नेपाली साहित्यको सम्पूर्ण पत्रिका

धूस्वाँ सायमिः कविताको कारखाना

नेपाली साहित्यमा धूस्वाँ सायमि यस्ता साहित्यकार हुन्, जो निरन्तर लेखिरहन सक्थे । लेखेको लेख्यै गर्न सक्थे । एक भाषामा मात्र होइन, तीन भाषामा धाराप्रवाह लेख्न सक्थे । उनी लेख्दा यसरी लेख्थे, मानौं उनलाई त्यसको प्रकाशन कहिले होला, या नहोला, पाठकहरुले मन पराउलान् नपराउलान्, यी सबबाट उनी बेखबर रहन्थे जब उनी लेख्न कलम समाउँथे । विशेषगरी कविता चाहिँ उनी लेखेको लेख्यै गर्न सक्थे । उनले एकै महिनामा हिन्दीमा लेखेका कविताहरुमध्येबाट छानेर अविनाश श्रेष्ठले सम्पादन गरी त्यसलाई नेपालीमा अनुवाद गरेर ‘२०५३ वैशाख’ शीर्षकमा उनको कविता सङ्ग्रह नै प्रकाशित भएको थियो । उनी हिन्दी, नेपाली र नेवारीमा सहज ढङ्गले लेख्न सक्ने खुबी भएका साहित्यकार थिए ।

मैले धूस्वाँ सायमीलाई ‘गँकी’ उपन्यासको माध्यमबाट चिनेको हुँ । मूल नेवारीमा लेखिएको यो उपन्यासको पहिलो नेपाली संस्करण २०२१ सालमै रत्न पुस्तक भण्डारबाट प्रकाशित भएको थियो । त्यसको दोस्रो संस्करण साझा प्रकाशनले पहिलोपल्ट प्रकाशित गर्दा म साहित्यका पुस्तकहरु खोजी खोजी पढ्ने समय परेको थियो र त्यस उपन्यासले निकै दिनसम्म रन्थन्याएको सम्झना अझै ताजा छ ।

धूस्वाँ सायमि

विसं २०३५/३६ सालतिर नयाँ सडक पीपलबोटबाट रञ्जना सिनेमा हल जाने गल्लीमा सोडा पसलको लाइनको विपरीतपट्टि दुई वटा पत्रिका तथा पुस्तक पसल थिए । म त्यहाँ नियमित रुपले जाने गर्थेँ । त्यहाँ हिन्दीका पाकेट बुक्सहरु, हिन्दी पत्रपत्रिकाहरु, केही नेपाली पत्रपत्रिकाहरु तथा पुस्तक पाइन्थे । मैले त्यो पसलमा धूस्वाँ सायमिको ‘मैँ दासी मैँ सराय’ नामको पुस्तक भेटेँ र किनेँ । त्यतिन्जेल साहित्य र साहित्यकारहरुको विषयमा चासो लिने र जानकारी बटुल्ने भैसकेको थिएँ । यसै क्रममा धूस्वाँ सायमिको भारतीय लेखिका अमृता प्रितमसँग अन्तरङ्ग मित्रता छ र अमृताले धूस्वाँ सायमिलाई लिएर उपन्यास नै लेखेकी छन् भन्ने समेत गाईंगुईं सुनिसकेको थिएँ । तर यी लेखकसँग मेरो भेटघाट भने जुरेको थिएन ।
उनी प्रज्ञा प्रतिष्ठानमा सदस्यको रुपमा आएपछि भेटघाट मात्र होइन, लामै गफगाफ गर्ने समेत भइयो ।

