नेपाली साहित्यको सम्पूर्ण पत्रिका

यात्रा

पुष्कर रिजाल

हो कठिन छ
धुलोबाट
मखमलको यात्रा !
र त सान छ
यस यात्रामा;
चारकोशे झाडीको पाटेबाघ
हिउँमा खेल्यो भने !
सौराहामा डुल्ने एक सिँगे गैँडा
र बर्दियाका मत्ता
पहाड चढे भने !
भैगो ! सगरमाथा चढ्नु पर्दैन
उक्लिए पनि सानो चुरे
नाघे भने महाभारत
अनौठो लाग्नेछ जिम्माल बालाई…
आफ्नै घरको हलीले
बारीको छेउमा बुकुरो बारे पनि
घर ठड्याएझैँ !
अनौठो मान्नेछ दुनियाँ…
पृथ्वीमा नौलो एलियन आएझैँ !
यात्रा न हो …यात्रामै
भेटिन्छ भारत र दंग पर्छ डिगामा
आइन्छ अमेरिका र अवाक् बन्छ कोलम्बस !

प्रतिक्रिया
Loading...