नेपाली साहित्यको सम्पूर्ण पत्रिका

भुसालको एक पत्र

४ असार, २०६९
प्रिय नन्दिता,
सप्रेम सम्झना र माया ।

तिम्रो पुर्ण कुशलताको अपेक्षा गर्दै यो पत्र लेखिरहेको छु । मलाई ठीकै छ । यसबेला तिम्रा गुलाबी गालाहरू र रसिला ओठहरूको प्रेमिल स्पर्श र चुम्बनहरूको रुमानी कल्पनाले म पुलकित भइरहेको छु । तथापि आज मलाई केही गम्भीर विषय र प्रश्नहरूमा तिमीसँग विमर्श गर्ने मन भएको छ । आशा छ, तिम्रो आगामी पत्रमा यिनीहरूले यथोचित स्थान पाउनेछन् र उत्तरित हुनेछन् ।
मनुस्मृतीले मानिसलाई एक्लै जन्मने र एक्लै मर्ने प्राणीका रुपमा व्याख्या गर्दै मान्छेले सुकर्म र कुकर्मको फल एक्लै भोग्दछ भनेको छ । बि.पी. कोइराला मानिसलाई पशु र इश्वरको बीचमा केवल मानिसका रुपमा हेर्छन् । र थप भन्दछन् “मानिस अधुरो छ र उसको विकासको दायरा असिमित छ ।” यता होमरले “तिमीले आफ्नी पत्नीलाई प्रेम गर्छौ तापनी तिमले जाने जती सबैकुरा उसलाई भन्ने नगर, जे कुरा पनी संक्षेपमा मात्र भन ।” भन्दछन । अर्को एउटा गोरखबाणी रहेछ, “जसरी ढुङ्गा नदीमा रहन्छ तर भिज्दै

न, त्यसैगरी असमझदार मानिसले साधुहरूको संगत गरे कुनै परिवर्तन गर्दैनन । ” फेरि कौटिल्यले “झुठो बोल्नु, साहस गर्नु, कपट गर्नु, मुर्खता, अत्यन्त लोभ, अपवित्रता, दयाहिनता यी स्त्रीहरूका स्वाभाविक दोष हुन” भनेका रहेछन् । अज्ञानताले मान्छेलाई दुःखी हुन दिँदैन, भ्रममा सही ऊ खुसी खुसी जीवन बाँच्दछ भन्ने मत पनि छ । अर्थात अज्ञानता पनी सुखको श्रोत हुन सक्छ औसत मान्छेलाई । तर ज्ञानको महत्ता यस्तो ठान्छु म जसरी वस्तुमाथि सिधा सूर्य पर्दा छाया शून्य हुन्छ, ठीक त्यसैगरी जब ज्ञानको प्रकास सम्पुर्ण रुपले मानिस माथि पर्दछ, तब मानिस आँफू देखिँदैन । यो ’म’ बिलयको पल, स्थितिबोधको अवस्था वा अहम् शून्यता वा परमात्मा मिलनको समय हो । यही अवस्था सम्पुर्णताको स्थिति हो।

सुरुमै यति अफ्ठ्यारा र परस्पर बिरोधी लाग्ने उक्तीहरूबाट पत्र सुरु गरेकोमा क्षमा चाहन्छु । तर म किन छु ? तिमी किन छौ ? तिमी नभए के हुन्छ ? म नभए के होला ? वा कोही कसैका लागि कति अर्थपूर्ण र पूरक छ ? प्रेम के हो ? जीवनमा प्रेमको स्थान कति हो ? सम्बन्ध किन आवस्यक छ ? प्रेमि–प्रेमिका र पति–पत्नी के हुन ? साँचो माया के हो ? निश्वार्थ प्रेम किन हुँदैन ? विश्वास के हो ? किन मान्छे पैसा र सक्तीको दास हुन्छ ? त्यही मान्छे किन रुन्छ ? किन मान्छे हाँसेको अभिनय गर्छ ? जीवनको सार के हो ? धेरै प्रश्नहरूको घेरामा बन्दी भएकोले पनि लेख्ने स्वतन्त्रताको उपयोग गरेको हुँ ।

