नेपाली साहित्यको सम्पूर्ण पत्रिका

प्रथम प्रेमिका

कथा

रस्किन बन्ड

त्यो बेला म कलेज पढ्थेँ । हरेक वर्ष हजुरआमाकहाँ छुट्टी मनाउन म जाने गर्थें । मेरी हजुरआमा देहरामा बस्नु हुन्थ्यो । म हजुरआमाकोमा मेको सुरुमा पुग्थेँ र जुन महिनाको अन्तिममा फर्कन्थेँ । देहराभन्दा ४०-४५ किमि वर एउटा सानो रेल स्टेसन थियो, देवली ।

तराईको जंगलको सीमा त्यहीँबाट सुरु हुन्थ्यो । लगभग पाँच बजे रेल त्यहाँ पुग्थ्यो । त्यस बेला रेलको प्लेटर्फम मट्टितेल र बिजुलीको उज्यालोमा रङमङिने प्रयास गरिरहेको हुन्थ्यो । त्यति उज्यालोमा सबै कुरा सफा नै देखिन्थ्यो । अगाडि फैलिएको जंगल, प्लेटर्फममा फलफूलको एउटा पसल, एउटा चियाको दोकान र एउटा सानो हाँसको बथान खेल्ने पोखरी !

यी हाँस यहाँका स्थायी बासिन्दा थिए । जंगलमा छिर्नुभन्दा पहिले रेल यहाँ दस मिनेटसम्म रोकिन्थ्यो । रेल देवलीमा दस मिनेटसम्म किन कुर्थ्यो, मैले कहिल्यै बुझ्न सकिनँ । त्यहाँ केही पनि त थिएन ! एउटा कुल्ली पनि थिएन । तर रेल भने दस मिनेटसम्म कुरिरहन्थ्यो । त्यसपछि अचानक एउटा घन्टी बज्थ्यो, रेलगाडीले आफ्नो सिठ्ठी फुक्थ्यो, रेल गतिशील हुन थाल्यो र देवली पछाडि पर्थ्यो । बिस्तारै-बिस्तारै स्मृतिबाट देवली हराउँथ्यो र रेल जंगल पार गर्ने हतारोमा हुन्थ्यो ।

म प्रायः सोच्थेँ, यो रेल स्टेसनको पछाडिपट्टि के छ होला ? जंगल नै होला कि त्यसपछि गाउँ शुरू हुन्थ्यो होला ? त्यस सानो प्लेटर्फमका प्रति म करुणावान हुनपुग्थेँ । ज्यादै मोह लाग्थ्यो यस देवलीप्रति । किन कोही पनि त्यहाँ उत्रँदैनन् ? मैले निश्चय गरेँ, एक दिन म देवली जान्छु जान्छु । एक दिन रेल स्टेसनभन्दा परको सानो सहरमा बिताउँछु ताकि त्यस सहरलाई थोरै पनि खुसी दिन सकूँ । त्यो बेला म अठार वर्षको थिएँ ।

हरेक वर्ष म कलेजबाट हजुरआमाकहाँ जान्थेँ । एउटा नियमजस्तै थियो यो क्रम । अनि हरेक पटक देवलीमा रेल रोकिन्थ्यो । त्यहाँ, प्ले टर्फममा एक चोटि एउटी युवती भेटिई, बाँसको चोयाले बनेका टोकरी बेचिरहेकी थिई ऊ । म एकाबिहानै पुगेको थिएँ देवली । उसको काँधमा एउटा बर्को थियो । उसका पाउ नाङ्गा थिए । कपडा पुराना थिए तर ऊ युवा थिई ।

आत्मसम्मानले उदग्र, सवर्ग चाल थियो उसको । धर्तीलाई मानौँ कुल्चदै-दबाउँदै हिँडिरहेकी थिई । ऊ मेरो झ्यालनेर आई र मलाई हेरी । मैले पनि उसलाई हेरेँ र एकटक हेरिरहेँ । मेरो एक टक हेराइले ऊ केही सकपकाई । अब उसले मेरो हेराइलाई नदेखेझैँ गर्न थाली । उसको पीतवर्ण थियो, कालो चम्किला केश थिए र उसलाई ती केसले चपक्क समातेजस्तो भान दिइरहेका थिए ।

