नेपाली साहित्यको सम्पूर्ण पत्रिका

शब्द किन शुद्ध लेख्नुपर्छ ?

उठान :

पवित्र हुनु भन्ने अर्थमा रहेको ‘शुध्’ धातुदेखि ‘क्त’ (त) प्रत्यय भएपछि धकारका स्थानमा दकार र तकारका स्थानमा धकार भएर ‘शुद्ध’ शब्दको निर्माण भएको हो । शुद्ध वा पवित्र हुने चाहना सबैको हुन्छ तर वास्तविक रूपमा शुद्ध हुन र शुद्ध आचरणमा रहन निकै कठिन छ । जब हाम्रो बानी नै शुद्ध आचरणतर्फ अग्रसर हुन रुचाउँदैन तब हामीले उपभोग गर्ने हरेक चीजहरू शुद्ध भइदिऊन् भन्ने हाम्रो चाहना पनि पूरा हुन सक्तैन । हामी अभिभावकले आफ्ना सन्ततिहरूलाई शुद्ध आचरण गर्न आदेश त दिन्छौँ तर हामी आफै शुद्ध आचरणमा रहेका हुँदैनौँ । त्यसैगरी हामीमध्ये अधिकांश शिक्षकहरूले आफ्ना विद्यार्थीलाई ‘नेपाली भाषा शुद्ध हुनुपर्छ’ भनेर त सिकाउँछौँ तर हामी नै आफ्नो लेखनमा शुद्धता कायम गर्न अग्रसर हुँदैनौँ । हामी नेपाली गुरुहरूमध्ये केही गुरुहरू भाषामा शुद्धता किन चाहियो ? वक्ताले बोलेको कुरो श्रोताले बुझेपछि पुगिहाल्छ नि ! भनेर निर्देशन जारी गर्न पछि परेका छैनौँ । निरक्षर समाजमा त त्यस्तो निर्देशन ठीकै पनि होला तर साक्षर र विद्वत्समाजमा त्यस्तो निर्देशन हास्यास्पद मानिन्छ । त्यस्तो निर्देशन कथ्य भाषाका सन्दर्भमा मात्र होइन लेख्य भाषाका सन्दर्भमा पनि लागू गर्न रुचाउने प्रवृत्ति बढ्दै गएकाले वर्तमानमा भाषामा शुद्धता कायम गर्न निकै चुनौतीहरू थपिएका छन् । यस अवस्थामा शब्द किन शुद्ध लेख्नुपर्दो रहेछ र शुद्ध नलेख्ता केकस्ता समस्याहरू निम्तिँदा रहेछन् ? भन्ने बारेमा प्रयोक्ताहरूको गम्भीर ध्यान जानुपर्ने आवश्यकता देखिन्छ ।

वर्णहरूको शुद्धतामा ख्याल नगर्दा कस्तो असर पर्छ ?

नेपाली भाषाको मूल स्रोत संस्कृत मानिन्छ । संस्कृतको पाणिनीय व्याकरण हालसम्म विश्वकै अद्वितीय वैज्ञानिक व्याकरण मानिएको छ । संस्कृत व्याकरणको परम्परामा शिक्षित भएका प्रायः सबैजसो विद्यार्थीहरूले व्याकरण पढ्नुको व्यावहारिक प्रयोजनसँग सम्बद्ध एउटा महत्त्वपूर्ण उद्गार सुनेका र पढेका पनि हुन्छन् । सुप्रसिद्ध त्यो उद्गार यसप्रकार छ :

यद्यपि बहु नाधिषे तथापि पठ पुत्र व्याकरणम् ।

            स्वजनः श्वजनो मा भूत् सकलं शकलं सकृच्छकृत् ।।

अर्थात् हे पुत्र ! तिमीले धेरै पढ्दैनौ वा पढ्न सक्तैनौ भने पनि व्याकरण चाहिँ अवश्य पढ किनभने व्याकरणको अध्ययन विना ‘स्वजन’ (आफ्नो मान्छे) ‘श्वजन’ (कुकुर) हुन नपुगोस्, ‘सकल’ (सम्पूर्ण) प्रयोग गर्नुपर्ने ठाउँमा ‘शकल’ (टुक्रा) शब्द प्रयोग नगरियोस् अनि ‘सकृत्’ (एकपल्ट) प्रयोग गर्नुपर्ने ठाउँमा ‘शकृत्’ (विष्ठा) शब्द प्रयोग नभइदियोस् । यसरी एउटा वर्ण ‘स’ र ‘श’को मात्र फरक हुँदा पनि अर्थको अनर्थ हुन्छ भने अन्य वर्णहरूको फेरबदल हुँदा केकस्तो असर पर्दछ ? भन्ने कुरातर्फ हरेक भाषाका प्रयोक्ताले ध्यान दिनु आवश्यक छ । नेपालीमा तद्भव र आगन्तुक शब्दमा एउटै पातलो सकारको प्रयोग गर्ने बढ्ता प्रचलन रहेका कारण तद्भव र आगन्तुक शब्दमा श, ष र समध्ये कुन लेख्ने ? भन्ने समस्या छैन तर तत्सम शब्दमा संस्कृत व्याकरणकै मान्यताअनुसार तीनवटै श, ष र सको प्रयोग गर्दै आइएको छ । त्यसैले नेपालीमा प्रयुक्त तत्सम शब्दमा सकल, शकलजस्ता भिन्नाभिन्नै अर्थ भएका शब्दको वर्णविन्यासमा विशेष ख्याल गर्नुपर्छ ।

