नेपाली साहित्यको सम्पूर्ण पत्रिका

अमेरिकामा भाषा साहित्यः अनेसाससँगको हातेमालो

आदिमकालदेखि नै मानव सभ्यता सँगसँगै उसले आफ्नो भाषा, साहित्य र संस्कृतिको पनि जगेर्ना र विकास गर्दै हुदै आएको विश्वास गरिन्छ । त्यसैले मान्छे जहाँजहाँ गए तिनले आफू सँगसँगै भाषा साहित्य पनि साथसाथै लिएर गए । समय र स्थान अनुसार मान्छेले भाषा, साहित्य र संस्कृतिको विकास, सम्बर्धन र परिमार्जन गर्दै गए । त्यसैले भाषा, साहित्य र संस्कृती नै मान्छेका पहिचान हुन गयो ।

नेपाली भाषा, साहित्य र संस्कृतीको विकास, संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले अमेरिकाको वासिङटन डिसीमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज को गठन भयो सन् १९९१ सालमा । यस संस्थाले शुरुवात देखि नै दिवंगत साहित्यकारको जन्म जयन्ती मनाउने, कवि गोष्ठी गर्ने, साहित्यिक बुलेटिन र मुख पत्र “अन्तर्दृष्टि” पत्रिका प्रकाशन गर्ने गर्दै आयो । नेपाली भाषा र साहित्यको विकासमा समर्पित अमेरिकी प्रवासमा स्थापना भएको यो नै पहिलो साहित्यिक संस्था हुन गयो । प्रवासमा भाषा साहित्यको विकासको लागि यस्तो संस्थाको गरिमा र उपादेयता कति हुन्छ भन्ने कुरा बुझ्नको लागि भाषा र साहित्यको महत्वको बारेमा केहि क्षण विचार गरौँ ।

वसन्त श्रेष्ठ

भाषा नै मानवको जातियताको पहिचान हो । आफ्नो जातिय भाषा कति महत्वपूर्ण छ भन्ने कुराको लागि दक्षिण अफ्रिकाका अस्वेत नेता नेल्सन मन्डेलाले भनेका छन्, “तिमीले उसले बुझ्ने भाषामा कुरा गर्यौ भने त्यो कुरा उसको मष्तिस्कमा जान्छ तर यदि उसले बोल्ने भाषामा कुरा गर्यौ भने त्यो कुरा उसको हृदयमा गएर बस्दछ ।” त्यसरी नै भाषाको विषयमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन, “भाषा नै परिवर्तनको मस्तिष्क र मुटु हो ।” त्यसरी नै नेपाली भाषाको विषयमा महाकविले भनेका छन्, “ नेपाली भाषा प्रशस्त समृद्धशाली प्राचीन साहित्य र संस्कृति भएको हाम्रै भाषा हो ।”

भनिन्छ, साहित्य भाषाको सुन्दर आयोजना हो अनि भाषा चैं साहित्यको मूल आधार हो । त्यसैले भाषाको विकास बिना साहित्यले सौन्दर्य प्रकाशित गर्न सक्दैन । समाजलाई अघि बढ्न कस्तो साहित्य लेखिनु पर्दछ भन्ने कुराको लागि मैले कतै पढेको थिएँ ।

“जीवनलाई सम्पूर्णतिरबाट हेर्न सक्ने साहित्य नै साँचो साहित्य हो । साहित्यको जीवन र समाजसँग घनिष्ठ सम्बन्ध रहन्छ । साहित्यले समाजको परम्पराको निर्वाह गर्ने काम मात्र गर्दैन परम्परा तोडेर नयाँ आयाम, नयाँ क्षितिज र नयाँ क्षेत्रको उद्घाटन गर्ने बढी काम गर्दछ । यदि त्यसो गरेन भने साहित्य पछाडि पर्दछ ।”

यिनै र यस्तै प्रेरक कुराहरुले गर्दा प्रवासमा आफ्नो मौलिक नेपाली भाषा र साहित्यको विकासको लागि स्थापना भएको संस्थासँग आबद्ध हुन म लालायित बनेँ । सन् १९९४ जुलाई ४ तारेखको दिन भर्जिनिया राज्यस्थित मेरी माउन्ट विश्वविद्यालयको कविता गोष्ठी कार्यक्रममा मेरो अन्तराष्ट्रिय नेपाली साहित्य समाजसँग परिचय भयो । प्रवासमा पनि आफ्नो भाषा र साहित्यको विकासप्रति समर्पित संस्थासँग अति प्रभावित बनेर आकर्षित भएको अवस्था थियो त्यो । त्यही बेला मैले अठोट गरेको थिएँ कि समयले साथ दिएमा यस संस्थालाई अवश्य नै मैले सकेको सहयोग भविष्यमा गर्नेछु ।

