नेपाली साहित्यको सम्पूर्ण पत्रिका

जावेद अख्तरको संक्षिप्त आत्मकथा

तरकश कृतिबाट साभार

… निष्पट्ट रात छ, शायद दुई बजेको हुँदो हो । बम्बईको बर्सातको के कुरा ! यस्तो लागिरहेको छ, मानौँ आकाशबाट पूरै समुद्र खसिरहेको छ । म खार रेलवे स्टेसनको एउटा सिँढीमा कमजोर बल्बको सुस्त उज्यालोमा बसिरहेको छु । नजिकैको जमिनमा तीन जना मानिस यसरी सुतिरहेका छन्, मानौँ त्यहाँ आँधितुफान केही पनि छैन । अलि परको एक कुनामा एउटा कुकुर पानीले छपक्क भिजेकाले कामिरहेको छ । वर्षात्को ताल देख्दा अब यो रोकिएला भन्ने कुनै छेकछन्द दिएको छैन । टाढासम्मको खाली अँधेरो सडकमा मुसलधारे पानी परिरहेको छ । नजिक वा टाढाका ठूला बिल्डिङ मौन छन्, तिनका बत्ती पनि उहिल्यै निभिसकेका छन् । मानिस आआफ्नो घरमा सुतिरहेका होलान् । यही शहरमा मेरो बाउको पनि एउटा घर छ । बम्बई कति ठूलो सहर छ र म कति सानो छु, मानौँ म केही होइन, केही पनि होइन । रत्तिभरको पनि होइन । मानिसले जतिसुकै हिम्मत देखाएको होस्, कहिलेकाहीँ साह्रै डर लाग्छ । त्यस्तै डर मलाई यतिबेला लागिरहेको पाउँछु ।

… म अब एक वर्षयता कमाल स्टुडियो (जुन अहिले नटराज स्टुडियोको नाउँमा परिवर्तन भइसकेको छ) मा बस्ने गरेको छु । स्टुडियोको कम्पाउन्डमा जहाँसुकै पनि म सुतिदिन्छु । कहिले कुनै बरन्डामा, कहिले रूखमुनि, कहिले कुनै बेन्चमा, कहिले कुनै करिडोरमा । यहाँ मजस्ता अन्य कयौँ बेघर र बेरोजगारहरू यसरी नै सुत्ने वा बस्ने गर्छन् । तीमध्येकै एक हो, जगदीश । ऊसित मेरो राम्रो मित्रता गाँसिएको छ । ऊ दैनिक एउटा नयाँ तरिका उपाय लगाएर कहाँ खाने र कसरी खाने भन्ने सोचिरहन्छ । आज दारू कसले पिलाउला भनेर गणित नै निकालिदिन्छ । जगदीशले खराबतम् अवस्थामा पनि बाँच्ने एउटा कला सिकिसकेको छ ।

अँधेरी रेलवे स्टेसन छेउको फुटपाथमा एउटा सेकेन्ड ह्यान्ड किताब बेच्ने बेपारीसँग अब मेरो चिनजान हुन पुग्छ । त्यसैले मलाई पढ्ने किताबको कुनै कमी छैन यतिबेला । रातरातभर कम्पाउन्डमा जहाँ पनि थोरै उज्यालो फ्याँक्ने चिम वा बल्ब फेला पर्छन्, त्यहीँ बसेर, उठेर, सहजतामा या असहजतामा म पढ्न थाल्छु । मेरा साथीहरू ठट्टामिश्रित चिन्ता व्यक्त गर्छन्, ‘यति कम उज्यालोमा पनि यसरी पढ्यो भने यो केही वर्षमै अन्धो हुन्छ होला !’

… मैले एउटा कोठा फेला पारेको छु र त्यहाँ सुत्ने अवसर पाइरहेको छु । स्टुडियोको कोठामा चारैतिर ठूला पर्खाल छन् । पर्खालसँगै जोडिएको ठूलाठूला दराज (अल्मारी)मा पाकीजा फिल्मका दर्जनौँ पहिरन (कस्ट्युम) राखिएका छन् । अभिनेत्री मीनाकुमारी फिल्मका निर्देशक कमाल अमरोहीसँग छुट्टिइसकेकी छन् । त्यसैले फिल्मको सुटिङ यतिबेला बन्द छ । एक दिन म अल्मारीको एउटा भाग खोल्छु । त्यहाँ फिल्ममा प्रयोग हुने पुराना किसिमका जुत्ता-चप्पल र स्त्रीका सेन्डिलहरूले भरिएका छन् । तिनै अल्मारीको एउटा भागमा मीनाकुमारीले जितेका तीन वटा फिल्मफेयर अवार्ड पनि देख्छु । ती अवार्ड देखेपछि मेरो मन एक तमासको हुन्छ । तिनलाई पुछपाछ गरेर बेग्लै राखिदिन्छु ।

