नेपाली साहित्यको सम्पूर्ण पत्रिका

सरकार ! तँ जिउँदै छस्

 

सरकार तेरो आकार
खकार जस्तो छ
विकार छ, फोहोर छ
जीवाणुले भरिएको ।

सरकार तेरो रवाफको
जवाफ हामीसँग टन्न छ
तँ बुझ्दैनस् पो
तँ नाङ्गो नाच हेर्न जो पल्केको छस्
रमिता हेर्न जो सल्केको छस्
तँलाई केको लाज केको सरम ।

हामी तेरो चर्तिकला हेर्दाहेर्दै
वाक्कदिक्क भैसक्यौ
थाकेयौं, लाजमर्दो भयौँ
तर तँ मख्ख छस्
खुसी छस्, खाए भनेर
थाहा पाएनन् ठानेर ।

सान्दर्भिक पोस्ट

बाबू के थरी?

म अपराधी

खा अझै घिच्
भुँडी फुट्ने गरी
लाखौं, करोडौं, अर्बौं
तेरो त अस्पताल छ
उपचार हुन्छ, मान्छे छन्
ठाउँमा बचाउने …खा ।

जनता भोकले मारिसके
तँ रोग बेच , शोक बेच
१० अर्ब दिएर, खाएर
बाडेर, लाज पचाएर
लम्पसार भएर ।

तँ भाग्यमानी छस्,
लाटा सोझा जनता पाएकै छस्
समर्थन गर्ने भेडा पाएकै छस्
झण्डा र डन्डा पाएकै छस्
खा, अझै खा, चुस्
अझै चुस् , निमुखा जनताको रगत ।

धेरै लालबहादुरहरू सडकमा सुतेका छन्
मलर सदा, राजु सदा, सूर्यबहादुर तामाङ
सडकमा भोकले मरेका छन्
अस्पतालका सैयामा ढलेका छन्
तँ अझै बैठक गर
सत्ता टिकाउन , मान्छे रिझाउन
समस्या बिकाउन ।

यी दृश्य तँ हेर्दै नहेर
तँलाई दुख्दैन, पिरोल्दैन
पोल्दैन, किनकि तँ सुन्दैनस्,
देख्दैनस् , बुझ्दैनस्
तँ सरकार होस् ।

तँ बिएमडब्लु को चिहानमा सयर गर
श्रीखण्डको खाटमा सुत्
तँलाई मर्नु छैन् , जित्नु छैन्
खानु छ, बाड्नु छ, मजाक गर्नुछ
हाँस्नु छ, हाँस मज्जाले
तँ धनी छस् , तँलाई केको चिन्ता ,
चिन्ता दुःख पीडा जनतामा छ ।

हामी गरिब छौं , भोका छौं
रोगले पेल्छ, भोकले खेल्छ
अनि तँ छस् नि , ठुलो रोग
जित्नै नसकिने सरकार,
तँ जीवित छस् ।

प्रतिक्रिया
Loading...