उसका काला आँखामा करुणा थियो, कसैको खोजीमा उसका आँखा रहेको भान हुन्थ्यो । भावपूर्ण उसका सुन्दर आँखा पुनः एक पटक जुधे । केही क्षणसम्म ऊ मेरै अघिल्तिर रहिरही । हामी दुईमध्ये कोही पनि बोलेन तर जब ऊ फर्कन लागी, म आफ्सेआफ जुरुक्क उठेँ र कम्पार्टमेन्टको ढोकातर्फ अघि बढेँ ।

उसले मलाई ढोकामा आएको देखेर अन्यत्रै हेर्न थाली तर उसको देहभाषाबाट प्रस्टै झल्कन्थ्यो, ऊ प्रतीक्षा गरिरहेकी छ, म चिया पसलसम्म पुगेँ । चिया पसलको भट्टीमा एउटा कित्लीमा चिया उम्लिरहेको थियो । चिया पसले चिया बोकेर अरूलाई नै पुर्याउन गएको थियो । ऊ मेरो पछिपछि लागेर चिया पसलसम्म आई । केटीले सोधी, ‘तपाईं टोकरी किन्नु हुन्छ ? बाँसले बनेको छ, ज्यादै दह्रो छ ।’

‘अँहँ,’ मैले भनेँ, ‘मलाई टोकरी चाहिएको छैन ।’

मेरा आँखाले उसका आँखालाई ट्वाल्ल पर्दै हेरिरह्यो, ऊ पनि हेरिरही ।

‘तपाईं साँच्ची यो टोकरी किन्नु हुन्न ?’ उसको आवाज सुनेर म झस्किएझैँ भएँ ।

‘ठीक छ, एउटा देऊ न त,’ मैले भनेँ ।

सबैभन्दा माथि राखिएको एउटा टोकरी उसले उठाई । टोकरी दिँदै गर्दा उसले मेरो हात स्पर्श गरी र मैले दिएको एक रूपैयाँ उसलाई दिँदा मैले स्पर्श नहोस् भनेर सक्दो प्रयास गरेँ ।

जसै ऊ केही बोल्न आँटेकी थिई, गार्डले सिठ्ठी फुक्यो । केटीको आवाज इन्जिनको स्वरमा हरायो । म आफ्नो रेल पक्डन दौडनुपर्ने भयो । कम्पार्टमेन्ट हल्लन थाल्यो र रेल अघि बढ्यो । ढोकामा म स्थिर भएर उसलाई हेरिरहेँ । ऊ प्लेटर्फममा एक्लै थिई । मुस्कुराई रही र उसले मलाई एकटक हेरिरही । बाटोमा सिग्नल बक्स आउञ्जेल ऊ मलाई हेर्ने र मैले उसलाई हेर्ने क्रम चलिरहृयो । उसको मुस्कान टाढैसम्म मसँगै हिँडिरह्यो ।

त्यसपछि जंगलले रेललाई निल्यो तर त्यतिञ्जेलसम्म पनि म उसलाई उसरी नै प्लेटर्ममा निर्दोष मुस्कान सजाउँदै बसेकी देखिरहेको छु ।
अबेरसम्म, टाढासम्म सारा रात जाग्दा पनि मलाई ऊ त्यसरी नै उभिएकी छ कि जस्तो लागिरह्यो । पूरा यात्रा उसैसँग बित्यो मेरो । मेरो दिमागमा उसको तस्बिर सधैँका लागि टाँसियो । उसको कल्कलाउँदो अनुहार, उसको अनुतप्त आँखा ।

देहरा पुग्नेबित्तिकै मैले उसलाई बिर्सिएँ । ऊ विस्मृतिको अंग बनी । त्यहाँ मलाई अल्झाउने अनेक चिज थिए ।

दुई महिनाको बिदाभरि मैले त्यो युवतीलाई सम्झिइनँ । देवली पुग्न लाग्दा पो म झल्याँस्स भएँ । देवलीमा मैले दस दिशामा खोजिरहेँ । उसलाई प्लेटफर्ममा घुमिरहेको देखेपछि भने मनमा असिम शान्ति फैलियो । फुटबोर्टबा दौडिएर म ऊनजिक एकैछिनमा पुगेँ । मलाई देख्नेबित्तिकै ऊ मुस्काई । मानौँ, उसलाई मेरै प्रतीक्षा हुँदो हो । ऊ पनि अति खुसी देखिई किनभने उसले थाहा पाएकी थिई- उसलाई मैले यत्तिका दिनमा पनि सम्झिएको थिएँ ।

