नेपाली साहित्यको सम्पूर्ण पत्रिका

बासी दैनिकी

उसले एकफेर अघिको अनुहार (विशेषत: शरीर) लाई सम्झियो । डमडम्तीको कसिलो स्तनका गोलाई सम्झियो । पोटिला ओठहरू, रसिला हर्कतहरू सम्झियो । ती कपाल पनि उसको सम्झनामा अटाए । उसलाई कताकता काउकुती जस्तो केही लाग्यो ।

ऊ साँझसम्म घर पुग्न भ्याएको छैन । बिहान हुनलाग्दा घरदेखि निस्किएको थियो ।

दृश्य-१:

हजारौँ पैतालाको डोबहरूलाई अँगालिरहेछ सडक । सोही सडकले उसको पैतालाहरू पनि जोडसँग समातिरहेका थिए । ऊ फुत्काउन चाहन्छ आफ्ना पैतालाहरू । उसलाई धेरै पर… पुग्नुछ, जहाँ बटुवा कुरी बस्ने गोरेटाहरू नहुन्, टेक्ने कुनै धरती नै नहोस् ।

उसलाई आफ्ना हातहरू पखेटा जस्तै लाग्छ । पखेटा फटफटाउछ … हात चलमलाउँछ ।.. उड्न खोज्छ ।

..फुत्त.. सडकले उसको खुट्टा समाउन छाडिदिन्छ,… र ऊ लड्न पुग्छ.. परसम्म.. निकै परसम्म । यद्यपि ऊसँग अझ पनि हिँड्नुपर्ने जरुरत र पुग्नुपर्ने ठेगाना छैन । तर पाइलाहरू घिसार्नुको बाध्यतासँग ठोक्किन पुग्छ ।

यसो भन्न सकिएला, यतिखेर ऊ बाच्नुपर्ने कारणहरू खोज्दै छ । क्षितिजमा टाँगिएको साँझले उसलाई आफ्नो आस्थाको सुकुल ओछ्याउन अह्राएको छ । र, ऊ हालसम्म जीवित यसकारण छ कि- हर प्रकारका परस्थिति र परिवेशलाई ग्वाम्ल्याङ्ग अँगालो हाल्न सक्दछ । घटना/परिघटनाहरूलाई जति छिटो आत्मसात् गर्न सकिन्छ उति छिटो खुसी हुन सकिन्छ भनेर उसलाई बह्मज्ञान प्राप्त भएको छ । र, ऊ निरुद्देश्य बहकिनु या त भड्किनुलाई आस्थाको थुम्को मानेर सहरका अप्ठ्यारा/काला/अँध्यारा गल्लीमा लड्खडाइरहन्छ ।

हो पनि, मानिस हिँडिरहेका छन्, हिँडिरहनु पर्दछ । पुग्न सक्दैनन्, पुगिहाल्दैनन्, पुगिहाल्नु पनि हुन्न । यात्राको मिठास निस्कनु र नपुग्नुमा छ । हिँड्नु पर्दछ – खुट्टाले । सकिएन भने हातले । अझ नसके आँखाले । अझै सकिएन भने मस्तिष्कले ।.. मनले । .. नभए विचारले । … अझ पनि सकिएन भने टाउकोलाई पैताला बनाउनु उपयुक्त छनोट हुनसक्छ ।

मान्छेसम्म आइपुग्न नसकेको मानव सभ्यतालाई हात दिनु, मान्छेसम्म आइपुग्न सुदूरसमयदेखि यात्रारत मानव आदर्शलाई पर्खनु र मान्छेदेखि धेरै पर पुगिसकेको कारुणिक/प्रेमिल/दयावान/निष्ठावान यथार्थतालाई बहिरो/कानो/लङ्गडो/लाटो र मूर्ख बताउनु- ऊ जान्दछ यही नै बाँच्नु हो । जीवन्तताको जीवाणु आफूभित्र अझै रहिरहेको.. चेतन रहिरहेको बताउन उसले पनि आफूलाई भ्रममा धकेलिरहनु परम् आवश्यक छ ।

°°°

राजु झल्लु

ऊ यसकारण दुःखी छ- चित्तको चित्त बुझाउनु नै चिताको दैलो बन्द गर्ने/गराउने एउटा मात्रै वैकल्पिक उपाय हो, जुन ऊ जान्दछ । तर उसले यतिखेर चित्तको चित्त बुझाउने वैकल्पिक बाटो भेटिरहेको छैन । ऊ बताउन असमर्थ छ कि, उसको चित्तले खोजिरहेको के हो ? कुन वस्तु ? कुन ठेगाना ? कुन प्राप्ति ?

