नेपाली साहित्यको सम्पूर्ण पत्रिका

हामी माथि अन्याय भएकै होः लालकाजी लामा, प्राज्ञ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान

(विद्यार्थी राजनैतिक पृष्ठभूमिबाट उदाएर ललितकला क्षेत्रमा विशिष्ट छाप छाड्न सफल लालकाजी लामा ललितकला क्याम्पसका लगातर दुई कार्यकाल निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका पूर्व सभापति हुन्। ललितकला क्षेत्रको हक र हितको लागि अहोरात्र खटिएर ललितकला क्याम्पसमा स्नातकोत्तर (मास्टर्स डिग्री) तह संचालनमा ल्याउनसमेत विशेष भूमिका निभाएका लामा हाल नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य (प्राज्ञ) एवं मूर्तिकला विभाग प्रमुख छन् । उनै लामासँग साहित्यपोस्टको लागि बाबु साइँलाले गरेको संक्षिप्त कुराकानी)

अचेल दिनचर्या कसरी बितिरहेको छ?

खासै केही छैन, कार्यालय आउजाउ भैरहेको छ । व्यक्तिगत सृजनात्मक कामसँगै प्रज्ञा प्रतिष्ठानको गर्नुपर्ने महत्त्वपूर्ण कामहरू सुचारू हुनेक्रम जारी छ । अरनिकोको कामहरू अगाडि बढेको छ ।

अरनिकोको काम भन्नाले ?!

राष्ट्रिय विभूति अरनिको, जसले चीनसम्म पुगेर नेपाली कलाको प्रवर्धन गरे । नेपाललाई विश्व सामु चिनाए । उनको वास्तविकता झल्काउने तस्बिर र मूर्तिहरूमा अहिलेसम्म एकरूपता देखिदैन। कलाकारहरूले आफ्नो अनुकूल कल्पना गरी बनाइरहेको पाइन्छ। अरनिकोबारे एकरूपता देखाउन ८/१० वर्ष पहिले नै ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)ले खाका कोरेको थियो तर बीचमा अधुरै रोकिएको अवस्थामा थियो। मूर्तिकला विभाग प्रमुखको नाताले त्यसैलाई सुचारू गरी पूर्णता दिन लागिपरेको छु।

मूर्ति आम मानिसहरूले देख्ने गरी उपयुक्त स्थानमा राख्न १७ फिट अग्लो र ढलौटको निर्माण हुँदैछ। दुईवटा मूर्तिमा एउटा अरनिको राजमार्गको कुनै पायक स्थानमा स्थानीय निकायसँग समन्वय गरी राखिनेछ भने अर्को ललितकला प्रज्ञा प्रतिष्ठानकै हातामा राखिनेछ, जुन एक वर्षभित्रै सम्पन्न गरिसक्ने हाम्रो योजना हो।

कोभिडको असर ललितकला क्षेत्रमा कतिको परेको जस्तो लाग्छ? कलाकारहरूको अवस्था के कस्तो पाउनु भो? कलाहरू कतिको बिक्री भै रहेका छन्?

अवश्य नै प्रभाव पार्ने भो नि, कलालाई नै जीविकोपार्जनको माध्यम बनाएका कलाकारहरूको आम्दानीको स्रोत नै कला हो। यस्तो बेला कलाको सहज बिक्री हुन सकिरहेको छैन। कला सिर्जना गर्न चाहिने सामग्रीहरू पनि सहजरूपमा उपलब्ध हुन सकिरहेका छैनन् तर पनि निराशालाई सिर्जनात्मक बनाउने क्रममा हामी (नाफा) लगायत केही कलाकार मित्रहरूले डिजिटल मिडिया प्रयोग गरी भर्चुअल कला प्रदर्शनीहरू गरिरहनु भएको छ। यो निकै सराहनीय काम हो।

लालकाजी लामा

ललितकलाको हक, हित र उत्थानका लागि लामो समय सक्रिय रहँदै यहाँसम्म आइपुग्नु भो, परिषद सदस्यको रूपमा हालसम्म के चाहिँ नयाँनौलो गर्नुभो अथवा गर्दै हुनुहुन्छ ?

