नेपाली साहित्यको सम्पूर्ण पत्रिका

देवकाेटाको अन्तिम तस्बिर पछाडिकाे त्याे कथा

केही दिन यता महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे अन्तिम तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । तस्बिरका देवकाेटा र तस्बिर खिच्ने साहित्यकार मदनमणि दिक्षित दुबै हामीबीच हुनुहुन्न । तर यसभित्रकाे कथा सुन्ने बुझ्ने अहिले पनि प्रसस्तै हुनुहुन्छ । याे तस्बिर छाप्ने ‘रचना’का सम्पादक प्रतीक घिमिरेसँग हामीले अनुराेध गरेर यस तस्बिर पछाडिका कथा लेख्न अनुराेध गरेका हाैँ ।

साहित्यकारहरूलाई आम पाठकले चिन्ने तिनका सिर्जनाहरूमार्फत् नै हो । सर्जकहरूलाई तिनका सिर्जनाका अलावा प्रत्यक्ष भेटेर, सम्पर्क गरेर, आफन्त, परिचितहरूले तिनीहरूसँगको सान्निध्य, अथवा सामिप्यका आधारमा पनि कसै कसैले चिनेर आफ्ना धारणा बनाएका हुन्छन् । तिनीहरूसँग सङ्गत गरेका वर्णनहरूमार्फत् थाहा भएका तिनका आनीबानीहरू के कस्ता थिए, छन्; अथवा तिनलाई नजिकबाट जानेर बुझेर; तिनीहरूसँग एक किसिमको सङ्गतको माध्यमबाट निकट रही चिन्ने अवसर पनि केहीले पाएका हुन्छन् ।

हाम्रो परिवार साहित्य र साहित्यकारहरूलाई मन पराउने परिवार भएको हुनाले धेरै साहित्यकारहरूसँग हाम्रो विशेष सम्बन्ध रहँदै आयाे । बुबाले २०१८ सालदेखि ‘रचना’ पत्रिकाको सम्पादन र प्रकाशन सुरु गर्नुभएदेखि अाजपर्यन्त त्याे निरन्तर छ । अझ खुलेर भन्नुपर्दा याे सम्बन्ध हजुरबुबाकै समयदेखिको हो । आफ्नो परिवारसँग सङ्गतमा रहेका विभिन्न साहित्यकारहरू र तिनका सिर्जना, आनीबानीहरूका स्मरणीय सन्दर्भहरूका प्रसङ्गहरू बारेमा कुरा गरेरै हाम्रो परिवारको धेरै जसो समय बित्ने गरेको छ । बुबा राेचक घिमिरे अहिले पनि प्रधानसम्पादकका रूपमा ‘रचना’काे नेतृत्वमा रहनु भएका कारण पनि पुराना कुरा ताजा भइरहने गर्छ ।

हाम्रो परिवारसँग निकट र घनिष्ट सम्बन्ध भएका व्यक्तित्वहरूमध्ये महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि एक हुनुहुन्थ्यो । सम्पूर्ण नेपाली जगतले ‘महाकवि’ भनेर अत्यन्त उच्च सम्मान दिइएका देवकोटा जस्ता महान् सर्जक व्यक्तित्वसँग आफ्नो परिवारको पनि हिमचिम रहेको थियो भन्ने प्रसङ्ग स्मरण गर्दा मात्र पनि आफूलाई धन्य ठान्दै गौरवानुभूति हुने गर्दछ ।

सान्दर्भिक पोस्ट
प्रतीक घिमिरे,सम्पादक रचना

महाकवि देवकोटालाई मैले आफ्नो परिवारभित्र प्रत्यक्ष देख्ने, भेट्ने अवसर पाएको होइन । देवकोटाले यस धर्तीबाट बिदा लिएको तेह्र वर्षपछि म जन्मिएको हुँ । तर हाम्रा घरका हेरक सामग्रीमा देवकाेटा हुनुहुन्थ्याे । यहि कारण देवकाेटाले देह छाडे पनि हामीलाइ छाड्नु भएन ।

