नेपाली साहित्यको सम्पूर्ण पत्रिका

नेपालका राष्ट्रपतिसँग बर्मामा भेट–२

म हतार–हतार गर्दै सभा हलभित्र पस्छु र बीचको एउटा कुर्सीमा बस्छु । सभा हल निकै झकिझकाउ छ । चारैतिर भित्तामा बर्मा र नेपालका झण्डाहरू फरफर गरिरहेका छन् । नेपालका विभिन्न प्रकारका प्राकृतिक दृश्यहरू टाँसिएका छन् । अझ महिलाले लगाएको साडी र हरेक पुरुषको टाउकोको टोपी देख्दा लाग्छ, नेपालको राष्ट्रियता खोज्न बर्मा जानुपर्छ । त्यतिबेला अर्को सूचना आउँछ, “राष्ट्रपति यो शहरमा प्रवेश गरिसक्नु भएको छ । राष्ट्रपति सभा हलभित्र पसिसकेपछि तपाईंहरू आफ्नो सिटबाट उठ्न नमिल्ने हुनाले तपाईंहरू सबैले शौचालय तथा अन्य व्यक्तिगत कामहरू अहिल्यै गरिहाल्नु होला, समारोह शुरु भएपछि हल्ला नगरिदिनु होला ।”

नगेन्द्र न्यौपाने

अघिल्लो सूचनाहरूले जति सुकै झुक्याए पनि यो सूचनाचाहिँ सत्य नै हो जस्तो लाग्छ । शौचालय नै प्रयोग गरेर तयारी हुनुपर्ने भएपछि अब यसमा धोका हुँदैन । वास्तवमा म मात्र होइन अन्य व्यक्तिहरू पनि अघिल्ला सूचनाबाट आजित नै छन् । उनीहरूको पखाई लामै भएको थियो । तर के भने एकातिर शौचालय प्रयोग सूचना आउनु, अनि त्यतिबेलै सबै जनालाई शौचालय जान पर्ने हुनु, शौचालय वरिपरिको भीड स्वाभाविक भन्दा बेग्लै छ । आयोजकलाई हम्मे–हम्मे परेको छ ।

केहीबेरपछि दलबलका साथ राष्ट्रपति भण्डारी सभा हलमा देखा पर्नुहुन्छ र उहाँ सभा हलको बीच भागबाट हात जोड्दै मञ्चको सोफामा बस्नुहुन्छ । राष्ट्रपति भण्डारी सोफामा बसिसकेपछि उहाँका साथमा आउनुभएका विशिष्ट व्यक्तिहरू लहरै सभा हलको अग्रभागका कुर्सीहरूमा बस्नुहुन्छ । परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली, परराष्ट्र सचिव शंकर दास वैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल, राष्ट्रपतिका व्यक्तिगत सचिव भेषराज अधिकारी, त्यस्तै बर्माका लागि नेपाली राजदूत भीमकृष्ण उदास, नेपालका लागि बर्माका राजदूत यू टुन न्यालिन सबै जना आफ्नो–आफ्नो कुर्सीमा बस्नुहुन्छ । आयोजक र पाहुनाहरूको आसन ग्रहणपछि भाषणको कार्यक्रम हुन्छ । सबैभन्दा पहिला अखिल म्यान्मादेशीय गोर्खा हिन्दु धार्मिक संघका संरक्षक मणिलाल पौडेलले स्वागत भाषण गर्नुहुन्छ । त्यसपछि संघका अध्यक्ष सागर घिमिरे । अन्त्यमा पालो आउँछ राष्ट्रपति विद्यादेवी भण्डारीको । उहाँले आफ्नो खल्तीबाट झिकेर भाषण पढ्नुहुन्छ । राष्ट्रपति भण्डारीको भाषणपछि कार्यक्रम सकिन्छ । कार्यक्रम सकिएपछि सभा हलको बीचबाट जसरी पहिला हात जोड्दै राष्ट्रपतिज्यू मञ्चमा जानुभएको थियो । त्यसैगरी हात जोड्दै बाहिर निस्कनुहुन्छ । जसरी उहाँका साथ दलबल पसेका थिए, त्यसरी नै बाहिर निस्कन्छन् । कार्यक्रम जति छोटो छ, मीठो छ त्यति नै अधुरो पनि ।