यहाँ आएर कुनै त्यस्तो कायापलट नै हुने काम गरिनँ भन्न त मिल्दैन तर पनि प्रक्रियाअन्तर्गत रहेर राम्रो कामहरू गर्ने कोशिश गरिरहेको छु। यसअघि ललितकला प्रज्ञा प्रतिष्ठानमा संस्थागत रूपमा कसरी अगाडि बढ्ने, संचालन गर्ने भन्नेबारे नियमावलीहरू नै पास भएका छैनन्, अब संसोधन गरेर आगामी सभामा पेश गराउदैछौं। कलाकारहरूलाई हाम्रो तर्फबाट कलाकार भनेर दिइने परिचयपत्रबारे पनि कार्यविधि बनाएर पेश गर्दैछौँ । अध्ययन अनुसन्धानका कामहरू र सम्भाव्यताका बारे लागिपरेका छौं। राष्ट्रिय कला प्रदर्शनी र गोष्ठीहरूलाई निरन्तरता दिने क्रम जारी नै छ।

दूरदराजका कलाकारहरूको बारे नाफाले केही नयाँ ठोस योजनाहरू बुनेको छ कि?

मोफसलका कलाकारहरूका लागि हामीले पहिलेदेखि नै प्राथमिकताका साथ काम गरिरहेका छौँ। जस्तो कि प्रदेशअन्तर्गत प्रादेशिक पुरस्कार, प्रादेशिक कला प्रदर्शनी र कला गोष्ठीहरू स्थानीय निकायहरूसँग समन्वय गरी हाम्रो पहुँच र सामर्थ्यले भ्याएसम्म सक्दो विकेन्द्रीकरण गरी स्थानीय तह र कलाकारहरूको सहभागितामा थुप्रै कला प्रदर्शनी र कार्यक्रमहरू गर्दै आइरहेका छौँ ।

साँच्चै, ललितकला (नाफा) र संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको जग्गा विवाद प्रकरणमा फैसला ललितकला अनुकूल भएन। तपाईंहरूकै कार्यकालमा ललितकलाले आफ्नो दाबी गरेको जग्गा गुमाउनु भो, खास कुरा के थियो?

जग्गा विवाद प्रकरणमा कहाँबाट शुरू भयो के भयो भन्नेबारे धेरै लामो पृष्ठभूमि खोतल्नु पर्ने हुन्छ। नतिजा हाम्रो अनुकूल नभए पनि देशको कानुन र संविधान मान्ने भएपछि न्यायालयको फैसला नै हामीले मान्नुपर्ने हुन्छ। हामीभन्दा अगिल्लो कार्यकालमा मन्त्री परिषदले गरेको निर्णय हाम्रो कार्यकालमा अदालतबाट सदर गरिदिएको त हो ! यद्यपि हामीमाथि अन्याय भएकै हो। यस पछाडिको ललितकलाको ९ रोपनी र संगीत नाट्यको १५ रोपनी जग्गा भागबण्डा र नक्सांकन, कित्ताकाट प्रकृयामा पनि संगीत नाट्य प्रतिष्ठानले एकलौटी ढंगले बढेर काम गरेको छ। उहाँहरूको आरोप यसअघि हामी वार्ता र छलफलमा आएन भन्ने रहेछ जबकि त्यतिबेला न्यायालयमा मुद्दा चलिरहेको थियो।

ललितकलाको पनि त कमी कमजोरी थियो होला नि त?