यो ज्यादै पुराना मित्रहरूजस्तो भेट थियो ।

टोकरी बेच्नका लागि रेलको लम्बाई मापन गर्ने उद्देश्य उसले बिर्सिई र सिधै चियाको स्टलतिर अघि बढी । म उसलाई हेरिरहेको थिएँ । उसको कालो आँखा अचानक उज्यालो भएको थियो ।

उज्यालो आँखाले हेर्दै गर्दा केही बेरसम्म उसले पनि केही भनिन र म पनि केही बोलिनँ । हामी कुनै अथाह सागरमा डुबेका थियौँ । अचानक मलाई होश आयो । मलाई लाग्यो, उसलाई पनि सँगै लिएर जानु पर्छ । अहिले नै, यसै क्षण । यस्तो भावना आउनेबित्तिकै मलाई तीव्र बेचैनी हुन थाल्यो ।

मैले उसलाई यस देवली स्टेसनमा यसरी छाड्नु मेरो सहनशक्तिभन्दा बाहिरको कुरा थियो । मैले उसको टोकरीको थुप्रोमध्येबाट एउटा उठाएँ ।
उसको हात च्याप्प पक्डिएँ र आफूतिर तान्दै मैले भनेँ, ‘म दिल्ली जाँदैछु ।’

उसले भनी, ‘मलाई कहीँ जानु छैन ।’

त्यसै क्षण सिठ्ठी बज्यो । मलाई कहिल्यै पनि कुनै कुरामा त्यति घृणा भएको थिएन, जति यो बेला सिठ्ठी फुक्ने त्यस गार्डसँग भइरहेको थियो । न पहिले न त पछि नै । मैले अथाह घृणााले गार्डतिर हेरेँ तर फरक्क फर्किएर त्यस युवतीलाई भनेँ, ‘म.. म फेरि आउँछु ।’

उसले पनि केही भन्न खोजिरहेकी थिई तर घण्टी टनटनाएर बज्यो । इन्जिन पनि चिच्याउँदै बज्न थाल्यो । रेल पनि घिस्रने चाहनामा उन्मत्त हुन थाल्यो र तुरुन्तै घिस्रन थाल्यो । उसको हात छाडी म रेलतिर दौडन बाध्य भएँ । यस पटक मैले उसलाई भुल्न सकिनँ ।

यात्राका दौरान उसको स्मृति मात्र मसँग ऊ थिइन, पूरै वर्षभरि ऊ मसँगै थिई । जसै कलेजको बिदा सुरु भयो, मैले सामान बाँधे र हजुरआमाकहाँ हिँडेँ । यस पटक म समयभन्दा पहिले नै त्यता जाँदै थिएँ । सोचेँ, यति चाँडै हजुरआमालाई भेट्ने व्यग्रता देखेर उहाँ कति आनन्दिन हुनु होला ! तर देवली मेरो उद्देश्य थियो, हजुरआमा होइन ।

देवली स्टेसन आउञ्जेलसम्म मेरो होशहवास डगमगाउन थालिसकेको थियो । म उसलाई के भनूँला, के गरुँला उसलाई, म सोच्न पनि सकिरहेको थिइनँ । मैले आफ्नो संकल्पलाई दृढ पारेँ, म अन्य बेलाझैँ असहाय भएर उभिन्नँ । म पहिलेझैँ मुस्किलले बोल्न सक्ने अवस्था र मौनता प्रदर्शन गर्दिनँ, म आफ्नो प्रेम प्रदर्शनका लागि जे भए पनि गर्नेछु । बल्ल देवली पुग्यो । मैले ढोका खोलेँ । उत्रिएँ । म किंकर्तव्यविमूढ, पूर्ण रूपेण नर्वस थिएँ । मेरो मुटु जोडले धड्किरहेको थियो ।

मैले सोचेँ, केही त गर्नै पर्ला । म दौडदै स्टेसन मास्टर कहाँ गएँ र सोधेँ, ‘त्यो केटी कहाँ छ ?’

