नेपाली साहित्यको सम्पूर्ण पत्रिका

एभरेष्ट वेसक्याम्पको सपना र शेर्पा गाइडमा दावा सरको सत्कार

खुम्बूका यादहरू–१

सायद गिनिजबुकलाई पुष्टि गराउने हो भने यो नै विश्वको सबैभन्दा ठूलो शिलालेख हुनसक्छ । मानव सिर्जनाले भीरको चट्टान पनि गौरव बन्दो रहेछ ।

धेरै ठाउँमा मलाई आफ्नै यी दुई गोडाले विद्रोह गरेका छन् । आफ्नो कमाइ–धमाइ नहुँदा, पैसाको सङ्कटले कोठाभित्र कैयौं दिन थेचारिंदा, मानसिक पीडाले पोलिरहँदा यी गोडा चल्मलाउन खोज्छन् । कोशौंकोश हिँड्छु भन्छन् र खल्ती खाली हुँदा समेत म ब्यागमा एक बोतल पानी हालेर यिनका पछि लाग्ने गरेको छु । यिनलाई कुनै गन्तव्य चाहिन्न । सिर्फ हिँड्न पाए पुग्छ । हिँडिरहन खोज्छन् । यिनकै जिद्दिले अचानक एकदिन मैले एक्लै सगरमाथा बेसक्याम्प टेक्ने योजना बनाएँ । र, घरपरिवारलाई समेत पत्तै नदिई सुटुक्क घरबाट निस्किएँ ।

काठमाडौंबाट चरिकोट हुँदै ओरालो झरेको बस तामाकोशी नदीको पुलवारि नाम्दुमा गएर अडियो । खोला किनारको यो बजारलाई देखेर मेरा आँखा पनि प्रसन्न भए । सायद यिनलाई यस्तै दृश्यहरूले बढी तान्दा हुन् । बस अडिने बित्तिकै स्थानीय केही दिदीबहिनीहरू आफ्नै हातले उत्पादन गरेका केरा, काँक्रो बेच्न बसका झ्याल–झ्यालबाट आफ्ना दृष्टिहरू भित्र छिराउन थाले । एक जना दाइ हातमा शीलमा उनेका आला माछाहरू बोकेर घुमाउँदै थिए । स्थानीय गाउँलेहरू डोका

मोहनप्रकाश

मा सामानहरू बोकेर बस चढ्दै र झर्दै गरेका दृश्य आफैंमा आनन्ददायी लाग्थे ।

जिरी बस स्टैण्डकै सामुन्ने पर्यटक सूचना केन्द्र रहेछ । जहाँ मैले सोधपुछ गर्दा त्यहाँका एक नौजवानले मलाई तर्साउँदै भने, “तपाईं एक्लै जान सक्नुहुन्छ ? नाम्चे पुग्नै तपाईंलाई ८ दिन लाग्छ ।” त्यहाँ मैले एउटा गाइड म्याप किनें । र, पुनः त्यहाँबाट शिवालयसम्म जाने बस कुर्न थालें । केहीक्षणको प्रतीक्षापछि बेलुका ५ बजे शिवालयको बस आइपुग्यो ।

बस आउनुपूर्व त्यहाँ उद्योग वाणिज्य संघको चुनावको भोट माग्दै पसल–पसल एउटा समूह डुल्दै थियो । समूहमा ढाका टोपी लगाएका मोटाघाटा र सम्पन्न देखिने सज्जनहरू ठाँटबाँटका साथ पसल तथा होटल व्यवसायीहरूलाई नमस्कार टक्र्याउँदै हँसिला चेहेरामा आ–आफ्ना समूहलाई भोट दिन मिनम्र अनुरोध गर्दै थिए । व्यवसायीहरू पनि उत्साहका साथ उनीहरूलाई चिया, चिसोको फर्माइस गर्दै थिए । नजिकैको खोल्सो र चोकमा थुप्रिएका फोहरका डङ्गुरहरू भने तिनलाई व्यंग्य गर्दै दुर्गन्ध ह्वास्स–ह्वास्स फाल्दै थिए । कुर्सी ताकेर हिँडेकालाई फुटपाथको फोहरको त्यो व्यंग्य बुझ्ने चेत सायद पलाइसकेको थिएन ।

जिरीको उकालो काटेर बस निर्माणधीन खिम्ति हाइड्रो प्रोजेक्टतिर लम्कियो । हाइड्रो प्रोजेक्ट वरिपरि देखिन थाले जस्ता टल्केका स–साना मानव बस्ती र मजदुरहरूका चहलपहलहरू ।

