नेपाली साहित्यको सम्पूर्ण पत्रिका

जेके रोलिङबाट अवार्ड खोसियो

मानव अधिकारका क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै चर्चित लेखक जेके रोलिङलाई दिइएको अवार्ड एक संस्थाले खोसेको छ । सन् २०१९ मा रोबर्ट केन्नेडीकी छोरी केरीले उनलाई मानव अधिकार अवार्ड दिएकी थिइन् । खासगरी जेके रोलिङलाई पछिल्लो समय लैंगिक अल्पसंख्यकप्रति अनुदार धारणा राखेको आरोप केही समययता लागेपछि उनीप्रति आलोचना बर्सिएको थियो । यसै क्रममा मानव अधिकार अवार्ड खोसिएको हो ।

संस्थाले उनको अवार्ड खोस्ने निर्णय गरेसँगै लेखिका रोलिङले अवार्ड फिर्तासमेत गरेकी छन् । महिला अधिकार समलैंगिकताका कारण खोसुवामा पर्नु हुँदैन भन्ने धारणा राखेकोमा रोबर्ट केन्नेडीको परिवारले अवार्ड खोसेको बताएको थियो ।

ह्यारी पोटर शृंखलाको लेखिका रोलिङलाई सन् २०१९ को डिसेम्बरमा एउटा भव्य समारोहका बीच मानव अधिकारका पक्षमा उनको अडानका कारण अवार्ड दिइएको थियो ।

तर जब उनले लैंगिक अल्पसंख्यकका नाममा महिला अधिकार खतरामा पर्न नहुने र महिलाको पहिचान नै नामेट हुने अवस्था आउन नहुने बताएपछि ६० वर्षीया केरी केन्नेडीले लेखिका रोलिङको आलोचना गरेकी थिइन् । उनी रोबर्ट केन्नेडी ह्युमनिटरियन अर्गनाइजेसनकी अध्यक्ष हुन् ।

केरीले गएको महिना संस्थाको वेबसाइटमा जेके रोलिङको टिप्पणीप्रति आफू अति दुःखी भएको र उनले मानव अधिकारको क्षेत्रमा बनाएको नाउँ एकै क्षणमा ध्वस्त बनाएको भन्दै दुःख व्यक्त गरेकी थिइन् ।

ट्रान्स र ननबिनारी पहिचान भएका व्यक्तिको अस्तित्वमाथि उनको धारणा लैंगिक अल्पसंख्यकप्रति अनुदार भावना दर्शाउने समेत उनले उल्लेख गरेकी थिइन् ।

‘त्यसै पनि ट्रान्स जेन्डर समुदायले हिंसा, विभेदजस्ता अनेकन पीडा भोगिरहेका कारण तिनलाई आत्महत्या गर्न बाध्य पारिएको छ, बुझेका मानिसले समेत उनीहरूविरूद्ध बोलिदिँदा मानसिक र शारीरिक क्षति बढ्ने क्रम अझ बढ्न सक्छ,’ केरीले लेखेकी छन् ।

‘रोलिङको टिप्पणीले मान्छे जन्मनेबित्तिकै स्त्री या पुरूष हुने धारणा प्रवल रहेको जनाउँछ तर त्यस्तो हुँदैन, म उनको धारणासँग बिल्कुलै असहमत छु,’ उनले लेखेकी छन् ।

५५ वर्षीया रोलिङ गएको जुन महिनायता विवादमा छिन् । उनले ट्वीट गर्दै ‘महिनाबारी हुने व्यक्ति’ भनेकामा चित्त दुखाएकी थिइन् । महिनाबारी महिलाहरूको सबैभन्दा सुन्दर क्षण भएको र त्यो अधिकार पनि अब हरणमा पर्न लागेको टिप्पणी गरेकी थिइन् ।

टिप्पणी लगत्तै संसारभरिबाट उनको आलोचना भएको थियो । पछि उनले लामो आलेख लेख्दै आफू ट्रान्स जेन्डरहरूको विरोधी नभई महिला अधिकारका पक्षमा लडेको बताएकी थिइन् ।

केरी केन्नेडीको टिप्पणी आएपछि लेखिका रोलिङले आफ्ना धारणालाई मानव अधिकारवादी संस्थाले समेत गलत तरिकाले बुझेको र आफू ट्रान्सफोबिक व्यक्ति नभएको स्पष्ट पारेकी छन् । ‘यस्तो भान पारिएको छ, मानौँ मेरा कारणले पूरै समुदाय खतरामा परेको छ,’ उनले असन्तुष्टि व्यक्त गर्दै भनेकी छन् ।

उनले आफूले लामो समयदेखि लैंगिक अल्पसंख्यकका लागि दान दिएको स्मरण गराउँदै उनीहरूको अधिकार रक्षाका लागि कुनै कसर बाँकी नरहेको उनको भनाइ छ । आफूले ट्रान्सहरूलाई कुनै घृणा नगर्ने, तिनीहरू बिरामी होऊन् भन्ने आफ्नो कुनै कामना नरहेको, महिलाको अधिकार रक्षाका खातिर उभिँदा कुनै ट्रान्सविरोधी कृत्य नहुनेसमेत उनले प्रस्ट्याएकी छन् ।

उनको सो टिप्पणीसँगै उनका पक्षमा हजारौँ प्रतिक्रिया आका छन् । उनले संवेदनशील विषयमा कुरा उठाउनु भनेको कुनै समुदायविरूद्ध लक्षित हुनु नभएको भन्दै उनीप्रति गरिएको दुर्व्यवहारप्रति आफ्नो समर्थन रहेको कयौँले लेखेका छन् ।

आफूलाई अरूभन्दा अलग देखाउने फेसनसमेत बढिरहेकामा चिन्ता व्यक्त गर्ने केही अधिकारकर्मीले उनको यस कार्यको समर्थन गरेका छन् । आत्मविश्वास कमजोर भएका महिलालाई समलिंगी बनाउन प्रेरित गर्ने समूह नै लागिपरेको भन्दै केही ह्विसलब्लोअर (अधिकारकर्मी)ले पछिल्लो समय आवाजसमेत उठाउने गरेका छन् ।

रोबर्ट केन्नेडी ह्युमन राइट्स अर्गनाइजेसनले मानवाधिकार, नागरिक अधिकारका पक्षमा काम गर्ने गरेको छ । अमेरिकी राष्ट्रपति जोन एफ. केन्नेडीका भाइ रोबर्टले जीवनभर त्यस क्षेत्रमा काम गरेको सम्झनामा उनकी छोरीले यो संस्था गठन गरेकी हुन् । सन् १९६८ ताका डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि उठेका रोबर्ट निर्वाचन प्रचारका क्रममा गोली हानी हत्या गरिएका थिए । उनका दाजु जोन एफ. केन्नेडीको पनि चुनाव प्रचारकै क्रममा हत्या गरिएको थियो ।

रोलिङलाई रिप्पल अफ होप अवार्ड प्रदान गरिएको थियो । यो अवार्ड अमेरिकी राजनीतिज्ञ नान्सी पेलोसीलाई पनि संयुक्त रूपमा प्रदान गरिएको थियो । पेलोसीले अनाथ बालबालिकाका क्षेत्रमा लामो समयदेखि काम गरिरहेकी थिइन् ।

प्रतिक्रिया
Loading...