केटाकेटीमा बुबाले एउटा बालकविता सङ्ग्रह किनिदिनुभएको याद आउँछ । त्यहाँ विभिन्न कविहरूका बालकविता सङ्गृहित थिए । ‘सुनको दिन एक उदाउँछ रे !’ भन्ने एउटा कविता पनि थियो त्यस सङ्ग्रहमा । कविताको शीर्षकमुनि नेपाली अक्षरमा ‘लक्ष्मीप्रसाद देवकोटा’ भन्ने नाम उल्लेख भएको थियो । यो उनै महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता थियो । ‘लक्ष्मीप्रसाद’ भन्ने नामसँग यसअघि नै परिचित भइसकेको हुनाले उहाँले लेखेको कविता भनेपछि म त्यहाँ सङ्कलित अन्य कविताभन्दा त्यही कवितामा मात्र बढी चासो दिन्थें र त्यसैलाई कनीकुथी गर्दै देहोर्याइ तेहर्याइ पढ्न थालेको थिएँ । त्यो कविता यस्तो थियो–

सुनको दिन एक उदाउँछ रे !
यस देश खुलीकन आउँछ रे !
रंगिला सब बादल छाउँछ रे !
जल चंचल भैकन गाउँछ रे !
चिडिया बिउँझेर कराउँछ रे !
सब मन्दिर घंट बजाउँछ रे !
र हवा पनि बास उडाउँछ रे !
दिल फूल सबै बिउँझाउँछ रे !

बिहान सबेरै घर वरिपरिका मन्दिरहरूमा मानिसहरू दर्शन गर्न जाँदा घण्ट पनि बजाउँथे । ती घण्टका ध्वनि कर्णप्रिय लाग्थे । तिनका मधुर गुञ्जन कानमा पर्न थालेपछि हाम्रो बिहानको निद्रा खुल्थ्यो । अहिले पनि कतै मन्दिर जाँदा बिहान सबेरै कसैले घण्ट बजाएको सुन्नासाथ ‘सब मन्दिर घंट बजाउँछ रे !’ भन्ने देवकोटाका तिनै कविता अंश स्मरणमा ताजा भएर आइहाल्छ । कक्षा आठमा पुग्दा नेपाली विषयमा महाकविको चर्चित कृति ‘मुना मदन’ हप्ताको एक दिन अतिरिक्त कक्षामा पढ्नु पथ्र्यो ।

महाकवि देवकोटालाई उनका कृतिमार्फत् चिनेको यसरी भए पनि ‘लक्ष्मीप्रसाद देवकोटा’को नामसँग पहिलोपटक परिचित हुन पाएको प्रसङ्ग भने अलिक फरक र रमाइलो छ । केटोकटी बेलादेखि नै हजुरबुबा र बुबाको लेखपढ गर्ने स्थान वरपरको टेबलमा एउटा पुस्तक प्रायः रहिरहेको हुन्थ्यो । त्यो पुस्तकको नाम ‘आशौच विज्ञान’ थियो; मेरै हजुबुबा पण्डित सोमनाथ घिमिरे ‘व्यास’ले लेख्नुभएको थियो त्यो । २०१५ सालमा प्रकाशित भएको त्यो पुस्तक हजुरबुबा र बुबाको लेखपढ गर्ने टेबलमा प्रायःजसो रहिरहन्थ्यो । हिन्दुहरूले कोही आफन्तको निधन हुँदा कति दिन जूठो सुतक बार्नुपर्छ भन्ने कुरालाई विभिन्न शास्त्रीय आधारहरू देखाइ प्रमाणका रूपमा प्रष्ट्याइ लेखिएको हुनाले जूठो सुतक बार्ने सन्दर्भमा अत्यन्त उपयोगी थियो त्यो पुस्तक । पुस्तकमा घिमिरेहरूको वंशावली पनि समावेश थियो । यस अर्थमा त्यो पुस्तक घिमिरे वंशावलीबारे प्रकाशित पहिलो पुस्तक पनि थियो । पुस्तकमा कसैको केही नाता पर्ने आफन्तको निधन हुँदा कुन नाताको निधनमा उसको कति दिन जूठो बार्नुपर्र्छ भन्ने सन्दर्भ उल्लेख गरिएको हुनाले समय समयमा त्यसको उपयोग भइरहन्थ्यो । अन्य इष्टमित्र र आफन्तहरूले पनि बेलाबेलामा उनीहरूका घरमा कसैको निधन भई जूठो सुतक बार्नुपरे कसको कति दिन बार्नुपर्छ भनेर हजुरबुबा, बुबालाई सोधिरहने हुनाले हजुरबुबा र बुबाका टेबुलमा खोज्दा भेटिने गरी राखिएको हुन्थ्यो । हजुरबुबाले लेख्नुभएको त्यो पुस्तक । त्योक्रम अहिले पनि यथावत् छ । हामी कसैको जूठो सुतक बार्नुपर्दा त्यसै पुस्तकलाई आधार मानेर बार्ने गर्छौं । अन्य जिज्ञासु आफन्त, इष्टमित्रहरूले पनि बेलाबेलामा सोधिरहने हुँदा त्यसै पुस्तकलाई आधार मानेर परामर्श दिने गरेका छौं । अहिले त्यो पुस्तक अप्राप्य छ ।

