नेपाली साहित्यको सम्पूर्ण पत्रिका

पठन संस्कृति र यसको सामाजिक प्रभाव

पुस्तक संसारमा के के विषयका मात्र पुस्तक छैनन् र ? आवश्यकता महसुस गरेर खोजी गरेमा जीवन र जगतका तमाम विषयहरूलाई छर्लङ्ग तुल्याउने पुस्तकहरू प्रकाशित छन्।

‘कि पढेर जानिन्छ कि परेर’, भन्ने उक्ति हाम्रो समाजमा अझै पनि धेरै व्यक्तिहरूले बोल्ने गरेको सुनेका छौँ। काम गर्दै जाँदा आइपरेर सिकेका कुराहरू र पढेर किताबी ज्ञानको आधारमा हामीले गरेका सबै किसिमका व्यवहारहरूको समिश्रण नै हाम्रो सामाजिक व्यवहारको चरित्र हो। साउँअक्षर समेत नचिनेका हाम्रा बा-आमा पुस्ताका व्यक्तिहरूले आफ्नासामु आइपरेका अनेकौँ चुनौतीहरूलाई चिर्दै सबै व्यवहार टार्दै आउनुभएको हाम्रै आँखाले देखेका छौँ। उहाँहरूकै समकालीनहरू आफूले पढेअनुसारका काम गर्दै आउनु भएको पनि देखेकै छौँ। परेर जान्ने भएका र सोही अनुरूप परिपक्व काम गर्न सक्नेहरूले समाजको अनुहार नै बदलिदिएका उदाहरणहरू हाम्रासामु स्थापित छन्। त्यसैगरी पठन संस्कृतिमा औपचारिक अध्ययन गरेर हुर्केका पुस्ताले समाज रूपान्तरणमा खेलेका महत्वपूर्ण भूमिकाहरू पनि उदाहरण स्वरूप हाम्रासामु सर्वत्र रहेका छन्। लेखपढ गर्ने कार्य अनिवार्य सिद्ध भइसकेको अहिलेको आधुनिक समयमा समेत परेरभन्दा पढेर कार्यसिद्धि गर्नेहरूकै बाहुल्यता रहेको छ भन्ने कुरामा एकमत हुने स्थिति भने हट्न सकेको छैन।

वर्तमान् समयमा हामीले बटुलेका साराका सारा ज्ञानहरूको उद्गमबिन्दु हाम्रै पठन संस्कृति हो । विधार्थी छँदा हामीलाई देश, काल, परिस्थिति अनुसारका पाठ्यक्रमहरूको सहायतामा ज्ञान प्रदान गरिएको हुन्छ । कुनै पनि देशको भूगोल, इतिहास, कला, संस्कृतिदेखि भाषा, भेषभुषालगायत वृहत् क्षेत्रका बारेमा हामी पढेरै ज्ञान हासिल गर्छौँ। चाहे त्यो भाषा र व्याकरणका पुस्तक हुन् या विज्ञान, गणित विषयका नै हुन्। चाहे सामाजिक अध्ययनका पाठ्य पुस्तक हुन या व्यवसायिक सीप विकास गर्न सघाउने पुस्तकहरू नै किन नहुन्, हामीले यी सबै पुस्तकहरू पढेर समाजमा हामीले प्रभाव पार्न सक्ने विषय र क्षेत्र निर्धारण हुँदै आएको तथ्य कतैबाट लुकेको छैन। हामीले पढेर पाएका ज्ञानका हरेक कुराहरूले नै समाज रूपान्तरणमा प्रभावकारी भूमिका खेल्ने हो । त्यसो त पढेर भन्दा परेर जानेका कैयन् कुराहरूले अझै पनि समाजलाई अघि बढाउन मद्दत गरिरहेकै छन्।

