नेपाली साहित्यको सम्पूर्ण पत्रिका

बाछिटाको सैद्धान्तिक परिचय

बाछिटा अतिसन्निकटस्थ रूपमा हाइकुसँग तुलनीय छ भने केही छोटा लोकरचना, सूक्ति, सूत्र कविता, ताङ्का, सेदोका, साइनो, गद्यकविता आदिसँग पनि अंशत तुलनीय देखिन्छ ।

१. विषय प्रवेश

जीवन जगतका सन्दर्भहरूसँग जोडिएर नवीन जिज्ञासासँगै भौतिक सुखदुःख वा सुविधामा अभिप्रेरित गर्ने विषय वाङ्मय अर्थात् भाषा साहित्य नै हो । सृष्टि सौन्दर्यको अभिव्यक्ति, मानवीय संवेगात्मक चिन्तन र व्यवहारको प्रतिबिम्ब गर्ने विषय चाहिँ साहित्य हो । यसले जीवनजगतका सकारात्मक तथा नकारात्मक पाटाहरूको विश्लेषणात्मक जाहेरी र जीवनलाई मार्गदर्शन गर्ने काम गर्दछ । साहित्यको एक प्रमुख विधा कविता हो, जसमा सौन्दर्यसहितको कल्पनाको अनिवार्य उपस्थिति रहन्छ । पाश्चात्य साहित्यमा जोन्सन ‘कल्पना र संवेगद्वारा गरिएको जीवनको व्याख्या नै कविता हो’ भन्छन् । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाका अनुसार ‘भावनाको हार्दिक कोमलता नै कविता हो’ । ‘कविता जीवन जगतका मूल्यवान् अनुभवको काल्पनिक कलात्मक बद्ध वा मुक्त लयात्मक भाषिक सङ्कथन हो’ भनी विद्वान वासुदेव त्रिपाठी भन्छन् । कवितामा भाषाका माध्यमबाट अभिव्यक्त हुने जीवनको एक प्रकारको सङ्गीत, आलोचना, अनुभूतीय उच्छलन, रागात्मक तथा आनन्दात्मक जीवनको व्याख्या हुन्छ । यसैगरी राजेन्द्र सुवेदी भन्दछन्, ‘अन्तर्गर्भित अर्थ संवेदनालगायत तत्त्वका आधारमा मात्र कविता अवतरित हुन्’ (वैजयन्ति, अंक ५०) । यस्ता कवितासँग सम्बन्धित धेरै उपविधा (प्रविधा)हरू चिन्तनीय रहेका छन् । मुक्तक, तांका, हाइकु, चोखा, छेस्का, क्रिमुक, सेदोका, तप्कना, ॐ, बाछिटा, कोपिला, झर आदि कविताका प्रविधाहरू नेपाली साहित्यकाशमा देखिएका छन् । यी प्रविधाहरूले साहित्यिक भेलमा पौडिरहेको अवस्थामा लघु तथा सुत्रकविता ॐ, बाछिटा, कोपिला, झर, बिम्ब कविताजस्ता नयाँ उपविधाहरू पनि जन्मेका छन् र नयाँनयाँ प्रयोगहरू जन्मने क्रम बढ्दो छ । यस्ता विचारका अक्षरहरू सजाउने साहित्यिक विधाहरूको नयाँ अभ्यास र संरचना लिएर जन्मिनु एक हिसाबले साहित्यलाई समृद्ध र फराकिलो बनाउनु हो, तर भेल आएर नसङ्ली हराएर जानु भने राम्रो होइन । पाठकीय सम्बन्धमा भन्नुपर्दा रचनाको दृष्टिले संख्यात्मकभन्दा गुणात्मक र ओजनदार रचनाको अपेक्षा पनि पाठकले गरेको हुन्छ । त्यस्ता रचना नपाएमा त्यत्तिकै हराउँदै गएका उदाहरण छन् ।

नेपाली साहित्यको नवीन स्वरूपको रचना बाछिटा कविताको उपविधाकै रुपमा विकसित सूक्ष्म तथा सूत्रात्मक कविता हो । साहित्यका (कविता, कथा, नाटक, उपन्यास, निबन्ध) प्रमुख विधाहरूमध्ये कविताको प्रविधाका रूपमा विकास तथा प्रयोग हुँदै आएको बाछिटा सूत्रात्मक सङ्कलनको नवीन प्रयोग तथा सिर्जना हो । यसैले यो साहित्यका विविध विधा तथा उपविधामध्येको सबैभन्दा सानो तथा खुला रचनाविधान भएको कविताको उपविधाको रूपमा विकसित हुँदैछ । यद्यपि साहित्यिक विधा जन्माउनु ठूलो कुरो होइन, हुर्काएर परिपक्क बनाउनु नै ठूलो कुरो हो । यसै सन्दर्भलाई लिएर पङ्तिकारहरूले नेपाली साहित्यकाशमा भर्खरै उदाएको कविताको प्रविधा (उपविधा) बाछिटाका बारेमा सङ्क्षिप्त सैद्धान्तिक विमर्श गर्ने उद्देश्य लिएर यो लेख तयार पारिएको हो । यसमा विमर्शलाई प्रस्तुत गर्ने क्रममै यसको छोटो इतिहास तथा विकासक्रमलाई समेटेर यहाँ चर्चा गरिएको छ। यसमा अध्ययनका लागि प्राप्त सामग्रीको व्याख्या, विश्लेषण विधिलाई प्रयोग गर्दै निष्कर्ष निकालिएको छ । यसरी द्वितीयक सामग्री संकलनका रूपमा पुस्तकालयीय प्रविधिको प्रयोग गरिएको छ । जापानी साहित्यको सेदोका, तांका, हाइकु हुँदै लघुत्तम रूपमा बाछिटाको प्रादुर्भाव भएको देखिन्छ तर पनि यसका परिभाषा, तत्त्व, अभिलक्षण आदि तीभन्दा फरक देखिन्छन् । यसको सैद्धान्तिक मान्यताहरू पनि केही फरक छन् । यिनै सैद्धान्तिक मान्यता तथा रचनाविधान के हो भन्ने बारेमा आएका अभिमतहरूको चर्चाका साथ बाछिटाको रचनाविधानको विशुद्ध सैद्धान्तिक निरूपणको लागि यो आलेख तयार गरिएको छ ।

सान्दर्भिक पोस्ट

२. बाछिटाको सैद्धान्तिक परिचय

नेपाली साहित्य आकाशमा प्रवर्ध्दन भैरहेको कविताको एक नयाँ प्रभेद ‘बाछिटा’ नेपाली माटोमा मनमोहक र प्रभावकारी देखिरहेको छ । साहित्यमा सदा नवीनताको आग्रह रहन्छ । नवीनता प्रयोगशीलतामा आधारित हुन्छ । नवीन प्रयोगले साहित्यलाई समृद्ध बनाउँछ । त्यसैले बाछिटा पद्यसाहित्यको एउटा नयाँ लघुत्तम प्रविधाको रूपमा जन्म लिएको छ । यो कविताको प्रविधा प्रकृतिसँग सम्बन्धित छ । यसको तीन पाँच तीन अक्षर संरचनायुक्त तीन पंक्तिको हुन्छ । यसमा जीवन, जगत् र भोगाइका अनन्त चेतना, चिन्तन र संवेगहरूलाई प्रकृतीकरण गरेर चित्रण गरिन्छ । यो सानो भएर पनि अनन्त र अनेक अर्थ बहन गर्नसक्छ । यसमा भावगत तीक्ष्णता, रुपगत सूक्ष्मता, अर्थगत अनेकतामा गहनता पाइन्छ । यसैले बाछिटा प्रयोगशील मौलिक र स्वतन्त्र सूत्रात्मक बिउ कविता हो । यो आजको व्यस्त समयको माग हो । यसैले यसको अस्तित्व सर्वोपरि पनि रहेको छ ।

सुरेश काफ्ले ‘विदारक’

यसकोे प्रारम्भ जन्म लेखन नेपालको हावापानी माटोमा भएको हो । यसकोे विधागत रूपमा प्रवर्तन  १४ मे २०२० तदनुसार २ जेष्ठ २०७७ मा अमर त्यागीले खगेन्द्र बस्यालको साथमा सहयोगमा गरेका हुन् । यद्यपि नेपालीपनको सुगन्धले यो नेपाली प्रकृतिमा हुर्किँदैछ, साथै यो नेपालको प्राकृतिक सौन्दर्य, हावापानीको उपज पनि हो । बाछिटा स्वयम् प्रकृतिबोधक शब्द भएकाले यसमा प्रकृतिपरक भावाभिव्यक्ति वा प्राकृतिक बिम्ब वा झलकको प्रयोग हुनुपर्ने रचनागत मान्यता रहेको छ । नेपाल सुन्दर प्रकृतिले भरिपूर्ण देश रहेको हुनाले पनि बाछिटा सृजनाको अनन्त सम्भावना रहेको छ भन्नुहुन्छ यसका प्रर्वतक अमर त्यागी । यो पहिलो हरफमा तीन अक्षर, दोस्रो हरफमा पाँच अक्षर र अन्तिम हरफमा तीन अक्षर गरी तीन हरफमा रचना गरिने चित्रात्मक,  सूत्रात्मक नवीनतम् मौलिक काव्यविधा हो । यसरी हेर्दा बाछिटामा अर्थमा व्यापकता, भावमा साङ्केतिक सघनता, रचनामा पूर्ण स्वतन्त्रता तथा भाव सम्प्रेषणमा दार्शनिकता तथा सकारात्मकता हुन्छ । प्रत्येक बाछिटा आफैँमा पूर्ण र स्वतन्त्र हुन्छन् । बाछिटाका परिभाषा, तत्त्व, अभिलक्षण आदिलाई हेर्दा यो कविताको उपविधा पनि हो ।

हुन त यसलाई सम्भवतः विश्वकै लघुकाव्य हो भन्नुपर्छ । कम शब्दमा नै धेरै भाव प्रकट गर्ने सामर्थ्य भएको काव्यिक विशेषता बोकेको बाछिटा जापानी शैलीको कविता हो । साहित्य समुद्रको एक रूप हो भने बाछिटा त्यस समुद्रको गहिराइको वास्तविक अनुभूति हो । धेरै टुकीहरूको माझमा रहेको सानो तर चम्किलो दीप जसलाई अनुभव र ग्रहण गर्न निकै गाह्रो हुन्छ तर त्यसको भाव बुझी अनुभूतिमय  सार खिच्न सकेमा बाछिटामा नशा उर्लिएर आउँछ । यसैले यो सियोको टुप्पोजस्तो तीक्ष्ण हुन्छ । जसलाई कम आँक्न सकिन्न र त्यसको झट्का तिख्खर हुन्छ । यसले सोझै मानवमस्तिष्कमा गहिरो प्रभाव पार्न पुग्छ । मिठासपूर्ण बाछिटा लेख्न सक्नु कविको खुबीको कुरो हो ।