उच्च अध्ययनको सिलसिलामा म म्यासाचुसेट्स राज्यको बोस्टन शहरमा स्थानान्तरण भएँ । सन् १९९६ सालको कुनै दिन त्यस संस्थाको संस्थापक अध्यक्ष होमनाथ सुवेदीले अनुरोध गर्नुभए अनुसार संस्थाको मुखपत्र “अन्तर्दृष्टि” पत्रिकाको सम्पादक बनेर नेपाली भाषा साहित्यको विकासको लागि अग्रसर भएँ । आफूले इच्छा गरेको र मनपरेको विषयको संस्थामा संलग्न भएको कारणले म सन् १९९७ सालमा उपाध्यक्ष बन्न पुगेँ । सन् १९९८ देखि २००० सालसम्म दुई अवधिसम्म यस संस्थाको केन्द्रीय अध्यक्ष बनेर कार्यभार सम्हाल्ने अपूर्व मौका मिल्यो । त्यसपछि सल्लाहकार, उत्कृष्ट पुस्तक पुरस्कारको लागि निर्णायक र हाल पूर्व अध्यक्ष मण्डलको सदस्य भएर यस संस्थाको लागि आफूले सकेको साथ सहयोग आज पर्यन्त निरन्तर संलग्न भएर गरिरहेको छु ।

आज नेपाली भाषा र साहित्यको विषयको कुनै पनि व्यक्ति यस अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नामसँग अपरिचित शायदै होला । प्रवासमा नेपाली भाषा र साहित्यको विकास र प्रवर्धनको लागि थुप्रै संस्था स्थापना भए तापनि यो संस्था वृहत् सांगठनिक ढाँचा र व्यापक छ भन्नेमा कसैको दुई मत हुँदैन होला । आजसम्म यसले ३२ वटा देशमा च्याप्टर विस्तार गरिसकेको छ भने ३९ वटा च्याप्टर सक्रिय रहेको पाइएको छ । यस समाजले हरेक दुई वर्षमा विभिन्न विषय र शीर्षकमा तीनवटा विशिष्ट र थुप्रै अरु पुरस्कार वितरण गर्ने गर्दछ । आजसम्म यस संस्थामा आजीवन सदस्य २२२९ जना र ट्रष्टी ४० जना सक्रिय छन् ।

आज यस संस्थाले संसारभर छरिएर रहेका विभिन्न तप्काका नेपाली भाषीलाई भाषा र साहित्यको माध्यमबाट एक जुट हुन सघाउ पुगेको कुरा निर्विवाद सत्य हो । अझ यस संस्थाले साहित्यप्रेमीलाई मात्र होइन साहित्य लेख्नेलाई पनि यस विभिन्न प्रकाशनमार्फत आफ्ना रचनाहरु प्रकाशित गरेर लेखकहरुलाई आकर्षित गर्ने गरेको पनि यथार्थ हो । अन्तर्राष्ट्रिय कविता महोत्सव, महिला लेखक सम्मेलन, भानु जयन्ती, र अरु विभिन्न साहित्यिक कार्यक्रमहरु गर्ने यस संस्थाको नियमित वार्षिक कार्यक्रम हुन् । त्यसैले नेपाली भाषा र साहित्यका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले संसारभर रहेका नेपाली भाषी र नेपाली साहित्य अनुरागीलाई अन्तर्राष्ट्रियकरण गर्नमा धेरै मद्दत पुगेको छ ।

तर यत्रो विशाल र व्यापक संस्था निर्माण भइसक्दा पनि आजसम्म यस संस्थाको आफ्नो भवन खडा हुन सकेको छैन । धेरै च्याप्टर स्थापना भए तापनि थोरै च्याप्टर मात्र सक्रिय रहेका पाइन्छन् । हरेक पटक वितरण गरिने पुरस्कारमा नेपालमा जस्तै यस संस्थाको पनि निष्पक्षतामा औँला ठड्याउने गरिन्छ । बेला बखतमा यस संस्थामा भएको अन्योल र अनियमितता र आयव्ययको पारदर्शिता नभएको कुरालाई लिएर अदालतसम्म जाने कुरा पनि उठ्ने गरेको पाइन्छ । अझ नेपाली भाषा र साहित्यको विकास गर्ने संस्थाले भाषा र साहित्यको उचित मापदण्ड नपुर्याई नेपाली भाषा र साहित्यलाई खस्काएको भन्ने समेत आरोप लाग्ने गरेको छ ।

तर ती सबै एउटा संस्थाको जीवन्तताको परिचय हो । मान्छे भएर जन्मेपछि रिस, राग, क्रोध, लोभ, मोह र राम्रा नराम्रा गुण अवगुण सबै विद्यमान भए जस्तै तीस वर्षको इतिहास बोकेको यस संस्थाको बारेमा दुई चार कुरा त उठी नै हाल्छ । तर ती सबै प्रश्नहरुलाई उचित तवरले सही कर्मले जवाफ दिनु नै आज को आवश्यकता हो भन्ने मैले ठानेको छु । इमान्दार, पारदर्शी र जवाफदेही हुनु नै कुनै पनि संस्था, सामाजिक कार्यकर्ता र समाजसेवीका लागि आधारभूत आवश्यकता हो । त्यसैले यिनै आधारभूत मापदण्ड अपनाएर संस्थालाई पारदर्शी बनाएर जन गुनासोको आवाज कम भन्दा काम मात्र होइन सुन्दै नसुनिने बनोस् भन्ने मेरो भित्री आकांक्षा हो । आफू कुनै बेला अध्यक्ष भैसकेको संस्थामा रगतको नाता रहेको ठान्दछु म ।

भर्जिनिया, अमेरिका

प्रतिक्रिया
Loading...