नेपाली साहित्यको सम्पूर्ण पत्रिका

सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्स् !

कविता विधामा नै विद्यावारिधि गर्नु भएका विप्लव ढकालको स्मार्ट पोयम्सको यो एघारौँ श्रृड्खला हो । साहित्यपोस्टसँगको सहकार्यमा अघि बढेको यो श्रृड्खलामा नेपाली साहित्यका मानक छोटा कविताहरू प्रस्तुत गरिन्छन् । पुराना कविका लुकेका कवितालाई यसले बढी महत्त्व दिए पनि नयाँ पुस्ताका असाध्यै राम्रा कविताहरू पनि यो अभियानमा समावेश गरिने डा. ढकालले साहित्यपोस्टलाई बताएका छन् ।

प्रस्तुत छ, यसपटकका स्मार्ट पोयम्सहरू :

१. कम्युनिस्ट
(अमर गिरी)

दराजमा माक्र्स, लेनिन र माओका पुस्तकहरू
भित्तामा माक्र्सदेखि चेग्वेभेरासम्मका तस्बिरहरू
कोटको कलरमा पनि उनीहरूकै ब्याच
बोलीमा पनि उनकै उद्धरणहरू,
यही गरेर— मात्र यही गरेर
बनिन्थ्यो भने असल कम्युनिस्ट
न ढल्थ्यो सोभियत सङ्घ,
न ध्वस्त हुन्थ्यो पूर्वी युरोप,
न भित्रन्थ्यो हाम्रो रातो र कालो छातीभित्र
विकृति र विसङ्गतिको डरलाग्दो आहाल !!

 

 

२. परिवर्तन यस्तै भयो
(पूर्ण विराम)

पूर्ण विराम

बेला बेला दूध खान देऊ नागलाई
राख टोकरीमा, टाउकोमा बोक
कति भद्दा देखिन्छ, राख कसैलाई
राष्ट्रको सुन्दर पिँजरामा, टाउकोमा राख
म त भारी बोकेर थकित भएको गधा
चरुँला बाबरीको चौरमा भनेको त्यसो नहुने भो,
भारी नै नबोकेका गधाहरू चर्ने भए बाबरीमा
राघेपाटे चर्ने भए, छिर्बिरे चर्ने भए
म चाहिँ भोकभोकै मर्ने भएँ— परिवर्तन यही भयो !
यस्तै भयो परिवर्तन !

 

 

३. दुई बहिराको संवाद
(रमेश तूफान)

रमेश तूफान

एउटा यसतर्फ आइरहेको थियो
अर्को त्यसतर्फ गइरहेको थियो
दुवै,
एकअर्कामा परिचित
बीच बाटोमा भेट भयो ।
एउटाले सोध्यो—
बन्धु ! बजारबाट आउँदै छौ ?
अर्काले जवाफ दियो—
होइन मित्र, बजारबाट आइरहेछु ।

यस्तो लाग्छ
हाम्रो सोचाइ
दुई बहिराको संवाद हो ।

 

 

४. प्रश्न
(प्रमोद प्रधान)

प्रमोद प्रधान

सम्साँझै यी सडकहरूमा
कसरी जङ्गल उम्रेछ ?
एक रातमै कसरी यहाँ
यत्रो हर्षोल्लास झरेछ ?
सम्पूर्ण व्यस्तता र पीडाहरूलाई
यिनीहरूले कहाँ छाडेका छन् ?
सम्पूर्ण घाउ र चोटहरूलाई
यिनीहरूले कहाँ लुकाएका छन् ?
मलाई धेरै प्रश्नहरूले सताएका छन्
ए ! कोही छ यी प्रश्नहरूका उत्तर दिनेहरू ?
म यस जङ्गलमा किन नितान्त एक्लो छु ?
म यस जङ्गलमा किन नितान्त बेग्लो छु ??

 

 

५. उही ठेगानमा आइपुगेँ
(विश्वविमोहन श्रेष्ठ)

विश्वविमोहन श्रेष्ठ

न ओर्लिएँ, न उक्लिएँ
धेरै दिनको यात्रापछि
उही ठेगानमा आइपुगेँ ।

तर्न त धेरै धेरै जँघारहरू तरेको थिएँ
चढ्न त धेरै धेरै पहाडहरू चढेको थिएँ
रुझ्दै बर्सातको पानीमा
खेल्दै हुरी, बतास र आँधीमा
म त एकतमास उक्लँदै उक्लँदै गएको थिएँ
साँझमा विश्रामका लागि जब कुनै दलानमा पुगेँ,
म त झसङ्गै भएँ
धेरै टाढा पुगेँ भनेको त
धेरै दिनको यात्रापछि
उही ठेगानमा आइपुगेँ ।

न ओर्लिएँ, न उक्लिएँ
धेरै दिनको यात्रापछि
उही ठेगानमा आइपुगेँ ।

प्रतिक्रिया
Loading...