नेपाली साहित्यको सम्पूर्ण पत्रिका

तद्भव शब्दमा तत्सम प्रकृति संरक्षणको आवश्यकता

भाषिक शुद्धीकरण अभियान, डा. मतिप्रसाद ढकालका साथ

तत्सम शब्दको प्रयोगमा अज्ञानका कारण दिनप्रतिदिन विचलनहरू देखापर्दै गए पनि तत्सम शब्दको वर्णविन्यासमा हालसम्म प्रायः विवाद भएको देखिँदैन ।

उठान :

शब्दस्रोतका दृष्टिले नेपालीमा तत्सम, तद्भव र आगन्तुक गरी तीन किसिमका शब्दहरूको प्रयोग हुन्छ । तीमध्ये नेपालीमा सबभन्दा बढ्ता तत्सम शब्दको प्रयोग गरिन्छ भने त्यसपछि तद्भव र त्यसपछि आगन्तुक शब्दहरूको बाहुल्य रहेको छ । तत्सम शब्दको प्रयोगमा अज्ञानका कारण दिनप्रतिदिन विचलनहरू देखापर्दै गए पनि तत्सम शब्दको वर्णविन्यासमा हालसम्म प्रायः विवाद भएको देखिँदैन । आगन्तुक शब्दको वर्णविन्यासमा भने अत्यन्त कम मात्रामा विवाद रहेको पाइन्छ । तद्भव शब्दको वर्णविन्यासका बारेमा भने तुलनात्मक रूपमा बढ्ता विवाद रहेको छ । नेपालीमा तत्सम र तद्भव दुवैतिर प्रयोग हुने वा तत्सम शब्दमा नेपाली प्रत्यय लाग्दा परिणत हुने तद्भव शब्दको प्रकृतिलाई तत्समकै रूपमा संरक्षण गर्न नसकी परिवर्तन गर्ने प्रक्रियाले प्रयोक्ताहरूलाई थप समस्या निम्त्याएको हुँदा यस आलेखमा त्यस्ता केही प्रतिनिधिमूलक शब्दहरूको सङ्क्षिप्त चर्चा गरिएको छ ।

तत्सम प्रकृतिमा दीर्घ ईकार र ऊकारको संरक्षण :

सुरुमा र बीचमा दीर्घ ईकार र ऊकार हुने तत्सम शब्दमा नेपाली प्रत्यय लाग्दा प्रकृतिमा रहेका दीर्घ ईकार र ऊकारको संरक्षण गर्न सकियो भने त्यस्ता तत्सम र तद्भव शब्दको वर्णविन्यासमा प्रयोक्ताहरू अन्योलमा पर्ने छैनन् । उदाहरणका लागि ‘स्वीकार’ तत्सम शब्द र त्यसलाई नामधातु बनाएर निर्माण गरिने स्वीकार्नु, स्वीकाऱ्यो, स्वीकार्छ आदि शब्दलाई लिन सकिन्छ । यदि हालको प्रचलनअनुसार ‘स्वीकार’ शब्दमा नेपाली प्रत्यय लगाउँदा माथिका क्रियापदहरू ह्रस्व गरेर स्विकार्नु, स्विकाऱ्यो, स्विकार्छ आदि लेख्नुपर्ने हुन्छ । जसले गर्दा प्रयोक्ताले ‘स्विकार’ लेखेर एकरूपता कायम गर्न खोज्ने सम्भावना देखिन्छ । जसका कारण स्वीकृत, स्वीकृति, स्वीकरण, स्वीकरणीय, स्वीकारात्मक, स्वीकार्य आदि शब्दका ईकारलाई पनि प्रयोक्ताले ह्रस्व लेख्न नखोज्लान् भन्न सकिन्न ।

