नेपाली साहित्यको सम्पूर्ण पत्रिका

अद्भुत आत्मकथा

नेपाली आत्मकथामा महात्मा गान्धी दुर्लभ छन्, नेहरु फालाफाल । आत्मकथा भनेको आफैँसँग संवाद गर्नु हो भन्ने नबुझेर कतिपय त्यसमा पनि छलछाम गर्न अभिशप्त छन् ।

मोलः १९ रुपैयाँ चानचुन मात्र (सुपथ मूल्य) । फोटोकपीको किताब बनाउँदा झन्डै एक हजार ।

यो नेपाली किताबकै साँचो कथा हो । एक लेखक, अनुवादक र प्रशासकको आत्मकथा । जम्मा एक संस्करण ३ सय ६५ थान छापिएको, त्यो पनि अधिकांश प्रति बजारबाट रातारात उठाएर नष्ट गरिएको ।

यस्तो आत्मकथाका पाना पल्टाउँदा पहिलो झमटमै औतारीपनसँग भेट हुन्छ ।

सान्दर्भिक पोस्ट

गोविन्दगिरी

आलोचना कि वन्दना ?

नयाँ राष्ट्रकवि को ?

लेख्ने– दमनराज तुलाधर ।

छाप्ने– इन्दु छापाखाना, नःटोल, ललितपुर ।

छपाउने– संग्रह प्रकाशन, श्रीमार्ग ।

बेच्ने– साझा प्रकाशनका सन्तान–दरसन्तान ।

सर्वाधिकार– भन्ने, लेख्ने र छाप्ने सबैमा बराबर ।

संस्करण– पहिलो ।

मिति- २०३९।४।९ (६६ वर्ष पूरा) ।

समर्पण– राता मछिन्द्रका काला पुजारीलाई ।

धन्यवाद– दाताराम शर्मालाई ।

आत्मकथाको आरम्भमै दमनराज तुलाधरले आत्मकथा लेखिनुको तारतम्य बुझाएका छन् पाठकलाई । बाइसकलले किच्दा गोडाको हड्डी भाँचिएर थला परेका वासुदेव शर्मा लुइटेल (संग्रह प्रकाशनका कर्ताधर्ता) लाई भेट्न गएका छन्, दमनराज र दाताराम शर्मा । दमनलाई जीवनकथा लेख्न उक्साउँछन्, वासुदेव । होमा हो मिलाउँछन्, दाताराम । अंग्रेजीबाज दमनराज तुलाधर नेपालीमा कलम त्यति सर्दैन भनेर पन्छिन खोज्छन् । तर शर्माद्वयले एक बित्ता छाड्दैनन् । दिनको सात घन्टासम्म एकै थलोमा बसेर दमनले भन्ने, वासुदेवले सुन्ने र दातारामले लेख्ने क्रम ४० दिनसम्म चल्यो र तयार भयो, आत्मकथा ।

सुरुमै जानकारी दिइहालूँ, यसका गणेश (घोस्ट राइटर) दाताराम शर्मा आफैँमा प्रख्यात लेखक र पत्रकार हुन् । ‘सिस्नु ९७’ (२०३७) का लेखक उनी हास्यव्यंग्यको दुनियाँमा प्रजातन्त्रचार्य, दत्तात्रय आदि उपनामले चिनिन्छन् । उनी ‘हालखबर’ पत्रिकाका सम्पादक एवं नेपाल पत्रकार संघ पूर्वसभापति पनि हुन् ।

दिनको सात घन्टासम्म एकै थलोमा बसेर दमनले भन्ने, वासुदेवले सुन्ने र दातारामले लेख्ने क्रम ४० दिनसम्म चल्यो र तयार भयो, आत्मकथा ।

वासुदेव शर्मा नेपाली आत्मकथा लेखाउने महाभियानका सूत्रधार हुन् । उनले २०३० देखि २०४० सम्म १०–१२ जना नेपालीको जीवनकथा टेप गर्न लगाएका रहेछन् । संग्रह प्रकाशनमार्फत हरिहर शास्त्री, शंकर कोइराला, शंकर लामिछाने, साम्बभक्त सुवेदी, धरणीधर कोइराला, नरपति शर्मा पोखरेल, भरतराज पन्त, छविलाल पोख्रेल, अलि मियाँ, दमनराज तुलाधर र मुक्तिनाथ तिमिसिना नामका आत्मकथा प्रकाशन गरेका छन् ।

