नेपाली साहित्यको सम्पूर्ण पत्रिका

ताप: विरोधाभाषको सशक्त चित्रण

यस उपन्यासमा अर्को आध्यात्मिक थलोको रूपमा देखाइएको कैवल्य आश्रममा पनि युवाअवस्थादेखि नै अध्यात्ममा रुचि भएकी एउटी शिक्षित र धनी परिवारकी युवतीको मार्मिक कथा प्रस्तुत गरिएको छ ।

केही समय पहिल्यै शारदा शर्माले लेख्नुभएको उपन्यास ‘ताप’ पढ्ने अवसर मिलेको थियो । उपन्यास धेरै नै पहिले पढिसकेको भए तापनि यसमा वर्णित घटना र पात्रहरू अहिले पनि मानसपटलमा छाइरहेका छन् । एकातिर युद्धको रगताम्य दृष्य, हत्या र बलात्कारबाट आएका चिच्याहट चित्कारको अवाज अर्कोतिर ध्यानको संगीत अनि प्रार्थनाका मन्त्रहरूको ध्वनीको अनौठो मिश्रणको रूपमा मैले यस ‘ताप’ उपन्यासलाई भेटेँ । उपन्यासमा यस प्रकारका जस्टापोजिसनहरू धेरै नै पाइन्छन् । एकातिर भिक्षु तथा आनीहरूले ध्यान गर्ने ठाउँको शान्त र सौम्य वर्णन, अर्कोतिर मानव बधशाला झैँ प्रतित हुने भयावह र घिनलाग्दो सैनिकगणको चित्रण । एकातिर समान्ती र उच्च घरानाका सन्तानहरूको कथा, अर्कोतिर दुई छाक टार्न गाह्रो पर्ने रुबेल तथा चम्पाहरूको कथा । एउटा बौद्ध विहार तथा अर्को ध्यान आश्रममा रहेका साधक साधिकाहरू माझ रहेको राग र विराग, ज्ञान र बोध प्राप्त गर्नका लागि अपनाउनु पर्ने प्रयास, शील तथा साँक्षीभावका कुराहरू पढ्दा पाठकलाई स्वयं पनि कुनै ध्यान शिविरमा नै छु जस्तो लाग्न सक्छ ।

आमाबुबाको सम्बन्धविच्छेदले गर्दा छोराछोरीमा पर्न जाने आघात, युद्धले ल्याउने निराशा अनि पारिवारिक विघटन, महिलालाई आफन्त पर्ने पुरुषबाट समेत यौन हिंसाको भय, पुरुषको महिलालाई भोग्य वस्तुको रूपमा हेर्ने प्रवृति जस्ता गहन विषयलाई जसरी शारदा शर्माले चित्रण गर्नुभएको छ, त्यो साह्रै नै प्रशंसनीय छ । यी सबैभन्दा बेग्लै एउटा अर्को पक्षलाई पनि यस उपन्यासले ज्यादै नै सशक्त र अन्वेषणात्मक पाराले उठान गरेको छ, त्यो हो धार्मिक तथा आध्यात्मिक सङ्घ सङ्गठनहरूमा महिलाको अवस्था । तापमा एउटा बौद्ध विहार र अर्को ध्यान आश्रम गरी दुइटा धार्मिक स्थानहरूको रोचक चित्र कोरिएको छ । ती स्थानहरूको प्राकृतिक सौन्दर्य, त्यहाँ बस्ने साधक साधिकाको ध्यानप्रतिको लगाव, यी ठाउँहरूको दैनिक व्यवस्थापन पढ्दा सलल…. बगेको नदी हेरे जस्तो भान हुन्छ । तर विडम्बना नै भन्नु पर्छ, ती स्थानमा पनि महिलाको अवस्था भने यो समाजमा भन्दा उच्च र राम्रो देखिदैन् ।

सान्दर्भिक पोस्ट

धरा

गौतम बुद्धले आफ्नो सङ्घमा महिलालाई प्रवेश गराउन नरुचाउनु भएको तर आमा प्रजावतीले कर गरेपछि भिक्षुले २२७ शिलहरूको पालना गरे पुग्ने तर भिक्षुणीले भने ३११ शीलहरूको पालना गर्नुपर्ने साथै एउटी नयाँ भिक्षुणी बन्दा उसले १० वटा भिक्षु र १० वटा भिक्षुणीको माथहतामा रहेर शीलहरू सिक्नुपर्ने नियम बनाएका थिए। तर नेपालमा एक जना पनि भिक्षुणी नभएकाले महिलाहरूका लागि भिक्षुणी बन्न नसकिने अवस्था भएकाले गुम्बा तथा विहारका महिलाहरूले ‘आनी’ जून साधानाको प्रारम्भिक चरणमा भएका पुरुष ‘श्रमणेर’ भन्दा पनि तल नै मानिन्छ, त्यही स्थानमा रहेर चित्त बुझाउनु पर्ने र अध्यात्मको खोजमा लागेको जीवन सङ्घभित्र भात पकाउदै अनि सरसफाइ गर्दैमा बिताउनु पर्ने बाध्यता दर्साइएको छ । अर्कोतिर पुरुषहरूको हकमा भने दश वर्ष भिक्षु भएर सङ्घमा बसेमा स्थवीर हुने र बीस वर्ष बसेमा महास्थवीर हुन पाउने जस्ता प्रावधानहरू ‘ताप’मा दर्साइएका छन् ।

