नेपाली साहित्यको सम्पूर्ण पत्रिका

बस्ती बसाउनु छ

हिजोआज तिमी
समानताका कुरा दोहोर्याउँछौ
पूर्ण विकसित नभई
छातीभित्र हजारौं, लाखौं चाहना
दबिएका हुन्छन् ।
समयको हुङ्कारमा
लाचार अनि दुर्बल आत्मकथाहरू
मर्मान्तिक पीडामा छट्पटाउँछन् ।

अस्मिता लुटिएर
आँसुले नुहाउँदै
फ्याँकिदिएका छन् कोही अघाएपछि
घरबार भत्किएका
विवश नारीहरूलाई ।

आरोप–प्रत्यारोपका
अशुभ र अलपत्र शब्दहरू
वर्बर नृशंसताका घटनाहरू
तेर्सिएका छन् वरिपरि ।

सान्दर्भिक पोस्ट

वीरेको व्यथा

कोभिड-१९

छोरो नजन्माउँदाको अपराधमा
कतै साङ्लोले बाँधिएका छन्
कतै दाइजोले पोलिएका छन्
कतै विष अनुहारमा ढालिदिएर
कतै घाँटी चेपेर मारिएका छन्
आफ्नै चेली र बैनीहरू ।

निष्पट अँध्यारो कहाली लाग्दो नारी जीवनको
कथा र व्यथा लामो छ
कुनै पुस्तकको आयाममा नआँट्ने लामो ।

फुल्न आँटेका कोपिला
शरदअघि नै तहसनहस हुन्छन्
पासविकता फैलिएर मौलाउँछ
मासु लुछ्दै हिँड्छ्न् स्यालहरू ।

मेरो मनमा आँधी चल्छ,
बारबार प्रश्न उठ्छ
प्रतिवादीहरू किन मौन छन् आज ?
चिच्याउन मन लाग्छ संसारै थर्काउने गरी
मलाई चिथोर्न मन लाग्छ
यी पर्शुरामहरूलाई ।

क्रमशः विद्रोही कलमहरूले
न्यायका आवाज उठाउँछ्न्
नव युग जन्माउने तरखर गर्छन्
एउटा छुट्टै बस्ती बसाल्न यहाँ
तम्सिन्छ्न् जूनको झुटो विशेषण लगाएर लठ्याएका घामका सन्तानहरू ।

उता,
समयको पाइलासँगै
पाइला चालेर
अन्यायलाई थर्कमान पार्न
जुर्मुराइरहेको छ समय ।

पक्षपात पालेर बाँचेको समाजलाई
सूर्योदयअघि नै
परास्त गर्ने अखडा चल्दैछ भित्र भित्रै
एउटा खण्डहर युगलाई
सगोलबाहिर निकाली सिँगार्नु छ ।

चारैतिर विषाक्त काँढा हुन्
ढुङ्गाको पर्खाल होस्
कसैले नाघ्न नसक्ने,
जहाँ निःसङ्कोच विचरण गरुन् नारीहरू
आमा र स–साना चेलीहरू
एउटा सुरक्षित, सुन्दर शान्त
नारी शक्तिको बस्ती बसाल्ने हतारमा छ
आजको घाइते समय ।

प्रतिक्रिया
Loading...