‘आशौच विज्ञान’ संस्कृतका विभिन्न श्लोकहरू र तिनका नेपालीमा अर्थ उल्लेख गरिएको भाषा टीका थियो । यस अर्थमा त्यो संस्कृत र नेपाली भाषामा लेखिएको कृति थियो । तर त्यो पुस्तकमा एउटा रोचक कुरा के थियो भने त्यसको प्रस्तावना (Preface) भने अङ्ग्रेजीमा लेखिएको थियो । दुई पृष्ठ लामो उक्त Preface को सुरुवात  “This book written and published by Pandit Somanath Ghimire contains varieties of interesting matter……… I hope this book will be of great interest to readers here as well abroad. I wish it a very wide journey in the world.” भनेर समाप्त गरी अन्त्यमा प्रस्तावना लेख्ने व्यक्तिको नाममा यस्तो उल्लेख गरिएको छ–

Laxmi Prasad Devkota

Sometime Education and Local Self Government Minister. Now Member, Nepal Academy, Kavi kunja, Maiti Devi, Kathmandu Nepal

12th Marga, 2015

 

यसरी ‘लक्ष्मीप्रसाद देवकोटा’ नामसँग मेरो पहिलो परिचय भने हजुरबुबाले संस्कृत र नेपाली भाषामा लेख्नुभएको पुस्तकका लागि उहाँले अङ्ग्रेजी भाषामा लेखिदिनुभएको प्रस्तावना–भूमिकामार्फत् भएको हो ।

हजुरबुबा पण्डित सोमनाथ घिमिरे ‘व्यास’ लक्ष्मीप्रसाद देवकोटाका नजिकका मित्रमध्येका एक हुनुहुन्थ्यो । देवकोटाका दाजुभाइमध्ये उहाँ साहिँला हुनभएकोले होला हजुरबुबा उहाँलाई स्मरण गर्दा ‘साहिँला बाजे’ भन्नुहुन्थ्यो । देवकोटा भने हजुरबुबालाई ‘पण्डित जी !’ भनेर बेलाउनुहुन्थ्यो रे ! हजुरबुबा देवकोटाका बारेका आफ्ना विभिन्न संस्मरणहरू हामीलाई पनि सुनाउनुहुन्थ्यो । हजुरबुबाले आफ्नो कृति ‘आशौच विज्ञान’ को भूमिका मित्र देवकोटाबाट लेखाउने विचार गरी त्यसको पाण्डुलिपि देवकोटालाई देखाउनु भएछ । पाण्डुलिपि हेर्नासाथ उहाँले एकै बसाइमा खरर्र आफ्नो मन्तव्य अङ्ग्रेजीमा लेख्न थाल्नुभएछ । संकृत र नेपालीमा लेखिएको आफ्नो पाण्डुलिपिको भूमिका भने अङ्ग्रेजीमा लेखिदिएको देखेर हजुरबुबाले आश्चर्य मान्दै ‘यो के लेख्नुभएको साहिँला बाजे तपाईंले ?’, भनेर सोध्नुभएछ । देवकोटाले भन्नुभएछ; ‘अहिलेको जमाना अङ्ग्रेजी भाषाको भएकोले तपाईंको पुस्तकको महत्व बढोस् भनेर अङ्ग्रेजीमा लेखिदिएको हुँ !’, यसरी संस्कृत र नेपाली भाषामा कुनै लेखकले लेखेको कुनै पुस्तकमा महाकविले अङ्ग्रेजीमा लेखिदिनुभएको भूमिका संभवतः यो नै पहिलो र अन्तिम हुनुपर्छ जस्तो लाग्छ । महाकविले आफ्नो हस्ताक्षरसहित अङ्ग्रेजी भाषामा लेख्नुभएको त्यो भूमिकाको मूल प्रति हामीसँग अहिले पनि सुरक्षित छ ।