ऊ आफ्नो पेटभन्दा मस्तिष्क बलियो भएको ठान्दछ । यसै कारण पनि ऊ यस सहरमा रित्तो पेटको आवाज; समयकै एक सुर, लय र छन्द भएको मान्दछ । कहिलेकाहीँ हुन्छ- पेटको भोकले मस्तिष्कको आवाजलाई बेवास्था गर्छ । तत्क्षण पेटको भोक हृदय छेड्ने तीखो सियो रहेको वास्तविकतासँग पनि ऊ अंगिकार हुन पुग्दछ । तर राति ननिदाएको व्यक्तिले बिहानलाई अस्वीकार गर्न कहाँ सक्दछ ?

ऊ कुनै मन्दिरको प्राङ्गणमा उभिन पुगेको रहेछ । जहाँ चट्याङ बज्रिरहेका मुटुहरूको आवाज सुन्न सकिन्छ । भक्त र पुजारी दुवैद्वारा तिरस्कृत भगवानका आकार बनाउने नवनिर्मित कलाकारका औँलाका डोबहरू देख्न सकिन्छ । श्रद्धान्वीत झुकेका श्रद्धालु शीर र आशातीत पसारिएका कमजोर हातहरू देखिन्छन् ।

यी-यस्ता श्वासधारी व्यक्तिभन्दा अलग्गै उभिएको ऊ एकाएक मन्दिरको छानामाथि नजर चिप्लाउँछ। जहाँ उसले वर्तमानको झाक्रीहरूका पन्युद्वारा डामिएका इतिहासको कुरूप पिठ्युँहरूको व्यंग्यचित्र भेट्छ । जहाँ कलालाई गुलाम बनाई उनिएको मेसिनगनको मालाहरू, ध्वजापताकाहरू भेट्दछ । र, सँगसँगै उसका कुहिरोले कठयाङ्ग्रिएका आँखाहरूले इतिहासको मुखैनेर बिस्टाइरहेका हुलका हुल, बथानका बथान सेता, खैरा, काला-सेता परेवाहरूको झुन्ड देख्दछ ।

उसलाई त्यतिबेला विवेकको खाँचो पर्छ । धैर्यताको खाँचो पर्छ । अथवा प्रतीक्षाको स्वार्थपन टड्कारो आवश्यक पर्दछ ।

हेरिरहँदा ऊ देख्न पुग्छ- परेवाहरू कालभैरव आँखामा अड्किएको अक्षताको दाना टिपिरहेका छन् । उसलाई आँखाको पाइलापिच्छे भेटिएको यी विभत्स पौराणिक कथानकहरू कुनै विशाल यज्ञमा बालिएका रगतका दियोहरू जस्तै प्रत्याभूत हुन्छ ।

उसलाई त्यतिबेला विवेकको खाँचो पर्छ । धैर्यताको खाँचो पर्छ । अथवा प्रतीक्षाको स्वार्थपन टड्कारो आवश्यक पर्दछ । त्यस विषम परिस्थितिमा ऊ आफैँ आफूलाई पहरा दिन यथेष्ट रूपमा क्रियाशील देखिन्छ । र वास्तविकता यति क्रूर छ कि, उसको हृदयमा रावणले ताण्डप नाचिरहेको छ । र, सीताको सतित्त्व; मानौँ उसको रगतको प्रवाहमा सन्चारित भएको छ । निकै अघि र निकै पछिको घटना जब वर्तमानको परिधिभित्र समाहित हुन पुग्दछ- त्यतिखेर युगौँदेखि शान्त रहेको कुवामा एउटा चकचके भ्यागुतो पर्न आइपुग्छ । र, तब छल्याक्क आवाज साथसाथै सुरू हुन्छ- ट्वार ट्वार… एक पट्यारलाग्दो आवाज ।

जसले निश्चित छ- फूल जस्तो छातीमा चट्टान उत्खनन् गरिदिन्छ ।

उसले बिर्सिएको छ- ऊतर्फ लम्किरहेको समयको औँलो समाउन । र, तत्क्षण ऊ लड्न पुग्छ- तिर्खाको प्राचीन गुफाभित्र । जहाँ उसले आफ्नो छायाको टुक्राहरू खण्ड खण्डमा छरपस्ट भएको पायो । त्यतिबेलासम्म ऊ विस्मृतिको दहभित्र डुबेको थियो, जतिबेलासम्म उसले आफ्नो छायाको टुक्राहरूलाई सगाल्न सकेन र सग्लो आफ्नो शरीर निर्माण गर्न सकेन ।

