नेपाली साहित्यको सम्पूर्ण पत्रिका

तीन महिना मसानघाटमा बस्नु नै मेरो ज्ञानको टर्निङ् प्वाइन्ट हो – सञ्जिव उप्रेती

२५ वर्ष त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी भाषा र साहित्य पढाएपछि केहि वर्षअघि डा. सञ्जिव उप्रेतीले अवकाश लिए । समय अगावै जागीर छाड्नुको कारण खुसीको खोजी थियो । यो खुसीको खोजीमा उनी त्यही गर्छन्, जसले उसलाई सन्तुष्टि दिन्छ । यही सन्तुष्टिको खोजीमा  उनले लेखेको पुस्तक ‘हंश‘ ले यस वर्षको पद्मश्री पुरस्कार पाएको छ ।

 

डा. सञ्जिव उप्रेती सामान्य मानिसका लागि अबुझ जस्तै देखिन्छन् । उनका कुरा यति सामान्य छन् कि धेरैले पत्याउँदैनन् र उनी सुल्झिन नसकेको घटना जस्तै हुने गर्छन् ।

उनी चरासँग कुरा गर्छन् । रुखहरुलाई अंगालो हाल्छन् । घन्टौ एकान्तमा बस्छन् र एक्लै एक्लै मुस्कुराउँछन् । उनी आजको एक हजार वर्षपछि नेपालीले दाल भात र तरकारीको साटो गँगटो खाएको कुरा यथार्थमा देख्छन् र त्यसको सजिव ब्याख्या गर्छन् । पानी र अक्सिजनको हाहाकार भएपछि पृथ्वीवासीले अर्बौ अर्ब डलर खर्च गरेर स्पेस यात्रा गरेको र अर्को पृथ्वी भेट्न नसकेको प्रयास सम्झन्छन् र चिन्तित हुन्छन् । उनलाई देशको सीमाका लागि करोडौं रुपैंया खर्च गरेको देख्दा हाँस उठ्छ । सम्य हुने नाममा सयौं पृथ्वी नष्ट गर्ने औजार बनाएको देख्दा निन्द्रा गायब हुन्छ ।

२५ वर्ष त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी भाषा र साहित्य पढाएपछि केहि वर्षअघि डा. सञ्जिव उप्रेतीले अवकाश लिए । समय अगावै जागीर छाड्नुको कारण खुसीको खोजी थियो । यो खुसीको खोजीमा उनी त्यही गर्छन्, जसले उसलाई सन्तुष्टि दिन्छ । यही सन्तुष्टिको खोजीमा  उनले लेखेको पुस्तक ‘हंश‘ ले यस वर्षको पद्मश्री पुरस्कार पाएको छ । यो उपन्यासले हाँसले आफूलाई केन्द्रमा राखेर मान्छेले गरेका उपद्रोका पोल खोलेको छ । उपन्यासमा अनेक चरा चुरुङ्गी र प्रकृतिले मानिसको ठालु प्रवृत्तिलाई कसरी सहिरहेका छन् भन्ने कुरा पढिरहँदा पाठक पटक पटक झस्कन्छन् ।

१२ वर्षअघि उनले ‘घनचक्कर‘ उपन्यास लेखेर मानिसमा भएको पागलपनको कथा सुनाएका थिए । कतिपय पाठकले यो उपन्यास पढेपछि उनलाई कुनै मानसिक समस्या भएको कि भन्ने प्रश्न गरेका थिए । उपन्यासले बौद्धिक जगतमा विभिन्न किसिमका बहस छेडेको थियो । आम पाठकले भने उपन्यास जटिल भएको भन्दै पुर्नलेखनको माग गरे । केही वर्षअघि यसलाई उनले पुर्नलेखन गरेर बजारमा ल्याएपछि उपन्यास यसरी पुर्नलेखन गर्नुहुन्छ कि हुन्न भन्ने बहस पनि छेडियो ।

व्यवहारमा अत्यन्तै सरल उप्रेती साहित्यकार कृष्ण धरावासीका बालशखा पनि हुन् । प्रस्तुत छ, यस वर्षका पद्मश्री पुरस्कार विजेता सञ्जिव उप्रेतीसँग गरिएको अन्तरंग कुराकानीः

यस वर्षको पद्मश्रीका लागि बधाइ ! कस्तो महसुस गरिरहनुभएको छ ?