मैले जिन्दगीमा पहिलो पटक कुनै फिल्म अवार्ड छोएँ । त्यो छुनुको रोमाञ्चकताको कुनै जवाफ छैन । त्यसपछिका अनेकौँ रात म त्यो अवार्ड छेउ म जान्छु । त्यसअघि त्यो कोठाभित्र कोही नछिरोस् भनेर बन्द गर्छु । त्यसपछि त्यही अवार्ड राखिएको दराजनेर पुग्छु र अवार्ड बोकेर नजिकैको ठूलो ऐना राखिएको ठाउँमा उभिन्छु । हेर्छु, मलाई यो अवार्ड बोकेको कत्तिको सुहाइरहेको छ ! म कसरी उभिएको छु ? कस्तो देखिएको छु ? जब यो अवार्ड मले हात पार्नेछु भोलिका दिनमा, त्यो बेला तालीको गुञ्जाहट कति चर्को आएछ भनी कल्पन्छु । मेरा अघिल्तिरको ठूलो दर्शकदीर्घा मलाई हेरेर मुस्कुराइरहेको छ र म त्यसको जवाफमा उत्तिकै चहकिलो अनुहारका साथ जवाफी मुस्कुराहट फैलाइरहेको छु । यस्तोमा मैले कसरी हात हल्लाउनुपर्छ ? त्यसको अभ्यास पनि गरिहेर्छु ।

एक दिन अचानक एउटा सूचनामा आँखा पर्छ । लेखिएको छ, जो यस स्टुडियोमा काम गर्दैनन्, उनीहरू यस स्टुडियोको कम्पाउन्डभित्र सुत्न पाउने छैनन् । जगदीशले एउटा नयाँ तरिका सुझाउँछ, अर्को कुनै व्यवस्था नहुञ्जेलसम्मका लागि हामी महाकालीको गुफामा बस्न सक्छौँ । (महाकाली अँधेरीभन्दा अगाडि जाँदाको एउटा क्षेत्र हो, जहाँ यतिबेला घना बस्ती बसिसकेको छ र कमालिस्तान स्टुडियो छ । त्यो जमानामा यहाँ मात्र एउटा सडक थियो, जंगल थियो र ससाना पहाडमा बौद्ध भिक्षुहरूले बनाएका पुराना गुफाहरू थिए । ती अझै छँदैछन् । त्यस बेला त्यहाँ चरेस-गाँजा पिउने साधुहरूले ती गुफा भरिएका हुन्थे ।

महाकाली गुफामा मच्छड यति धेरै र यति ठूला छन् कि तिनले तपाईंलाई टोकिरहनु पर्दैन । छेउमा आएकै धूनले तपाईंलाई ब्युँझाउने शक्ति राख्छन् । एक रातमै मलाई थाहा भयो, यहाँ चरेस नपिई कोही पनि सुत्न सक्दैन । तीन दिन जसोतसो बिताउँछु । बान्द्रामा एउटा साथीले केही दिन सँगै बस्नका लागि बोलाउँछ । म बान्द्रा जान्छु । जगदीश भन्छ, ‘एक दुई दिनमा ऊ पनि कतै जानेछ ।’

उसले त्यसो भनिञ्जेल मलाई ऊसँगको यो अन्तिम भेट हो भन्ने कहाँ थाहा थियो र ? हो, यो अन्तिम भेट थियो । केही वर्ष यसपछि ऊसित भेट भएन । त्यसको ठीक एघार वर्षपछि मैले थाहा पाएँ, त्यही महाकाली गुफामा चरेस र रक्सी पिएर मर्यो र त्यहाँ बस्ने साधु र छेउछाउका झोपडपट्टिका मानिसहरूले चन्दा उठाएर क्रियाकर्म गरिदिए । यसरी जगदीशको किस्सा खत्तम भयो । यो कुरा पनि उसका टाढाका कुनै नातेदार र साथीहरूले यो खबर सुनाएका थिए ।