मजदुरहरूको चहलपहल हुन्जेल र यी छाप्राहरू रहुन्जेल त जीवित लाग्छन् यस्ता निर्माणस्थलहरू तर जब प्रोजेक्ट सिद्धिन्छ । र, मोटाघाटाहरू प्रवेश गर्न थाल्छन्, छाप्राका ठाउँमा बिल्डिङ ठडिन्छन् । र, पुनः फोहरका थुप्राहरूले मृत घोसित गर्दिन्छन् यी जीवन्त बस्तीहरूलाई ।

बसको छडमाथि मेरो छेवैमा बसेका पेम्बा साल्टिनीसँग गफमा मस्त थिए । बस चढ्नुअघि पेम्बासँग जिरी बजारमै चिनापर्चि भएर मेरा साथी बनेका थिए उनी । जिरी बजारमै केहीक्षण संघियता बारे मेरो बहस चलेको थियो उनीसँग । “संघ बनाउँदा खसीको छाति चिरे जसरी उत्तरदक्षिण चिर्नुपर्छ,” भन्दै उनले मलाई आफ्नो तर्क पेस गरेका थिए । मेरो तर्कसँग उनी बिल्कुल सहमत भएनन् । साउदीमा ५ बर्ष बसेर आएका उनी बोल्नमा माहिर लाग्थे । सोल्टिनी र उनको संवाद क्लाइमेक्समा चढ्दै थियो । मेरा कान पनि नजानिदो पारामा ती दुईका संवादको स्वाद लिंदै थिए । वैंशले पोखिन लागेकी सोल्टिनी मुसुक्क हाँस्दा गालामा खापिल्टा पर्थे । पहाडको पानीले सिंचेको सोल्टिनीको जवानी हेर्दै खँदिलो र जिउडाल आकर्षक लाग्थ्यो ।

शुभ विवाह लेखेको एउटा रातो तुलमा मेरा आँखा ठोक्किए । ८–१० घरहरू भएको एउटा सानो बस्ती थियो त्यो । विवाह घर रङ्गीचङ्गी कागज टाँगेर सजाइएको थियो । सोल्टिनी त्यहीं उत्रिने तरखर गर्दै छडबाट उठिन् । पेम्बाले उनको सामान तल झार्न मद्दत गरे । पेम्बालाई “भोली आउनु है,” भन्दै सोल्टिनी विवाह घरतिर सोज्जिइन् । बसले पुनः आफ्नो गति समात्यो । पेम्बाले पछि भन्दा पो बुझियो सोल्टिनी नै भोलिकी दुलही रहिछिन् । मेरो लोभी मनले सोल्टिनीलाई भोलीको दुलहीको भेषमा झन् राम्री देख्यो ।

साँझ पर्न पर्न लागेको थियो । केहीक्षणमै शिवालयमा बस अडियो । झर्नु अघि नै पेम्बाले मलाई बस्ने होटलको नाम सुझाएका थिए । पेम्बासँग हात मिलाउँदै म पनि बसको छडबाट झरें । र, सानो खाल्सोको आडैमा अवस्थित पेम्बाले सुझाएको शिवालय होटल एण्ड खाजा घरभित्र छिरें ।

भोलिपल्ट बिहान शिवालयबाट ठाडो उकालो चढ्दैगर्दा बिहानीका सूर्यका कलिला किरणहरूले शीरमा चुम्न थाले । शीतका थोपाहरू घामका स्पर्शले झरपातमा चल्मलाउँदै थिए । मेरा पाइलाहरू अल्छि मान्दै बिस्तारै रातो माटोमा घस्रिन थाले । उत्तरतिर हिमालहरू पनि बिस्तारै खुल्दै थिए ।

गाउँ प्रवेशसँगै एउटा करिब ४ वर्षको लाग्ने बालक धुले बाटोमा खेल्दै थियो । ऊ मलाई देखेर मुसुक्क मुस्कुरायो । म उसलाई ‘बाइ’ गर्दै अघि बढें । साङ्वाडाँडामा डाँडाकै माथि थपक्क बसेको सेतीदेवी माध्यमिक विद्यालयको भवन देखियो । पुनः केहीक्षण हिंडेपछि देब्रेतिर एउटा सुन्दर कटेज लज आइपुग्यो । कटेज लजको पछाडि आकर्षक आलुका फाँटहरू, फाँटको पछाडि हरियो जङ्गल र जङ्गलको पछाडि सुन्दर पहाडसँगै शीरमा एउटा हिमाल थपक्क बसेको थियो । बाटोको दाहिने पाखामा चियाका बुट्टाहरू लस्करै उभिएका थिए । साङ्वा डाँडाको यो भिरालो भित्तामा निकै मेहनत गरेर बगान सजाइएको रहेछ ।