नेपाली साहित्य र राजनीतिक क्षेत्रका वास्तविकता दबिन, बिलाउन र तोडमोड हुन थालेको अनुभव गरी उनले समाजका महत्त्वपूर्ण व्यक्तिहरुलाई आत्मकथा लेखाउन उक्साएका रहेछन् । साथै चरितनायकलाई सम्पादनका नाममा सत्य कुरा तोडमोड गर्ने मौका नमिलोस् भनेर निकै छोटो अवधिमै लेखिसक्नुपर्ने सर्त पनि राखेका रहेछन् ।

धेरैजसो आत्मकथाको दुर्घटनामा पर्छन् । जस्तोः नेपाली साहित्यको निबन्ध र कथामा सफल मानिएका शंकर लामिछानेकै आत्मकथा । उनी आफ्नो जीवनकथामा वास्तविकताबाट विचलित देखिन्छन् । उनले नानारंगी पर्दा हालेर ढाकछोप मात्र गरेका छन् भने दमनराज तुलाधरले ढुक्कसित जीवनका इतिवृत्त उदांगो पारेका छन् । शंकर त कतिसम्म भन्छन् भने ‘शिला हेर्न भवन किन भत्काऊँ ?’ संग्रह प्रकाशनकै ‘मुक्तिनाथ तिमिसिना’ छलछामको अर्को नमुना हो । पोखरा क्षेत्रका सामाजिक र राजनीतिक कार्यकर्ता तिमिसिनाले आत्मकथामा आजको पोखरा आफैँले बनाएको उल्लेख गरेका छन् । तर पोखरामा कसैले उनको नाम लिएको देखिँदैन ।

आखिर को हुन् त दमनराज तुलाधर ? २००७ साल अगाडिका क्रान्तिकारी राजनीतिक कार्यकर्ता हुन् भने त्यसपछिका नामुद प्रशासक । ललितपुरको बुङमतीका बाँडा उनका पुर्खा रहेछन् । उनका बाजे मुनिराज १३ वर्षको उमेरमा मच्छेन्द्रनाथको पुजारी (पानेजु) रहेछन् । उनले आफ्ना बाजेको चित्रण छ, कालो अजंगको मानिस, ११ नम्बरको जुत्ता लगाउने अनि निधारभरि कालो दाग भएको गच्याथा (टाटे) द्वारे ।

विसं १९१० मा भोटसितको लडाइँमा सबैभन्दा धेरै भरिया जुटाएबापत राणा प्रधानमन्त्री जंगबहादुरबाट सात गाउँको महानाइके लालमोहर पाएका मुनिराज ब्याजको स्याज गरेर रैतीहरुको सर्वस्व गर्थे रे । असामीलाई ठन्डीमा पोखरीमा जाक्ने र अँधेरो छिँडीमा ठिँगुरा हाल्ने । तल्लो जात (ज्यापुनी) की पत्नीबाट जन्मेकाले दमनका पिताहरुले पानेजु हुन पाएनन् । आत्मकथा समर्पण गरिएका ‘राता मछिन्द्रका काला पुजारी’ तिनै बाजे रहेछन् ।

राणाकालमा सम्पन्न खानदानमा जन्मेका दमनराजले आफ्ना बाभन्दा जेठा बाप्रति निकटता देखाएका छन् । उनी जन्मिँदा बा मोहनशमशेर जर्नेलको ढोकामा राइटर र जेठा बा चन्द्रशमशेरको दरबारमा खरिदार रहेछन् । बा बलराजमा सामन्ती प्रवृत्ति छ भने जेठाबामा वर्गीय सचेतना । बा मान्छेले तान्ने रिक्सा चढ्छन्, एकपछि अर्को स्वास्नी बटुल्छन्, परिवारका अन्य सदस्यको खाना जस्तोसुकै भए पनि आफू स्वादिष्ट व्यञ्जन खान्छन् । जेठा बा नरम लुगाले छोराछोरीको बानी बिग्रेला भनेर राणा मालिकको जडौरी छरछिमेकमा बाँड्छन्, जिब्रो मात्तिएला भनेर परिवारलाई हप्ताको एक पटक मात्र मासु खुवाउँछन् ।

दमनराजले विसं १९९१ म एसएलसी गरेका रहेछन् । त्यो वर्ष एसएलसी दिने २४ मध्ये १८ पास भएपछि महाराज जुद्धशमशेरले भनेछन्, ‘ओहो यतिका जना म्याट्रिक ! ए रुद्रराज, साइन्स पढाउनू, आर्टस् पढायो भने गफी हुन्छन् ।’ आखिर दमनराजलाई त्यही गफी हुन मन लाग्यो । त्रिचन्द्र कलेजबाट १९९३ मा आईए पढ्दा अंग्रेजी निबन्ध प्रतियोगिता गरिएछ, ‘भावी जीवनमा के पेसा लिने ?’ उनले ‘दरबारिया सेवामा लागे पराधीन हुने बरु एउटा किताब पसले हुन पाएमा स्वतन्त्र र अध्ययनशील जीवनयापन गर्न पाइने’ भनेर लेख्दा डाइरेक्टर मृगेन्द्रशमशेरले झपारे अरे, ‘अ म्यान इज नोन बाई द एस्से, ही राइट्स् ।’