अवश्य नै कमी कमजोरी थियो होला तर त्यो हिजोको कुरा हो। जब कि सही कुरामा पनि यो हाम्रो हो भनेर स्थापित गराउन नसक्नु हाम्रो कमजोरी हो। म त भन्छु २०२२ सालमा स्थापना भएको संस्था ललितकला (नाफा) लाई २०३४ सालमा तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानमा विलय गराउनु नै हामी कलाकारहरूको लागि ठूलो दुर्भाग्य थियो। त्यसपछि विलय भैसकेको कुरालाई पनि कलाकारहरूलाई छलकपट गर्दै हैन यो हाम्रो नै हो भनेर भ्रममा राखी शक्ति र सत्ताको चाकडी गर्न खप्पिस तत्कालिन हाम्रो नेतृत्व, अग्रजहरूबाट जुन काम भयो, त्यो नै ललितकलाको लागि घातक बन्यो। हाम्रा कलाकारहरू पनि सारै सोझा र भावुक, ती धुर्त अग्रजहरूको कुरा पत्याएर यो हाम्रै हो भनी भावनात्मक रूपमा त्यहाँ गइरहनु भो, रेखदेख गरिरहनुभो तर सूक्ष्म र तार्किक ढंगले बुझ्न सक्नु भएन । हाम्रो खोसियो भनेर संघर्ष गर्नुपर्ने ठाउँमा सीमित व्यक्तिहरूले खोसिएको छैन, हाम्रै हो भनी भ्रममा राख्ने षड्यन्त्र गरिसकेका थिए। हाम्रो सम्पति विघटन गरी राजाले त्यहीबेला अन्त दिइसकेका रहेछन् ।

यतिखेर आएर पहिल्यै गुमिसकेको जग्गामा विवाद किन त?

यो सम्पति हाम्रै थियो । हाम्रो हुनुपर्छ भन्ने लडाईं हो। ललितकलासम्बन्धी नयाँ ऐन (२०६५)बन्ने क्रममा तत्कालीन नाफाको जग्गा  अहिलेको नाफालाई हुने भनेर लेख्न सकेकाे भए त्यो जग्गा हाम्रो सम्पति हुने थियो। त्यहाँ जग्गा जमिनबारे उल्लेख नगरी ऐन पास गरिएछ। जब रागिनी म्याडमको कार्यकालमा जग्गा विवाद शुरू भयो, त्यहाँ ३ वटा एकेडेमी र मन्त्रालय गरी एउटा समिति बनेको रहेछ। त्यो समितिमा आफू पनि सम्मिलित भै सकेपछि त मिटिङ, बैठक र छलफलमा उहाँ गइरहनु पर्थ्यो नि त ! एकचोटिको बैठकमा हामीलाई निर्णय मान्य हुनेछैन भन्दै बहिस्कार गरी उहाँहरू अन्य छलफल र बैठकहरूमा जान छाडिदिनु भयो अनि बाँकी ३ वटा निकायहरूको बहुमतको आधारमा आफ्नो निर्णय गरिदयो। त्यतिबेला कमसेकम आफू सहभागी भएर कस्ता खाले निर्णय गर्ने भन्नेबारे केही दबाब दिन सके या यस्तो हुँदैछ है भनेर बाहिर कलाकार साथीहरूमाझ जानकारी दिएर तत्कालै यो कुरा उठाइदिएको भए हाम्रो प्रतिकार हुन्थ्यो होला ।

प्रतिकार भएपछि सम्बन्धित निकायले सोच्न बाध्य हुने थियो होला। त्यस्तो केही भएन। तत्कालीन साथीहरूबाट कुरा लुकाइयो। त्यो बीचमा उहाँहरू एक महिना चाइना भ्रमणमा जानुभयो। त्यहीबेला बाँकी एकेडेमी र मन्त्रालयका कर्मचारीको मिलेमतोमा ललितकलाका कलाकारहरूको भावनासँग जोडिएको सम्पति नाट्य संगीतलाई दिने निर्णय भएछ। त्यही निर्णय मन्त्रि परिषदबाट जस्ताको तस्तै सदर भयो।

प्रतिक्रिया
Loading...