मात्राको शुद्धतामा ख्याल नगर्दा कस्तो असर पर्दछ ?

नेपालीमा शुद्ध लेख्ने भन्ने बित्तिकै ह्रस्व र दीर्घको मात्रालाई नै बढ्ता बुझ्ने चलन छ । यही ह्रस्वदीर्घको भूतले नेपाली भाषाका अधिकांश प्रयोक्ताहरूलाई सधैँ तर्साउँदै आएको छ । लेख्य नेपाली भाषालाई कथ्य भाषाकै श्रेणीमा लैजानुपर्छ भनेर आफूलाई आधुनिक र वैज्ञानिक धारको ठान्ने भाषाविशेषज्ञहरूले कथ्य नेपालीमा दीर्घको अस्तित्व नै नरहेकाले ह्रस्वदीर्घको भूतले तर्सिनैपर्दैन भन्ने मान्यता पनि राख्छन् । तद्भव र आगन्तुक शब्दमा सुरु र बीचमा ह्रस्व मात्र लेख्नुपर्छ भनेर नयाँ नियम जारी गर्नेहरूले पनि शब्दको अन्तमा दीर्घ लेख्न भने छाडेका छैनन् र तत्सम शब्दमा सुरुमा र बीचमा पनि दीर्घको प्रचलनलाई अस्वीकार गर्न सकेका छैनन् । त्यसैले लेख्य नेपालीमा दीर्घ मात्राको अस्तित्वका बारेमा हालसम्म कुनै विवाद देखिँदैन । सुरु र बीचमा दीर्घको अस्तित्वलाई नकार्न खोजेर केही वर्षअघि कुखुराको अन्डा र मन्दिरमा चढाउने पुष्प दुवैलाई ‘फुल’ लेख्न खोजियो तर त्यस्तो प्रयोगमा प्रयोक्ताहरूले गम्भीर असहमति जनाएपछि अन्डालाई जनाउन ‘फुल’ र पुष्पलाई बुझाउन ‘फूल’ शब्दको नै पूर्ववत् प्रयोग गर्न थालिएको छ । ‘तिनलाई’ (सर्वनामवाची) र ‘तीनलाई’ (सङ्ख्यावाची) दुवैलाई ह्रस्व लेख्ता सङ्ख्यालाई बुझाउन खोजिएको हो कि सर्वनामलाई बुझाउन खोजिएको हो ? भन्ने आशङ्का प्रयोक्ताका मनमा उब्जिन्छ तर ह्रस्व र दीर्घ दुवैलाई छुट्टाछुट्टै प्रयोग गर्दा त्यस किसिमको समस्या आउँदैन । धेरै समयसम्म शान्तिको कामना गर्दा ‘चिरशान्ति’ हुनुपर्नेमा अनजानमा ‘चीरशान्ति’ लेखेर कपडाको शान्ति गर्न खोज्ने हामी नेपालीहरू धेरै छौँ । जनककी छोरी ‘सीता’को नाम हामीले धेरैपटक सुनेका र लेखेका पनि छौँ तर त्यही लेखाइकै आधारमा भातको ‘सिता’ बुझाउन पनि ‘सीता’ नै लेख्न थालियो भने के होला ? तसर्थ कथ्य नेपालीमा दीर्घ स्वरको अस्तित्व छैन भनेर लेख्य तत्सम शब्दमा पनि ह्रस्व मात्राको मात्रै प्रयोग गर्नबाट प्रयोक्ताहरू बच्नु आवश्यक छ ।

पदयोग र पदवियोगको शुद्धतामा ख्याल नगर्दा कस्तो असर पर्दछ ?