 मैले कहिल्यै पनि पुरस्कारका लागि लेखिनँ । न त पुरस्कारकाे माेह नै छ ममा । मैले पाठकका लागि लेखेँ । पाठक नै मेरा पुरस्कार हुनुहुन्छ । अहिले हंशले यो पुरस्कार पाउनुलाई मैले पाठक पुरस्कृत भएको ठानेको छु । पाठक पुरस्कृत हुँदा लेखक त खुसी हुने नै भयो ।

तपाईं किन यति एकलकाँटे ? बाल्यकालसँग यो एक्लो रहने स्वभावको कुनै सम्बन्ध छ ?

पक्कै छ । सबैभन्दा पहिले त म राजस्थानमा जन्मिएँ । किनभने दोस्रो विश्वयुद्धको सिपाही भएर मेरा हजुरबुवा भारततिर लाग्नु भएको रहेछ । त्यतैका नेपाली परिवारसँग विवाह गरेपछि मेरी आमा जन्मनु भयो, उतै पढ्नुभयो । मेरा बुवा डाक्टरी पढ्न राजस्थान जाँदा उहाँहरुको भेट भयो, प्रेम भयो । त्यहीँ विवाह भयो र म जन्मिएँ । पढाइपछि बुवा सरकारी जागीरे भएर कैलाली जानुभयो, हामी उतै गयौं । त्यसपछि भोजपुर पुग्नुभयो, हामी उतै पुग्यौं । जागीर छाडेर निजी क्लिनिक खोलेपछि भने हाम्रो स्थायी बसोबास झापामा भयो ।

यो एकलकाटेँ बानीको विकास कसरी भयो त ?

म एक्लो छोरो । जन्मिएँ राजस्थानमा तर त्यो स्मृतिमा छैन । कैलालीमा दुई वर्ष बसेका झल्याकझुलुक स्मृतिमा छन् । तर भोजपुरको ४ वर्षे बसाइ भने राम्रोसँग याद छ । यी वर्षहरुमा मेरा कुनै साथी भएनन् । म एक्लै एक्लै वन–जंगल चाहार्थे । खोल्साहरुमा पस्थेँ । आमाले मलाई स्वतन्त्र रहन दिनु हुन्थ्यो । सायद बालकलाई कुनै दबाब र प्रभावमा राख्नुहुन्न भन्ने उहाँ बुझ्नुहुन्थ्यो । यो बेला म घन्टौं प्रकृतिलाई हेरेर बस्ने भैसकेको थिएँ । विद्यालय टाढा भएकाले घरमै आमा र बुवाले मलाई पढाउनु भयो । एकैपटक झापामा ४ कक्षामा म भर्ना भएको थिएँ । सायद यो एकाकीपन अहिले पनि कायम छ ।

यो वर्ष कृष्ण धरावासीसँग दोस्तीको ५० वर्ष मनाउँदै हुनुहुन्छ । पहिलो भेट सम्झना आउँछ ?