घरभित्र आफ्नै जातकी र बाहिर प्रेमिका राख्ने प्रस्ताव मन्जुर गर्दैनन् । उनी बालाई हुंकार गर्छन्, ‘बेलाइती वादशाहले पत्नीको प्रश्नमा त्यत्रो साम्राज्य छाड्न सक्छन् भने मलाई यो थोत्रो घरबार त्याग्न के आइतबार ?’

थप पढ्न कोलकाता जान लाग्दा बाबुले रोकेछन् । एमए पढेर लाठसाहेब (मोहनशमशेर) को ढोकामा बस्ने बाको उर्दीपछि उनको कन्पारो तात्यो र मनमनै भने रे, ‘त्यस चिम्चिमेको कमारो हुने ?’ अनि उनले जाँचमा जसरी हुन्छ फेल हुने उद्यम गरेछन् । अंग्रेजीमा नाम मात्र लेखे पुग्ने छुट हुँदाहुँदै पनि त्यत्तिकै कलेज जीवन टुंग्याए रे ।

सन् १९४२ मा काठमाडौँमा खिचिएको यो तस्बिरको नवौँ नम्बरमा छन्, दमनराज तुलाधर । तस्बिरमा १) कुलरत्न तुलाधर, ३) अमृतप्रसाद प्रधन, ५) यदुनाथ खनाल, ६) केशवदेव भट्टराई, ८) भीमबहादुर पाँडेको मात्र पहिचान भएको छ ।
स्रोतः आमोददेव भट्टराईको ट्वीटर

दमनले आफ्ना भाइ तीर्थराज (पूर्वसचिव, राजदूत एवं ‘तिम्रो माया मार्न सकिनँ’ का गीतकार) को पनि थोरैतिनो चर्चा गरेका छन् । बिफर लाग्ला भनेर खोपाइएका तीर्थलाई झन् भयानक बिफर लागेछ । त्यही प्रकोपमा एउटा आँखाको कालो भागै रहेन, अर्को आँखामा पनि फुलो पर्यो । बाल्यकालमा तीर्थराजका आँखा कति राम्रा रहेछन् भने नामै ‘टट्टुचा’ ।

यस आत्मकथाको पूर्वार्ध खण्ड रोमान्टिक छ भने उत्तरार्ध व्यावहारिक । नक्कली नायकत्व फर्माउने आत्मकथाको खेतीपाती चलिरहँदा दमनराजलाई स्मरण गर्नुको एक मात्र तात्पर्य हो, व्यक्तिगत गोपनीयता नराख्नु । उनले ११ वर्षको उमेरमा आफूभन्दा जेठी केटीसित नरदेवी, जन्मामुगः टोलमा बिहेको खेल खेल्दाखेल्दै कामक्रीडाको ‘पहिलो पाठ पढेको’ प्रसंग बिनाहिचकिचाहट लेखेका छन् । अढाई–तीन वर्ष ‘वैकुण्ठ आनन्द’ भोगेपछि केटीको वीरगन्ज साहूको छोरासित बिहे भयो रे । सात महिनामै काटीकुटी ट्वाक्कै दमनकै अनुहार भएकी छोरी जन्माइन् रे ।

धादिङकी श्रेष्ठ थरकी केटीसित गोप्य विवाह गरेपछि उनी पारिवारिक दबाबमा पर्छन् । तर घरभित्र आफ्नै जातकी र बाहिर प्रेमिका राख्ने प्रस्ताव मन्जुर गर्दैनन् । उनी बालाई हुंकार गर्छन्, ‘बेलाइती वादशाहले पत्नीको प्रश्नमा त्यत्रो साम्राज्य छाड्न सक्छन् भने मलाई यो थोत्रो घरबार त्याग्न के आइतबार ?’