२०१५ सालतिरै महाकवि क्यान्सर रोगका कारण गम्भीर बिरामी पर्न थाल्नुभयो । नेपालमा क्यान्सर रोगको सहज उपचार अहिले त सम्भव छैन भने त्यो समयमा नेपालभित्रै यसको उपचार कल्पनाभन्दा परको कुरा थियो । देवकोटालाई कलकत्ता गएर आफ्नो रोगको उपचार गर्न मन लागेछ । त्यतिबेला तत्कालीन भारतीय काँग्रेसका पश्चिम बङ्गाल अध्यक्ष अशोक कृष्ण दत्त थिए । उनी भारतको तत्कालीन लोकसभामा एम.पी. पनि थिए । अशोक कृष्णसँग हजुरबुबाको राम्रो परिचय थियो । हजुरबुबाले अशोक कृष्णलाई महाकविको अनुरोधमा उहाँको कलकत्ताको अस्पतालमा उपचारको यथोचित प्रबन्ध गराइदिन सिफारिस गर्दै एउटा पत्र लेखिदिनुभएछ । नेपालस्थित भारतीय राजदूतावासको सिफारिस पत्र पनि देवकोटाले लानुभएको थियो । हजुरबुबाले लेखिदिनुभएको त्यो पत्रसमेत लिएर देवकोटा आफ्ना परिवारसहित कलकत्ता जानुभयो । अशोक कृष्णले पनि देवकोटालाई राम्रो सहयोग गरेछन् र उनको समेत पहलमा कलकत्तास्थित पी.जी. अस्पतालमा देवकोटाको उपचार हुन थालेछ । यी कुरा देवकोटासँगै कलकत्ता गएका उहाँका काहिँला भाइ मधुसूदन देवकोटाले हजुरबुबालाई लेखेको पत्रबाट पनि थाहा हुन्छ । देवकोटा परिवारलाई कलकत्तामा बस्ने प्रबन्ध पनि हजुरबुबाले गरिदिनुभएको थियो ।

