल्सन मन्डेला दक्षिण अफ्रिकाको नक्खुमा छन् ।”, मन्डेलाको मुक्ति र आन्दोलनको सफलतालाई लिएर त्यतिबेला कला र साहित्यमा पनि मन्डेलाप्रति ठूलो समर्थन थियो भन्ने प्रमाणस्वरूप उनी लेख्छन्, “म कालो छु मेरो देश जत्तिकै कालो, यो माटाको गहिराइ जत्तिकै कालो ।…. यो कालो रातको गर्भबाट नै एउटा बालक बिहान जन्मन्छ ।”

जीवनको चाहाना थियो– देशमा एउटा ललितकला एकेडेमी बनोस् । कलाकारहरूको सम्मान होस् । तर उनको जीवनकालमा कहिल्यै यस्तो भएन । ‘पार्कग्यालरी’ शीर्षकमा उनको दृष्टिकोण छ, “के मुलुकमा कला एकेडेमी स्थापना हुनु उसको निजी सम्पत्ति हो । जब उसको शरीर नै उसको निजी रहेन, हिजोसम्म तपाईँ भन्ने गर्नुहुन्थ्यो, हँ बाङ्देलजी ! मुलुकमा थुप्रै बाङ्देलहरू छन् ।”

बाङ्देल अर्थात् लैनसिंह बाङ्देल जो त्यतिबेला तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका उपकुलपति थिए । बाङ्देलकै कारणले जीवनको सपना ललितकला एकेडेमी स्थापना हुन नसकेको हो भन्ने ठम्याइ जीवनको रहेको पाइन्छ ।

अर्थात् ‘अर्थात्’ नै हो । यसभित्र कविता पनि छ । बडो व्यङ्ग्यमय कविता । प्रजातन्त्र प्राप्तिको आँधीमय समयलाई उनले यसरी बिम्ब र प्रतीकमा उतारे–

“यिनीहरू एउटा जनमतसङ्ग्रह हार्दैमा
यति कुम्भकर्ण सुतिरहेका छन् कि
घरि घरि मृत्यु पनि यिनीहरूको नसा छामेर फर्किरहेको छ”
म पुनः
पृथ्वीमा एकपटक
ताण्डव नाच्ने रहर छ
एक्लै । महादेव अवतार ।

विश्व मानवतावादसम्बन्धी लेखिएको अत्यन्त रोचक लेख हो– सिमानाको कन्सेप्ट । उनको समयमा पाश्चात्य सङ्गीतको एउटा बाढी थियो– द बिटल्स । त्यसमध्येको एउटा गीत थियो जोन लेननको स्वरमा ‘इम्याजिन’ । जसमा भनिएको छ, “इम्याजिन देयर इज नो कन्ट्री…….।”

जीवन सोच्दैछन्– एकछिन सोच्नोस् पृथ्वीमा सिमाना छैन । सिमानाले विश्व मानवतावाद, भ्रातृत्व र मानिसका स्वतन्त्रताहरूमाथि प्रतिबन्ध लगाएको छ । आज संसारमा जति पनि हिंसाहरू भएका छन् सबै सिमाना र अहंका कारण भएका छन् । तसर्थ यो सिमाना भन्ने चीज नै नहुँदो हो त यो पृथ्वीको स्वरूप अर्कै हुने थियो । मानिसहरूको मन, विचार र बुद्धि उस्तै हुने थियो ।

कुनै पनि क्षेत्रमा रहेर वा पदमा बसेर काम गरेकाहरूले अहिल्यै आफूलाई ठूलो ठान्ने मानवीय प्रवृत्ति छ । नेपालका उच्चपदस्थ व्यक्तिहरू जो आफूलाई ‘ठूलो मान्छे’ ठान्छन् उनीहरू आफूलाई आफूभन्दा कमजोरसँग तुलना गर्दै आफू ठूलो भएको भ्रममा पार्छन् । ‘तमसुक र ल्याप्चे नेपाल’ लेखमा उनको गज्जबको विष्लेषण छ, “अहिले जति शिक्षामा विकास नेपालको इतिहासमा कहिल्यै भएको थिएन । भीमसेन थापाको मन्त्रीले पनि यसै भन्थे– इतिहासमा अहिले शिक्षाको चरम विकास भएको छ ।”, नेपाल नै एउटा यस्तो देश होला सायद जहाँ काम गरेर देखाउनुभन्दा बोल्नुलाई सत्य ठानिन्छ । बोलेरै हरेक क्षेत्रमा प्रभुत्व स्थापित गरिन्छ । सोझासाझा मानिसहरूको मनभित्र पसेर झूठलाई वास्तविक बनाइन्छ ।