दमनराज कति अधीर र अस्थिर छन् भने, बाले भगाएर ल्याई आफ्नो कोठामा हुलिदिएकी नारीसँग पहिलो रातमै समागम गर्न पुग्छन् । सत्यनिष्टताका हिसाबले यो किताब अज्ञात अनुवादकको महात्मा गान्धीको आत्मकथा ‘मेरो सत्यको प्रयोग’ (२०१९) र गोपालदास श्रेष्ठको अनुवाद रहेको जाँ ज्याक रुसोको ‘कन्फेसन्स’ (२०२९) को छेउछाउ देखापर्छ ।

दमनराजले विसं १९९६ देखि २००२ सम्म जुद्धोदय स्कुलमा अंग्रेजी पढाएछन् । उनका विद्यार्थी रहेछन्, सूर्यबहादुर थापा, भुवनलाल जोशी, रञ्जनराज खनाल,  गोपालदास श्रेष्ठ, मणिराज उपाध्याय आदि । पद्मशमशेर शासनमा आएपछि उनी राजनीतिक गतिविधिमा ज्यादा सक्रिय भए । खुला राजनीतिक दल खोल्ने अभीष्टले पशुपति र शोभा भगवतीमा प्रार्थना सभा गरे । ‘म गर्छु देश सेवा,’ ‘जंगी निशान हाम्रो’ गोपालप्रसाद रिमालका त्यही बेलाका प्रार्थना हु्न् । साथीहरु भेट हुँदा गरिने अभिवादन थियो, ‘जयनेपाल’ ! अन्ततः रिमालसहित उनले एक वर्ष जेल सजाय पाए । त्यही बेला उनले छोरासहित पत्नीसँग छुटकारा लिए ।

जेलमुक्तिपछि उनी नेपाली राष्ट्रिय कांग्रेसका नेताहरुको झगडा मिलाउन भारत गए । बनारसमा डिल्लीरमण रेग्मीलाई भेटेर भने रे, ‘क्या हो, तपाईंहरुको चाला ? अहिले नै कांग्रेसको सभापति हुन यत्रो रडाको मच्चाउनु हुन्छ भने भोलि नेपालको प्रधानमन्त्री हुने बेला के पो गर्नु होला ?’ यही शैलीमा उनले पुष्पलाललाई पनि हकारेछन्, ‘क्या हो तिमीहरुको केको झगडा हो ?’ पुष्पलालको न्याउन्याउ उनले बुझ्दै बुझेनन् रे । कोलकातामा बीपी कोइराला र गणेशमान सिंह भेट्दा पनि त्यसरी नै हकारे रे, ‘हेर यी कोइराला र रेग्मी भनेको त हामी काठमाडौँमा बस्नेलाई कोही न कोही । गणेशमान र पुष्पलालका लागि सबै साथी मरिमेट्न तयार छन् । बिन्ती छ, मिलिदेओन बा ।’

राणाशाही ढलेपछि आफ्नो राजनीतिक कर्तव्य पूरा भएको ठानी निजामती सेवामा प्रवेश गरे, योजना विकास मन्त्रालयको असिस्टेन्ट सेक्रेटरी भएर ।

एकाध महिनामै राजनीतिबाट बिरक्तिएर उनी दार्जीलिङ हान्निए । त्यहाँ केही समय पढाएपछि मास्टर नै भएर धनकुटा हुँदै चैनपुर पुगे । काठमाडौँ फर्केर नेपाल प्रजापरिषद्को महामन्त्री भए । अर्को विवाह गरे । राणाशाही ढलेपछि आफ्नो राजनीतिक कर्तव्य पूरा भएको ठानी निजामती सेवामा प्रवेश गरे, योजना विकास मन्त्रालयको असिस्टेन्ट सेक्रेटरी भएर । उनी जागिरे भएपछि राजा त्रिभुवन अचम्मित भएछन्, ‘तिमी पनि जागिरदार भयौ ? मैले तिमीबाट के के काम लिन खोजेको थिएँ ? जागिरे भयौ, भइहाल्यो ।’ उनी कस्ता कर्मचारी रहेछन् भने पिउनलाई पनि ‘तपाईं’ को ‘तपाईं’ लगाउने । त्यसैले कसैले टेर्दा रहेनछन् ।

परराष्ट्र मन्त्रालयमा सरुवापछि उनले थाहा पाउँछन्, नेपालले कुनै मुलुकसँग दौत्य सम्बन्ध जोर्न खोजेमा भारत सरकारको अनुमति लिनुपर्ने, बिनाअनुमति चीनसँग दौत्य सम्बन्ध राखेकामा भारत रुष्ट भएको, पाकिस्तानसँग दौत्य सम्बन्ध जोर्न नहुने भारतले अडान लिएको । रुस, जापान, श्रीलंका, जर्मनी, इजरायल लगायत १६ देशमा दौत्य सम्बन्धका लेखापढी गरेका उनले नै राजा महेन्द्रको राज्याभिषेक सम्भाषण तयार गरेका रहेछन् । राजाकै छेउमा बसेर मदिरासहित अरु अंग्रेजी भाषण लेख्ने अनुभव पनि गरेछन् ।