नेपालीको माउभाषा संस्कृत श्लिष्ट भाषा भएकाले पनि क्लिष्ट हुन पुगेको हो । संस्कृतको श्लिष्ट लेखनबाट प्रभावित भएका कारण प्राचीन नेपाली भाषामा पनि पदयोग गरिएका लामा लामा शब्दहरूको प्रयोग हुन्थ्यो । जसरी हाम्रा पूर्वजहरू सगोल परिवारमा बस्न बढ्ता रुचाउँथे र त्यतिबेला घरमूलीकै आश्रयमा परिवारका अन्य सदस्यहरू बाँच्नुपर्ने बाध्यताले गर्दा सगोल परिवारको प्रचलन बढ्ता थियो तर क्रमशः परिवारका अन्य सदस्यहरू पनि आत्मनिर्भर हुँदै गएपछि र आधुनिकताले प्रभाव पार्दै गएपछि सगोल परिवारभन्दा एकल परिवार मन पराउनेहरूको सङ्ख्यामा वृद्धि हुन पुग्यो, त्यसरी नै भाषामा पनि लामा लामा समस्त शब्दहरूभन्दा छोटा छोटा सरल शब्दको प्रयोगमा प्रयोक्ताहरूको रुचि बढ्दै गएका कारण हाल पदयोगलाई भन्दा पदवियोगलाई रुचाउने प्रयोक्ताहरू धेरै छन् । जटिलताबाट सरलतातिर उन्मुख हुँदै जानु भाषाको स्वाभाविक प्रवृत्ति भए पनि सरलताका नाममा शब्दको मौलिक संरचना र अर्थलाई नै बेवास्ता गरेर शब्दको शुद्धीकरण र शब्द जीवन्त बन्न सक्तैना् भन्ने कुरामा प्रयोक्ताहरूको ध्यान आकृष्ट हुनु जरुरी छ । उदाहरणका लागि पदवियुक्त ‘प्रगति नगर’ शब्दलाई लिन सकिन्छ । कुनै ठाउँका व्यक्तिहरू मिलेर आफ्नो विकासोन्मुख गाउँको नाम ‘प्रगतिनगर’ राखेछन् । सडक कार्यालयले किलोमिटर जनाउने पिलरमा त्यस गाउँको नाम लेख्ता ‘प्रगति नगर’ लेखिदिएछ । गाउँको विकास चाहने सम्बद्ध गाउँको एकजना व्यक्तिले त्यसरी लेख्ता प्रगति नै नगर्ने अर्थ दिने ठानेर ‘नगर’ शब्दका नकारलाई मेटिदिएछ । यसरी त्यस गाउँको नाम ‘प्रगतिनगर’ नभएर ‘प्रगति गर’ पो हुन पुगेछ । ‘राम प्रसाद खान्छ’ भन्ने वाक्यमा रामप्रसाद नामक व्यक्तिले खान्छ भन्न खोजिएको हो कि राम नामक व्यक्तिले प्रसाद खाने कुरा व्यक्त गर्न खोजिएको हो ? भन्ने आशङ्का प्रयोक्ताका मनमा उब्जिन्छ । अझ संस्कृत अध्ययन गर्ने विद्यार्थीहरूले त पदयोग र पदवियोगका सन्दर्भमा ‘दशरा मशरा’ सुन्दै आएका छन् र दश, राम, शरा हुनुपर्नेमा कुन कुन शब्दको पदयोग गर्ने र कुन कुन शब्दको पदवियोग गर्ने ? भन्ने बारेमा ख्याल नगर्दा निरर्थक दशरा र मशराको प्रयोग हुन पुगेको हो । त्यसैले नेपाली भाषाका शब्दहरूको मूल मर्म बुझेर मात्र पदयोग र पदवियोगका बारेमा निर्णय लिनु आवश्यक देखिन्छ ।

के शुद्धलेखनका लागि सात अक्षरको मात्र ख्याल गरे पुग्छ ?

