नेपाली साहित्यको सम्पूर्ण पत्रिका

के हामी पढिरहेका छौँ ?

पढ्दा आफ्ना कुरा पनि पनि मिसाउन पाइयोस् उसका कुरा पनि लिन पाइयोस् अनि नयाँनयाँ अनुभूतिले पुलकित हुन पाइयोस् तब मात्र पठन आनन्ददायी र उपयोगी लाग्छ । नत्र त बीच बाटोमा नै पुगेर पाठ र पाठकको नाता टुट्छ र कृति कुनै कुनामा थन्किन्छ ।

कुनै जमघट वा कार्यक्रम भइरहेको ठाउँमा होस् या समूहमा यात्रा गरिरहँदा होस् कसैले त्यस्तो भिडभाडमा कुनै साहित्यिक कृति पढिरहेको दृश्य देख्दा मलाई भने अचम्म लाग्छ र यो असामान्य क्षमताप्रति म लोभिन्छु । कसरी पढ्न सकिन्छ होला ? कम्तीमा शान्त परिवेश र स्थिर मनस्थिति नभई पाठमा कसरी डुब्न सकिन्छ ?

पढ्नु त पढ्नु नै हो । पोस्टर, पम्पलेट पढ्नु, हरेक दिनका समाचारहरू पढ्नु, परीक्षाको तयारीका लागि गाइड, गेसपेपर पढ्नु, कर्मकाण्डका लागि मन्त्र पढ्नु, नोटबुक पढ्नु, कोर्सबुक पढ्नु, दैनिक घट्ने घटनाको विवरण पढ्नु, यी सबै पढ्नु नै हुन् तर यी सबै पठनभन्दा नितान्त फरक हुन्छ साहित्यिक कृतिको पठन । साहित्यिक कृतिमा शब्द र अर्थ मात्र पढिदैन । भाव पढिन्छ, देश काल, परिवेश र पात्र पढिन्छ । यस्तो पठनमा लेखकसँग पाठकको समभाव मिसिएको हुन्छ । यहाँ साझा अनुभूति हुन्छ, भाव र विचारको सहयात्रा हुन्छ, त्यसैले साहित्यिक कृति वा रचनाको पठन अन्य विषयको पठनभन्दा विशिष्ट हुन्छ ।

वास्तवमा पढ्नु भनेको एक प्रकारको साधना हो र त्यस पाठप्रति गरिएको समर्पण हो । कुनै पनि विषयमा निर्विकार रूपमा हराउनु र मनलाई यथास्थितिबाट स्थानान्तरण गर्नु पनि त पढ्नु हो । पढ्नु भनेको आफूबाट माथि उठेर आफूलाई अनेकमा परिवर्तन गर्नु हो । एकप्रकारको ध्यानमा डुब्नु वा विरेचित हुनु पनि पढ्नु हो, तर यस्ता अन्तक्र्रिया त्यतिबेला मात्र सम्भव छ जतिबेला पढ्नलायकका पुस्तकहरू हातमा हुन्छन् । पढ्नु भनेको किताबसँग संवाद गर्दै लामो यात्रा तय गर्नु पनि हो । यसरी एउटा अद्भूत यात्रामा सँगै निस्किएको सहयात्री आफूले खोजेजस्तो र चाहेजस्तो भएन भने यात्रा पट्यार लाग्दो त हुने नै भयो । पढ्दा आफ्ना कुरा पनि पनि मिसाउन पाइयोस् उसका कुरा पनि लिन पाइयोस् अनि नयाँनयाँ अनुभूतिले पुलकित हुन पाइयोस् तब मात्र पठन आनन्ददायी र उपयोगी लाग्छ । नत्र त बीच बाटोमा नै पुगेर पाठ र पाठकको नाता टुट्छ र कृति कुनै कुनामा थन्किन्छ ।

ज्ञानु अधिकारी

कतिपयले साहित्यिक कृति पढ्नुलाई अति सामान्य रूपमा लिएको पाइन्छ । जस्तो कि, टाइम पासका लागि पढ्नु, अरुले पढेको देखेर पढ्नु, कसैको करकापमा परेर पढ्नु आदि । यस्तो पठनले न त पढाइ सार्थक हुन्छ न त त्यसबाट बोध र आनन्दको अनुभूति नै हुन सक्छ । कुनै पनि साहित्यिक कृति पढिसकेपछि त्यस कृतिका सबल र दुर्बल पक्षका बारेमा विवेचना गर्न सकिएन भने, विषयवस्तुमाथि धारणा बनाउन सकिएन भने त्यस पठनले कुनै प्राज्ञिक उपलब्धि हासिल गर्न सक्दैन । यसै गरी पढिएको सामग्रीले मनमा कुनै किसिमको तरङ्ग छाड्न सकेन भने अनि एउटा पृथक् सत्यको बोध गराउन समर्थ भएन भने पढ्नुको औचित्य र अर्थ शून्य हुन्छ ।

