नेपाली साहित्यको सम्पूर्ण पत्रिका

सफलताकै कथा किन लेखिन्छ ?

कर्मको फल तपाईंको हातमा छैन । तपाईं सफल बन्नको लागि कर्म गर्न सक्नुहुन्छ तर सफल बन्नैपर्छ भनेर सफलता मिल्नेवाला छैन । सफल हुनु छ भने असफलताहरू झेल्ने आँट गर्नुपर्छ ।

जिन्दगी बाँच्न हरेकले आ–आफ्नो ठाउँमा संघर्ष गरेकै हुन्छन् । साना जीवजन्तुदेखि मानिससम्मै । डार्विनको सिद्धान्तअनुसार– प्रकृतिमा संघर्ष गर्न नसक्ने जीवहरू नै लोप भएर जान्छन् । बाँच्नको लागि हरेक जीवले आफूलाई प्रकृति अनुकूल बनाउनै पर्छ । डाइनोसरहरू लोप हुनुको कारण आफूलाई प्रकृति अनुकूल नबनाएरै हो ।

कागहरू सहरमा किन छन् ? उनीहरूले सहरको दैनिकीमा पनि आफूलाई अनुकूल बनाउन सके । यसरी हरेकले आफूलाई बाँच्नको निम्ति अनुकूल परिस्थिति बनाउने क्रममा हुन्छन् । बाँच्नको लागि अनुकूल नबनाउनेहरू अर्थात् बनाउन नसक्नेहरू आत्महत्याको बाटो रोज्छन् । त्यसैले पनि आत्महत्या कायरले गर्छ भन्ने गरिन्छ ।

एक जना रिक्सावाला दाजु हुनुहुन्थ्यो । उहाँसँग बसेर कुरा गर्ने क्रममा मलाई लाग्यो, उहाँले जति संसारमा कसैले संघर्ष गरेकै छैन । रामेछापमा तीन तले पक्की घर, काठमाडौँमा पाँच आना घडेरी, छोराछोरीको बिहेवारी अनि बैँकमा पाँच लाख रुपैयाँ बचत । यो सबै रिक्सा चलाएरै भएको थियो । दिनमा उहाँको कम्तिमा पच्चीस सयदेखि तीन हजारसम्मको आम्दानी हुन्थ्यो । खानाबाहिर नखाने, कोठामै पुगेर खाने गर्नाले पनि बचत गर्न सकेको बताउनुहुन्थ्यो ।

मलाई उहाँको कथा सुनेपछि रिक्सा चलाऊँ चलाऊँ लाग्यो । फेरि त्यो काम कहाँ सजिलो छ र ? दिनभरी घाम, पानी नभनी फर्निचरका सामानहरू पुर्याइरहनुपथ्र्यो । कहिले ठेलामा सिमेन्ट बोकेर लग्नुपथ्र्यो । कहिले फलामका रडहरू बोकेर ठेला गुडाउनुपथ्र्यो । उहाँ आफैँले बैँकको म्यानेजरले भन्दा म धेरै कमाउँछु नि भन्नुभयो । महिनामा कम्तिमा सत्तरी हजार कमाउनुहुन्थ्यो । उहाँको कथा किन कसैलाई गर्वले भन्न लायक बन्न सकेन ? मलाई यो कुराले मष्तिष्कमा हानिरहन्थ्यो, किन उहाँको मालिकको मात्रै कथा सुन्न लायकको मानिन्छ ?

सिमाना पौडेल

मलाई सफल मान्छे र असफल मान्छे भनेर चिनिने दुवै व्यक्तिको संघर्षको कथा उस्तै लाग्छ । मान्छेले असफलै हुन्छु भनेर मेहनत किन गर्छ र ? सबैलाई सफल बन्न मन पर्छ । सबैको प्यारो बन्न मन पर्छ । सबैले मानुन्, हाईहाई गरुन् भन्ने ध्याउन्न सबैको हुन्छ । तर सबै मान्छे सफल हुँदैनन् । हामीहरू धेरै व्यक्तिहरू अरूको सफलतामा थपडी बजाउन मात्रै जन्मिएका हुन्छौँ । सफल हुने कामनामा असफलतामै मर्छ मान्छे । सफलताको एउटा पहाड उक्लेपछि बल्ल अर्को पहाड देखिन्छ । फेरि चढ्यो र खुइ्यया गर्यो । अर्को पहाड देखिन्छ । एवम् रीतले मान्छे अगाडि बढ्दै जाँदा सफलता झन् झन् पर पर जान्छ ।

मान्छेले आफूले पाएको उपलब्धीलाई खासै महत्वको ठान्दैन । जब उसले आफ्नो उपलब्धीलाई अर्को व्यक्तिसँग तुलना गर्छ, बल्ल ऊ वास्तवमा खुसी हुन्छ कि दुःखी रहन्छ । तुलनात्मक खुसीमा अहिलेको पुस्ता अल्झिएको छ । अरूसँग तुलना नगरी उसलाई चित्तै बुझ्दैन ।

