नेपाली साहित्यको सम्पूर्ण पत्रिका

धनगढीको सम्झना गर्दागर्दै

बर्मादेखि नेपालसम्म १६

धनगढी । यहाँ आएर मेरो कलम टक्क अडिन्छ । धनगढीको अनुभवलाई कुनै पनि शब्द या नामले म अर्थ्याउन सक्तिनँ । यहाँको तीन दिने बसाइ मेरो निम्ति विशिष्ट बन्यो । जसलाई दाँज्न कुनै बिम्ब फेला पार्न सक्तिनँ । म जुन भाषामा सपना देख्छु,  जुन भाषामा सहज अनुभव गर्छु र जुन भाषामा केही कोरिरहेकी छु, त्यही भाषा र साहित्यमा काम गरेका दिग्गजहरुलाई मैले यहाँ भेटेँ । त्यो पनि एकै ठाउँ,  करिब करिब एकैपटक, झुण्ड झुण्डमा । मेरो जीवनका यी सार्वधिक महत्त्वपूर्ण दिनहरु हुन् ।

धनगढीमा भएको विश्व नेपाली साहित्य महोत्सवमा भाग लिन पुग्नु भएका साहित्यकारहरुमा भाषा र साहित्यमा लामो समय साधना गर्नुभएका व्यक्तित्वहरु हुनुहुन्थ्यो । त्यहाँ बेलायत, अमेरिका, जापान, अस्ट्रेलिया, भारत र हामी म्यानमारबाट पनि पुगेका थियौँ । सबैभन्दा कनिष्ठ र कमजोर सायद म नै थिएँ र धेरै कुरा सिक्न पाएँ । यहाँको अनुभवले नेपाली साहित्य र भाषाप्रतिको मेरो व्यक्तिगत सोचलाई नै परिवर्तन गरिदियो । आफ्नो भाषा प्रतिको लगाव बढ्यो । यस प्रतिको मातृस्नेह जागेर आयो । जीवनमा अरु पनि यात्रा गरिएला, अरु पनि सम्मेलनहरुमा भाग लिइएला तर मेरालागि आफ्नो भाषा र पितृ देशलाई चिन्ने राम्रो मौका थियो ।

००००

अहो, बहकिएर कहाँ पुगिछु ! खासमा लेख्न अर्कै खोजेकी थिएँ तर लेख्दै जाँदा एकसाथ धनगढीका ती दृश्यहरु आँखाभरि आइदिए र कलम बहकिएर कता कता पुग्यो ।

यतिखेर धनगढीको एयरपोर्टबाट कुरा सुरु गर्दैछु । यसअघि मैले कहिल्यै नसुनेको नाम थियो, धनगढी । बर्मामा जब नेपालको धनगढीमा विश्व नेपाली साहित्य सम्मेलन हुँदैछ भन्ने सुनेकी थिएँ, यो काठमाडौँको नजिकै कुनै ठाउँमा होला भन्ने कल्पना थियो । हामीले सुनेको काठमाडौँ र बढीमा पोखरा हो । तर जब काठमाडौँमा आएपछि धनगढीबारे गुगलमा खोजेँ, त्यति चित्त बुझेन तर काठमाडौँबाट धेरै टाढा भएको कुरा भने थाहा भयो । यति टाढा साहित्य महोत्सव गर्नुका पछाडि के कारण होला, उत्सुकता लाग्नु स्वभाविक नै हो । धनगढी नामबाट प्रशस्त सम्पत्ति भएको ठाउँ बुझाउने भएकाले बर्मामै छँदा यो नामप्रति मेरो आकर्षण बढेको हो ।

यहाँ उत्रिएपछि थाहा भयो, धनगढी विकासको रुपमा पछि परेको नेपालको सुदूर-पश्चिम प्रदेशको राजधानी रहेछ । विकासोन्मुख,  जनसंख्याको अलि बढि चाप भएको । यहाँका फाँट फराकिला रहेछन् । हामी एयरपोर्टमा उत्रँदा मन्द गतिमा चलिरहेको तातो हावाले मलाई ठ्याक्कै मान्डलेको सम्झना दिलायो । तराईको गर्मी पचाएको म, सीमादी र भीमजीलाई खासै फरक परेन । तर राजन, मधूदी र सरगम अचाक्ली गर्मी महसुस गर्दै हुनुहुन्थ्यो । मोगोकको जाडो खेपेको शरीरलाई यहाँको फागुने गर्मी स्वाभाविक रूपमा बढी नै लागिरहेको थियो । गर्मीमा यहाँ ३७ डिग्रीसम्म पुग्छ होला भन्ने अनुमान म र सीमादीले लगायौँ । तराईमा यति हुनु सामान्य पनि हो ।