स्टेसन मास्टरले बुझेन र सोध्यो, ‘को केटी ?’ उसको सोधाइमा रुखोपन थियो ।

‘यहाँ टोकरी बेच्ने केटी क्या त ! तपाईंले त उसलाई चिन्नु हुन्थ्यो त !’ मैले स्पष्ट पार्ने प्रयास गरेँ ।

केटी उसले नदेखेको होइन, तर उसले यताउती हेर्‍यो, केही सम्झियो र अहिले कहाँ छे भन्ने कुरा भन्न सकिने कुरामा ऊ बिल्कुलै बेखबर देखियो ।

उसबाट पार लागेन । म यताउति घुमेर केटीबारे पत्ता लगाउने प्रयासमा लागेँ । स्टेसनभन्दा केही पर पनि गएँ तर केटीको पत्तो लागेन ।

पर…बाटो अन्तै कतै जान्थ्यो । एउटा आँपको रुख थियो । त्यो सँगैको कच्ची सडक जंगलतिर छिर्थ्यो । त्यो कच्ची सडक कहाँ पुग्छ होला ? यस्तै केही सोच्दै गर्दा रेल हिँड्ने आवाज सुनियो । अब दौडदै म प्लटर्फम हुँदै रेल चढ्नु थियो । म दौडदै फर्किएँ र कम्पार्टमेन्टमा छिरेँ ।

जब रेल पूरै शक्तिले जंगललाई चिर्दै दौडन थाल्यो, मैले आफ्नो झ्यालबाट टाढा हेर्दै अनियन्त्रित विचारसँगै तरङ्गति हुन थालेँ । आफ्नै विचारमा हराएर अबेरसम्म अनेक कुरा कल्पिरहेँ र सायद पूरा यात्राभरि मैले चुपचाप उसैलाई सम्झिरहेँ । उसका लागि म के गर्न सक्थेँ ? मात्र दुई पटक त उसलाई भेटेको थिएँ ! उसका बारेमा मलाई केही पनि थाहा थिएन । उसको नाम पनि थाहा थिएन । ऊसित मैले मुस्किलले केही शब्द बोलेँ होला ।

तापनि मैले एउटा कोमल भावना गहिरो गरी अनुभव गरिरहेको थिएँ । गम्भीर जिम्मेवारीबोधको भावना मभित्र दृढ हुँदै गइरहेको थियो ।

हजुरआमा ज्यादै खुसी हुनुभयो तर उहाँको खुसीको उमेर जम्माजम्मी दुई साताको मात्र थियो । १४ दिन पनि मेरो बेचैनीमा बिते । छुट्टी सकिनेबित्तिकै म देवली फर्कने हतारो थियो । स्टेसन मास्टर मेरालागि सबैभन्दा विश्वसनीय मानिस बनेको थियो । उसैले मलाई केही बताउन सक्थ्यो तर जसै स्टेसन मास्टरलाई भेटेँ, मेरो मन क्षुब्धताले भरियो । यो त नयाँ पो आएछ ! अघिल्लो स्टेसन मास्टरको जागिर सरुवा भइसकेको थियो । नयाँलाई त्यो केटीबारे जानकारी हुने कुरै भएन ।

अब त चियावाला मात्र मेरो एक मात्र आशाको बिन्दु थियो । मैले उसलाई सोधेँ । उमेर खाएको एउटा होचो कदको त्यो चियावालालाई मैले सोधेँ, ‘टोकरी बेच्ने केटीलाई चिन्छौ ? उसका बारेमा तिमीलाई के थाहा छ ?’

‘अँ, छन त एउटी कटी थिई,’ उसले भन्यो ‘तर थुप्रै भयो, ऊ आउन छाडेको ।’

‘किन र ?’ मैले लगभग अत्तालिएको स्वरमा भनेँ, ‘के भयो उसलाई ?’