१९८७ जेठ १० गते काठमाडौँको झोँछेमा जन्मेका गोविन्दबहादुर मानन्धर नै नेपाली साहित्यका धूस्वाँ सायमि हुन् । उनको बाल्यकाल गौरमा बितेको थियो । उनले सानै उमेरदेखि लेख्न थालेका हुन् र यिनको पहिलो रचना हिन्दीमा प्रकाशित भएको थियो । अध्ययनको क्रममा बनारस बस्दा यिनको साहित्यकारद्वय श्याम प्रसाद र भवानी घिमिरेसँग राम्रो मित्रता र उठबस भएको थियो । उनका रचनाहरु त्यतिबेला बनारसबाट प्रकाशित हुने ‘युगवाणी’ पत्रिकामा पनि प्रकाशित भएका थिए । बरु उनको रचना शुरुमा काठमाडौंबाट प्रकाशित हुने ‘शारदा’ पत्रिकाले अस्वीकृत गरेको थियो ।

नेपाली भाषामा उनको पहिलो किताब ‘हिमाल क्रन्दन’ नामक नाटक थियो, जुन २००८ सालमा प्रकाशित भएको थियो ।

धूस्वाँ सायमिले आफ्नो जीवनको लामो समय अध्यापनमा विताए विशेषगरी पद्मकन्या क्याम्पस र त्रिचन्द्र क्याम्पसमा । तर उनले आगन्तुक प्राध्यापकको रुपमा अमेरिकी विश्वविद्यालयहरुमा पनि पढाएका थिए । भारतको नयाँ दिल्लीमा साँस्कृतिक सहचारीका रुपमा पनि काम गरेका थिए र पछि एकेडेमीमा प्राज्ञको रुपमा पनि काम गरे । यी सब काम उनको नियमित जागिरभन्दा फरक काम थियो जसमा साहित्य, कला, संस्कृति जोडिएको थियो । उनी मगनमस्त साहित्यकार हुन चाहन्थे, कविता कर्ममा चुर्लुम्म डुबिरहन चाहन्थे । भारतको नयाँ दिल्लीमा साँस्कृतिक सहचारीका रुपमा रहँदा प्रशासक भइन्छ, मेरो लेखक मर्छ भनेर उनले कार्यकालको शुरुमै फर्किने मन पनि बनाएका थिए, तर उनलाई अमृता प्रितमले सम्झाएर भनेकी थिइन्, ‘यदि तिमीभित्र सच्चा लेखक छ भने त्यो कहिल्यै मर्दैन ।’

दिल्लीमा छँदा उनले औषधोपचारका लागि गएकी पारिजातलाई सक्दो सहयोग गरेका थिए । नेपालको प्रतिष्ठित लेखक हो भनेर अस्पतालमै गएर उनले भनेका थिए र त्यसपछि उनको उपचारमा सहुलियत भएको थियो र व्यवहार पनि राम्रो पाएकी थिइन् पारिजातले । उनी बाहिर कोठा लिएर बसेकी थिइन् । धूस्वाँले आफ्नो निवासमै बस्न आग्रह गरेका थिए तर पारिजातले बस्न चाहिँ मानेकी थिइनन् । तर जे होस् यौटी लेखिकालाई उनले सक्दो सहयोग र सद्भाव देखाएका थिए ।

दिल्लीमा उनी साहित्यिक समुदायमा भिजेका थिए तर उनको घनिष्ठता भने अमृता प्रितमसँग भयो । अमृता र धूस्वाँकी पत्नी बसुन्धराबीच पनि राम्रो दोस्ती जमेको थियो । अमृताले धूस्वाँका कैयन् रचना पन्जाबीमा अनुवाद गरेर प्रकाशित गरिदिएकी थिइन् । उनले आफ्नो उपन्यास ‘अदालत’ मा धूस्वाँलाई पात्र समेत बनाएकी थिइन् । त्यतिबेला भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीसँग पनि अमृता प्रितमको दोस्ती थियो र इन्दिरा बेलाबखत अमृताको घरमा जाने गर्थिन् । एकपल्ट धूस्वाँ अमृताको घरमा थिए। त्यति नै बेला इन्दिरा गान्धीले फोन गरेर आफू उनलाई भेट्न आउन लागेको बताइन् । फोन राखिसकेपछि अमृताले धूस्वाँलाई भनिन्, ‘इन्दिरा आउँदैछिन्, म तिमीसँग भेट गराइदिन्छु ।’