आफ्नो काम विशेषले हजुरबुबा पनि पछि कलकत्ता पुग्नुभयो । हजुरबुबा कलकत्ता आएको थाहा पाएपछि देवकोटाले हजुरबुबालाई अस्पतालमा भेट्न बोलाउनुभएछ । उहाँको उपचार सन्तोषजनक हुन सकेको थिएन; झन् झन् गल्दै जान थाल्नुभएको थियो महाकवि देवकोटा । उहाँलाई एक किसिमले विदेशी भूमिमै आफ्नो जीवन समाप्त हुने पो हो कि भन्ने चिन्ताले सताउन थालेको रहेछ । देवकोटाले बोलाउनुभएको भोलिपल्ट फुर्सद मिलाइ हजुबुबा उहाँलाई भेट्न अस्पताल पुग्नुभएछ । अस्पतालमा हजुरबुबालाई देख्नासाथ देवकोटा घुँक्क घुँक्क गर्दै रुन थाल्नुभएछ । वास्तवमा उहाँलाई त्यतिबेला अब आफ्नो उपचार सम्भव नभएको र उपचारका लागि ल्याएको सबै पैसा पनि सकिएकोले नेपाल फर्कने खर्चसमेत नबचेकोले अब आफ्नो अन्त्य स्वदेशमा नभै बङ्ग देश (पश्चिम बङ्गाल) मै हुन लाग्यो भन्ने चिन्ताले सताउन थालेको रहेछ । परिवारको सल्लाहले तत्कालीन ५०० भारु भए नेपाल फर्कन खर्च पुग्ने अड्कल भएपछि हजुरबुबाले भारु पाँच सय रुपियाँ खल्तीबाट झिकेर तत्कालै उहाँलाई दिनुभएछ । पैसा पाएपछि देवकोटाले हर्ष मिश्रित आँसु झार्दै त्यो पैसा बुझेको कागज लेखेर दिन भाइ मधसूदन देवकोटालाई अह्राउनुभएछ । हजुरबुबाले पनि आफूले तमसुकको कागजलाई पत्याएर भन्दा पनि मित्रको व्यक्तित्वलाई पत्याएर यो रकम सहयोग गरेको हुनाले कागज गरिरहनु नपर्ने भन्दै निश्चिन्त भएर स्वदेश फर्कन देवकोटालाई सान्त्वना दिनुभएछ । देवकोटाले ‘यो ऋण तिर्न नसकी पण्डितजीको ब्रम्हस्व खाएर मरें भने मेरो आत्माले शान्ति पाउँदैन’ भन्दै तत्काल आफ्ना वरिपरि भएका केही किताबहरूमा ‘पण्डित सोमनाथ घिमिरेसँग भा.रु. पाँच सय लिएको छु’ भनेर लेख्नुभएछ । यसरी पैसा पाएको भोलिपल्टै महाकवि देवकोटा हवाइजहाजमार्फत् नेपाल फर्कनुभयो । हजुरबुबा भने काम विशेषले कलकत्तामै रहनुभयो ।

काठमाडौ फर्किएपछि पनि देवकोटालाई कथंकदाचित आफ्ना परिवारले आफ्नो निधनपछि हजुरबुबाले दिनुभएको पैसा तिरिदिएनन् भने आफ्नो आत्माले शान्ति पाउने छैन भन्ने चिन्ताले सताउन थालेछ । यसै चिन्तालाई साम्य पार्ने उपाय स्वरूप उहाँले बुबालाई घरमा बोलाई आफ्ना पिताजीलाई पनि नबताउने सर्तमा आवश्यक परेको बेलामा मात्र देखाउने गरी बुबाकै नाममा पाँच सय रुपैयाँ लिएको तमसुकको कागज गरिदिनुभएछ । पछि देवकोटाको देहावसानपछि हजुरबुबाले दिनुभएको उक्त पैसा साहित्यप्रेमी राजा महेन्द्रको शासनकाल र साहित्यप्रेमी प्रधानमन्त्री बीपी कोइरालाको कार्यकालमा तत्कालीन सरकारले फिर्ता दिएको थियो । तमसुकको कागज भने देवकोटाका जेठा दाजुले फिर्ता लिई च्यातिदिएछन् ।

एकपटक काम विशेषले महाकवि देवकोटा हाम्रो घरमा आउनुभएको रहेछ । घर आउँदा वहाँले लगाउनुभएको जुत्ताको तलुवा हिँड्नै नमिल्ने गरी बिग्रिएको रहेछ । न त नयाँ जुत्ता किनेर लगाउन नजिक कुनै पसल भएको न त जुत्ता सिउने कोही नै वरिपरि कतै भएको ! यस्तो के गरौँ र कसो गरौँ भन्ने अपठ्यारो परिस्थितिमा हजुरबुबाले एउटा उपाय सुझाइदिनुभएछ । आफूले एक दिन अघि मात्र किनेर ल्याएको तर नलाइसकेको एउटा नयाँ कपडाको चट्टी लगाएर घर जान अनुरोध गर्नुभएछ देवकोटालाई । उहाँले पनि आफ्नो पुरानो जुत्ता हाम्रो घरमै छोडेर नयाँ चट्टी लगाएर आफ्नो घर जानुभएछ । त्यो जुत्ता पछिसम्म पनि हाम्रो घरमा बुबाले सुरक्षित राख्नुभएको थियो ! देवकोटाको देहावसानपछि प्रत्येक लक्ष्मीपूजाको दिन आफ्ना साना साना भाइबहिनीहरूलाई भेला पारेर देवकोटाको त्यो जुत्तामा फूलमालाले पूजा गरेर देवकोटा जयन्ती मनाउने गरेको काका र फुपूहरूले कुरा गर्नुहुन्थ्यो । पछि बुबा काठमाडौं बाहिर भएका बखत त्यो जुत्ता कसैले अन्य पुराना जुत्तासँगै फ्यालिदिएछ । बुबा अाज पनि त्याे जुत्ता फ्याकिएकाेमा दुःखी हुने गर्नुहुन्छ ।