निकैबेर पछि.. उसले आफ्नो मस्तिष्कलाई लुगा खोल्न लगायो । पूर्णत नाङ्गो हुन भन्यो । त्यसको केही समयपश्चात् उसले हृदयलाई उक्त पहिरन धारण गर्न अह्रायो । र, त्यसको पनि केही समयपश्चात् ऊ ‘माछाको आँसु’ निकालेर रुन थाल्यो ।

आँसु- जसले जन्मथलो भनेको टाढादेखि सम्झने चीज हो भनी उसलाई सम्झाए ।

आँसु- जसले आमाबाउ भनेका उदास गीत जस्तै हुन्, साहारा नपाउँदा, हृदय रित्तो हुँदा गुनगुनाउने शब्द हुन् भनी उसलाई सम्झाए ।

आँसु – जसले उसलाई बुद्ध हुनु भनेको पनि एउटा विद्रोह हो भनेर सम्झाए ।

आँसु- जसले उसलाई विरुपाक्ष हुनु भनेको पनि जीवनको जीत हो भनी सम्झाए ।

आँसु- जसले हिजो खरानी हो भनेर सम्झाए, उसलाई ।

आँसु – जसले भोलि दाउरा हो भनेर सम्झाए ।

र, आँसु- जसले आज बल्नु र बलिरहनु हो भनेर सम्झाए, उसलाई ।

ऊ एकपटक पुन: यस्तै कुनै ठेगानाविहिन सोचाइको गल्लीहरूमा भौतारिन पुग्दछ ।

यो स्वीकार्नु पर्दछ कि, यसपछि ऊ थोरबहुत सम्हालियो । कहीँकतै उसले आस्थाको बीउ अंकुरण भएको पायो । आस्था- जो बलियोले आफ्नो डर देखाउन कमजोरमाथि सुनाएको एक बाध्यात्मक अभिव्यक्ति हो, जसले कमजोरको आत्मबल/साहस र दृढतालाई हरबखत फाँसीको तख्तामा झुन्डाइदिने गर्दछन् ।

यद्यपि जीवनमा जब जिउँदै रहन प्रयाप्त कारण हुँदैनन्, त्यतिखेर मृत्यु हितौषीको खोकी, बोलावट या पाइलाको आवाज बराबरकै आत्मीय हुन पुग्दछ । ऊ एकपटक पुन: यस्तै कुनै ठेगानाविहिन सोचाइको गल्लीहरूमा भौतारिन पुग्दछ ।

°°°

कुनै त्यस्तो कारण थिएन कि तर त्यसबेला सहरमा वर्षा भयो । केही समयसम्म.. वर्षा उसको जुत्ता भिजाउन क्रियाशील रह्यो । त्यसबीच सहरका खाल्डाखुल्डी र जमेका आहलमा रङ्गीबिरङ्गी मनुवाधारी पोसाकहरूले आ-आफ्ना काला छाता उघारेर रात आँगनमा आइपुग्न लागेको जनाउ दिए ।

हठात् ! उसलाई पनि घर फर्कनु पर्ने.. त्यसो होइन घर पुग्ने पर्ने रहर पलायो । ऊ उठ्यो । पानी रोकिएको थिएन । डिलमा उभिएर सहरका विभिन्न पोखरीका माछाहरूलाई आहारा खुवाइरहेको आफ्नै कुनै गएगुज्रेका दिनहरू सम्झियो । अहँ.. यसो गर्दा पनि उसको मन किन्चित खुसी छैन ।

… केहिबेर अझ ऊ त्यसै अडियो । जसै पानी रोकियो उसले देख्यो- परेवाहरू पुन: रात्रिकालीन डिनरको लागि भुँइभरि अवतरित भए । भिजेका गह्रौ पखेटा फट्कार्दै ती शान्तिदूत बिम्बधारी कन्चन पन्क्षीहरू छरिएका कुरकुरे, चाउचाउ, बिस्कुटका टुक्रा, मकैका दानाहरू निल्न थाले ।

उसलाई हरेक थोकसँग पट्यार लाग्यो । ऊ भिजेको जुत्ता उचाल्दै, पाइलाहरू गह्रौ बनाउँदै घरतर्फ लाग्यो- आफूलाई भेट्न नसकेको एक तीतो यथार्थ जिब्रोको टुप्पोमा बोकेर ।