२.१ बाछिटा शब्दको व्युत्पादन र अर्थ

बाछिटा स्वयम् प्रकृतिबोधक नाम शब्द हो । बाङ्गो शब्दमा छिटा जोडिएर कर्मधारय समासद्धारा बाछिटा शब्दकोे निर्माण भएको छ । यसरी बाछिटा बाङ्गो (टेढो) र छिटा (पानीको थोपा वा कण) मिलेर समास प्रक्रियाबाट (बाङ्गो + छिटा = बाछिटा) भएको देखिन्छ । यसको शाब्दिक अर्थ हुन्छ हावासँगै पानी पर्दा बाङ्गिएर उच्छिटिएको पानीको कण वा छिटा । नेपाली शब्दसागरका अनुसार ‘हावा लाग्दाको पानीको छिटा वा पानीवतासको छिटा’ । बाछिटा शब्दले साहित्यको पारिभाषिक रूपमा काव्यको एउटा स्वतन्त्र लघुत्तम (सूत्रात्मक) किसिमको प्रकृति विशेष लुप्त अर्थ रचनाप्रकार भन्ने अर्थ बुझाउँछ । अमर त्यागीका अनुसार बाछिटाको शाब्दिक अर्थ बाङ्गो छिटा हो र लेखनमा यसमा बाङ्गो भनाइ वा प्रतीकात्मक अभिव्यक्ति रहन्छ । अर्थात् बाछिटाको प्रस्तुति अभिधात्मक नभएर लक्षणात्मक र व्यञ्जनात्मक हुन्छ ।

२.२ परिभाषा

कविताको उपविधाको रूपमा विकसित ‘बाछिटा’ नेपाली साहित्यकासमा भर्खर उदाएर तातेताते गर्दैछ । यसले आफ्नो स्वरुप र परिचयमा पूर्णता ल्याई सकेको छैन । यसको सैद्वान्तिक खोजी, विचार र विर्मश भैरहेको छ । यसै सन्दर्भमा बाछिटाको अभियन्ता तथा सर्जकहरूले आफ्ना फेसबुक अर्थात् विभिन्न लेख वा भनाइका माध्यममार्फत् दिनु वा बोल्नु भएका वा विचारका क्रममा आएका अवधारणालाई यसको परिभाषाका रूपमा प्रस्तुत गरिएको छ ।

क) बाछिटा तीन पाँच तीन अक्षर संरचनायुक्त तीन पंङ्तिपुञ्जमा प्रकृतिपरकता र प्रतीकात्मकता अन्तर्गर्भित लक्षणा र व्यञ्जना शब्दशक्तिद्वारा भावलाई झङ्कृत पार्ने सशक्त, गहन र लघुत्तम काव्यरुप हो ।  – अमर त्यागी

ख) व्यञ्जना एवम् लक्षणायुक्त प्रकृतिपरक एघार अक्षरी संरचनामा आबद्ध कविताको लघुत्तम रुपलाई बाछिटा भनिन्छ ।​    – डा. नारायण गैरे

ग) बाछिटा कविताको यस्तो चर हो जहाँबाट चियाउँदा प्रकृति र मानवीय जीवनका भोगाइलाई अन्योन्याश्रितका रुपमा रहेको अनुभूति गर्न सकिने बीउ कविता हो ।    – खगेन्द्र बस्याल

घ) बाछिटा कविताको सूक्ष्मातीत सूक्ष्म अर्थात् लघुत्तम रुप हो जसले सादृश्य प्रकृतिबोधक बिम्बलाई आत्मसात् गरेको हुन्छ । यो एक निमेषको झिल्का पनि हो ।   – चेतनाथ धमला

च) प्राकृतिक बिम्बले भरिपूर्ण छोटो, मीठो र सुन्दर भावले सजिएको तीन पंक्तियुक्त तीन पाँच तीन अक्षर संरचनामा बाँधिएको छिटामा सागर अँटाउने प्रतीकात्मक, लाक्षणिक र आलङ्कारिक लघुतम् काव्यरुप नै बाछिटा हो ।​  – विष्णु भट्टराई ‘विभु

ङ) थोरै शब्दमा गहन र प्रतीकात्मक अर्थ बोक्ने तीन पाँच तीनको तीन पङ्तियुक्त काव्यको लघुरुपलाई बाछिटा भनिन्छ ।​  – शिव खनाल

च) तीन, पाँच तीन अक्षरका तीन पङ्तिमा संरचित जीवन भोगाई र मानवीय संवेगहरूलाई प्रकृतीकरण गरिने साहित्यको लघुत्तम् विधा बाछिटा हो ।​   – निरु गौतम

छ) बिम्बको एक झुल्कोमा व्यक्त भावको लाक्षणिक वा व्यञ्जनात्मक प्रस्तुति रहेको लघुत्तम् काव्य रुप बाछिटा हो । – सावित्रा पाण्डे

ज) सामुद्रिक गहिराईजस्तो चामत्कारिक भावसघनता भएको तीन पाँच तीनको अक्षर संरचनायुक्त तीन पङ्क्तिको निरपेक्ष स्वतन्त्रता भएको आलंकारिक लक्षणा र व्यञ्जना शब्दशक्तिमा रचना गरिने नेपाली मौलिक सूत्रात्मक शैलीको लघुतम् कविता हो ।     ​   – सुरेश काफले ‘विदारक’

अतः बाछिटासम्बन्धी उपर्युक्त परिभाषाहरू तथा यसको अवधारणका आधारमा हेर्दा उपर्युक्त विभिन्न समीक्षक तथा स्रष्टाहरूका बीच पनि मतैक्य पाइँदैन । स्रष्टा÷समीक्षकहरूका परिभाषाहरूमा अभिव्यक्त भएका प्रमुख अभिलक्षण र उनीहरूले प्राथमिक रूपमा स्वीकार गरेका मान्यता तथा विशेषताहरूलाई यसप्रकार देखाइन्छ।

(१) कविताको लघुत्तम रूप वा अत्यैन्तै छोटो कविता

(२) नेपाली मौलिक, बिम्बात्मक, सूत्र तथा बिजकविता

(२) तीन हरफीय कविता वा त्रिपदीय संरचना

(३) रचनागत स्वतन्त्रता

(४) भाव सघनता र चमत्कारिता ( तिख्खर झड्का )

(५) सम्पूर्णतामा अनेकता भावसम्प्रेषण

(६) पूर्वतर निरपेक्षता तथा स्वयम् पूर्णता

(७) लाक्षणिक वा व्यञ्जनात्मक प्रस्तुति

माथिका बुँदाहरूलाई हेर्दा यो दार्शनिकताभित्रको भावसघनता बढी प्रबल हुने, तिख्खर झड्का दिने लघुत्तम सूत्रात्मक त्रिपदीय प्रकृतिपरकता र प्रतीकात्मकता अन्तर्गर्भित लक्षणात्मक र व्यञ्जनात्मक रचना हो । त्यसैले पनि यसको आयाम लघुत्तम सूत्रात्मक नै छ भने यसको भाषा बढी बौद्धिक, क्लिष्ट तथा सुक्तिमय हुने देखिन्छ ।

२.३ बाछिटाको निष्कर्षात्मक परिभाषा र व्याख्या

अझै पनि बाछिटालाई पूर्ण परिभाषामा बाध्न सकिएको छैन । परिमार्जित समयअनुसार विद्वान तथा सर्जकहरुद्वारा यसका विचार सिद्वान्त थपिदै र परिष्कृत हुँदै गइरहेको अवस्था छ । नेपाली साहित्यका उपर्युक्त परिभाषालाई हेर्दा विभिन्न स्रष्टाहरूले भिन्नभिन्न मान्यता तथा अभिलक्षणलाई आधार बनाएर बाछिटालाई परिभाषित गरेको देखिन्छ भने धेरै स्रष्टाहरुले मौलिक विशेषता तथा यसको संरचना पक्षलाई समावेश गरी बाछिटालाई चिनाएको पनि देखिन्छ । नेपाली साहित्यमा विशेषतः कविताको लघुतम रूप वा एकाइ, छोटो कविता, तीन हरफीय रचना, मौलिक नेपाली कविता, सूत्रात्मकता तथा बीजात्मकता, पूर्वपर निरपेक्षता, रचनागत् स्वतन्त्रता, भावसघनता, चमत्कारिता, सम्पूर्णतामा अनेकता र स्वयंमा सम्पूर्णता आदि अभिलक्षणलाई आधार बनाएर यसको परिभाषा गरिएको पाइन्छ । यी परिभाषाहरू र बाछिटाका सिद्धान्त समेतका आधारमा बाछिटालाई यस किसिमले परिभाषित गर्नु उपर्युक्त हुन्छ:

सम्पूर्णतामा अनेकता, भावसम्प्रेषणमा सघनता र चमत्कारिताका साथमा तीक्ष्णरुपमा अभिव्यञ्जित हुने निरपेक्ष तथा स्वतन्त्रतामा स्वयम् पूर्णता भएको तीन पाँच तीनको तीन पङ्तियुक्त संरचनामा रचना गरिने नेपाली मौलिक सूत्रात्मक बीज रचना स्वरूप भएको कविताको लघुतम प्रविधालाई बाछिटा भनिन्छ ।

यस परिभाषा तथा माथिका अवधारणाका आधारमा बाछिटालाई समग्रतः पहिचान गराउने आधारहरू यसप्रकार छन्ः

(क) एक सिंगो बाछिटाले सम्पूर्णतामा अनेक भावसम्प्रेषण गर्न सक्छ ।

(ख) बाछिटामा भावको सघनता, चामत्कारिकता र तीक्ष्ण अभिव्यक्ति हुन्छ ।

(ग) बाछिटा स्वयंमा पूर्ण तथा स्वतन्त्र (पूर्वतर सम्बन्धनिरपेक्ष) हुन्छ ।

(घ) बाछिटामा भावको एकल आवृत्ति हुन्छ ।

(ङ) बाछिटा तीन पाँच तीन अक्षर संरचनायुक्त तीन हरफीय संरचनामा आबद्ध हुन्छ ।

(च) बाछिटा नेपाली मौलिक सूत्रात्मक बीज कविता हो ।

(छ) बाछिटा कविताको लघुतम प्रविधा (प्रभेद) हो ।

(ज) बाछिटामा लाक्षणा वा व्यञ्जना शैलीको प्रयोग हुनुपर्छ ।

 

(क) एक सिंगो बाछिटाले सम्पूर्णतामा अनेकतापूर्ण भावसम्प्रेषण गर्न सक्छ ।

बाछिटा अणु कविता हो । यो तीन पाँच तीन गरेर तीन हरफको एघार अक्षरमा पूर्ण हुन्छ । जब यो पूर्ण हुन्छ यसको सम्पूर्णताले दिने भाव गहनतामा विविधता हुन्छ । भाव गहनतामा विविधता हुने बाछिटा अत्यन्तै ओझिलो बनेको हुन्छ । त्यसैले पनि यसलाई छिटामा समुद्र भनेको हो । सोच, विश्लेषण र दर्शनका आधारमा यसले अनेक अर्थभित्र विविध भाव सम्प्रेषण गर्दछ । समय र परिस्थितिअनुसार प्रकृतिपरक बिम्ब तथा प्रतीकमा अन्तर्गर्भित लक्षणात्मक र व्यञ्जनात्मक ओजनदार बाछिटाले आफूलाई छेपारोको रंगजस्तै अर्थिन सक्ने भएकोले यसमा सम्पूर्णतामा अनेकार्थकता पाउन सकिन्छ ।