नेपाल शिक्षामा भएको प्रगतिप्रतिको यति मीठो व्यङ्ग्य योभन्दा अर्को के हुन सक्ला ?

पहिले नेपालमा १४ अञ्चल ७५ जिल्ला थियो । ती अञ्चल र जिल्लाहरूमा रहेका प्रमुखहरूको विना अर्थ भ्रमण र भ्रमणबापत् भत्ताप्रतिको तीव्र आक्रोश पोखिएको छ– ‘चिट्ठा परे चैत् बन्छ चेतुनाथमा !’ उनले यस्ता अधिकारीहरूलाई ‘सलह’सँग तुलना गरेका छन्, “सलहले उम्रदै गरेको बाली खाएर सखाप पार्छ, यो ताँतीले ढिकुटीको बाली आगोमा डढाएर सखाप पार्दैछ ।”

उनी यतिबेला जीवित भएका भए अहिलेको सङ्घीय नेपालका सैयौँ सलहहरूप्रति झन् कस्ता व्यङ्ग्य गर्थे होलान् ?

नेपालमा खेलाडीहरूको अवस्थालाई जनाउन लेख हो– सियोल र सूलोचना । गाँस, बास र कपासको समस्यामा रुमलिएका नेपाली खेलाडीहरूको दयनीय अवस्थाले गर्दा उनीहरू राम्रोसँग अभ्यास गर्न पाउँदैन, जसका कारण हरेक खेलमा भाग लिएका नेपालीहरू जहिल्यै पराजित हुन्छन् । यो पराजयप्रति जीवनको व्यङ्ग्यको सहानुभूति यस्तो छ, “ऊ पनि प्रथम नै हुन्छ, केवल गिन्ती गर्ने बेलामा अगाडिबाट कि पछाडिबाट गिन्ती गर्ने भन्ने कुरामा होस् पुर्याउनुपर्छ, बस् ।”

शीर्षकीकृत अर्थात् सबैभन्दा ठूलो भ्रमयुक्त लेख हो । यस लेखमा ईश्वरसम्बन्धी जीवनको चिन्तन प्रष्ट हुन्छ । यसमा ब्रह्माण्ड र ईश्वरीय सत्ताका बारेमा उनको टिप्पणी यस्तो छ, “ईश्वरलाई मैले बनाएको हुँ । …… जति पनि धर्मग्रन्थहरू छन् … सबै भ्रममा छन् । ईश्वरका जति पनि किंवदन्ती छन्, पुराण र ग्रन्थहरू छन् सब थोत्रा र डेटएक्स्पाएर भइसकेका छन् ।”

यी सात राष्ट्रका एक अरब नागरिकहरू जो ‘सार्की’ ले चिनिने छन् उसलाई बङ्गाली वा नेपाली भन्नु सट्टा सार्की भनियो भने ऊ कुनै पनि सिमानामा बढी स्वतन्त्र हुन सक्नेछ ।

उनी वास्तवमा नास्तिक नै हुन् । धर्मप्रति कुनै आस्था नरहेको र कुनै पनि ईश्वरप्रति उनको सकारात्मक दृष्टिकोण नरहेको यस लेखमा बुझ्न पाइन्छ । उनी चाल्र्स डार्बिनको ‘जीव विकासको उत्पत्ति’सँग सहमत हुँदै वैज्ञानिक चिन्तनप्रति आफूलाई पनि समाहित गर्छन्, “बाँदरबाट मानिस छुट्टिएपछि मानिस र बाँदरबीच यही मात्र अन्तर छ कि मानिसले आगो बनायो, पिरामिड बनायो, टेस्ट्टयुब बेबी बनायो र ईश्वर बनायो ।”