यस्ता कार्यक्रम बर्मामा होस् वा नेपालमा, अनन्त कालदेखि चल्दै आएका छन् । भाषण सुन्दै आएका छन् । थाहा छैन– जनताले कतिसम्म आफ्नो वेदना सुनाए अनि नेताले कति सुने । तर यो कार्यक्रमले एकातिर नेपालीलाई खुशीयाली दिन सक्यो भने अर्कोतिर पुर्ख्यौली जमघट । त्यसकारण यस्तो भ्रमण–उत्सव मनाइरहन जरुरी पर्छ ।

तर लाग्छ, राष्ट्रपतिको टाउकोमा मर्यादाको ठूलो बोझ थुप्रिएको छ । उहाँ त्यो मर्यादालाई चलाउन चाहनुहुन्न । न उहाँ कतै उभिन खोज्नुहुन्छ न कतै हेर्नु नै ! उहाँलाई कसैको कुरो सुन्ने फुर्सद नै छैन । लाग्छ उहाँ जीवित प्राणी होइन । जीवित बनेको मेसिन– जसलाई बाहिरबाट कसैले अक्सिजन दिएर राखेको छ । नेपाली जनताले नेपालका राजा–महाराजालाई निकै गालीगलौज गरे ।

निरङ्कुश र अधिनायकवादको आरोप लगाए । नेपाली जनतालाई रैतीको स्थानबाट माथि उठ्न नदिएको दोष थुपारे, जनतासँग घुलमिल गर्दा इज्जत जाने आरोप लगाए । त्यो त नेपाली जनताको भ्रम रहेछ । जब मान्छेले तीतो खान्छ, तब मात्र उसलाई चिनीको स्वादको महत्व हुन्छ । तीतो नखाई गुलियोको स्वाद के थाहा ? जनताको अगाडि गजक्क फुल्न कसलाई पो रहर रहेनछ र ! इज्जतको डर सबैलाई लाग्दोरहेछ, भारेभुर्रेसँग हिमचिम राख्न कसलाई मन छ र ! कठैबरा ! ती बर्मेली महिला । साडी र चोली लगाएर बिहानैदेखि उभिइरहेका छन् । उनीहरूलाई महिला राष्ट्रपतिलाई भेट्न पाउनुमा गौरव छ । उनीहरू बेग्लै भेट्न चाहन्छन् तर राष्ट्रपति भण्डारीसँग समय छैन । उहाँले १० मिनेट समय पनि निकाल्न सक्नुभएन । टाउको अर्कोतिर फर्काउनु भयो ।

पिउल्विन शहरको सभा गृहको कार्यक्रम सकिनासाथ राष्ट्रपति भण्डारीको समूह अर्को शहर “बागन” तिर उड्यो । बागनको आनन्द मन्दिरको अवलोकनपछि रंगुन जाने कार्य छ । तर पिउल्विन शहरमा जम्मा भएको नेपालीको हुल भने नजिकैको दुर्गा मन्दिरभित्र पस्छ ।

दुर्गा मन्दिरको ठूलो आँगन, आँगन वरिपरि सल्बलाइरहेका नेपालीको हुल । अचम्म त यो छ कि, त्यो हुलले आजको खाना त्यहीँ मन्दिरमा गर्ने हो । एकापट्टि दुर्गा मन्दिर, अर्कोतिर पशुपतिनाथको मन्दिर अनि त्यसको ठीक पछाडि लाम्चा आकार भान्सा घर ! अनि भान्सा घर अगाडि सयौं संख्यामा भोका जनता । म भीडलाई छिचोल्दै–छिचोल्दै भान्सातिर लाग्छु तर भान्सा अगाडिको नागबेली लाइन देख्दा मैले खानाको आशा नगरे हुन्छ । हुन त भान्सामा ठूलो संख्यामा महिला स्वयंसेवक परिचालित छन् । उनीहरू भात पस्कन र थाल कचौरा जम्मा गर्न तल्लिन छन् । उनीहरूलाई भ्याई–नभ्याई छ साथै लाइन पनि छिटो–छिटो अगाडि बढेको छ भने मेरो आशा पनि पलाउँछ र त्यही लाइनमा मिसिन पुग्छु ।