“ओई तिमारूको घर कति अग्लो बनाएको, चार तले ?”, मैले साथीको घर वर्षैपिच्छे अग्लिदै गएपछि जिज्ञासा राखेको थिएँ ।

“आडैको घर हेर्न कति अग्लो बनाएको छ, हामी पनि के कम भनेर नि ! अरूभन्दा कम हुनहुन्न भनेर बुवाले घरको तल्ला थपिरहनुभएको हो ।” साथीले खुशी हुँदै सुनाएकी थिई ।

छिमेकीभन्दा कम हुन नपरेकोमा उसलाई पनि गर्व महसुस भएको हुँदो हो । तुलनात्मक खुसीमा अल्झिरहँदा मान्छेले वास्तविक खुसीको मुहार पनि बिर्सिसक्यो । हरेक मान्छेले आफ्नो लागि संघर्ष गरेकै हुन्छ । समाजमा आफ्नो प्रतिष्ठा कायम राख्नको लागि हरदम प्रयास गरेकै हुन्छ, तर किन सबै व्यक्ति प्रतिष्ठित् बन्दैनन् ?

संघर्ष गरिरहेकै व्यक्तिहरूमध्येबाट कुनै एक व्यक्ति सफलताको शिखरमा पुग्छ । सबै सफलताको शिखरमा पुग्दैनन् । सफलताको शिखरमा पुग्नु भनेको अप्ठ्यारो काम होइन । बरु यो कलाको काम हो । थोरै मेहनतले पनि तपाईं सफलतालाई भेट्टाउन सक्नुहुन्छ । बस्, कसरी पुग्ने भन्ने र कहाँ पुग्ने स्पष्ट नक्सा तपाईंसँग हुन जरुरी हुन्छ । असफल हुनेहरू अल्छी हुन् भनेर पुग्दैन । उनीहरूले कर्म गर्दागर्दै पनि केही उपलब्धी हासिल नगर्न सक्छन् । सबैभन्दा ठूलो कुरा भनेको कर्म हो । कर्ममा रमाइरहनु हो । हामी जीवित रहनको लागि पनि कर्म गरिरहनुपर्छ । शरीरले कर्मको माग गर्दछ । मनले नयाँ नयाँ कुराहरूको ।

मन र शरीर एकै ठाउँमा हुनेबित्तिकै तपाईं स्वतःरूपमा खुसी र त्यो काम धेरै प्रभावकारी ढंगले सम्पन्न गर्न सक्नुहुन्छ ।

मन र शरीरबीच ठ्याक्कै विपरित सम्बन्ध हुन्छ । शरीर एउटै कुरामा अभ्यस्त रहन चाहन्छ तर मनलाई एउटै कुरा गर्नुपर्दा पट्यार लाग्छ । शरीर र मनलाई एकै ठाउँमा बाँधेर काम गर्न सक्नु नै साँचो अर्थमा कर्म हो । गरिएको यस्तो खालको कर्मले तपाईं सफल भए पनि वा असफल भए पनि माने राख्दैन । तपाईं सधैँ एकैनासले उत्तिकै शक्तिले काममा लागिरहन सक्नुहुन्छ । मन र शरीर एकै ठाउँमा हुनेबित्तिकै तपाईं स्वतःरूपमा खुसी र त्यो काम धेरै प्रभावकारी ढंगले सम्पन्न गर्न सक्नुहुन्छ ।

सफलता र असफलता कसरी मापन गरिन्छ ? तपाईंले गरेको कर्मले धेरैभन्दा धेरै व्यक्तिलाई लाभ पुर्याउन सक्यो भने त्यो व्यक्तिलाई सफल मानिन्छ । सफलता भन्ने कुरा तुलनाबाट आउने कुरा हो । अरूसँगको काममा दाँजेर अरूले नै दिइने पदवी सफल मान्छे भन्ने हुन्छ । हामीले असफल मानिएका मान्छेहरूले कहाँ आफूलाई असफल र केही गर्न नसक्ने लाचार छु भनेर स्वीकार्छन् र ? प्रयास गरिरहेको छु भनिरहन्छन् ।

निरन्तर प्रयास गर्नेहरू सबै सफल नहुन सक्छन् । सफलता क्षणिक हो । असफलता पनि क्षणिक हो । निरन्तर कर्म गरिरहनु, आफूलाई हिजोभन्दा आज केही हदसम्म भए पनि राम्रो बनाउन प्रयास गर्नु र निरन्तर समयसँगै बढ्नुपर्छ । गीतामा भने जस्तै – कर्म गर फलको आश नगर ।