हामी पहिलो दिन एक स्थानीय होटलमा बास बस्यौँ । यो आयोजकले व्यवस्थापन गरेको होटल रहेछ । खानाका लागि आयोजनास्थलमै व्यवस्था गरिएको थियो र होटलबाट आयोजना स्थल केही टाढा थियो ।

होटलबाट धनगढीको बजार हेर्दै हामी चारजना चेली र ज्ञान सर एउटा सानो ट्याम्पु (ट्याक्सी)मा चढेर गयौँ । हामीसँगै एउटै होटलमा बस्नु भएका अन्य साहित्यकारहरू साहित्य समाजले खटाएको बसमा सभा पुगिसक्नु भएछ ।

बजार हेर्दै ज्ञान सरले भन्नु भयो, “हामी प्लेनमा अएका कारणले एक घन्टा लाग्यो, बसमा आउने हो भने काठमाडौँबाट झन्डै दुई तीन दिन लाग्छ।”

‘हामीले नेपाल सानो देश भन्ने सुनेका थियाैँ तर होइन रहेछ ! काठमाडौं, पोखरा, झापा यी ठाउँहरू पुगेर आएका धेरै छन् बर्मामा तर सुदूर पश्चिमसम्म पुग्ने बर्मेली हामीमात्रै होला है सर ?’ सरगमले जिज्ञासा राखिन् ।

मदन पुरस्कार विजेता रामलाल जोशीका बारेमा पनि उहाँले कुरा गर्नु भयो । उहाँकै कारण हामीले साहित्य सम्मेलनमा सामेल हुने अवसर पाएका रहेछाैँ ।

खासमा पाठ्यपुस्तकको तयारीका निम्ति ज्ञान सर काठमाडौँमा हुनुहुन्थ्यो । रामलाल सर पनि साहित्य सम्मेलनको तयारीका लागि काठमाडौँमा हुनुहुन्छ भन्ने थाहा भएपछि रामलाल सरले फोन गर्नु भएछ ।

‘हामीले अनामनगरको एउटा कफी सपमा भेट गर्यौँ । त्यहीँ रामलाल सरले विश्व साहित्य सम्मेलन आयोजना गर्ने तयारी भएको बताउँदै बर्मेली नेपाली साहित्यकारहरूलाई पनि निम्त्याउने प्रस्ताव राख्नु भयो। त्यसैले तिमीहरू यहाँ छाै ।’

हामीले समाचार र केही कथाहरूमा रामलाल सरको नाम सुनेका थियौँ तर त्यो बेलासम्म उहाँ हाम्रालागि साहित्यकारका रूपमा मनमा हुनुहुन्थ्यो, अहिले हाम्रालागि ठूलो दाता बनेर देखिनु भयो । हामीलाइ उहाँसँग भेट्न हतार लाग्यो । ज्ञान सरले हाम्रो मनको कुरा बुझेपछि भन्नुभयो, ‘अबका तीन दिन हामी उहाँसँगै हुनेछौँ ।’

बिहानको नौ बजेको समय हुनु पर्छ, हामी मञ्च पुग्दा। खुला मैदानको पश्चिममा ठूलो भवन पूर्वमा विशाल हल, मञ्चको सुन्दर सजावट र सहित्यकारहरूको उपस्थितिले साँच्चै साहित्यिक मेला लागेसरह थियो। हिजै यो मञ्च, यो भवन, यो हल सबैसँग परिचय गरिसकेका थियौँ । त्यतिले पनि यस्तो लागिह्यो कि आज हामी सम्पूर्ण धनगढीसँग परिचित छौँ । हिजोको जस्तो थोरै डर पनि मुछिएको सबै नयाँ नौलो परिवेश देख्दा आएको अनौठोपन आज किञ्चित छैन।