उचाई बढेसँगै भण्डारस्थित भञ्ज्याङका बस्तीमा जस्ताका छानाहरू टल्केका आकर्षक दृश्य देखियो । जङ्गलको बाटोबाट सर्टकट जाँदा भण्डार चाँडै पुगिन्छ भनेर तल नै होटल साहूले मलाई सुझाएका थिए, तर मैले गाडी कुद्ने मूलबाटो नै पछ्याएँ । त्यो यात्राको धेरैपछि मैले एउटा राष्ट्रिय दैनिकमा एक नेपाली पदयात्रुको नियात्रा पढेको थिएँ । उनी यही स्थानमा सर्टकट बाटो जाँदा २/३ घण्टा जङ्गलमा भौतारिएको कुरा लेखेका थिए । र, मैले भने त्यो बेला सही निर्णय गरेछु भन्ने भान त्यो लेख पढेपछि लाग्यो ।

यस्ता यात्रामा आफैंपनि छिट्टै गन्तव्यमा पुग्ने लोभले सर्टकट पछ्याउँदा धेरैपटक भौंतारिएको छु म । यसरी भौंतारिंदा मानसिक रूपमा पनि धेरै बोझ महसूस हुने र त्यो दिनको यात्रा नै फिक्का हुनपुग्ने भएकाले निश्चित नहुन्जेल या कसैको साथ बेगर त्यस्ता सर्टकट पछ्याउन छाडेको छु । तरपनि यात्रा हो कहीं न कहीं झमेला नहुँदो हो त कसरि नयाँ पाठ सिक्नु । मनलाई बुझाउँन सके नयाँ यात्राको नयाँ स्वाद पनि हुनसक्छ हराउनुको संयोग ।

मेरो सामुन्नेबाट ४/५ मोटर साइकलहरू हूल बाँधेर भण्डारतर्फ अघि बढे । ती मध्येको एउटा बाइकको पछाडि बसेको कालो वर्णको मोटेले मलाई खुब नियालेर बाइकबाटै हेरे । केही समयपछि एउटा बाइक त्यहिबाटो मतर्फ फर्किएर आयो । त्यो त्यही बाइक थियो जसको पछाडि मलाई नियाल्ने मान्छे थिए । उनले पहिले जसरि नै मलाई घुरेर हेरे । मैले उनलाई वास्ता नगरे झैं गरें, तर उनको हेराईले त्यो एकान्त जङ्गलको बाटोमा मलाई नजानिदो डर पनि पलायो । आखिर त्यो बाइक आफ्नै गतिमा तल झर्यो ।

हुन त ती मानिसको मनभित्र के थियो मलाई थाह छैन । मेरा लागि त्यो डर एउटा भ्रम साबित भयो ।

अञ्जान स्थानमा अञ्जान व्यक्तिका स–साना कार्यले पनि मनमा त्यसै आशंका पैदा भैहाल्छ । अचम्मको कुरा, यस्तो घना जङ्गलमा जङ्गली जनावरको कुनै वास्ता नहुनु तर एउटा मान्छे अर्को मान्छेबाटै डराउनु अनौठो लाग्थ्यो । मान्छेले मान्छेबाटै गुमाउँदै गएको अविश्वासले आज मान्छे नै मान्छेसँग सबभन्दा त्रसित भएको भने पक्का हो । हुन त ती मानिसको मनभित्र के थियो मलाई थाह छैन । मेरा लागि त्यो डर एउटा भ्रम साबित भयो ।

जङ्गलको घुमाउरो बाटो सिद्धिने बित्तिकै मेरो सामुन्नेमा भण्डार उपस्थित भैसकेको थियो । सायद कुनै समय यो भञ्ज्याङ प्रकृतिको भण्डार हुनुपर्छ, त्यसैले यसको नाम भण्डार जुरेको होला । हुन त आज पनि भण्डार भञ्ज्याङको आकर्षणमा कुनै कमि छैन । टाढैबाट स्पष्ट देखिने भण्डारले पदयात्रीका दृष्टि तानिरहेकै छ ।