जस्ताको तस्तै । हाम्रो विद्यालयमा त्यो बेला एक कक्षादेखि पाँच कक्षासम्म काठको तक्ता ओछ्याइएको एउटै हलमा पढाइ हुन्थ्यो । छुट्टा छुट्टै पाँचवटा समूहमा भूँइमा पलेटी मारेर विद्यार्थीहरु बस्थे र कुर्सीमा छडी लिएर सरहरुले कक्षा सञ्चालन गर्नुहुन्थ्यो । त्यो मेरो विद्यालयको पहिलो अनुभव थियो । त्यो दिन लहरै मिलाएर राख्दा मेरो छेऊमा जो साथी देखियो, उ नै कृष्ण धरावासी थियो ।

पहिलो पटक आफ्नो जस्तो कदकाँठीको व्यक्तिसँग बोेलेको, साथी बनाएको र मित्रवत सम्बन्ध राखेको पहिलो व्यक्ति थियो ऊ हुन पुग्यो । ठ्याक्कै ५० वर्षपछि पनि त्यो प्रथम मित्रता अहिले पनि उस्तै छ । कस्तो नरम सम्बन्ध भने, हिजो अस्ति मात्रै ऊसँग बोलचाल भएको जस्तो ।

यस्तो लंगौटी साथीलाई पनि तपाईंहरु ‘तपाईं‘ सम्बोधन गर्नुहुन्छ, अनौठो होइन ?

तिमी सम्बोधन गर्दथ्यौं । एसएलसी पास गरेर उनी क्याम्पस पढ्न इलाम गए । प्रथम विद्यार्थीले डाक्टर बन्नुपर्छ भन्ने सामाजिक मान्यता लिएर म चाहीँ काठमाडौं आएँ । एक वर्षपछि दसैंमा हाम्रो भेट भयो । उनी त क्याम्पसको संगतमा साथीहरुलाई तपाईं भन्न थालेछन् । अब उनले तपाईं भनेपछि मैले तिमी भन्ने कुरा आएन । उमेरले जेठा पनि हुन् । बाध्यतापूर्वक तपाईं भन्न सुरु गरेँ । तर तपाईं त देखिने कुरा हो, हामी तँ स्तरकै साथी हौं ।

तपाईंहरुको साहित्यिक यात्रा विद्यालयदेखि नै सुरु भएको हो ? कस्तो थियो दुबैको साहित्यिक स्तर ?

हाम्रो दोस्ती जमिरहनुमा सायद साहित्यले पनि काम गरेको थियो । मेरी आमा साहित्य, कला र संगीत तीनवटै विधामा रुची राख्नुहुन्थ्यो । राजस्थानी संस्कार सायद उहाँमा परेको थियो । भोजपुरमै हुँदा उहाँले मलाई कमिक्सहरु पढ्न दिनुहुन्थ्यो । फुर्सदको समयमा उहाँ हिन्दी र अङ्ग्रेजीका जासुसी र रोमान्टिक पुस्तक पढिरहनु हुन्थ्यो । त्यसका कथाहरु पनि सुनाउनु हुन्थ्यो । झापामा जसै कृष्णसँग भेट भयो, उनी लेख्न रुचाउने रहेछन् । स्कुलमा हुने कार्यक्रमहरुमा हामी दुबैले कविताहरु सुनाउँन थाल्यौं । हामी कौरब र पाण्डब खेल खेल्थ्यौं । त्यसमा हामीले जिद्दि गरेर पाण्डबको पक्ष लिन्थ्यौं । किनभने अरु कुरामा विद्यालयका दादा केटाहरुलाई जित्न सकिदैनथ्यो । जित्ने यो राम्रो माध्यम थियो । यसले महाभारतका पात्रहरुसँग परिचय गरायो ।

अलि पछि हामी पात्रहरुका बारेमा कुरा गर्न सक्ने भयौं । फरक के थियो भने उनी कुशल संघठनकर्ता थिए । साहित्यिक कार्यक्रम गर्थे । म भने एकलकाँटे भएर डुलिरहन्थे । उनका साथी धेरै थिए तर मेरो साथी भने उनीमात्रै रहे ।

तपाईं अस्कल पढ्दा पनि पशुपति आर्यघाटतिर गइरहनु हुन्थ्यो रे । प्रेम गर्ने उमेरमा बैराग्य कसरी पलायो ?