औपचारिक रूपमा अध्ययन गर्ने क्रममा विद्यालय र विश्वविद्यालयहरूले विभिन्न शैक्षणिक कार्यक्रमहरूमार्फत् हामीमा ज्ञानको भण्डार भर्न प्रेरित गर्ने उद्देश्य राखेर पुस्तकहरू सिफारिस गर्दै आएका छन्। त्यतिले मात्र नपुग्ने देखेर बौद्धिक जगतका विज्ञहरूले विभिन्न विषयमा आधारित पुस्तकहरूसमेत प्रकाशन गर्नुहुन्छ। मानिसले गर्ने हरेक सामाजिक व्यवहारलाई सहयोग गर्ने हेतुले प्रकाशित ती सामाग्रीहरूले पठन संस्कृति विकास गर्न मद्दत गरिरहेका छन्। पठन संस्कृति विकास भएसँगै समाजमा त्यसले पार्ने प्रभावहरू सकारात्मक रूपमा अघि बढिरहेका पनि छन्। तर प्रविधिमा द्रूत गतिमा भइरहेको विकाससँगै पढ्नै नपर्ने तर हेरेर र सुनेर मात्र ग्रहण गर्न सकिने ज्ञान आर्जनका माध्यमहरू पनि हाम्रासामु आइसकेका छन्। लेखिएका कुराहरूसमेत आफूले नपढी प्रविधिमा आधारित बोली निकाल्ने सफ्टवयेरलाई नै पढ्न लगाउने अत्याधुनिक सुविधा निक्लिसकेको अवस्था हामीले अनुभव गरिसकेका छौँ। तर हामी जति धेरै सुनेर वा हेरेर मनन गर्न सक्छौँ, त्योभन्दा बढी आफैँले पढेर मनन गर्न सक्छौँ । हामीले गर्नैपर्ने आधारभुत काम भनेको लेख्ने र पढ्ने नै हो ।

दीपक श्रेष्ठ

कुनै पनि व्यक्तिले सोचेको कुरा दोश्रो व्यक्तिसम्म पुर्याउन सहज हुने माध्यम भनेको लेखन र पठन नै हुन्। एउटा व्यक्तिले लेखेपछि अर्को व्यक्तिसम्म पुग्न सहज हुन्छ। पढेपछि मनन गर्ने समय पाउँछ। पढेको कुरालाई व्यवहारमा उतार्न उसले असहज महसुस गरेमा पुनर्पठनको मौका पनि पाउँछ। साक्षर व्यक्तिलाई शिक्षित र प्रशिक्षित हुन पनि पठन संस्कृतिले निकै नै हौसला दिएको हुन्छ। पढेपछि उनीहरूले देखाउने सामाजिक व्यवहारमा पनि परिवर्तन आउँछ। पठन संस्कृतिले समाजको वृहत्तर हितको निम्ति महत्वपूर्ण योगदान पुर्याउन सक्छ। समाजका हरेक वर्ग, तह र तप्कामा रहेर जिम्मेवारी बहन गरिरहेका व्यक्तिहरूमा पठन संस्कृतिको थोरै मात्र भए पनि चेतना भएमा त्यसले पार्ने सकारात्मक प्रभाव दिर्घकालसम्म रहिरहन्छ।