प्रियबंदा,
सन्तुलित अभिव्यक्ती, लगनशीलता र हाँसेर बोल्ने तिम्रा मुल विशेषताहरू मलाई औधी मन पर्छन । यहाँ शारीरिक सुन्दरताको कुरा नगरौँ । आत्मिक सुन्दरता मुलतः व्यक्तिले कसरी सोच्दछ र व्यवाहार गर्दछ बाट निर्दिष्ट हुन्छ भन्ने मलाई लाग्दछ । सत्यम, शिवम् सुन्दरम् को भावधाराले मानिसलाई सही मार्गमा हिँड्न प्रेरित गर्दछ । त्यसैले तिमी सुन्दर छौ भन्ने मेरो ठहर हो । अब मनुको अद्धैतलाई सुन्दर र सही मान्ने हो भने, एक्लो भएको पीडामा पर्नु मुर्खता हुन जान्छ । म तिम्रो अधिमान्य नायक भएँ वा भइनँ भन्दा पनि बि.पीले भने जस्तो अधुरो र असिमित विकासको सम्भावनावाला मत प्रति विश्वस्त हुन आग्रह गर्दछु । हामी बीचको लामो र्वार्ताले धेरै कुरा आफैँ बुझ्ने बनाएको छ हामीलाई । त्यसैले परुषाक्षरको प्रयोगद्वारा एक अर्कालाई परिहास गर्नु उपयुक्त हुँदैन । हाम्रा परिस्थिति र अपेक्षाहरूको स्वांगीकरण भैसक्दा पनि त्यसलाई उपयुक्त निकास दिन नसक्ने अक्षमतालाई कसरी बुझ्नु खै ? तिमी अगिसरा छौ, तापनि अपेक्षित निष्कर्ष प्राप्त भएन । म अनुरत छु र पनि अधुरो हुनै पर्ने नियतीमा जेलिएको छु । के बुझ्ने? र कसरी अघि बढ्ने ? यथातथ्य मार्ग देखिएको छैन ।

प्रिय निहारिका,
जे भएपनि समय गतिशील छ । यो गतियुक्त भएको कारणले यससँग जोडिने सबै पदार्थहरू गतिवान छन् । भौतिकवाद मानिसलाई वस्तु वा पदार्थका रुपमा हेर्छ र व्याख्या गर्दछ । त्यसैले मानिस गतिशील हुन बाध्य छ । मचाँहि यो गतिशीलता भित्र शृजनात्मकता सुवासित हुन जरुरी देख्छु । किनकि प्लेटो, रुसो, पास्कल, न्युटन, मार्क्स, लिङ्कन,गान्धी, बुद्धहरू समयसँगै सृजनशील हुन सकेकै कारणले स्थापित भए । र मानव सभ्यताको अनन्त सम्म उनीहरूले आफ्ना लागि परमपद सुरक्षित राख्दै प्रभावित गरि नै रहनेछन भन्ने लाग्दछ ।

सक्रियताले उर्जा दिन्छ । उर्जा कार्य सम्पादनका लागि अनिवार्य हुन्छ । यसकारण मानिस क्रियाशिल हुनै पर्दछ । शारीरिक, मानसिक, र बौद्दिक रुपमा सक्रिय मानिस सबैभन्दा उर्जाशील हुन्छ । यसले उसलाई विवेकी पनि बनाउँदै लाग्दछ । उसको क्षमता र बिवेकले उसलाई र उ सम्बन्धितलाई लाभ प्राप्त हुन्छ । मान्छेको जीवनयात्रा र क्रियाशिलता ’परमपद’ कै लागि हुनु पर्दछ । यो यात्रामा प्रेम अर्को मजबुत र आवश्यक औजार हो । गान्धीले प्रेम र स्नेहलाई युद्दको सबैभन्दा ठूलो हतियार मान्दछन् । हुन पनि प्रेम र स्नेहबाट को पराजित नहोला र !

पारिजातको शिरिषको फूल प्रेम बक्त्याउने ससक्त हस्ताक्षर हो । सुम्निमा भिल्ल युवकसँग अनुरक्ति वा अभिसारको लालशा राख्छे । रिमाल बुद्द,गान्धी जन्माउन सुन्दरीसँग प्रेमको खुल्ला प्रस्ताव राख्दछन् । हो ! यही प्रेमिल यौन क्रियाशिलताको केन्द्रीय कडी हो । यसले स्वच्छ विचार शैली र शारीरिक सक्षमताका लागि अनन्त उर्जा प्रवाह गर्दछ । यो सन्तान उत्पादनको साधन मात्रै होइन । यसबाट प्रवाहित उर्जा शक्तिले मान्छेलाई विजयी कर्ममा लीन गराउँछ । सक्रिय कर्मयोगी असफल हुने कुरै भएन । उर्जाशील उपरोक्त सक्रियता हाम्रो आवश्यकता हो वा होइन ? वा यसो भन्नु प्रेमलाई यौन सङ्किर्णताको लोभी पासोमा हाल्नु सरह हुन्छ, हुँदैन ? म यसै भन्न सक्दिनँ ।