तर धूस्वाँले आफू नेपाली राजदूतावासको सांस्कृतिक सहचारी भएकाले प्रधानमन्त्रीसँग भेट गर्न प्रोटोकलअनुसार उचित नहुने र पदमा नभएको बेला लेखकको रुपमा भविष्यमा मौका मिले भेटौंला भनेर उनले इन्दिरा गान्धीलाई भेट्न इन्कार गरेका थिए । र, इन्दिरा गान्धी आउनुअघि नै उनी अमृतासँग बिदावारी भएर निस्केका थिए ।

धूस्वाँको सवैभन्दा रुचाइएको र धेरै भाषामा अनुवाद भएको उपन्यास ‘गँकी’ को रचनाको विषयमा रोचक घटना थियो । एकपल्ट विजय मल्ल र धूस्वाँ बाटोमा कतै गफ गर्दै थिए । यौटी महिला त्यही बाटो हुँदै गइन् । दुवैले एकसाथ देखे । अनि विजयले भने, ‘म यसको बारेमा उपन्यास लेख्दैछु ।’

धूस्वाँले पनि तत्कालै भने, ‘त्यसो भए म पनि लेख्छु ।’

धूस्वाँ तराई र बनारसमा ज्यादा बसेकाले नेवारीमा राम्रो पकड थिएन तर उनकी श्रीमती वसुन्धराको सहयोगले उनले ‘गँकी’ नेवारी भाषामा लेखे । उनी पछिसम्म पनि वसुन्धरा मेरी श्रीमती मात्र होइन ‘गँकी’को सहलेखक हो, किताबमा नाम मात्रै छैन भन्ने गर्थे ।

किताब लेखिसकियो । छापियो । विजय मल्ल छक्क परे, उनले त लेखेकै थिएनन् । बरु पढिसकेपछि यस्तो प्रतिकृया दिए, ‘म यो भन्दा राम्रो लेख्छु ।’ तर विजयले कहिल्यै लेखेनन् । धूस्वाँ विजयले ईर्ष्यावश त्यसो भनेको भन्ठान्थे । त्यो कुरा तुषको रुपमा रहेको थियो । तर आफूले स्थापना गरेको ‘गँकी वसुन्धरा पुरस्कार’ पहिलोपल्ट पारिजातको साथमा विजय मल्ललाई दिएर उनले त्यो तुष कूटनीतिक ढङ्गले मेटाएका थिए ।

नियमित रुपमा र अनगिन्ती सङ्ख्यामा कविता लेख्ने धूस्वाँको नेपाली भाषामा पहिलो कविता सङ्ग्रह भने ‘२०५३ बैशाख’ हो । यो कविता सङ्ग्रहमा भएका ७० कविता धूस्वाँले २०५३ वैशाख महिनाभरिमा लेखेका ३०० भन्दा बढी हिन्दी भाषाको कविताको थुप्रोबाट अविनाश श्रेष्ठले चयन गरी अनुवाद गरेका हुन् । सो पुस्तकमा अविनाशले लेखेका छन्, ‘कवि धूस्वाँ सायमीले वैशाख १ गते २०५३ देखि वैशाख ३१ गते २०५३ भित्र हिन्दी भाषामा तीन सय भन्दा बढी कविता लेख्नु भयो । ती दिनहरुमा उहाँ जीवन-अनुभवको मर्माहत प्रहारबाट गुज्रिरहनु भएको भान ती कविताहरुको पाठबाट मलाई भयो । उहाँको अनुमति लिएर ती तीन सय कवितामध्येबाट यस सङ्ग्रहमा प्रस्तुत सत्तरी वटा कविता नेपालीमा अनुवाद गर्ने प्रयास मैले गरेँ ।’

धूस्वाँको लेखन शक्ति र ऊर्जा यसैबाट पर्गेल्न सकिन्छ ।

२०५४ सालको कुनै दिन म धूस्वाँ सायमिको कोठामा थिएँ, प्रज्ञा प्रतिष्ठानमा । उनले भनेका थिए, ‘गोविन्द, तिम्रा पनि विरोधी त रहेछन् है बा !’