पढ्नु के हो ? यो किन महत्वपूर्ण हुन्छ भन्ने सम्बन्धमा पूर्व र पश्चिमका अग्रज साहित्यकार तथा चिन्तकहरूले समेत बताउँदै आएका छन् । पूर्वका भरतमुनिको रसनिष्पत्तिको सन्दर्भ होस् वा प्राचीन ग्रीसेली विद्वान् एरिस्टोटलको विरेचन सिद्धान्त होस् यी यही पठनकार्यसँग सम्बद्ध छ । भलै यी नाटकको सन्दर्भमा भनिएका अभिव्यक्ति भए पनि यसले पठन क्रियालाई समेत समेट्छ । भावकले कुनै नाटक हेर्दा वा कृति पढ्दा त्यस कृतिका घटना, कार्यव्यापार, भावना र अनुभूतिलाई आफ्नै अनुभूतिसँग एकाकार गर्नु र सम्पूर्ण कुराहरू बिर्सेर कृतिमा नै हराइ चरम अनुभूति प्राप्त गर्नुलाई रस साधरणीकरण भनिएको छ भने भावकले नाटक हेरेपछि वा साहित्यिक कृतिहरू पढिसकेपछि भावक वा पाठकको मनभित्र त्रास, आवेग, संवेगको आदिको उद्बोधनद्वारा उसका सारा मनोविकार र तनावबाट मुक्ति पाई विशिष्ट आनन्द प्राप्त गर्नुलाई विरेचन भनिएको छ । यसरी भावक र पाठकको भूमिकालाई प्राचीनकालमा नै अथ्र्याइएको छ ।

यसैगरी रिचर्डसद्वारा प्रतिपादित मूल्यसिद्धान्त र सम्प्रेषण सिद्धान्त पनि यस्तै पढ्नुसँग सम्बन्धित विषय हो । कृतिले पाठकको मनमा पार्ने प्रभाव र त्यसबाट प्राप्त हुने चरम सन्तुष्टिबाट कृतिको मूल्य निर्धारण हुन्छ भन्ने मान्यता मूल्यसिद्धान्तको रहेको छ भने सम्प्रेषण सिद्धान्तले कृतिमा अभिव्यक्त भाव वा विचारलाई पाठक वा श्रोतासम्म पुर्याउनु, पाठकले पनि लेखकीय अनुभूतिलाई आफ्नै अनुभूति ठानी ग्रहण गर्नु र लेखक र पाठकमा अनुभूतिको तादात्य हुनुलाई सम्प्रेषण मानिएको छ । सम्प्रेषण गर्ने लेखक मात्र होइन यसलाई ग्रहण गर्ने पाठक पनि योग्य हुनुपर्छ भन्ने मान्यता यसको रहेको छ । यसैगरी क्रोचेको अभिव्यञ्जनावादमा भावकले वा पाठकले कुनै नाटक हेर्दा वा साहित्यिक कृति पढ्दा यथार्थबाट पूरै निरपेक्ष भएर यसलाई आफ्नै चेतनाप्रवाहसँग समीकरण गरी भाव ग्रहण गर्छ र यो पाठकको अचेतनतासँग एकाकार भएको अवस्था हो भनी व्याख्या गरिएको छ । यसैगरी पछिल्लो समय विकसित भएका विपठन, उत्तरपठन पनि पाठक र पठनसँग सम्बद्ध विषयहरू नै हुन् ।

पढ्नु यस्तो कर्म हो जसले हाम्रा दिमागमा रहेका सामग्रीलाई नवीकरण र अद्यावधिक बनाइदिन्छन् । पढ्दा कतिपय पूर्वधारणाहरू भत्कन्छन् र कतिपय नयाँ धारणा बन्छन् । प्रश्न प्रतिप्रश्न उब्जिन्छन् । कतै सहमति असहमतिको तराजु घटबढ भइरहन्छ भने कतै संवाद भइरहन्छ । यस्तै पढ्दै जाँदा कतै हाँसिन्छ, कतै रोइन्छ, अनि कतै शङ्का पनि उब्जन्छ भने कतै सम्मानभाव पनि जागृत हुन्छ । पढ्नु वास्तवमा एउटा स्वर्णिम यात्रा हो, यसले सबै किसिमका संवेदनाहरूसँग साक्षात्कार गराइदिन्छ । त्यसैले यहाँ पढ्नु मात्र भनेर पनि हुँदैन कस्तो किताब पढ्ने ? के पढ्ने ? कसरी पढ्ने ? कतिबेला पढ्ने ? र किन पढ्ने जस्ता प्रश्नहरू महत्वपूर्ण हुन्छन् । गहन अध्ययन जुनसुकै समय, जुनसुकै मनस्थिति र जुनसुकै ठाउँमा गर्न सकिँदैन, त्यसरी त जानकारी र सूचना मात्र पढ्न सकिन्छ । त्यसरी त पढ्न मात्र सकिन्छ, पढ्नु र अध्ययन गर्नुमा धेरै फरक छ ।

