नेपाली साहित्यको सम्पूर्ण पत्रिका

योनी चियाउँदा देखिएको कुरुप समाज

साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष  सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मिडियाकाे याे सन्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न  दुःख गर्नु नपराेस् भन्ने चाहना हाे ।

याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि  दिएका छाैँ ।

हामीले यो लेख हिमालखबर डटकमबाट लिएका हौँ । हिमालखबर डटकमका लागि यो लेख सविना देवकोटाले तयार  पार्नुभएको हो । यहाँ क्लिक गरेर यस लेखलाई हिमालखबर डटकममै पढ्न पनि सक्नुहुने छ ।

 

 

 

सान्दर्भिक पोस्ट

कविताः लाई

कविताः पिआइनी

कविता : अन्तर्मन

योनी चियाउँदा देखिएको समाज वास्तवमै ‘भयानक’ छ। स्वयम् आफ्नो मात्रै नभएर सम्पूर्ण परिवार/समाजकै इज्जतको भारी बोकेर दोब्रिएको उल्टो त्रिभुजाकारको योनी समाजको कुरुप अनुहार उतार्न पर्याप्त छ।

२६, वैशाख २०७७। रूपन्देहीको तिलोत्तमा नगरपालिका– १० शान्तिनगरकी ९ वर्षीया बालिकालाई १४ वर्षीय स्थानीय बालकले मार्ने धम्की दिंदै यौनाङ्गमा जबरजस्ती कोदालाको बिंड घुसारिदिए। जसका कारण उनको यौनाङ्ग र मलद्वारमा गहिरो चोट लाग्न पुग्यो।

“आखिर १४ वर्षीय बालकले आपसी रिसइबी साध्न र आफ्नो वर्चस्व जताउन ती बालिकाको योनी नै किन रोजे ?” चिकित्सा मानवशास्त्री सचिन घिमिरे यस प्रश्नको पहेली फुकाउँदा नै हाम्रा पितृसत्तात्मक पूर्वाग्रहहरू खोतलिने बताउँछन्।

दुई वर्षअघिको कुरा हो। स्नातक तह पढ्नका लागि काठमाडौंकी १८ वर्षीया एक युवती अमेरिका जाने भइन्। अमेरिका जाने उत्साह उनमा यति धेरै थियो कि अमेरिका जस्तो अत्याधुनिक परिवेशमा ‘सुहाउँदो’ हुनुपर्छ भन्ठानेर उनले छोटा पेन्टहरू किनिन्। छोटा पेन्ट (हट पेन्ट) लगाउनकै लागि उनले घरमा भएको रेजरले आफ्ना योनीका रौंहरू खुर्किन्। तर खुर्कंदै गर्दा उनको योनी काटियो। काटिएको योनीबाट रगत बग्न थाल्यो। तर त्यहाँबाट बगेको रगतबारे उनले घरमा कसैलाई भन्न सकिनन्। कारण– प्राकृतिकभन्दा केही भिन्न कारणले उनको योनी रगताम्य भएको थियो।

महीनावारी भएको बेला सबैले थाहा पाउने उनको रक्तस्राव त्यतिखेर भने कसैले थाहा पाएन। केही दिनमा रगत आफैं थामिएला भन्दै उनले औषधि पसलबाट मल्हम किनेर लगाइन्। तर योनीबाट रगत बग्न छाडेन। गुपचुप हुँदै उनले चार दिन बिताइन्। अत्यधिक रक्तस्रावका कारण पाँचौं दिन, घरमा सबैलाई थाहा भयो र उनी अस्पताल भर्ना भइन्। तर रक्तस्राव यति धेरै भएको थियो कि उनको योनीमा संक्रमण भइसकेको रहेछ। र अन्ततः छैटौं दिन अर्थात् अमेरिका जाने तीन दिनअघि उनको अस्पताल शय्यामा मृत्यु हुन पुग्यो।