हाेटलमा बस्दा थाहा भयो,  काठमाडौँदेखि नै हामीलाई अश्विनी कोइराला सरले गाइड गरिरहनु भएको रहेछ । विमानस्थलमा हाम्रा अघिपछि हामीलाई सहयोग गर्ने व्यक्ति पनि उहाँ नै हुनुहुँदो रहेछ । उहाँ बर्मा पुगेर केही समय घुमेर फर्किएका कारण अयोजकले उहाँलाई हाम्रो जिम्मा लगाएको रहेछ । विमानस्थलमा सामान्य परिचय भएको थियो तर होटलमा चाहिँ राम्रै गफ भयो । उहाँ निकै घुलमिल गर्ने स्वभावको लाग्याे मलाई ।

बर्माका केही कुरा बताएर सायद उहाँ हामीलाई आश्वस्त तुल्याउन चाहनु हुन्थ्यो । हामी उतिखेरै सामाजिक सञ्जालबाट जोडिएका थियौँ।

हामी कार्यक्रमस्थल पुग्दा निकै भिड थियो । हलभित्र पस्नासाथ मञ्चमाथि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई देख्यौँ। सकिनै लागेको रहेछ उहाँहरूको सेसन। एकछिन हेर्यौँ । सम्मान कार्यक्रम सकिएपछि हामीले पनि उहाँहरूसँग फोटो लियौँ । उहाँहरू बहुमुखी प्रतिभाका धनी । चलचित्रका नायक, हाँस्यकलाकार, गायक उहाँहरूलाई बर्माका धेरै नेपालीले चिन्छन्। मैले पनि उहाँहरूलाई डिभिडी क्यासेटहरूमार्फत चिनेकी हुँ । सरगम त उहाँहरूका भने कुनै चलचित्र छुटाउँदिनन्। उनी सबै जसो नेपाली चलचित्र हेर्छिन् रे ! कतिपय फिल्म त पटक पटक हेर्ने गरेको बताउँदै थिइन् । उनका घर दुई सय घर जति बर्मेली जातिको बीचमा घेरिएको छ । सानैदेखि बर्मेली बच्चाकाे संगतमा उनले नेपाली भाषा बिर्सेलिन् भन्ने पीर उनका बुबालाई थियो । यही कारण उनका बुबाले एउटै चलचित्र दश–दश चोटी हेर्न लगाउनु हुन्थ्यो रे ! पटक पटक एउटै सिनेमा हेर्नु पर्दा उनी धुरूधुरू रून्थिन् रे ! घरमा बर्मेली भाषा बोल्दा उनले पटक पटक छडी खाएकी थिइन् ।

उनको मात्र हेइन, धेरै बर्मेली नेपालीका भाषाका गुरू मदन कृष्ण हरिवंश जस्ता लोकप्रिय कलाकार हुन् । अहिले सरगम बर्माकी अशालाग्दी नेपाली साहित्यकार बनेकी छन् । उनी सगर्व आफूलाई नेपाली भाषा सिकाउने गुरू नै नेपाली चलचित्रहरू हुन् भन्छिन् । ‘गौरी मल्ल, राजेश हमालका फिल्म कति हेरेँ त्यसैले मलाई नेपाली मुभी बढी मन पर्छ,’ उनी जहिले पनि ये कुरा सगर्व बताउने गर्छिन् ।

मदनकृष्ण-हरिवंशको सेसनपछि अर्को सेसन सुरू भयो । जसमा कृष्ण धरावासी, नीलम कार्की ‘निहारिका’ मुख्य वक्ता हुनुहुन्थ्यो । उहाँहरूको विषय नेपाली साहित्यमा महाभारतको प्रभाव रहेको थियो । हामी त्यसका गम्भीर स्रोता बनेर कुर्सीमा बसिरह्यौँ । भिडभाडका बीच मैले उहाँलाई परैबाट नमन गरेँ । किनभने कृष्ण धरावासीका राधा उपन्यास र आधाबाटो नामक अत्मकथा मैले अच्यूत घिमिरेको आवाजमा युट्युबमा सुनेकी थिएँ । त्यसैगरी नीलम कार्की ‘निहारिका’ अर्की आइमाईलाई पनि त्यसैगरी सुन्ने अवसर प्राप्त गरेकी थिएँ ।

लगातार सेसन हुँदै गए । त्यसमा पनि अमर न्याैपानेसँग मनोज गजुरेलको अन्तरवार्ता विशेष लाग्यो । मनोज गजुरेललाई भेट्दा सीमादी निकै खुसी हुनुभो ।