मेरो बुवा ओशोका पुस्तकहरु पढ्नुहुन्थ्यो । १६–१७ वर्षको उमेरमा मैंले पनि ती पुस्तक पढ्न थालेँ । आध्यात्मिक पुस्तक पढ्ने क्रममा एउटा अनौठो पुस्तक मैंले हात पारेँ—अटोबायोग्राफी अफ योगी । यो पुस्तकले यति गहिरो छाप छाड्यो कि मलाई भौतिक जीवनभन्दा आत्यात्मिक जीवन बढि रसपूर्ण लाग्न थाल्यो । यहि रनाहमा कलेज छाडेर आर्यघाटतिर जान थालेको हुँ । तीन महिना त म पूर्णरुपमा आर्यघाटको भष्मेश्वरमै बसेँ । त्यो पनि १७ वर्षको उमेरमा ।

योगी हुनुपर्ने मान्छे, प्राध्यापक हुनुभयो । के कारण रह्यो ?

मेरो मनमा जुन योगीहरुको कल्पना थियो, आर्यघाट बस्ने क्रममा ध्वस्त हुनपुग्यो । योगीहरु पनि तँ बढि भगवानको नजिक कि म, तेरो साधना बढि कि मेरो, तँ ठूलो योगी कि म, तेरो सिद्धान्त राम्रो कि मेरो भन्ने प्रतिस्पर्धा, इष्र्या र अहंकार हुँदो रहेछ । अध्यात्मभित्र त झन् कहालीलाग्दो कलह देखेँ ।

आज पनि म विभिन्न सप्रदायमा ध्यानका विधि सिक्न जान्छु । हरेक सम्प्रदायले के दाबी गर्छन् भने मेरो बाटो भएर मात्र मुक्त भइन्छ, यो नै अन्तिम सत्य हो । अब भन्नुस्, यो भन्दा झुट अरु के हुनसक्छन् ?

त्यही भएर खगोल विज्ञान र भविष्य विज्ञानमा रुची राख्न थाल्नु भएको हो ?

जीवन सहजरुमपा बुझ्न यो पनि तरिका हो । जस्तो हाम्रो बिसाल ब्रम्हाण्डभित्र हाम्रो आकाश गंगा कति सानो छ, तोरीको गेडा जस्तो । हाम्रो आकाशगंगाभित्र हाम्रो सौर्य मन्डल कति सानो छ, तोरीको गेडा जस्तो । हाम्रो सौर्य मण्डलभित्र हाम्रो पृथ्वी कति सानो छ, तोरीको गेडा जस्तो । हाम्रो पृथ्वीभित्र हामी कति कमजोर छौ, कमिला जस्तो । यो बिसाल ब्रम्हाण्डमा हामीले पाएको ज्ञान, धन, ऐश्वर्य जे जति छन् ती सबको कति अर्थ छ ? मानव भएर हामीले जे गर्नुपर्ने हो, गरिरहेका छौं ? यसले बाँच्ने तरिका सिकाउँछ जस्तो लाग्छ ।

भनेपछि के का लागि बाँच्ने त ?

मानिसको बाँच्ने आफ्नै प्रयोजन हुन्छ । मेरो प्रयोजन खुसी हुने हो । आजको पूँजीवादी युगमा बाँच्नका लागि कुनै कुरा उत्पादन गर्नु पर्छ । त्यसलाई बेच्न जान्नु पर्छ र यस्तो व्यक्ति मात्र बाँच्न सक्छ । तर म भने त्यस्तो ठान्दिन । मेरालागि उत्पादन भनेको खुसी हो । मैले यत्रो वर्ष प्राध्यापन गरेँ, पैसा पनि पाएँ तर पैसाका लागि भन्दा खुसीका लागि त्यो काम गरेँ । पैसाका लागि गरेको भए डाक्टरी गर्थे हुँला । बुवासँग माफी मागेर अंग्रेजी साहित्य पढ्नतिर लाग्नुमा यही खुसी कारण यही खुसी थियो । समयअगावै जागीर छाड्नुमा पनि कारण यही छ । आज म डुलन्ते भएर हिँड्छु पुस्तक लेख्छु भने त्यो पनि खुसीका लागि । मसँग बाँच्ने यो मात्रै आधार छ ।