‘म के भनूँ, मैले त उससित कहिल्यै कुरा पनि गरेको थिइनँ,’ उसले भन्यो ।

फेरि रेलले चिच्याएर मलाई बोलायो ।

देवलीको प्लेटर्फम छोड्दै गर्दा मैले आफैँसँग प्रतिज्ञा गरेँ, कुनै न कुनै दिन यहाँ बस्नेछु र त्यस केटीका बारेमा भएको वास्तविकता पत्ता लगाएरै छाड्नेछु । एक दिन पूरै म देवली नजिकको सहरमा बिताउनेछु र म त्यस कालो र उज्यालो आँखा भएकी केटीलाई खोजेरै छाड्नछु । त्यो केटीले एक नजर मलाई के लगाएकी थिई, म कुनै कामको रहिनँ भनेर म उसलाई सुनाउनेछु ।

कलेजको पढाइ पूरा हुने एक सत्रभरि मैले उसैका बारेमा सोचेर बिताइदिएँ । गर्मी आयो र म नियमअनुसार देहरा गएँ । बिहानीपख देवलीमा रेल रोकिनेबित्तिकै प्लेटर्फममा हेर्न थालेँ । स्टेसन वरिपरिका दस दिशामा मैले हराएकी युवतीलाई खोजेँ तर उसको कुनै चिह्न फेला पार्न सकिनँ । मलाई थाहा थियो, अब मैले उसलाई फेला पार्न सक्तिनँ । म चाहन्थेँ, ऊ फेला परोस् ।

यसपछिका कैयौँ पटक म देवली हुँदै गएँ, आएँ, तर कहिल्यै पनि स्टेसनबाट उत्रिएर त्यो युवतीको सहरसम्म पुगूँ, जाऊँ, खोजूँ भन्ने हिम्मत जुटाउन सकिनँ । आफूलाई तयार पार्न सकिनँ । कुनै उपन्यास हुन्थ्यो या कुनै फिल्म हुन्थ्यो भने सायद नायक रेलबाट उत्रन्थ्यो होला र सहरमा छिर्थ्यो र केटीलाई खोजिछाड्थ्यो होला । ऊ गायब हुनुको रहस्य खोतल्थ्यो र लेखकले कथालाई गज्जबको क्लाइमेक्समा पुर्याउँथ्यो होला । उचित अन्त्य दिन्थ्यो होला ।

म उत्रन डराउँथेँ । वस्तुतः केटीका साथ के भयो, यो जान्ने हिम्मत ममा थिएन । ऊ देवलीकी नहुन पनि त सक्थी ! उसको बिहे भएको हुनसक्छ या बिरामी परेकी पनि त हुनसक्छे ! अन्त्यमा ऊ… भैगो, उसका बारेमा नराम्रो नसोचूँ !

यसपछिका कैयौँ वर्ष म देवली हुँदै आएँ-गएँ । अपरिवर्तित मुस्कानबाट सरोबर हुने कालो उज्यालो आँखा भएकी त्यस केटीको अनुहार हेर्ने प्रकम्पित जिज्ञासाले मेरो पूरै जिउ थर्थराउँथ्यो, हरेक पटक । देवलीको रेल स्टेसनका भित्ताको पारिपट्टि के थियो होला ? के छ होला भन्ने जिज्ञासा र कामनाबाट वशिभूत भएर उत्रने इच्छा जाग्थ्यो तर कहिल्यै उत्रने साहस जुटाउन सकिनँ ।

मात्र कल्पना गरिरहेँ, आशा मात्र गरिरहेँ, उसलाई सपनामा देख्ने स्वीकृति मात्र दिइरहेँ । हरेक पटक रेलको झ्यालबाहिर फैलिएको खालीखाली प्लेटफर्ममा टोकरी लिएर उभिएकी त्यो युवतीको प्रतीक्षा गरिरहेँ ।

म कहिल्यै देवलीमा रोकिन सकिनँ तर त्यो बाटो हुँदै जाने अवसर र मौका कहिल्यै गुमाउन चाहिनँ । कैयौँ पटक त्यो बाटो हिँड्नु नपर्दा पनि जाने अवसर सिर्जना गरिरहेँ । कल्पनामा त हजारौँ, लाखौँ पटक पुगेँ त्यहाँ तर त्यो सपनाको यात्रा होस् या वास्तविकताको, मसँगै मेरो असफल खोजी उमेरसँगै चलिरह्यो, चलिनैरह्यो ।

(‘अ नाइट ट्रेन एट देओली’बाट अनूदित)

अनुवादः अच्युत कोइराला

प्रतिक्रिया
Loading...