यो विशाल धर्ती अनि हामी मसिनो मानव आकृति तर यो मानव आकृति जहाँ गए पनि लुक्न सक्दैन । हराउन सक्दैन । कहीँबाट पनि उदाङ्गो भइहाल्छ । केहीबेर अगाडि बर्मेली नागरिक बनेर राष्ट्रपतिको भाषण सुनेको व्यक्ति म, अहिले फेरि बर्मेली बन्न सकिनँ । त्यतिबेला मैले कागजी परिचय देखाउन सकेको थिइनँ भने अहिले मेरो बोली बर्मेली बन्न सकेन । लाइनमा उभिँदा–उभिँदै उनीहरूले मलाई बर्मेली मानेनन् । मेरो लवज नै बोली-पासो बन्यो । म कागको बथानमा बकुल्ला बनेँ । जसरी कुनै बर्मेलीको बोली नेपालीलाई अनौठो लाग्छ, त्यस्तै मेरो बोली बर्मेलीलाई अनौठो लाग्नु स्वाभाविक हो ।

“तपाईंको घर नेपालमा कुन ठाउँ हो ?” एक जनाले मलाई त्यहीँ लाइनबाट सोध्छन् ।

“मेरो घर बर्मा नै हो,” म उत्तर दिन्छु ।

“तपाईंले बर्मा भने पनि तपाईंको बोलीले बर्मा भन्दैन ।”

म त्यो सवालजवाफमा रोकिन्छु । अगाडि बढ्न आँट आउँदैन किनकि झुटो कुरालाई धेरै अगाडि बढाउन उपयुक्त हुँदैन । त्यहीबेला कसैले मेरो नाम उच्चारण गरेर मलाई बोलाइरहेको हुन्छ ।

“न्यौपाने सर ! यता आउनुहोस् ।”

म पुलुक्क हेर्छु । राकेशजी दुई वटा हातमा एउटा–एउटा थाल लिएर उभिइरहनु भएको छ । तर मलाई लाइनको बीचबाट फुत्त निस्केर थाल समात्न जान मन लाग्दैन । सबैजना लाइनमा उभिएका छन् भने म नकचरो हुन्न । म केहीबेर अलमल्ल गर्छु तर राकेशजी फेरि दोहोर्याएर बोलाउनु हुन्छ ।

“तपाईंको लागि मैले खाना ल्याएको छु आउनुहोस् ।”

म धेरैबेर नै अलमलिन्छु । के गरौँ कसो गरौँ हुन्छ । म पल्याकपुलुक यताउति हेर्छु । त्यहीबेला एउटा मीठो स्वर मेरो मात्र होइन लाइन उभिने सबैको कानमा पर्छ ।

“तपाई पाहुना मान्छे ! जानुहोस् ! खानुहोस् ! भोक पनि लाग्यो होला । कतिबेरदेखि लाइनमा बस्नुभएको हो ! पुगेन भने बरु हामी भोकै बसौँला ।”

त्यो स्वरले मलाई भावविभोर बनाउँछ । म परम आत्मीयताको महसुस गर्छु । त्यतिबेला मेरो सबै भोक हराएर जान्छ । त्यसैले भन्ने गरिन्छ– भोकले भन्दा मान्छे मीठो बोलीले तृप्त हुन्छ ।

खानपिन र भान्साको काम सकिएपछि सबैजना गफ गरेर बसेका छन् । सवाल–जवाफ गरेका छन् । त्यहीबेला मेरा आँखाहरू एकजना व्यक्तिमा पर्छ । गुजमुजिएको दौरा–सुरुवाल, नमिलेको टोपी, अनि लजालु अनुहार । उनको पोशाक र प्रकृतिले देखाइरहेको छ, जिन्दगी उनको शरीरमा त्यो पोशाक परेको छैन । उनको हाउभाउ र एक्लोपनले देखाइरहेको छ– उनी बिलकुल त्यो समाजमा अनभिज्ञ नै छन् । म उनको नजिकै गएर बस्छु र सोध्छु–

“नेपालका राष्ट्रपतिलाई भेट्नुभयो त ?”

उनी अकमकाउँदै बोल्छन् तर उनको बोलीमा धेरैजसो बर्मेली शब्द छन् । म मुस्किलले बुझ्छु र अन्दाज लगाउँछु ।

“भेट त कसरी हुन्थ्यो र, तर भाषण सुने ।”

“कस्तो लाग्यो भाषण” म सोध्छु ।

यस पटक उनले धेरै नै बोल्छन् । उनको बेला–बेलामा हात पनि चलेको हुन्छ । म बुझ्ने कोसिस गर्छु– तर बुझ्दिनँ । नजिकै उभिनुभएका राकेशजीलाई बोलाउन करै लाग्छ । वास्वतमा कुरो के भने उनीसँग गफ गर्दा दोभाषेको आवश्यक नै पर्ने रहेछ । नेपालीसँग धेरै वर्षसम्म नै सम्पर्कमा नआएपछि उनी बर्मामा हराएछन् । उनले नेपाली चाल–चलन, भाषा, रीतिरिवाज सबै भुलेछन् । उनले मात्र होइन, उनी बसेको पूरै बस्तीले नेपाली भाषा र संस्कृति नै बिर्सेछन् । म उनलाई सोध्छु–

“तपाईंले त नेपाली भाषा नै बिर्सिनुभएछ, कसरी ! घरमा नेपाली बोल्ने गर्नुहुन्न ?”