म प्रायः सोच्छु कि ममा त्यस्तो के विशेष खुबी थियो र जगदीशमा के खराबी थियो ? यो पनि त हुनसक्थ्यो, उसलाई उसको कुनै साथीले बान्द्रा बोलाएको होस् र म त्यहीँ गुफामै अड्किरहेको हुँदो हुँ । गुफामै अड्किएको भए मेरो अन्त्य पनि त जगदीशकै जस्तो हुँदो हो ! कहिलेकाहीँ यी सबै कुरा कति आकस्मिक लाग्छन् । कहिलेकाहीँ मलाई उदेक लाग्छ, हामी कुन कुरामा, किन घमण्ड गरेर बाँचिरहेका छौँ !

म बान्द्रामा जुन साथीका साथ एउटा कोठामा बसिरहेको छु, ऊ पेशेवर जुवारी हो । ऊ र उसका दुई जना साथी तास खेल्छन् । उनीहरू त्यसमा पोख्त छन् । उनीहरू मलाई पनि तास कसरी खेल्ने भनी सिकाउँछन् । केही दिन उनीहरूसका साथमा तासका पत्ता फ्याँकेरै गुजारा हुन्छ । त्यसपछि उनीहरू आ-आफ्नो बाटो लाग्छन्, म भने एक्लिन्छु । म कोठामा एक्लै बस्छु । अब मलाई सताउन थाल्छ, अर्को महिना यसको घरभाडा कसले र कसरी दिन्छ होला ?

केही दिनपछि एक जना चर्चित र सफल लेखक मलाई बोलाउँछन् । उनको प्रस्ताव छ, उनका लागि मैले केही संवाद लेखिदिऊँ । स्वाभाविक रूपमा त्यो फिल्ममा संवाद लेखकका रूपमा मेरो नाउँ जाँदैन भन्ने मलाई थाहा छ । यसका लागि ऊ मलाई महिनाको ६ सय रूपैयाँ दिन तयार छ । यो बेला यी ६ सय रूपैयाँ मेरा लागि ६ करोड बराबरको छ । यो जागिर खाऊँ ? खाएँ भने मलाई थाहा छ, त्यो जागिर छाड्ने हिम्मत कहिल्यै हुने छैन । म सधैँ ६ सय रूपैयाँमा नै अड्किरहनेछु । जीवनभर सधैँ यस्तै र यही कुरामा म अल्झिरहनेछु ।

तर जुन कोठामा म बसिरहेको छु, त्यसको कोठाभाडा कसले तिर्छ त ?
‘देखाजाएगा !’ मनमनै चिच्याएर भन्छु ।

यत्तिका कुरा सोच्न मलाई तीन दिन लाग्छ र तीन दिनपछि त्यो लेखककहाँ गएर भन्छु, ‘प्रस्ताव त राम्रो हो, मेरो नाम जाँदैन भने म यो काम गर्न सक्दिनँ ।’

दिन, हप्ता, महिना र वर्ष बित्छन् । बम्बईमा आएको पाँच वर्ष पुग्छ । मेरो अवस्था कस्तोसम्म बन्न पुगेको छ भने, ‘रोटी एक चन्द्रमा, हालत बादल ! चन्द्रमा कहिलेकाहीँ मात्र देखापर्छ र प्रायः त्यो बादलभित्र लुकिरहन्छ ।’

ती पाँच वर्ष मेरा लागि निकै भारी थिए तर तिनले मेरो टाउको झुकाएनन्, झुकाउन सकेनन् । म निराश मानिस होइन । आशाहीन मानिस म पक्कै होइन । मलाई विश्वास छ, पूरापूर विश्वास छ, केही हुन्छ, केही त अवस्य नै हुन्छ । म यसै मर्न भनेर जन्मिएको मानिस पक्कै हैन ।

अन्ततः १९७९ को नोभेम्बरका बेलामा मैले त्यो विशेष काम पाउँछु, जसलाई फिल्मवालाहरूको शब्दमा ‘सही ब्रेक’ भनिन्छ ।

सफलता मानौँ अल्लादिनको चिराग हो । अचानक नै मानिसहरू ममाथि असल पल्टिन थाल्छन् । संसारै मलाई हिजोसम्म जुन कुरूप लाग्थ्यो, अचानकै यति सुन्दर छ भन्ने लाग्न थाल्छ ।

प्रतिक्रिया
Loading...