दृश्य-२ :

रातको सुस्त सवारीसँगै घरहरूका झ्यालहरू टिलपिलाउन थालेका थिए । आकाश निमिट्यान्न् अध्यारो थियो । र, ऊ उभिइरहेको सहर आकाशका जम्मै जून तारा सोहोरेर चम्किरहेका थिए । विभिन्न घरहरूका अलग-अलग बत्ती/ल्याम्पोस्ट र गाडीका हेडलाइटका कारण सिङ्गोमा एउटा उसको पाँच/सात वटा छायाहरू चलमलाइरहेका थिए । अघि पछि.. पछि अघि । दायाँ बायाँ… बायाँ दायाँ । ..

हुन्छ.. कहिलेकाहीँ हुन्छ ! आफूलाई खोज्न भीडमा निक्लदा आफैँलाई खोज्दै कोही आइपुग्दछ । यो आकस्मिक मात्रै नभैई आकर्षक संयोग पनि हो । आज त्यस्तै केही भयो ।

उसले हात चलायो। ती कपाल पन्छाउन खोज्यो। तर उसका काला रङका हातहरूले ती कपाल समात्न सकेन । उसले प्रयास गर्यो । गरिरह्यो…

ऊभन्दा अगाडि लम्किरहेको उसको छाया त्यहाँ पुगेर टक्क अडियो- जहाँ एक चुल्ठो कपालहरू हावासँग बयेली खेलिरहेका थिए । ती लामा कपालहरू उनका स्तन आसपास छरपस्ट थिए । कुनै कविको बासी दैनिकी जस्तै । असरल्ल …

उसले हात चलायो। ती कपाल पन्छाउन खोज्यो। तर उसका काला रङका हातहरूले ती कपाल समात्न सकेन । उसले प्रयास गर्यो । गरिरह्यो…

सुस्तरी सुस्तरी ती दुई थान मनुष्यका चार थान पैतालहरू नजिक भए । उनीहरूका छायाहरू क्रमश: एकअर्काको छायामाथि खप्टिन थाले । मनलाग्दीसँग । मनपरीसँग । निकै यौनिक खप्टाईहरु थिए ती । यसरी हेर्दा छायाहरू निकै कामुक देखिन्थे ।

तर वास्तवमा उनीहरू बीच दूरी थियो । एउटा लामो दूरी । शब्द थिएन् त्यहाँ । बोली थिएन् । यस्ता दूरीहरूको लम्बाई यथार्थमा नाप्न सम्भव पनि छैन ।

त्यस क्षण उसलाई लाग्यो- यी दुई छायाको मुटु बेस्सरी धड्किरहेको छ । कम्सेकम उसको मुटुचाहिँ धड्किरहेकै थियो ।

उनीहरू अझ नजिक भए । एकअर्काको हृदयको आवाज टड्कारो सुनिन थाल्यो । अकस्मात् उसका परेलाहरू उघ्रिए । तर उनका परेलाहरू झुके । उनको झुकेका परेला देखेर झनै साहसका साथ उसका आखाँहरूले आँखा, नाक, ओठ हुँदै उनका छातीसम्मको एक मादक यात्रा गरिसिध्याए ।

उसको यस किसिमको यात्राले उनमा असहजता उत्पन्न भयो । उनको सन्ध्याकालीन ओठमा रातको कालो रङ पोतियो । कच्याकुचक भयो त्यो अनुहार । उनको नाक कुनै गुह्य गन्धले भरिए । मुखमा एक पित्को थुक सोहोरेर उनी आफ्नो छाया अगाडि लगाउँदै त्यहाँबाट अलप भइन् ।

तत्क्षण, कुनै टाकुरामा आइपुगेर विश्राम खोजिरहेका जस्ता देखिने उसका आखाँहरू एक्कासि भुइँमा खस्न पुगे । एउटा लामो खसाई,.. कठोर हृदयको चट्टानमा । .. झड्याम्म । .. आवाज आउँछ । दिल टुटेको । उसको । छटपटायो ऊ । ती सडकहरूले पुन: अठ्ठाए उसलाई । निमोठियो ऊ । रुष्ट भयो । आफैँसँग । अनि उनीसँग पनि.. त्यो चाहिँ केहिबेर पछि ।

उसले त्यसअघि के-के गर्यो ?