जीवनको रिक्तताको बोध भइसकेकी शिक्षित युवती सुजताको विहारमा प्रवेश भएपछि भने त्यस सङ्घभित्र महिलाको स्थान र अवस्था फेरिन जान्छ । एक जना उदार हृदय भएका बौद्ध गुरुले उनमा भएको तिक्ष्ण बुद्धी र बुद्धप्रतिको आस्था देखेर सुजतालाई स्वयं नै बौद्ध धर्मको शिक्षा दिन्छन् । यस्तो गर्दा उनले अर्का गुरु हुन चाहिरहेका स्थवीर सुदर्शनको विरोद्धको कयौँपटक सामना समेत गर्नुपरेको हुन्छ । अन्तत्वोगता सुजतालाई त्यस विहारकी महास्थवीर नै बनाउँछन् । यसरी सुजता जस्ती सानै उमेरकी साधिकालाई महास्थवीर बनाएको चित्रण गरेर शारदा शर्माले अध्यात्मिक जगतमा पनि महिलाले आफ्नो वैराग्य, ज्ञान र बोधका आधारमा पुरुषको जस्तै सम्मान र स्थान पाउनु पर्दछ भन्ने सन्देश दिएकी छिन् ।

त्यसैगरी यस उपन्यासमा अर्को आध्यात्मिक थलोको रूपमा देखाइएको कैवल्य आश्रममा पनि युवाअवस्थादेखि नै अध्यात्ममा रुचि भएकी एउटी शिक्षित र धनी परिवारकी युवतीको मार्मिक कथा प्रस्तुत गरिएको छ । ती युवतीको अध्यात्मको खोजमा निस्केकै बेला आफू भन्दा ज्यादै नै पाको उमेरका साधकसँग प्रेम हुनपुग्छ । ती व्यक्तिको उनीप्रतिको झुकाव र प्रेमले विश्वस्त भई आफ्नो सुखसयलले भरिपूर्ण आफन्तहरूको साथ त्याग्दै उनकी पत्नी हुनुको गर्वमा रमाइरहेकी हुन्छिन् । उनले आफ्ना पतिको आश्रम स्थापना गर्ने सपना सकार पार्न आफ्नो तर्फबाट सम्पूर्ण किसिमले साथ दिन्छिन् । तर ती पुरुषको त्यस आश्रमका महन्तको रूपमा ख्याती बढ्दै गएपछि उनले आफ्नी ती पत्नीसँगको सम्बन्धलाई स्त्रीसँगको सानिध्य ध्यानमा बाधक हुन्छ भन्दै निर्ममतापूर्वक तोड्छन, तर आश्रमका अन्य साधिकासँग भने उनको सम्बन्ध गाँसिदै जान्छ ।

आफ्ना पतिद्वारा तिरस्कृत हुँदै जानु, आश्रमभित्र आफू उपहासको पात्र हुँदै जानु र आफ्ना पतिको सम्बन्ध अन्य साधिकाहरूसँग घनिष्ट भइरहेको देख्नु पर्दा ती महिला मर्महात हुन जान्छिन् ।

एकातिर ती पुरुष दिन प्रतिदिन गुरुका रूपमा प्रतिष्ठित हुँदै जान्छन्, उनलाई विश्वभरिका उनका शिष्यहरूले आदर गर्दै भगवान् झैँ मान्दै जान्छन् भने अर्कोतिर ती साधिकालाई त्यस आश्रमभित्र पतिद्वारा परित्याक्ताको स्थान मिल्न जान्छ । आफ्ना पतिद्वारा तिरस्कृत हुँदै जानु, आश्रमभित्र आफू उपहासको पात्र हुँदै जानु र आफ्ना पतिको सम्बन्ध अन्य साधिकाहरूसँग घनिष्ट भइरहेको देख्नु पर्दा ती महिला मर्महात हुन जान्छिन् । उता उनका पतिको वरिपरि जति साधिकाहरू झुम्मिदा पनि उनको स्थान अझै उच्च हुँदै गइरहेको हुन्छ भने ती साधिकाले अर्को साधकसँग सामान्य मित्रता गर्दा पनि उनका पति र अन्यले उनलाई त्यस आश्रमभित्र चरित्रहिन र अमार्यादित महिलाको पदवी भिराउँछन् । ती साधिकाले आफ्ना पतिसामु कयौँपटक प्रेम र सानिध्यका लागि याचना गर्दा उनका पतिले सीता, गान्धीपत्नी कस्तुबा र बुद्धपत्नी यशोधराको जस्तो त्याग र सर्मपणको उदाहरण दिँदै उनलाई यौन आकांक्षा धेरै भएकी स्त्री भन्दै अपहेलना गर्छन् । अनि आफू भने आफूसँगै साधना सिक्न आउने युवतीप्रति आसक्त भइरहन्छन् । यसरी संसारको आँखामा आफू ब्रहमचारी देखिन आफ्नी जीवनकी सहयात्रीप्रति रूखो व्यवहार देखाउने ती पुरुष ढोंगी लाग्छन् ।

यस उपन्यासले सांसारिक दौडमा लागेको यस उपन्यासको पात्र पराशर कुँवर होस् अथवा आध्यात्मिक दौडमा लागेको स्वामी कैवल्य नै किन नहोस्, उनीहरूका लागि महिलाको अस्तित्व आफ्नो आवश्यकता पूर्ति गर्ने वस्तु अथवा साधनाको लागि मात्रै हुन्छ भन्ने तीतो पक्षको उजगार गरेको छ ।

प्रतिक्रिया
Loading...