(ख) बाछिटामा भावको सघनता, चामत्कारिकता र तीक्ष्ण अभिव्यक्ति हुन्छ ।

बाछिटामा कवितामाजस्तै भाव, विचार र अनुभूतिय अभिव्यक्तिको प्रतिपादन हुन्छ । यिनै भाव वा विचारको तीक्ष्ण र झरिलो अभिव्यक्ति नै बाछिटाको प्रमुख कथ्य हो । यिनै तीक्ष्ण र झरिलो भाव वा विचार बाछिटाको केन्द्रीय मुटु पनि हो । यस्तो भाव/विचार बाछिटामा बीजको रूपमा आएको हुन्छ । यसरी आएको भाव सामान्य र तरल अभिव्यक्ति नभएर अभिव्यक्ति सघन (खँदिलो) हुन्छ । त्यस्तो गागरमा सागर भर्ने सघन अभिव्यक्ति पनि अत्यन्त प्रभावोत्पादक, चामत्कारिक र तीक्ष्ण हुनु बाछिटाको आफ्नो मौलिकता हो ।

(ग) बाछिटा स्वयंमा पूर्ण तथा स्वतन्त्र (पूर्व सम्बन्ध निरपेक्ष) हुन्छ ।

प्रत्येक बाछिटामा भाव, विचार, अनुभूति वा अन्तर्वस्तु स्वतन्त्र हुन्छन् । एक बाछिटा एक पूर्ण अनुभूति यसको विशेषता हो । पूर्व वा अघिल्लो बाछिटा वा पछिल्लो बाछिटा वा प्रसङ्गसँग कुनै नजिकको सम्बन्ध नहुनु नै पूर्वापर सम्बन्ध नहुनु वा निरपेक्ष हुनु हो । यसरी प्रत्येक एक पूर्ण बाछिटा पूर्वापर सम्बन्धनिरपेक्ष हुँदा स्वयम् स्वतन्त्र हुने भएकाले यो आफैँमा पूर्ण र स्वतन्त्र पनि हुन्छ । तीन पङ्क्तिमा सम्पूर्ण वा एक पूर्ण भाव, विचार वा अनुभूति प्रस्तुत गरिएको हुन्छ । त्यसैले बाछिटामा पूर्णताभित्र ठोस, कसिलो, भरिलो र तीक्ष्णअनुभूति समेत हुन्छ । यस आधारमा बाछिटा स्वयंमा पूर्ण तथा स्वतन्त्र (पूर्व सम्बन्ध निरपेक्ष) हुन्छ ।

घ) बाछिटामा भावको रैखिक एकल आवृत्ति हुन्छ ।

भावको रैखिक एकल आवृत्ति हुनु पनि बाछिटाको परिचय हो । यसले क्रमशः भावको उठान गर्दे समापन हुन्छ । यसको विस्तार अत्यन्त छोटो हुन्छ । एउटा सोझो रेखाजस्तै अन्त हुन्छ । संरचनामा खहरे खोलाजस्तो भयानक उतावचढाव हुँदैन।

(ङ) यो ११ अक्षरयुक्त तीन हरफीय (त्रिपदीय) संरचनामा आबद्ध हुन्छ ।

बाछिटा पङ्तिगत आयामका दृष्टिले तीन हरफीय संरचनामा आबद्ध हुन्छ । यो पहिलो हरफमा तीन अक्षर, दोस्रो हरफमा पाँच अक्षर र अन्तिम हरफमा तीन अक्षर गरी तीन हरफ (पद) (पहिलो पङ्क्तिमा तीन, दोस्रो पङ्क्तिमा पाँच र तेस्रो पङ्क्तिमा तीन अक्षरसंरचना भएको तीन पङ्क्तिपुञ्ज) मा रचना गरिन्छ । यही त्रिहरफीय ( त्रिपदीय) संरचना नै यसको मानक अभिलक्षणा वा विशेषता पनि हो ।

(च) बाछिटा नेपाली मौलिक सूत्रात्मक बीज कविता हो ।

बाछिटा नेपाली प्रकृतिको सौन्दर्यतालाई बिम्बका रुपमा प्रयोग गर्न विकसित भएको कविता हो । यसको संरचनागत विकास पनि नेपाली उखान, टुक्कामा जस्तो भैसकेकोले यसमा नेपाली मौलिकपन छ । साथै यसले प्रकृतिपरक बिम्ब तथा प्रतीकमा अन्तर्गर्भित लक्षणा र व्यञ्जनाको सूत्रात्मक माध्यमबाट खँदिलो अभिव्यक्ति दिन्छ । यो बिउजस्तै सानो छ । रोपेपछि यो विशाल रूख बन्छ ।यसरी पानीको सानो कण (बाछिटा) ले दिने सामुद्रिक गहिराइ जस्तो यसको भावगत, अर्थगत आयतन भएकाले यसलाई बीज कविता पनि भनिएको हो ।

(छ) बाछिटा कविताको लघुतम प्रविधा (प्रभेद) हो ।

साहित्यमा कविता, कथा, नाटक, उपन्यास, निबन्ध प्रमुख विधाहरू छन् । बाछिटाका हरेक अवयवहरू कवितासँग नै नजिक छन् । वाङ्मयमा कविताका लघुत्तम, लघु, मध्यम र बृहत् गरी चार रूप हुन्छन् । यी चार रूपमध्ये बाछिटा सबैभन्दा सानो अर्थात् लघुत्तम रूप हो । तीन हरफीय लघुत्तम रूपको कविता भएकाले नै यसमा भावको त्यति ठूलो विस्तार हुँदैन र भइहाले पनि त्यो अन्यन्त छोटो किसिमको हुन्छ । कवितामा बाछिटाभन्दा सम्भवतः सानोे कुनै रूप नहुने भएकाले यसलाई लघुतम रूपको कविता भनिएको हो । यसको अक्षर सङ्ख्या पनि न्यून नै देखिन्छ । यसरी आकारगत तथा अक्षर सङ्ख्याका हिसाबले पनि यो लघुत्तम नै देखिन्छ ।

२.४ बाछिटाको संरचना, आयाम र रचना प्रक्रिया

संरचना भनेको बनोट, ढाँचा वा किसिम (शब्दसंरचना, भावसंरचना, वस्तुसंरचना आदि) हो र आयाम भन्नाले सामान्यतः आकारप्रकार वा फैलावट, विस्तार भन्ने बुझिन्छ । यसप्रकार रचना प्रकिया भनेको कसरी रचना, सिर्जना गर्ने ( सिर्जना गर्ने तरिका) भन्ने हुन्छ । बाछिटाको बनोट छरितो तथा कसिलो हुने भएकाले भावगत तीक्ष्णता सघनता र संरचनागत परिपुष्टताका साथ सन्तुलन हुनु बाछिटाको बाह्य–आन्तरिक संरचनात्मक विशेषता हो । आयामगत दृष्टिले यो त्रिहरफीय संरचनागत आयामलाई  स्वीकारेको छ । यो नै यसको सर्वमान्य संरचना हो । बाछिटाको संरचनाका सम्बन्धमा माथिका बाछिटाका अभियन्ताका परिभाषालाई पनि हेर्न सकिन्छ । साथै यसका पर्वतक अमर त्यागीका रचना तथा संरचनागत दृष्टिकोणहरूलाई हेर्नुपर्दछ ।

    …बाछिटामा प्रकृतिको झलक वा सूक्ष्म सङ्केत भएमात्र पनि हुन्छ तर त्यो झलक वा सङ्केत प्रतीकात्मक रूपमा आउनुपर्छ । बाछिटाको मूल आत्मानै यही हो । तीन पाँच तीन अक्षरसंरचनाको तीन पङ्क्तिपुञ्ज बाछिटाको शरीर हो भने तीनै पङ्क्तिबीचको भावगत सामन्जस्यता बाछिटाका गोडा वा गतिशीलता हो । अझ उत्कृष्ट बाछिटामा पहिलो तीन अक्षरीय पङ्क्तिमा विषयको सूक्ष्म रूपमा उठान, दोस्रो पाँच अक्षरीय पङ्क्तिमा विषयको विस्तारका साथ उत्कर्ष र तेस्रो तीन अक्षरीय पङ्क्तिमा विषयको पुष्टि वा सकारात्मक सन्देश संवाहन गरिएको हुन्छ । यसमा ती तीन बीचमा अर्थगत सामन्जस्यता पनि रहनुपर्छ ।…

“बाछिटा वा बाङ्गोछिटा वा बाङ्गो भनाइ वा प्रतीकात्मक अभिव्यक्ति वा अभिधात्मक नभएर लाक्षणिक र व्यञ्जनात्मक प्रस्तुति बाछिटा लेखनको मूल मियो हो । बाछिटा प्रकृतिपरक पद (शब्द) भएकोले तीन पाँच तीन अक्षरसंरचनाभित्र प्रकृतिको बिम्ब वा झलक सामान्य रूपमै भए पनि प्रयुक्ति हुनैपर्ने हुन्छ ।” ।  (अमर त्यागी)

‘बाछिटा तीन हरफमा पूर्ण हुन्छ । तीन हरफमा संरचित पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रासयुक्त तथा अन्त्यानुप्रास विहीन दुवै शैलीमा नियमसङ्गत रूपमा बाछिटाको औपचारिक रचना गरिन्छ ।’  (खगेन्द्र बस्याल)

‘यो लघुतम आकारको काव्यात्मक अभिव्यक्ति हो । यो तीन पाँच तीन व्याकरणिक अक्षर अक्षरसंरचना युक्त तीन पङ्क्तिमा रचना गरिन्छ । ती तीन पंङ्तिबीचमा अर्थ,भावगत सापेक्षता रहन्छ । सम्पूर्णतामा एक वा अनेक भाव  अभिव्यञ्जित हुन्छ । यसको अभिव्यक्तिको एक झोक्कामा विशिष्ट भाव उद्बोधित हुन्छ भने यसको भाषा सरस, तरल र ध्वन्यात्मक हुनु आवश्यक छ ।’  (सुरेश काफ्ले विदारक )

‘बाछिटा कविताको लघुतम संरचना हो । यो सामान्यतः तीन चरण वा हरफमा लेखिन्छ । ’  (लक्ष्मी नारायण श्रेष्ठ)

उपर्युक्त दृष्टिकोणहरूबाट यसको आयामिक संरचना तीन पङ्तिमा विस्तारित हुने कुरा देखाइएको छ भने बाछिटा सृजनाका निम्नलिखित छ आधारभूत मान्यताहरू वा दृष्टिकोणहरू अगाडि आउँछन् :-

बाछिटा सृजनाका छ आधारभूत मान्यताहरुः

१. पहिलो पङ्ंक्तिले विषयवस्तुलाई सूक्ष्म रूपमा उठान गर्ने, दोस्रो पङ्क्तिले विषयवस्तुलाई सहज रूपमा उत्कर्षमा पुऱ्याएर तेस्रो पङ्क्तिले विषयवस्तुलाई प्रभावकारी र अर्थपूर्ण रूपमा पुष्टि हुनुपर्छ ।

२. पहिलो पङ्तिमा तीन, दोस्रो पङ्तिमा पाँच र तेस्रो पङ्तिमा तीन अक्षरयुक्त तीन हरफमा रचना गरिएको हुनुपर्छ

३. तीन पाँच तीन अक्षरको ती पङ्ंक्ति बीच एकापसमा अर्थ वा भावगत सामन्जस्यता र एघार अक्षरको एक बाछिटाले निरपेक्ष तथा स्वतन्त्र अर्थ वा भाव दिनुपर्छ ।