उनको ओठमा लाली थियो– उसले चुसिदियो ।

उनको गालामा जवानी थियो– उसले टोकिदियो ।

उनको कम्मरमा बेग्लै उन्माद थियो – उसले सुमसुमाइदियो ।

उनको स्तनहरूको रवाफिलो उचाइ थियो – उसले मिचिदियो ।

तर… उनको आखाँमा घृणा थियो – त्यो उसले हेर्न सकेन । उसले उनको आँखामा हेर्न सकेन । त्यसलाई उसले केही गर्न सकेन ।

एउटी तरुनीलाई देखेर मस्किएका उसका आँखाहरू उनको बेवास्ताले त्रसित बनेँ ।

हच्किए उसका पाइलाहरू ।

खुम्चियो गाला । भुक्क फुल्यो – छाती ।

उफ्फ ! उसलाई घोच्यो एउटा बैँसालु गुलाफले ।

उनी फनक्क फन्किएर गइन् । यद्यपि उसलाई उनको रिस र उनको उठेको छाती दुवैको उचाइ एउटै लाग्यो ।

दुवैमा एकै मादकता । उस्तै रवाफ ।

उसको आत्थोसम्म नसुनी उनी साझँ जस्तै गरी अँध्यारिइन् । उनी रात भइन् ।

फर्किफर्की उसलाई हेरिरयो ऊ … हेरिरह्यो ।

°°°

ऊ समयसँग रुष्ट थियो । अब बेखुस पनि भयो ।

यसमा उसको कुनै दोष पनि थिएन् । उनमा उसले यौवनको वासना देख्यो । कामुकता भेट्यो । त्यति हो । हो, एउटा उमेर हुन्छ जब मानिस मादक बन्छ । मनमा परागसेचन हुन्छ । मगमगाउँछ मन । यौवनता छाएको समय । हृदय मगमगाएको क्षण । कोही कहाँ आफ्नो वशमा हुँदो हो ? यस्तो सोच्दा मात्रै पनि उसको शरीरमा काढा उम्रिन्छ ।

उसको दिमागमा वासनाको वायु मडारिन थाल्यो । फलस्वरूप तहसनहस हुँदै गयो ऊ । क्षतविक्षत बन्दै गयो ।

.. अप्राप्तिसँग मानिस कुनहदसम्म बेखुस हुनसक्छ ?

हो, त्यतिबेला रात बलेसीसम्म आइपुगिसकेको थियो । ऊ निस्सारताको दैलोमा ठिंग उभिएको थियो । नैराश्यताले ढोका उघार्न मात्रै बाँकी थियो अब । घर्याक्क्क…

उसलाई थाहा छ,‘मानिस यौनिक प्राणि हो । यौन जैविक ड्रग्स हो ।’, उसलाई यस नशामा चुरचुर हुनु थियो । तर उसले नशालाई आफ्ना हत्केलामा लिनसम्म पाएन् । यौन स्पर्शको प्यास.. उफ्फ़ ! यो कति भयानक हुनेगर्छ ।

उसको मनशाय उनलाई छुने, उनलाई चुस्ने, उनलाई छाम्ने, उनलाई टोक्ने, उनलाई निमोठ्ने, उनलाई दबाउने,… यावत् यावत् थियो । तर ऊ आफैँ चुसिएको थियो, निमोठिएको थियो । टोकियो, दबाइयो । समग्रमा ऊ निख्रियो । ऊसँग त्यतिखेर बस् ‘प्राप्त हुन् नसकेको यौनेच्छा’ बाहेक केही पनि रहेन ।

आफ्नो शरीर अर्कोसँग घिसार्न नपाएको निकै भयो उसले । उसलाई घर्षणहरू प्रिय लाग्छ । तर यसपटक पनि ऊ वन्चित भयो । यसमाने.. ऊ दुःखी छ ।

उसलाई थाहा छ जीवनबिना मृत्यु असम्भव छ । यौनबिना प्रेम असम्भव छ । साथै प्रेमबिना यौन पनि असम्भव छ । युवा हुनु भनेको मालिक हुनु सम्झन्छ ऊ । मालिक हुनु भनेको आफूलाई बुझ्नु ठान्दछ । आफूलाई आफैँद्वारा आफैँभित्र हुर्काउदा यौवनकाल सकिन्छ । यौवनकाल सकिएपछि यौन रहँदैन भन्ने मान्यताको दासी हो ऊ ।

