नेपाली साहित्यको सम्पूर्ण पत्रिका

कृति समीक्षा : लयभित्रको सन्नाटा

अहिले युवा कविहरूले लेख्ने कविताको विषवस्तु भनेको नै विगत र वर्तमानका जीवनशैलीमा देखापरेका तीता, टर्रा, रुग्ण, विसङ्गत तथा विकृत पक्षको साङ्केतिक टिप्पणी गर्दै उज्यालो भविष्यतिर उन्मुख हुन आग्रह हो । कविहरू मनमय र तनमय चित्रणका साथ प्रकृतिको शाश्वत र आन्तरिक सौन्दर्य प्रस्तुत गर्दछन् । यसरी कवितामा चित्रण हुने प्रकृति मुक्त तथा सजीव रूपमा आएको देख्न सकिन्छ । त्यसै गरेर सामाजिक यथार्थको वस्तुपरक अभिव्यक्ति दिने क्रममा नेपाली ग्रामीण समाजका संस्कृतिहरूलाई कविहरूले कविताको विषय बनाएका हुन्छन् । Image may contain: 1 person

केही समयअगाडि बजारमा नरेन्द्रकुमार नगरकोटीको ‘सन्नाटाको लय’ कवितासङ्ग्रह आएको छ । २८ वटा कविता राखेर सङ्ग्रह तयार पारेका नगरकोटीले सङ्ख्याका हिसाबमा कविताको थुप्रो लगाउनुभन्दा पनि कविताको गुणस्तरमा ध्यान दिनुपर्छ भन्ने मान्यता राखेको देखिन्छ । नगरकोटी समाजमा देखे भोगेकै कुरालाई कविताको विषय बनाउँदछन् । नेपाली संस्कृति र सामाजिक संरचना, राजनीतिक परिघटना र जीवन भोगाइका क्रममा आएका संवेगहरू उनका कविताका विषयवस्तु हुन् ।

सङ्ग्रहभित्रका कविताहरूमा उनले मानव जीवनको यथार्थ चित्रण र सामाजिक परिघटनाहरूको अभिव्यक्ति समेटिएका छन् । ‘सन्नाटाको लय’ सङ्ग्रहभित्रको पहिलो शीर्ष कविता हो । यस कवितामा वर्तमान समयका मान्छेको निनादलाई

भेट्न सकिन्छ । देशको छातीमा अनेक प्रकारका क्रियाकलापहरू भइरहेका छन्, जुन क्रियाकलापमा देखिएको सन्नाटामा हामीले के भेटिरहेका छौँ भन्ने प्रश्न कविले छोडेका छ

न् । हाम्रो अस्तित्व कतातिर गइरहेको छ ? हामीले के के कुरा पायौँ र के के कुरा गुमायौँ ? यो सन्नाटाको लयमा मानिसहरूको शान्तिको निनाद कसले बुझ्ने ? एउटा ठूलो प्रश्न कविले छोडेका छन् ।

मार्च ८ मा बाको सम्झना सङ्ग्रहभित्रको दोस्रो कवितामा बाहरूको कथालाई मार्च आठमै सम्झिनुको ध्वन्यात्मक अर्थलाई कविले समेट्न खोजेका छन् । आफू जति नै गरिब भए पनि आफ्ना छोराछोरीको जिन्दगीलाई अरूको हातमा सुम्पिन नचाहने बाहरूको सामूहिक मनोबललाई यो कविताले देखाउन खोजेको छ । कवि यसरी लेख्छन् ः

आँखैमा राखे पनि कहिल्यै नबिझाउने
आफैँमा आँखाको नानी
मेरा बा दस रुपैँया ऋण तिर्न नसकेर
साहुको अल्टिमेटम सुनिरहँदा पनि
कहिल्यै सोच्नुभएन बाले
‘छोरीलाई कमलरी राख्न पाए ………….’।

(मार्च ८ मा बाको सम्झना)

रापिलो कविता शीर्षकको कवितामा कविले आफ्नी आमा अनपढ हुनुमा स्वयम् आमा दोषी छैनन्, मावलका हजुरबा पनि दोषी छैनन्, दोषी त यो देशको सरकार हो भन्दै कविले सरकारप्रति आक्रोस पोखेका छन् । यहाँ आएको कविको विचारले कतिसम्म समाजको समानधर्मितालाई बोक्न सकेको छ ? कविले सामाजिक संस्कृतिलाई किन हेरेनन् ? कवि र कविताले उठाएको यो प्रश्नले बौद्घिक बहस चाहेको छ ।

नगरकोटी सबाल्टर्नमैत्री कवि पनि हुन् । टुप्पाबाट लेखिएको पहिचानका कारण जराको पहिचान हराएको प्रसङ्गलाई मेटामोर्फोसिस कवितामा प्रस्तुत गरेका छन् । यही माटोमा जन्मिएपछि हाम्रो पहिचान किन मेटिन्छ ? यो देशको निर्माण कार्यमा आपूmहरूको योगदान भएको तर हाम्रो योगदानको कदर नभएको भन्दै विद्रोहको भाव व्यक्त गर्दछन् । यो देशका महलका चट्टानहरूमा हाम्रै ‘फिङ्गरप्रिन्ट’ देखिन्छ भन्दै कविले ककसको कति थोपा आँसुले भरिएको हो रानीपोखरी ? र त्यसमा हाम्रै आँसु कति छ ? को हुन् हाम्रा पुर्खा ? कसले लुकायो सत्यको कूलदेउता ? कसले उखेल्यो हाम्रो चेतना र वीरताको धरहरा भन्ने प्रश्न गर्दै कविले लेखेका छन् –