माथि भनिनँ बि.पीले भनेको यो कुरा पनि साह्रै घतलाग्दो छ । निदाएको मान्छेलाई उठाउन सकिन्छ, निदाएको अभिनय गरेको मान्छेलाई कसैगरी पनि उठाउन सकिँदोरहेनछ ! तिमीलाई थाहै छ, पछिल्ला ३,४ बर्षदेखि मेरो जीवनका धेरै घटनाक्रम र व्यवाहारहरूमा तिमि साक्षी मात्रै भएकि छैनौ, सहयोगी पनि थियौ, छौ । देखेकी, सुनेकी र बुझेकी पनि छौ, समस्या के हो ? र समाधान किन निस्किएको छैन । तिमिलाई भन्न र देखाउन बाँकी कुनै सत्य मसँग छैन । म अड्किएको छु, कथित आफ्नाहरूबाट जो वास्तवमा मेरा होइनन । तिनीहरूको नियतको सिकार बनाइएको छु म । मलाई यसरी जेल्न र अचेट्न चाहन्छन तिनीहरू। कहिलेकाहीँ त स्वास फेर्नै मुश्किल पर्छ मलाई । यति हो जीवनदेखि हार्न, निरास हुन र आफ्नो आस्था बेचेर लम्पसार पर्न नचाहेकोले दुःख नै सही अनन्त संघर्ष सहित हिँडेकै छु । चलेकै छु ।

मेरी कादम्बिनी,
कहिलेकाहीँ त यस्तो विचार उठ्छ मनमा दुनियाँ यसरी नै चलेको छ । नाफा जसरी भएपनि हुन्छ झुठो बोलेर वा आत्मा बेचेर । आफूलाई अनुकुल भए जे गर्न पनि तयार छ मान्छे ! हेर न ! आफ्नै चेली बेच्छ मान्छे, आफ्नै आमा लुट्छ मान्छे, आफ्नै आत्मा र विवेक बन्धकी राखेर पनि क्षणभरको आनन्दले मानवियताको खिल्ली उडाउँदै उन्मादी हुन्छ मान्छे । साह्रै थोरै पो छन त यहाँ सत्यको कुरा गर्ने, त्यसै अनुरुप चल्ने । त्यसैले यही बहुलताको बेइमान पिपकुण्डमा म पनि हाम्फालौँ र आफूलाई सम्पुर्ण त्यसैमा समाहित गरौँ । यही प्रवृत्ति यत्रतत्र हावी छ । तिनिहरुको विरुद्ध उल्टो प्रवाहमा हिँड्नु भन्दा तिनीहरू सँगै सम्पुर्ण विलिन भए राम्रै हुन्थ्यो कि ! बेइमान म पनि गरौँ, मान्छेलाई हाँसी हाँसी धोकामा डुबाइदिऊँ, थाहै नदिइ पत्तै नपाउने गरि, ऐया भन्न पनि नदिऊँ र म बिजेता बनुँ ! तर फेरि सचेत स्मरण गर्छु । अनि यो त मेरो आफ्नो बिचार होइन । म यसो कसरी गर्न सक्छु र ! यहीनेर माथिको गोरखवाणी संसोधन गर्न उपयुक्त देख्छु । म त्यही ढुङ्गो भएँ । जो दुनियाँको पापकर्म र विचारबाट भिज्न नसकेको ! त्यो नारकियताले मलाई प्रभावित गर्न असमर्थ भएको ! हो, यहीँनेर तिमीले भनिदिनु पर्छ । कतै म मेरो गलत बुझाइ र अज्ञानताले उडन्ते कल्पनामा रमाइरहेको त छैन ? मैले दुनियाँ बुझ्न नसकेर, त्यससँग मिलेर चल्न नसकेर आफु अनूकुलको पलायनवादी गलत विचार त पालेर बसिनँ ? सही जवाफको अपेक्षा तिमीसँग मात्रै गर्न सक्छु प्रिया ।

