नेपाली साहित्यको सम्पूर्ण पत्रिका

अमेरिकाको वासिंगटनमा नेपाली अंगीकृत

अमेरिकाको वासिंगटन राज्यमा नेपाली भाषामा लेख्न तथा बोल्न दक्ष हुने विद्यार्थीलाई सुवर्ण अवसर प्राप्त हुने भएको छ । विश्व भाषा योग्यता परीक्षण तथा विश्व भाषा क्रेडिट कार्यक्रमअन्तर्गत जो विद्यार्थी अंग्रेजी भाषाबाहेक अन्य भाषा बोल्न तथा लेख्न जान्दछ, उनीहरुले उच्च माध्यमिक विद्यालय तथा महाविद्यालयमा मा विश्व भाषा ख्याति (क्रेडिट )प्राप्त गर्न सक्ने भएका छन् ।

वासिंगटन राज्य नेपाली भाषालाई अङ्गीकार गर्ने पहिलो राज्य बनेको छ । नेपाली समुदायको लागि खुसीको विषय भएको छ । जुन विद्यार्थीले राष्ट्रिय स्तरको मान्यता प्राप्त क्षमता प्रदर्शन मूल्यांकनमा योग्य साबित गर्छ उसले उच्च माद्यमिक विद्यालयको अनुलिपि (ट्रान्सक्रिप्ट) मा राम्रो ख्याति प्राप्त गर्ने छ ।

यो शिशु कक्षा देखि १२ कक्षा सम्मलाई लागू भएको छ । यसको मुख्य उदेश्य एक भन्दा बढ्ता भाषा बोल्न जान्नेलाई समर्थन गर्दै पद्धतिलाई विकास गर्नु रहेको छ । वासिंगटन राज्यमा नेपाली भाषालाई अंगीकृत गराउने श्रेय वासिंगटन राज्यका गभर्नर जे इन्सलीले गरेका हुन् । वाशिंगटन राज्य व्यवस्थापिकाले यसलाई मान्यता दिँदै अन्य भाषाहरुझैँ नेपाली भाषालाई अंगीकार गरेको हो ।

नेपाली भाषालाई यसरी आफू बसेको राज्यमा सरकारका तर्फबाट मान्यता दिनुका साथै अङ्गीकार गर्नु भनेको अमेरिकामा रहेका सबै नेपालीको शिर उच्च भएको एसिया प्रशान्त अमेरिकी मामिला आयोग आयुक्त मोहन गुरुङले बताए ।

वासिंटन राज्यका यिनै गभर्नर जे इन्सलीले गुरुङलाई कमिसन अन एसिया प्यासिफिक अमेरिकन एफियर्स कमिसन पदमा नियुक्त गरेका थिए । सन् १९९३ देखि अमेरिकामा बस्दै आएका गुरुङ स्वास्थ्य तथा समाज सेवाको क्षेत्रमा निकै क्रियाशील भएको कारण उनी त्यो पदमा पुग्ने पहिलो नेपाली हुन् । यसका लागि गुरुङ धेरै वर्षदेखि निरन्तर रुपमा लागिरहेको बताए ।

स्याङ्जा, पेल्का चौर गाविसमा जन्मिएका गुरुङले विशेष गरी शिक्षा, स्वास्थ्य, आर्थिक विकास, मानवीय सेवा लगायतका क्षेत्रको विकासमा योगदान पुर्याएका छन् । गुरुङ नेपाल–सियाटल सोसाइटीका संस्थापक एवं अध्यक्षसमेत रहेका गुरुङ अमेरिकामा नेपाली संस्कृति, परम्पराको जगेर्ना गर्ने र नयाँ पुस्तालाई त्यसप्रति सजग गराउने कार्यमा पनि जुटी रहेका छन् । र, नेपाली भाषालाई पनि स्थान दिएकोमा हर्ष लागेको भन्दै अन्य राज्यहरुमा बस्ने नेपाली समुदायले पनि यस्तो पहल गरे सबैलाई राम्रो हुने गुरुङले बताए ।

प्रतिक्रिया
Loading...