नीलो रङ शिरदेखि पाउसम्म पोतिएको स्थानीय लवजको माथि तीन, तल तीन धुरीले सजिएको द्वार आकर्षक लाग्यो । त्यसको ठ्याक्कै पछाडि बाटोको दायाँतिर एउटा भब्य लाग्ने घरमा लामा गेष्ट हाउस लेखेको बोर्ड देखियो । लामा गेष्ट हाउसको बार्दलीमा केही पर्यटकहरू घाम ताप्दै गपिंmदै थिए । उक्त गेष्ट हाउस काट्ने बित्तिकै पूर्वतर्फ तल मनोरम फाँटमा फैलिएको चौलाखर्कले जोकोहीलाई नतान्ने कुरै हँुदैन । भण्डार भञ्ज्याङको उचाईबाट देखिने दृष्यले पदयात्रुका सम्पूर्ण थकान बिर्साइदिन्छ । शेर्पाहरूको बसोवास रहेको यो बस्तीमा एउटा गुम्बा र केही राम्रा होटलहरू पनि देखिन्छन् । यहाँका होटलहरूमा पर्यटकको राम्रै उपस्थिति देखिन्थ्यो । भण्डारको एउटा होटलमा म चिया पिउँन छिर्छु ।

भञ्ज्याङ काटेर ओरालो झर्दै गर्दा करिब सत्तरी हाराहारिका फ्रेन्च पर्यटक जोडी भेटिए । तेस्रोचोटी नेपाल आइसकेका यो जोडीको यो चौथो पदयात्रा रहेछ । ४/४ पटकसम्म यो मार्गमा पदयात्रा गर्न पाएकोमा यी दुवैले आफूलाई सौभाग्यशाली महसूस भएको कुरा सुनाए । म भने यिनीहरूको यो क्षेत्रको पदयात्रा प्रेम देखेर ‘फस्टटाइम’ भन्नुपर्दा लज्जित भएको महसूस गर्छु । आफू नेपाली भएपनि आफ्नै देश बुझ्न नसक्नु मजस्ता नेपालीका लागि पक्कै दुर्भाग्य थियो । विश्वले नै सुन्दर देशको ट्याग भिराइदिँदा नि हामीलाई आफ्नो देशको सुन्दरता हेर्नेे चेत नखुलेको देख्दा लज्जित हुनु सिवाय के नै बाँकी थियो र !

उनीहरूबाट छुट्टिएर म ओरालोतिर हामफाल्न थालें । ओरालो पछिको फाँट र फाँटको दक्षिणतर्फ देखिने चौलाखर्कका दृष्यहरू मनमोहक पार्ने खालका थिए । एकैछिन म त्यही फाँटमा बसेर वरिपरिका दृष्यहरू निहाल्न थाल्छु । मस्तिको हिंडाइपछि आकलझुकल भेटिने यस्ता दृष्य नै वास्तवमा पदयात्राका आनन्द हुन् ।

केही तल झरेपछि पुरातात्विक महत्त्वका झैं लाग्ने तिब्बती लिपिमा लेखिएको शिलालेखका लस्कर देखापर्छन् । वरिपरि भर्खरै जमीन खनेर तिनलाई संरक्षण गर्न खोजेजस्तो देखिन्छ ।

उहीबेला स्थानीय युवतीसँग प्रेममा परेर यहीं उनले घरजम बसाएछन् । अहिलेभने पेन्सन पकाएर होटल व्यवसायीको रूपमा उनी त्यहीं स्थापित भएछन् ।

पेट पनि खालीहुँदै गएको महसूस भएपछि सामुन्ने देखापरेको एउटा सफा र चिटिक्क परेको होटलभित्र म छिर्छु । साठी कटेका झैं लाग्ने एक बूढा हातमा इनामेलको नीलो रङ ब्रुसले खेलाउदै होटलको झ्याल रङ्ग्याउँदै छन् । उनी नै त्यो होटलका साहू रहेछन् । परिचय गर्दा त उनी भक्तपुरकै नेवार रहेछन् । मेरो घरनि भक्तपुर नै हो भनेपछि ती बूढा एकैक्षणमा मेरो आत्मिय बने । स्थानीय कृषि शाखामा जागिरको सिलसिलामा ती ३५ बर्षअघि यहाँ आएका रहेछन् । उहीबेला स्थानीय युवतीसँग प्रेममा परेर यहीं उनले घरजम बसाएछन् । अहिलेभने पेन्सन पकाएर होटल व्यवसायीको रूपमा उनी त्यहीं स्थापित भएछन् । उनकी श्रीमती पनि मसँग खुलेर संवाद गर्न लागिन् । ती प्रेमी दम्पतिले मलाई आफ्नै भाइलाई झैं सत्कार गरे । बेलुका गोयाम गएर बस्ने मेरो कुरा सुनेपछि उनैले गोयाममा राम्रो होटल छैन सेतेमै बस्नु भनेर मेरो गन्तव्य नै परिवर्तन गरिदिए । म पनि गाउँले दाइभाउजूका सल्लाह शिरोपर गर्दै बिदावारी भएर सेतेतर्फ लम्किएँ ।

