नेपाली साहित्यको सम्पूर्ण पत्रिका

नवीन क्षेत्रीका दुई कविता

हजुरबुवा

नवीन क्षेत्री

हजुरबुवा, आज तपाईंको फोटो हेर्दा
त्यसमा तपाईंको खुइलिएको कोट
र निधारका खुम्चिएका रेखाहरुबाट
वर्षौंको मेहेनत छचल्किएको देख्छु

मलाई तपाईं बित्नु भएको
त्यो वसन्तको दिन याद आउँछ

म सम्झन्छु – बगैनविल्लाको लहरा
गुलबी फूलसँगै मेरो कोठाको झ्यालसम्म चढेको थियो ।
त्यसका जराहरू
माटोका कणहरू समाउँदै आँगनभरि फैलिएका थिए।

हजुरले छोडेर जानु भएको पनि बीस वर्ष भयो
मेरो बिहे भयो, सम्बन्ध विच्छेद भयो, दुई छोराहरु पनि छन्
तरै पनि हजुरको नाम एक प्रिय तक्मा जस्तै बोकेर हिँडिरहेछु

फोटोको छेउमा, हजुरले बनाएको चित्र,
खिया लागेको काँटीमा झुन्डिएको छ
चित्रमा जुनेली रात छ; तलाउमा एउटा हाँस पौडिरहेछ
त्यो हेमन्त ऋतुको एउटा साँझ हुनुपर्छ
रूखहरू पछाडिको कालो छायाँ
अनि मधुर उज्यालो
कुनै खेततिरबाट आएको हुनपर्छ
र त्यो स्थान शायद चितवन हुनुपर्छ
जहाँ बेलुकाको घाम अबेरसम्म पहाडको चुचुरोमा अलमलिन्छ
र, गर्मीको रात जूनको उज्यालो
महाभारत पर्वतसम्म पुग्छ

त्यो समय धान पाक्ने समय पनि हो
जङ्गली हात्तीहरु खोला तरेर रातभर चर्न आउँछन्
गाउँलेहरु अघिल्लै साल ल्याइराखेका पटकाहरु निकाल्छन्
ती कुनै पनि पटका ओसिएर पड्कँदैनन्
त्यसपछि हात्तीलाई धपाउन
पुल्ठो बाल्दै टिन र ढोलहरू ठटाउँछन् ।

 

बेलुनवाला

मलाई त्यो बेलुनवाला आजसम्म पनि याद छ
हामी सानो छँदा गाउँमा बेलुन बेच्न आउँथ्यो
बाँसको लामो डण्डीमा
रातो, पहेँलो, हरियो अनि सेतो
रंगी बिरंगी बेलुनहरु
सजिएका हुन्थे
बेलुनभित्र छयाङ्ग, छयाङ्ग, बजोस् भनेर
उसले तोरीको गेडाहरु राख्थ्यो
बेलुन फुक्दा उसका ताउलागेका जुँगा सँगसँगै नाच्थे
निधारका रेखाहरू तनक्क तन्किन्थे
नाकको टुप्पोबाट पसिनाका थोपाहरु ढलपल गर्दै खस्थे
बेलुनको फेद गाँठो पारेर त्यही बाँसमा बाँधेको हुन्थ्यो
बिना चप्पल हिँड्दा फुस्रा भएर चिरिएका खुट्टा
र माछाजस्तै गनाउने जिउ लिएर
घाम-पानी नभनी
एउटा सानो डमरू बजाउँदै ऊ गाउँ पस्थ्यो

पछि त्यो बेलुनवाला साइकल लिएर
गिट्टीमा साइकलको टायर उफार्दै, धुलो उडाउँदै
फलामको सिलिन्डरसहित
भदौरे घाममा नाङ्गो ढाड सेकाउँदै आउन थाल्यो

हामी पछि पछि कुद्थ्यौँ
अझै पछि आउँदा ऊसँग उड्ने बेलुन थियो
हामी बेलुन किनेर पुच्छरमा चिट्ठी लेखी उडाउँथ्यौँ

म लडाईंमा बित्नु भएका
मेरा बुबालाई धेरै चिट्ठीहरू लेख्थेँ
बेलुनवाला आकाशतिर देखाउँदै भन्थ्यो
तिम्रो बुबा ऊ त्यहाँ तारासँगै हुनुहुन्छ

म ती बेलुनहरूमाथि आकाशमा विलिन नहुन्जेल टोलाइरहन्थेँ
तीमध्ये केही हावामा उड्दाउड्दै फुट्थे, केही त्यतै कतै बिलाउँथे
मेरा आँखाहरू भने निरन्तर बेलुनमै टिकेका हुन्थे ।

प्रतिक्रिया
Loading...