४. व्याकरणिक अक्षरसंरचनायुक्त हुनुपर्छ  ।

५. अभिव्यक्तिमा प्रकृतिपरक बिम्ब तथा प्रतीकात्मक हुनुपर्छ । यद्यपि भावनाको तीव्रता र अनुभूतिको तीक्ष्णता    प्रतीकात्मक र मार्मिक रूपमा आएमा प्रकृतिको बिम्ब वा झलक नआए पनि बाछिटा बन्छ ।

६. अभिव्यक्ति अभिधात्मक नभएर लाक्षणिक र व्यञ्जनात्मक हुनुपर्छ ।

बाछिटाको आयामिक संरचनाका सम्बन्धमा प्रस्तुत उपर्युक्त दृष्टिकोणहरू मूलतः नेपाली साहित्यको उखान, टुक्का, केही गेडी, छेस्का जस्ता कविता र पश्चिमी भजनका शास्त्रीय मान्यता र जापानी कविता हाइकुका शास्त्रीय मान्यताका लेखनका प्रचलनहरू समेतका आधारमा विकास भएको देखिन्छन् । त्यसैले यसका संरचनामा, अक्षर गणनामा र लयमा पनि केही सामिप्यता पाइन्छ । साथै यो केही मात्रामा चतुष्पदी मुक्तकसँग पनि संरचना तथा लयगत सामिप्यता पनि पाइन्छ । बाछिटामा अनुभूतिको एक झोक्का प्रस्तुत गर्न पहिलो चरण वा पङ्तिमा  विषयको उठान, दोस्रो पङ्क्ति वा चरणले विषयको विकास गर्दै उत्कर्ष र तेस्रो पङ्क्ति वा चरणले विचार र कथ्यका अनुभूतिको रहस्योद्घाटन वा पटाक्षेप हुन्छ । यस हिसाबले हेर्दा चतुष्पदी मुक्तकसँग पनि सामिप्यता देखिन्छ । बाछिटा बद्धप्रकृतिको कविता–प्रभेद भएकाले पद्यसाहित्यको लघुत्तम विधा हो । यो तीन पाँच तीन अक्षर संरचनायुक्त तीन  पङ्क्ति हुन्छ । यसमा जीवन, जगत् र भोगाइका अनन्त चेतना, चिन्तन र संवेगहरूलाई प्रकृतीकरण गरेर चित्रण गरिन्छ । त्यसैले यो विधा प्रकृतिसँग सम्बन्धित छ ।  यसमा प्रकृतिबोधक शब्दको अनिवार्यता रहन्छ ।

बिहानी

शीतको थोपा

जवानी । 

– (अमर त्यागी)

बाछिटामा प्राकृतिक बिम्ब हाम्रो जीवन भोगाइका विषयसँग सम्बन्धित भएर प्रतीकात्मक रूपमा आउनुपर्छ । यस्ता बिम्ब वा बिम्बजस्तो देखिने झलक आए मात्र पनि हुन्छ । ‘नेपाली भाषामा प्रकृतिपरक शब्दहरूको भण्डार नै छ, मात्र शब्द टिप्न सक्नुपर्छ । बाछिटामा सकभर निपात, संयोजकजस्ता शब्दको प्रयोग नगरी समस्त, द्वित्व वा पूर्ण, संयुक्त, सरल र प्रचलित ठेट नेपाली शब्दहरू प्रयोग गर्नु उपयुक्त हुन्छ । साथै बाछिटामा शुरू र अन्त्यमा अनुप्रास मिल्नैपर्छ  भन्ने छैन, नमिले पनि हुन्छ,तर बाछिटा लेख्दा प्रतीकात्मक रूपमा भावको गहनताका साथै लाक्षणिक र व्यञ्जना शब्दशक्तीमा लेखे यो आफै गहन बन्दछ । अर्थपूर्ण रूपमा अनुप्रास मिले सौन्दर्यपपूर्ण वा माधुर्यमय चाँहि बन्दछ ।-अमर त्यागी

यसैले ‘धेरै बाछिटा लेखेर मात्र उत्कृष्ट बाछिटाकार बन्न सकिन्न । ‘थोरै लेखे पनि सुन्दर संरचनामा गहन भावपूर्ण वा शाश्वत मूल्यका विषय लेख्न सके मात्र उत्कृष्ट बाछिटाकार बन्न सकिन्छ । उदाहरणका रूपमा हामी शंकर लामिछानेलाई लिनसक्छौँ । नेपाली हाइकुको प्रारम्भिक इतिहासमा सर्वोत्कृष्ट हाइकुसर्जकका रूपमा सर्वप्रथम शंकर लामिछाने कै नाम आउँछ । उनले जीवनमा जम्मा दुईवटा मात्र हाइकु लेखेका थिए । दुवै हाइकु अत्यन्तै जीवन्त छन् ।’ भन्नुहुन्छ बाछिटाका जन्मदाता अमर त्यागी । त्यसैले यो थोरै वा सीमित पङ्क्ति धेरै भाव र विचार र अनुभूतिलाई समेट्नु पर्ने भएकाले बाछिटा सृजना गर्नु चुनौतीपूर्ण हुन्छ । तीन  पङ्क्तिको संरचनाका कविता लेख्दैमा ती सबै बाछिटा हुँदैनन् ।

२.४.१ बाछिटा कसरी लेख्ने ?

बाछिटा त प्रयोगशील मात्र नभएर मौलिक र स्वतन्त्र विधा नै हो । यो हाइकुजस्तै मौलिक काव्यविधा हो । बाछिटाको पहिलो पङ्क्तिको तीन अक्षरले विषयवस्तुलाई सूक्ष्म रूपमा उठान गर्ने, दोस्रो पङ्क्तिको पाँच अक्षरले विषयवस्तुलाई सहज रूपमा उत्कर्ष पुऱ्याउने र तेस्रो पङक्तिको तीन अक्षरले विषयवस्तुलाई प्रभावकारी र अर्थपूर्ण रूपमा पुष्टि गर्नुपर्दछ । तीन पाँच तीन अक्षरको तीन पङ्क्ति बीच एकापसमा अर्थ वा भावगत सामन्जस्यता हुनुपर्छ । अन्य विधामा जस्तै बाछिटामा पनि भाषिक विचलन हुनुहुँदैन । यसो भएमा संरचनागत कमजोरी देखिन्छ । जस्तो

हुन्छन                 हुन्छन्

गर्न नसक्ने         गर्न नसक्ने

मर्छन् ।               मर्छन् ।

यसमा भाषिक त्रुटि छ । यहाँ न मा हलन्त हुन्छ । हलन्त नदिएर तीन अक्षर बनाइएको छ । साथै यस अभिव्यक्तिमा बाछिटाको अवधारणाअनुसार प्राकृतिक बिम्ब   वा प्रतीकात्मक अर्थ पनि छैन । अक्षर मिलाउन यसो गर्दा भाषागत त्रुटि देखिनाका साथै बाछिटाको संरचनामा पनि त्रुटि देखिन्छ । यसमा सचेत रहनुपर्छ । साहित्यका सबै विधामा भाषिक विचलन वा संरचनागत त्रुटि हुनुहुँदैन भन्ने मान्यता रहेको छ । प्रतीकात्मक भावको प्रस्तुतिले साहित्य गहन बन्छ, यसको अभाव भएमा साहित्यिकता फितलो बन्छ । एउटै भाव प्रस्तुत गर्ने बाछिटा जस्तै

इच्छाले

हिमाल चढ्छ

प्यासले ।

—   —    —     —      —    —

तसला

तिउनलाई

मसला

यी अभिव्यक्तिहरूमा साहित्यिक ओज आउन सकेको छैन । मिलाएको तुकबन्दीले मात्र साहित्यिक मूल्य कायम राख्न सक्दैन। यहाँ गहन भाव वा प्रतीकात्मक अर्थ आउन सकेको छैन । यहाँ प्राकृतिक बिम्व पनि छैन । तसलालाई कुनै प्रतीक वा व्यंन्जनार्थ रूपमा प्रयोग गरेको भए साहित्यिकता आउँथ्यो । दोस्रोमा बिम्ब प्रयोग गरेर लेखेको भए राम्रो हुन्थ्यो । यस्ता रचनामा भावको गम्भीरता रहन्न र शाश्वत मूल्यको अर्थ पनि हुन्न । यसैले साहित्यमा प्रतीकात्मक भावको गम्भीरता आवश्यक हुन्छ । त्यस्तै भावको विचलन र अर्थगत असामन्जस्यता रहेमा पनि साहित्यिक गहनता रहन्न।

‘युगान्त                      मानव

चैतको साँझ             शरद खोज्दा

जीवन्त                       दानव

सामान्यतः पढ्दा यहाँ बाछिटाको अवधारणाअनुसार प्राकृतिक बिम्व पनि छन् । तुकान्त पनि मिलेको छ शब्दहरू पनि सुन्दर छन् । पढ्दा मिठास पनि छन् । तर यसमा भावको विचलन वा अर्थगत असान्जस्यता रहेको देखिन्छ ।

चैतको साँझ त्यस्तो युगको अन्त नै गर्ने महान् हुन्छ त? अनि चैतको साँझ नै त्यस्तो जीवन्त पनि हुन्छ र? यी दुवै हुन नसक्ला कि! चैत सुख्खा, उराठ, उदास मौसम हो र मौसम बदलिरहन्छ, चैतको साँझलाई युगान्त र जीवन्तको रूपमा प्रयोग गर्दा अर्थगत विचलन देखिन्छ । यहाँ युगान्त र जीवन्तको रूपमा चैतको साँझ होइन, अर्थसँग सुहाउँदो अरू थोक नै प्रतीकात्मक वा व्यंजनार्थक रूपमा प्रयोग गर्नु उपयुक्त हुन्छ ।

त्यस्तै मानव शरद खोज्दा दानव कसरी हुन्छ ? शरद आफैमा सुख, समृद्घि, हर्ष र सुन्दरताको प्रतीक हो र यस्ता चिजको अपेक्षा गर्ने के दानव (अराजकता, ध्वंश र क्रुरताको प्रतीक) नै हुन्छन् त ? यसरी यहाँ अर्थगत विचलन देखिएको छ । शरदको ठाउँमा नकारात्मक प्रवृत्ति देखाउने शब्दसंयोजन गर्नु उपयुक्त हुन्छ । त्यसैले मानव नकारात्मक कार्यबाट दानव बन्छ भन्ने अर्थबोध हुन्छ । मानव र दानव विपरीत अर्थ वोध गर्ने शब्द चयनले यहाँ अर्थगत विचलन देखिन्छ । यस्ता विचलन साहित्यका सबै विधामा अमान्य मानिन्छ । त्यस्तै पहिलो, दोस्रो र तेस्रो पंक्तिबीच भावगत सामन्जस्यता हुनुपर्दछ ।

राहुले                    गोठालो

भरिन्छ भाँडा         सुन्दर धर्ती

बाहुले ।                 खेतालो ।

यहाँ शब्दहरू सुन्दर छन् । राम्रो बाछिटा बनेजस्तो लाग्छ । हामी सरर पढ्छौँ र वाह भन्छौँ किनकि शब्दहरूले हामीलाई मोहित पारेको छ । तर पहिलो हरफको राहुले भरिन्छ भाँडा र बाहुसँग सामन्जस्यता राख्दैन र कुनै उपयुक्त अर्थबोध पनि हुँदैन । यहाँ दोस्रो र तेस्रो लाइनको अर्थगत सामन्जस्यता रहेको छ । बाहुले अर्थात् हातको परिश्रमले अर्थोपार्जन गर्न सकिन्छ भन्ने अर्थबोध हुन्छ ।