यसरी मानिसको उत्पत्ति र विकास नै अर्थात् हो । ईश्वरीय सत्ता र यसको भ्रमबाट मुक्ति नै अर्थात् हो । ईश्वर स्थापना गर्ने मानिसहरू नै हुन् । भ्रमको यो पर्दा उघ्रिनुपर्ने उनको स्पष्ट कथन रहेको छ ।

पाठक प्रतिक्रियासहितको क्षेत्रीय मानवतावाद समेटिएको लेख हो– ‘सार्क र सार्कीहरू’ । त्यतिबेला ‘सार्क’ मा सात वटा देशहरू थिए । नेपालीलाई भारतबाहेक अन्य देशमा जान पासपोर्ट चाहिन्थ्यो वा अन्य कुनै विश्वासयोग्य कागजातहरू ।

सार्क राष्ट्रहरूका सीमाहरू सीमामुक्त बनोस् र स्वतन्त्र रूपमा एक देशका नागरिक अर्को देशमा जाऊन् भन्ने उनको अवधारण थियो, “यी सात राष्ट्रका एक अरब नागरिकहरू जो ‘सार्की’ ले चिनिने छन् उसलाई बङ्गाली वा नेपाली भन्नु सट्टा सार्की भनियो भने ऊ कुनै पनि सिमानामा बढी स्वतन्त्र हुन सक्नेछ ।”

यी सातै राष्ट्रका ‘सार्की’ नागरिकहरूको भाषा, धर्म, शिक्षा, साहित्य, कलालगायत सबै कुरामा समानता होस् भन्ने बृहत् मानवतावादी सोच यस लेखमा पाइन्छ ।

कलकत्ता– १, २, ३, भारतको पुरानो राजधानी कलकत्ता हाल कोलकता भ्रमण गर्दा जीवनले भोगेका यात्रानुभूतिलाई जस्ताको तस्तै लेखिएको विचारोत्तेजक लेख हो । दार्जिलिङ क्षेत्र र सुवास घिसिङ्बारे एक भारतीयसँगको रोचक संवाद प्रस्तुत गरिएका यी लेखहरूमा नेपालका नागरिकले दार्जिलिङ भारतको मान्ने र भारतीयले नेपाली मान्ने गरेको तीतो यथार्थ उद्घाटन गरिएको छ । त्यस्तै त्यहाँ विभिन्न ठगीधन्दामा लागेका दलालहरूको लूटतन्त्रबाट लेखक आजित परेको प्रसङ्ग पनि निकै रोचक छ । जनताका सेवक पुलिसहरू दलालका सेवक बनेकाप्रति लेखक निकै आक्रोशित देखिन्छन्, अर्कातिर तत्कालीन पश्चिम बङ्गालका मुख्यमन्त्री ज्योति वसु र उनको माक्र्सवादी सरकारप्रति उनले व्यङ्ग्य गरेका छन् ।

वि. स. २०४५ सालमा भारतले नाकाबन्दी गर्यो । राज्य भारतीय अर्थतन्त्र निर्भर भएका बेला एकाएक नाकाबन्दी भएपछि नुन, चिनी, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यकीय वस्तुहरूको अभाव भयो । भारतले एउटा सानो देशमाथि गरेको नाकाबन्दीले नेपालीहरू व्यथित भए । कहिले खुल्ला यो नाकाबन्दी ? भनेर दिन गन्न थाले र जीवनले पनि गने– आज ३५ दिन भयो ।

जीवनले यस लेखमा धेरै गम्भीर विषयवस्तुको दिन गनेका छन् । जस्तै– “ल्यान्डलक्ड कन्ट्री रहेको मुलुक १९५० को सन्धि गरेर इन्डियालक्ड कन्ट्री सावित गरेको पनि आज ३५ वर्ष भयो । … प्रदीप गिरीले विद्यार्थी भड्काउने उधोग खोलेको आज २३ दिन भयो । २०४५ साल चैत्र १० गते सन्धी सकिए तापनि ६ गतेदेखि नै आवश्यक सामान पठाउने छाडेको पनि आज २०३ दिन भयो ।”