‘रचना’ले विभिन्न समयमा विभिन्न सर्जकहरूका विशेष अङ्कहरू प्रकाशित गर्दै आएको छ । यसै क्रममा २०३३ सालमा ‘देवकोटा अङ्क’ र २०६६ सालमा ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा अङ्क’ प्रकाशित भएको छ । २०६६ सालमा ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा अङ्क’ महाकवि लक्ष्मीप्रसाद देवकोटाको शत वार्षिकीका अवसरमा प्रकाशित भएको थियो । देवकोटाको शत वार्षिकीको अवसर पारेर त्यतिबेला सरकारले विभिन्न आफन्ते पत्रिकाहरूलाई विनामूल्याङ्कन मात्र निकटताको भरमा प्रशस्त आर्थिक सहयोग दिलाएको थियो । केही पत्रिकाबाहेक धेरै पत्रिकाले त्यतिबेला राजनीतिक प्रभावका भरमा मनग्गे आर्थिक सहयोग लिई महाकवि देवकोटाका बारेमा सामान्य र सतही अङ्कहरू प्रकाशन गरेका थिए । त्यो अङ्क प्रकाशनका निम्ति ‘रचना’ले भने कुनै पनि सरकारी, गैरसरकारी निकायबाट एक रुपैयाँ पनि सहयोग नलिई आफ्नै याथाशक्यमा महाकविलाई श्रद्धार्चन गरेको थियो । उक्त अङ्कका सामग्रीहरूको चयनमा विद्वान् अन्वेषक शिव रेग्मीको महत्वपूर्ण सहयोग ‘रचना’लाई प्राप्त भएको थियो ।

साहित्यकार मदनमणि दीक्षित तस्बिर खिच्न पनि सौखिन हुनुहन्थ्यो । उहाँ राम्रो फोटोग्राफर हुनुहुन्थ्यो । उहाँले २०१६ साल भदौ २९ गते बिहान साढे नौ बजेतिर पशुपति, आर्यघाटमा महाकवि देवकोटाको तस्बिर खिच्नुभएको थियो । बिहान नौ बजेतिर उहाँले त्यो फोटो खिच्नुभएको थियो; त्यही दिन साँझ छ बजेतिर देवकोटाको देहावसान भयो । त्यो तस्बिर नै देवकाटाको अन्तिम तस्बिर हुन पुग्यो । मदनमणिले आफूले खिचेको त्यो तस्बिरको एक प्रति बुबालाई पनि दिनुभएको थियो । त्यो तस्बिरमा मदनमणिले तस्बिर खिचेको मिति लेखेर आफ्नो हस्ताक्षर पनि गर्नुभएको छ । दिक्षितले याे तस्बिर हामीलाई दिनुमा  देवकाेटासँग हाम्राे पारिवारिक सानिध्य  त हाे नै,  पत्रिकालाई काम लाग्छ भनेर पनि हुनुपर्छ । २०७७ भदौ २९ गते साहित्यकार कृष्ण अविरलले त्यसै फोटोलाई उद्धृत गर्दै फेसबुकमा एउटा स्टाटस लेख्नुभएको थियो ।

सामाजिक सञ्जालमा याे तस्बिर लगातार हिट भएपछि अश्विनीजीले यसबारे साेधिखाेजी सुरू गर्नुभयाे । देवकाेटाकाे जन्मदिन सबैलाई जानकारी छ तर मृत्यु दिन केहीलाइ मात्र । गएकाे साेमबार महाकविकाे स्मृति दिवसको सन्दर्भ पारेर मलाइ  याे स्मरण गर्ने बहाना जुर्याे ।

सुन्नेलाई सुनकाे माला, पढ्नेलाई प्रेमकाे माला… ।

प्रतिक्रिया
Loading...