त्यस्तै शब्दहरू सुन्दर भएपनि गोठालो, सुन्दर धर्ती र खेतालो तीनवटै लाइनसँग अर्थगत सामन्जस्यता छैन र  कुनै भावार्थबोध पनि हुँदैन । यी  तीनवटै लाइनको एकापसमा के अर्थमा सम्बन्ध देखाउने र यसको मूख्य सन्देश के हो त भन्ने अन्यौल उत्पन्न हुन्छ । साहित्यमा यस्तो अन्यौल र भावार्थ नखुल्ने अभिव्यक्तिलाई राम्रो मानिँदैन । बाछिटा त झन् सूक्ष्म र गूढार्थबोध हुने प्रभावपूर्ण सृजना हो । यसमा तीनवटै लाइनमा प्रतीकात्मक रूपमा अर्थगत सामन्जस्य हुनुपर्छ । बाछिटाको सुन्दर भविष्यका निम्ति,सुन्दर र भावार्थपूर्ण बाछिटा सृजनाका निम्ति यस्ता कुराहरू बुझ्नु अति आवश्यक देखिन्छ ।

कर्कला

पातमा शीत

जिन्दगी

यो एउटा पूर्ण बाछिटा बनेको छ । यसमा तीनवटै लाइनमा अर्थगत सामन्जस्य पनि छ, प्रकृतिको बिम्व पनि छ, प्रतीकात्मक पनि छ । यहाँ शीत जीवनको प्रतीकको रूपमा आएर व्यन्जनार्थबोध भएको छ । कर्कलाको पातमा अडेको शीत सुन्दर र आकर्षक देखिएझैं जीवन पनि सुन्दर र आकर्षक छ तर दुवै अस्थायी छन् भन्ने भावार्थबोध हुन्छ ।’ यहाँ  अमर त्यागीका फेसबुकवाट शब्द सापटी लिएर बाछिटा कसरी लेख्ने ?उदाहरण प्रस्तुत गरिएको हो ।

बाछिटाका केही उदाहरण हेरौं ।

खोलाको            आदिम             आक्षेप            कौसीमा          छाँगामा               कलह

गतिशीलता     नदीको बास   काँडाको अस्त्र   धुम्धुम्ती दु:ख   सुखको फल         हुरीको आगो

चोलाको              जोखिम          प्रक्षेप              औंसीमा              हाँगामा               सरह​                                                         –अमर त्यागी

 

चिउला​              भित्तो छ !​                कौशोर्य                ​सृष्टिमा    ​             परेली

नव सौन्दर्य​    मायाको बारी​          प्रभाती सूर्य​           अथाह शक्ति​          धारिलो धार

जीवन !​         रित्तो छ !​                  माधुर्य ।            ​    दृष्टिमा ।              तरेली ।

–चेतनाथ धमला  –डा. नारायण गैरे     –भरत सिग्देल   –विष्णु भट्टराई विभु   –सुरेश काफ्ले विदारक

बाछिटामा प्राकृतिक बिम्व हाम्रो जीवन भोगाइका विषयसँग सम्बन्धित भएर प्रतीकात्मक रूपमा आउनुपर्छ । यस्ता बिम्ब वा बिम्बजस्तो देखिने झलक आए मात्र पनि हुन्छ जस्तो हरियो, बहार, शीतल, पहार, उजाड, घाम, छाया, बतास, जून, जुनेली, वनेली, फरर, तपक्क, धपक्क, हुरुक्क, झलल्ल, सलल्ल, कलकल, हरर, छलछल, जंगल, छहारी, छलछाम आदि । बाछिटामा सकभर निपात, संयोजक जस्ता शब्दको प्रयोग नगरी पूर्ण, संयुक्त, सरल र प्रचलित ठेट नेपाली शब्दहरू प्रयोग गर्नु उपयुक्त देखिन्छ । नेपाली भाषामा यस्ता शब्दहरूको भण्डार पनि छ ।  जीवन र प्रकृतिबीच अभिन्न तादात्म्य रहेको हुन्छ, जीवनलाई प्रकृतीकरण वा प्रकृतिलाई मानवीकरण वा जीवन, जगत् र भोगाइलाई प्राकृतिक बिम्बका आधारमा प्रतीकात्मक स्वरूप दिएर रचेका रचनाहरू नै सुन्दर र भावपूर्ण हुने तथ्य सर्वविदितै छ । अझ उत्कृष्ट बाछिटामा पहिलो तीन अक्षरीय पङ्क्तिमा विषयको सूक्ष्म रूपमा उठान, दोस्रो पाँच अक्षरीय पङ्क्तिमा विषयको विस्तारका साथ उत्कर्ष र तेस्रो तीन अक्षरीय पङ्क्तिमा विषयको पुष्टि वा सकारात्मक सन्देश संवाहन गर्न सकिए यसको ओज बढ्छ । यस्ता ओजपूर्ण बाछिटा सृजनाका निम्ति निरन्तर साधनाको आवश्यकता पर्छ ।

२.५ बाछिटाको उत्पतिगत पृष्ठभूमि

संसारमा लामाछोटा साहित्यिक विधाहरु रहेका छन् । केही न केही कविताका मान्यता, गुण, थोरै संरचनासँग नजिक रहेका नै हुन्छन् । त्यस्ता विधाहरूबीच स्वरुपगत वा संरचनागत दृष्टिले निकटस्थ सम्बन्ध रहेको हुन्छ । तर  बाछिटा कम शब्दमा नै धेरै भाव प्रकट गर्ने प्रमुख विशेषता बोकेको हाइकुजस्तै जापानी शैलीको मौलिक नेपाली कविता हो । बाछिटाको पृष्ठभूमि हाइकु हो भन्नु हुन्छ बाछिटाकार डा. नारायण गैरे । यसको संरचनागत प्रकृति हेर्दा पनि यो सातौँ आठौँ शताब्दीतिरको हाइकाइ श्रृङ्खलाको विकसित जापानी कविता हाइकुबाटै विकसित भएको कविता हो । तर बाछिटा हाइकु होइन हाइकु जस्तै कविता हो । यो नेपाली मौलिक भूमिमा विकसित भएको छ । यसो हेर्दा हाकुनै नेपाली उखान, टुक्का तथा नेपाली पश्चिमी लोक भजनबाट चीन हुँदै जापानमा विकसित भएको देखिन्छ । किनकि ५, ७, ५ को संरचनामा संरचित हुने हाइकु ठीक त्यही संरचनामा संरचित नेपाली उखान, टुक्का तथा नेपाली पश्चिमी लोक भजनहरू भेटिएका छन् । जस्तै :-

नम शिवाय          हनुमान् आए

ॐनमो भगवते       द्रोणचाल लिएर

बासुदेवाय ।​          हनुमान् आए ।       भजन

यिनका इतिहास हाइकुको इतिहासभन्दा पूराना देखिन्छन् । यसरी हेर्दा बाछिटा नेपाली उखान, टुक्का तथा नेपाली पश्चिमी लोकभजनबाटै विकसित भएको भन्दा अन्याय हुँदैन। यस्तै बाछिटा नेपाली मौलिक कविता गेडीसँग पनि नजिक देखिन्छ । त्यस्तै ‘सेदोकासँग ताङ्काको निकटतम सम्बन्ध रहेको छ । ताङ्कासँग हाइकुको घनिष्टतम सम्बन्ध ,त्यसरी नै हाइकुसँग बाछिटाको पनि अधिकतम सम्बन्ध रहेको छ । बाछिटाको सूत्र कविता, दाना कविता, टाँका, छेस्का, छोकसँग पनि नजिकको सम्बन्ध रहेको छ । यसरी अन्य रचनासँग निकट सम्बन्ध रहेपनि सेदोका, ताङ्का, हाइकुजस्तै बाछिटा पनि स्वतन्त्र, पूर्ण र मौलिक काव्य विधा हो।’ अमर त्यागी । यसरी हेर्दा बाछिटा संरचनागत रुपमा सबैभन्दा नजिक हाइकु, गेडी, दाना, साइनो, लोक भजनसँग देखिन्छ ।

बाछिटाको रचनागत सोचका सम्बन्धमा यसका प्रर्वतक अमर त्यागी भन्नुहुन्छ –‘नेपाली साहित्यमा २०६० मा मैले ’अनुभूतिको जुलुस’ सूत्र कविताकृति प्रकाशनमा ल्याएँ । त्यसपछि २०७१ मा ’अन्धसत्ता’ सूत्र कथाकृति पनि आयो । सूत्रात्मक सृजनाप्रतिको अभिरूचिका कारण सूत्र हाइकु रचनाको प्रयास गरियो । तीन पाँच तीन अक्षर संरचनाका रचना सूत्र हाइकु भनेर सामाजिक सञ्जालमा राखियो । त्यस्तै खगेन्द्र बस्याललगायतले यस किसिमका रचनालाई लघु हाइकु भनेर पोष्ट गरे । अनेक विज्ञहरूबाट यसबारे सकारात्मक नकारात्मक प्रतिक्रियाहरू आए । धेरै विज्ञहरूले हाइकु स्वयं सूत्रात्मक र लघुरूप हुने हुँदा यस्ता रचनालाई लघु वा सूत्र हाइकु भन्न नहुने तर्क गरे । केही विज्ञहरूबाट यसलाई ‘काव्योक्ति’ वा यस्तै अन्य नाम दिने सल्लाह आयो ।  यही सन्दर्भमा यसलाई २ जेष्ठ २०७७ मा बाछिटा नामाकरण गरेर काव्यविधाको रूपमा प्रवर्तन गरियो ।’

२.६ बाछिटाका सर्जकहरु

नेपाली साहित्यमा प्रल्लवित जीवन, जगत् र यसका अनुभवलाई नजिकबाट नियाल्ने र सकारात्मक सन्देशमूलक चेतना सम्प्रेषण गर्न सक्ने सूत्रात्मक त्रिपदीय रचना, आफैमा पूर्ण हुने स्वतन्त्रता भएको मुक्त शैलीको रचना हो । यसलाई कविताकै उपविधाको रुपमा मान्नुपर्छ । बौद्घिक भावले मनमस्तिष्कलाई मार्गदर्शन गर्न सक्ने कलात्मक संरचना, छरितोपना तथा गहनताका साथै अनुभूतिमा तीक्ष्णता रहने अर्थयुक्त लघुत्तम सूत्रात्मक नेपाली काव्यको मौलिक काव्य सिर्जना हो । छोटो समयमा सयको संख्यामा सर्जकको प्रेम पाउन सफल भएको छ । यसको मूख्य कारण यसले खँदिला, गहन र चोटिलो, रुपमा मस्तिष्कलाई झङकृत गर्न सक्नु नै हो । छोटो ,मीठो, रसिलो र भरिलो सृजना भएको हुनाले यो विधाप्रतिको आकर्षण दिनानुदिन बढिरहेको छ ।