२०१३ सालमा राष्ट्रसंघको एघारौं महासभामा नेपाल पहिले पटक सहभागी हुँदा उनी पनि रहेछन् । प्रतिनिधिमण्डलका नेता परराष्ट्रमन्त्री चूडाप्रसाद शर्मा थिए भने उपनेता राजाका भाइ हिमालय । ६ सदस्यीय प्रतिनिधिमण्डलमा अधिराजकुमारी प्रिन्सेप, शिक्षासचिव केशरबहादुर केसी, राजाका सचिव सरदार हंसमान सिंह र उनी । त्यही बेलाको ‘पफर्मेन्स’ का कारण राष्ट्रसंघका प्रथम महासचिव ड्याग ह्यामरसोल्ड हवाई दुर्घटनामा पर्दा छानबिनको जिम्मा नेपाललाई दिइएको भैरव रिसालले आफ्नो पुस्तकमा लेखेका छन् ।

त्यतिबेला एक सुन्दरीप्रति आफ्नो नजर परेको र विवाह गरी घरजम गर्न गरेको अफर स्वीकार नगरेको पनि दमनले आत्मकथामा लुकाएका छैनन् । जे काममा खटाए पनि जाने, खटाएको काम सफल पारेर फर्कने दमनराजलाई ५० वर्ष पुग्दानपुग्दै राजीनामा मागे मुख्यसचिवमार्फत सचिवले । तोरी महाजन र पर्वत चुरोटको डिलर हुने सपना त देखे । तर फेरि पनि राजाका भाषण नेपालीबाट अंग्रेजीमा अनुवाद गर्ने सुतीखेतीमै लागे । उनले एकमुष्ट १० हजार लिएको अनि मृगको छालाले मोरिएको डिलक्स किताब हो, ‘प्रोनाउन्समेन्ट अफ किङ महेन्द्र अन पन्चायतक्रेसी’ । राजालाई रिझाएर राजदूत हुने भूत पनि सवार भयो उनमा । राजा महेन्द्रले भनेका पनि थिए रे, ‘तिमीजस्तालाई राजदूत नबनाए कसलाई बनाउने ?’

जागिर छाडेपछि दिउँसो पनि रक्सी खाएर सुती सुत्दा स्वास्थ्य प्रतिकूल हुँदै गएको बुझी उनले भारतको सीतामढीबाट ६ वटा मुर्रा भैँसी ल्याए र जावलाखेलमा महिषासुर दुग्ध उत्पादन केन्द्र खोले । गोठाला फेर्दाफर्दै महिषासुर भाइरस लाग्यो । ती भैँसीहरुमाथि मासुको मोलमा कसाहीलाई बेचेर पठाउनुपर्यो । उनलाई ५० हजार ऋण लाग्यो । सँगसँगै उनको कुरा काटेर पेटको कीरा मार्न थालियो, ‘कत्रो विद्वान् भनेको त भैँसी गोठालो पो रहेछ ।’

राजालाई रिझाएर राजदूत हुने भूत पनि सवार भयो उनमा । राजा महेन्द्रले भनेका पनि थिए रे, ‘तिमीजस्तालाई राजदूत नबनाए कसलाई बनाउने ?’

राजसेवामा दमनराजले कुनै कसर बाँकी राखेनन् । राजाको तेहरान जाने बेला शहंशाह रेजा पहलवीलाई उपहार दिने भनी सत्यमोहन जोशीले लेखेको ग्रन्थ ‘गुलाफ र गुराँस’ अनुवादको जिम्मा आयो । त्यस ग्रन्थमा राजामाथि प्रयोग भएका अतिशयोक्ति उचित नलागेर उनले अंग्रेजीमै अर्को पुस्तक लेखे,  ‘नेपाल एन्ड इरानः अ टेल अफ टू ल्यान्डस्’ । राजाले दसैँ खर्च पठाए, हजारका दुइटा नोट । पुस्तकको इतिश्री गरेर राजाको दर्शनभेटका लागि व्यग्र दमनराज खबर पाए, राजाको निधन । उनले छाती पिटीपिटी रुँदै ४४ हरफे कविता कोरे, ‘राजा महेन्द्रको चितामा बसी… ‘। राजदूत हुन नपाए पनि त्यति गरेपछि उनको मानसिक स्थिति हलुंगो भयो र आत्मकथा त्यहीँ बिट मारिदिए ।