तपाईंकी जीवन संगीनी अर्चना थापाले महिलावादका विषयमा विद्यावारिधि गर्नुभयो । तपाईंले चाहीँ पुरुषवादका विषयमा ? यो विपरित विषय चयन गर्नुको कुनै कारण छ ?

महिलावाद र पुरुषवाद एकअर्काका विपरित होइनन् । पुरुषवादले महिलाको र पुरुषवादले महिलाको विरोध गर्दैनन् । यी एकअर्काका सहयोगी विषय हुन् । मैले अध्ययन गर्दा पाएँ, पुरुषमाथि धेरै दबाब छ । उसले परिवार पाल्नुपर्छ, उसले नाम, नाम र ऐश्वर्य कमाउनु पर्छ भन्ने सामाजिक दबाब छ । यो नेपाल जस्ता अविकसित मुलुकमा मात्र होइन, विकसित मुलुकमा पनि छ । यहि कारण पुरुषहरुलाई महिलाका तुलनामा बढि मुटु रोग, उच्च रक्तचाप, तनाब र अप्ठ्याराहरु छन् । यो अध्ययन गर्दा यसलाई कसरी कम गर्न सकिन्छ भनेर पनि खोज गरेँ । यता अर्चनाले महिलाहरुले भोग्नु पने समस्याहरुको अध्ययनलाई नयाँ दृष्टिबाट हेरिन् । यसो गर्दा कतै न कतै महिलावाद र पुरुषवाद मिलेर समाजलाई राम्रो दिशा कसरी दिन सकिन्छ भन्ने निष्कर्ष पनि निस्कियो । म यसलाई विपरित विषय मान्दिन, होइन पनि ।

तर तपार्ईंहरुका रुचि र सोचहरु भिन्न छन्…

हो, भिन्न छन् । उनी बढि सक्रिय, कामप्रति बढि जिम्मेवार र सामाजिक छन् । एकैठाउँ बसेर घन्टौं काम गर्न सक्छिन् । म सक्दिन ।

दुबैजना लेखक पनि हुनुहुन्छ । लेखनमा सहयोग, एकअर्कामा प्रतिस्पर्धा वा इष्र्या जस्ता कुराहरुको अनुभव गर्नुहुन्छ ?

हामी एकअर्काका पहिलो पाठक हौं । र, ठूला आलोचक पनि । प्रतिस्पर्धा वा इष्र्या भन्ने कुरा चाहीँ हुन्न । आफूले धेरै राम्रो लेखेँ भनेर सुनाएको बेला भयंकर आलोचना हुँदा चित्त दुख्छ तर एक दुई दिनसम्म बोलचाल बन्द पनि हुन्छ । त्यो आलोचना आफ्नै भलाइका लागि हो भन्ने थाहा पाएका कारण दुखाइ कम भएपछि स्वतः सम्बन्ध पहिले जस्तै हुन्छ ।

हामी एकअर्काका शुभचिन्तक र प्रेमी हौं भनेर कसरी भन्न सक्छौं भने एकअर्काको राम्रो पक्ष अघि बढाउन तुरुन्तै काम गर्छौ । जस्तो जुन दिन मैंले उनको कथा सङ्ग्रह ‘कठपुतलाको मन‘ पढेँ । त्यसको बजार प्रतिक्रिया पनि राम्रै आयो । त्यसपछि मैले आफ्नो पुस्तक उनलाई छाप्न नदिने निर्णय गरेँ । जवकी उनको प्रकाशन गृह अक्षर क्रिएसनबाटै मेरा पुस्तक पनि छापिन्थे । यसो किन गरेँ भने उनी प्रकाशक भन्दा लेखिका हुनुपर्छ । मेरो मात्र होइन, उनको पुस्तक पनि व्यवशायिक प्रकाशन गृहबाट आउनु पर्छ । यसो गर्दा उनी प्रकाशकको भूमिकाबाट लेखिका हुन पाउँछिन् । त्यस्तै नीति उनले पनि लिन्छिन् ।

कहिलेकाहीँ को ठूलो विद्वान, को बढि बौद्धिक भन्ने द्वन्द्व हुँदैन ?