लोकप्रिय नाटक ‘भजाइना मोनोलग’ मञ्चनको एक अन्तरक्रियात्मक कार्यक्रममा रंगकर्मी एवम् कलाकार लुनिभा तुलाधरले त्यो घटनाको स्मरण गर्दै भनिन्, “अस्पतालले ती युवतीको मृत्युको कारण एक्सिडेन्टल जेनिटल म्युटिलेशन एण्ड इन्फेक्शन भन्यो। तर त्यो ‘संकोच’ जसले उनलाई आफ्नै योनीमा लागेको चोटबारे कसैलाई भन्न नदिइकनै मृत्युको मुखमा पुर्‍यायो, त्यसलाई भने मृत्युको कारण कसैले मानेन।”‍‍

तीन वर्षअघिको एक घटना हो। काठमाडौं, चाबहिल निवासी ४० वर्षीया महिलाले पासो लगाएर आत्महत्या गर्ने प्रयास गर्दैगर्दा छिमेकी युवकले झ्यालबाट देखेपछि उनलाई उद्धार गरियो।

उद्धारपश्चात् मनोपरामर्शकोमा पुर्‍याइएकी ती महिलाले भनिन्, “यौनसम्पर्क गर्दा योनी सधैं दुख्न, पोल्न थालेपछि मैले श्रीमान्‌लाई यौन सम्पर्क गर्न दिइरहेकी थिइनँ।” एकाएक शरीर भारी लाग्ने, अकारण डर लाग्ने, केटा मान्छे देख्यो कि झर्को लाग्ने हुन थालेपछि उनले श्रीमान्‌लाई शारीरिक सम्बन्ध गर्न निषेध गरेकी रहिछन्। पटक–पटकको निषेधलाई श्रीमान्‌लाई अरू केटासँग लागेको ठहर्‍याउँदै दिनहुँ टोकसो गर्न थालेपछि ती महिलाले बाध्य भएर आत्महत्याको प्रयास गर्न पुगेको बताइन्।

भारतको आसामस्थित गुवाहटीमा रहेको कामरुप कामाख्या विश्वको सर्वश्रेष्ठ योनी पीठ हो जहाँ सतीदेवीको योनी पतन भएको मानिन्छ। तस्वीर: नेप्च्युनहाेलिडेज् 

 

मनोविद् गंगा पाठक भन्छिन्, “खासमा उनलाई महीनावारी बन्द हुने लक्षण देखिएका रहेछन्।” अधिकांश महिलाको रजनोवृत्ति अर्थात् महीनावारी बन्द हुँदा योनी दुख्ने, चिडचिडापन हुने, कसैकसैलाई डिप्रेसन हुने गर्दछ जसलाई ‘पेरिमेनोपज डिप्रेसन’ भनिन्छ। तर महिलाको हर्मोनल परिवर्तन र शरीरविज्ञान नबुझ्दा यसरी श्रीमती स्वपीडक र श्रीमान् परपीडक हुन पुगेका थिए।

केही वर्षअघि मकवानपुरमा पाठेघर खसेर बिचल्ली भएकी एक महिलालाई अनुनयविनय गरेपछि उपचारका लागि शिविरमा ल्याउन सफल भएकी डा.अरुणा उप्रेतीको यस्तै तीतो अनुभव छ। खसेको पाठेघरको सफल उपचारपश्चात् स्वस्थ शरीर लिएर प्रसन्न मुद्रामा ती महिला घर फर्किन्। तर घर फर्कंदा उनको खुशी भने लुटिए जस्तै हुनपुग्यो। जसै उनी घर पुगिन् उनको श्रीमान्‌ले जो पायो त्यहीलाई आफ्नो गुप्ताङ्ग देखाउने भन्दै कुटपिट गर्न थाले। यो घटनाको स्मरण गर्दा डा. उप्रेती अहिले पनि अवाक् हुन्छिन्।

योनीप्रतिको संकोचकै कारण काठमाडौंकी एक युवतीको मृत्यु हुनपुग्यो। योनीलाई नबुझ्दा एक महिलाले आत्महत्याको प्रयास गरिन्। र, हेयभावकै कारण श्रीमान्द्वारा एक महिला कुटिइन्।