त्यस्तै ‘पूर्व’ तत्सम शब्द र त्यसमा प्रत्यय लागेर बनेका पूर्वेली, पूर्वीय आदि शब्दलाई पुर्बेली, पुर्बिय लेख्न विद्यार्थी अग्रसर नहोलान् भन्न सकिन्न किनभने विद्यार्थीलाई कुन तत्सम शब्द हो र कुन तद्भव शब्द हो भनेर छुट्ट्याउनै गाह्रो हुन्छ । फलस्वरूप पूर्वक, पूर्वज, पूर्ववत्, पूर्वी आदि शब्दहरूमा रहेका दीर्घ ऊकारका ठाउँमा पनि ह्रस्व उकारको प्रयोग गर्न प्रयोक्ताहरू अग्रसर हुन सक्छन् । त्यसैगरी धूप, धूपौरो, धूपौरे, धूर्त, धूर्त्याइँ, पूजा, पूजारी, मूर्ख, मूर्ख्याइँ, मूल, मूल्याहा आदि शब्दमा पनि एकरूपताका लागि कुनै प्रयोक्ताले सर्वत्र ह्रस्व उकारकै प्रयोग गरिदिन सक्छन् । तत्सम र तद्भव दुवैमा प्रयोग गरिएका उपर्युक्त केही प्रतिनिधिमूलक शब्दको प्रकृतिमा रहेका दीर्घ ऊकारको संरक्षण गर्न सकिएमा उपर्युक्त शब्दको वर्णविन्यासमा धूप, धुपौरो, धुपौरे, धूर्त, धुर्त्याइँ, पूजा, पुजारी, मूर्ख, मुर्ख्याइँ, मूल, मुल्याहा आदिमा किन ह्रस्व र दीर्घको प्रयोग गरियो ? भन्ने आशङ्का प्रयोक्ताहरूमा हुने नै थिएन ।

तद्भव शब्दमा तत्सम प्रकृतिका दीर्घ ईकार र ऊकारको संरक्षण गरिएका र नगरिएका उदाहरणहरू सञ्चार माध्यममा प्रशस्त पाइन्छन् । उदाहरणका रूपमा ‘स्वीकार्नु’ र ‘स्विकार्नु’ शब्दलाई लिन सकिन्छ । यस्ता शब्दमा एकरूपता कायम गर्न पनि तत्सम प्रकृतिको संरक्षण गर्नु आवश्यक छ ।

तत्सम प्रकृतिमा वकार, शकार र षकारको संरक्षण :

वकार, शकार र षकार भएका तत्सम शब्दमा नेपाली प्रत्यय लगाउँदा तिनको समेत प्रकृति संरक्षण हुनु आवश्यक छ । यसो हुन सक्यो भने ‘दुस्ट्याइँ’ लेख्नेले त्यसको ‘दुस्ट’ प्रकृति लेख्नबाट आफूलाई बचाउनेछन् र दुवैतिर दुष्ट्याइँ र दुष्ट नै लेख्न मन पराउनेछन् । ‘पुष्ट्याइँ’ लेख्नेले ‘पुष्ट’ किन लेखिएको रहेछ भनेर बुझ्न सक्नेछन् । पुर्बेली, पुर्बिया आदि लेख्ने व्यक्तिले यी शब्दको प्रकृति ‘पूर्व’ पो रहेछ भनेर आश्चर्यमा पर्ने छैनन् । ‘बर्सेनि’ शब्द देखेर त्यसको प्रकृति ‘बर्स’ पो हो कि भनी अधिकांश प्रयोक्ताहरू झुक्किन्छन् र ‘वर्ष’ अनि ‘वर्षेनि’ लेख्दा भने उनीहरूलाई प्रकृति चिन्न अप्ठ्यारो पर्ने छैन । ‘दसौँ’ लेख्तै आएका व्यक्तिलाई त्यसको प्रकृति ‘दश’ हो भन्न गाह्रो हुन्छ तर दश र दशौँ लेख्न सकिएमा प्रकृति र प्रत्यय दुवैलाई छुट्ट्याउन प्रयोक्तालाई गाह्रो हुने अवस्था आउँदैन । ‘नव’ तत्सम शब्दबाट बनेको ‘नवौँ’ शब्दमा प्रकृति सुरक्षित भएको देखेर दश र दसौँ कसरी भयो होला ? भनेर प्रयोक्ताले प्रश्न गर्नुपर्ने अवस्था आउने छैन ।