पठन संस्कृतिले गर्दा जस्तोसुकै परिस्थिति पनि सहज बन्न सक्ने बारेमा हामी एउटा उदाहरण अगाडि सारेर हेर्न सक्छौँ। एउटा डाक्टरले रोग निदान र उपचारमा विज्ञता हासिल गरेको हुन्छ। यो ठूलो कुरा हो। त्योभन्दा बढी उसले रोगी तथा बिरामीहरूले भोग्नुपरेका आर्थिक, सामाजिक विषमताको बारेमा पनि जानकारी राखेका हुन्छन्। यो अझै महत्वपूर्ण विषय हो। एउटा डाक्टरमा आफूले सिफारिस गरे बमोजिमका स्वास्थ्यसम्बन्धी प्रोटोकलहरू बिरामीहरूले अवलम्बन गर्नसक्ने वा नसक्ने स्थितिको बोध गरेका हुन्छन् । यो अनिवार्य सर्त पनि हो। त्यसैले त हामी देख्न सक्छौँ, डाक्टर र बिरामीबीचको मजबुत सम्बन्ध । यसो हुनुमा डाक्टरले समाजका विविध पाटोहरूको अध्ययन अनुसन्धान गर्ने र त्यसलाई मनन गर्ने संस्कृतिको भूमिका ठूलो छ। डाक्टरले बिरामीको हातमा एउटा पुर्जी थमाउने बितिक्कै उसको भूमिका सकिँदैन। उसले त बिरामीको आधा रोग कुरा गरेरै निको पार्न सक्छु भन्ने आत्मविश्वास पालेको हुन्छ। असल पठन संस्कृतिको वातावरणमा तयार भएकाले नै डाक्टरहरूले यस्तो गहन भूमिका निर्वाह गर्न सकेका हुन्। यसरी आफूले काम गर्ने क्षेत्रको मात्र होइन, हरेक व्यक्तिले समाजका अन्य विविध पाटाहरूको बारेमा समेत जानकारी लिनुपर्छ। विविध विषयमा प्रकाशित पुस्तकहरू, पत्रपत्रिकामा प्रकाशित लेख रचनाहरू नियमित पढ्नुपर्छ। यसले समाजमा सकारात्मक प्रभाव पर्न जान्छ।

केही दशकदेखि भने पठन संस्कृतिमा आउँदै गरेको ह्रासले समाजलाई गलत दिशातर्फ मोडिन बाध्य पारेको छ। सम्बन्धित विषयमा लेखिएका लेख, पुस्तकहरू पढेर समस्याको पहिचान र समाधान गर्नतर्फ कोही पनि लागेको देखिदैन। मलाई लाग्छ, हरेक व्यक्तिले समाज पनि पढ्नु पर्छ। सामाजिक, सांस्कृतिक एवं आर्थिक स्थितिको बारेमा प्रत्यक्ष रूपमा कुरा गर्न अघि सर्नुपर्छ । तर अहँ, त्यस्तो केही हुन सकेको छैन। हामीहरू जे बोलिरहेका छौँ, जस्तो व्यवहार गरिरहेका छौँ, त्यो हाम्रो अध्ययनको कमीले गर्दा देखाइरहेका छौँ भन्ने मेरो बुझाइ हो।

पुस्तक संसारमा के के विषयका मात्र पुस्तक छैनन् र ? आवश्यकता महसुस गरेर खोजी गरेमा जीवन र जगतका तमाम विषयहरूलाई छर्लङ्ग तुल्याउने पुस्तकहरू प्रकाशित छन्।

हामीले देखे/भोगैका छौँ, प्राविधिक क्षेत्रमा काम गर्ने अधिकांश मानिसहरू अरूसामु ठालु पल्टिन्छन्। आफ्नो हातमा भएको जस्तो सीप अरूमा हुनै नसक्ने भन्दै अड्डी कसेको देखेका छौँ । आफ्नो क्षेत्रमा नवप्रवेशीहरूलाई हौसला नदिने व्यवहार र उनीहरूको घमण्ड भोगेका पनि छौँ। अनि उनीहरूकै अह्रनखटनमा चल्नुपरेको छ। यो सबै हामीमा पढ्ने लेख्ने कामको कमीले गर्दा भइरहेको छ। यदि हामीमा पढ्ने बानी छ भने जुनसुकै क्षेत्रमा आबद्ध भए पनि अन्य विषयहरूको बारेमा जान्न बुझ्न पुस्तक, पत्रपत्रिकामा प्रकाशित समाचार, लेखहरूबाट धेरै तथ्यहरू थाहा पाइरहेका हुन्छौँ । हामी ठगिनबाट बच्न सक्छौँ। पुस्तक संसारमा के के विषयका मात्र पुस्तक छैनन् र ? आवश्यकता महसुस गरेर खोजी गरेमा जीवन र जगतका तमाम विषयहरूलाई छर्लङ्ग तुल्याउने पुस्तकहरू प्रकाशित छन्। एउटा व्यक्ति जन्मनुभन्दा अघिदेखि बाँचुञ्जेल र मरिसकेपछि पनि के कस्तो अवस्थाबाट गुज्रनुपर्छ र के कसरी पाइला चाल्नुपर्छ भन्ने यथार्थले भरिएका पुस्तकहरू यथेष्ठ मात्रामा पाइन्छन्। पहिलोपटक सन्तान जन्माउने इच्छा गर्ने दम्पतीहरूले पनि पढ्नुपर्छ, धेरै कुराहरू थाहा पाउनुपर्छ । चिनेजानेका आफन्त, साथीभाइ अनि डाक्टरसँग समेत खुलेर सोधपुछ गर्न नसकेका कुराहरू सम्बन्धित विषयमा लेखिएका पुस्तकहरूले सहजै जिज्ञासा मेटाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ। केही वर्ष बच्चा जन्माउन नचाहने दम्पतिहरूले कसरी प्राकृतिक निरोधका उपाय अपनाउनेदेखि के कसरी नियोजनका साधनहरू प्रयोग गर्नेसम्मका सरल उपायहरूसमेत पुस्तकमा पढ्न पाइन्छ। यसले गर्दा पारिवारिक वातावरण झन् मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ। सबैतिर मनहरू सन्तुष्ट देखिनुमा यस किसिमका पुस्तक पठनको ठूलो हात रहेको हुन्छ।