थुप्रै आदरणीय सर्जकहरुले बाछिटा रचना गरिरहनु भएको छ । बाछिटा रचना गर्ने सर्जकहरुमा अमर त्यागी, अम्बिका धिताल, अर्जुन सापकोटा सहृदयी , अन्तिम दिनेश थापा, अनोज चाम्लिङ, अबजस चन्द, आर्त अकुलीन, आनन्द श्रेष्ठ, ओम भुजेल, उपमा शर्मा, इन्द्रा थापा, इन्दिरा प्रसाइँ, ईश्वर भुलाल, उपेन्द नेम्वांग विरही , कर्णबहादुर रोकाया, कपिल पाण्डे, कविता देवकोटा, कविन्द्रलाल प्रधान, कमला भण्डारी ढकाल, केशव अधिकारी, केशव बैरागी माइलो, कृष्ण सुदामा, कष्णहरिप्रसाद नेपाल, खगेन्द्र बस्याल, गंगार्जुन रिमाल, गिरीराज अधिकारी, गोकर्ण रिमाल, गोविन्द खनाल, चिरञ्जीवी ढकाल, चेतनाथ धमला, जगनाथ अधिकारी, जनककार्की, जनार्दन अधिकारी , जयदेव गोविन्द, जुनु श्रेष्ठ, जुनु क्षेत्री, ज्योति भट्टचन, डीबी जिरेल ,डिल्लीराम शर्मा, तिलकराज चुँदाल, तुलसी पण्डित, तुलसी, मैनाली सिवाकोटी, दधिराम गेलाल, दीपकराज घिमिरे, दिवाकर बरालमगर, दीक्षा सापकोटा, धातानन्द शर्मा, नगेन्द्र परन्ताप, नवराज अधिकारी, नवराज बराल, नारद आचार्य सुदामा, नारद गौतम, नारायण खनाल। डा.नारायण प्रसाद गैरै, नारायण नेपाल, नारायणप्रसादउ पाध्याय, नितेन्द्र खनाल, निमा डिसी, निरू गौतम, अधिकारी कान्छो, पशुपति आचार्य, पशुपति राई, प्रकाश सापकोटा, प्रदीपकुमार रिमाल, पूर्ण चाम्लिङ, पुरुषोतम अधिकारी, पुरुषोतम लम्साल, प्रभा पौडेल, बद्री पोखरेल, बाबुकाजी सुवाल, बाबुराम गौतम, बाबुराम भण्डारी, बाबुराम न्यौपाने उत्स, बालकुमार क्षेत्री, विविधा भारती, भवानी पाण्डे, भरत भुसाल, भरत सिग्देल, भारती न्यौपाने दहाल, भोजराज काफ्ले, भोजराज पाठक, भोजराज भट्टराई, मंगला उपाध्याय, मञ्जु तामाङ, मणिराज दंगाल, मदन निराजन सापकोटा, मधु घिमिरे, मनिष पौडेल, मनोज मनजु, महेन्दमान बलामी, मिरा प्रसाइँ, मुक्तिनाथ शर्मा न्यौपाने, मेनका उपाध्याय, मोहन घिमिरे, यादव न्यौपाने, यादवराज शर्मा भट्टराई, रघु थापा, रचना शर्मा, रणवहादुर विक, रमेश अधिकारी, रमेश भट्टराई, रश्मि भट्ट, राजाराम सुवेदी, रामचन्द्र भट्टराई, रामप्रसाद पोखरेल, डा।रामपुकार साह, रामराजा केसी, ऋषि वस्ताकोटी, रेनुका चौलागाईँ, रेवतीरमण पोखरेल, रेवतीरमण नेपाल, रोशन पराजली, लता पौडेल, लक्ष्मी थापा, लक्ष्मी नेपाल, लक्ष्मी नारायण जोशी, लक्ष्मीप्रसाद पोखरेल, लक्ष्मीप्रसाद पौडेल, लक्ष्मी बस्याल, विष्णुप्रसाद अर्याल, विष्णु भट्टराई विभु, विष्णुमान श्रेष्ठ, विष्णुवृन्द मगर, विनोद नेपाल, वेदप्रसाद रिजाल, सत्यवती भट्टराई, समीर पाख्रिन, समुन्द्रा शर्मा, सरस पाण्डे, सरस्वती चिमौरिया, सरस्वती शर्मा, सरस्वती श्रेष्ठ, सरिता काफ्ले, सविता केसी, सवीन लम्साल, सावित्रा पाण्डे, सिर्जन अविरल, सीता पौडेल, सूचिता काफ्ले, सुनिल गौतम, सुभद्रा अधिकारी, सुरेश काफ्ले विदारक, सुवास गाउँले, सुवास जमरकट्टेल, सुवास ढुंगाना, सुशीला पौडेल, सोमनाथ लुइटेल रवि, शंकर अधिकारी, शम्भु अधिकारी, शान्ता रिमाल, शान्ति दीप, शारदा धिमिरे भैल, श्याम माकजू, शिव खनाल, शेखर अर्याल, शेखरकुमार श्रेष्ठ, शेषनाथ पौडेल, शोभा काफ्ले खतिवडा, शोभा थापा, ऋषिवस्ता कोटी, श्रीराम पाण्डे, हरिकृष्ण श्रेष्ठ, हरि पराजुली, हिरा खनालआदि हुनुहुन्छ । यसको लेखनमा स्वतन्त्रता, रस तथा लयमा भावनात्मक व्यङ्ग्य, अनुभवीय भावना तथा दर्शन र भाव सम्प्रेषणमा सकारात्मकता हुनु आफैमा सफल देखिन्छ । यसरी सर्जकको संख्यामा बाढी आउनु र यसले ती सर्जकका बीचमा लोकप्रियता कमाउनुमा यसको स्वतन्त्र रचना विधान र यसले सम्प्रेषण गर्ने प्रबल भाव नै हो ।

३. बाछिटा र यसका संरचनाका अन्य कविता रूप

बाछिटा जस्तो देखिने रचनाहरू बाछिटाभन्दा इतर प्रकृतिका हुन्छन् । तीन पङ्तिको सिङ्गो रचना हुनेबित्तिकै बाछिटा हुँदैन । बाछिटामा प्रत्येक पङ्क्तिले भावलाई उत्कर्षमा पुऱ्याउन प्रतीकात्मक तथा प्रकृतिपरक बिम्बको सघन प्रयोग हुन आवश्यक छ । यो भएन भने त्रिहरफीय संरचनाको हुँदैमा त्यो बाछिटा बन्दैन । बाछिटा नै नभए पनि बाछिटाजस्तै वा बाछिटाका समधर्मी र मुक्त संरचनाका केही कवितारूपलाई बाछिटाका सापेक्षमा यसप्रकार देखाइन्छ:-

(क) बाछिटा र लोकरचना (सिलोक र झ्याँगा, चुट्का, रोइला, उखान, टुक्का)

(ख) बाछिटा, मुक्तक तथा मुक्तककाव्य

(ग) बाछिटा र हाइकु, ताङ्का तथा सेदोका

(घ) बाछिटा र अन्य कविता ( सूत्रकविता, दानाकविता, टाँका, छेस्का तथा छोक)

(क) बाछिटा र लोकरचना (सिलोक र झ्याँगा, चुट्का, रोइला, उखान, गाउँखाने कथा)

कवितात्मक लोकरचनाका रूपमा रहेका बाछिटाको निकट मानिने सिलोक, भजन, झ्याँगा, चुट्का, रोइला, उखान, गाउँखाने कथा आदि लोकरचना–प्रकारहरू बाछिटा त होइनन् तर छोटा रूपमा लेखिएका केही लोक साहित्यिक सामग्रीमा बाछिटाजस्ता देखिने लोकरचनाहरूमा प्राप्त गर्न सकिन्छ । अड्को थाप्ने र प्रश्नोत्तरात्मक किसिमको देखिने झ्याँगा सिलोक कै एउटा स्वरूप भएकाले बाछिटा, सिलोक र झ्याँगाका बीच थोरै समता भेटिन्छ । छोटा चुट्का भजन, रोइलाजस्ता गीतका स्थायी पदमा मुक्तकीय तत्वसँगै बाछिटाको शैली र संरचनाको उपस्थिति देख्न सकिन्छ भने कतिपय छोटा तीन पङ्क्तिका उखान र गाउँखाने कथाहरूमा पनि केही रूपमा बाछिटाका जस्ता अभिलक्षण देखिन्छन् ।

बाछिटाजस्तो देखिने पश्चिममा प्रचलित भजनको टुक्रा

हामी गर्छौ काम

हामीले जोत्छौ वारीखेत

हाम्रै हुन्छ भोकै पेट ।

– स्रोत नारायण खनाल

(ख) बाछिटा, मुक्तक तथा मुक्तककाव्य

‘मुक्तक कविताको लघुतम संरचना हो । यो सामान्यतः चार चरण वा हरफमा लेखिन्छ । संस्कृतका एकश्लोकी संरचना र रुवाइ ढाँचाका मुक्तकले त्यसैलाई देखाएका छन् तर न्यूनतम दुईदेखि पाँच सात हरफसम्म पनि मुक्तक लेखिन सक्ने मानिन्छ’ (पौडेल ,२०६८, पृ १९) । त्यस्तै  ‘पहिलो चरण वा पङ्क्तिले विषयको उठान, दोस्रो पङक्ति वा चरणले विषयको विकास, तेस्रो पङ्क्ति वा चरणले उत्कर्ष र चौथो पङ्क्ति वा चरणले विषयको र विचारको र कथ्यको र अनुभूतिको रहस्योद्घाटन वा पटाक्षेप गर्ने मुक्तकको शास्त्रीय नियम हो (गौतम, https://www.sahityapost.com/2020/06/9007/) । यसरी हेर्दा बाछिटाका संरचनागत मान्यता मुक्तक तथा मुक्तककाव्यका प्रभेदहरूसँग धेरै नजिक रहेको छ ।

‘पूर्वीय संस्कृत समीक्षाशास्त्रमा शतककाव्य, स्फुटकाव्य, ऋतुकाव्य र एकश्लोकी मुक्तकदेखि पाँचश्लोकी कूलकसम्मका काव्यरूपहरूलाई मुक्तककाव्य भनिन्छ ’ (गौतम, https://www.sahityapost.com/2020/06/9007/) । शतककाव्य, स्फुटकाव्य र ऋतुकाव्य पनि आख्याननिरपेक्ष हुने भएकाले र तिनका प्रत्येक श्लोकहरू प्रायः पूर्वापर प्रसङ्गरहित हुने भएकाले तिनलाई मुक्तककाव्यका रूपमा मानिएको पाइन्छ । ‘शास्त्रीय विधानका आधारमा ‘वेदका ऋचा वा मन्त्रहरू, देवीदेवताका स्तुति वा स्तोत्रहरू, सुभाषित पद्य र सूक्तिहरू, समस्यापूर्तिहरू, द्विपदीदेखि सप्तपदीसम्मका मुक्तकीय संरचनाका / ढाँचाका कवितात्मक प्रभेदहरू आदि सबै मुक्तक काव्यभित्र कै प्रभेदहरू हुन्’(गौतम, https://www.sahityapost.com/2020/06/9007/) । त्यसैले यो बाछिटा पनि त्रिपदीय भएको, सूक्तिजस्तो सूक्ष्म, आफैमा पूर्ण र निरपेक्ष रचना भएको हुनाले यो पनि मुक्तकाव्य भित्र नै रहेको देखिन्छ ।