ऊ यौन र यौवनमा हराइरहन्छ । भौँतारिरहन्छ । कामुकता बढिरहेको छ उसमा । तर त्यसको पक्षपोषण हुन पाएकै छैन । यौनका कारण जिन्दगीको सुन्दरतादेखि विमुख भइरहेको छ ऊ । आफ्नो शरीर अर्कोसँग घिसार्न नपाएको निकै भयो उसले । उसलाई घर्षणहरू प्रिय लाग्छ । तर यसपटक पनि ऊ वन्चित भयो । यसमाने.. ऊ दुःखी छ ।

उसलाई लाग्छ, उसको जीवनको बसन्तकाल सकिदै छ । मनमा टुसाएको यौनको पालुवा एकपटक पुन: निमोठियो । उसले उड्न चाहेको उडान सम्भोगसम्मको हो । उसले पुग्न चाहेको बटुवाविहिन बाटो- चरमउत्कर्षसम्मको हो । तर यसपटक पनि ऊ विचलित भयो । यौनका गोरेटाहरूमा फेरि लडखडायो ऊ ।

उसमा कुनै स्वाभिमान छैन । कुनै आत्मसम्मान छैन । ऊ आफ्नो आत्माको आवाज सुन्न सक्दैन । ऊ स्वःविवेक प्रयोग गर्ने सकिरहेकै छैन । उसको दिमागमा बस् यौन छ । अनि क्रमश: आक्रोश, छटपटी, दुविधा, नैराश्यता र उद्विग्रता… ।

के जिन्दगीमा दु:खसिवाय अर्थोक केही छ ? …उत्तरमा उसको ओठ मुस्काइरहेका ।

मुस्कान.. जो आखाँको अतल गहिराइमा डुबेर निस्किएकाले चमकदार देखिन्छ ।

दृश्य-३ :

कहाँ जादै थियो ऊ ? के गर्दै थियो ? उसलाई थाहा थिएन । कहाँ आइपुग्यो ऊ ? के-के गरिभ्यायो उसले ? अहँ उसलाई यी सब केही थाहा छैन ।

उसको अघिल्लितिरबाट लामो बाटो हतारमा कतै दौडिरहेको छ । ऊ सोही बाटोमा आफ्ना पैतालाहरू कुर्कुच्चासम्म गाडेर बसिरहेको छ । कसैले ढुंगा हानेर चकानाचुर बनाइदिएको ल्याम्पपोस्ट झुन्डाएर उभिएको बिजुलीको पोल जस्तै भएको छ । उसको हृदयमा भर्खरै ढुंगा बर्सियो । त्यस चोटलाई सुम्सुमाउनेसम्म आँट गर्न सकेन उसले ।

जुनकीरीहरू छन् । टुटेफुटेका भए पनि ल्याम्पपोस्टहरू चम्किरहेका छन् । झ्याउकीहरूको आवाज मत्थर भइसकेको छ । सडक सुनसान नै छ । पानी फेरि पनि पर्न खोजिरहेको छ । हावा जोडसँग चलिरहेकै छ ।

°°°

कसैको पैतालाको अवाज ऊ भएतिर आउँदै छ । हरेक पाइलामा एक पैताला बाटो टाँस्दै, छाड्दै गरिरहेका ती खुट्टाहरू ऊ नजिकै आइपुगिसकेका छन् । कुर्कुच्चामा पाउजु बजेका छन् । सुरुवालको फेरनेर हिलो टासिएको छ । घुँडा आसपास राता-हरिया सिताराहरू चम्किरहेका छन् । तिघ्रा आसपास सुरुवाल मुजा परेको छ । मध्यभाग निकै खुलेको छ, ठूलो छ ।

नाइटो पूर्णतः छोपिएको रहेनछ । गुलाबी रङको खुइलिएको टिसर्ट नाइटोदेखि माथि नै घुम्रिरहेको छ । पेट अलि फुकेको छ । हातभरि मेहेन्दी छन् । राता/पहेँला चुराहरू छन् । नङहरूमा पोलिस लगाइएको उप्किएको जस्तो देखिन्छ ।

नाडीमा पहेलो रङको घडी बाधिएको छ । पाखुराभरि मसिना मसिना रौँहरू छन् । कुइनो आसपास आइपुगेर टिसर्टको बाहुला सकिएको छ । सँगै निकै उठेका स्तनहरू देखिन्छन् । उसका आँखाहरू त्यहाँबाट अझ माथि चढे । घाँटी रित्तो छ । लाम्चो चिउडोमा कुनै कोठी छैन । तल्लो ओठ र माथ्लो ओठ रातो लालीले बन्द छन् । (सायद खुल्न खोजिरहेका छन्) । नाक थोरै चुच्चो देखिएको छ । गालामा मुजा परेछन् । गालाका खोपिल्टाहरूमा कुनै गहिराइ भेट्दैन ऊ । निकै सतही छन् ती गालाहरू ।