‘फिभर’ले सताएको छ देशलाई
एक दिन गल्नेछ उत्तेजित विचार
खस्नेछ हिमपहिरो सत्ताको आरोहणताका
र पुरिनेछन् आरोहीहरू ।

(मेटामोर्फोसिस)

ढुकढुकीको आवाज, अतृप्ति, एउटा अर्को गीत, गर्मी, सपनाको अवशेषमाथि एउटा कविता, रेमिट्यान्स र धुन, डर लगायतका कविताहरूले हामी बाँचेको समाजको सामाजिक एवम् सांस्कृतिक पाटोलाई देखाएका छन् । नेपाली साहित्यका पाठक अहिले सचेत र बुझेका छन् । आफ्नोपन नभएका जुनसुकै साहित्यलाई पनि अबका पाठकले स्वीकार्न सक्दैनन् । कवि नरेन्द्र नगरकोटीले गाउँ सम्झेर एक साँझ शीर्षकको कवितामा गाउँको मायालाई उतारेका छन् । जन्मिएको गाउँ छोडेर टाढा भएपछि लेखिने गरेका कविताकै लयमा लेखिएको यो कवितामा प्रकृतिप्रेम र ग्रामीण सभ्यता र संस्कृतिलाई भने नछोडी टिपिएको छ । कवि आपूm कुन ठाउँमा बसेर गाउँको सम्झना गर्दैछन् भन्ने कुराको भौतिक सन्दर्भ (स्थान ) नआए पनि उनले एकोहोरोे रूपमा गाउँलाई माया गरेका छन् । कवि भन्छन् ः

स्मृतिमा बाँचिरहेछ
गाउँको सौन्दर्यशास्त्र
सम्झन्छु –
मान्छेहरू साट्थे
प्रेम÷सुखदुःख÷जीवनदर्शन

( गाउँ सम्झेर एक साँझ)

छोरीलाई बाको सम्बोधन नरेन्द्र नगरकोटीको एकलापीय ढाँचामा लेखिएको अर्को कविता हो । समाख्याता म पात्रले आफ्नी छोरीलाई सम्बोधन गरेर लेखेको कवितामा सम्बोधित पात्र (छोरी) संवादमा सक्रिय छैन । एकोहोरो रूपमा समाख्याता ‘म’ पात्रले मनोवाद शैलीमा आफ्ना कुराहरू आज्ञार्थ भावमा सकेको छ । कविले लेखेका छन् ः

लाग्छ —तँ त छेस् एकमात्र भरोसा
तारेभीरमा झुण्डिएर घाँस काट्दाकाट्दै
औँला नै ठुन्क्याउँदा पनि चित्त दुखाइनस् तैँले
(छोरीलाई बाको सम्बोधन, पृ. ३९)

सहरी जीवनका सुखहरू भन्दा ग्रामीण जीवनका दुःखहरूलाई कविले बढी प्राथमिकता दिएको देखिन्छ । सामाजिक सांस्कृतिक परिघटनाहरू पनि कविले जीवन्त रूपमा उठाएका छन् । नेपालको राजनीतिमा भइरहने उतारचढाव, राजनीतिक दल, नेता, समाजका प्रभुत्वशाली वर्गप्रति पनि कविको ठूलो गुनासो रहेको देखिन्छ । जनताहरूले न त लोकतन्त्रको महसुस गर्न पाए न त गणतन्त्रको नै । जो शक्तिमा छ अर्थात् जोसँग सत्ता छ उनीहरुले मात्र गणतन्त्रको अनुभूत गरेका छन् । विकृति र विसङ्गतिले देश, समाज र हरेक मान्छेलाई जकडेको अहिलेको समयलाई कविले कविताको विषय बनाएका छन् । कवि नगरकोटीका कविताहरूमा सीमान्तकृत वर्ग बोलेका छन् । जुन कुराले मन छुन्छ त्यही कुरालाई इमानदारीपूर्वक अभिव्यक्ति बनाउनु कविको आफ्नो निजात्मकता हो । सतही राष्ट्रवादी नाराभन्दा सघन राष्ट्रवाद र राष्ट्रप्रेममा यिनको कवितात्मक कल्पना तीव्र भएको देखिन्छ । आपूm बाँचेको युगमा भएका सामाजिक परिघटनाहरूकै सेरोफेरोमा कवि आफ्नो कविताको परिवेश निर्धारण गर्दछन् । नेपालीमा एउटा उक्ति छ “बिक्नु ठूलो कुरा होइन, टिक्नु ठूलो कुरा हो ।” कविता चिन्तन कि चिन्ता ? दर्शन कि नारा ? विश्व साहित्यका परिप्रेक्ष्यमा नेपाली कविता र नेपाली कविको स्थान कहाँ छ ? यो कुरालाई कवि नरेन्द्रले बुझ्नुपर्ने हुन्छ । यथार्थवादी स्वरमा प्रभावपूर्ण कविता लेख्ने कवि नरेन्द्रकुमार नगरकोटीको यो सङ्ग्रह पठनीय रहेको छ ।

विधा : कविता
प्रकाशक: शाब्दिक बुक्स
पृष्ठ : ८१
कृतिकार : नरेन्द्रकुमार नगरकोटी
मूल्य : १९९

प्रतिक्रिया
Loading...