भाते पेट बोकेर करिब आधा घण्टा हिँडेपछि आलस्य बढ्न थाल्यो । म बाटो छेवैमा रहेको एउटा रुखको छहारीमा ब्यागलाई सिरानी हालेर जमीनमा लडें । थकानले लडेको शरीरलाई धुले ओछ्यानले कपासको डसनालाई जित्यो । म करिब आधाघण्टा झकाएछु । ब्युँझदा मेरो सामुन्नेको भिरालोमा करिब ५÷६ बर्षका लाग्ने २ बच्चा मलाई हेरेर हाँस्दै गरेको देखें । बिस्तारै उठेर मैले तिनलाई बोलाएँ । ती पनि चिनेकै मान्छेझैं मेरो सामुन्ने मुसुमुसु हाँस्दै आए । ती दुवै दिदीभाई रहेछन् । एकैक्षणमा ती दुवै मसँग खुलेर कुरा गर्न लागे । र, सोधेका कुरा फटाफट बोले । हिँड्ने बेलामा झोलाबाट एउटा स्याउ झिकेर दुवैलाई आधाआधा काटेर दिएँ । खुसी हुँदै ती दुवै उकालो बाटो उक्लिए । म पनि तेर्सोबाटो हुँदै लिखु नदीतिर अघि बढें ।

दुई बालबालिकाका निश्चल मुस्कान देखेर हो कि, त्यसपछिका यात्राका दृष्यहरू पनि ती दुई बालकका मुस्कान जस्तै हाँसेका देखिन थाले । बि–बीचमा भेटिएका घर र बस्तीहरू सुन्दर लाग्न थाले । बाबियोले ढाकेको भीर र अम्लिसोघारीहरू देखिन थाले । तलका खोंचहरूमा अलैंचीघारी देखिए । ठाउँ–ठाउँमा काँचो अलैंची पोल्ने भट्टीहरू पनि देखिन्थे । केहीक्षणको हिँडाइपछि किन्जाको बस्ती देखियो । किन्जा टेक्नुपूर्व एउटा धाराबाट पानी झरिरहेको थियो । दिनभरि हिंडेर शरीर पसिनाले भिझेकोले मलाई उक्त धारामा नुहाउन मन लाग्यो । र, मस्तिले उक्त धारामा नुहाएँ । मोजा र टी–सर्ट धोएँ । छेवैमा लिखु नदीको बहावको ध्वनि कानमा गुञ्जदै थिए । चिसोपानीको ऊर्जा अङ्ग–अङ्मा बोकेर म लिखुको झोलुङ्गे पुल टेक्न थालें । यो पुल काटेर म आज सोलुखुम्बु जिल्ला छुँदैथिएँ भने रामेछापलाई छोड्दै थिएँ । किन्जा सानो र सुन्दर नेवार बाहुल्यता भएको बस्ती रहेछ । किन्जामा केही बिस्कुट र चक्लेटहरू किनेर म ठाडो उकालो चढ्न थालें । सुरुमा त ठाडो उकालो देखेर मनले हिम्मत हार्न खोज्दै थियो । तरपनि मनलाई काबुमा राख्दै जबरजस्ती पैतालालाई अघि सारें । त्यो ठाडो करिब एक घण्टाको उकालो चिरेर तेर्सोबाटो फेला परेपछि मात्र केही आनन्दको अनुभूत भयो । र, अबिराम हिँडिनै रहें । सूर्य अस्ताउने तरखरमा थियो । सूर्यदेवको संकेतलाई आत्मसात गर्दै म छिम्बुको एउटा सानो बस्तीमा पुगें । त्यहाँबाट सिधै अगाडि सेतेका घरहरू देखिए । आजको अन्तिम गन्तव्य देखेर हो कि पैताला र मन दुवै रमाए । आँखा पनि खुसीले फुर्किए । सूर्यले पश्चिमको डाँडो काट्नु र सेतेस्थित शेर्पा गाइड एण्ड रेष्टुरेण्टमा पाइला टेक्नु सँगसँगै भयो ।