(ग) बाछिटा र हाइकू, तांका  तथा सेदोका

अशंतः बाछिटाकै संरचना भएका र बाछिटाका निकट मानिने कविता प्रभेदमा सेदोका, ताङ्का र हाइकु  पनि देखिन्छन् । हाइकु जापानी बद्धलयमा लेखिने त्रिपदी रचना हो भने ताङ्का चाँहि चीनबाट सुरु भएर जापानमा विकास र विस्तार भएको हाइकुजस्तै बद्धलयमा लेखिने पञ्चपदीय रचना हो । त्यस्तै सेदोका ६ पङ्क्तिपुञ्जमा रचना गरिने कोरियन कविता हो । हाइकु, ताङ्का र सेदोका तीनै कविताका लघुतम रूप भएकाले र चरणगत भावोत्कर्षका दृष्टिले बाछिटाकै समधर्मी कविताका रूपमा देखिन्छ । हाइकु ५-७-५ अक्षर गरी जम्मा १७ अक्षरको संरचनामा लेखिन्छ, ताङ्का ५, ७, ५, ७-५-७-७ अक्षर गरी जम्मा ३१ अक्षरको संरचनामा लेखिन्छ भने सेदोका ५, ७, ७, ५, ७, ७ अक्षरसंरचनामा लेखिन्छ । ताङ्का सेदोकाकै विषयगत स्वरूपमा रचना हुने र हाइकु पनि तांका कै स्वरुपमा रचना हुने भए पनि सेदोका, तांका र हाइकु स्वतन्त्र अक्षरसंरचना र पंक्तिपुञ्जयुक्त स्वतन्त्र काव्यरूप हु्न् । त्यस्तै हाइकुको र बाछिटाको संरचनाविधान फरक छ । बाछिटाको मात्र तीन पंक्तिपुञ्ज र एक पंक्तिको अक्षरसंख्या (३, ५ र ३) मिल्छ भने यो हाइकुजस्तै प्रकृतिसँग सम्बन्धित छ । सेदोका, तांका र हाइकु पनि ऋतुपरक वा प्रकृतिधर्मी रचना नै हुन् । यी पृथक रूपका रचना भए पनि बाछिटाका निकटस्थ वा समधर्मी कविता प्रभेद मानिन्छन् र यी पनि कविताका लघुतम रूप नै भए पनि सबैका आआफ्ना मान्यताहरू रहेका छन् ।

(घ) बाछिटा र अन्य कविता रूप

बाछिटासँग निकट देखिने अन्य कविता रूपमा मूलतः साइनो, गेडीे, सूत्रकविता, दाना कविता, टाँका, छेस्का, छोकसँग पनि नजिकको रहेको देखिन्छ । बाछिटासँग निकट देखिने कविता रूपहरूमा मूलतः त्रिपदीय ७, ८ र ९ को अक्षर संरचनामा लेखिने साइनो निकै नजिक देखिन्छ । साइनोका तीनै पदमा अलग अलग अर्थगत स्वतन्त्रता भित्र समष्टिमा एकभाव व्यक्त गर्ने साइनो त्रिपदीय भएता पनि यी दुवै रचनागत पृष्ठभमि फरक देखिन्छ भने दुवैको उठान र बैठान बीचमा फरक देखिन्छ । त्यस्तै केही अक्षर संख्या बाछिटासँग मिल्ने लोकभाका लोक सँस्कृतिसँग सम्बन्धित रहेको त्रिपदीय गेडीको प्रथम पदमा विषयवस्तुको कथन, दोस्रोमा विषयवस्तुको कथन तेस्रो पदमा थेगो राख्दै अन्तिम चौथो पदमा विट मारिन्छ । यसको सूत्रगत संरचना पहिलोमा ४+३+४+३=१४, दोस्रोमा ४+३+४+३=१४, तेस्रो ३=३ र चोथोमा ४+५=९ हुन्छ र अन्तिम पदले भावको सम्पूर्णतालाई बोकेर चोटिलो निष्कर्ष दिनुपर्दछ । केही शब्द संख्या मिले पनि यी दुवैबीच फरक नै देखिन्छ ।

नलाए नि चौबन्दी, मनमा राख नेपाल।

ढाका टोपी लाएर, चन्द्र सूर्य उचाल।

साथी हो,

सबैभन्दा देशमाथि हो। – खगेन्द्र पन्धाक लिम्बू

यी कविताका रूपहरूका अतिरिक्त पछिल्लो समयमा ‘नेपालीमा प्रचलित एक लाइन कविता, सूत्रकविता, टुक्रा, छेस्का, अणु, छर्रा आदि नाम दिएर कविता लेखेको देखिए पनि त्यस्ता लेखनको कुनै सैद्धान्तिक आधार र कविताको न्यूनतम आधारभूत तत्वको समेत उपस्थिति नदेखिने हुँदा ती प्रयोगका लागि मात्र गरिएका प्रयोगजस्ता देखिन्छन् ।’ (गौतम, https://www.sahityapost.com/2020/06/9007/) । यी कविताका प्रयोगसँग पनि बाछिटाको धेर थोर संरचना, स्वरुप तथा केही भावगत सम्बन्ध देखिन्छ ।

समग्रमा भन्नुपर्दा साहित्यको हाइकु, मुक्तक, भजन, साइनोसँग बाछिटाको जुन किसिमको अतिनिकटस्थ सम्बन्ध राख्छन् । अन्य कवितात्मक प्रभेदहरूले कविताका लघुतम रूप भए पनि त्यति निकटस्थ सम्बन्ध राखेको पाइँदैन ।

४. बाछिटाको ऐतिहासिक विकासक्रम

पहिलेदेखि नै सामाजिक संजालमा सूत्र हाइकु,लघुहाइकुजस्ता नाम दिएर तीन पाँच तीन अक्षरसंरचनामै रचना गरेको पाइएको थियो । यसरी रचना गर्ने सूत्रसर्जक अमर त्यागीले सूत्रहाइकु नाममा र खगेन्द्र बस्यालले तीन पाँच तीन अक्षर संरचनामै लघुहाइकु नाममा यस्ता रचनाहरूको सृजना गर्दै सामाजिक संजालमा राखिदै आएका थिए । अन्य विभिन्न सर्जकहरू निरु गौतम, श्याम मकाजु, लता पौडेल, अबजस चन्द्र, विष्णु विन्दु मगर, आर्त आकुलिन, विनोद नेपाल, लक्षी नारायण जोशी आदिद्वारा पनि तीन पाँच तीन अक्षर संरचनामा लेखिएका थुप्रै रचनाहरू सामाजिक सन्जालमा राखिंदै आएको पाइएको थियो । पछि विशेषत अमर त्यागी र खगेन्द्र बस्यालको रचनामा आएका सकारात्मक नकरात्मक प्रतिक्रियाका साथमा केही साहित्यिक विज्ञहरूले तीन पाँच तीन अक्षरसंरचनाको रचनालाई हाइकु नभनेर काव्योक्ति वा त्यस्तै छुट्टै कुनै मिल्दो नाम दिन सुझाएका थिए । यहीँ पृष्टभूमिमा समातेर विशेषतः अमर त्यागीले प्रकृतिपरकतालाई प्रमुखता दिएर यस संरचनामा संरचित सिर्जनालाई बाछिटा विधाको रूपमा १४ मे २०२० तदनुसार २ जेष्ठ २०७७ नामांकृत गरेका थिए र उनले यसको विधागत अवधारणा निर्माण गरेपछि औपचारिक रूपमा बाछिटाको जन्म भएको देखिन्छ । यसरी यसको जन्मसँगै २०० को हाराहारीमा रचना गर्ने सर्जकको हातबाट यसको गोडमेल गर्ने काम भैरहेको देखिन्छ । यसको विधागत विकासको लागि केन्द्रीय राष्ट्रिय बाछिटा प्रतिष्ठान नेपाल गठन पनि भएको छ । यसको नामावली तपशील बमोजिम रहेको छ :-

राष्ट्रिय बाछिटा प्रतिष्ठान, नेपालका पदाधिकारीहरुको नामावली

क्र नाम थर ठेगाना मोवाइल नं कैफियत
अमर त्यागी अमेरिका १५६३६७६७१४२ संरक्षक एवम् प्रमुख सल्लाहकार
डा नारायण गैरै काठमाडौं ९८५१०१२०३६ सल्लाहकार
चेतनाथ धमला ओखलढुंगा ९८५१२२४२१८ सल्लाहकार
खगेन्द्र वस्याल रुपन्देही ९८४७१४६४३७ अध्यक्ष
लता पौडेल इलाम ९८५२६८०९४८ उपाध्यक्ष
शिव खनाल स्याङजा ९८५७०११०४१ उपाध्यक्ष
विष्णु भट्टराई विभु काभ्रे ९८५११२८२८२ महासचिव
निरु गौतम मोरङ ९८४८११५०८७ सचिव
आर्त अकुलीन कैलाली ९८४८४४८८४८ सहसचिव
१० अम्विका धिताल काभ्रे ९८४१००४७१२ कोषाध्यक्ष
११ अर्जुन सापकोटा सहृदयी पूर्वी नवलपरासी ९८४५१९६१८० सदस्य
१२ उपमा शर्मा काठमाडौं ९८४३४६३२३३ सदस्य
१३ गोविन्द खनाल स्याङजा ९८४०६६१५३६ सदस्य
१४ दीक्षा सापकोटा पर्सा ९८४५२२७०१५ सदस्य
१५ नारायण खनाल रुपन्देही ९८४७०७१५३४ सदस्य
१६ विष्णु वन्द मगर दाङ ९८०९८०२७८८ सदस्य
१७ भवानी पाण्डे काभ्रे ९८४९९१५८५० सदस्य
१८ भारती न्यौपाने दहाल ललितपुर ९८४१६४१०५३ सदस्य
१९ भोजराज भट्टराई पाल्पा ९८८७०५२४३३ सदस्य
२० रण वहादुर वीक दैलेख ९८४८०९८९८५ सदस्य
२१ डा रामपुकार साह पर्सा ९८४१५७५५८० सदस्य
२२ रोशन पराजली सुनसरी ९८४२१६५६०८ सदस्य
२३ लक्ष्मीनारायण जोशी मोरङ ९८५२०३३५८५ सदस्य
२४ सावित्रा पाण्डे पूर्वी नवलपरासी ९८४६०६०६०१ सदस्य
२५ सीता पौडेल वर्दिया ९८४८०४४४३३ सदस्य
२६ सुवास जमरकट्टेल सोलुखुम्वु ९८५१२२९३३१ सदस्य
२७ सुरेश काफले  विदारक सुनसरी ९८४२२३२२६० सदस्य
२८ श्याम माकजू भक्तपुर ९८४९१०५८५६ सदस्य

 

बाछिटाको विकासकाक्रममा सर्जकद्वारा यससँग सम्बन्धित लेख प्रकाशन गरी अनलाईन, स्थानीय तथा राष्ट्रिय पत्रिका तथा रेडियोले खेलेकोे भूमिकालाई सूचिगत रूपमा प्रस्तुत गरिएको छ ।

अमर त्यागीद्वारा बाछिटा चौतारीको फेसबुक पेज facebook.com/groups/1125182557841025df प्रकाशित तपशिल शीर्षकका लेखहरू :-

बाछिटा’ को स्वमूल्य र मान्यता

बाछिटाको संरचनागत स्वरूप

बाछिटाको विधागत मौलिकता

बाछिटाको विधागत मान्यता

कविता लेखनको नयाँ थालनी र बाछिटा

‘बाछिटा’ को विधागत स्वरूप

भरत सिग्देलकोबाछिटा लेखनमा शब्दशक्तीको प्रयोग शीर्षकको लेख रातोपाटी डट कम (https://ratopati.com/story/143824/2020/8/23/bachhita-by-bharat-sigdel) प्रकाशित ।

