नेपाली साहित्यको सम्पूर्ण पत्रिका

आँसु लेखौँ कि जिन्दगी ?

पुरानो कुराहरू याद गर्न सक्नुभन्दा ठूलो कुरा अरू नहुँदो रहेछ । आफ्नो विगतमा फर्किएर नकारात्मक जिन्दगीलाई सकारात्मक बाटोमा ल्याउन सफल भएको छु ।

‘म लेख्छु !’

‘के लेख्छस् ? ‘

‘जिन्दगी !’

‘जान्दछस् ? ‘

‘अहँ, जान्दिनँ ।’

‘कसरी लेख्छस् त ? बरू आँसु लेख् ।’

‘आँसु ….. ? …. किन ?’

यसपटक मेरो प्रश्नमा मनले केही उत्तर दिएन । मस्तिष्क र मनको अन्तरसंवादमा ब्रेक लाग्यो । पढाइ-लेखाइमा करिब डेढ वर्ष पहिले ब्रेक लागेको थियो ।

सन् २०१५ फेब्रुअरी १४ को रातमा मैले कलम समाएँ, असरल्ल छरिएका शब्दहरू समेट्न । १८ महिनाको अघोषित हड्तालपछि लेखेँ- वेअर इज द्याट ब्लेड ?

‘किन चाहियो ? ‘

‘जिन्दगी सिध्याउन ।’

‘उसो भए पैले किन फालिस् त ? ‘

यसपटक मनको प्रश्नको जवाफ मस्तिष्कसँग थिएन वा मसँग थिएन, पहिले आफ्नो जिन्दगीको बचाउमा मैले जुन चक्कु हुइँकाएँ त्यही हतियार किन खोजिरहेको छु ? हुन त मेरो ठाउँमा अरू कोही हुन्थ्यो भने उसले पनि जवाफ दिन सक्ने थिएन होला ! र यदि कसैले दिन्थ्यो भने सम्झनुस् कि ऊ झुट बोल्दैछ वा उसमा आत्मालोचना गर्ने शक्ति छैन ।

रूपक अधिकारी

एकै समयमा मेरा नजर कागजको लेखाइमा र झ्यालबाहिरको छुरामा थियो । त्यो एक समयमा मैले दुई फरक समय सम्झिएँ । दुई फरक उमेर । दुई फरक घटना । एक वर्ष पहिलेको समय र करिब एघार वर्ष पहिलेको समय ।

दुवै समय बुवाआमाको नाममा पत्र लेखिएको थियो । ती दुवै पत्र मैले लेखेर पनि लेखिएन र नलेखिएर पनि लेखियो । पहिलो पत्र कुन बालमनोविज्ञानले लेख्यो र कुनले च्यात्यो ? म भन्न सक्दिनँ, तर मनमा ‘भोलि मेरा बाआमा घर आइपुगे र म थिइनँ भने के होला ?’, भन्ने प्रश्न भने थियो ।

दोस्रो पत्रमा म यति ठूलो भइसकेको थिएँ कि, प्रेम देख्न सक्थेँ । अदृश्य प्रेम मेरो आँखाले देख्नुपर्थ्यो । देखेन भने त्यस्तो कुनै सम्बन्धको औचित्य बाँकी राख्ने थिइनँ । मैले घरबाट प्रेम नपाएको देखेँ र आफ्नो दुनियाँ लेख्न अनेक तृष्णा पोख्दै पत्र लेखेँ । आज बुझ्दैछु, एउटा उमेर यस्तो पनि आउँदो रहेछ जहाँ आफ्ना परिवार पराई लाग्ने रहेछ । संसारको श्रृङ्गार झुटा लाग्ने रहेछन् ।

खुनको आहल थियो । स्टोभ लडेको थियो र त्यसबाट तप्प तप्प मट्टीतेल चुहिरहेको थियो ।

जिन्दगीमा पहिलोपटक मन मार्ने त्यो अभियानको औपचारिक सुरुवात त्यही तृष्णा भरिएको पत्रले गर्‍यो । आजसम्म कतिलाई मारिसकेँ, त्यसको कुनै हिसाब छैन । तर आफैँलाई सिध्याउन मैले अस्त्र खोजेको कारण अर्कै छ ।