आफूलाई ठूलो, बौद्धिक र बुझेको ठान्नु पनि रोग नै हो । यो ब्रम्हाण्डका बिषयमा हामीले कति नै कुरा जानेका छौं र ? यो विशाल ब्रम्हाण्डमा हामीले थाहा पाएका कुरा कस्तो छ भने शून्यका पछाडि दशमलब राखेर जतिवटा शून्य राखेर अन्त्यमा एक लेख्दा पनि धेरै हुन्छ । सय वर्षअघिसम्म हामीसँग हवाइजहाज थिएन । १० वर्षअघिसम्म हामीलाई इन्टरनेट चलाउन आउँदैनथ्यो । मानव शरीरलाई समेत हामीले पूर्णरुपमा जान्न सकेका छैँनौ । त्यसैले यो सोच नै निरर्थक छ ।

अन्त्यमा लेखनका बारेमा केही प्रश्न छन् । जस्तो तपाईंले ‘घनचक्कर‘लाई पुर्नलेखन गर्नुभयो । यसको विरोध पनि भयो, के भन्नुहुन्छ ?

पुर्नलेखन गर्नुहुन्न भन्नुको अर्थ, मैले १० वर्षअघि सोचेको कुरा आज पनि ठीक छ भनेर जिद्दी गर्नु हो । जवकी १० वर्षमा मैंले त्यस विषयमा कति नयाँ कुरा थाहा पाएँ, त्यसलाई सच्याउने कि नसच्याउने ? जो सच्चिदैन, ऊ जड हुन्छ ।

उसै पनि विश्व साहित्यमा पुर्नलेखन नै नभएका होइनन्, यस्ता सयौं उदाहरण छन् । महाभारतका पात्रमाथि लेख्नु, ऐतिहासिक विषयमा लेख्नु, एउटा साहित्यकारले लेखेका विषयमा अर्को साहित्यकारले लेख्नु अति सामान्य कुरा हुन् । मैले आफैले अर्को मकैको खेती नामक नाटक लेखेँ । त्यो राणाकालमा कृष्ण अधिकारीको मकैको खेती पुस्तकको पुर्नलेखन हो ।

अर्को कुरा मैंले पुस्तकका विषयवस्तु चलाएको होइन, भाषामा सरलता ल्याउने प्रयास मात्रै गरेको हुँ । घनचक्कर उपन्यास लेख्नुअघि मैंले अंग्रेजी भाषामा धेरै लेखेँ । नेपाली लेख्दै जाँदा सरल भाषामा पनि ती कुरा भन्न सकिँदो रहेछ भन्ने बोध भएपछि पुर्नलेखन गरेको हुँ ।

तपाईंले सिद्धान्तका कुरा लेखेर नेपाली लेखकलाई विश्व साहित्यमा चलेको विभिन्न सिद्धान्तको ज्ञान दिनु भयो । तर कतिपयले के भन्छन् भने तपाईंका पुस्तकहरु आफैँ सिद्धान्तमा छैनन् । के भन्नुहुन्छ ?

म सिद्धान्तबाट मुक्त हुन आख्यान लेख्छु । खुसी उत्पादन गर्न लेखिएका कुराभित्र सिद्धान्त नहुन सक्छ । खुसी हुन बाहिरी बुद्धि आवश्यक पनि छैन ।

प्रतिक्रिया
Loading...