शिला, शिलौटो, शिरान, शिरानी, शब्द, शब्द्यौली, प्रकाशक, प्रकाशक्यौली, पश्चिम, पश्चिमे, पश्चिमेली, वर्षे, वर्षौं, वर्षौटी, वर्षौटे, पोषिलो आदि शब्द लेख्तै जान सकिएका खण्डमा यी शब्दको प्रकृति शिला, शिर, शब्द, पश्चिम, वर्ष र पोष हो भनेर चिन्न प्रयोक्ताहरूलाई गाह्रो पर्दैन । यसैगरी ‘पञ्च’ शब्दको प्रयोग गरिरहेका प्रयोक्ताले ‘नेपाली बृहत् शब्दकोश’ (२०७५, पृ. ७३०) मा ‘पन्चे’ शब्द देख्ता ‘पञ्च’ शब्द त अशुद्ध पो रहेछ, ‘पन्च’ शब्ददेखि ‘ए’ प्रत्यय लागेर ‘पन्चे’ भएको पो रहेछ भन्ने भ्रमात्मक ज्ञान प्राप्त गर्न सक्छन् । त्यसैगरी ‘पण्डित’ तत्सम शब्द लेख्तै आएका प्रयोक्ताले ‘पण्डित्याइँ’ शब्द देख्ता त्यसको प्रकृति ‘पण्डित’ शब्द रहेछ भनेर सहजै बुझ्न सक्छन् तर ‘पन्डित्याइँ’ लेख्ता त्यसको प्रकृति ‘पन्डित’ हो भनेर प्रयोक्ताहरू झुक्किने अवस्था पनि नआउला भन्न सकिँदैन ।

तद्भव शब्दमा तत्सम प्रकृतिका वकार, शकार र षकार संरक्षण गरिएका र नगरिएका उदाहरणहरू पनि सञ्चार माध्यममा प्रशस्त पाइन्छन् । उदाहरणका रूपमा ‘दशौँ’ र ‘दसौँ’ शब्दलाई लिन सकिन्छ । यस किसिमका शब्दहरूमा एकरूपता कायम गर्न तत्सम प्रकृतिको संरक्षण गर्नुको विकल्प देखिँदैन ।

बैठान :

नेपाली भाषाका धेरैजसो प्रयोक्ताले मानक ठान्दै आएको ‘नेपाली बृहत् शब्दकोश’मा तत्सम शब्दमा नेपाली प्रत्यय लाग्दा सबैजसो शब्दका प्रकृतिमा रहेका ईकार, ऊकार, णकार, वकार, शकार र षकारका ठाउँमा क्रमशः इकार, उकार, नकार, बकार र सकारको प्रयोग गरिएको छ तर ‘वर्ष’ र ‘वर्षा’ तत्सम शब्ददेखि नेपाली ‘ए’ प्रत्यय लाग्दा ‘वर्ष’ र ‘वर्षा’ दुवै शब्दमा रहेका वकार र षकारलाई सुरक्षित नै राखी ‘वर्षे’ उल्लेख गरिएको छ (पृ. ११३५) । यसरी ‘वर्षे’ शब्दको उल्लेख प्रमादवश नभई अधिकांश प्रयोक्ताहरूबाट विरोध आउने आशङ्काले जानाजान गरिएको हो । विरोध जनाउने प्रयोक्ताहरू क्रमशः न्यून हुँदै गएका खण्डमा ‘बर्से’ लेख्ने दीर्घकालीन सोचमा नेपाल प्रज्ञा प्रतिष्ठान रहेको बुझिन्छ किनकि सोही ‘वर्षे’ शब्दलाई ‘बर्से’ शब्दका रूपमा पनि प्रविष्टि दिइएको छ । तद्भव शब्दमा तत्सम प्रकृतिको संरक्षण गर्ने दिशातर्फ नेपाल प्रज्ञा प्रतिष्ठानको ध्यान त गएकै छैन तर कतिपय तत्सम शब्दलाई तद्भव शब्दका रूपमा समेत प्रविष्टि दिएर तत्सम शब्दलाई क्रमशः विस्थापन गर्दै जाने सोच प्रज्ञा प्रतिष्ठानले बनाएको अनुभूति उक्त शब्दकोशको अध्ययन गर्ने सचेत पाठकहरूले अवश्य गर्छन् । तसर्थ तद्भव शब्दमा तत्सम प्रकृतिको संरक्षण गर्दै तत्सम शब्दका रूपमा प्रयुक्त शब्दको अस्तित्वलाई समेत बचाउँदै जाने विषयमा नेपाली भाषाका सचेत प्रयोक्ताहरूको गम्भीर ध्यान जानुपर्ने आवश्यकता देखिन्छ ।

प्रतिक्रिया
Loading...