नेपाली साहित्यको सम्पूर्ण पत्रिका

मुक्तक प्रतियोगितामा यो साता पार्वती, रमेश र इन्दिरा सर्वोत्कृष्ट

 

 

 

साहित्यपोस्ट

साहित्यपोस्ट विद्युतीय पत्रिकाको खुला मुक्तक प्रतियोगिताको सातौँ संस्करणमा पार्वती पहारी, रमेश प्रभात र इन्दिरा चापागाईँ सर्वोत्कृष्ट भएका छन् । साप्ताहिक रूपमा सञ्चालन हुने यो खुला प्रतियोगिताको अघिल्लो अङ्कमा मदन घिमिरे, मन्दा पौडेल, विष्णुप्रसाद आचार्य ‘अतृप्त’ सर्वोत्कृष्ट भएका थिए । ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर एवं साहित्य अन्वेषी लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा बसेको पाँच सदस्यीय टोलीले रीतपूर्वक प्राप्त भएका २२ मुक्तकहरूमध्येबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने पार्वती, रमेश र इन्दिराका रचनाहरूलाई सर्वोत्कृष्ट घोषित गरेको हो ।

उत्कृष्ट छान्ने क्रममा केही अङ्कले विशाल नेपाल, टीका सापकोटा, अञ्जान बागी, श्रीकृष्ण, हर्क मगर र रेखा मगर पछि परेका हुन् । । होनाहार मुक्तककारहरू पछि पर्दा निर्णायक मण्डललाई निर्णय गर्न गाह्रो भएको मुक्तक सम्पादक निसा केसीले बताएकी छन् ।

डा.लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा रहेको उक्त मुक्तक प्रतियोगिताको निर्णायकहरूमा पद्मकन्या कलेजकी उपप्राध्यापक ज्ञानु अधिकारी, मुक्तककार राजन सिलवाल र साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी रहेका छन् । चार जना निर्णायकहरूको निर्णयलाई साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले सहजीकरण गरेका थिए ।

प्रधानसम्पादक कोइरालाले काव्य विभागलाई भने – “तोकिएको नियममा रहेर २२ मुक्तक प्राप्त भएका थिए । तोकिएका नियमबाहिर रहेर प्राप्त मुक्तक आधा दर्जनमा सीमित भएका छन् । नियमविपरीत रहेर इमेल तथा साहित्यपोस्टको फेसबुक पेजमा आएका मुक्तक असाध्यै राम्रा भए पनि प्रतिस्पर्धामा परेनन् ।”

दुई सातादेखि सुरु भएको मुक्तक तोकिएको विषयमा केन्द्रित रहेर त्यही पेजको तल मुक्तक राख्नुपर्ने नियम बनाइएको छ ।

परदेशीको अवस्था , रेमिट्यान्स र महामारी ,स्वदेश फर्कने सपना गरी तीनवटा विषय दिएर मुक्तककारहरूलाई मुक्तक आह्वान गरिएको थियो । ती मुक्तकहरूमध्ये रीत पुगेका, मुक्तकका सबै अङ्ग बलिष्ठ भएका र मुक्तकको गहिराइ छुन सफल पार्वती पहारी, रमेश प्रभात र इन्दिरा चापागाईँ  का रचनाहरू सर्वोत्कृष्ट भएका हुन् ।

५० साता चल्ने यो प्रतियोगिताबाट हरेक साता सर्वोत्कृष्ट हुने मुक्तकहरूलाई समेटेर वर्षका चर्चित मुक्तकसङ्ग्रह प्रकाशन गर्ने योजना छ । हरेक साता तीन मुक्तकका दरले एक वर्षमा उत्कृष्ट हुने ४ सय ५० मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरू छानेर त्यस्ता श्रष्टालाई सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार दिने योजना पनि बनाइएको छ ।

अर्को साताको मुक्तक प्रतियोगिता भोलि अर्थात् शुक्रबारबाट सुरु हुने साहित्यपोस्टले जनाएको छ । नयाँ तीन विषय पनि समाचारसँगै घोषणा गरिनेछ ।

विजेताहरूलाई साहित्यपोस्ट, काव्य विभाग हार्दिक बधाई ज्ञापन गर्दछ । साथै मुक्तक प्रतियोगितामा भाग लिने सबैमा आभार प्रकट गर्दछ ।

 

 

प्रतिक्रिया
Loading...