बच्चा जन्मेपछि हुर्काउनको निम्ति आमाले लिनुपर्ने स्वास्थ्यसम्बन्धी सावधानी, खानपिन र स्याहार सुसारसम्बन्धी अचुक जानकारीसमेत पढेरै जान्न सकिन्छ। पढ्ने संस्कृतिले एउटा व्यक्तिलाई परिपक्व निर्णय लिनसक्ने स्थितिमा पुर्याएको हुन्छ। छोराछोरीको शिक्षादिक्षा र लालनपालनको निम्ति आवश्यक सबै कुराहरू सिक्न सकिने प्रशस्त ठाउँ दिएको छ।

विषयगत पुस्तकका अलावा अन्य विषयका पुस्तकहरूको पठनमा रूझान राखेको खण्डमा विधार्थीहरूले किताबी ज्ञानका अलावा व्यवहारिक ज्ञान पनि सँगसँगै आर्जन गर्न सक्छन्।

विद्यालय तथा विश्वविद्यालय जाँदैमा मात्र पूर्ण रूपले शिक्षा आर्जन गर्न सकिदैन। त्यहाँ कार्यरत सम्पूर्ण शिक्षक, प्राध्यापक, कर्मचारीहरूले समेत विषयगत पुस्तकका अलावा अन्य विषयका पुस्तकहरूको पठनमा रूझान राखेको खण्डमा विधार्थीहरूले किताबी ज्ञानका अलावा व्यवहारिक ज्ञान पनि सँगसँगै आर्जन गर्न सक्छन्। पठन संस्कृति विकसित भएपछि मात्र समाजलाई सही दिशामा डोर्याउन सक्ने सङ्कल्प गर्न सकिन्छ।

हामीले हाम्रो परिवार, समाज, देश र हामी बसोबास गरिरहेको पृथ्वी सम्पूर्णरूपमा हाम्रै सोचाइ अनुकूल अघि बढोस् भन्ने मान्यता राख्ने गर्छौँ। यो मान्यताले त्यतिबेला मात्र मूर्त रूप पाउन सक्छ, जतिबेला हामी हाम्रो धर्म, संस्कृति, इतिहास, परम्पराका साथै आफ्ना मूल्यमान्यताहरूलाई आत्मसात् गर्न सक्छौँ । यी सारा कुराहरू लिपिबद्ध भएर अनेक रङ र आकारमा पुस्तकमा रहेका हुन्छन् । पठन संस्कृतिबाट मात्र यस कुरालाई उजागर गर्न सम्भव हुने भएकोले समाजमा सकारात्मक प्रभाव पार्न पठन संस्कृति मानव सभ्यताको केन्द्रमा रहिरहनु जरूरी हुन्छ। यसलाई निरन्तरता दिनु हामी सबैको जिम्मेवारी हो।

प्रतिक्रिया
Loading...