अविरल आस्था,
वैचारिक स्थीरताको अपेक्षा आफैँमा कति ठीक हो मलाई थाहा छैन । तर विचारमा तरलता वा भनौ चञ्चलता मलाई मन पर्दैन । मेरो बुझाइमा पारिस्थीतिक स्वार्थी सोचाई नै आजको हाम्रो राजनीति, समाज, संगठन, घर र जोडिएका वा जोडिन चाहने जो कोही दुईको समस्या हो । त्यसो त परिस्थिति अनुरुप चल्नु, सोचाइ बनाउनु व्यवाहार गर्नु नाजायज वा वेठिकै भन्न त सकिन्न । तर आफ्नो प्रतिकुलता छेक्न एकाएक भन्न नमिल्ने र गर्न नमिल्ने कुरा हुनु मलाई उचित लाग्दैन । अझ भनौँ जतिखेर पनि म नै ठीक छु भन्नेहरू आफ्नो धोती खुस्केको पत्तो पाँउदैनन र पनि अज्ञानि आत्मरतीमा रनभुल्ल रमेका देख्छु । फेरि भन्छु मेरै आफ्नो जटिल मानसिक सोचाइका कारणले मेरा विचार र व्यवाहारहरू निर्देशित हुँदा कुरा बुझाउन मैले नै नसकेको हुँला । तर मान्छेले बुझ पचाउँदा आनन्दित भएको पनि देखेको छु । उनीहरू सत्यलाई आत्मसात गर्ने भन्दापनि त्यसबाट भाग्ने र तात्कालिक फाइदाको लागि मात्रै भएपनि ’आफँै ठीक’ को आत्मप्रशंसा व्यस्त हुन्छन् । यो देखेर म हाँस्न मात्रै सक्छु, थप बताउन र बुझाउन कसरी सकुँला ?
मैले ऊर्जाको कुरा गरेको छु, पवित्रताको कुरा गरेको छु । आइमाइ प्रवृति उध्दृत गेरको छु । भावनामा खेलबाड गर्नेहरूको पनि कुरा गरेको छु । यी सबै कुरामा तालमेल छ छैन तिमीले नै जान । तर मलाई माथि उल्लेखित विषयवस्तुहरू गलत हुन भन्ने लाग्दैन । तिमीसँग भनेको छु धेरैपटक एकदम शिक्षित भनिएका महिलाहरू पनि कतिखेर आइमाईमा रुपान्तरित हुन्छन् र निकृष्ठता प्रर्दशन गर्छन् त्यसको पुर्वानुमान गर्न सकिँदैन । मलाई भावनामा खेलवाड गर्ने यस्तो आइमाई प्रवृति र कम्युनिस्ट प्रवृति एउटै लाग्छद । यी दुई बेइमानिलाई म घृणा गर्दछु र सायद यिनीहरूलाई क्षमा गर्ने उदारता मसँग हुने छैन । कसैले यसलाई पुरुषवादी र ब्राह्मणवादी सोच भनि खण्डन गर्न पनि सक्नेछ । अधिकारको कुरा गर्नेले आफु त्यो अधिकारका लागी सम्पुर्ण योग्य हुनुपर्दछ भन्ने मेरो मत हो । नारी र महिला अधिकारको कुरा गर्नेहरू आइमाइ भैरहन छोड्नु पर्दछ र महिला बन्ने ल्याकत प्रदर्शन गर्नु पर्दछ भन्छु म । अझ अचम्म त के छ भने ! सम्पुर्ण रुपले पुरुषमै आश्रित भई पुरुष विरुद्ध बिषवमन गर्नु र जेहादी हुनुको तुक भेट्दिन म । के अर्थ हुन सक्छ यस्तो निम्छरो प्रवृतिको ? उद्दण्ड र अनुशासनहीन आइमाई प्रवृतिको? अधिकारको कुरा हुँदा कर्तव्यको कुरा पुरै बिर्सन मिल्छ र ? कर्तव्यपरायणहरूले मात्रै अधिकारमा भाग पाउने हुन । बिना दायित्व अधिकारको लालसा मुर्खता सिवाय केही होइन ।
मेरी कान्छु,

यो पत्रमा सबैकुरा प्रस्ट लेखुँला भन्दै सुरु गरेको थिएँ । सायद परिस्थिति अझै यथा अनूकुल नभएको लाग्दैछ । त्यसैले सबैकुरा प्रष्ट्याउन यो सक्षम नहुन सक्छ । जे भए पनि यो मेरो विचारहरूको नासो तिमीलाई उल्झनमा पार्न भन्दापनी आत्म विष्लेशणद्वारा निस्कर्षमा पुग्न सहायक हुनेछ भन्ने ठानेको छु । तिमीले धेरै अपेक्षा गर्दा पनि पत्र लेख्न नसकेकोमा क्षमा चाहन्छु । बल्ल बल्ल लेखिएको पत्र पनि पूर्ण सन्तुष्टिदायक भएन भने अन्यथा नठान्न बिनम्र आग्रह गर्दछु । तिम्रो अनूकुल प्रगतिको कामना र नयाँ क्षितिजतिरको सुखद यात्राको शुभेक्षा सहित असिम प्रेम तिम्रा लागि ।

उही
यम पी. भुसाल

प्रतिक्रिया
Loading...