नेपालमा मात्र होइन, संसारभर अधिकांश महिलाले आफ्नो यौनाङ्ग, यौन र यौनिकताबारे संकीर्ण र हेयभावले हेरेको पाइन्छ। त्यसमाथि पनि दक्षिण एशियाली समाजमा यौन र यौनिकताबारे खुल्नै चाहँदैनन्, महिला। मनोविद् करुणा कुँवर भन्छिन्, “किनकि उनीहरूलाई सानै उमेरदेखि योनीलाई फोहोर, घिनलाग्दो र लाजलाग्दो अंग भनेर सिकाउँदै आइएको छ। र परिणामस्वरुप योनी काटिंदा, घाउ हुँदा, पानी बग्दा, र बलात्कार नै हुँदा पनि घरकै निकट सदस्यहरूलाई समेत उनीहरू भन्न सक्दैनन्।”

आफ्नै यौनाङ्ग हेरेर योनीप्रति महिलाहरू कमै धारणा बनाउने गर्छन्। वैवाहिक वा शारीरिक सम्बन्धपश्चात् पार्टनर या श्रीमान्‌ले दिएको प्रतिक्रियाको आधारमा मात्रै अधिकांश महिलाहरू आफ्नो योनीको परिभाषा पाउने गर्छन्।

काठमाडौंकी एक महिलाले आफ्नो श्रीमान्‌द्वारा पाएको परिभाषा यस्तो थियो– ‘ग्याटिस गएको मोजा कहिल्यै देख्नुभएको छ ? मलाई उसको योनी ठीक त्यस्तै लाग्छ।’ आफूलाई श्रीमतीसँग यौन सम्पर्क गर्दा सन्तुष्ट नहुनाले परस्त्रीमा लाग्न बाध्य भएको ती पुरुषले मनोविद् कुँवरसमक्ष सुनाए। शारीरिक सम्बन्धको बखतमा मात्रै नभएर सधैंजसो घरझगडा हुन थालेपछि अनिंदोपन र डिप्रेसन भएर मनोपरामर्शमा आएकी ती महिलाले श्रीमान्‌ले भिराइदिएको योनीको परिभाषालाई शिरोधार्य गर्दै बच्चा पाएपछि आफू ‘झुत्री’ भएको हुनसक्ने बताइन्।

‘झुत्री’ हुनु भनेको खास के हो ?

सम्भवतः यी दम्पतीले दिएको अभिव्यक्ति हाम्रो पितृसत्तात्मक सोचलाई केस्रा–केस्रामा केलाउनका लागि एक बलियो ‘केस स्टडी’ हुन सक्छ।

महिलाका योनी बारे व्याप्त यस्ता भ्रम भत्काउन जरूरी भएको स्त्रीरोग विशेषज्ञहरूले बताउँदै आएका छन्। जैविक विज्ञान भन्छ– ‘मांसपेशी स्वतस्फूर्त खुम्चने र तन्कने गर्दछ। चाहे त्यो योनीको मांसपेशी होस् या लिंगको। बच्चा पाउँदैमा यो खुकुलो हुने र नखुम्चिने भन्ने हुँदैन।’ मांसपेशीको धर्म नै खुम्चनु र तन्कनु हो। त्यसो त महिलाको ‘क्लिटोरिस’मा आठ हजार नसाका रेसाहरू (पुरुषको तुलनामा दुई गुणा बढी) पाइन्छ जसले मांसपेशीलाई आवश्यक रूपमा लचिलो बनाउन मद्दत पुर्‍याउँछ।

डेढ वर्षअघिको कुरा हो। महिलाहरूको एक अनौपचारिक भलाकुसारीमा योनीको कथित मापदण्ड सुनेपछि जोरपाटी, आरुबारीकी एक ४५ वर्षीया महिला हतास हुन पुगिन्। उनले सुनेको मापदण्ड थियो– ‘बच्चा पाएपछि महिलाको योनी खुकुलो हुनाले लोग्नेमान्छे परस्त्रीमा लाग्न बाध्य हुन्छन् !’ गफ सुनेपछि घरमै बेथा लागेर छोरा पाउँदा आफ्नो योनी केही च्यातिएको हुनसक्ने आशंका एकाएक उनले छोरा पाएको १८ वर्षपछि गरिन्। घरमा श्रीमान् नभएको मौका पारेर उनले अस्पताल गई आफ्नो योनी सिलाइन् (भजाइनोप्लाष्टी गरिन्)। स्टिच गरिएकोे ‘टाइट’ योनीप्रति श्रीमान्को प्रतिक्रिया कस्तो होला ? उनले मीठो अनि भीमकाय कल्पना गर्न थालिन्।

