नेपाली साहित्यको सम्पूर्ण पत्रिका

‘स्वामी कहाँ छन् ?’ टैगोरको कथा पहिलो पटक नेपालीमा

गंगा नदीको किनारामा, जहाँ मुर्दा जलाइन्छ, त्यस निर्जन स्थानमा आफ्ना विचारहरूमा तल्लिन कवि तुलसीदास टहलिइरहेका थिए ।

रवीन्द्रनाथ टैगोर

उनले देखे, एक स्त्री आफ्नो मृतक पतिको शव छेउ गोडा नजिकै बसिरहेकी थिइन् । हुन त उनको पतिको मृत्यु भइसकेको थियो तर तिनको शृंगार हतप्रभ बनाउने किसिमको थियो, मानौँ उनको विवाह भर्खरै हुन लागेको होस् ।

तुलसीदासलाई देख्नेबित्तिकै ती स्त्री उठिन् र प्रणाम गरिन् । त्यसपछि भनिन्, ‘महात्मा मलाई आशा दिनुहोस् र आशीर्वाद पनि ताकि म मेरा यी पतिसँगै स्वर्गलोक जान सकूँ ।’

तुलसीदासले सोधे, ‘नानी, यति चाँडै स्वर्ग जानुपर्ने त्यस्तो के आवश्यकता छ र ? जसले यो स्वर्गलोक बनाएको हो, यो पृथ्वी पनि त उसैको हो !’

स्त्रीले भनिन्, ‘प्रभु, म स्वर्गका लागि लालायित होइन, म त आफ्ना स्वामीसँग जान चाहेकी मात्र हुँ ।’

तुलसीदास मुस्कुराए र भने, ‘नानी, तिमी आफ्नो घर फर्क । यो महिना बितिसक्ने बित्तिकै तिमीले आफूलाई स्वामीसँगै पाउने छौ ।’

आनन्दमयी आशाका साथ स्त्री घर फर्किई । त्यसपछिका हरेक दिन तुलसीदास उनको घर गए । उनलाई हरेक दिन शास्त्रका केही न केही राम्रा प्रसंग सुनाए र ती कुरालाई गहनतापूर्वक सोच्न आग्रह गरे । कतिसम्म भने केही दिनभित्रै ती स्त्रीको हृदय ईश्वरीय प्रेमले परिपूर्ण हुन पुग्यो ।

एक महिना मुस्किलले बितेको हुँदो हो, एक जना छिमेकी ती स्त्रीछेउ गए र सोधे, ‘नारी, तिमीले आफ्ना स्वामीलाई पायौ त ?’

विधवा स्त्री मुस्कुराई, ‘हो, मैले आफ्ना स्वामीलाई पाएँ ।’

उत्सुकतापूर्वक ती स्त्रीको घरमा जम्मा भएका सबैले एक स्वरमा सोधे, ‘उनी कहाँ छन् त ?’

उनले भनिन्, ‘मसँग एकाकार भएर मेरा स्वामी मेरो हृदयमा बास बसेका छन् ।’

(‘स्वामी का पता’ शीर्षकको लघुकथाको नेपाली अनुवाद ।)

प्रतिक्रिया
Loading...