बाहिरबाट भव्य देखिने शेर्पा गाईड एण्ड रेष्टुरेण्टको कम्पाउण्डभित्र भने सुनसान थियो । म बिस्तारै होटल पछाडिपट्टीको एकतले घरतर्फ अघि बढें । र, ढोकाको सामुन्ने पुगेर बोलाएँ । भित्रबाट ढोका खोलेर अलि दुब्लो पातलो मान्छे मेरो अगाडि देखा पर्यो । उसले मलाई भित्र आउने संकेत गर्यो । म ढोकाभित्र छिरें । यहाँ होटलको किचन रहेछ । राम्रै मेहनत गरेर सजाइएको किचनमा बसेपछि उनले मलाई चिया टक्रयाए । बस्ने कोठा निश्चित गर्नुपूर्व उनले मेरो परिचय र पेशा साधे । मैले आफू शिक्षक भएको र सेसनब्रेकको बिदामा घुम्न आएको भन्दैगर्दा अचानक उनका आँखामा खुसीका तरङ्ग चम्केझै देखिए । उनी स्थानीय विद्यालयको प्रअ रहेछन् । र, म पनि शिक्षक हुँ भन्ने सुनेपछि उनमा पेशागत आत्मियताको खुशीको संचार भएको रहेछ । त्यसपछि त हामी दुवैको क्यामेस्ट्रीमा कम्पाउण्डहरू घुलमिल गर्न थालिहाले । उक्त होटलको उनी एक्लो मालिक र कर्मचारी, दिउँसो स्कूल पढाउने, बिहान बेलुका होटल व्यवसाय सम्हाल्दा रहेछन् । उनले गफका वर्षात ननस्टप वृष्टि गर्न थाले ।

श्रीमती धादिङ जिल्लामा कार्यरत भएकाले घरमा दावा सर एक्ला रहेछन् । एक्लो दावा सरले गरेको पुरुषार्थ देखेर जोकोही छक्क पर्न सक्थ्यो ।

“तपाईंलाई सब्जी के मनपर्छ ?” भन्दै मेरो फर्माइसमा सोधी–सोधी बेलुकाको मेजमानी तयार गर्न थाले । काठमाडौंमा घर बनाइसकेका उनका एक छोरा र एक छोरी उहीं बसेर पढ्दा रहेछन् । उनकी श्रीमती पनि सरकारी जागिरे रहिछिन् । श्रीमती धादिङ जिल्लामा कार्यरत भएकाले घरमा दावा सर एक्ला रहेछन् । एक्लो दावा सरले गरेको पुरुषार्थ देखेर जोकोही छक्क पर्न सक्थ्यो । र, म पनि परें ।

“आजको तपाईं मेरो विशेष पाहुना हो । ल तपाईंलाई खाएको बसेको म एक पैसा लिन्न । भोलि बिहान तपाईं र म जुनवेंसीसम्म सँगै जानुपर्छ । म आजै भोलि बाटोमा खाने खाजा पनि बनाएर राख्छु ।” यसरी उनले ममाथि उच्च सत्कारसहित भोलिको बाटोमा साथ पनि दिने भए ।

“भोलि तपाईंलाई मेरो ग्रीन हाउस देखाउन लान्छु । यो होटलमा पाक्ने कुनै पनि तरकारी म किन्दिनँ । सबै म आफैं फलाउँछु । मैले मेरो २८० रोपनी जग्गामा पुरै चिया बगान लगाएको छु । विदेशीहरूले यहाँको चिया मनपराएका छन् । यहाँ उत्पादित चिया नमूनाका लागि अमेरिका पनि लगेका छन् । र, यहाँको चिया विदेश निर्यात गर्ने योजनाका साथ काम गर्दैछु । विद्यालयबाट रिटायर्ड भएपछि म पूर्णरूपमा यही काममा लाग्ने सोच बनाएको छु ।”

यसरी दावा सरले आफ्नो कार्ययोजनाका बारेमा मलाई स्पष्ट पारे । हँसिलो र फुर्तिलो शरीर भएका उनले मसँग गफिदागफिदै भात, तरकारी, दाल, अचार लगायतका परिकार तयार पारिसकेका थिए । अन्त्यमा पापड पोल्दै बोले, “ल सर खाना खाऔं, त्यसपछि गेष्टलाई खुवाउनुपर्छ ।”