एक हप्तापश्चात् श्रीमान् घर फर्किए। तर ‘बेड’मा उनको प्रतिक्रिया खास फरक भएन। पुरानै अनि सामान्य प्रतिक्रियाले उनी हतास भइन्। त्यसपश्चात् उनले श्रीमान्लाई शंका गर्न थालिन्। कपोलकल्पित रूपमा शंका गर्ने बानीले उनमा एन्जाइटी, ‘एटेन्सन सिक’ गर्ने बानी बसेपछि उनी मनोविद् गंगा पाठकसमक्ष प्रश्न लिएर उभिइन्– ‘जाडोमा डिप्रेसन बढी हुन्छ रे, हो मिस ?’

कपोलकल्पित रूपमा शंका गर्ने बानीले ‘सोमाटाइजेसन’ भएकी ती महिलालाई परामर्शपश्चात् भने योनी बारे फैलिएको भ्रम बुझ्न कुनै कठिनाइ भएन। शायद त्यसैले भन्ने गरिन्छ, यौन शरीरमा होइन, दिमागमा हुन्छ।

पूजनीय योनी

महाभारतमा भनिएको छ– ‘राजा ययातिकी छोरी माधवी प्रत्येक समागमपछि पुनः कुमारी हुन्थिन्।’ एकपछि अर्का राजा, ऋषिलाई सहवासलगत्तै चक्रवर्ती छोरा दिएकी माधवी महाभारतकी एक त्यस्ती अतुलनीय पात्र हुन् जसले योनीको कौमार्यता र पवित्रतालाई जोड्न खोज्ने पितृसत्तात्मक समाजलाई जवाफ दिएकी छन्। सम्भवतः जैविक विज्ञानले भने अनुसार योनीको मांसपेशी लचकदार हुन्छ भन्ने बलियो प्रमाण नै माधवी हुन्।

प्रत्येक महीना योनी ‘वाक्सिङ’ गर्नैपर्ने, ‘वाक्सिङ’ गर्न ढिला भए झगडा पर्ने भएपछि आजित हुँदै आफ्नो योनी सधैं मुलायम हुनुपर्ने दबाब दिने श्रीमान्‌लाई कसरी सम्झाउने भन्दै आउने महिलाका प्रश्नले मनोविद् कुँवरलाई विस्मित तुल्याउने उनको भनाइ छ।

‘कुमारसम्भव’ महाकाव्यको पहिलो सर्गमा पार्वतीको प्रत्येक अंग–प्रत्यङ्गको सुन्दरताको व्याख्या गर्ने क्रममा कालिदासले पार्वतीको योनीदेखि नाभिसम्म स–साना केशका लहरा भएको उल्लेख गरेका छन्।

हाम्रा शास्त्रले महिलाको शरीरको रौंलाई सहर्ष स्वीकारेको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वमीमांसा तथा तन्त्र विभागका उपप्राध्यापक माधव लामिछाने बताउँछन्। उनी भन्छन्, “बृहदारण्यक उपनिषद्मा महिलाको योनीलाई वेदी र योनीका रौंलाई कुशको संज्ञा दिइएको छ।”

त्यसो त हाम्रा शास्त्रीय एवम् पौराणिक कथनलाई अवलम्बन गर्ने हो भने योनीको पूजा पनि हुने गर्दछ। हिन्दू धर्ममा पूजा गरिने शिवलिंग तलको जलहरी योनी हो।

उपप्राध्यापक लामिछाने भन्छन्, “भारतको आसामस्थित गुवाहटीमा रहेको कामरुप कामाख्या विश्वको सर्वश्रेष्ठ योनी पीठ हो जहाँ सतीदेवीको योनी पतन भएको मानिन्छ। पृथ्वीको योनी मानिने कामरुप कामाख्याको छिद्रलाई कुलदीप माताको योनी मानिएको छ। जहाँबाट पानी बग्दछ। भनिन्छ, त्यस छिद्रबाट प्रत्येक वर्षको २२, २३, २४ जूनमा तीन दिन रज (रगत) बग्छ र यही कारण त्यसलाई भूमिरज भनिएको हो। यी तीनै दिन कामाख्याको मन्दिर बन्द हुने गर्दछ। र, २५ जूनमा भूमिपूजा गरिन्छ।”

