नेपाली साहित्यको सम्पूर्ण पत्रिका

पढेरै रोग निको बनाउनुस्

प्राचीन मिश्रका शासक फारोह रामासेस द्वितीयले भन्थे, दुःखी आत्मालाई उपचार गर्नका लागि नै शिलालेख जन्मिएको हो ।

चर्चित लेखक डाइलन थोमस आनन्दित हुनका लागि बाथरूम जान्थे, बाथटबमा टन्न मनतातो पानी भर्थे, अगाथा क्रिस्टीका उपन्यास पढेर टफी चुसिरहन्थे ।

उपन्यासकार यियुन लि आफ्नो सबैभन्दा खराब समयमा लियो टोल्सटोयको वार एन्ड पिस पल्टाउँछिन् । हालै उनले अनलाइनमा वार एन्ड पिस पढ्ने भनेर घोषणा गर्नेबित्तिकै उनलाई पछ्याउने तीन हजार भन्दा बढीले उनीसँगै पढ्ने इच्छा जाहेर गर्दै उनलाई इमेल पठाए ।

पछिल्ला दिनमा भएका अध्ययनले देखाएको छ, पुस्तकले मानिसलाई मनोरञ्जन दिने र शिक्षित गर्ने काम मात्र गर्दैनन्, मानिसको दुःखी आत्मालाई निको बनाउने र अघि बढाउन पनि उत्तिकै भूमिका खेल्छन् । पुस्तकले पाठकलाई सँगै आफूसँगको यात्रामा अघि बढाउँछन् । चिन्ता, दुःस्वप्न र कुनै नराम्रो कुरामा फँसे निस्कन मद्दत पनि गर्छ ।

विदेशमा त यतिबेला बेला बिब्लियोथेरापीजस्तो नयाँ विधा नै जन्मिएको छ । जसमा मानिसलाई उनीहरूको मनोविकारको अध्ययन गरी पुस्तक पढ्न सुझाइन्छ । खासगरी अति दुखाई, मानसिक स्वास्थ्यको समस्या, एक्लोपनाजस्ता समस्याका लागि एउटा यस्तो सेसन बनाइन्छ, जसमा ‘बिरामी’ले अनिवार्य रूपमा पाँच वटा पुस्तक (कुनै निश्चित विधाको) पढ्नुपर्छ ।

बिब्लिओथेरापीमा आउने ‘रोगी’लाई उसको समस्या हेरी कुनै निश्चित पुस्तक पढ्न दिइन्छ । ती पाठ वा वाक्यहरूलाई बारम्बार दोहोर्याएर मनन गर्न लगाइन्छ ।

स्कटल्यानडस्थित बुक प्रेस्क्रिप्सन वेल्स नामक संस्थाले यो कार्य गर्न थालेको निकै भइसकेको छ । यो संस्थाले उच्च स्तरका सेल्फ हेल्प पुस्तकहरू आफ्ना ग्राहकहरूलाई पढ्न दिन्छ । तनाव र उच्च क्रोधको समस्या बेहोरिरहेका ग्राहकहरूलाई तिनले सुझाउने पाठ्यसामग्रीका कारण कतिपयले आफ्नो समस्या पढेरै समाधान गरिसकेको तिनको दाबी छ ।

पुस्तक पठनले दीर्घकालीन रूपमा नै डिप्रेसनबाट पार पाइने अध्ययनहरूले देखाइसकेको छ । बेलायतस्थित नेसनल इन्स्टिच्युट फर क्लिनिकल एक्सेलेन्सले पठनमार्फत निको पार्न सकिने कुरालाई जोड दिँदै यसतर्फ ध्यान दिन सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गरेको छ ।

हालै बेलायतको गार्डियन पत्रिकामा एक जना डिप्रेसनको बिरामी क्लिभ्सले एक आलेख लेखेकी छन् । उनले आफ्ना पतिको मानसिक समस्याका बेलामा आख्यानहरू पढ्दै र आफैँले पनि लेख्दै गर्दा सो रोग निको पार्न भूमिका खेल्न सकिन् भन्ने बताएकी छन् । हाल उनका पतिको निधन भइसकेको छ ।

उनका पतिको निधनका बाबजुद पनि उनलाई जुन एक्लोपनले सताउनुपर्ने र डिप्रेसनको तहमा पुग्नुपर्ने हो, सोबाट उनी आफू जोगिएको भन्दै आलेखमा यो प्रयोग अरूले पनि गर्न सुझाएकी छन् ।

बेलायतमा भर्खर शुरू भएको पठन अभियानमार्फत रोग निको पार्ने प्रक्रियामा कविता वाचन गर्ने मात्र होइन, उपन्यास र गैरआख्यानलाई पनि उत्तिकै महत्त्व दिइने गरेको छ ।

रोचक त के छ भने आख्यान पढ्ने यस्ता पाठकले अन्यप्रति कोमल भाव प्रकट गर्ने, भावुक हुनेजस्ता लक्षण देखाउन थालेका छन् । जबकि पहिला अत्यधिक क्रोधका कारण उनीहरू अरूप्रति संवेदनापूर्ण व्यवहार देखाउन सक्दैनथे ।

पठन थेरापीको सफलतालाई मध्यनजर गर्दै बेलायतमा सार्वजनिक पुस्तकालयमा विविध विषयका पुस्तकहरू बढाउनुपर्ने आवाज पनि उठ्न थालेको छ । पछिल्लो समय बजेट अभावका कारण नयाँ पुस्तकहरू किन्न नसकिने भन्दै कयौँ सार्वजनिक पुस्तकालयहरूले पुस्तक खरिद कार्य टप्प पारेका छन् । सार्वजनिक पुस्तकालयमा सर्वसाधारण जनताका रूचि र तिनलाई कामलाग्दा पुस्तक अभावका कारण उनीहरूको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै पठन थेरापीमा कार्य गरिरहेका संस्थाहरूले सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।

प्रतिक्रिया
Loading...