“केको नेपाली बोल्नु ! सबै खाइयो,” उनी खिस्स हाँस्छन् । उनी फेरि बोल्न सुरु गर्छन्– “नियम कानुन थाहा नभएपछि पुलिससँग डर लाग्न थाल्यो । पुलिसले नागरिकता र पास मागेर हैरान गर्न थालेपछि गाउँबाट शहर जान सकिएन । शहरतिर गएको भए नेपालीसँग भेट हुन्थ्यो होला । नागरिकता बनाउन सकिन्थ्यो होला । हामी त जंगलमा नै अड्कियौं । बर्मेलीसँग नै घुलमिल भइयो । बर्मेली बनियो ।”

“त्यसो भए तपाईंकी श्रीमती, छोरा–छोरी कसैलाई पनि नेपाली बोल्न आउँदैन ।”

“केको आउनु । मेरी श्रीमती बर्मेली हुन्, उनलाई आउने कुरै भएन । छोराछोरीलाई पनि आउँदैन ।”

“तपाईंलाई नेपालको बारेमा के थाहा छ ?” म सोध्छु ।

“मेरा पुर्खाहरू नेपालबाट आएका भन्ने थाहा छ अरू केही थाहा छैन ।”

उनको घाँटीमा क्रसको लकेट झुण्डिएको छ । म त्यो लकेटलाई संकेत गर्दै सोध्छु–

“तपाईं क्रिश्चियन धर्म मान्नुहुन्छ कि ! क्या हो ?”

“के गर्नु !” उनी छोटो जवाफ दिन्छन् । अनि आफूले लगाएको लकेटलाई सुमसुम्याउँदै बोल्न थाल्छन्– “यो लगाएको पनि धेरै भएको छैन ! पूजा–आजा गर्ने पण्डित नभेटेपछि बुद्ध धर्म लिइयो । बुद्धबाट आजकाल फेरि क्रिश्चियनमा तर हामी हिन्दु नै हो ।”

उनको धार्मिक परिवर्तनतिर म खासै चासो देखाउँदिन र प्रसङ्ग बदल्दै प्रश्न गर्छु–

“कसले खबर गर्यो र आज तपाईं यहाँ आउनुभयो ?” मेरो प्रश्न नबुझेर होला पुलुक्क राकेशजीतिर टाउको बटार्छन् । राकेशजी बर्मेली र नेपाली मिसाउँदै उनलाई त्यही प्रश्न दोहोर्याउनु हुन्छ–

“आज यहाँ नेपालका राष्ट्रपति आउनुभएको छ भन्ने खबर तपाईंलाई कसले दियो र आउनुभयो ?”

उनको छोटो उत्तर छ– “ठाकुरप्रसाद गुरागाईं ।”

यो नाम सुन्नेबित्तिकै मैले लामो सास फेरेँ– धन्य मदन पुरस्कार गुठी ! तिमीले ठाकुरप्रसादलाई जगदम्बा पुरस्कार दिएर राम्रो गर्यौ । तिम्रो मूल्यांकन सही ठहरियो । यो नाम मैले पहिल्यै सुने पनि बर्मा आएपछि उहाँलाई भेट्न खोजेको थिएँ तर समय मिलेको थिएन । मलाई त्यही व्यक्तिको मुखबाट यो उहाँको नाम सुन्दा साह्रै खुशी लाग्छ । गौरव लाग्छ । उहाँले बर्माको सैनिक शासनको कठोर परिस्थितिमा पनि नेपाली र संस्कृत भाषाको लागि खुब मिहिनेत गर्नुभएको थियो । जीवन्त राख्न खुब प्रयास गर्नुभयो । हरेकको घर–घरमा हस्तलिखित पाठ्यक्रम बाँड्नुभयो ।

अब ती व्यक्तिसँग मेरो कुराकानी करिब–करिब सकिएको छ । म तिनीसँग छुट्टिने तरखरमा छु । तर ती व्यक्तिले छुट्टिने बेलामा अनौठो प्रश्न मतिर तेर्स्याउँछन् ।

“तपाईं पनि राष्ट्रपतिसँग आउनुभएको हो ?”