कुन सन्दर्भमा उनले यसो भनेका हुन्, नबुझेर म छक्क पर्दै उनको मुखमा हेरिरहेको थिएँ ।

‘मोती पुरस्कारको निर्णय गर्न मैले कस्तो लड्नु पर्यो गोविन्द एकदम योग्य पात्र हो, उसको योगदान यो पुरस्कार पाउनका लागि यथेष्ट छ भनेर,’ उनले खुलस्त पारे ।

मलाई र मेरा अनन्य मित्र प्रमोद प्रधानलाई संयुक्त रुपमा २०५४ सालको ‘युवा वर्ष मोती पुरस्कार’ दिइने घोषणा भइसकेको थियो । मैले रीतपूर्वकको आवेदन दिएको थिएँ । निर्णायक कोको छन्, त्यस विषयमा न मलाई जानकारी थियो, न चासो नै । त्यसवर्ष एकेडेमीको तर्फबाट उनी निर्णायक मण्डलमा रहेछन् । त्यो पनि उनैले पुरस्कारको घोषणा भैसकेपछि बताएर पत्तो पाएको थिएँ ।

धूस्वाँ लिखित ‘दीपा’ उपन्यास निकै चर्चित भयो । साहित्यवृत्तमा यसले चहल पहल बढायो । त्यसका केही कारण थिए । यो उपन्यास एउटी जीवित महिलालाई लिएर लेखिएको थियो । धूस्वाँ मात्र होइन, उनकी श्रीमती वसुन्धराले पनि तिनलाई चिन्थिन् । तर धूस्वाँ दीपाप्रति आशक्त नै भएको भन्ने साहित्यिक बजार हल्लाले पनि बजार तताएको थियो । यस सम्बन्धमा मैले २०६० साल फागुनमा उनीसँग अन्तरवार्ता लिने क्रममा उनले मसँग ‘दीपा’ उपन्यासको बारेमा केही कुरा खुलस्त पारेका थिए । उनले उपन्यास प्रकाशित भएपछि दीपालाई उपन्यास पढ्न दिए र दीपाले उनको क्यारेक्टर ‘बोल्ड’ नभएको भन्दै असन्तुष्टि प्रकट गरेकी थिइन् । यो निकै चाखलाग्दो कुरा थियो । अर्को महत्त्वपूर्ण कुरा, यो उपन्यास उनले मूल नेपालीमा लेखेर प्रकाशित भएको पहिलो उपन्यास थियो ।

सर्वाधिक बिक्री हुने, सर्वाधिक विभिन्न भाषामा अनुदित हुने र एक किसिमले धूस्वाँको पर्यायवाची बनेको ‘गँकी’ उपन्यासलाई उनको माष्टरपिस उपन्यास मान्दछन् धेरैले । म आफैँ पनि त्यही सोच्दछु । तर धूस्वाँ भने ‘गँकी’ लाई सर्वश्रेष्ठ उपन्यास मान्न तयार हुँदैनथे । उनको दृष्टिमा मूल नेवारीमा लेखिएर ‘मँगा’ शीर्षकमा नेपालीमा अनुदित उपन्यास बढी प्रभावशाली छ भन्दै त्यो उपन्यास सापेक्षित रुपमा आफूलाई मन पर्ने बताउँथे ।

