नेपाली साहित्यको सम्पूर्ण पत्रिका

इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा बनाउने प्रक्रिया अघि बढ्यो

अंग्रेजी भाषाको मात्र प्रयोग गरिन थालिएको सवारी इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषालाई पनि उल्लेख गर्ने प्रक्रिया अघि बढाइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका तर्फबाट ध्यानाकर्षणपत्र बुझ्दै सवारी साधनमा देवनागरी लिपि कायम रहने गरी व्यवस्था गर्न प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भइसकेको यातायात मन्त्री वसन्तकुमार नेम्वाङले बताएका हुन्।

सबै नेपालीहरूको साझा सम्पर्क भाषाका रूपमा रहेको नेपाली भाषा र देवनागरी लिपिको संरक्षण र संवद्र्धनका निम्ति आफू सदैव तत्पर रहेको मन्त्री नेम्वाङले बताए । वर्तमान सरकार नेपालको पहिचानका रूपमा रहेका भाषा, संस्कृति र साहित्यको संरक्षणका सवालमा अत्यन्त गम्भीर रहेको समेत उनले उल्लेख गरेका थिए ।

नेपाल सरकारको निर्णयानुसार २०७४ भदौ ५ गतेदेखि सवारी साधनमा रोमन लिपिको अङ्ग्रेजी भाषामा इम्बोस्ड नं. प्लेट राख्न सुरू गरिएकामा प्रज्ञा–प्रतिष्ठानका तर्फबाट यसअघि कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक ओलीलाई भेटी सवारी साधनमा देवनागरी लिपि नै रहनुपर्नेतर्फ ध्यानाकर्षण गराएका थिए।

मन्त्री नेम्वाङ्लाई सोमबार प्रतिष्ठानका तर्फबाट सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय र प्राज्ञ परिषद् सदस्य प्रा.डा. हेमनाथ पौडेलले भेटी कार्यान्वयनका निम्ति ध्यानाकर्षणपत्र बुझाएका हुन्।

सो अवसरमा ध्यानाकर्षण गराउनुहुँदै सदस्य सचिव उपाध्याय र प्राज्ञ पौडेलले नेपालको संविधानमा देवनागरी लिपिको नेपाली भाषा सरकारी कामकाजको भाषा हुने स्पष्ट उल्लेख हुँदाहुँदै सोको बर्खिलाप हुने गरी विगतमा रोमन लिपिको अङ्ग्रेजी भाषामा नं. प्लेट राख्ने निर्णय हुनु उचित नभएको व्यहोरा जानकारी गराएका थिए।

प्रतिक्रिया
Loading...