हामी तनावमुक्त हुनको लागि परिणामको चिन्ता नगरी कर्म गरिरहन सक्नुपर्छ । वास्तवमै हामीले चाहेको खुसी हो । हामीलाई जसले सफल भइस् भने पनि भित्रबाट आफूले पाएको प्राप्तिमा खुसी र सन्तुष्टि रहन सकेनौँ भने त्यसले के परिणाम निम्त्याउँछ ? केही समयअघि आत्महत्या गरेका बलिउडका स्टार सुशान्त सिंहलाई नै हेरौँ । उनी जुन अवस्थामा थिए, त्यो अवस्था धेरैको लागि सपना हो । उनले धेरै व्यक्तिको सपना जस्तो जिन्दगी बाँचेर अन्त्यमा आत्महत्या गरे ।

बलिउडका कलाकार नवाजुद्धिन शाहलाई अहिले सफल मानिन्छ । किन ? उनले हर अप्ठ्यारो परिस्थितिमा पनि बलिउड छाडेनन् । निरन्तर प्रयास गरिरहे । उनले भन्दा धेरै प्रयास गरेका व्यक्तिहरूले उनले जत्ति सफलता पाउन सकेका छैनन् । सफलता भनेको कर्म र भाग्यको जोड हो । तपाईंको हातमा कर्म मात्रै छ । कर्मको फल तपाईंको हातमा छैन । तपाईं सफल बन्नको लागि कर्म गर्न सक्नुहुन्छ तर सफल बन्नैपर्छ भनेर सफलता मिल्नेवाला छैन । सफल हुनु छ भने असफलताहरू झेल्ने आँट गर्नुपर्छ ।

सफलताकै कथा किन लेखिन्छ ? यसको सोझो उत्तर छ, असफलता भनेको बाटो हो । सफलता भनेको गन्तव्य हो । बाटोको वर्णनले मान्छेलाई अल्मल्याउँछ । गन्तव्यको वर्णनले मान्छेलाई मार्गदर्शन मिल्छ । गन्तव्य चिनेको मान्छेले बाटो आफैँ खन्छ । त्यसैले पनि सफलताकै कथा लेखिन्छ । हामीले असफलताको कथाबाट पनि धेरै सिक्छौँ ।

हामी आफैँले अनुभव गरेर सिक्नको लागि जिन्दगी छोटो छ । अरूको अनुभवबाट धेरै कुरा सिक्न सक्छौँ । सफलताको कथाले मोह जगाउँछ । अहिले मान्छेले केही प्राप्तिको लोभ नगरिकनै कर्म गर्न सक्दैन । उसले आफूमा यस्तो ढाँचा निर्माण गरिसक्यो कि उसलाई सुरुमै गन्तव्यको ज्ञान भएन भने ऊ बाटोमा अल्मलिएर त्यस बाटोको सुन्दरता नियालेर आनन्दित हुन सक्दैन ।

सफलताको परिभाषा यहीँ नै हो भन्ने हुँदैन । तपाईंको कर्म असल हुनुपर्यो र त्यसले धेरै व्यक्तिहरूलाई लाभ पुर्याउनपर्यो ।

हामी डाक्टर हुनुलाई सफल मान्ने वा डाक्टरहरूलाई काम दिनसक्ने अस्पताल निर्माण गर्ने मान्छेलाई सफल मान्ने ? फेसबुक बनाउने मान्छेलाई सफल मान्ने वा देशको प्रधानमन्त्री हुने व्यक्तिलाई सफल मान्ने ? सफलता भनेको सापेक्षिक हुन्छ । सफलताको परिभाषा यहीँ नै हो भन्ने हुँदैन । तपाईंको कर्म असल हुनुपर्यो र त्यसले धेरै व्यक्तिहरूलाई लाभ पुर्याउनपर्यो ।

डा.सन्दुक रुइत । उहाँलाई के मान्नुहुन्छ ?

सफल व्यक्तिहरूले आफ्नो इतिहास आफैँ बनाउँछन् । अरूले गरिरहेकै कुरालाई निरन्तरता दिएर त्योभन्दा राम्रो गर्नुलाई सफल मानिदैन । सफलता भनेको कसैले देख्दै नदेखेको गन्तव्यलाई चिनेर त्यस ठाउँमा आफू पुगेर त्यसको वर्णन गर्नु हो ।

साँच्चै सफलताकै कथा किन लेखिन्छ ? असफलताका कथाहरू पनि कम रोचक हुँन्छन् र !

‘जीवन संघर्षले भरिएको एउटा किताब हो ।’, भनेर एउटा विद्धानले भन्यो भने उसको कुराको जयजयाकार हुन्छ । हो नि ! कस्तो राम्रो कुरा भन्छन् । त्यो कुराको चर्र्चा गरिन्छ । त्यहीँ कुरा एउटा भरियाले भन्यो भने मान्छेले वास्ता गर्दैनन् । मतलब गर्दैनन् । किन ? यस्तो किन हुन्छ ?

म प्रश्नको भारी बोकेर यात्रा गरिरहेको छु ।

प्रतिक्रिया
Loading...