अमर त्यागीको बाछिटाको विधागत स्वरुप शीर्षकको लेख साहित्य पोस्ट डट कम (https://www.sahityapost.com/2020/06/7998/) मा प्रकाशित ।

​ संख्या, भाषा र मेहेनतका हिसाबले बाछिटालाई अघि बढाउने अभियानमा सबै सर्जकको अतुलनीय योगदान रहिआएको छ ।. त्यस्तै गरी साहित्य पोष्ट डट कम, रातोपाटी डट कम, बाछिटा चौतारी जस्ता अनलाइन पत्रिकाहरूले बाछिटा सम्बन्धी लेख तथा रचना स्वीकार गरी यसको विकासमा अमूल्य योगदान गरेको छ । बाछिटासम्बन्धी छलफल राष्ट्रिय बाछिटा प्रतिष्ठानको फेसबुक समूहमा तथा रचना प्रकाशन बाछिटा चौतारीमा हुँदै आएको छ । साथै बाछिटा बहार संयुक्त संग्रह पनि सम्पादनसँगै प्रकाशनको अवस्थामा रहेको छ । बाछिटाको उन्नयन तथा विकासको लागि अमर त्यागीले पुरस्कार तथा सम्मानको पनि व्यवस्था गर्नु भएको छ जुन सम्मान तथा पुरस्कारले यसको विकास तथा विस्तारमा मद्दत गर्दछ ।

बाछिटाको विधागत विस्तारमा भूमिका र स्तरीय बाछिटा लेखनको निरन्तरताको सम्यक मूल्याङ्कन र सम्मान गर्ने उद्देश्यले स्थापित हरेक वर्ष प्रदान गरिने राष्ट्रिय बाछिटा चौतारीप्रतिभा पुरस्कार बाछिटाकारलाई रू. १११११ एघार हजार एकसय एघार रुपैयाका साथ माला दोसल्लाका सहित सम्मान गरिनेछ । यसैरी द्रूत रुपमा विकास हुँदै गएको बाछिटाको विधागत मान्यता स्थापित हुँदै गएको छ ।

५. निष्कर्ष

बाङ्गो र छिटाको कर्मधारय समासद्वारा निमार्ण भएको बाछिटा पारिभाषिक रूपमा कविताको लघुतम प्रविधालाई बुझाउँछ । साहित्यमा निरपेक्ष स्वयंमा पूर्ण स्वतन्त्रता भएको तीन, पाँच र तीन अक्षरयुक्त साहित्यको त्रिहरफीय कविता हो । नेपाली साहित्यमा प्रल्लवित जीवन, जगत र यसका अनुभव तथा भावनालाई नजिकबाट नियाल्ने र सकारात्मक सन्देशमूलक चेतना सम्प्रेषण गर्न सक्ने प्रकृतिपरक सूत्रात्मक गद्य रचना हो । मिति २०७७ साल जेठ ३ मा अमर त्यागीद्वारा जन्मेको यस रचनालाई कविताकै उपविधाको रुपमा मान्नुपर्छ । बाछिटा अरुजस्तै स्वतन्त्र विधा हो भनेर यसको स्वायत्तता दिन खोजिए पनि यो प्रविधानै हो। कुनै पनि विधा,उपविधाको रचना अतिप्रचलित र लोकप्रिय हुँदैमा स्वतन्त्र विधा हुँदैन । मूलतः सैद्धान्तिक रूपमा कविता, आख्यान, नाटक र निबन्ध गरी चार विधा छन् र बाछिटा कविता विधाको लघुतम रूप प्रभेद-प्रविधा हो । छोटो आयाममा बृह्त भाव वा विचारको अभिव्यक्ति प्रस्तुत गर्ने भएकाले प्रकृतिबोधक बाछिटा विस्तृत व्याख्याको अणुवत् झिल्को हो र गागरमा सागर अटाउने क्षमता बाछिटामा हुन्छ र हुनुपर्छ ।  बौद्विक भावले मनमस्तिष्कलाई मार्गदर्शन गर्न सक्ने भाषिक तरलता, शैल्पिक सहजता, कथ्यको प्रकृतिपरक कलात्मक संरचना, छरितोपना तथा गहनताका साथै अनुभूतिमा तीक्ष्णता रहने अर्थयुक्त लघुत्तम सूत्रात्मक नेपाली काव्यको मौलिक सिर्जना हो । यसको प्रकृतिक बिम्बले अभिव्यक्त हुने भावमा तीक्ष्णता, प्रभावोत्पादकता, चमत्कारिकता, भावगत गहनता नै लोकप्रियताका आधार हुन् । मौलिक प्राकृतिक बिम्ब, प्रतिकका साथमा रचनाभित्र लाक्षणिकता र व्यजनात्मकता साथ त्रिहरफीयमा तीन पाँच तीन अक्षर संरचना हुनु यसको मौलिक सैद्वान्तिक पहिचान पनि हो । थोरैमा धेरै भन्नसक्ने सामर्थ पनि योसँग छ । सुत्रको माध्यमबाट धेरैलाई एकै पटक सूचना सम्प्रेषण गर्न सक्दछ । यो बौद्विक र तार्किक सोचका आधारमा बहुअर्थमा अर्थिन पनि सक्दछ । यसको बहुरुपी भाव र अर्थ संवाहन गर्न सक्ने आधार पनि यसमा छन् ।

यो जापानी शैलीको कविता हाइकु,नेपाली कविताको साइनो, छेस्का, भजन जस्ता कवितासँग पनि यो निकट देखिन्छ । बाछिटा अतिसन्निकटस्थ रूपमा हाइकुसँग तुलनीय छ भने केही छोटा लोकरचना, सूक्ति, सूत्र कविता, ताङ्का, सेदोका, साइनो, गद्यकविता आदिसँग पनि अंशत तुलनीय देखिन्छ । वर्तमानको व्यस्त समयमा लामालामा खण्डकाव्य महाकाव्य पढ्ने धैर्यशील पठनसंस्कृति हराउँदै जान थालेका बेला चटनीको स्वाद दिने कवितारूप बाछिटाको महत्त्व बढ्दै जाने देखिन्छ । यसले इतिहास रच्दै विशिष्ट मानक तयार गर्दै आफ्नो एउटा छुट्टै पहिचान राख्ने अवस्थामा देखिन्छ ।

===========================

सन्दर्भ सामग्रीहरु

अज्ञात, कपिल, समालोचनाको सन्दर्भ, चितवनः चितवन साहित्य परिषद्, २०५४ ।

अधिकारी, हेमाङ्गराज र भट्टराई, बद्रीबिशाल, सम्पा., प्रयोगात्मक नेपाली शब्दकोश, काठमाडौँः विद्यार्थी प्रकाशन, २०६१ ।

आचार्य, कृष्णप्रसाद र गैरै, इश्वरीप्रसाद, आधुनिक नेपाली नाटक र फुटकर कविता, कीर्तिपुरःक्षितिज प्रकाशन, २०७० ।

कडन, जे.ए., सम्पा., डिक्सनरी अफ लिटरेरी टम्र्स एन्ड लिटरेरी थ्योरी, तेस्रो संस्क., लन्डनः पेङ्गुइन ग्रुप, सन् १९९२ ।

काफ्ले, सुरेश ‘विदारक’, क्रिमुकःएक अवधारण, सम्पा. सुमी लोहनी, शव्द संयोजन,(१७८÷) पृ.।

‘‘‘‘‘‘‘‘..,, कविताको उपविधा साइनोकोसैद्धान्तिक परिचय र ऐतिहासिक विकासक्रम, सम्पा. धिरकुमार श्रेष्ठ, शब्दाङ्कुर, (२२५÷२४–३३) पृ.।

‘‘‘‘‘‘‘‘..,साइनोःसैद्वान्तिक परिचय, तत्त्व, इतिहास र प्रवृति, सम्पा.छायादत्त न्यौपाने बगर र अन्य, साइनो सारथि,(२१–४०,२०७७) पृ.।

खनाल, शशिधर, मुक्तक परिचय एवम् नेपाली मुक्तक, शिवपुरी सन्देश, (९ र २५, २०६०), पृ.२–५ ।

गौतम, लक्ष्मणप्रसाद, समकालीन नेपाली कविताको बिम्बपरक विश्लेषण, दोस्रो संस्क., ललितपुरः साझा प्रकाशन, २०६८ ।

‘‘‘‘‘‘‘‘.., उत्तरवर्ती नेपाली समालोचनाः केही प्रतिरुप, काठमाडौं, पैरवी प्रकाशन, २०६८ ।

‘‘‘‘‘‘‘‘.., कविताको सैद्धान्तिक विमर्श, काठमाडौं, पाठ्यसामग्री प्रकाशन, २०६९ ।

‘‘‘‘‘..,सम्पा., समकालीन नेपाली मुक्तक, काठमाडौं डिकुरा पब्लिकेसन, २०६९ ।

‘‘‘‘‘‘‘‘.., मुक्तकको रचनाविधान, साहित्य पोष्ट डट कम, https;|www.sahityapost.com/2020/6/9007/२०७७

त्यागी, अमर, बाछिटाको संरचनागत स्वरुप, बाछिटा चोतारी फेसबुक समूह, २०७७ ।

नेपाल, वसन्तकुमार शम्र्मा सम्पा., शब्दार्थ नेपाली शब्दसागर, काठमाडौँः शब्दार्थ प्रकाशन, २०७१ ।

पराजुली, कृष्णप्रसाद, मुक्तक, नेपाली साहित्यकोश, सम्पा., ईश्वर बराल र अन्य, काठमाडौंः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०५५ ।

पाँडे, डा. रामकुमार, हाइकूको रुपरेखा,सम्पा., महानन्द ढकाल, पूर्णिमा (४७÷अ–घ) पृ. ।

पौडेल, विष्णुप्रसाद, मुक्तक सिद्धान्त र पोखरेली मुक्तकका मूल प्रवृत्ति, पोखराः सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, २०६८ ।

बराल, कृष्णहरि र नेत्र एटम , उपन्यास सिद्धान्त र नेपाली उपन्यास, ललितपुर ः साझा प्रकाशन ।

लुइटेल, खगेन्द्रप्रसाद, कविता सिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौंः नेपाल प्रज्ञा प्रतिष्ठान, २०६० ।

विश्वनाथ, साहित्यदर्पण, सम्पा., सत्यव्रत सिंह, वाराणसीः चौखम्बा विद्या भवन, २०२० ।

सिग्देल, भरत, बाछिटा लेखनमा शब्दशक्तीको प्रयोग, रातोपाटी डट कम, २०७७ ।

शर्मा, मोहनराज, समकालीन नेपाली मुक्तकः पहिचानका केही बुँदाहरु, मधुपर्क, (१४÷६–७, २०३८) पृ. १६१–१६४ ।

‘‘‘‘‘‘.., समकालीन समालोचना सिद्धान्त र प्रयोग, काठमाडौंः नेपाल प्रज्ञा प्रतिष्ठान, २०५५ ।

त्रिपाठी, वासुदेव ,“कविता ः विधागत चिनारी”, सम्पा. वासुदेव त्रिपाठी र अरू, नेपाली कविता (भाग ४), दो.सं.,ललितपुर ः साझा प्रकाशन ।

http://www.sahityasansar.com/sahitya/5031#sthash.W2vOhCO2.dpuf

प्रतिक्रिया
Loading...