पठन अर्थात् अध्ययन धेरै किसिमबाट गर्न सकिन्छ । सामान्य किसिमले पढ्नु, जिज्ञासु भएर पढ्नु, अनुसन्धानात्मक किसिमले पढ्नु, तुलनात्मक रूपमा पढ्नु, आलोचनात्मक रूपमा पढ्नु, संवेदित भएर पढ्नु, आग्रही भएर पढ्नु, प्रेरित भएर पढ्नु आदि सबै कुनै पनि साहित्यिक कृतिलाई अध्ययन गर्ने तरिका नै हुन् । यी फरक अध्ययनहरूले एउटै पाठबाट निकाल्ने सत्य, अर्थ र निष्कर्षहरू पनि फरक नै हुन सक्छन् । यस्ता फरक निष्कर्ष आउनुमा पाठकको ग्रहणशीलता र वौद्धिक स्तर पनि अर्को कारण हुन सक्छ । यी विविध किसिमका अध्ययनले एउटै कृतिका विविध आयाम र स्तरको निर्धारण समेत गर्दछन् । पठन विभिन्न उद्देश्यले गरिन्छ । वास्तवमा अध्ययन किन गर्ने भन्ने प्रश्नको उत्तर नै अध्ययनको उद्देश्य हो ।
मनमा उत्सुकता, हुटहुटी र अन्तप्र्रेरणा बिना मानिसले धैर्य भएर पढ्न सक्दैन । विशेषतः मानसिक रूपमा तयार नभई पढिएका कृतिबाट उसले केकति कुरा ग्रहण गर्न सक्छ ? पढ्ने किताबहरू प्रशस्त नै भए पनि, समय पर्याप्तरूपमा उपलब्ध भए पनि र पढ्ने वातावरण समेत अनुकूल भएको समयमा पनि उत्साह र रमाइलो किसिमबाट त्यतिबेलासम्म पढ्न सकिँदैन जतिबेला ऊ मानसिक रूपमा तयार भइसकेको हुँदैन, जतिबेलासम्म पढिने विषयप्रति उसको उत्सुकता, जिज्ञासा र प्रश्नहरू निर्माण भइसकेका हुँदैनन् । अधिकांश मानिससँग समय प्रशस्त भएर पनि पढ्ने जाँगर त्यति देखिँदैन । यदि जबर्जस्ती पढ्न थालेको छ भने पनि, पट्यार लाग्ने, निद्रा लाग्ने र पाठ अगाडि बढाउनै नसक्ने स्थिति हुन्छ । पाठकमा यस्तो स्थिति दुई अवस्थामा हुन्छ, पहिलो किताबप्रति र विषयप्रति उसको कुनै रुचि र उत्सुकता नहुनुले यस्तो अवस्थाको सिर्जना गर्दछ भने दोस्रो अपेक्षाकृत रूपमा कृति कमजोर हुनु अर्थात् कृतिको पाठले पाठकलाई आकर्षित गर्न नसक्नुले पनि यस्तो अवस्थामा पुर्याउँछ ।

अध्ययन एकपटक मात्र गरिने गतिविधि होइन । यसमा पाठक दीर्घकालसम्म प्रत्यक्ष अप्रत्यक्ष संलग्न हुनुपर्दछ । बौद्धिक तथा अध्यात्मिक विकासका लागि अध्ययन अनिवार्य कर्म हो । यसले हाम्रो आन्तरिक अनुभव र क्षमतालाई बुझ्नका लागि पनि मद्दत गर्छ । आफूभित्र के कति चिन्तन गर्ने क्षमता छ र ज्ञान कति छ भन्ने बोध गर्नका लागि पनि अध्ययन जरुरी छ । यसैगरी आफ्नो हैसियत र स्तरको परीक्षण गर्न पनि अध्ययन अनिवार्य हुन्छ । त्यसैले व्यक्तित्व विकासको मूल आधार नै अध्ययन अनुसन्धान हो र यस कर्ममा लाग्न अरुले दिएको प्रेरणाभन्दा स्वप्रेरणाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । स्वपे्ररित पठन दवावविहीन र निर्बाध हुन्छ । यसलाई स्वतन्त्र पठन पनि भन्न सकिन्छ ।

कुनै पनि साहित्यिक कृति पढिसकेपछि राम्रो नराम्रो विवेचना गर्न सकिएन भने, कृतिले प्रस्तुत गर्न खोजेको विषयमाथि धारणा बनाउन सकिएन भने, पढिएको सामग्रीले मनमा कुनै किसिमको तरङ्ग छाड्न सकेन भने र एउटा पृथक् सत्यको बोध गराउन सकेन भने समय, ंश्रम र पैसा खर्च गरेर पढ्नुको कुनै औचित्य हुँदैन । हामी नेपाली साहित्यमा स्तरीय कृतिहरू त्यति लेखिएका छैनन्, उत्कृष्ट कृतिहरू आएनन् भन्दै गर्दा प्रश्न यो पनि उठ्छ कि, स्तरीय पाठक चाहिँ कति छन् ? लेखिएका कृतिहरूभित्र पसेर, डुबेर त्यसले दिने अर्थ र त्यसको भावलाई अनुभूत गर्न सक्ने, त्यसलाई उत्तरपठन र विपठन गर्नसक्ने र समालोचनात्मक विश्लेषण गर्नसक्ने पाठकचाहिँ कति छन् यो पनि महत्वपूर्ण हुन आउँछ ।

प्रतिक्रिया
Loading...