कौलमार्गको उत्पत्ति नै कामरुप कामाख्यामा भएको मानिन्छ। संस्कृतिविद् डा.जगमान गुरुङ भन्छन्, “काठमाडौंका नेवारहरूलाई कौलमार्गी भनिन्छ। उनीहरूले गर्ने मच्छिन्द्रनाथको पूजालाई चक्र पूजा अर्थात् योनी पूजा भनिन्छ।” त्यस्तै गुह्येश्वरीमा रहेको छिद्रलाई पनि योनी पीठ मानिन्छ र छिद्र माथि कलश राखी पूजा गर्ने गरिन्छ।

यसरी योनी पूजाको इतिहास बोकेको देश÷समाजमा योनी पुजारी भने आखिर किन भेटिंदैनन् त ? योनीहरू किन प्रताडित भइरहेका छन् ? योनीलाई किन बुझ्ने प्रयास भइरहेको छैन ? संभवतः आजको समाज र महिला अधिकारको पक्षमा जवाफ खोजिनुपर्ने गरिका केन्द्रमा रहेका प्रश्न हुन् यी।

योनीका ध्वनि

“म मेरी १८ वर्षीया छोरीलाई प्रत्येक वर्ष उसको जन्मदिनमा ‘भर्जिनिटी टेस्ट’ गर्न स्त्रीरोग विशेषज्ञकोमा लैजान्छु”, चर्चित अमेरिकी र्‍यापर टी.आई (क्लिफोर्ड ह्यारिस) ले लोकप्रिय पडकास्ट ‘लेडिज लाइक अस’ मार्फत गत वर्ष नोभेम्बरमा यस्तो उद्घोष गरे। जसले गर्दा उनको सर्वव्यापी विरोध भएको थियो। वास्तवमा एक बाबुले आफ्नी छोरीको ‘चरित्र’ बुझ्नका लागि गरेको यो प्रयासबाट नै हामी योनीको कम र हाम्रो बुझाइको धरातल बढी मापन गर्न सक्छौं।

हिन्दू धर्ममा पूजा गरिने शिवलिंग यसकाे तलको जलहरी योनी हो। तस्वीर: गेट्टीइमेजेज्

 

 

 

 

 

 

 

 

 

 

 

वास्तवमा योनी जीवनको शुरूआत हो। तर जीवन शुरू हुने योनीबाट खुशी किन अन्त्य भइरहेछन् ?

प्रत्येक जीवन महिलाको योनी यात्राबाट पार हुँदै यस धर्तीमा अवतरित हुने गर्दछ। यस अर्थमा हेर्दा महिलाको योनी प्रत्येक मानिसका लागि उद्गमस्थल हो। योनी उर्वरता र प्रजनन्‌काे प्रतीक हो।

नौ वर्षअघि भारतमा महिलाको यौनांग गोरो तथा टाइट बनाउने भन्दै ‘एट्टिन अगेन’ नामक जेल/क्रिमबारे प्रसारण भएको एक विज्ञापन निकै विवादित बन्न पुग्यो। ‘फिल्स लाइक अ भर्जिन’ ट्यागलाइनसहितको उक्त ६० सेकेण्डको विज्ञापनमा श्रीमतीले यौनांगमा क्रिम प्रयोग गरेको संकेत दिने बित्तिकै श्रीमान् कामुक भई उनलाई प्रेम गर्न थाल्छन्। पुरुषलाई सन्तुष्टि दिनका लागि के महिलाको अनुहारदेखि गुप्ताङ्ग समेत गोरो र आकर्षक हुनैपर्ने हो ?