खाना खाइसकेपछि उनले मलाई कोठामा लिएर गए । “माथिको कोठा राम्रो छ तपाईं माथि नै बस्नुहोस्,” भन्दै उनले मलाई होटलको माथिल्लो तला चढाए । “ल अब तपाईं थाक्नु भाछ सुत्नुहोस् । मेरो त गेष्टलाई खुवाएर भाँडासाँडा माझ्दा सधैं १०/११ बज्छ,” भन्दै पानीको बोतल समेत मेरो कोठामा राखिदिए । र, उनी तल झरे ।

बिहान उठेर म उनको ग्रीनहाउस हेर्न गएँ । चिया बगानचहिं तल गाउँमा रहेछ र हेर्ने सौभाग्य मिलेन । उनका तीनवटा ग्रीन हाउसमा उनले भनेझैं काँक्रो, गोलभेडा, काउली, बन्दा, प्याज, लसुन, धनियाँ, साग आदी फस्टाएका थिए । दावा सरको मेहनतको पसिनाले सिर्जेको सिर्जनाको उदाहरणले मलाई पनि भित्रैदेखि जगाइरहेको थियो । तर बिहान अचानक दावा सरको कुराले म दुःखी बनें । “सर आज म तपाईंसँग जान सकिंन । आज फेरि एउटा ग्रुप आउने भयो । तर दुःख नमान्नुस् हामी फोनमा कुरा गर्दै गर्नुपर्छ,” भन्दै उनले मलाई उनको मोबाइल नम्बर र फेसबुक आइडी समेत टिपाए । मैलेनि मेरो नम्बर उनलाई टिपाएँ ।

दावा सरसँगका अविस्मरणीय क्षणहरू छातिभरि संगालेर बिहान म गोयामको ठाडो भीर चढ्न थालें ।

हिँड्ने बेलामा जति कर गर्दा पनि उनले पैसा लिन मानेनन् । उल्टै, “गोयाममा मेरो भान्जाको होटल छ । मैले पठाएको भनेर त्यहाँ खाजा खाएर जानुहोला । मैले पठाएको भनेपछि उसले एकपैसा लिँदैन,” भन्दै उनले गुणमाथि मैले तिर्नै नसक्ने गुणको ऋण बोकाए ।

आजको व्यवसायिक दुनियाँमा पनि आङदावा शेर्पा जस्तो मान्छे भेट्दा मलाई परिश्रम र आदर्शमा विश्वास गर्ने मानिस कतै न कतै रहेछन् भन्ने भान भयो । आज पनि आक्कलझुक्कल दावा सरसँग मेरो फोनमा वार्तालाप हुनेगर्छ । शेर्पा गाइड एण्ड रेष्टुरेण्टमा दावा सरको सत्कार मेरो हृदयमा अजरअमर बनिरहेको छ । बनिरहने छ ।

दावा सरसँगका अविस्मरणीय क्षणहरू छातिभरि संगालेर बिहान म गोयामको ठाडो भीर चढ्न थालें ।

जङ्गल सकिनसकिन लाग्दा माथि डाँडामा एउटा सुन्दर सेतो स्तूप देखिन्छ । त्यो स्तूपको ठीक तल ३५३० मिटरमा अवस्थित छ लम्जुरा भञ्ज्याङको सुन्दर दृश्य । यो उचाई नाम्चे बजार सम्मकै सबैभन्दा उच्च स्थानमा पर्दो रहेछ, जहाँबाट उत्तरतर्फको क्षितिजसम्म देखिने दृश्य शब्दमा उतार्न असम्भव लाग्छ ।

यो क्षेत्रमा आइपुग्दा सबैभन्दा धेरै सुनिने आवाज हो वायुयानको । सायद उच्च स्थान भएर पनि होला वायुयानका ध्वनिले ध्यान तानिरहन्छन् । बिहान ६ बजेदेखि निरन्तर आकाशमा वायुयान र हेलिकप्टरको आवतजावत देखिन्छ । ट्रेकिङ सिजन सुरु भएर पनि हुनसक्छ, एकपछि अर्को यान उडिरहेका देखिन्छन् । थोरै पदयात्रीहरू मात्र जिरीबाट पदयात्रा थाल्दा रहेछन् । त्यसमा केही फाप्लुबाट र वहुसंख्यक लुक्लाबाट नै पदयात्रा थाल्दा रहेछन् । ‘एभरेष्ट समिट’ गर्नेहरू चहिं उचाईसँग समाहित हुन प्रायः जिरीबाट पनि यात्रा थालेको भेटियो । म आउनु एक दिन अगाडि भारतीय सेनाका छब्बीस जवान उभरेष्ट समिट गर्न दावा सरकै होटलमा बसेर गएका रहेछन् । त्यो समूहमा केही महिला र दुई नेपाली मूलका भारतीय सेना पनि रहेको कुरा मलाई दावा सरले बताएका थिए । पछि काठमाडौं फर्किएर समाचारमा ती भारतीय सेनाका तीन जवान सगरमाथा चढ्दा दुर्घटनामा परेर मृत्युवरण गरेको सुन्नमा आएको थियो ।