जे होस्, दमनराज तुलाधर तत्कालीन समाज, राजनीति, प्रशासन र कूटनीति बुझ्ने आँखीझ्याल हो । यसमा आफूलाई मन नपरेका, चित्त नबुझेका, कमजोरी र मूर्खतापूर्ण काम किटेर लेखिएको छ । दमनराजले आफ्नो एकपाखे सौर्य र सौरभ देखाउने अतिरिक्त अभ्यास गरेका छैनन् । बरु आफ्नो प्रत्युत्पन्न मतीलाई नै मलजल गरेका छन् ।

आत्मकथामा खास पाठकले आदर्शको चुली होइन, इमानदारी खोजेको हुन्छ । यस्तो विष्फोटक आत्मकथा न दमनराजभन्दा पहिले लेखिएको थियो, न त त्यसपछि नै लेखिएको छ । सत्य स्वीकार गर्दा पाठकीय दृष्टिमा उनको उचाइ न अग्लो भएको छ, न त होचो नै भएको छ । जे हो, त्यही छ ।

गुगल गर्दा दमनराज तुलाधरको बारेमा खासै जानकारी हात लाग्दैन । विकिपिडियामा समेत उनी गयल छन् । सबैभन्दा खेद त उनको तस्बिर पनि भेटिएन, मृत्यु कहिले भयो भन्ने पनि थाहा पाउन सकिएन । गुडरिड्सडटकममा मैले नै उनका बारेमा पत्रिकामा लेखेका सामग्री भेटिन्छ । बरु द युनिभर्सिटी अफ क्यालिफोर्नियाले आफ्नो साइटमा उनको नाममा दुई किताब देखाएको छ, ‘तीन दिनको एक महिना’ र ‘कन्टेम्पोररी नेपाल’ ।

साथै राजेश गौतमका पुस्तकमा सहिद गंगालालसित कामाक्षदेवीले ‘दाइ केही भन्नु छ कि भन्नुस्’ भन्दा ‘मैया बहिनी, मेरो जीवनी दमनराज तुलाधरलाई भनेर, सोधेर लेखाउनू, साथीहरूलाई बनाएको बाटो नभुल्नू भनिदिनू’ भनेको उल्लेख छ । तर आत्मकथामा भने छैन । पुस्तकमा उनका दुई छोरी र एक छोराको प्रसंग आउँछ । उनीहरुले पनि दमनराजको कृतित्वको मर्म जगाउने कोसिस गरेको देखिँदैन ।

साँच्चै भन्ने हो भने मलाई दमनराज तुलाधरको अवैतनिक दूत भने पनि हुन्छ । तर म यसको श्रेय दिन्छु, लेखक सौरभलाई । हरेक भेटमा आत्मकथाको चर्चा हुँदा लेखक सौरभले नाम लिने पुस्तक हुन्थ्यो, दमनराज तुलाधर । तर बजारमा नपाइने पुस्तक कहाँ खोज्ने ? पछि उनले एक पत्रिकामा प्रिय दर्जन किताबको नवौँ नम्बरमा राखेका छन्, यसलाई ।

यसको किन चर्चा गरेको हुँ भने मलाई सौरभको छनोट मन पर्छ । रोचक कुरा, अनलाइनमा दर्जन भनिए पनि यसमा एउटा किताब छुटाइएको छ । पुलागुँ मे मुना (मानदास तुलाधर), डिक्सनरी अफ क्लासिकल नेवारी (नेपाल भाषा डिक्सनरी कमिटी), तङसिङ तक्मा मन्दुम (बैरागी काइँला-राई मुन्दुम गायनतर्फ झुमा लिम्बूको खासामु) महाभारत (ज्ञानमणि नेपाल), राईबाबासँग साक्षात्कार (गोविन्द टण्डन), देवकोटाका आनीबानी (घटराज भट्टराई), मुनामदन (लक्ष्मीप्रसाद देवकोटा), तरुण तपसी (लेखनाथ पौड्याल), दमनराज तुलाधर (दमनराज तुलाधर), म रुँदै बिर्सन्छु (मदनमणि दीक्षित), सयरंगी घुम्टोभित्र हुम्ला (श्रीकृष्ण गौतम) ।

यस्तै बेला मलाई बहुप्रतीक्षित आत्मकथा पढ्न दिएका थिए, साथी सीताराम बरालले । उनले यसलाई भेटाएका रहेछन्, नेपाल वायुसेवा निगम अगाडि फुटपाथको सेकेन्डह्यान्ड किताब पसलमा । साढे दुई दशक अगाडि त्यसलाई सामान्य मात्र ठानेर महत्त्व नदिए पनि पछि मन जितेछ क्यारे । परराष्ट्रविद् मिलन तुलाधरसँग पुस्तक प्रसंग निकालेछन् । मिलन झसंग भएछन्, ‘दमनराज त मेरा मामा हुन् । परिवारसँग पनि छैन, मैले त देखेको पनि छैन । तपाईंसँग छ ?’