अचम्मको कुरा त के भने यस्तो विवादकै बीच उक्त क्रिम उत्पादन कम्पनी, अल्ट्राटेक ले सो क्रिममार्फत महिला सशक्तीकरणलाई नै पुनर्परिभाषित गरेको दाबी समेत गरेको थियो। सम्भवतः ६० सेकेण्डको विज्ञापन आजको समाजमा महिलाप्रतिको पुरुष मानसिकताको प्रतिबिम्ब उतार्न पर्याप्त छ।

आखिर गुप्ताङ्ग भनिएको योनीको मापदण्ड कसले निर्धारण गरिदियो ? आकर्षक योनीका लागि मापदण्ड के हो ? योनी कस्तो हुनुपर्छ ? आखिर यो केको मापदण्ड हो ?

ललितपुर, धोबिघाटस्थित नेपाल प्लास्टिक कस्मेटिक एण्ड लेजर सेन्टरले त आफ्नो वेबसाइटमा नै लेखेको छ– ‘बच्चा पाएपछि, बूढो हुँदै गएपछि, धेरै जनासँग सहवास गरेपछि र योनीजन्य भागको शल्यक्रिया गरेको खण्डमा महिलाको योनी खुकुलो र कमजोर हुन्छ। चाहे जेसुकै होस्, महिलाको योनी टाइट र संवेदनशील हुनैपर्छ।’

महिलाको शरीरलाई उपभोक्तावादसँग जोडेर योनी बारे यस्ता भ्रामक सूचना फैलाउँदै उसको योनीलाई समेत वस्तुकरण गरी निर्धारण गरिएका घोषित/अघोषित मापदण्डहरूले हाम्रो समाज र समझ दुवैको संक्रमण देखाएको चिकित्सा मानवशास्त्री सचिन घिमिरे बताउँछन्।

सन् २०१६ मा संयुक्त राष्ट्रसंघ बाल विकास कोष (युनिसेफ) ले प्रकाशन गरेको ‘फिमेल जेनिटल म्युटिलेशनः अ ग्लोबल कन्सर्न’ जर्नल अनुसार विश्वभरका कम्तीमा पनि २० करोड महिलाहरू विभिन्न सांस्कृतिक, सामाजिक र धार्मिक रीतिरिवाजको नाममा ‘जेनिटल म्युटिलेसन’ अर्थात् योनी छेदनको शिकार हुन बाध्य छन् जसमध्ये ४४ लाख युवती १५ वर्षमुनिका रहेका छन्।

योनी चियाउँदा देखिएको समाज वास्तवमै ‘भयानक’ छ। स्वयम् आफ्नो मात्रै नभएर सम्पूर्ण परिवार/समाजकै इज्जतको भारी बोकेर दोब्रिएको उल्टो त्रिभुजाकारको योनी समाजको सुल्टो अनुहार उतार्न पर्याप्त छ। योनीको समाजशास्त्रीय अध्ययनले यही भन्छ।

“हामीसँग भएका जति पनि सांस्कृतिक, सामाजिक, भावनात्मक, ऐतिहासिक या कानूनी पितृसत्तात्मक पूर्वाग्रहहरू छन्, ती अन्ततोगत्वा शरीरका अंग, ‘बेडलाइफ’ मा मात्रै नभएर महिलाको योनीमा समेत प्रतिबिम्बित हुँदोरहेछ” चिकित्सा मानवशास्त्री घिमिरे निष्कर्ष निकाल्छन्, “जुन अंगबाट पुरुष सन्तुष्टिको उपभोग गर्छ, सोही अंगमा प्रहार गर्नु विरोधाभास हो।” पितृसत्ताले महिला पुरुषको सम्बन्धलाई सन्तुष्टिको विन्दुमा मात्रै संकुचन गर्न खोज्नुको भागिदार महिला र पुरुष दुवै हुन पुगेको उनको टिप्पणी छ।

महिलाहरू आफ्नो यौनाङ्ग, यौनिकता र यौनबारे के सोच्छन् ? के भन्छन् ? स्वेच्छाभन्दा धेरै पर दबाबले दबिएका महिला पुरुषबाट आखिर कस्तो प्रेम, सद्भाव र व्यवहारको अपेक्षा राख्छन् ? उनीहरूलाई के गर्दा र के नगर्दा सहज हुन्छ ? के हामीले कहिल्यै सोचेका छौं ? के हामीले कहिल्यै योनीको ध्वनि सुनेका छौं ?

 

प्रतिक्रिया
Loading...