एउटा कवि जो घुम्ने मेचमाथि बस्नेविरुद्ध व्यङ्ग्य कसेर लेख्छ, अत्यन्तै लोकप्रिय हुन्छ र एकदिन आफैँ त्यही मेचमा बस्छ र लेख्न छाड्छ भने त्यो रमाइलो विषय हो– भूपी शेरचन ।

र जीवनको ‘जीवनीको आयु’ तोकिदिने अस्ट्रेलियन डाक्टरहरूको टोली प्रमुखले वीर अस्पतालमा जाँचेर “तेरो मुटुले १ वर्षभन्दा बढी काम गर्ने छैन, बाँच्नु छ भने तुरुन्तै दिल्ली जा भनेको पनि आज २४ दिन भयो ।”, यसरी जीवनलाई मृत्युको पूर्वसङ्केत डाक्टरहरूले दिइसकेको देखिन्छ तर आर्थिक आभावका कारण एक स्वाभिमानी, निडर लेखक तथा कलाकारले हामीलाई छाडेर गए ।

जीवन विचित्रका लेखक हुन् । उनको व्यङ्ग्यको झटारोमा जो कोही पर्छ र त्यो झटारोले भुँइमा केही न केही झार्छ पनि ।

कवि भूपी शेरचनमाथि उनले यस्तो व्यङ्ग्य कसे, “एउटा कवि जो घुम्ने मेचमाथि बस्नेविरुद्ध व्यङ्ग्य कसेर लेख्छ, अत्यन्तै लोकप्रिय हुन्छ र एकदिन आफैँ त्यही मेचमा बस्छ र लेख्न छाड्छ भने त्यो रमाइलो विषय हो– भूपी शेरचन ।”

भूपी बिरामी थिए, उनले २०२६ सालदेखि लेख्न छाडे, जीवनका पछिल्ला समयहरूमा त उनले “दिनको दुई हजार पर्ने क्याप्सुल आदि खाएर लगातार ५ वर्षदेखि बिछ्यौनामा छु भने ।”

एउटा लेखकको पीडा अर्को लेखकले बुझेको र देशमाथि कवि–कलाकारहरूको स्थितिबोध गराएको लेख हो यो । एकातिर भूपीजस्ता कवि र अर्कातिर जीवनजस्ता कवि, कलाकार व्यक्तित्वहरू देशका लागि लेख्दा र चित्र कोर्दाकोर्दै स्वयं आफ्नो जीवनको रङ सके तर आफ्नो जीवनको चित्र कोर्न र आफ्नो भविष्य लेख्न कहिल्यै सकेनन् । बाँचुञ्जेल उनीहरू सधैँ कालो भविष्य बोकेर बाँचिरहे । यही निर्मम दृष्यको परिकल्पना हो ‘भूपी शेरचन’ लेख ।

उपसंहार

अर्थात् बिम्बहरूको बिम्ब र प्रतीकहरूको प्रतीक प्रयोग गरी लेखिएको लेखहरूको रास हो । यस्ता बिम्ब र प्रतीकहरूका माध्यमबाट जीवनले राष्ट्रिय–अन्तराष्ट्रिय विषयमाथि गहकिला लेखहरू लेखेका छन् । अत्यन्त सटिक र सूत्रात्मक वाक्य गठनसहितका लेखहरूले सामाजिक मूल्य र मान्यताप्रति कतै समर्थन र कतै विरोधका आवाजहरू उरालेको पाइन्छ । यसमा तत्कालीन समयको सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, धार्मिक, सांस्कृतिक, मनोवैज्ञानिकजस्ता विषयहरूलाई अत्यन्त सूक्ष्मरूपमा प्रस्तुत गरिएको छ । यसका साथै विश्वशान्ति, भ्रातृत्व र मानवतावाद जस्ता अन्तर्राष्ट्रिय विषयवस्तुहरू पनि समेतिएका छन् । क्रान्ति र परिवर्तन तथा जनताको आकाङ्क्षाप्रति लक्षित लेखहरूले जीवन आफ्नो समयका एक बौद्धिक, स्वाभिमानी, कर्तव्यनिष्ठ, निडर लेखक थिए भन्ने पुष्टि हुन्छ ।

प्रतिक्रिया
Loading...