धेरैले मागे तर दिइनँ । पत्रकार तीर्थ कोइरालालाई मैले सीतारामजीकै नाम लिएर पन्छाएँ । कुनै कुनै किताब पटकपटक पढ्न मन लाग्छ ।

पछि के थाहा भयो भने तुलाधरको विवादास्पद आत्मकथा परिवारले बजारबाट खरिदेर जलाइदिएकाले आम पाठकमाझ पुग्नै पाएको रहेनछ । एक त कम छापिएको र त्यसमाथि काठमाडौँमा पुस्तक पसल पनि थोरै भएकाले जफत गर्न सजिलो पक्कै भयो । धन्न सबै किताब मासिएको रहेनछ ।

सीतारामजीबाट मैले फोटोकपी पाएँ । मैले यसबारे चर्चा गरेँ, लेखेँ । मैले पठनीय आत्मकथाको सूची बनाउँदा ध.च. गोतामेको ‘कालान्तर’, भैरबबहादुर थापाको ‘हिँड्दाहिँड्दै बनेका तस्बिरहरु’, सुनीता दनुवारको ‘आँसुको शक्ति’, डा. शंकर उप्रेतीको ‘जीवन एक सपना’ सँगै यसलाई राखेको छु । त्यतिबेला आत्मकथाको आवरणमा ‘द’ च्यातिएकाले रातो अक्षर थपेर फोटो बनाउनु परेको पनि सम्झन्छु ।

धेरैले मागे तर दिइनँ । पत्रकार तीर्थ कोइरालालाई मैले सीतारामजीकै नाम लिएर पन्छाएँ । कुनै कुनै किताब पटकपटक पढ्न मन लाग्छ । अर्काको हात पुगेपछि त्यो अवसर पाइँदैन । लेखक वसन्त थापा उर्फ ऋतुराजसँग पनि मैले यसबारे फर्माएको थिएँ । उनले आफ्नी साथीलाई चुहाएछन् । आखिर मैले दिनैपर्यो । अन्तर्यमा हिमाल किताब (वसन्त थापाको प्रकाशनगृह) ले ‘दमनराज तुलाधर’ छाप्ने इन्तजाम गर्छ कि भन्ने पनि छ ।

लकडाउनका बेला मलाई त्यो किताब तेहेर्याउन मन लाग्यो । आफूसँग थिएन । वसन्त थापासित ताकेता गर्न पनि मन लागेन । अहिले यो लेख्ने बेला साथी बीएन जोशीबाट लिनुपर्यो । यो त झन् फोटोकपीको पनि फोटोकपी परेछ । संयोगवश यो फोटोकपी दमनराज तुलाधरले २०३९।७।२१ मा ‘छोरी अनिता तुलाधरलाई स–स्नेह’ उपहार गरेको परेछ ।

अप्राप्य र दुर्लभ भएकाले होला, नेपाली साहित्यमा यस पुस्तकको खासै चर्चा छैन । ‘नेपाली जीवनी र आत्मकथाको सैद्धान्तिक ऐतिहासिक विवेचना’ (२०४४) मा भिक्टर प्रधानले यसबारे विशद् आलोचकीय दृष्टिकोण राखेका छन् । लेखकमा उच्चताभास भएको, साहित्यिक ओज र कलात्मक सौष्ठव नभएको, राणाप्रति तीव्र विरोध र घृणा पनि गर्ने, राणाको कृपादृष्टि पनि चाहने द्वैध मानसिकता राखेको, बाको सामन्ती चरित्र पनि देखाउने, आदर्श पनि मान्ने गरेको, पूर्वार्ध चाखिलो र उत्तरार्ध अलि फितलो भएको, आदि इत्यादि । यद्यपि दमनराज तुलाधरको आत्मकथामा सत्यनिष्ठताको तुलनामा आत्मप्रवञ्चना थोरै छ । त्यति अपत्यारिलो पनि लाग्दैन ।