तर कति भद्दा छाती र चाउरिएका गाला यी ? उफ्फ ! कोही यति कुरूप कसरी हुनसक्छ ? उसले घाँटी खस्खसाउँछ । मुखमा आइसकेको ‘पिच्च थुक्क’ घुटुक्क’ निल्छ ।

उसले एकफेर अघिको अनुहार (विशेषत: शरीर) लाई सम्झियो । डमडम्ती भरिको कसिलो स्तनका गोलाई सम्झियो । पोटिला ओठहरू, रसिला हर्कतहरू सम्झियो । ती कपाल पनि उसको सम्झनामा अटाए । उसलाई कताकता काउकुती जस्तो केही लाग्यो । तर अचानक उसले देख्यो, यस पछिल्लो अनुहारको पछाडिका कपालहरू पनि उसैगरी हावासँग बयेली खेलिरहेका छन् । तर उसलाई यी कपालहरुलाई छुन मन भएन ।

एक्कासि खै कुन्नि के भयो ? उसको आखा भुइँमा खस्यो । उसले ती आँखाहरूलाई नियाल्नै सकेन । उसलाई लाग्यो, उसले यो के देख्यो ? कसलाई देख्यो ? उसले त्यहाँ उभिरहनु भनेको आफूलाई मरितुल्य बनाउनु हो भन्ने बुझ्यो । जतिसक्दो छिटो उसलाई त्यहाँबाट निक्लनु छ । “निक्लिहाल्, निक्ली छिटो !” उसले मनको आवाज सुनिरह्यो ।

उसलाई त्यस शरीरको कुनै पनि अंगमा रुची भएन । अँध्यारै भए पनि धपक्क बलेको थियो उनको चेहरा । तर कति भद्दा छाती र चाउरिएका गाला यी ? उफ्फ ! कोही यति कुरूप कसरी हुनसक्छ ? उसले घाँटी खस्खसाउँछ । मुखमा आइसकेको ‘पिच्च थुक्क’ घुटुक्क’ निल्छ ।

उसमा अझ पनि अघिल्लो अनुहार र त्यस शरीरको धङधङती बाँकी थियो । ऊ एकपटक मात्रै भए पनि उनलाई हेर्न चाहन्थ्यो । देख्न चाहन्थ्यो । घृणा नै गर्ली फेरि पनि । तर उसका भोका आँखा उनलाई देखेर अघाउन चाहन्थेँ ।

उसले झल्यास् याद गर्यो । पछिल्लो भीमकाय कुरूप शरीर उसलाई छोइरहको छ । उसको काध हुँदै घाँटी आसपास हात चलमलाइ रहेको छ । ती ४ थान आँखा एक क्षणका लागि जुधे । … उसलाई सास निल्न सकस भयो । कुरूप शरीरमा त्यस्तो केही थिएन, जसले उसलाई लोभ्याओस् । ऊ पर.. हट्यो । थोरै दूरी बनाएर कसैलाई कुरिरहेको नक्कल गर्यो ।

उक्त कुरूप अनुहार जहाँको त्यहीँबाट उसलाई हेरिरहेकी छे । उसलाई हेरिरहँदा सो अनुहारमा बेग्लै चमक छ । त्यो अनुहारको ओठ खुलेको छ । कापेको जस्तो देखिन्छन् ती । कुरूप अनुहारको निधारमा मसिना डल्लाहरू बुर्कुसी मारिरहेका छन । पसिना हुन् ती ?.. प्रश्नको उत्तर भेट्दैन ऊ ।

उसलाई खुब घुरेर हेरिन् । हेरिरहिन् । …घुरिरहिन् । …घुरेर हेरीरहिन् । …हेरेर घुरिरहिन् । …

कुरूप अनुहारको हृदयले गति समातेको छ । धड्कन बढेको छ । यस्तो लाग्छ- उसलाई देख्दा त्यस अनुहारको खोप्चा आँखाहरूमा सुन्दर सपनाहरू खिलखिलाएका छन् । ती आँखा.. जो उसलाई निरन्तर हेरिरहेका.. !