आहा ! कति मीठो प्रश्न, कति स्वादिलो सोधाइ । म हैसियत नभएको व्यक्तिलाई त्यति ठूलो हैसियतमा राखेपछि गजक्क फुल्नुपर्ने होइन र ? तर म भित्र–भित्र टर्रो अनुभव गर्छु । मलाई सुन्न असजिलो लाग्छ । किनकि हैसियत नभएको व्यक्तिलाई उच्च स्थान दियो भने आफ्नो औकात भुल्न सक्छ । म उसलाई उत्तर दिन्छु–

“होइन, म एक्लै आएको हुँ ।”

साँझ पर्न लाग्दालाग्दै हामीहरु पिउल्वीनबाट माण्डले फर्किन्छौं, बिहान जसरी चारजना उकालो लागेका थियौँ, अहिले तिनै चारजना ओरालो लागेका छौं तर थपिएको छ– सबैको मनमा जिज्ञासा, हुटहुटी अनि राष्ट्रपति र अरु वक्ताले बोलेको भाषणको टीका–टिप्पणी ।

“के हामीलाई नेपाल जाँदा फ्रि–भिसा मिल्छ होला ?” एउटाले प्रश्न गर्नुहुन्छ ।

“फ्रि–भिसा नमिले पनि नेपाल र बर्माबीच सोझै हवाइजहाज चल्यो भने हामीलाई सजिलो हुन्थ्यो,” अर्काले थप्नुहुन्छ ।

“राष्ट्रपतिले त धेरै बोल्नुभएन हगि !” फेरि अर्को पालो ।

आहा ! कस्ता उत्साह, कस्तो छटपटी ! कस्तो रसिला चाहना छन् हगि बर्मेलीको ! कति चाखलाग्दो छट्पटी छ हगि नेपालप्रति उनीहरुको ! तर म भने भारतीय वा आफूले भोगेको अपमान र अरुले सुनाएको दुःखबाट क्लान्त छु । भारतबाट बारम्बार अपमान र चोटले गलेको नेपाल सजिलैसँग छुटकारा पाउँला ? के नेपालले फ्रि–भिसा दिंदैमा भारतीयले आफ्नो सिमानामा सताउन छाड्लान् ? तीन तिरबाट ढसमस्स बसेको भारत आफू हल्लिन चाहन्छ होला ! नेपाल प्रवेश गर्दा पनि बडेमानका भारतीय सिमाना, अनि निस्किँदा पनि तीन सिमाना । नेपाल कहिले हलुङ्गो हुने !

हवाइजहाजबाट यात्रा गर्दा कहाँ आजित छैनन् र नेपालीहरु ? काशी जाने कुतिको बाटो भनेको जस्तो– जानु छ बर्मा तर बर्मालाई नाघेर थाइल्याण्ड पुगेपछि मात्र बर्मा आउनपर्ने । एकातिर बाङ्गो यात्रा अर्कोतिर थाइल्याण्ड एयरपोर्टमा हुने नचाहिँदो खानतलासी र खोजीनीति ! तर पनि सहेका छन्, भाडा तिरेका छन् । आशै–आशामा जीवन बिताएका छन् ।

त्यतिखेर आफूलाई धिक्कार्न मन लाग्छ । नेपालका वीरयोद्धासँग प्रश्न सोध्न मन लाग्छ । तिनै गोर्खाली सैनिक आएर बर्मालाई स्वतन्त्र पारे । जापानलाई लखेटे । तीनै गोर्खाली सैनिक पाकिस्तान, अफगानिस्तानसम्म पुगे । तर आफ्नो देशलाई भारतबाट स्वतन्त्र पार्न सकेनन् । विश्व विजय गर्ने गोर्खाली सैनिक, बेलायतलाई खेद्ने गोर्खाली सैनिक तर भारतबाट मुक्त हुन सकेनन् ।

देशको क्षेत्रफल बढाउनु ठूलो कुरो होइन । देशलाई लम्ब्याउनु पनि पुरुषार्थ होइन । पुरुषार्थ त त्यो हो,  छिमेकी देशबाट स्वतन्त्र हुनु अनि छिमेकीको अपमान र हप्काई नखानू ।

हामीहरु माण्डले पुग्दा झमक्क साँझ परेको हुन्छ ।

प्रतिक्रिया
Loading...