जीवनी र आत्मकथाको फरक कति हो भने एउटामा आत्मपरकता हुन्छ भने अर्कामा परात्मकता । ‘दमनराज तुलाधर’ अत्यन्त रोमाञ्चक जीवन भएका व्यक्तिको आत्मकथा हो । अझै पनि आमरूपमा आत्मलेखन आत्माश्लाघा र आत्मसंकोच, सामाजिक नैतिकताको पर्दा, समयको दूरी र समकालीनको भयबीच रूमल्लिएको छ । स्वाङ, पाखण्ड, बडप्पन र मपाईंत्वको बिगबिगी देखिएको छ । आत्म–प्रस्तुतिभन्दा पनि आत्मपरिचय निर्माणमै जोडबल लगाएकाले आत्मकथा पढेर निराश हुने पाठकको जमात ठूलो छ ।

सायद ६६ वर्ष लागिसकेकाले दमनराजमा करिअरको लोभलालच देखिँदैन । त्यसैले उनको ‘कन्फेसन’ को झड्का तीन दशकपछि पनि उस्तै छ । विषयवस्तु बलियो छ भने प्रस्तुति सरल । “यो नेपाली माटो चिनेको आत्मकथा हो । तुलाधरको जगमा आत्मकथा लेखिएको भए नेपाली समाज धेरै अघि पुगिसक्थ्यो,’ लेखक सौरभको टिप्पणी छ, ‘जर्नेल, मन्त्री, सचिव हुनेबित्तिकै ती उल्लेखनीय हुन्छन् या पठनीय हुन्छन् भन्न सकिँदैन । तीन करोड नेपालीकै आत्मकथा लेखियो भने कसले, किन र केका लागि पढ्ने ?’

नेपाली आत्मकथामा महात्मा गान्धी दुर्लभ छन्, नेहरु फालाफाल । आत्मकथा भनेको आफैँसँग संवाद गर्नु हो भन्ने नबुझेर कतिपय त्यसमा पनि छलछाम गर्न अभिशप्त छन् ।

कुनै बेला भारतीय समाजवादी चिन्तक राममनोहर लोहियाले इमानदार नहुनुभन्दा आत्मकथा नलेख्नु नै जाती हुने अभिव्यक्ति दिएका थिए । उनलाई सोधिएको थियो, ‘तपाईं आत्मकथा किन लेख्नुहुन्न ?’ उनले भने, ‘किनभने, म महात्मा गान्धीले जस्तो पूराका पूरा सत्य कुरा लेख्न पनि सक्दिनँ र जवाहरलाल नेहरुले जस्तो पूराका पूरा झूटो कुरा लेख्न पनि सक्दिनँ ।’

नेपाली आत्मकथामा महात्मा गान्धी दुर्लभ छन्, नेहरु फालाफाल । आत्मकथा भनेको आफैँसँग संवाद गर्नु हो भन्ने नबुझेर कतिपय त्यसमा पनि छलछाम गर्न अभिशप्त छन् । ‘यहाँ आत्मकथाकार त उदाएका छन्, अरूलाई होइन आफैँलाई ढाँटेर,’ सौरभ थप्छन्, ‘धेरैका आत्मकथा या जीवनी टाइम क्याप्सुलभन्दा व्यक्तिगत चिनाटिपनका रूपमा छन्, रमेशनाथ पाण्डे, मुक्तिनाथ तिमिसिनाकै कार्बन कपी भएर निस्किए ।’

पछिल्लो समय सेलिब्रिटीदेखि अर्बपतिसम्मका आत्मबखान आलोचित भए । ज्ञान, अनुभव र आरोह–अवरोहभन्दा पनि आत्मकथाका रूपमा झूटकै पुलिन्दा आउन थालेकाले पाठकमा एकखाले डिप्रेसन भइसकेको छ । त्यसो त जीवनका दुर्घटना लुकाउन्जेल महान् मान्ने र त्यसलाई इमानदारीपूर्वक पोख्दा परिवार र समाजबाटै प्रताडित हुनुपर्ने अवस्था पनि आउँछ ।

कतिपय समाजमा कन्फेसन हुन्छ, कन्फेसन गरेपछि माफी मिल्छ ।  हामीकहाँ चाहिँ जीवनभर कालो धब्बा लाग्छ । आत्मवृत्तान्तकारको इमानदारीलाई लिएर मजाक उडाउने र खेद्ने भएकाले पनि अधिकांशले दमनराज तुलाधरले जस्तो दुस्साहस गर्न सक्दैनन् । एक पाठकका रुपमा उत्सुकता छ, दमनराज तुलाधरको आत्मकथा कहिलेसम्म फोटोकपी किताबमै सीमित होला ?

 

प्रतिक्रिया
Loading...