पहिलो लाइन लेखिसकेपछि मेरा आँखा धमिलो भएर आयो । मेरोसामु एउटा बोतल लढेको थियो । खुनको आहल थियो । स्टोभ लडेको थियो र त्यसबाट तप्प तप्प मट्टीतेल चुहिरहेको थियो ।

आँखा चिम्म गरेँ । दुवै आँखाको डिलबाट आँसु खस्यो । उघाएँ । अगाडिको नजारा बदलिएको थियो । बिल्कुल फरक दृश्य पाएँ । मट्टीतेल स्टोभबाट नभई मेरो केशबाट तप्किरहेको थियो । खुनको आहल नभए पनि घाँटीमा एक थोपा रगत जमेको थियो । रक्सीको बोतल थिएन, तर सलाइको बट्टा सलामी दिइरहेको थियो । एक एक गर्दै तिली घोट्दै भुइँमा फाल्दै गएँ । कुनै पनि बलेनन् । कुनै चलचित्रमा जस्तै कुनै अलौकिक शक्तिले मेरो रक्षा गरिरहेको थियो । यो घटना मैले एक दुईपटक झिकेको छु । जसका सामु झिकेँ, थाहा छैन उनीहरूले कति विश्वास गरे ।

केही घण्टा पहिले मलाई मार्न खोज्ने हातले आएर अहिले अङ्गालो हाल्यो । एकै हात क्रूर र प्रेमिल कसरी हुनसक्छ ? म त्यो दिन अन्तिमपटक खुब रोएको थिएँ । त्यसपछि खासै रोएको घटना याद छैन ।

त्यो अङ्गालोमा मलाई आमाबुबाको आत्मीयता याद आयो, तर त्यही अङ्गालोमा महसुस भएन । उसका झुटा आँसु मन परेनन् । मेरो दुःखदायी बालापनको किस्सा सुनाउँदै रोएका मेरा बा’को आँसु खुब याद आयो । केहीबेर अघिसम्म जिन्दगीमा सब नकारात्मक उर्जा मात्र थिए । जसको निमित्त मैले बाआमाको शिरमा लात हिर्काएको थिएँ , उसले गर्दनमा छुरा राखी । उसलाई एउटा यात्रामा सिँढी बनेर साथ दिने क्रममा म आफैँ कहिले भत्किसकेको थिएँ, थाहै भएन ।

पुरानो कुराहरू याद गर्न सक्नुभन्दा ठूलो कुरा अरू नहुँदो रहेछ । आफ्नो विगतमा फर्किएर नकारात्मक जिन्दगीलाई सकारात्मक बाटोमा ल्याउन सफल भएको छु ।

पैतालामा समस्या आएर चार महिनादेखि काम नगरेको समयमा कति महिनादेखि मानसिकताले काम गर्न छोडेको थियो, यकिन छैन । धेरै कुराहरूले मलाई सुस्त सुस्त आर्यघाट वा मानसिक अस्पतालको बाटो डोहोर्याइरहेको थियो । एकोहोरिनु , झस्किनु , मर्ने अनेक उपायहरूको कल्पना गर्नु , हाँस्नु , रुनु , यथार्थ बाहिरका कुराहरू कल्पना गर्नु – आज सम्झँदा सपनाजस्तो लाग्छ ।

मेरो हत्याको प्रयास हुँदा र मैले आत्महत्याको प्रयास गर्दा मेरो मस्तिष्कले काम गरिरहेको थिएन । तर त्यहीबेला नै मेरो मस्तिष्कले सबैभन्दा बढी काम गर्यो, जिन्दगी बचाउनुभन्दा ठूलो काम अरू होला र केही ? चक्कु खोसेर मिल्क्याउन सक्यो । सलाई नबलेपछि पसल गएर अर्को ल्याउने सोचलाई झुन्ड्याएर जिन्दगीलाई बचाउन सक्यो ।

पुरानो कुराहरू याद गर्न सक्नुभन्दा ठूलो कुरा अरू नहुँदो रहेछ । आफ्नो विगतमा फर्किएर नकारात्मक जिन्दगीलाई सकारात्मक बाटोमा ल्याउन सफल भएको छु । हेराइमा भरपर्दोरहेछ र त भन्नेले भनेका छन्, “आधा गिलास पानीलाई आधा भरिएको पनि देखिन्छ र आधा खाली पनि देखिन्छ ।”

मैले त्यो आधामा घर, बुवाआमा, सपना र जिन्दगी देखेँ ।

प्रतिक्रिया
Loading...