संस्कृत वाङ्मयका अध्येताहरूले शुद्धलेखनका सन्दर्भमा एउटा अर्को उद्गार सुन्दै आएका छन्, त्यो हो – “सप्ताक्षराशुद्धिविवर्जितानि वाक्यानि शुद्धानि भवन्ति लोके” अर्थात् सातवटा अक्षरहरू शुद्ध लेख्न सकियो भने वाक्यहरू शुद्ध हुन्छन् वा शुद्ध लेख्न सकिन्छ । ती अक्षरहरू कुन कुन होलान् त ? भन्ने जिज्ञासा सबैका मनमा जागृत हुनु स्वाभाविक छ । श, ष, स, ब, व, ह्रस्व र दीर्घलाई यहाँ सात अक्षर स्वीकार गरिएको हो । हामीहरूमध्ये धेरैले श, ष र सको लेखनमा बढ्ता गल्ती गर्छौं । नेपालीमा तद्भव र आगन्तुक शब्दमा एउटा ‘स’को मात्र प्रयोग हुने भएकाले तीनवटै श, ष र सको प्रयोग संस्कृतबाट नेपालीमा तत्समका रूपमा आएका शब्दमा मात्र हुन्छ । त्यसका लागि कुनै संस्कृत शब्दकोशको पुस्तक वा मोबाइल एप्सको प्रयोग गर्दै जाँदा त्रुटिहरू कम हुनेछन् । नेपालीमा धेरैजसो शब्दमा बकारको प्रयोग हुन्छ भने वारि, हावा, कुवा आदि केही शब्दमा मात्र वकारको प्रयोग हुन्छ । संस्कृतबाट नेपालीमा आएका तत्सम शब्दमा भने दुवै ब र वको प्रयोग हुन्छ । त्यसका लागि कुनै संस्कृत शब्दकोशको प्रयोग गर्नु आवश्यक छ । नेपालीमा प्रयुक्त सबै आगन्तुक शब्दको सुरु र बीचमा ह्रस्व इकार र ह्रस्व उकारको प्रयोग हुन्छ भने अन्तमा प्रायः दीर्घ ईकार र ऊकारको बढ्ता प्रयोग भएको पाइन्छ । संस्कृतबाट प्राकृत हुँदै नेपालीमा प्रयुक्त मीठो, तीतो, फूल आदि तद्भव शब्दमा क्षतिपूर्तिदीर्घीभवनको मान्यताले दीर्घ ईकार र ऊकारको प्रयोग भएको देखिन्छ । तद्भव शब्दको शुद्धलेखनका लागि विद्यार्थी पुस्तक भण्डारबाट प्रकाशन गरिएको टीकादत्त बरालद्वारा सम्पादित ‘तद्भव नेपाली व्युत्पत्ति शब्दकोश’को उपयोग गर्न सकिन्छ । यसप्रकार शुद्धलेखनमा उपर्युक्त सात अक्षरहरूको विशेष ख्याल गर्न सकेका खण्डमा शुद्ध लेख्तै जान केही सरल हुनेछ ।

के शुद्ध शब्दले कामधेनुले जस्तै फल दिन सक्छ ?

बुझाउन त अशुद्ध वा अपभ्रंश शब्दले पनि अर्थलाई बुझाउन सक्छ तर असाधु वा अशुद्ध शब्दको प्रयोग गर्ने व्यक्ति सर्वत्र सम्मानित हुन सक्तैन । त्यसैले शुद्ध शब्दको ज्ञानपूर्वक प्रयोग गर्नुपर्छ । यसै सन्दर्भमा संस्कृत वाङ्मयका अध्येताले “एकः शब्दः सम्यग् ज्ञातः शास्त्रान्वितः सुप्रयुक्तः स्वर्गे लोके च कामधुग् भवति” अर्थात् एउटा शब्द पनि राम्रोसँग बुझेर शास्त्रको अनुकूल राम्रोसँग उपयुक्त ठाउँमा प्रयोग गर्न सकिएमा त्यसले यसलोकमा र स्वर्गलोकमा समेत कामधेनुले जस्तै चिताएको फल प्राप्त हुने उद्गार पनि सुनेका हुन्छन् । यो उद्गार नेपाली भाषाका अध्येताले पनि अवलम्बन गर्न सकेका खण्डमा शुद्ध शब्दको वास्तविक महत्त्व बुझ्नेछन् र आफूले बुझेका शब्दको उपयुक्त ठाउँमा प्रयोग गरेर सफलता पनि प्राप्त गर्न सक्नेछन् ।

बैठान :

पदावली, वाक्य, अनुच्छेद र समग्र लेख वा पुस्तकको भाषा शुद्ध हुनका लागि सर्वप्रथम प्रत्येक शब्द शुद्ध लेखिनुपर्छ । शब्द शुद्ध लेख्न वर्णलाई समुचित ठाउँमा सजाउने कला जान्नुपर्छ । वर्णलाई उपयुक्त ठाउँमा राखेर सजाउने प्रक्रियालाई नै वर्णविन्यास भनिएको हो । वर्णहरूको नै राम्रोसँग राख्ने क्रम निर्धारण गर्न सकिएन भने शब्द, पदावली हुँदै लेख वा पुस्तकसम्म अशुद्धिको शृङ्खला बढ्दै जान्छ । लेख वा पुस्तकसम्म पुग्नुभन्दा अघि नै शब्द र वर्णको शुद्धाशुद्धिका विषयमा विशेष ख्याल गर्नुपर्छ । यदि वर्ण र शब्दकै तहमा विशेष ख्याल गर्न सकिएन भने शुद्धलेखनको चाहना निश्चय नै निकै गाह्रो हुनेछ ।

प्रतिक्रिया
Loading...