हामी बर्माबाट अएको भनेपछि धेरै साहित्यकारहरू हामीलाई भेट्न आउनु भयो । उहाँहरूमध्ये सबैले बर्माका नेपालीबारे पढ्नु भएको र केही बर्मा पुगिसकेका व्यक्ति हुनुहुन्थ्यो । उपन्यासकार, कथाकार, वरिष्ठ कवि, कवियित्रीहरूको माझमा हामी एक त साना, त्यसमा पनि बर्मेली साहित्यकार, बर्माबाट आएका भनी हाम्रो खुब राम्रोसँग स्वागत भयो, माया र सम्मान पनि उति नै पायौँ । हामी भन्दा उपस्थित साहित्यकारहरू हामीदेखि बढी आश्चर्यचकित देखेँ मैले।

आज कार्यक्रम पुस्तिका हात पर्यो। मैले सबैभन्दा पैला हाम्रो पालो कहिले रहेछ भनी हेरेँ । हाम्रो सेसन अझै एक दिन पर रहेछ । राम्रै भयो । किनभने हाम्रालागि मञ्चमा उभिने सामर्थ्य बटुल्न समय लाग्थ्यो नै । कार्यक्रम पुस्तिका हेरेपछि उद्घाटनको दिन सहभागी हुन नपाएकोमा चुकचुक पनि भएँ किनभने केही महत्वपूर्ण सेसन पहिले दिन भैसकेकोे रहेछ ।

कार्यक्रम निरन्तर अघि बढिरहेकै थियो । उमेर संवाद, प्रविधि र पुस्ता भन्ने विषयमा अमर न्यौपाने, अश्विनी कोइराला र तीर्थ गुरूङ्हरू वक्ताका रूपमा रहनु भयो । अश्विनी सरलाई एयरपोर्टदेखि नै चिनेको र अमर न्याैपानेलाई पटक पटक पढेका कारण यो सेसनमा पनि हामी बस्यौँ । यो कार्यक्रमलाई उपन्यासकार गनेश पौडेलले सहजीकरण गर्नु भएको थियो ।

हामीले त्यहाँ सनत रेग्मीलाइ भेट्यौँ । सनत सरलाई संयोगले काठमाडौँमा पनि भेटेका थियौँ । जसले अत्मियता बढायो । प्राध्यापक माधव पोख्रेल सरसँग एउटै होटलमा बसेको हुनाले उहाँबारे जान्ने अवसर पाएँ । नेपाली भाषा लेखनमा शरच्चन्द्र वस्तीकै ठूलो नाम छ । उहाँ पनि हामी बसेकै होटलमा भेटिनु भयो । त्यस्तै यादव भट्टराईजीसँग पनि धनगढीको यात्राको प्रारम्भमा परिचय भयो । साँझतिर विष्णुविभु घिमिरे र उहाँकी जीवन संगिनीसँग परिचय भयो ।

विष्णुविभु घिमिरेको एउटा कविता ‘जेब्राक्रसमा उभिदै सोचेँ’ हामीले डिप्लोमा क्लासमा पढ्ने अवसर पाएका थियौँ । त्यसका लेखक स्वयं उपस्थित हुँदा हामीलाई निकै खुसी लाग्यो । यो भिडमा नेपाली भाषाका चर्चित विद्वान लक्ष्मण गौतम र बर्मामा नेपाल सरकारको दूतावासमा कार्यरत रहिसक्नु भएका कृसु क्षेत्रीसँग पनि भेट भयो । अझ उहाँले त उक्त कार्यक्रममा डायस्पोरामा नेपाली साहित्यका विषयमा सेसन नै चलाउनु भयो ।

साँझ ढल्किँदै गयो । हामी बर्मेली टोली र हामीलाई गाइड गर्ने अश्विनी सरबीच एक प्रकारको आत्मीयता बढ्दै गयो । हामीले बर्मेली र नेपाली गीतमा नाच्यौँ र उहाँलाई पनि नचायौँ । ती सबै दृश्य अहिले चलचित्रको पर्दामा नाचे जस्तै नाचिरहेका छन् ।

अबेरसम्म नाच्न पाइएन किनभने भोलिको सेसन बिहानदेखि नै सुरू हुन्छ । त्यसमा पनि हाम्रो सेसनको तयारी गर्नुछ ।

प्रतिक्रिया
Loading...