कुरूप अनुहार उसको अझ समीप पुगिन् । उसलाई खुब घुरेर हेरिन् । हेरिरहिन् । …घुरिरहिन् । …घुरेर हेरीरहिन् । …हेरेर घुरिरहिन् । …

°°°

उनका आँखाको भाषा बदलिएको महसुस गर्यो उसले । उनको ओठहरू केही बोलिरहे जस्तो लाग्यो उसलाई । हातहरू थर्थराएका छन् । औँलाहरू चलमलाएका छन् । पाखुराका मसिना रौँहरू सचेत जस्ता देखिन्छन् । उसका आँखाहरूले कुरूप अनुहारको एकएक हर्कतहरू नियालिरहेको छ ।

ऊ बुझ्न सकिरहेको थिएन, ती आँखा के बोलिरहका छन् ? ती ओठले के भनिरहका हुन् ? ती हात र औँलाहरू के इसारा गर्दैछन् ? …ऊ झन् झन् आक्रान्त बन्यो । ऊ झन् झन् क्रोधित बन्यो । .. ऊ झन् झन् डरपोक बन्यो । ऊ मरेतुल्य भइसक्यो ।

ऊ डराएको छ, त्यो अगिको केटीलाई जिस्काएको उनले देखिछन् क्यारे ?

ऊ डराएको छ, उनी त्यो तरुनीको आमा पो हुन् कि ?

ऊ डराएको छ, उनको आफन्ती कोही हुन् कि यी अधबैँसे आइमाई ?

उसको मनमा त्रासको चीसो बतास पसेको छ । उसलाई उक्त कुरूप अनुहारको हेराइबाट मुक्त हुनु थियो । तर उसले त्यहाँबाट निस्किभाग्ने बाटो भेटिरहेको छैन ।

ऊ आफ्नै मनमा अंकुरित प्रश्नहरूको उत्तर खोजिरहेको छ:

“यो अधबैँसे आइमाईले किन यसरी मलाई हेरीरहेकी छे ?”

“त्यो तरुनीको स्तनलाई घुरीघुरी हेरेको भएर ? ”

“होइन ।”, उसले जवाफ फर्कायो ।

“त्यसो भए के हो ?”

“…………………….. ।”, एउटा लामो मौनता ।

“को थिइन् उनी ?”

“………..!”, अर्को लामो चुपचाप ।

अहँ.. उसले आफ्ना प्रश्नहरूको उत्तर भेटेन ।

°°°

उसको शरीर चिसिएको छ । कारण ? कारण उसको दिमागको ताप बढेको छ । ‘मैले त्यस्तो के बिगार गरेछु ?’, प्रश्नको उत्तर ऊ पाउँदैन ।

उक्त कुरूप आखाँहरूले उसको ढाड छेडिरहेको भान उसलाई भइरहेको छ । ऊ एकफेर खोक्छ । तर त्यो अँधबैँसे अनुहार उसलाई हेर्न छाड्दिन । उसको हर-एक अंग छामिरहेका छन् – ती आँखाहरू.. ऊ यस कुरामा पक्का भयो ।

पक्का ?

हो, भयो ।

तर त्यस कुरामा पक्का हुनेबित्तिकै मानौं उसले स्वास लिन बिर्सियो । परेला उघार्न बिर्सियो । ..

किन ? उसलाई लाग्यो योभन्दा मरणासन्न अवस्था अर्को केही हुन सक्दैन ।

ऊ भाग्यो, तर भाग्न सकेन । उसका पैतालाहरूलाई यस सडकले अझै पनि समातिरहेकै छन् । ती आखाँले उसलाई डसिरहेका छन् । ऊ क्रमशः क्रमश.. निसास्सिरहेको छ ।

यो एक यस्तो अवस्था- जहाँबाट भाग्नुबाहेक ऊसँग केही बचेको छैन । तर कसरी ?..

दृश्य: ४

र, एकफेर पनि पछाडि नहेरिकन ऊ कुलेलाम ठोक्यो । ऊ कुदिरहेको छ । विवश ऊ, … लाचार ऊ.. ।

अचानक लड्न पुग्यो । उसको पैतालामा चोट लाग्यो ! पैताला चोट लागेपछि यात्रा बिझाउँछ । … चोट सुमसुमायो । सुमसुमाइरह्यो ।

..यही अवस्था हो.. जो केहीक्षण अगाडि उक्त तरुनीको साथ भएको थियो ।

दृश्य: ५

पुनश्च: ऊ साँझसम्म घर पुग्न भ्याएको छैन । बिहान हुनलाग्दा घरदेखि निस्किएको थियो ।

प्रतिक्रिया
Loading...