सायद गिनिजबुकलाई पुष्टि गराउने हो भने यो नै विश्वको सबैभन्दा ठूलो शिलालेख हुनसक्छ । मानव सिर्जनाले भीरको चट्टान पनि गौरव बन्दो रहेछ ।

जुनबेसी आकर्षक र धेरै सुविधा प्राप्त एउटा संगम स्थल रहेछ । सल्लेरी–फाप्लु हुँदै मोटरबाटोले जोडेको र मोपुङ उपत्याका हुँदै दूधकुण्ड पुग्ने ट्रेकिङ रुटको गेटवे पनि रहेछ । सुविधासम्पन्न होटल, पसलहरू र बास बस्नयोग्य सानो उपत्याका भएर होला पर्यटकहरूको राम्रै चहलपहल देखियो यहाँ । बजारको बीचमा छङ्छङ् गर्दै बहने जुनवेंसी नदीले पनि जुनवेंसीको सौन्दर्यलाई अझ बढाए झैं लाग्छ । खोलाछेउमा देखिने हिलारी स्कूलले एडमण्ड हिलारीलाई स्मृतिमा ब्युँताउँछ । तिनै हिलारीले यो क्षेत्रको शिक्षा र स्वास्थ्यमा धेरै योगदान गरेको कुरा पहिलैदेखि सुन्दै आएको हो । विद्यालय भवन निर्माण गर्दा उनी आफैं कार्पेन्टरको काम गर्दै गरेको दृश्य छापामा धेरै पहिले देखेको थिएँ । आज उनको त्यो नमूना आँखा अगाडि उपस्थित थियो ।

मेरो सपनाको एउटा श्रृंखला यहाँ पूरा भयो । विश्व सम्पदा सूचीमा सुचिकृत सगरमाथा नेशनलपार्कभित्र हामी छिर्यौं । सन् १९७६ मा स्थापित यो राष्ट्रिय निकुञ्ज नेपालको मात्र गौरव थिएन, यो विश्वकै अग्लो स्थानमा अवस्थित धर्तीकै नीधि थियो । निकुञ्जको गेट प्रवेशसँगै एउटा विशाल चट्टानी भीरको भित्ताभरी बुद्ध मन्त्रहरू खोपिएको देखियो । सायद गिनिजबुकलाई पुष्टि गराउने हो भने यो नै विश्वको सबैभन्दा ठूलो शिलालेख हुनसक्छ । मानव सिर्जनाले भीरको चट्टान पनि गौरव बन्दो रहेछ ।

यात्राको चौथो दिन दिउँसोको करिबन २ बजे म नाम्चेबजार पुगें । र, त्यसक्षण मैले जिरीको बस स्टैण्डको पर्यटक सूचना केन्द्रका नौजवानले मलाई भनेको वाक्य सम्झिएँ ।

“तपाईं एक्लै जान सक्नुहुन्छ ? नाम्चे पुग्नै तपाईंलाई ८ दिन लाग्छ ।” उनले भनेको कुरा गलत पनि थिएन । पर्यटकका लागि जिरीबाट नाम्चे आठ दिनकै वदयात्राको रुट हो । तर मेरा दुई गोडाका जिद्दीकै परिणाम थियो यो उपलब्धी । बिहान सात बजेदेखि बेलुका रात नपरुन्जेलसम्म म निरन्तर हिँडिरहें । त्यसको तेस्रो दिन दिउँसो मेरा गोडाले एभरेष्ट वेसक्याम्प टेके । अर्थात जिरीबाट हिंडेको सातौं दिनमा मैले मेरो गन्तव्य भेटें । अर्थात मेरो एभरेष्ट वेसक्याम्प टेक्ने सपना साकार भयो । यो क्षणको खुशी र उमङ्ग म शब्दमा उन्न असमर्थ छु । मेरो आँखा अगाडि उपस्थित यो रहस्यमयी चुचुरोलाई नै सगरमाथा भन्दा रहेछन् । धेरैबेर हामीले एकअर्कालाई हेरिरह्यौं । सगरमाथा र म अर्थात म र एभरेष्ट एकाकार भयौं ।

प्रतिक्रिया
Loading...