धूस्वाँ साहित्यकारप्रति उदार र फूक्काफाल थिए । उनका प्रकाशनका लागि कैयन् पाण्डुलिपि हुँदा पनि कतिपय साहित्यकारका कृति प्रकाशनार्थ उनी आर्थिक सहयोग गर्थे । एक प्रकारले लहडी जस्तै थिए । दीपा उपन्यासकी पात्र बनेपातिरकै भएकाले उनले त्यही उपन्यासको नाममा बनेपाका मोहन दुवालको साहित्यिक पत्रिका ‘जनमत’ मार्फत ‘दीपा जनमत’ पुरस्कारको स्थापना गरेका थिए । उनले ‘गँकी पुरस्कार’ स्थापना गरे । ‘गँकी’ सर्वाधिक रुचाइएको उपन्यास भएकाले उपन्यासकारलाई दिइने पुरस्कार ‘गँकी पुरस्कार’ उचित हुने साथीभाइको सल्लाह अनुसार यो पुरस्कारको योजना अघि बढेको थियो । यो पुरस्कार स्थापनार्थ धूस्वाँले एक लाख रकम छुट्याएका थिए । उनकी धर्मपत्नी वसुन्धराले ‘मेरो तर्फबाट पनि यो पुरस्कारको लागि एक लाख राख्छु’ भनेपछि शुरुवातमै दुई लाख रुपैयाँको अक्षयकोष तयार भएको थियो । तर दुर्भाग्य, पहिलो पुरस्कारको निर्णय हुनुअघि नै वसुन्धराको दुःखद निधन भयो । अनि पुरस्कारको नाम ‘गँकी पुरस्कार’ बाट ‘गँकी वसुन्धरा पुरस्कार’ का रुपमा परिवर्तन गरिएको थियो ।

वसुन्धराको देहान्तपछि उनको बाँकी जीवनको लागि सहयात्री साथीको लागि पहल भएको थियो । यौटी साहित्यकारसँग उनको घनिष्ठतालाई उनको भावि सहयात्रीका रुपमा मानिसहरुले चर्चा गर्न थालेका थिए साहत्यिक वृत्तमा । तर उनले ‘म तिमीलाई विधवा बनाउन चाहन्न’ भने रे भन्ने पनि सुनियो । तर मसँगको अन्तरवार्तामा साथीभाइहरुले मात्र होइन छोराहरुले पनि कुरा गरेको तर आफूले ‘कुनै पनि स्त्रीलाई वसुन्धराको स्थान दिन नसक्ने’ भन्दै अस्वीकार गरेको बताएका थिए ।

धूस्वाँको पहुँच दरबारसम्म थियो । तर उनले भारतको सांस्कृतिक सहचारी चाहिँ उनको इच्छाले भन्दा पनि श्रीमतीको इच्छाले ग्रहण गरेका थिए । तर जहाँ पुगे पनि उनको हक्की र फुक्काफाल स्वभावमा भने कुनै अन्तर आउँदैनथ्यो नत्र भने राजाकै सामुन्ने राजाको विषयमा क्रिटिकल कविता भन्न जो पायो त्यसको आँट कहाँ हुन्छ ?

राजाको दरबारमा हुने साँयकालीन गेटटुगेदरको बेला मुक्तक, कविता, ठट्टा सुनाउने सिलसिलामा धूस्वाँले यस्तो कविता सुनाए जुन सुनेर अरु साथीभाइ भने थरहरी भए, राजा वीरेन्द्र मुसुमुसु हाँसिरहे । त्यो कविताका पङ्क्ति यी थिएः

“ए मेरो राजा,
तिम्रो चारैतिर दासैदास मात्र छन्,
लासैलास मात्र छन्,
के तिम्रो यति मात्र इच्छा हो,
यी दासहरूको राजा बनिरहने,
यी लासहरूको राजा बनिरहने”

यस्ता जीवन्त कविको २०६४ साल मंसिर २१ गते खाना खान लाग्दा अचानक हृदयाघात भयो र उपचारार्थ त्रिवि शिक्षण अस्पताल लैजाँदै गर्दा बाटैमा निधन भएको थियो ।

प्रतिक्रिया
Loading...